सम्बन्ध मर्मत

- कृष्ण बजगाईं

आश्रम खोलेर बसेको पट्ठो बाबालाई पिटपाट गर्दै प्रहरी चौकीमा पु¥याइयो । परस्त्रीसँग सम्बन्ध राखेको आरोप लगाउँदै चार जनाले संयुक्तरूपमा किटानी जाहेरी दिए । आफूलाई बारम्बार नैतिक शिक्षा दिइरहने बाबामाथि लगाइएको आरोप प्रहरीलाई पत्याउनै गाह«ो भयो ।
‘नढाँटी सत्य कुरा भन्नोस् बाबा । डराउनु पर्दैन हामी छौँ ।’ प्रहरीले आश्वस्त पार्दै भने ।
‘बाबुआमाका कुरा पत्याउनाले नर्कजस्तो जीवन भोगिरहेको छु । धनसम्पत्ति भएको ज्ञानी केटो भनेकै आधारमा विवाह गरेको थिएँ । तर, त्यसमा थुप्रै कमी रहेछ । न छोड्न सक्छु न खुसीसाथ बसेकी छु ।’ सभ्रान्तजस्तो देखिने महिला मेरो सामु रोइन् ।
‘मेरो पहिलो प्रेम नै विवाहमा परिणत भएको थियो । त्यसका चिप्ला कुरामा विश्वास गरेर विवाह गरेँ । अहिले प्रेमकै लागि तड्पिरहेकी छु ।’ एउटी अतृप्ता सुन्दरीले व्यथा सुनाइन् ।
‘मेरा साथीहरू मात्र होइन नातेदारले समेत सिफारिस गरेकाले विवाह गरेँ । लोग्ने त भन्नु मात्र त्यो मूर्ति परेछ ।’ एउटा उदास अनुहारबाट पीडा निस्कियो ।
‘पण्डित बाजेले जुराएको चिनामा विश्वास गरेँ । बसी बसी खान पुग्ने र महारानी बनाएर राख्ने ग्रह भएको केटो छ भनेका थिए । त्यसले त मलाई नोकर्नी बनाएर राख्यो ।’ सपनाबाट ब्युँझेकी नारीको चित्कार सुनेँ ।
‘मेरा शरणमा परेका ती नारीका कारुणिक व्यथाले हृदय पग्लियो । तिनीहरूप्रति प्रेम पलायो । बैंसको भारी बोकेका प्रेमका प्यासी ती असन्तुष्ट महिलाका समस्या पहिचान गरेँ । पतिसँग असन्तुष्ट तर छाड्न पनि नसक्ने अवस्थामा रहेका तिनको सम्बन्ध मर्मत गरेर ठिकठाक बनाएँ । अहिले तिनीहरू आफ्ना लोग्नेसँग खुसी छन्, मसँग पनि सन्तुष्ट छन् । तिनलाई उपचार गरेर ठिक पार्नु पाप हो ? बिग्रेको सम्बन्ध मर्मत गर्नु अपराध हो ?’ बाबाले करुण रसको कथामा शृङ्गार रसको उपकथा जोडेर समापन गरे ।
लोग्ने स्वास्नीबिचको सम्बन्धमा तेस्रो व्यक्तिको रूपमा चमत्कारिक प्रवेश गरेका बाबाको प्रेमावतार थाहा पाउँदा सबै चकित भए । प्रहरी चौकीमा बाबाको धाराप्रवाह प्रवचन सुनिरहेका चार जना जाहेरीवाल भने अवाक् थिए ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 9 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु