पगाहा कथासङ्ग्रह एक दृष्टि

- विश्वराज अधिकारी

खेमराज पोखरेलद्वारा लिखित कथा सङ्ग्रह ‘पगाहा’ मा २१ कथाहरू छन्। बिएन पुस्तक संसार, बगबजार, काठमाडौले प्रकाशन गरेको यो पुस्तकको मूल्य रु ३०० रहेको छ। यो पुस्तक सर्वप्रथम २०२७५ सालमा प्रकाशित भएको हो। यस कथा सङ्ग्रहमा समाविष्ठ कथाकहरूले नेपाली समाजमा देखिएका विभिन्न समस्याहरूको उठान गरेको छ। कथाहरू विविधताले भरिएका छन्। पढ्नका लागि रुचिकर छन्।
यस कथासङ्ग्रहको समीक्षा पूर्व नेपाली साहित्य जगत्मा प्रचलित एक रोचक चलनको बारेमा उल्लेख गर्न सान्दर्भिक लागेकोले सो चलनबारे चर्चा गर्ने प्रयास गरेको छु। नेपालमा पाठकहरूले रोचक वा नौलो विषयमा लेखिएको पुस्तक पढ्ने (खरिद गर्ने) चलन छैन। कुनै पुस्तकको चर्चा, परिचर्चा पत्र पत्रिकाहरूमा ज्यादै भएमा वा त्यसले कुनै ठूलो पुरस्कार (मदन पुरस्कार) पाएमा मात्र सो पुस्तक पढ्ने चलन। यसप्रकार नेपालमा कुनै पुस्तक अति नै राम्रो वा पठनीय हुनुको मापदण्ड वा आधार त्यस पुस्तकले कुनै ठूलो पुरस्कार पाउनु हुन पुगेको छ। तर यो स्थितिले एउटा प्रश्न खडा गर्दछ। पुरस्कार दिने भनी निर्णय गर्ने दुईचार व्यक्तिहरुलाई कुनै पुस्तक राम्रो लाग्यो भन्दैमा के त्यो पुस्तक राम्रो नै हुन्छ होला र सबै पाठकहरूका लागि पठनीय हुन्छ होला? हामीले यो यक्ष प्रश्नको उत्तर खोज्न आवश्यक छ।
केवल पुरस्कृत भएका पुस्कतहरू नभइ पाठकहरूले अनेक किसिमका पुस्तकहरू पढ्न आवश्यक छ, अमेरिका र युरोपमा जस्तो। यसैगरी कुनै पुस्तकको लोकप्रियताको आधार पाठकहरुले यो पुस्तक राम्रो छ भनी दिएको प्रतिक्रिया हुनु पर्दछ। यो पुस्तक असल छ भनी दिएको मत हुनु पर्दछ।
यस कथा सङ्ग्रहको पहिलो कथा हो ‘आफ्नो जीवन बाँच आमा’। यो एक आदर्श कथा हो। यस्तो भइ दिए हुन्थ्यो भनेर कथाकारले सोंचेको चा चाहना गरेको कथा हो।
यो कथाले समाजलाई परिवर्तनकारी सोंच राख्न उत्प्रेरित गर्दछ। रुढिवादी होइन प्रगतिवादी एवं न्याय प्रेम हुन आग्रह गर्दछ।
यो कथामा कथाकार द्वारा एक नौलौ प्रयोग पनि भएको छ जुन नेपाली समाजमा देखिने बिरलै चलन सङ्ग जोडिएको छ। नौलो पनि क्रान्तिकारी किसिमको छ। यस कथामा तिनओटी छोरीहरू मिलेर पतिद्वारा छोडिएकि आफ्नी आमाको एक अर्को पुरुषसङ्ग बिबाह गराइ दिएको प्रसङ्ग छ। प्रौढ आमालाई जवान भइसकेकी छोरीहरुले विवाह गराइ दिएको घटना छ।
यस कथा मार्फत कथाकारले विधुवा मात्र होइन पतिद्वारा अति सताइकी वा परित्याग गरिएकी महिलाहरुलाई पुन: विवाह गर्न प्रेरित गरेका छन्। साथै त्यस्ता महिलाहरुका सन्तानहरूलाई पनि आफ्नी आमाको विवाह गरि दिन प्रेरित गरेका छन।
यो एक उच्चकोटीको कथा हो। यस्ता कथाहरू नेपाली साहित्यमा कमै लेखिएका छन।
यस कथा सङ्ग्रहको दोसो कथा हो ‘बात’। यस कथाको आधारभूमि एक पत्नी-पीडकको व्यवहार हुन पुगेको छ। यस कथामा, पत्नी पीडक, शान्त र सुन्दर शील भएकी पत्नीलाई पीडा दिएकोमा पछिल्लो समयमा पश्चातापमा डुबेका छन् भने पीडित पत्नीले त्यस्ता पतिलाई परित्याग गरी नया जीवन आरम्भ गरेकी छन्। कथाहरूमा यस किसिमको सन्देश आउनु कथाकारको बौद्धिक वैशिष्ठता झल्किनु हो किनभने कथाकारले पीडित ती महिला (पत्नी) लाई पलायनवादी नबनाएर संघर्षशील बनाएका छन्। हाम्रीले जीवनमा संघर्ष गर्नु पर्छ। हामी पलयानवादी हुनु हुँदैन। यस्ता कुराहरू तर्फ कथाकार निकै सचेत छन्।
‘बेगलकाँटे’ यस सङ्ग्रहको तेस्रो कथा हो। यो कथामा मुख्य गरी दुई कुराहरू दर्शाउन खोजिएको छ। पहिलो, नेपालमा सबै व्यक्तिहरू समस्याग्रस्त छन्। कोही सँग आर्थिक समस्या छ भने कोही सँग सामाजिक छ तर सबैसँग कुनै न कुनै समस्या भने अवश्य छ। र यी ससम्याहरू सृजना गर्नमा प्रमुख भूमिका भने तत्कालीन समाजले खेलेको छ। खोट हाम्रो समाजमा नै छ। समाजको संगठन एवं विकासको प्रकृतिनै समस्याको चुरो हुन पुगेको छ।
दोस्रो, इमान्दार भएर बाँच्दा प्राप्त हुने आनन्द खुसघोर, बेइमानन षडयन्त्रकारी भएर बाँच्नु भन्दा हजार गुणा बढी हुन्छ। इमान्दारीले जीवनकालभरि सुन्तुष्टि र सम्मान दिन्छ।
यो कथाको रोचक पक्ष के छ भने नेपालमा हरेक व्यक्ति तनावग्रस्त छ, समस्याग्रस्त छ भन्ने कुरा अति चाँखलाग्दो एवं रोचक ढँगले प्रस्तुत गरिएको छ। यो एक असल कथा हो। यो कथाले व्यक्तिहरूलाई स्वाभिमानी भएर बाँच्ने ऊर्जा दिन्छ।
यस सङ्ग्रहको चौथो कथा ‘भाउजू’ हो। यो कथाको सिर्षक, भाउजु, कथासँग मेल खाँदैन। प्राय: कथाको सिर्षकले कथाको भित्री विषय वस्तु छोटकरीमा प्रस्तुत गर्दछ तर भाउजू शिर्षकले त्यो कार्य गरेको पाइँदैन। यो कथाको सिर्षक वीरांगना राखेको भए हुन्थ्यो किनभने भाउजू भनिएको पात्र यस कथामा बिद्रोहीको रुपमा प्रस्तुत भएकी छन्। उनले असल कार्य र परिवर्तनका लागि समाजलाई चुनौति दिएकी छिन। कुनै खास कारण (कथाको रोचकता कम गर्न कारण नभनेको) ले समाज र आफ्नै पतिले नै पनि तिरस्कार र पीडा दिने भयले आफ्नो देवर (पतिको मित्र) लाई आफूसँग सम्भोग गर्न विनम्र अनुरोध गर्ने महिलाको अदम्य साहसलाई सामान्य भन्न मिल्दैन। असल परिणामका लागि बिद्रोग गर्ने यस कथामा भाउजू भनिएको पात्रको भूमिका उल्लेखनीय छ। बरु देबर भनिएको पात्र केही गर्न नसक्ने, सम्भोग नगरेता पनि अन्य सहयोग गर्न नसक्ने पात्रको रुपमा प्रस्तुत भएको छ। यो कथा पनि एक विशिष्ठ र सन्देशमूलक कथा हो। पीर,मार्कामा परेका महिलाहरूलाई धैर्य नहारेर, संघर्ष गर्दै बाँच्न यो कथाले प्रेरित गर्छ।
यस सङ्ग्रहको पाँचौ ‘कथा ‘हजुरबा’ एक सामान्य कथा भएता पनि यो कथाले दर्शनको कुरा गर्छ। दार्शनिक दृष्टिकोणले भने यो कथा अर्थपूर्ण छ तर फेरि अर्कोतिर यो कथा, कथा भन्दा पनि जीवन – दर्शन हुन पुगेकोले सामान्य पाठकहरूले यो कथा नबुझ्ने हुन कि भन्ने लाग्छ। सामान्य पाठकीय दृष्टिकोणले भने यो एक औसत कथा हो।
छेठौ कथा ‘हलेसीको मेला’ परम्परागत कथा भन्दा भिन्न किसिमको छ। यस कथामा जातीय विभेदको पीडा, यौन र आकस्मिकतालाई बडो रोचक किसमले सम्मिश्रण गरे प्रयोग गरिएको छ। यस कथामा जातीय विभेदलाई अति शसक्त किसिमले उठाइएको छ। कथमा एक यस्तो सम्वाद छ, ‘हगी बाजे, भित्र चल्ने, बहिर नचल्ने, कस्तो होला यो नियम?’ अर्थात तल्लो जाती (तथाकथित) को युवतीसँग यौन सम्पर्क गर्न हुने तर उसले छोएको पानी भने खान नहुने? यो कथाको रोचक पक्ष के हो भने यसले हाम्रो समाजमा जातीय भेदभाव कस्ता कस्ता उटपट्यांक (हिपोक्रेसी) किसिमले गरिन्छ भन्ने कुरा सप्रमाण देखाएको छ।
यो कथाको प्रकृति हेर्दा, यो कथा एक बेजोड यौन कथा हुने सम्भावनाले भरपूर देखिन्छ। यसलाई पूर्ण रुपमा यौन कथा बनाइ दिएको भए यो कथा अझै बेजोड हुने थियो। अन्य घटनाहरूमा, कथामा देखाइएको परिस्थिमा, पुरुषले यौन सम्पर्कका लागि पहल वा बलत्कार गरेको देखिन्छ तर यस कथमा एक युवतीले नै एक युवकलाई खास किसिमको परिस्थिको फाइद उठाउँदै यौन सम्पर्क गर्न उत्पेरित एवं बाध्य पारेको देखिन्छ। यो कथाले के भन्न भने पुरुषहरु मात्र होइन, यौन सम्पर्क गर्ने इच्छा तिब्र भएमा युवतीहरू पनि बलत्कार गर्ने मनस्थितिमा पुग्न सक्छन र त्यसलाई अप्राकृतिक भन्न मिल्दैन।
यस सङ्ग्रहको सातै कथा ‘मुद्दा’ रहेको छ। कथाको विषय वस्तु भने धन सम्पत्तिका लागि मुद्दा हालिएको नभएर कथाको एक पात्रको चरित्रमाथि संका गरेर मुद्दा हालिएको छ।
यो एक यौन कथा हो साथै सामाजिक कथा पनि हो। वजनको हिसालबले हेर्दा भने यो एक सामाजिक कथा हो। यस कथा द्वारा महिलाहरुलाई सशक्त र आत्मनिर्भर हुन सन्देश दिइएको छ भने परस्त्रीगमन गर्ने पतिकी पत्नीले आफ्ना त्यस्तो पतिलाई कुन किसमले दण्डित गरेकी छन् भन्ने कुर नौलो किसिमले दर्शाइएको छ। महिलामाथि हुने विभेदको अन्त्य गर्न महिलाहरू नै जागरूक हुनु पर्छ भन्ने उद्देश्यका साथ यो कथा लेखिएको देखिन्छ।
यो एक आर्दश कथा हो र यसका पात्रहरुले कथाकारको निर्दैशन अनुसार कार्य गर्छन्। कथा यथार्थभन्दा कल्पनाको वरिपरि घुमेको देखिन्छ। पात्रहरूले कथाकारको निर्देशनको अवज्ञा गर्दैनन। कथाको कथ्यशैली कल्पना भएता पनि सन्देशमूलक भएकोले यो कथा सुन्दर छ।
आठौ कथा ‘नजन्माएको छोरो’ पनि रोचक छ। यस कथाको शिर्षक ‘मैले नजन्माएको छोरो’ भइ दिएको भए यो शिर्षक ले यस कथाको उचित किसिमले प्रतिनिधित्व गर्ने थियो। कथाको मुहार प्रभावकारी तबरले झल्काउने थियो। तर पनि के शिर्षक राख्ने भन्ने कुरा कथाकारको आफ्नो स्वतन्त्रताको विषय हो।
यो कथा पनि एक सशक्त यौन कथा हो। यस कथामा एक महलालाई अति हिम्मत भएको देखाउन खोजिएको छ। उनको त्यो विशेष हिम्मतले आफ्नो कुमारी अवस्थामा नै पनि एक विवाहित पुरुषसँग सम्भोग गरेर सन्तान पाउन उत्प्रेरत गर्छ। र उनले त्यस्तो गर्छिन पनि। त्येति गरेर पनि ती युवतीमा कुनै पश्चाताप भाव झल्किदैन बरू उनले एक युवक सँग विवाह गरेर नव-जीवन प्रारम्भ गर्छिन।
पुरुषले आफ्नो यौन इच्छा सजिलै पूरा गर्न सक्ने तर महिलाले नसक्ने मौजुदा नेपाली सामाजिक स्थितिको विरुद्धमा यो कथाले जोडदार किसिमले बोल्छ र महिलाहरु (विवाहित, अविवाहित, विधुवा) ले त्यसरी पुरुषहरू जस्तै यौन सम्पर्क गर्नुलाई उचित मान्छ। यो कथाले हाम्रो देशमा नारी-स्वतन्त्रता नारीहरू अनुकूल रहेको कुरा पनि प्रष्ट पार्छ। अर्थात नेपालमा नारी स्वतन्त्रता ज्यादै राम्रो नभएता पनि खराब पनि नेरहेको सन्देश दिन्छ।
यो कथाको कमजोर पक्ष भनेको कथाको मुख्य पात्र ‘उर्मिला’ ले किन र कुन उद्देश्यका साथ विवाहित पुरुष सँग सम्भोग गरेर बच्चा जन्माउन खोजेको हो प्रष्ट नपार्नु हो। किनभने उर्मिलाले विवाहपूर्व सम्भोग गरेको व्यक्तिले उनलाई सह-पत्नीको रुपमा राख्न नखोजे पछि उर्मिलाले अर्को विहे गरेकी छिन। यो थथ्यले कथाको सन्तुलनलाई बिगारेको छ।
यौन आकांक्षा तिब्र भएको कुनै पुरुष (पति) ले अनेक महिलाहरूसँग सम्भोग गर्नु असामाजिक त हो तर अप्राकृतिक भने होइन। यो शास्वत सत्यलाई यो कथाले प्रष्ट्याएको छ नै साथे त्यस्तो गर्ने पतिको मनमा आउने अपराध भावको कुसल किसमले विश्लेषण पनि गरेको छ। कथा रोचक छ।
नवौं कथा ‘नाटक’ कथ्य किसिले एक चिन्तन हो। सामान्य कथाहरूमा हुने पर्ने तत्वहरू भन्दा यो कथाकाम कथाकारको चिन्तन-धाराहरू यत्रतत्र समाविष्ठ भएको देखिन्छ। चिन्तनमा चिंतक जुन दिशा जान पनि र अनेर प्रशंग राख्न पनि स्वतन्त्र हुन्छ तर कथा एक धारमा मात्र बग्छ र यो कारणले गर्दा पाठकहरूलाई पढ्न र बुझ्न सजिलो हुन्छ। यो कथाले चिन्तनधार समातेको र जीवन र जगत्लाई दार्शनिक नजरले हेरेको पाइन्छ। जीवनका अनेक दार्शनिक पक्षको बोध गर्न भने यो कथाले सघाउ पुर्याउँछ।
यस कथाको मूल पात्र दिनेश मरहठा एक अन्यौलग्रस्त व्यक्तिको रुपमा प्रस्तुत भएका छन। उनी परस्त्री गमन गर्न पनि चाहन्छन तर गर्ने आँठ गर्न सक्तैन। उनी नैतिकताको पर्खाल भित्र घेरिरएर रहन चान्छन। तर फेरि, अर्कोतरि त्यो नैतिकताको पर्खाल उक्लेर बाहिर दुनिया (सुन्दर महिलाहरू) हेर्न ललायित पनि हुन्छन। यस्तै यस्तै स्थिति यस कथाकी अर्की सह प्रमुख पात्र, जसको पति परस्त्रीगमनमा रमाउने किसिको छ, को पनि छ।
यो कथाको बेजोड पक्ष के हो भने यौनप्रति पुरुषहरुको मनमा चल्ने अन्तद्वन्दलाई यो कथाले प्रभाकारी किसिमले प्रस्तुत गरेको छ। कथाको कमजोर पक्ष भनेको यो कथा एक विषयमा केन्द्रित नभएर अनेक विषयमा केन्द्रित भएको छ जसले गर्दा कथा कमजोर हुन पुगेको छ।
‘पगहा’ यस सङ्ग्रहको दसौ कथाको रुपमा रहेको छ। यो कथा एक कथाको रुपमा भएता पनि यसमा जीवन दर्शनको बयान गरिएको छ। जीवनलाई शूक्ष्म किसिमले अवलोकन गर्न यो कथा सक्षम भएको छ। सामान्य किसिमका पाठकहरूका लगि भने यो कथा रुचिकर नहुन सक्छ किनभने यो कथा एक कथा शैलीमा अगाडि बढेको छेन।
यस कथामा मूल रुपमा एक सासूआमा र ज्वाँइ को जीवन-वृतिको बयान गरिएको छ। यस कथाको कमजोर पक्ष के छ भने ज्वाँइ केही काम नगर्ने, मनमा वैराग पाल्ने किसिमका छन् तर के कारणले त्यस किसिमका भएका हुन भन्ने तथ्य कथाले खोल्दैन। ज्वाँइमा किन निष्क्रियता आयो भन्ने कुरा कथाले भन्दैन जबकी ज्वाइ यस कथमा महत्वपूर्ण भूमिका सहित उपस्थित छन्। यस किसिमक स्थितिले यो कथालाई कमजोर पारेको छ।
अर्कोतिर भने ८७ वर्षकी सासूआमा क्रियाशील छिन। उनको क्रियाशीलताबारे भने कथाले प्रष्ट रुपमा भनेको छ। सासूआमा पढेलेखेको नभएता पनि, ज्ञान वैराग्यका कुराहरू उनलाई थाहा नभएता पनि उनीबाट श्रीमद् भगवद् गीतमा भनेझै ‘कर्मयोग’ भएको छ। उनी ज्ञानयोगी नभएता पनि कर्मयोगी भएकी छिन। श्रीमद् भगवत् गीतमा भगवान श्रीकृष्णले भन्नु हुन्छ, ‘मनुष्यले ज्ञानयोग र कर्मयोग मध्ये एक रोज्नु पर्छ। अर्थात कर्म वा ज्ञानद्वारा यो जीवन सरल पार्न सकिन्छ र यो जीवन र जगत्लाई बुझ्दै यसप्रतिको दायित्व पूरा गर्न सकिन्छ। सासूआमा वयोवृद्ध भएता पनि नित्य कर्ममालीन छिन। कर्मबाट विमुख छैनन। कर्मलाई नै जीवनको उद्देश्य बनाएकी छन।
यस किसिमको एक शसक्त पात्र (सासूआमा) परिकल्पना गरेर उनलाई एक कर्मयोगीको रुपमा पाठकहरूलाई परिचित गराउनु कथाकारको कथा-शिल्पको उत्कृष्ण नमूना हो।
कथाकार पोखरेलले यस किसिमका दार्शनिक कथाहरू लेखेर आफूलाई आफ्नै आख्यानद्वारा अब्बल कथाकार तुल्याएका छन।
खेमराज पोखरेलका कथाहरूमा दर्शन मिसाइएका हुन्छन र त्यस्तै गरी दर्शन मिसाइएको छ यो एघारौं कथा ‘सपना’ मा पनि। यस कथमा एक पुरुषको अन्तद्वन्दको शब्द चित्रण प्रभावकारी किसिमले गरिएको छ। कथ्यको दृष्टिकोणले यो एक सामान्य कथा हो र यो कथालाई कुनै उल्लेख्य बाटो समातेको देखिंदैन र त्यो कारणले गर्दा पनि यसलाई दर्शन मिसिएको कथा भन्नु पर्ने हुन्छ।
यस कथाको मूल पात्र रामकृष्णलाई आफ्नो युवाकालामा विपरित लिंगको संसर्गबाट प्राप्त हुने आनन्द लिन नपाएकोमा ठूलो पश्चाताप छ। पौढकालमा पुगेपछि भने उसको इच्छाले युवा कालका ती महिला मित्रहरू सम्बन्ध बढाउन प्रेरित गर्छ तर पनि उसको दब्बु प्रवृतिले गर्दा रामकृष्ण नामक त्यो पात्रले त्यस्तो गर्न सक्तैन।
यो कथाले रामकृष्णको दब्बु स्वभावको राम्रो चित्रण गरेको छ। कथाकार पोखरेल, रामकृष्णको मनभित्र पसेर उसको मनोविज्ञान अध्ययन गर्न सफल भएका छन्।
यस कथाको कमजोर पक्ष भनेको यस अनेक पात्रहरू छन तर ती अनेक पात्रका क्रियाहरूबाट बनेको एक सिंगो कथाले पाठकमाथि पाठकीय छाप अत्यन्तै बलियो गरी छाड्न सक्तैन।
पोखरेलका कथाहरूमा प्राय: नारी पीडाहरू समेटिएका हुन्छन। त्यो पीडाहरूमा पनि प्रमुख रुपमा यौनसँग सम्बन्धित विषयहरू हुन्छन। परस्त्रीगमन गर्ने पुरुषहरुले आफ्नो पत्नीमाथि गरेरको भावनात्मक शोषण पोखरेलका धेरै कथाहरूमा पाउन सकिन्छ।
‘सुहागरात’ यस सङ्ग्रहको बार्हौ कथा हो। यो कथा पनि कथाकारको लेखन क्षेत्रभित्र नै परेको छ। अर्थात यस कथामा पनि कथाकारले महिला पीडा एवं हिंसाका कुरा गरेका छन्।
यो कथाको मध्यमा पुग्दा नै एउटा प्रश्न पाठकको मनमा स्वभाविक किसिमले उठ्छ। त्यो के हो भने यस कथाको एक महिला पात्र नवीनाको मनोदसा कथाकारले शूक्ष्म किसिमले विश्लेषण गरेका छन तर उनले पुरुष भएर महिला-मनको कसरी विश्लेषण गरेका होलान त? महिला र पुरुषको शरीरको बनाबट फरक फरक किसिमको भएझै मनोविज्ञान र पीडा (प्रशव वा प्रजनन) पनि फरक फरक किसिमको हुन्छ। पुरुषहरूलाई प्रशव पीडा कस्तो हुन्छ भन्नेबारे कुनै किसिमको अनुभव हुँदैन तर वहुसंख्य महिलालाई हुन्छ। यसैगरी महिनाबारीमा पेटको दुखाइ कस्तो हुन्छ भन्ने कुरा प्रत्येक महिलाई अनुभव भएको हुन्छ तर यस्तो अनुभव कुनै पनि पुरुषलाई भएको हुँदैन।
कुनै एक घटनाबाट प्राप्त अनुभवका आधारमा जीवनका सबै घटनाहरू उस्तै हुन्छन भनी धारणा बनाउनु यो जीवन र जगत्लाई राम्रो नगरी नबुझ्नु हो। यो कथाको मूल सन्देश यो नै हो। मुख्य गरी कुनै एक युवतीले कुनै एक युवकको व्यवहारको आधारमा यो दुनियाका सबै युवकहरूको व्यहार उस्तै हुन्छ भनी कहिले पनि धारणा बनाउनु हुन्न। यो संसारमा व्यक्तिपिच्छेको मनोविज्ञान पृथकपृथक किसिमको रहेको हुन्छ। त्यसकारण एउटा घटनाको आधारमा सबै घटनालाई एउटै दृष्टिकोणले (generalize) हेर्नु हुँदैन। यो कथाले यो कुरा भन्छ।
यौन प्रति कमजोर (नकारात्मक) मनोविज्ञान भएको वा सबै पुरुषप्रति गलत धारणा बनाएको एक युवतीको यौन मनोविज्ञानको अति शूक्ष्म विश्लेषण गर्न यो कथा सफल भएको छ। यो एक सालिन भाव एवं भाषामा लेखिएको उत्कष्ट यौन कथा हो। यो कथा यस संग्रहको उत्कृष्ट कथा पनि हो।
‘ह्विलचेयरको फन्को’ यस सङ्ग्रहको तेर्हौ कथा हो। यो एक यौन कथा हो र सामाजिक कथा पनि हो। यो कथाको प्रमुख विशेषता भनेको विषम परिस्थितिमा पनि मान्छेलाई (यो कथाले) हिम्मतका साथ बाञ्चन प्रेरणा दिनु हो। यस कथाको प्रमुख पात्र निमा शारिरीकरुपले बिकलांग भएता पनि, उनको कम्मर मुनीदेखि सुकेर दुबै खुट्टा चल्न नसकेता पनि, उनको दिनचर्या ह्विलचेयरमा नै बिते पनि, उनले जीवनसँग संघर्ष गरेकी छन्। जीवनका अप्ठ्याराहरूलाई चुनौति दिएकी छिन। कष्टकर जीवनदेखि डरारए भागेकी छैनन। जीवनलाई एक युद्ध मानेर एक योद्धाझै जीवन-युद्धलाई जित्न खोजेकी छन।
पाठकहरूलाइ आफ्नो कथाकाहरु मार्फत संघर्षशील भएर बाञ्चन ऊर्जा दिनु पोखरेलका कथाको प्रमुख विशेषताका रुपमा रहेका छन्। कथाकार स्वयं संघर्षशील छन् पलायनवादी मनोविज्ञानलाई असल मान्दैनन। कथाकारको हौसल बुलन्द छ। यस्तो गुण साहित्यकारहरूमा हुनु राम्रो हो किनभने राष्ट्रिय मनोविज्ञान असल एवं उपयोगी तुल्याउनमा साहित्यकारहरूको भूमिका महत्वपूर्ण हुन्छ। पलायनवादी साहित्यकारहरूले पलायनबादी (पाठक) जनमत निर्माण गर्छन। यो कुरा आम पाठकहरूले बुझ्न आश्वयक छ।
यस कथाका की प्रमुख पात्र निमाको यौन मनोविज्ञानालई पनि कथकारले शूक्ष्म किसिमले हेरेका छन। पत्र पत्र केलाएका छन्। व्यक्ति अपांग हुँदैमा उसको यौन आकांक्षा मर्दैन र त्यो कुरा समाजले राम्रो गरी बुझिदिनु पर्छ भन्ने आग्रह पनि कथाकारले गरेका छन्।
कथाकार आफ्ना कथाहरू मार्फत महिलाहरूमाथि हुने भेदभाव एवं यौन हिंसाको विरुद्धमा उभिएका छन। महिलाहरूलाई शक्तिसाली भएर आफ्नो रक्षा गर्न भन्न चुकेका पनि छैनन। उनको त्यो कथ्य विशेषता यस कथामा पनि बलियो गरी देखिएको छ।
कथाका शिर्षकहरुले कथाको शारांस बोकेको हुनु पर्छ। यस्तो भएमा पाठकहरूलाई कथाको विषय थाहा पाउन सजिलो हुन्छ। साथै शिर्षक उत्प्रेरक पनि हुनु पर्छ र त्यसले पाठकलाई पूर्ण कथा पढ्न उत्प्रेरित गर्नु पर्छ। यी दुई विषेशताहरू पोखरेलका कथाहरूमा अनुपस्थित देखिन्छ। यो कथाको शिर्षकमा कथाकारको त्यो कमजोरी प्रष्ट किसिमले देखिएको छ। मलाई विश्वास छ अब लेख्ने कथाहरूमा पोखरेलले यसतर्फ ध्यान दिने छन्।
यस कथामा, कथाकार अति नै आशावादी मनोविज्ञानको देखिएका छन्। उनको यो विशेषता यस सङ्ग्रहको प्रत्येक कथामा प्रतिबिम्बित छ। कथकारले आम जनतालाई जीवनका चुनौतिहरू स्वीकार गर्न भन्छन र प्रत्येक त्यस्ता चुनौतिहरूमा औसर पनि लुकेको हुन्छ भन्ने कुराको वकालत गर्छन। ती औसरको उपयोग गर्न सल्लाह दिन्छन।
कथाकारले कथाहरूमा दार्शनिक दृष्टिकोण राखेको पनि देखिन्छ। यस कथमा, विभिन्न प्रशंगमा उनले यसरी लेखेका छन, “खोइ यी गुलाबका फूलहरू, कलकल बग्ने कल्पनाको रोशी खोला पनि, निलो आकाश पनि, र पारिको जङ्गल पनि म हाँसे मात्रै हाँस्छन कि क्या हो? यसअघि कहिल्यै यी हाँसेको देखेको थिइनँ।”
“छोराले आएर कसिलो आँगालो हाल्यो उसको बाबुले जस्तै। मैले डाँडाको पारिपट्टि शितल चन्द्रमा उदाएको देखें।”
यस किसिमका दार्शनिक दृष्टिकोण वा कुराहरुले कथाहरूलाई रोचक एवं सुगन्धित पार्ने गर्छन। कथकारले यो कुरा राम्रो गरि बुझेका छन।
यस सङ्ग्रहको चौधो कथा ‘यान्त्रिक जीवन’ हो। यो कथालाई यौन आकांक्षा कुण्ठित भएका नेपाली महिलाहरूको प्रतिनिधि कथाको रुपमा लिन सकिन्छ। प्राय: आफ्ना हरेक कथमा नारीहरूको सामाजिक एवं यौन जीवनको शूक्ष्म अवलोकन एवं विश्लेषण गरेझै यस कथामा पनि एक विवाहित नारीको यौन अतृप्त मनोविज्ञानको कथाकारले अति शूक्ष्म किसिमले अवलोकन एवं विश्लेषण गरेका छन र प्रभावकारी किसिमले उक्त कार्य गर्न सफल भएका छन् पनि। यो कथा एक उच्चकोटीको यौन मनोविज्ञान कथा हो। यस कथामा लक्षणा अर्थ लाग्ने वाक्यहरूको कथाकारले बडो कुसलताका साथ प्रयोग गरेका छन्।
यस कथामा, पतिबाट यौनतृप्ति नपाएकी र पतिद्वारा केवल एक यन्त्र सरह भोगिएकी महिलाले आफ्नो त्यस्तो जीवनको आफू काम गर्ने कारखानाको मेशिनसँग तुलना गरेकी छिन। उनको यौन जीवन पनि उनले कार्य गर्ने कारखानाको केवल एक मेशिन जस्तो छ। त्यो मेशिन कुनै ऊर्जाबाट सञ्चालित भएझै उनको शरीर पनि सहबासको समयमा उनको पतिद्वारा एक मेशिनझै सञ्चालित हुन्छ। पतिले सञ्चालन गरे पछि सञ्चालित हुन्छिन र त्यो यान्त्रिक यौनमा कुनै पनि किसिको रति-प्रेम मिसाइएको हुँदैन। पति अति निर्दयी छन जसले आफ्नो पत्नीको यौन जीवनको पूर्णरुपमा वेवास्ता गर्छन। कथामा यी कुराहरू समेटिएका छन्।
यो कथमा भने कथाकारले यौन कुण्डा पालेर बसेकी यस कथाकी मूल पात्र रूजालाई बिद्रोग गर्न लगाएका छन। चिसो र प्रेमहीन यान्त्रिक सहवास गर्ने आफ्ना पतिसँग रूजाले बिद्रोग गरेर, परपुरुषसँग सहबास गरेर, सम्भोगको चरम आनन्द लिएकी छिन। सहबासमा केवल शारिरीक सम्बन्ध मात्र हुँदैन साथै आनन्दप्राप्तिका लागि दुई सहभागीहरूको मन मिलेको हुन्छ र हुनु पनि पर्छ। पति र पत्नी बिच हुने सहबासमा यो कुरा अनिवार्य रुपमा हुनु पर्छ। यो कथाले यस विषयलाई बलियोगरी उठाएको छ।
नेपाली समाजमा देखिएको परिवर्तनलाई पनि यो कथालाई शूक्ष्म किसिमले हेरेको छ। महिलाहरू अब केवल भोग्य वस्तु होइन। उनीहरूको पनि आफ्नै किसिका यौन आकांक्षाहरू छन र ती आकांक्षाहरू पूरागर्न अब उनीहरू सक्षम छन र सामान्य किसिमले पूरा नभएमा विद्रोग गर्न पनि तयार छन्। यी कुराहरू नै कथाका आधारभूमि हो। यो कथा पनि सन्देशमूलक छ। आकर्षक छ।
‘सायद उमेरको करामत थियो होला। मलाई मेरा घरका आँखीझ्यालबाट देखिन जुनेली रात मन पर्न थालेको थियो। सुन्य रातले मेरो निद्रा अधकल्चो बनाउन थालेको थियो।’ यस किसिका लक्षणा वाक्यहरूको प्रयोग गरेर कथाकारले छोटो वाक्यमा धेरै मनोवैज्ञानिक कुराहरू आफ्ना कथाहरूमा उल्लेख गरेको पाइन्छ। यो शीपलाई कथाकारको विशेषताको रुपमा लिन सकिन्छ।
यस सङ्ग्रहको पन्धौं कथा ‘योद्धा’ एक सामान्य कथा हो। यो सामान्य किन हो भने यस विषयमा धेरै कथाहरू पहिले लेखिसकिएका छन्। तर पनि यस कथाले कथाको परिवेश भने केही पृथक रोजेको छ। यो कथा नेपालको पूर्वी मधेश र मुख्य गरी सप्तरीको जीवनमा केन्द्रित रही लेखिएको छ। तराइको जन-जीवनमा केन्द्रित रहेर कमै कथा, साहित्य आदि लेखिएका छन्। तराइको जन-जीवनमा केन्द्रित रहेर लेखिएको एवं तराइको पीडालाई समेटिएको हुनाले यो कथा केही खास भने अवश्य हुन पुगेको छ।
यस कथामा माओवादी आन्दोलनको समयमा सोझासाझा मधेसका युवाहरूलाई केही स्थानीय नेता भनाउँदाहरूले आफ्नो स्वार्थ पूर्तिका लागि आफ्नो घोडा बनाएर दौडाए तर जब आफूहरू नया राजा बनेर स्वर्णिम दरवार (सत्ता, शक्ति) मा पसे त्यसपछि ती सोझा साझाहरूलाई कसरी निर्मम किसिमले फोहरझै रद्दीको टोकरीमा फालेर हिंडे भन्ने कुरा मार्मिक किसिमले देखाइएको छ। हुनत यस कथामा माओवादी आन्दोलनको उल्लेख गरिएको छैन र माओवादी नेताको चर्चा पनि गरिएको छन तर कथाको परिवेश र सन्देशले यो कथा माओवादी आन्दोलनलाई लक्षित गरी लेखिएको भन्ने बुझ्न पाठकलाई गार्हो हुँदैन।
माओवादी आन्दोलन केवल शक्ति हस्तगत गर्नका लागि केही टाठाबाठा हरूबाट गरिएको एक अति नै रक्तपातपूर्ण एवं हिंसक संघर्ष थियो जुन संघर्षमा सोझासाझा युवा युवतीहरालाई लडाकूको रुपमा निर्मम किसिमले उपयोग गरिएको थियो। ती युवा युवतीहरूलाई सुन्दर नेपालको, समानताको, आर्थिक विकासको एक कोरा सपना देखाएएको थियो। यी विषयलाई यो कथाले बेजोड किसिमले प्रस्तुत गरको छ।
अन्य कथाहरूमा यौनको चर्चा भएता पनि यस कथामा भने यौनको चर्चा ज्यादै कम भएको पाइन्छ।
संसारको कुनै पनि मुलुकमा कुनै पनि किसिमको घरको प्रमुख उपयोगिता हो त्यस घरमा बस्नेहरूलाई सुरक्षा प्रदान गर्नु र बस्नेहरूको जीवन यापन सरल पारिदिनु हो। घर ठूलो होस वा सोनो, महँगो एवं विलासी होस वा झुपडी, घरको प्रमुख उद्देश्य सुरक्ष प्रदान गर्नु हो। घाम पानीबाट जोगाउनु हो। अमेरिकामा निर्माण हुने घरहरूको प्रमुख उद्देश्य नै सुरक्षा प्रदान गर्नु रहेको हुन्छ। यहाँ घरहरू विभिन्न व्यक्तिहरूको स्वामित्वमा भएता पनि एकै किसिका हुन्छन। घरका रुप रंग एउटै किसिमका हुन्छन। यस किसिमका घरहरूलाई स्ट्यान्डर्ड होम (Standard home) भन्ने गरिन्छ। स्टायान्डर्ड होम बनाउँदा निर्माण लागत कम पर्ने हुनाले सामान्य आर्थिक स्थिति भएका व्यक्तिहरूले पनि यस किसिमको घर बनाउन सक्छन। र यो कारणले गर्दा अमेरिकामा यस किसिमको घर ठूलो संख्यामा निर्माण हुन्छ। स्याट्यान्डर्ड होमहरू ठूलो संख्यामा निर्माण हुने भएकोले अमेरिका आउने नेपालीहरुले भनेको सुनिन्छ, ‘अमेरिकामा त एकै नासका घरहरू हुने गर्छन। कुन कसको घर हो छुट्याउन गार्हो।’
नेपालमा निर्माण हुने घरको निर्माण-उद्देश्य भने अति नै पृथक हुन्छ। नेपालमा निर्माण हुने घरहरूले सुरक्षा र सुविधा होइन निर्माणकर्तालाई गर्व दिनु पर्छ। घमण्ड एवं हेसियत प्रदर्शन गर्ने औसर दिनु पर्छ।
नेपालमा र खासगरी काठामाडौमा बन्ने घरहरू निर्माणकर्ताहरूले आफ्नो सरकारी पद, आर्थिक औकात, सामाजिक हैसियत र उच्चताभाष प्रदर्शन गर्नका लागि बनाएका हुन्छन। ऋणमा चुर्लुम्म डुबेर भएता पनि निर्माणकर्ता अर्थात घर धनीहरूले समाजलाई देखाउन (मनको तुस मार्न) महँगो घर बनाउँछन। ऋणमा डुबेर, मनमा आशान्ति र पीडा लिएर भए पनि हैसियत देखाउन नेपालमा परिवारहरू महँगो घर बनाएर त्यसमा बस्न चाहन्छन। त्यस्तो गर्न मरिमेट्छन। यो एक गम्भीर सामाजिक एवं मानसिक समस्या हो। हामीले यसबाट छुटकारा पाउनु पर्छ। यी कुराहरूलाई यस सङ्ग्रहको सोर्हौ कथा ‘यो पनि घर हो’ ले बलियो गरी समेटेको छ।
‘यो पनि घर हो’ नामक कथा यस सङ्ग्रहको एक सशक्त कथा हो। यो कथाले पाठक एवं समकालीनहरूलाई घर आडम्बर प्रदर्शनका लागि नभएर सुविधा र सुरक्षाका लागि निर्माण हुनु पर्छ भन्ने सन्देश अति प्रभावकारी किसिमले दिएको छ।
पोखरेलका कथाहरूमा उनको हवाइ कल्पनाहरू प्रतिबिम्बित हुनुको साटो समाजिक गतिबिधिहरू, समस्याहरू, समेटिएका हुन्छन र कथाहरू सन्देशमूलक हुन्छन। आफ्ना कथाहरूमा आफू समाजप्रति जवाफदेही हुँदै समाजलाई सकारात्क दिशातर्क डोर्याउने किसिमका कथाहरू पोखरेलले लेखेको पाइन्छ। यो कथाकारको एक प्रशंसनीय कार्य हो। यो कारणले उनका साहित्य सृजना हवाइ कल्पना, बिकाउ, चल्तीका नभएर सार्थक छन्।
हाम्रो सामाजले द्रुततर गतिमा आर्थिक प्रगति गर्न नसक्नुको प्रमुख कारण हाम्रो समाज समान्ति समाज हुनु हो। जातीय र हैसियत उचनिचको भावना हाम्रो समाजले बोक्नु हो। तर यस्ता कुराहरूमा सुधार हुनु पर्छ भन्ने सचेतना यो कथाले बलियोगरी फैलाएको छ।
यस सङ्ग्रहको सत्रौ कथा ‘आमाको सन्दुस र लामपाते सुर्ती’ एक औसत कथा हो। यो कथामा पनि कथाको विषयवस्तुसँग कथाको शिर्षक ठ्याक्यै मेल खाएको देखिंदैन। र यो स्थिति कथाकारको कमजोर पक्ष हुन पुग्छ।
यो एक सामान्य कथा भएता पनि यस कथाले मातृ वा अभिभावक प्रेमलाई राम्रो गरी चित्रण गरेको छ र साथै यो कथाले अहिलेका यो आधुनिक युगका व्यक्तिहरूलाई आमाबाबुप्रतिको कर्तव्य निर्वाह गर्नु पर्छ भन्ने कुरा राम्रो सन्देशको रुपमा दिएको छ। यो भौतिकवादी एवं उपभोक्ता युगमा परिवार भन्नाले केवल पत्नि पति मात्र वोध हुने स्थिति समाजले सृजना गरिदिएको सन्दर्भमा आमा, बा, हजुरबा, हजुररामा टाढा हुँदै गएका छन्। नेपालको सन्दर्भमा भन्ने हो भने नातिनी- हजुरआमा वा हजुरबा अथवा नाती- हजुरबा वा हजुरामा बीचको सम्बन्ध केवल औपचारिकतामा सीतिम भएर गएको छ। नाती नातिनाहरूलाई आफ्ना हजुरबा हजुरामासँग बोल्ने फुर्सत छैन। इच्छा पनि छैन। दायित्व वोध पनि छैन। जवाइँको सासु ससुराप्रति वा बोहारीको सासु ससुराप्रतिको सम्बन्ध हाम्रो नव आधुनिक समाजमा कटुतापूर्ण एव प्रेम तथा कर्तव्यहीन हँदै गएको छ। कतिपय अवस्थामा संघर्षपूर्ण हुन गएको छ। बोहारीहरूले सासु ससुरालाई हेर्नु केवल एक बोझ ठान्न थालेका छन। परिवारहरू साना सना आकारका हुँदै गएक छन। अर्थात व्यक्तिहरूलाई व्यक्तिवादी प्रवृतिले उठ्न नसक्ने गरी थिच्दै लगेको छ। यस्ता विषयहरूलाई यो कथाले विशेष किसिमले चर्चामा ल्याएको छ। पाठकहरूको ध्यान यस विषयमा खिंचेको छ।
यो कथा एक सामाजिक कथा हो। यो कथाले पनि समाजलाई सही दिशामा गमन गर्न प्रेरित एवं निर्देशित गर्दछ।
यस सङ्ग्रहको अठारौं कथा ‘नमरी स्वर्ग देखिन्न’ रहेको छ। यो कथामा कथाकारले नेपालमा एकल महिला (पति छुट्टिएर बसेको वा बिधुवा) ले बाँच्नका लागि गर्नु पर्ने कठोर शारिरीक, मानसिक एवं सामाजिक संघर्ष देखाएका छन्। एकल महिलाले नेपाली समाजमा गर्नु पर्ने संघर्षलाई कथाकारले बडो कुसलतापूर्वक एवम् यथार्थ किसिमले देखाएका छन्।
यो कथामा एक खास विशेषता छ। त्यो विशेषता के हो भने यो कथामा देश बाहिर, अमेरिकाको परिवेसलाई देखाइएको छ। यस कथमा कथाकार देश बाहिरको परिवेसलाई अनुभूत गर्न एवं त्यस परिवेसलाई उपयोग गरेर एक आकर्षक कथा निर्माण गर्न सफल भएका छन्। मुलुक बाहिरको जीवनलाई प्रभावकारी कथाको रुपमा उतार्नु महत्वपूर्ण कला हो त्यो कला कथाकारले खुबीका साथ देखाएका छन्।
कथाकारका कथाहरूले विवधता समेटेको छ भन्ने कुराको यो कथाले पुष्टि गरेको छ। कथाकार कल्पनाले प्रेरित भएर होइन जीवन अवलोकनबाट प्रेरित भएर लेख्छन भन्ने कुराको पनि पुष्टि गरेको छ। यो पक्ष कथाकारको सुन्दर पक्ष हो।
हाम्रो समाज कुरौटे समाज हो। अरुको बारेमा बढी चाँसो राख्ने समाज हो। आफ्नो स्वार्थको वरिपरि घुमेर अरुको हितको वेवास्ता गर्ने समाज हो। अर्काको जीवनमा हस्तक्षेप गर्ने समाज हो। हस्तक्षेप पनि यति गर्ने कि अरुलाई सुखसंग बाँच्न नदिने समाज हो। महिलाको जीवनलाई कुरा काट्ने विषयवस्तु बनाउने समाज हो। यी कुराहरूलाई कथाकारले आफ्नो यस कथामा प्रभावकारी किसिमले देखाएका छन र ती यथार्थ पनि छन।
हाम्रो नेपाली समाज आफ्नो दु:खले दु:खी हुनु भन्दा अरुको सुख देखेर दु:खी हुन्छ। यो यथार्थ हो र व्यवहारमा देखिएको कटु सत्य पनि हो।
यस कथाका केही अंसहरू यस प्रकार छन्: “माइती कुरै काटि रहेका छन्। मलाई त लाग्छ सारा नेपाली मिलेर कुरै काटि रहेछन्। हुँदा हुँदा अमेरिका आएका नेपाली पनि मेरो कुरो काटि रहेका छन् र रमाएका छन्। कोही मैले खाएको लाएकोमा कुरो काटि रहेका छन् र सायद आहारिस गरि रहेका छन्।”
“कोही मैले पाएको दु:खको कुरो काटि रहेका छन् र समय बिताइ रहेका छन् र म बाध्य र निरपेक्ष सुनि रहेकी छु तर रोबर्टो मेरो मायाको खानी हो। मलाई जति माया चाहिन्छ त्येही मायाको खानीबाट झिक्छ। हाम्रो बिहे भएको २० वर्ष भयो। मैले अलकति अँध्यारो अनुहार लाएँ भने ऊ शुन्य अनुहार लगाएर बस्छ।”
कथाकारका माथिका भनाइहरू बाट नै पनि प्रष्ट हुन्छ नेपाली समाजको कुरौटे चिरित्र मार्यादा र संवेदनाहिन छ। यसमा सुधार आउन आवश्यक छ।
अचम्म त के कुरामा लाग्छ भने नेपालीहरूले अमेरिका जस्तो स्वतन्त्र समाज (अरुको निजी जीवनको चियो चर्जा नगर्ने, कुरा न काट्ने) मा आएर, बसेर पनि कुरा काट्ने बाँकि राखेका छैनन। आफ्नै नेपाली समुदायका व्यक्तिहरुको अनेक किसिमले कुरा काट्छन। हात तान्ने होइन, खुट्टा तान्छन।
यस कथामा कथाकारले एक नेपाली महिलाको नेपाली जीवनसँग अमेरिकी जीवनको तुलना गर्दै अमेरिकी जीवन सुखद रहेको चर्चा गरेका छन। र त्यो सही पनि हो। हो पनि, नेपाली महिलाहरूलाई अमेरिकामा बाँच्न सजिलो छ। एकल महिलाहरुलाई पनि बाँच्न सजिलो छ। साथै कुनै कारणले पतिसाथमा नभएको वा मृत्यु भएका महिलाहरुलई पनि अमेरिकामा विवाह गर्न सजिलो छ। अमेरिकीहरू अरुको निजी जीवनमा चियो चर्चा गर्दैनन, कुरा पनि काट्दैन। अरुको गोप्यताको र निजी जीवनको सम्मान गर्छन। यो कुरा यो कथाले राम्रो गरि उजागर गरेको छ।
कथामा उठाइएको मुद्दा र प्रस्तुतिको हिसाबले यो पनि एक उत्कृष्ट कथा हो। यो कथाले पनि संकटको घडीमा धैर्य नत्यागेर, संघर्षशील भएर बाँच्न प्रत्येक नेपाली महिलालाई आग्रह गर्दछ।
कुनै एक पुरुषको महिलाप्रतिको खराब व्यवहारको आधारमा सबै पुरुषहरुलाई खराब देख्नु हुँदैन। केही पुरुषहरुले त भद्रताको सीमा पार गरेका हुन्छन। यस्तै यस्तै शन्देश यो कथाले बोकेको छ। र सन्देश मिठो पनि छ।
यस सङ्ग्रहको उन्नाइसौ कथा ‘डायरीका पानाहरू” रहेको छ। यो कथा कथाकारले पृथक किसिमले लेखेका छन। कथामको मूल पात्रलाई डायरी लेख्न लगाएका छन र त्यसरी लेखिएको डायरी नै एक सम्पूर्ण कथा हुन पुगेको छ। कथा लेखनको यो शैली राम्रो छ। यो शैलीले कथालाई रोचक तुल्याइ दिएको छ। पाठकहरूले पठ्न सामाग्रीमा परिवर्तन खोज्छन र कथाकारले पाठकको त्यो इच्छा पूरा गरि दिएका छन्।
यो एक सामाजिक कथा हो। र यो कथाले समकालीन नेपालको स्थिति र नारीहरूको पीडा बोकेको छ। आफ्ना अन्य कथाहरूमा समाजका कुरितिहरू सँग आफ्ना पात्रहरूलाई बिद्रोह गर्न लगाएजस्तै यस कथाको प्रमुख पात्र, जो एक एकल महिला छिन, लाई पनि कथाकारले समाजसँग, परिस्थितिसँग बिद्रोह गर्न लगाएका छन। उनको कथाको पात्र, अन्यायमा परेकी उक्त महिला, शहरमा आएर आफ्ना सन्तानहरूको लालन पालन गर्नका लागि यौनकर्मी भएकी छिन। यो आफैमा एक अतुलनीय बिद्रोह हो। बाँच्नका लागि यौन कर्म गर्नु पाप होइन, यौन कर्म दुराचार पनि होइन। यो कुरा कथकारले राम्रो गरि भनेका छन्।
जीवन जिउन सजिलो छैन तर संघर्ष र धैर्य गर्ने हो भने कष्टकर जीवनलाई सरल पनि तल्याउन सकिन्छ। संघर्षदेखि डराएर भाग्नु हुँदैन। परिस्थिति अनुसार बिद्रोह गर्नु पर्छ। धैर्य र परिश्रमको फल मिठो हुन्छ। यस्तै यस्तै सन्देश यो कथा मार्फत कथाकारले दिएको पाइन्छ।
यो कथाले मुख्य गरी पति एवं पतिका परिवारद्वारा सताइएका महिलाहरूलाई बिद्रोग गरेर दु:खको खाडलबाट बाहिर आएर नया जीवन यापन गर्न उत्प्रेरित गर्दछ। यो कथाल महिला सशक्तिकरणमा जोड दिन्छ र सशक्त हुन कुनै महिले आफ्नो शरीर बेच्नुनाई नराम्रो मन्दैन। यो कथाले पाठकको आत्मवल बृद्धि गर्छ।
‘म यहीँ मर्न पाऊँ’ यस कथा सङ्ग्रहको बिसौ कथा हो। यो कथा पूर्णतया एक सामाजिक कथा हो। यस कथामा तिन कुराहरू देखाइको छ। पहिलो कुरा के देखाउन खोजिएको छ भने नेपालमा पिताहरूले आफू प्रतिष्ठित भएर बाँच्न, घमण्ड गर्न एवं सुविधा सम्मन्न हुन अनेक सपनाहरू देख्छन तर त्यो सपनालाई एक भारी बनाएर त्यो भारी आफ्ना सन्तानहरू र खास गरी छोराहरूलाई बोकाउँछन तर आफ्नो त्यो सपना पूरा गर्न आफूले भने यत्न गर्दैनन। सन्तानहरू पनि आफ्ना पिताको सपनाको भारी बोकेर यति पिल्सिन्छन, थिचिन्छन कि उनीहरूले इच्छा गरेर पनि आफूले चाहेको जीवन बाँच्न सक्तैनन। पिताको सपनाको भारी बोक्ने घोडा भएर बाँच्न बाध्य हुन्छन। यो कथामा त्यस्तै किसिमले आफ्नो पिताको उच्चाकांक्षाको भारि बोक्न बाध्य एक छोराको दु:खको बयान छ।
नेपाली समाजमा आफ्नो सपनाको भरि आफ्ना सन्तानहरूलाई बोकाउने र सन्तानहरूलाई उनीहरुको इच्छा अनुसारको जीवन रोज्न नदिने चलन छ। यो चलन राम्रो होइन। कथकार सपनाको भारि बोकाउने प्रथाको विपक्षमा छन्।
दोस्रो कुरा के देखाउन खोजिएको छ भने वहुसंख्यक नेपालीहरू सरल जीवनको खोजिमा विदेश पसेका छन, अमेरिका, युरोप पुगेका छन, सुख र सुविधाका साधनहरू बटुल्न सफल भएका छन, भौतिक आनन्द चरम किसिमले भोगिरहेका छन तर यति हुँदा हँदै पनि विदेशको बसाइबाट प्रशन्न भने छैनन्। उनीहरूको शरीर युरोप, अमेरिकामा भएता पनि मन र आत्म हर घडी नेपाल पुगिरहेको हुन्छ। यस कुराको पुष्टि यस कथाको यो अंशले गर्छ, ‘र यति गरेर जीवनलाई हेर्दा म त यति भास्सिएको छु कि न तल जान सकिन्छ, न माथि। बैंकको किस्ता तिर्ने जीवन भएको छ अहिले। मेरो जीवनबाट पहाड हराएको छ। हिमाल हराएको छ। तराईका लहलह फलेका पँहेलपुर धानको सौन्दर्य हराएको छ। गाउँ हराएको छ। शहर हराएको छ। आफ्न्त हराएका छन्। छोरा छोरी पनि हराएका छन् र म नियमित ब्यस्त छु। यति ब्यस्त छु कि अमेरिकामा नै रोजा गाडी हाँकिरहेको हुन्छ र एक टुक्रा पाउरोटी टोक्दै पनि हुन्छु।”
केही मात्र विदेशको सुविधायुक्त जीबनबाट रमाएका छन, विदेशमा हाँसीखुसी छन तर वहुसंख्यक नेपाली प्रवासीहरू रमाएका छैनन। उनीहरू स्वदेश फिर्न चाहन्छन। यो कथाले यो कुरालाई पनि बडो प्रभावकारी किसिमल पुष्टि गरेको छ।
तेस्रो कुरा के देखाउन खोजिएको छ भने विदेशमा बसेकाहरूसँग एउटा खास मानसिक पीडा पनि छ। त्यो पीडा के हो भने धेरै प्रवासी नेपालीहरुले आफ्ना वृद्ध माता पितालाई परदेशमा आफूसँग राख्न सकेका छैन। आफूहरू प्रदेशमा छन, उत्ता वृद्ध मातापिता स्वदेशमा एकान्त र परिवार-परितक्त जीवन बिताउन बाध्य छन्। नेपालमा भएका वृद्ध माता पिता आफ्ना सन्तानसँग अमेरिका युरोपमा आएर बस्न अनिच्छुक छ भने अर्कोतर सन्तानहरू अमेरिका वा युरोपको प्रवासी जीवन त्यागेर, नेपाल पुगेर, आफ्ना वृद्ध माता पिताहरूलाई हेर बिचार गर्न सक्ने स्थितिमा छैनन। नेपालीहरूको परम्परागत जीवन-नसक्सालाई प्रवासी जीवनले पूर्ण रुपमा परिवर्तन गरि दिएको छ र एक विकराल समस्या बनेर नेपालीहरूको अगाडि दानब बनेर उभिएको छ।
भौतिक सर सुविधाले सम्पन्न भएर परदेशमा बिलासी जीवन बाँच्न नेपालीहरू सफलत भएता पनि देश-बिछोडको पीडाबाट भने छटपटिएका छन्। यो विषयलाई यो कथाले राम्रो गरि प्रष्ट पारेको छ।
यस सङ्ग्रहको अन्तिम कथा हो ‘म आत्माराम नेपाल जुन कथा भन्दा पनि एक चिन्तनको रुपमा देखिएको छ। यो कुराको पुष्टि कथाको शिर्षकले नै पनि गरेको छ। यो कथा, कथाकार स्वयंले गरेको चिन्तनझै प्रतीत हुन्छ। कथाकारले आफ्नै आत्मासङ्ग कुराकानी गरेझै लाग्छ।
यस कथामा कथाकार एक दार्शनिकको रुपमा प्रस्तुत भएका छन् र जीवनका विविध पक्षहरूमा वृहत् एवं व्यवस्थित किसिमले चिन्तन गरेका छन। चिन्तनको स्वरूपमा रहेकोले यो कथाले अनेक विषयहरू समातेको छ र त्यसबारे चिन्तन पनि गरेको छ। यो कथामा, कथा लेखनशैली पनि फरक एवं रोचक किसिमको छ र त्यो शैली पाठकलाई मन पर्छ पनि। फरक स्वादको लाग्छ।
नेपालमा महिलाहरूलाई अझै स्वतन्त्रता आवश्यक रहेको र परिवारले नै महिलाहरूलाई कम आत्मविश्वासी बनाएको कुरा कथाकारले प्रभावी किसिमले यस कथामा उठाएका छन। यसैगरी नेपाल र अमेरिकाको राजनीति एवं सामाजिक अवस्थाको तुलना पनि गरेका छन। उक्त तुलनाको एउटा सानो अंश हेरौ-‘नेपाल त सस्तो लोकप्रियतामा रमाउने देश हो। भ्रममा बाँच्ने देश हो। नत्र हजारपल्ट झूठो बोल्ने नेतालाई किन शुली चढाउन नसकेको त? उफ, नेपालका नेता, बुद्धिजीवी, कलाकार, आदिको नाम मैले नलिनु पर्थ्यो। उनीहरू त अमेरिका आउँछन। नेपालीको घरमा भात खान्छन। टिकटको पैसा लिन्छन। चन्दा असुल्छन र अमेरिकामा छँदा कार्यक्रममा भाषण गर्छन-देश रेमिट्यान्सले चलेको छ। तपाइँहरू महान हुनु हुन्छ। नेपाल पुग्छन र स्टोरमा काम गरेको भनेर हेप्छन। ट्वाइलेट सफा गर्छन भनेर गिज्याउँछन। चिहान खन्छ भनेर अपमानित गर्छन। कृतघ्नहरू।”
यो कथमा अनेक विभिन्न विषयहरू कथाकारले उठाएको हुनाले कथा पढिरहँदा पाठकहरूमा विषयान्तर हुन्छ। पाठक कुनै एक मुल विषयमा केन्द्रित रहेर कथा पढ्न सक्ने स्थिति नरहेकोले पाठकलाई त्यो कथा चिर कालसम्म स्मरण गर्न कठिनाइ हुन्छ। यो कुरा यस कथाको कमजोरी हुन पुगेको छ।
यस कथामार्फत कथाकारले आम नेपालीलाई स्वदेश-प्रेमी हुन अपील पनि गरेका छन्।
सारांश
पोखरेलका कथाहरूमा विविधता छ र यो विशेषताले गर्दा कथाहरू रोचक हुन पुगेका छन्। कथामा कोरा कल्पनाहरूको वयान नभएकोले कथाहरूले एक किसिको जीवन उपयोगी सन्देश दिन्छन। व्यक्ति, परिवार र समाजलाई इमान्दार, देशप्रेमी र स्वतन्त्र बाँच्न सिकाउँ छ।
कथाकारको कथा लेखन शैली पनि निकै आकर्षक छ। विषयवस्तुलाई रोचक बनाउने गुण पनि कथकारमा उल्लेखनीय किसिमले छ। तर केही गुणहरुको अनुपस्थिति भने कथाकारमा रहेको महसुस हुन्छ। जस्तै केही कथाहरू पढिरहँदा कथाका विषय वस्तुले कौतुहलता जगाएर कता पढन उत्सुक पार्न सक्तैनन। अर्थात कथाहरूले पाठकहरूमा अति कौतुहलता (कथाको अन्त्य कसरी हुन्छ?) जगाउन सक्तैनन। त्यसैगरी कथाकार कुनै एक विषयमा केन्द्रित भएर, त्येही विषयमा पाठकलाई बढी समय राखेर आफूले उठाएको मुद्दा (विषय) शसक्त किसमले भन्न सक्तैनन। अब आउने कथाहरूमा कथाकारले यसतर्फ ध्यान पुर्याउने आशा गरेको छु।
कथा वा साहित्य कृतिहरूम कथाकारको व्यक्तित्व पनि झल्किने हुनाले कथाकार खेमराज पोखरेलको व्यक्ति कस्तो होला, उनको मनोविज्ञान कस्तो होला, के कस्ता विषयहरूले उनको चिन्तनधारालाई प्रभाव पारेको रहेछ, जीवनलाई हेर्न उनको दृष्टिकोण कस्तो छ, उनी दोहोरो व्यक्तित्वका वा दोधारे छन् वा छैनन्, आफ्नो विचारप्रति अडिग एवं इमान्दार छन वा छैनन् जस्ता कुराहरू उनका कथाहरू पढेपछि थाहा हुन्छ। कथाकारका कथाहरूले भन्छ खेमराज पोखरेल समाजमा सकारात्मक परिवर्तन देख्न खोज्ने एक इमान्दार साहित्यकार हुन। उनी समाजको प्रगति भएको देख्न चाहन्छन।
पोखरेलका कथाहरूले निश्चयात्मक किसिमले भन्छन उनी एक प्रगतीशील, उदार, लचिलो एवं देशभक्तिले ओतप्रोत भएक व्यक्ति हुन। उनी चिन्तन गर्न रुचाउन छन तर आफ्ना ती चिन्तनहरूले नेपालीको समृद्धि बढोस भन्ने इच्छा गर्छन।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 9 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु