कमरेडको भाटे कारवाही

- विमल लामिछाने

बन्दुकको दोहोरी चलेको बेला, त्रासले गाउँ रोइरहेको थियो । त्यहीबेला सूचना खोजेर सूचना दिने जोखिम मोलीरहेका थिए विवश । अदृश्य र असंख्य धम्की सहेर आत्मियतापनि विरानो महसुस गर्दै कप्mयू र निषेधको घेरामा बन्दुकको दोहोरीभित्र सूचना खोज्नु उनको रहर होइन, बाद्यताभित्रको जिम्मेवारी थियो । कतै छरपष्टिएका रगतका छिर्कासँगै र कतै रगतमै पौडिरहेका अर्धमूर्छित मान्छेहरुको बेदनाभित्र सूचनाका टुक्रा बटुल्नु विवशकालागि चानचुने जोखिम थिएन ।
गाउँ, बस्ती, गोठ, याक्सी र गरीब झुपडीहरुमा मजदुर, ज्यामी र खेतालाहरुसँग विवश भएर सूचनाको सहायता माग्दैथिए विवश । विवश सँधैजसो साँझ त्यही समयमा झुपडीमा बज्ने रेडियोमा आउँथे र सुनाउँथे बुट र बन्दुकले गाउँको शासन चलाएका समाचार । जवान छोराको वियोगमा आमाले दुधे बालक काखीमा च्यापेर तप तप आँशु झारेर तड्पिएका समाचार । गैरी खेत जोत्न गएका बाबू हलगोरु बुझाएर जीउभरी निलाडाम बोकेर भक्कानिदै घर फर्किएका समाचार । स्कुल गएकी छोरीको कलिलो जवानी करक्क निमोठिएको र खुनी नङ्ग्रा गाडेर छ्त विछ्त बनाएका समाचार । अनि मुख्य समाचारमै सुनाउँथे गहभरी नुनीलो आँशु बोकेर सुनसान मलामीको लर्को छुटेको समाचार ।
आज उनको मुख्य समाचार बनेको छ – हिमाली गाउँमा ‘कमरेडको भाटे कारवाही’ । विहानको ३ वजेको थियो । हिमाली गाउँका मान्छे फाट्ट पुट्ट उठन थालेका थिए । प्राय यो गाउँमा विहान सबेरै मान्छेहरु उठ्छन् । प्रतेक घरका अगेनामा प्रायजसो आगो ननिभोस् भनेर कट्टुस र भोगटेका ठूला गाँडे मुडाहरु जोतिएकै हुन्छन् । विहानीपख सबेरै कोही बस्तुभाउको सुसारो गर्न थाल्छन् भने कोही पुरुषहरु दाम्ला, डाला र डोका बुन्ने गर्छन् । महिलाहरु गुन्द्री, पीरा र खोष्टाका डालीहरुपनि बुन्छन् । नुन हालेको हाते चियापत्तीको स्वादसँगै डाला–डोका, गुन्द्री–पीरा गर्नु हिमाली गाउँका मान्छेहरुको विशेषता र पहिचान नै हो । यो समय भने मान्छेलाई मकै थन्क्याउनको चटारो छ । मान्छेहरु मकै खोसलेर झुत्ता बनाउने र थाङ्ग्रा राख्ने काममा ब्यस्त थिए ।
विहानको रिमरिम उज्यालोमात्रै भएको थियो । मसिने काका गोठ जाँदै थिए । बाटामा एक हुल मान्छे एकै नासले ओरालो झर्दै गरेको देखे । एउटै कलरको लुगा (कम्ब्याक ड्रेस), धेरैजसोले राइफल भिरेका र विच विचमा केही लट्ठीमात्रै टेकेका तर सबैले एकैनासको रातो फेटापनि बाँधेका । सबैको हिँडाइ एकनासकै थियो । एकपछि अर्को गर्दै निश्चित दुरी कायम राखेर मारुनी नाचको ताल या फौजी परेड झै हेरिरहनु जस्तै थिए उनका पाइलाका एकनासे चालहरु ।
मसिने काका बाटो छोडिदिएर डिलमाथि चढे र ठिंग उभिएर हेरिरहे । मसिने काकाको मनमा कौतुहलता छायो, कहाँ जाने भनेर सोधौ सोधौ पनि लाग्यो । सोध्न आँ.. मुख गरे तर आवाज निकाल्न आँट गरेनन्, टोली पारी खोला तरुन्जेली हेरिरहे । मसिने काका मनमा कुरा खेलाउँदै हतार हतार गरेर घर गए अनि आँखाभरीको उनको ताजा मेमरी रिट्ठो नविराई श्रीमतिलाई खन्याइदिएपछि उनको मन हल्का भएको छ ।
श्रीमतीले भने यो विषय बुझिसकेकी रहिछन् उनीहरु भूमिगत लालसेना हुन् भनेर पहिलेदेखिनै थाहा रहेछ । उनीपनि सामान्य सम्पर्कमानै रहिछन्, गाउँमा कमरेडहरुले भूमिगत संगठनहरु बनाइसकेका रहेछन्, मसिनेकि श्रीमतिपनि संगठित रहिछन् तर मसिनेलाई के थाहा ? यस्तो कुरा अरुलाई सुनाउनु हुँदैन नि, सुराकी भइन्छ, उनले मसिने काकालाई सम्झाइन् । श्रीमतिका मुखबाट निस्केको सुराकी सब्दले मसिने काका थरर भए, सुराकी शब्दले यसअघि भएका र समाचारमा सुनेका घटनाहरुको खात लाग्यो उनलाई । अभै अन्योलको भूँमरीमा परे, तर बोलेनन् मुन्टो मात्रै हल्लाइरहे । कमरेड, श्रीमतिका अगाडी उनका जोरबाहू गलिसकेका रहेछन् ।
विहानको झुल्केघामसँगै गाउँभरी उर्दी भयो । आज राता कमरेडहरुले समाजका फटाहा, भ्रष्टाचारी, ड्रगिस, साँधसीमा मिचाहा र अनैतिक सम्बन्ध राख्नेहरु (जो उनीहरुको हिटलिष्टमा परेका छन्) लाई भाटे कार्वाही गर्दैछन् रे । अर्थात ‘कमरेडको भाटे’ कार्वाही चल्दैछ रे । सबैलाई हिमाली डाँडाको चौरमा बोलाइएको छ । नजानेलाई थप कार्वाही हुन्छ भनेपछि गाउँभरबाट तोकिएकै समयमा मान्छेहरु हिमालीडाँडा चौरीमा भेला भए । राता बर्दीधारीहरुले चारैकिल्ला कब्जा जमाए र गाउँलेहरुलाई गोलो घेरा बनाएर फराकिलो एरीया कभर गरेर राखे । विचमा उनीहरुको हिटलिष्टका दोषी भनिएकाहरु चार जना एकै लाइनमा घुँडा टेकाइएका थिए । उनीहरुको शरिरबाट लाज छोप्ने कट्टु बाहेक सबै खोलिएको थियो । एउटी महिला भने मुखमा कालो पट्टी बाँधेर छेउमा ठिङ्ग उभिएकी थिइन् । उनी साँस्कृतिक विचलन (अनैतिक सम्बन्ध) मा परेकी रे । चारैजनाका अगाडी टोकरीमा नम्बर टाँसिएका करिब दुईफुट लामा काँचा वनबाँसका भाटाहरु छुट्टा छुट्टै राखिएको रहेछ ।
यतिकैमा सैन्य बर्दीधारी रातो फेटा बाँधेकामध्ये एकजना कमरेड दुई कदम अगाडी बढे र तेजिलो र उच्च स्वरमा भाषण छाँट्न थाले, मानौ हाँडीमा मकै पड्किए झै पिटिटि बोल्दारहेछन् उनी चारै कुनामा आँखा डुलाउँथे । छोटै समयमा उनको सम्बोधन भने सकियो । सम्बोधनको क्रममा उनले गाउँका जुवाडे जँडीया, फटाहा, भ्रष्टाचारी, ड्रगिस, साँधसीमा मिचाहा र अनैतिक सम्बन्ध राख्नेहरुलाई गाउँलेको समर्थन पाए कार्वाही शुरु गर्ने बताए । उनको भाषणमा गाउँले महिलाहरुको ठूलो समुहले समर्थन जनाएर परररर तालीपनि पड्काए । खासखुस सुनिन्थ्यो उनीहरुलाई गाउँकै पिडीत महिलाहरुले उजुरी गरेका रहेछन् । विवशको क्यामराको लेन्समा त्यो महिलाहरुको ठूलो समुहलाई मसिने काकाकी श्रीमति कमरेड भाउजुले कमाण्ड गरिरहेकी थिइन् । कमरेड भाउजुकै इसारामा चल्दोरहेछ हिमाली गाउँको महिला समूह । तालीको समर्थनपछि कमरेडले भने अब, शुरुहुन्छ भाटे कार्वाही । फेरि ताली बज्यो ।
“चार अभियुक्त भनिएका मध्ये दायाँबाट सबैभन्दा पहिलोलाई टोकरीबाट नम्बरवाला भाटो तान्न लगाइयो, उनले ताने भाटो नं नौ, कमरेडले सबैलाई नम्बरवाला भाटो देखाए अनि शुरु गरे काउण्ड डाउन, .....तर नौ पुग्न पाएन, चार पुग्दै भाटो टुक्रा टुक्रा भयो । फेरि तान्न लगाए, यो पटक भाटो नं ३ तानेछन्, तीन पूराहुँदा उनको डडेल्नाको बोक्रा पक्लक पक्लक उप्किएर भाटासँगै मासुका चोक्टाहरु च्यापिएर टुक्रिदै र छरपष्टिँदै थिए, छियाछिया भएको थियो, मानौ कसाहीको अचानोबाट छिलिएको रगतसरीको मासुका टुक्रा उछिटिए झै र कतै गोरोको छाला जस्तै । बल्ल पहिलो कार्वाही पूरा भयो । यावत क्रमले दोस्रो हुँदै तेस्रोसम्म आइपुग्दा विवशको हातले क्यामराको लेन्स र रेकडर थाम्नै सकेन । भनन रिँगटा लागेझै भयो, थरर हात कामे, रेकड अफ ।
तीनवर्षसम्म विवश वर्षमा एकपटक लगातार हिमाली गाउँ गएर रिपोर्ट गर्ने गर्थे । त्यो गाउँमा साँस्कृतिक विचलन कहिल्लै आएन । न कोही मातेका मान्छे भेटिन्थे, न जुवाडे झगडीया र साँध सीमानाका विवादहरु नै । विद्यालयपनि समयभर लाग्थ्यो । गाउँ एकाएक सुध्रिएको आभास भएको थियो । कसैले कसैको चियो चर्चोसमेत गरेन । सबैको मिलेमतोमा गाउँका धेरै विकासपनि भएका थिए । गाउँ गाउँमा बाटाहरु पनि खनिए । धारा, कुला र पुलपुलेसा पनि बनिए रातारात । बजेटकालागि कसैको मुख पनि ताक्नु पर्दैनथियो । श्रमदानमै सबै उत्साहित देखिन्थे । तेस्रो पटक विवशले लालसेनाको नमूना गाउँ भनेर रिपोट पनि बजाए । बहुत प्रशंसनीय थियो हिमाली गाउँ ।
छ वर्षपछि
मुलुकमा पुरानो संरचना भत्किएर नयाँको अभ्यास भइरहेकाबेला धेरैतिर गाउँ र बस्तीहरु विकासबाट विमुख भएका समाचार आए । यो बेला विवशलाई त्यही गाउँको सम्झना आयो । अहा, हिमाली गाउँ कस्तो बन्यो होला अहिले ? विवश उत्साहकासाथ हिमाली गाउँको रिपोर्ट गर्न चौथो पटक निष्किए । कमरेड भाउजु र मसिने काकाको घर थोत्रिएको रहेछ, अलिपर गोठमा घाम ताप्तै चोया केलाउँदै थिए । विवश सरासर मसिने काकासम्म पुगेर सोधे गाउँका खवर । पहिलेको जस्तो छैन बाबू गाउँ विग्रिसकेको छ, गाउँमा धेरै नेता भए, कसैले कसैको कुरा सुन्दैन अब । सबै कमिसनमा लागेका छन् । मसिने काका कुँडिएको मन लिएर बसेका रहेछन् । — कमरेड भाउजु शहर पसेपछि मसिने काकापनि एक्लिएका रहेछन् । कमरेड भाउजु समानुपातिक सांसद भएपछि उतै घरजम गरिछन्, र सहरतिरै बस्न थालिछन् । पहिले गाउँलाई सबक सिकाउने उनै राता कमरेडहरुमध्ये केही सहरतिरै अल्मलिए । गाउँमा फर्किएकाहरुपनि आजकल समय विताउन दिनभर तास खेलेर बस्छन् र साँझपख मातेर लर्खराउँदै हिड्छन् । आजकल हिमाली गाउँमा नमात्ने र राम्रो बोल्ने कोही भेटिँदैन, विकासको त कुरै नगर्नुहोस् बाबू । गाउँमा फेरि बलात्कारका घटना बढ्न थालेका छन् । छिमेकमा सीमा मिचिन थालेको छ, न्याय निरीह छ । मसिने काकाले सुनाए ।
उ बेलाको भन्दा त्राही छ हिमाली गाउँमा अहिले । यो गाउँका धेरै मान्छेले रगत बगाएका थिए त्यो बेला । गरिबहरुकालागि केही हुन्छ कि भन्ने आशपनि लागेको थियो । मसिने काकाले लामो सास तानेर खुईय गर्दै भने अँ हँ समयसँगै शासक फेरिए तर गाउँको मुहार फेरिएन ।
अलिपर बाटामा सोह्र अठार वर्षका जस्ता देखिने तीन चारओटी केटी सेता तिघ्रा र गर्धनको आधाभाग ट्याटुले भरेका पुरै तिघ्रा देखिनेगरी छोटा छोटा स्कट र पातला टीसर्ट त्योपनि दुईपट्टीको फेर तानेर गाँठो पार्दै मस्किदै गरेका, विचविचमा सोही लेबलका केटाको एक हुल धान गोड्न हिडेको परेली झै कुर्रा हान्दै ओरालो लाग्दैथियो । कोही तिनै केटीहरुको टीसर्ट र पररर उडेको केशका कस्र्रा तान्दै खित्का छोड्थे त कोही चिमोट्तै छिर्के लगाएर लडाउन खेज्थे निशंकोच । सहज अनुमान लगाउन सकिन्थ्यो गाउँमा बेरोजगारी अनियन्त्रित युवा उन्माद छचल्किरहेछ । यो समुहभन्दा अलि पर पुरानै लालवर्दीमा एक कमरेड झुल्किए । च्यातिएर जडाउरी भइसकेको, कटकट बोक्रा उप्किन थालेको मैलो लालबर्दी, कम्मरमा खुकुरी भिरेर हातमा बनबाँसको भाटो हल्लाउँदै केही नबोली फटाफट अघि बढ्दै गरेको देखेर विवशले झट्ट सम्झिए उ बेलाको ‘कमरेडको भाटे कार्वाही’, फननन रिल घुमे झै भयो, हात फेरि थर्रथरायो, रेकड अफ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 9 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु