बलात्कृतको तस्विर

- विश्व विनोद

शदियौं अगाडी ईतिहासमा एक देश थियो । जनताहरु सुखी र सम्बृद्ध थिए । समतामुलक समाज थियो । आपसी समझदारीमा देश चलिरहेको थियो । मानवीय मूल्य र मान्यताको निकै कदर हुने गर्दथ्यो त्यहाँ । अपराध रहित समाज थियो त्यो । लाग्थ्यो, रामराज्यको अर्को नाम त्यो देश नै थियो ।
बिस्तारै मानिसमा लोध लालचले स्थान पाउन थाल्यो । मानिसहरु काम बासनामा लालयित हुन थाले । आफ्ना र आफ्नी भन्दा पनि अर्काको मानिसमा मानिसको आकर्षण बढ्न पुग्यो । मानिसहरु लिंग ब्यवस्थापनमा कमजोर देखिन थाले । यसपछि एकल या सामुहिक बलत्कारका घटनाहरुको श्रृङ्खला बढ्न थाल्यो । राज्यमा व्याप्त बलत्कारको यो फेहरिस्त देखेर देशको राजा र मन्त्रि निकै सोचमग्न भए । अन्त्यमा राजसभावाट एक आदेश जारी भयो । जुन घरको मानिसले बलत्कार गर्छ, त्यो घरको मानिसको घरको भित्तामा बलात्कृत हुनेको फोटो अनिवार्य टाँस्नु पर्ने ।
राजसभावाट गरिएको यो निर्णयले आम मानिसमा नयाँ तरंग पैदा भयो । मानिसहरु सोच्न थाले अबस्य नै अव बलत्कारको घटना बन्द हुनेछ । तर अधिकांश मानिसको सोच विपरित वलत्कारको घटना हुँदै गए । राज्यले जसले बलत्कार गथ्र्यो उसको घरमा बलत्कारीको फोटो टाँस्दै गयो । जति पुस्ता फेरिँदै गयो , त्यति नै ति घरहरुमा बलात्कृतको फोटाहरु टाँसिदै गए । यस्तो सम्म घर भेटिए कि कुनै घरमा त बर्षेनी दर्जनौं फोटा टाँसिएको पाईन्थ्यो भने कुनै घरमा त भित्तामा तस्विर टाँस्ने ठाउँ पनि छाडिन सकेको थियो ।
यो श्रृङ्खला घर घरमा मात्र सिमित रहेन राजदरबारमा पनि टाँस्न पर्ने भयो, सिँहदरबार र मन्त्रिका भवनहरुमा पनि टाँस्नु पर्ने भयो । लाग्थ्यो, कुनै मानिस र कुनै घर त्यस्तो छैन जस्ले यो कुकर्म गरेको नहोस् ।
समय बित्दै जाँदा त्यो देशमा जनगणना लिने बेला पनि भएछ । त्यो देशमा एक जना सनकी प्रधानमन्त्रिले जनगणना लिनुपर्दा हरेक घरमा कति तस्विर टाँसिएका रहेछन् यो पनि पत्ता लगाउनु भनेर प्रश्नावलीमा समावेश गर्न लगाएछन् । जब जनगणना सम्पन्न भयो , तब पत्ता लाग्यो कि ईतिहासको कालखण्डबाट हालसम्म आईपुग्दा कुनै घर पनि त्यस्ता बलात्कृतको तस्विर टाँसिनबाट बन्चित रहेनछन् । यति सम्म कि पवित्र मानिएका मन्दिर, चर्च, गुम्बा, मस्जिद, मदरसा सम्म बलात्कृतको तस्विर टाँसिएको रहेछ ।
....... यस्तो कथा जब मैले पढेँ नि अनि मनमा लाग्न थाल्यो, के त्यो देश नेपाल भएको भए र त्यस्तो चलन यहाँ भएको भए तपाईको घरमा यस्ता तस्विर टाँसिने थियो कि थिएन होला ? एक पटक महिला हिँसा अन्त्यको लागि तपाईको ठाउँबाट सोच्ने कि ? तारेमाम् ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 9 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु