माया ठकुरीको ‘मृगतृष्णा’ कथामा सबाल्टर्न

- रमेश प्रभात

अध्ययनको सार

प्रस्तुत अध्ययन सबाल्टर्न अध्ययनसँग सम्बन्धित छ । सबाल्टर्न अध्ययन सांस्कृतिक अध्ययन र साहित्यसँग सम्बन्धित अन्तर्विषयक अध्ययन हो । सांस्कृतिक अध्ययनभित्र विविध कुराहरू समेटिन्छन् । तिनै कुराहरूमध्ये सबाल्टर्न अध्ययन एउटा महत्वपूर्ण पक्ष हो । सबाल्टर्न भनेको समाजमा विभिन्न अवसरबाट पछाडि पारिएको वर्ग हो । यसलाई नेपालीमा सीमान्त वर्ग, सीमान्तीकृत वर्ग र कतै कतै अबर्जन पनि भनिएको पाइन्छ । सबाल्टर्न अध्ययनको स्वरूपलाई हेर्नु पर्दा सामाजिक संरचना, सीमान्तीकृत वर्ग, प्रभुत्वशाली समूह र विचार धारालाई आधार मानेर हेर्नु बढी सान्दर्भिक हुन्छ । यस आधारबाट हेर्दा पुँजीवादी विचारधारा भएको वर्गीय विभेदयुक्त समाजमा श्रमिक वा सर्वहारा वर्ग सबाल्टर्न वर्गमा परेको हुन्छ भने पुँजीपति वा शासक वर्ग प्रभुत्वशाली समूहको रूपमा क्रियाशील हुन्छ । उपनिवेशवादी विचारधारा भएको साम्राज्यवादी सामाजिक संरचनायुक्त समाजमा स्थानीय वा घरेलु शक्ति सबाल्टर्न वर्गको रूपमा रहेको हुन्छ भने उपनिवेश लाद्ने मुलुक, आर्थिक, सामरिक आदि दृष्टिले पूर्ण भएको राष्ट्र वा राष्ट्रहरू प्रभुत्वशाली समूहका रूपमा रहन्छन् । त्यस्तै गरी लैङ्गिक विभेदकारी विचारधाराले ग्रस्त वा पितृसत्तामा सञ्चालित भएको समाजमा नारीहरू सबाल्टर्न वर्गका रूपमा र पुरुषहरू प्रभुत्वशाली समूहमा परेका हुन्छन् । एक जातीयता वा एक सांस्कृतिकताले ग्रस्त भएको समाजमा अल्पसङ्ख्यक सबाल्टर्न हुन्छन् भने बहुसङ्ख्यक वा विकसित वा शक्तिशाली जाति वा जाति समूह प्रभुत्वशाली वर्गका रूपमा क्रियाशील हुन्छन् । एन्टोनिओ ग्राम्सीले उत्तर औपनिवेशिक उपभोक्तावादी संस्कृतिको सन्दर्भमा सवाल्टर्न शब्दलाई शासित वर्गको वकालत गर्ने क्रममा हैकम वा प्रभुत्वको नवीन अर्थसँग पनि जोडेर प्रयोग गरेका छन् । ग्राम्सीका शब्दमा सवाल्टर्न भन्नाले गैरशासकीय र अहैकमवादी वर्ग वा समुदायलाई जनाउँछ, जो सधैँ अधीनस्थ, पराधीन हुन्छ । यहाँ सोही सिद्धान्तलाई आधार मानेर कथाकार माया ठकुरीको एउटा चर्चित कथा ‘मृगतृष्णा’को विश्लेषण गरिएको छ ।

प्रमुख शब्दावली ः सवाल्टर्न, प्रतिनिधित्व, सामाजिक पहिचान, प्रभुत्वशाली पात्र, प्रतिरोधको स्थिति, शक्ति सम्बन्धको अवस्था ।

१. विषय परिचय
प्रस्तुत आलेख माया ठकुरीको मृगतृष्णा कथामा सबाल्टर्न भन्ने विषयमा केन्द्रित छ । यो आलेखमा मृगतृष्णा कथामा सबाल्टर्नको स्थिति खोजी गर्नु प्रमुख कार्य हो । प्रस्तुत शीर्षकभित्र माया ठकुरी, मृगतृष्णा कथा र सबाल्टर्न जस्ता तीन पक्षहरू रहेका छन् । विषय परिचयका क्रममा यिनै तीन पक्षहरूको चिनारी दिनु आवश्यक देखिन्छ ।
कथाकार माया ठकुरी (२००४) नेपाली कथाका क्षेत्रमा निरन्तर क्रियाशील स्रष्टा हुन् । यिनका हालसम्म नजुरेको जोडी (२०३०), गमलाको फुल (२०३३), साँघु तरेपछि (२०३९), चौतारो साक्षी छ (२०४६), माया ठकुरीका कथाहरू (२०४८) र आमा जानुहोस् (२०६०) जस्ता छ वटा कथासङ्ग्रहहरू प्रकाशित भएका छन् । यिनका कथामा सामाजिक विषयवस्तुको उठान गरिएको हुन्छ । विविध कारणले समाजमा पछि परेका वा पारिएका पात्र र परिस्थितिको चित्रणमा रुचि राख्ने भएकाले यिनका कथा प्रभावकारी देखिन्छन् ।
मृगतृष्णा कथा चौतारो साक्षी छ नामक कथासङ्ग्रहमा सङ्गृहीत एक उत्कृष्ट कथा हो । यो कथामा सामाजिक यथार्थलाई चित्रण गरिएको छ । समाजमा नारीले नारी भएकै कारण के–कस्ता समस्या झेल्नु पर्छ भन्ने सन्देश बोकेको यो कथा मूलतः नारी समस्यामा केन्द्रित भएको देखिन्छ ।
हाल समालोचनाका क्षेत्रमा प्रचलित ‘सवाल्टर्न’ शब्द उत्तरआधुनिकतावाद भित्रको एउटा महŒवपूर्ण पक्ष हो । सवाल्टर्नले मूलतः राज्यभित्रका पिछडिएका वर्गलाई बुझाउँछ । राज्यको शक्तिसम्म कत्ति पनि पहुँच नहुने, विस्थापित र आवाज विहीन वर्गहरू यसभित्र पर्दछन् । प्रसिद्ध समाजशाीत्री कार्लमाक्र्सले राज्यमा दुई वर्ग देखाउँदै आर्थिक रूपले सम्पन्नहरू बुर्जुवावर्ग र आर्थिक रूपले पिछडिएकाहरूको सन्दर्भमा सर्वहारावर्ग जस्ता शब्दको प्रयोग गरे । तर एन्टोनिओ ग्राम्सीले उत्तर औपनिवेशिक उपभोक्तावादी संस्कृतिको सन्दर्भमा सवाल्टर्न शब्दलाई शासित वर्गको वकालत गर्ने क्रममा हैकम वा प्रभुत्वको नवीन अर्थसँग पनि जोडेर प्रयोग गरेका छन् । ग्राम्सीका शब्दमा सवाल्टर्न भन्नाले गैरशासकीय र अहैकमवादी वर्ग वा समुदायलाई जनाउँछ, जो सधैँ अधीनस्थ, पराधीन हुन्छन् र उनीहरू शासकको प्रयोगको वस्तुसमेत बन्न पुग्छन् ।
ग्राम्चीले सवाल्टर्नको अस्तित्वको मुद्दालाई वर्ग सङ्घर्षसँग जोडेर अध्ययन गरेका छन् । जेहोस् सवाल्टर्न अध्ययन सन् १९८० को दशकदेखि मात्र देखिएको हो । जब रङ्गभेद, वर्ग, जाति, लिङ्ग, क्षेत्रीयता, जनजाति आदिसँग सम्बद्ध मुद्दाले मूल धारमा स्थान पाउन थाल्यो त्यसपछि सवाल्टर्न वर्ग हितको पक्षमा डिस्कोर्स निर्माणमा बृद्धि भएको हो । सन् १९९० को दशकपछि सवाल्टर्न अध्ययनले व्यापकता पायो । सवाल्टर्न शब्दले हरेक हिसाबबाट किनारीकृत भन्ने बुझाउँछ । यसरी सवाल्टर्न अध्ययन समसामयिक अध्ययनको विषय क्षेत्र पनि हो ।
सबाल्टर्नका दृृष्टिले माया ठकुरीका कथाहरू महŒवपूर्ण देखिन्छन् । विवेच्य मृगतृष्णा कथा पनि सवाल्टर्नमैत्री भएकाले यसको प्रभावको विश्लेषण गर्नु आवश्यक भएको हो । यसर्थ यहाँ सबाल्र्नको सिद्धान्तलाई आधार मानेर मृगतृष्णा कथाको विश्लेषण गरिएको छ ।

२. विश्लेषणको सैद्धान्तिक आधार
अङ्ग्रेजी शब्द ‘सवाल्टर्न’ ९क्गदबतिभचल० ले सदियौँदेखि शोषित, आवाजविहीन तथा इतिहासविहीन वर्गलाई जनाउँछ । नेपालीमा सवाल्टर्न शब्दलाई जनाउन सीमान्तीकृत, किनारीकृत, अबरजनजस्ता शब्दहरू प्रयोग गरेको पाइन्छ । सीमान्तीकृत शब्दले मूलतः राज्यभित्रका पिछडिएका वर्गलाई बुझाउँछ भने किनारीकृत भनेको हरेक कोणबाट पाखा लगाइएको भन्ने बुझिन्छ । समग्रमा राज्यको शक्तिसम्म पहँुच नहुने, विस्थापित र आवाजविहीन वर्गहरू सबाल्टर्न हुन्् ।
दक्षिण एसियाको भारतबाट सन् १९७० को दशकदेखि चर्चामा आएको सवाल्टर्नले सन् १९८२ देखि सामूहिक रूपमा सवाल्टर्न अध्ययनको अभियानका रूपमा अगाडि बढेको देखिन्छ । सवाल्टर्न अध्ययनलाई उत्तर औपनिवेशिक पृष्ठभूमिसँग पनि जोडेर हेर्ने गरिएको छ । इटालियन कम्युनिस्ट अन्टोनियो ग्राम्सीले उत्तर औपनिवेशिक उपभोक्तावादी संस्कृतिको सन्दर्भमा सवाल्टर्नलाई अथ्र्याउने क्रममा सामान्यतया गौण, अधीनस्थ, दास, मातहतको व्यक्ति वा वर्गलाई जनाउँछ भनेका छन् । ग्राम्सीका विचारमा सवाल्टर्न भन्नाले गैरशासकीय र अहैकमवादी वर्ग वा समुदायलाई जनाउँछ जो सधैँ अधीनस्थ र पराधीन हुन्छन् । उनीहरू सधैँ शासकको प्रयोगको वस्तुसमेत बन्न पुग्छन् । यसरी ग्राम्सीका धारणमा सवाल्टर्न भनेको तल्लो तह हो । जो उपेक्षित, दलित, पिछडिएको, हेपिएका, दवाइएका, शोषित, उत्पीडित, महिला तथा बालबालिका लगायत समाजका हरेक तह र तप्कामा परिधिका स्थितिमा रहेका हुन्छन् । त्यो समुदाय केन्दमा आउन नसक्ने, खासगरी श्रमजीवी र तल्लो वर्गलाई बुझाउने हुन्छन् । सवाल्टर्नकै सन्दर्भमा ग्राम्सीकै दृष्टिकोणलाई अझै विस्तार गर्ने काम गायत्री स्पीभाकले गरिन् । उनले सवाल्टर्नका सन्दर्भमा वृहत चिन्तन प्रस्तुत गरिन् । गायत्री चक्रवर्ती स्पिभकको “क्यान द सवाल्टर्न स्पिक” भन्ने निबन्धमा उनले आर्थिक लगायत सांस्कृतिक दृष्टिकोणबाट पनि सवाल्टर्न चेतनाका विषयलाई अगाडि सारिन् । सवाल्टर्न एउटा स्थिर विषय होइन, कुनै एवं व्यक्ति कुनै परिवेशमा सवाल्टर्नका रूपमा व्यवहृत हुन्छ भने अर्को परिवेशमा ऊ गैर सवाल्टर्नका रूपमा पनि उभिन सक्ने अवस्था रहन्छ । यसरी सवाल्टर्नको स्थिति संस्कृति र समाज सापेक्ष हुन्छ भन्ने मान्यता उनले प्रस्तुत गरिन् । जाति, लिङ्ग, धर्म, पेशा, रङ्गका आधारमा हुने उपेक्षालाई पनि उनले सवाल्टर्न वर्ग भित्रै राखेकी छन् । यसरी हेर्दा सवाल्टर्नले दमित, शोषित र उत्पीडित अधीनस्थताका आधारमा अझ समाज, जनता र राष्ट्रलाई पनि बुझ्न सकिन्छ । यसमा विशिष्ट भौगोलिक परिवेशमा जातजाति, धर्म, संस्कृति, वर्ग भाषा, भौगोलिक विकटताका आधारमा अध्ययन विश्लेषण गर्न सकिन्छ । प्रशासनमा तल्लो तहका कर्मचारी समाजमा मूल धारबाट पछाडि पारिएका महिलाहरू, कथित तल्लो जातिका मान्छेहरू, बाँच्नका लागि शरीरको विक्री गर्न बाध्य महिलाहरू, कुनै पेशा, रोजगारी नभएर भोक भोकै जीवन गुजार्न बाध्य विभिन्न समूहहरू ती सबै सवाल्टर्नभित्र पर्दछन् । तिनीहरूको पहिलो कुरा त आवाज नै छैन, दोस्रो कुरा आवाज भएर पनि नसुनिए पछि आवाजविहीन बनेका छन् । जसका कारण राज्यको नागरिक भएर पनि राज्यका सम्पूर्ण सुख, सुविधा, र अधिकारबाट बञ्चित बनाइएका छन् । राष्ट्रको ध्यान र दृष्टिकोण त्यस वर्गमा पुग्न सकेको छैन र जो राज्यभित्रै भएर पनि अनागरिक भएर बँचिरहेका छन् । आवाज विहीनहरू छन् । तिनैलाई समेट्ने सिद्धान्त वा अवधारणा सवाल्टर्न चेतना हो ।
सवाल्टर्न चेतना विशेषत समाजका उपेक्षित व्यक्तिहरूको आर्थिक, सामाजिक र सांस्कृतिक जीवन भोगाइ नै हो । यो स्थानीयता र समय सान्दर्भिक पनि हुन्छ । यसका क्षेत्रहरू विविध प्रकृतिका हुन्छन् । ती मध्ये मूलतः आर्थिक, वर्गीय, सामाजिक, सांस्कृतिक र लैङ्गिक सवाल्टर्नका स्वरूपहरू मुख्य मानिन्छ । यी क्षेत्रहरूमा हुने शोषण, दमन, भेदभाव आदिका विषयहरू यस भित्र आउँछन् । सवाल्टर्नको अवधारणामा निम्न कुराहरू समेटिको हुन्छ ः

२.१. वर्गीय अर्थात् आर्थिक आधार
वर्ग भनेको आर्थिक पक्ष हो । वर्गका दृष्टिबाट सबाल्टर्नको पहिचान गर्न सकिन्छ । सबाल्टर्न वर्गको स्वतन्त्रता र स्वायत्ता बारे विचार विमर्श गर्दा ग्राम्चीका सबाल्टर्न र प्रभुत्व ९जभनझयलथ० सम्बन्धी अबधारणालार्ई सबैभन्दा महत्त्वपूर्ण किसिमले हेरिन्छ । ग्राम्चीका अनुसार सबाल्टर्न वर्ग समूह सधैँँ झुकेको हुन्छ । त्यो जागेको जस्तो वा विद्रोही देखिएको बेलामा समेत सम्भ्रान्त वर्गका अगाडि अधीनस्थ हुन्छ र यस्तो पराधीनताको नाजुक अवस्थाबाट सबाल्टर्नको मुक्तिको एउटै उपाय महान् आमूल परिवर्तनकारी क्रान्ति र सबाल्टर्नको दीर्घकालीन विजय हो (ग्राम्ची, २००३ ः ९३६–५२) । उनका अनुसार सबाल्टर्नको इतिहास एलिट वर्गको हैकमवादी गतिविधिले गर्दा छरिएको वा टुक्राटाक्री र अवरोधपूर्ण अवस्थामा मात्र भेटिन्छ । यसरी भेटिएको इतिहास पनि अलि स्पष्टसँग क्रान्तिको एउटा ऐतिहासिक अवधिको प्रक्रिया पूरा भएपछि मात्र पाउन सकिन्छ । अन्यथा सबाल्टर्नको इतिहास सम्भ्रान्तीय हैकमवादी शक्ति कायम रहुन्जेल भेट्न सम्भव छैन ।

२.२. लैङ्गिक आधार
लिङ्ग भनेको जैविक पक्ष हो । लैङ्गिक दृष्टिबाट पनि सबाल्टर्नको पहिचान गर्न सकिन्छ । लैङ्गिकता शब्दको सम्बन्ध लिङ्गसँग देखिए तापनि सामाजिक सन्दर्भमा हेर्दा लिङ्ग र लैङ्गिकता भिन्न कुरा हुन् । लिङ्ग पुरुष र स्त्री गरी दुई खालको हुन्छ । तसर्थ यो प्रकृतिद्वारा निर्धारित कुरा हो । लैङ्गिकता समाजबाट निर्धारित हुन्छ । त्यसैले लैङ्गिकता भन्ने कुरा कृत्रिम हो । यसको निर्माण सामाजिक सांस्कृतिक सन्दर्भबाट हुन्छ । समाजले पुरुष र स्त्रीका सम्बन्धमा निर्धारित गरेका मान्यता, धारणा, संस्कार, व्यवहार, भूमिका, चिन्तन आदिको समष्टिलाई लैङ्गिकता शब्दले बुझाउँछ । लिङ्गगत भिन्नताका आधारमा समाजले पुरुष र महिलाका लागि जे जस्ता सामाजिक सांस्कृतिक तथा पारिवारिक भूमिका निर्धारित गरिदिएको हुन्छ ती सबैलाई लैङ्गिकता अन्तर्गत राख्न सकिन्छ (ज्ञवाली, २०७० ः ४८) । पुरुषको प्रभुत्वमा रहेका सबै जाति र समाजमा नारीले स्वाधीनता गुमाएका हुन्छन् । एकै जात वा जातिभित्र पनि प्रायः पुरुषको प्रभुत्व स्थापित देखिन्छ । पुरुषहरूले परिवार अनि समाजमा आफैलाई प्रमुखता प्रदान गरेपछि नै लैङ्गिक किनारीकरण प्रारम्भ भएको हो र यसको इतिहास सायद मानव सभ्यता जतिकै पुरानो छ (सुब्बा र थापा, सन् २०११ ः १२) । निम्न जात र निम्न वर्गमा मात्र होइन उच्च जात र उच्च वर्गमा समेत नारीहरू सबाल्टर्न भएका छन् । पुरुषले घर, समाज र राष्ट्रमा समेत आफूलाई प्रमुखका रूपमा उभ्याएपछि नारीहरू सबाल्टर्न भएका देखिन्छन् । समाजका पुरुषले शक्तिको आडमा आफूलाई सर्वज्ञ र सर्वशक्तिमानका रूपमा चिनाउन थालेपछि र नारीलाई अनभिज्ञ वा अबलाका रूपमा हेर्न थालेपछि नारीहरू सबाल्टर्न बन्न बाध्य भएका हुन् ।

२.३. प्रभुत्वशाली पात्रहरूको स्थिति
प्रभुत्वशाली पात्र भनेका सत्ता र शक्तिको पहुँचमा रहेका पात्रहरू हुन् । उनीहरूले सबाल्टर्न पात्रलाई हरदम दबाउने प्रयास गर्छन् । आर्थिक, लैङ्गिक, सामाजिक, सांस्कृतिक आदि रूपले कमजोर वर्गलाई दबाएर राख्नु यिनको काम हो । यसरी दबिएर बस्नु परेका पात्रहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रतिरोध गर्छन् । यस्तो प्रतिरोध सबै अवस्थामा समान प्रकारको भने हुँदैन । त्यस्तो प्रतिरोध अधिकांश समयमा मौन विद्रोह जस्तो देखिन्छ । जसलाई प्रभुत्वशाली पात्र, सत्ता र शक्तिकेन्द्रले कहिल्यै सुन्दैन ।

२.४. प्रतिरोधको स्थिति
प्रतिरोध भनेको सांस्कृतिक शक्तिका लागि गरिने आत्मरक्षा हो । त्यो अधीनस्थ सामाजिक घटना परिघटनाबाट सिर्जित हुन्छ (बार्कर, २००४ ः ४५४) । जहाँ सांस्कृतिक शक्तिका रूपहरूमाथि बाह्य वा अन्य पक्षले प्रश्न चिह्न उठाउँछन्, जब समाजमा अन्याय, अत्याचार, उत्पीडन, दमन आदिको वृद्धि हुन्छ, तव दमित बन्न पुगेको वर्ग वा समुदायले दमन शक्तिका विरुद्ध आवाज उठाउन थाल्छ । यसरी आवाज उठाउनु वा विद्रोह गर्नु नै प्रतिरोध हो । सञ्जीव उप्रेतीका विचारमा उनीहरू मूक वा लाटा चाहिँ होइनन् भन्ने मान्यतालाई प्रस्तुत यसरी प्रस्तुत गरेका छन् ः
के निमुखाहरूले आफ्नो प्रतिनिधित्व आफैँ गर्न सक्छन् त ? स्पिभाकका मतअनुसार गर्न सक्तैनन् । यसको मतलब दलितहरूले आफ्नो बारेमा केही बोलनै सक्तैनन्, आफ्ना परिचयबारे केही भन्नै सक्तैनन् भन्नेचाहिँ होइन । विभिन्न किसिमका उखान किंवदन्ती तथा अन्य किसिमका मौखिक स्थानिक परम्पराहरूमार्फत् तिनले आफ्ना पीडा र प्रेम, खुसी र त्रासका कथाहरू अवश्यै भन्न सक्छन् । तर समस्या के छ भने तिनले भनेका यस्ता कथा सभ्य समाजको मध्यधारमा आउनै सक्तैनन् (उप्रेती, २०६८ ः २८२–२८३) ।
वास्तवमा सबाल्टर्नहरू बोल्नै नसक्ने त होइनन् तर उनीहरूको आवाजलाई प्रभुत्वशाली वर्गले नसुनिदिँदा उनीहरू नबोलेका जस्ता देखिएका हुन् । माथिका विमर्शबाट मौन रूपमै भए पनि उनीहरूको आवाज प्रभुत्वशाली वर्गप्रति प्रतिरोधी रहेको हुन्छ भन्ने प्रमाणित हुन्छ । यसरी सबाल्टर्न वर्गले विभिन्न तरिकाबाट प्रतिरोध गर्दै आएको छ र गर्छ तर त्यो प्रतिरोधलाई केन्द्रले नसुनेको हुनाले सबाल्टर्न वर्गहरू आवाजविहीन भएर रहेका जस्ता देखिएका हुन् ।

२.५. को बोल्दै छ ?
कथामा घटना कसले प्रस्तुत गर्छ ? भन्ने कुराले पनि अर्थ राख्छ । सबाल्टर्न पात्रहरू वास्तवमा आफू पीडित भएको कुरा बोल्न सक्दैनन् । यसर्थ कथाकारले उनीहरूका कुरा अरू कसैका मुखबाट भनाउनु पर्ने हुन्छ । त्यसो सबाल्टर्नहरू बोल्नै नसक्ने त होइनन् तर उनीहरू अति भएपछि मात्र बोल्छन् अथवा उक्त अवस्थाबाट भाग्ने गर्छन् । यसका लागि घर छोड्ने र कतिपय अवस्थामा आत्महत्याको बाटो समेत समात्न पुग्छन् ।

३. मृगतृष्णा कथामा सबाल्टर्न
कथाकार माया ठकुरीको मृगतृष्णा कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा निम्नानुसार विश्लेषण गर्न सकिन्छ ः

३.१. मृगतृष्णा कथाको कथावस्तु र शीर्षकीय सन्दर्भ
मृगतृष्णा कथाको शीर्षक एकपदीय पदावलीको संरचनामा बनेको छ । यसले भ्रममा बाँच्नु भन्ने अर्थ वहन गर्छ । प्रस्तुत कथामा म पात्रले कथा भनेको भए पनि आफ्नी सानीमुमा तुषारमल्लिकाको कथालाई मुख्य बनाएर प्रस्तुत गरिएको पाइन्छ । आफूलाई असाध्यै प्रेम गरेर परिवारको असहमति हुँदा हुँदै बिहे गरेको श्रीमान्ले दुई सन्तान जन्माइ सकेपछि असीम घृणा गर्ने र हदै सम्मको शारीरिक तथा मानसिक यातना दिन थालेपछि दिक्क भएर कसैलाई थाहै नदिई गृहत्याग गरको विषयलाई कथामा मार्मिक रूपमा चित्रण गरिएको छ । म पात्रले पूर्व स्मरण गर्दै प्रस्तुत गरेको यो कथामा धेरै पहिले घरबाट एकाएक बेपत्ता भएकी सानीमुमासँग ठुलीएकादशीमा रामदीमा नुहाउने क्रममा आँखा जुधेको घटना देखाउँदै म पात्रले उनलाई चिन्न केही समय लागेको, निला आँखा आफ्नै सानीमुमाको हो भनेर चिनेपछि बोलाएको, आफूलाई गरिएको सम्बोधनलाई बेवास्ता गर्दै उनी भिडमा बेपत्ता भएको र उक्त घटना भएको तीन वर्षपछि सम्म पनि म पात्रले जात्रा वा मेलामा तिनै निला आँखाको खोजी गर्ने गरको देखाइएको छ । यसरी केही चिज देखेजस्तो लागे पनि प्रत्यक्ष रूपमा नभेट्नुलाई मृगतृष्णा भनिन्छ, यस कथामा शीर्षकले कथाको मुख्य घटनालाई राम्ररी बोकेको छ ।
म पात्रको सानोबुबा रसिक स्वभावको भएकाले नाचगान र नाटक खुब हेर्नुपर्ने खालका हुन्छन् । यस्तैमा नाटक मण्डलीमा नृत्य गर्ने तुषारमल्लिका नामकी युवतिसँग उनको प्रगाढ प्रेम बस्छ । घर परिवारको स्वीकृति नहुँदा नहुँदै पनि उनी नाटकमा नृत्य गर्ने उक्त युवतीसँग बिहे गरेर छुट्टै घरमा डेरा गरेर बस्न सुरु गर्छन् । उनीहरूबाट एक छोरी र एक छोरा समेत जन्मन्छन् । सन्तान जन्मेपछि श्रीमान्ले तुषारमल्लिकालाई हेला गर्नुका साथै शारीरिक तथा मानसिक यातना दिन सुरु गर्छन् । जागिरबाट आएको पुरै तलब जुवा र रक्सीमा खर्च गरेर आधा रातमा मात्र घर फर्कने गर्छन् । यतिले मात्र नपुगेर श्रीमती र छोारा छोरीलाई कुटपिट गर्ने र श्रीमतीलाई कुनै काम गर्न तथा अरू लोग्ने मान्छेसँग बोल्न समेत प्रतिबन्ध लगाइदिन्छन् । यसरी यातना खपेर बस्दा बस्दा आजित भएर करिब दस वर्षपछि एक्कासि तुषारमल्लिकाले घर छाडेर हिँड्छिन् । यसपछि घरबाहिर डेरा गरी बसेका म पात्रको सानोबुबालाई उनका बुबा र ठुलोबुबा मिलेर बच्चासहित मूल घरमा लैजान्छन् । यो घटना भएको केही समयपछि म पात्रको बिहे हुन्छ । माइती गएको बेला प्रत्येक पटक सानोबुबालाई भेट्ने गरेको र सानोबुबाले आफ्नो कारण घर छाडेर हिँडेकी आफ्नी श्रीमतीलाई सम्झेर प्रायश्चितपूर्ण जीवन बिताउने गरेको घटना पनि कथामा वर्णित छ । म पात्रको बिहे भएको करिब दस वर्षपछि रामदीमा ठुली एकादशीका दिनमा नुहाउन जाँदा एक्कासि निला आँखा भएकी जोगिनीको भेषमा हिँडेकी महिलासँग आँखा जुधेपछि उक्त महिला पक्कै तिनै तुषारमल्लिका हुन् भन्ने लाग्छ । तर उनले उक्त कुरा सम्झुञ्जेल ती महिला उनको सामुन्नेबाट अलप भइसक्छिन् । यो घटना भएको तिन वर्षसम्म पनि म पात्र अर्थात् बिन्दुका मनमा ताजै रहन्छ । यति मात्र होइन उनको आँखा हरेक जात्रा वा मेलामा जाँदा तिनै निला आँखा भएकी महिलाको खोजीमा तल्लिन रहने गरेको समेत बताइएको छ । यसरी हेर्दा यो कथा वृत्ताकारीय शैलीमा अगाडि बढेको देखिन्छ ।

३.२. वर्गीय सामाजिक संरचनामा आर्थिक सवाल्टर्नको चित्रण
नेपाली समाज विभिन्न वर्गमा विभाजित छ । समाजमा वर्गीय हिसावले देशको शक्ति र सत्ता जहिले पनि उपल्लो वर्गमै सीमित रहेको अवस्था छ जसको कारण देशको आर्थिक उत्पादनको ठूलो हिस्सा सीमित उच्च वर्गका हातमा रहन गएको देखिन्छ । यस कथामा वर्णित सानोबुबा आर्थिक रूपले सम्पन्न भए पनि कथाकी नायिका तुषारमल्लिका अर्थात् म पात्रकी सानीमुमासँग अर्थ आर्जनको कुनै उपाय देखिन्न । काम गर्न खोज्दा श्रीमान्ले रोक्छन्, आफ्नो तलव जति जुवा र रक्सीमा खर्च गर्छन्, जसले उनलाई घर चलाउन मुस्किल परेको देखाइएको छ । यसर्थ तुषारमल्लिका आर्थिक दृष्टिले सवाल्टर्न पात्र हुन् । यहाँ उनको विश्लेषण गर्नु सान्दर्भिक हुन आउँछ ।
कथाकी नायिका तुषारमल्लिकाको आर्थिक अवस्थालाई तलका साक्ष्यहरूले छयाङ्गै पार्दछन् ः
साक्ष्य ः १
साथमा गरगहना र मालसामान हुँदासम्म दुबैले मोज गरेर उडाए । भएको श्रीसम्पत्ति पनि सकियो । खाने मुख पनि थपियो । अहिले चैँ तिम्री सानीमुमाको विगति छ । रातदिन मातेर चुट्छन् रे ! भएन कुरैपिच्छे ‘रन्डी, वेश्या, मेरो जिन्दगी बर्बाद गरिस्, मलाई मेरो घर—परिवारदेखि छुट्ट्याइस्, दुनियाँको कुरो सुन्नुपर्ने बनाइस्’ भनेर भन्नु—नभन्नु भन्छन् रे ! एक छाक खान घरमा धौ धौ छ, भएन सुत्केरी भएर कुनामा बसेको बेलाधरि लात्तैलात्ताले कुटेर ... (ठकुरी, २०४६ ः ४३) ।
साथमा सम्पत्ति र यौवन हुँदासम्म मरिहत्ते गरेर, घर परिवारसँग नाता तोडेर बिहे गरेकी श्रीमतीलाई सम्पत्ति सकिएपछि र रूप हराएपछि कसरी घृणा गर्छन् भन्नु नै सबाल्टर्नको स्थिति हो । जसलाई यो कथामा राम्ररी देखाइएको छ ।
साक्ष्य ः २
के गर्नु तलव जति जुवा र रक्सीलाई ठीक हुन्छ । आफैँले ससाने पसल राख्छु भन्दा, कुनचाहिँ तेरो पोइसँग भेट्नु छ भनेर केही गर्न दिनुहुन्न (ठकुरी, २०४६ ः ४४) ।
श्रीमान्ले कमाएको सारा तलव रक्सी र जुवामा खर्च गरेपछि श्रीमतीले घर चलाउन धौ धौ पर्ने अवस्थालाई माथिको साक्ष्यले प्रस्ट पारेको छ । यस्तो अवस्था सबाल्टर्नले मात्रै भोग्छन् ।
साक्ष्य ः ३
मेरो बालक कालको कलिलो स्मृति पटमा अङ्कित त्यस गाथालाई आजसम्म पनि बिर्सन सकेकी छैन जसमा कुनै न कुनै रूपमा म पनि सहभागी थिएँ । सानीमुमाको बैभवपूर्ण बिलासी जीवन र कठोर अन्त्यको साक्षी म पनि एक थिएँ (ठकुरी, २०४६ ः ३७) ।
एउटा वैभवपूर्ण जीवन बाँचेको पात्र एक्कासी चरम गरिबीमा पुग्नुलाई यो कथाले मार्मिक रूपमा चित्रण गरेको छ । कथाकी नायिका तुषारमल्लिकाको विपन्न आर्थिक अवस्थालाई माथिका साक्ष्यहरूले छयाङ्गै पारेका छन् । यस्तो गरिबीमा बाँच्नु भनेको आर्थिक रूपले सबाल्टर्न बन्नु हो । यसर्थ यो कथामा वर्गीय सबाल्टर्नको सुन्दर चित्रण पाइन्छ ।

३.३. लैङ्गिक आधारमा महिला सवाल्टर्नको सामाजिक पहिचान
नेपाली समाजमा सीमान्तीकृत रूपमा मानव मूल्यको तिरस्कार गरिएको विषय लैङ्गिक विभेद पनि हो । महिलाहरूले महिला भएकै कारणले पुरुषले भन्दा बढी कष्टहरू झेलिरहनु परेको छ, जसलाई तलका साक्ष्यहरूले पुष्टि गर्छन् ः
साक्ष्य ः १
मेरो बालक कालको कलिलो स्मृति पटमा अङ्कित त्यस गाथालाई आजसम्म पनि बिर्सन सकेकी छैन जसमा कुनै न कुनै रूपमा म पनि सहभागी थिएँ । सानीमुमाको बैभवपूर्ण बिलासी जीवन र कठोर अन्त्यको साक्षी म पनि एक थिएँ (ठकुरी, २०४६ ः ३७ ) ।
कथाकी नायिका तुषारमल्लिकाले बिहे गरेपछि सुरुमा पाएको अपार सुख श्रीमान्को व्यवहारका कारण चरम दुःखमा रूपान्तरित भएको कुरालाई माथिको साक्ष्यले प्रमाणि गरेको छ । यस्तो हुनुको मुख्य कारण ऊ नारी भएरै हो । यसो हुनु लैङ्गिक सबाल्टर्नको स्थिति हो ।
साक्ष्य ः २
उनको विषयमा हाम्रो टोलमा अनेकौँ कुरा सुनिन्थ्यो । जस्तै उनी बालिका छँदा कसैले कलकत्ता लगेर बेचेको र त्यहाँ त्यस्तै नराम्रो गल्लीमा हुर्किएर पछि युवती भएपछि वेश्यावृत्ति गरेर बस्थिन् रे इत्यादि इत्यादि (ठकुरी, २०४६ ः ३९) ।
तुषारमल्लिका नारी भएकै कारण पुरुषबाट बेचिनु परेको र निच भनिने काम गर्नु परेको हो । त्यस्तै यस्ता लाञ्छनाहरू सुन्नु पर्नाकोे मुख्य कारण पनि ऊ नारी भएरै हो । यसो हुनु लैङ्गिक सबाल्टर्नको स्थिति हो ।
साक्ष्य ः ३
जुन पुरुषको प्रेमपाशमा परेर उनले वैभवपूर्ण जीवनको ऐश्वर्य गुमाइन्, जुन पुरुषको चाहनामा उनले हजारौँ धनवान् सुदर्शन पुरुषहरूको विवाहको प्रस्तावलाई अस्वीकार गरिन्, जुन पुरुषको साहचर्यको निम्ति उनले हजारौँ तृषित हृदयलाई लत्याएर उनलाई अपनाइन् अन्त्यमा तिनै पुरुषको उपेक्षा, घृणा र व्यङ्ग्यवाणबाट छुटकारा पाउनको निम्ति उनले आफ्नो कोखको सन्तानसमेतलाई पनि परित्याग गर्नुप¥यो (ठकुरी, २०४६ ः ३८) ।
नारीले पुरुषको घरमा बिहे गरेर जानु पर्ने, पुरुषलाई सर्वस्व ठान्नु पर्ने सामाजिक मान्यताले तुषारमल्लिका पीडित छे । आफूले सारा खुसी त्यागेर ग्रहण गरेको श्रीमान्ले आफैँलाई दुःख दिएपछि उसको जीवन यातनामय बनेको छ । यसो हुनु लैङ्गिक सबाल्टर्नको स्थिति हो । माथि प्रस्तुत साक्ष्यहरूले नारीलाई दोस्रो दर्जाको नागरिक बनाएको छ । आफ्नै श्रीमान्ले अपार घृणा गर्ने र शारीरिक तथा मानसिक यातना दिन थालेपछि तुषारमल्लिकाले कसैलाई नभनी साना बच्चालाई समेत छाडेर घर छोडेर हिँडेकी छ, अब के खाने र कसरी गुजारा गर्ने भन्ने ऊसँग कुनै ठोस योजना समेत छैन । यसो हुनुमा ऊ महिला हुनुलाई लिन सकिन्छ । यो कथामा लैङ्गिक सबाल्टर्न अर्थात् महिलाको स्थिति नाजुक रूपमा भेट्न सकिन्छ ।

३.४. प्रभुत्वशाली पात्रहरूको स्थिति
प्रस्तुत मृगतृष्णा कथामा वर्णित म पात्रको बुबा, ठुलोबुबा, सानोबुबा, टोलका समाजसेवी आदि प्रभुत्वशाली पात्रहरू हुन् । तिनीहरूकै कारण कथाले दुःखद मोड लिन पुगेको छ । केही उदाहरणहरू ः
साक्ष्य ः १
हाम्रो घरको श्रीसम्पत्ति र शिक्षित युवक देखेर कान्छा बाबुलाई आफ्नो जालमा पार्न खोजेकी हो सर्पिणीले (ठकुरी, २०४६ ः ४०) ।
कथामा म पात्रकी ठुलीआमाले म पात्रसँग व्यक्त गरेको माथिको कथनले उनीहरूको परिवार प्रभुत्वशाली परिवार हो भन्ने पुष्टि गर्छ । तुषारमल्लिकालाई हेर्ने उनको दृष्टिले यो कुरालाई थप पुष्टि गरेका छ ।
साक्ष्य ः २
अन्त्यमा सानोबुबाको दुर्दशा र बच्चाहरूको बिजोगको कुरा सुनेर हाम्रो बुबा र ठूलोबुबाले सानेबुबालाई फेरि घरमा स्थान दिन बाध्य हुनुभएको हुन्छ (ठकुरी, २०४६ ः ४५) ।
कथाबाट उद्धृत गरिएको माथिको साक्ष्यले उनीहरूको पारिवारिक हैसियत देखाएको छ । उनीहरू प्रभुत्वशाली पात्र हुन् भन्ने प्रमाणित समेत गर्छ । यसर्थ यो कथामा वर्णित मुख्य पात्र अर्थात् नायिका तुषारमल्लिका बाहेक सबै प्रभुत्वशाली पात्रहरू छन्, उनीहरूको अहम्का कारण नायिकाले घर छाड्नु परेको छ ।

३.५. प्रतिरोधको स्थिति
प्रस्तुत कथामा नायिका तुषारमल्लिकालाई कमजोर देखाइएको छ । आफ्नो श्रीमान्बाट दिनहुँ शारीरिक तथा मानसिक यातना खप्नु पर्दा पनि उसले कुनै प्रतिवाद गरेकी छैन । आफ्नै भागयलाई दोष दिएकी छ ,बरू अति भएपछि घर छाडेर हिँडेकी छ । उदाहरण ः
साक्ष्य ः १
बिनसित्तै मैले आफ्नो भग्यलाई छल्न खोजेकी रहेछु’ आफ्ना सबै पिरहरू मेरो अघि पोखेपछि उनले भनेकी थिइन् (ठकुरी, २०४६ ः ४४) ।
कथाबाट उद्धृत माथिको साक्ष्यले आफूले पाएको दुःखको प्रतिवाद गर्नुको साटो नायिकाले रुने र आफ्नै भाग्यलाई दोष दिने काम गरेकी छ । यहाँ प्रत्यक्ष प्रतिरोध भेटिँदैन ।
साक्ष्य ः २
के आज फेरि सानोबुबासँग झगडा भयो ? मैल ठूली छोरीलाई तानेर आफ्नो काखमा राख्दै सोधेकी हुन्छु । बुबाले मुमालाई आज फेरि कुट्नुभयो । मुमा मर्छु भन्नु हुन्छ । ठुली छोरीले आमाको मुखमा एकोहोरो हेरेर भनेकी हुन्छे । बाह्र वर्षीय छोरीको मुखबाट वाक्य निस्कनासाथ उनी डाँको छोडेर रोएकी हुन्छिन् (ठकुरी, २०४६ ः ४५) ।
माथिको साक्ष्यले श्रीमान्ले कुट्दा समेत कुनै प्रतिवाद नगरेको देखाउनुका साथै बरू मर्न चाहेको देखाइएको छ । यसर्थ यहाँ प्रत्यक्ष प्रतिरोध भेटिँदैन ।
साक्ष्य ः ३
त्यसको तीन दिनपछि नै उनले काखको बच्चासमेतलाई त्यागेर सदाको निम्ति गृहत्याग गरेकी थिइन् (ठकुरी, २०४६ ः ४५) ।
कथामा वर्णित माथिको घटनाले प्रतिरोधको फरक खाले दृष्य प्रस्तुत गरेको छ । आफूमाथि भएको अन्याय र यातनाको विरोध गर्नुको साटो घर छोडेर हिँडेको घटना देखाउनु भनेको सबाल्टर्नको बिजोग देखाउनु हो, जुन यस कथामा भएको छ । यसर्थ प्रस्तुत मृगतृष्णा कथाकी नायिका सबाल्टर्न पात्र हो ।
३.६. को बोल्दै छ ?
प्रस्तुत कथामा मुख्य पात्र तुषारमल्लिका आफूलाई परेको दुःख अरूलाई नबताउने खालकी छ । जस्तोसुकै यातना पनि सहन विवश देखिने ऊ आफ्नै भाग्यलाई दोष दिएर बाँच्ने गरेकी छ । उसले पाएका दुःखका बारेमा अरूले बोल्नु परेको छ, यसरी अरूले बोल्दा पनि उसको जीवनमा भने खासै परिवर्तन आएको पाइँदैन । उदाहरण ः
साक्ष्य ः १
धन्यकी रहिछे त्यति विधि सहेर बस्न सक्ने ... हामीले पनि कति सगाउने, एक दिन होइन, दुई दिन होइन, सदा—सर्वदा, अभागिनी, कस्तो कर्म लिएर जन्मेकी रहिछे (ठकुरी, २०४६ ः ४३) ।
कथाबाट उद्धृत माथिको साक्ष्यमा म पात्रको साथी कवितकी आमाले नायिका तुषारमल्लिकाले पाएको दुःखका बारेमा म पात्रलाई बताएकी छिन्, आफूले दुःख पाउँदा पनि ऊ आफैँ बोलेकी छैन ।
साक्ष्य ः २
जसको अस्तित्वसम्मलाई आज उनकै सन्तानधरीले बिर्सिसकेका छन् (ठकुरी, २०४६ ः ३७) ।
कथामा वर्णित माथिको प्रसङ्गले नायिका तुषारमल्लिकालाई आफ्नै सन्तान समेतले बिर्सन लागेको देखाइएको छ, यस्तो कुरा पनि अरूले अर्थात् म पात्रले बताउनु परेको छ ।
साक्ष्य ः ३
नुहाउँदा नुहाउँदै अनायास मेरा आँखा अलिपर माथि ढिस्कोमा जहाँ एउटी सन्यासिन् िजसको शरीरमा गेरुवा वस्त्र उउटा हातमा त्रिशूल र अर्को हातमा भिक्षापात्र अनि जसको कैलो केश जटाको रूपमा सोहोरेर तालुमाथि थुपारेर जुरो बनाइएको र यसलाई रुद्राक्षमालाले बेरेको, निधारभरि खरानीका धर्साहरू भएको हुन्छ, त्यहाँ पुग्न गएको हुन्छ । उनले निर्निमेष रूपले मतिर एकोहोरिएर हेरिरहेकी हुन्छिन् (ठकुरी, २०४६ ः ३६) ।
प्रस्तुत कथाको आरम्भमै वर्णित माथिको प्रसङ्गले श्रीमान्को यातना अति भएपछि घर छाडेर हिँडेकी नायिका तुषारमल्लिकाको दुःखद जीवनको चित्रण छ । आफूले जस्तोसुकै दुःख पाउँदा पनि कुनै प्रतिवाद नगर्ने, बरू आफ्नै जीवनलाई दोष दिने र अति भएपछि घर छाडेर हिँड्ने उसको निर्णयले उसका बारेमा अरूले बोलिदिनु पर्ने कुराको खुलासा गरेको छ । यसर्थ यो कथामा मुख्य पात्र आफैँ नबोलेर अन्य पात्रलाई बोल्न लगाइएको पाइन्छ ।

४. निष्कर्ष
कथाकार माया ठकुरीले प्रस्तुत मृगतृष्णा कथामा एउटी नारीले भोग्नुपरेका पीडाको चित्रण गरेकी छिन् । अथाह प्रेम गरेर, आफ्नो घर परिवारसँग विद्रोह गरेर विवाह गरेको श्रीमान्बाट उक्त नारीले एक्कासि भोग्नु परेका यातनाको चर्चा मार्मिक ढङ्गले गरिएको पाइन्छ । आफूले भोग्नुपरेको शारीरिक र मानसिक यातना बढ्दै गएपछि विद्रोह गर्नुको साटो आफ्ना सन्तानको समेत बेवास्ता गर्दै घर छाडेर हिँडेको देखाइएको छ । यसरी श्रीमतीले घर छोडेपछि भने म पात्रको सानेबुबा अर्थात् कथाको नायकले प्रायश्चित गरेका छन्, जुन कुराको छनक समेत नायिकासम्म पुगेको छैन । यसरी सवाल्टर्न आफैँले बोल्न नसकेको र उसका कुरा अन्य पात्र अर्थात् बिन्दु मार्फत् बोल्न लगाइएकाले प्रस्तुत मृगतृष्णा कथा सवाल्टर्नमैत्री कथा बन्न पुगेको हो ।

सन्दर्भ सामग्री सूची

उप्रेती, सञ्जीव (२०६८), सिद्धान्तका कुरा, काठमाडौँ ः अक्षर क्रियसन ।
गौतम, कृष्ण (२०५९), आधुनिक आलोचना ः अनेक रूप अनेक पठन (दो.सं.), ललितपुर ः साझा प्रकाशन ।
....... (२०६४), उत्तर आधुनिक जिज्ञासा, काठमाडौँ ः भृकुटी पब्लिकेसन्स ।
ग्राम्ची, एन्टोनियो (२०७०) “फ्रम द प्रिजन नोटवुक”, क्रिटिकल थ्यौरी सिन्स प्लेटो ः हाजार्ड आदम्स फ्लोरिडा ः हर्कट ब्रास, पृ. ९६३ –५२ ।
ज्ञवाली, विष्णुप्रसाद (२०७०), ‘सांस्कृतिक अध्ययन ः अवधारणात्मक ढाँचा’, तन्नेरी ५२÷६, पृ. ४०–५२ ।
पाण्डेय, ताराकान्त (२०६८ मङ्सिर—पुस), ‘साल्गीको बलात्कृत आ“सु’ कथाको बहु सांस्कृतिक अध्ययन, समष्टि द्वैमासिक ३२÷३, पूर्णाङ्क—८१, पृ. १—१४ ।
ठकुरी, माया (२०४६), चौतारो साक्षी छ , ललितपुर ः साझा प्रकाशन ।
पाण्डेय, ताराकान्त (२०७०), संस्कृति, सांस्कृतिक अध्ययन र मक्र्सवाद, भृकुटी सांस्कृतिक विशेषाङ्क भाग १९, पृ. १७२—१९३ ।
बार्कर, क्रिस (सन् २००४), द सेज डिक्सनरी अफ कल्चरल स्टडिज, लण्डन ः सेज पब्लिकेशन.।
भट्टराई, गोविन्दराज (२०६४), उत्तर आधुनिक विमर्र्श, काठमाडौँ ः मोडर्न बुक्स ।
शर्मा, मोहनराज (२०७०), अवरजन अध्ययन र साहित्य, भृकुटी सांस्कृतिक विशेषाङ्क भाग १९, पृ. ३१४—३२५ ।
श्रेष्ठ, तारालाल (२०६८), शक्ति, स्रष्टा सवाल्टर्न, काठमाडौँ ः डिस्कोर्स पब्लिकेशन ।
सुबेदी, अभि (२०६८), सांकृतिक समालोचनाको सैद्धान्तिक विकास, रत्न बृहत् नेपाली समालोचना ( सम्पा. राजेन्द्र सुबेदी र लक्ष्मणप्रसाद गौतम), काठमाडौँ ः रत्न पुस्तक भण्डार ।
सुब्वा, मनप्रसाद र रेमिका थापा (सन् २०११), (सम्पा), किनारा विमर्श, दार्जिलिङ ः गामा प्रकाशन ।

उपप्राध्यापक, वीरेन्द्र बहुमुखी क्यम्पस, भरतपुर, चितवन ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 9 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु