समकालीन नेपाली कविताको एक प्रवृत्ति : रुढिवैचित्र्य वक्रता

- प्रा. डा. ऋषिराम शर्मा

सार
समकालीन नेपाली कवितामा रुढिवैचित्र्य वक्रता एक मुख्य प्रवृत्तिका रूपमा रहेको छ भन्ने विषयमा यो लेख तयार पारिएको छ । वक्रोक्ति सिद्धान्तमा कृतिविश्लेषणका लागि निर्धारित गरिएका विभिन्न भेदमध्येको एक भेद पदवक्रता अन्तर्गतको एक उपभेद रुढिवैचित्र्य वक्रता हो । समकालीन कवितामा कविद्वारा आफ्ना कवितालाई कलात्मक उचाइ प्रदान गर्नका लागि अङ्गालिएको यो प्रविधि रुढिवैचित्र्य वक्रता हो । रुढिवैचित्र्य वक्रतामा रुढ कोशीय, लोकव्यवहारका प्रचलित शब्दार्थका सट्टा अर्कै असम्भव अर्थको आरोप गरिन्छ । यसरी आरोपित गरिएको अर्थ अत्यन्त प्रशंसा वा अत्यन्त तिरस्कारसँग सम्बद्ध हुन्छ । यस लेखमा संस्कृत साहित्य शास्त्रका वक्रोक्तिको रुढिवैचित्र्य वक्रताका आधारमा समकालीन नेपाली कविता अत्यन्त उत्कृष्ट र कलात्मक छन् भनी पुष्टि गरिएको छ ।
विशेष शब्द ः समकालीन, रुढिवैचित्र्य, अतिशय प्रशंसा, अतिशय तिरस्कार वक्रोक्ति, वक्रता, वैचित्र्य ।
१. विषय परिचय
प्रस्तुत लेख समकालीन नेपाली कविताको मूल प्रवृत्ति रुढिवैचित्र्य वक्रता हो भन्ने शीर्षकसँग सम्बद्ध छ । समकालीन नेपाली कविता भन्नाले प्रस्तुत लेखका सन्दर्भमा गरिमा (पूर्णाङ्क ३६३, २०६९ फागुन, अङ्क) को नेपाली कविताको समकालीन अनुहार–१ विशेषाङ्कमा प्रकाशित ३१ ओटा कविताभित्रका कविताहरूलाई लिइएको छ भने मूल प्रवृत्ति भन्नाले ती कवितामा देखा परेको मूल लेखन कला एवं विषयगत प्रवृत्तिलाई रुढिवैचित्र्य वक्रताका रूपमा प्रस्तुत गरिएको छ । ती ३१ ओटा कवितामा कविहरूले जुन विचार, भाव, विषयवस्तुको प्रयोग जुन शैली वा ढाँचाका माध्यमबाट प्रस्तुत गरेका छन् त्यसको प्रवृत्तिगत समीक्षा वक्रोक्तिवादका प्रवर्तक कुन्तक प्रतिपादित वक्रोक्तिको पदपूर्वाद्र्धवक्रता अन्तर्गतको रुढिवैचित्र्य वक्रतासँग सम्बद्ध देखा पर्दछ । त्यसैले प्रस्तुत लेखमा समकालीन नेपाली कविताको मूल प्रवृत्तिका रूपमा रुढिवैचित्र्य वक्रतालाई प्रस्तुत गर्न सकिने आधार पर्याप्त भेटिने तथ्यसमेत प्रस्तुत गरिएको छ । यस तथ्यको पुष्टिका लागि यहाँ रुढिवैचित्र्य वक्रताको सैद्धान्तिक आधार प्रस्तुत गरी सोही सैद्धान्तिक आधारका सापेक्षतामा समकालीन नेपाली कविताको विश्लेषण गरी नेपाली कविताको समकालीन लेखन कला रुढिवैचित्र्य वक्रतायुक्त रहेको पुष्टि गरिएको छ ।
२. सैद्धान्तिक आधार
रुढिवैचित्र्य वक्रता भनेको साहित्यिक कृतिका पद एवं पदावली स्तरमा निहित त्यस्तो सौन्दर्य वा विच्छित्ति हो जसमा कुनै लोकोत्तर चमत्कार उत्पन्न गर्नका लागि कुनै रूप र अर्थलाई कुनै अन्य अर्थमा आरोप गरिन्छ । रुढि भनेको परम्परागत, कोशीय, लोकव्यवहारमा प्रचलित र प्रसिद्ध वाच्य अर्थ हो भने सोही रुढिमा विशिष्ट चमत्कार पैदा गर्नका लागि उक्त रुढिको अर्थलाई अन्य लोकोत्तर तिरस्कार वा प्रशंसा अर्थमा आरोप गरी चमत्कार पैदा गर्ने वक्रता रुढिवैचित्र्य वक्रता हो । रुढिवैचित्र्य वक्रतामा रुढ (परम्परागत, कोशीय, लोकव्यवहारमा प्रचलित, प्रसिद्ध) अर्थमा असम्भव एवं वक्रतायुक्त अर्थको आरोप गरिन्छ, यसरी आरोप गर्दा मुख्य दुई प्रक्रिया अवलम्बन गरिन्छ ः १. रुढि अर्थमा लोकोत्तर तिरस्कारयुक्त अर्थको आरोप र २. रुढि अर्थमा लोकोत्तर श्लाध्य उत्कर्षको आरोप । रुढ अर्थमा आरोप गरिने यी दुवै अर्थ असम्भव (त्यसैले चमत्कारयुक्त) अर्थ हुन् । रुढिवैचित्र्य वक्रता नामपदमा निहित वक्रता हो र यो कुन्तकका भनाइमा दुई प्रकारको हुन्छ, १. व्यक्तिवाचक संज्ञामा हुने रुढिवैचित्र्य र २. व्यक्तिवाचक संज्ञा इतर शब्दमा हुने रुढिवैचित्र्य । व्यक्तिवाचक संज्ञामा हुने वक्रतामा रुढ अर्थले आफ्नो अतिवैयक्तिकता त्यागेर निर्वैयक्तिक जगतमा प्रवेश गर्दछ भने व्यक्तिवाचक बाहेकका अन्य नाम शब्दमा हुने रुढि अर्थले विस्तार प्राप्त गरी वक्रता सिर्जना गर्दछ ।
३. विश्लेषणको प्रारूप
समकालीन नेपाली कवितामा रुढिवैचित्र्य वक्रताको सुन्दर प्रयोग पाइन्छ । रुढिवैचित्र्य वक्रतामा व्यक्तिवाचक संज्ञाको अतिवैयक्तिकतालाई त्यागेर लोकोत्तर तिरस्कारयुक्त असम्भव धर्मको आरोप गरी वैचिœय सिर्जना गर्नाका साथै व्यक्तिवाचक संज्ञादेखि बाहेकका अन्य संज्ञाको पनि लोकोत्तर तिरस्कारयुक्त असम्भव धर्मको आरोपद्वारा अर्थविस्तार गरी वक्रता पैदा गरिएको छ । समकालीन नेपाली कवितामा यसरी वक्रता सिर्जना गर्नका लागि समकालीन कविले आपूmले प्रयोग गरेका नाम पद पदावलीका धर्म, कार्य र व्यवहारमाथि असम्भव चमत्कारयुक्त, लोकोत्तर अर्थको सङ्क्रमण गरिदिएका छन्, जसका कारण समकालीन कविता विशिष्ट एवं कलात्मक बन्न पुगेका छन् । समकालीन कवितामा रुढिवैचित्र्य वक्रताको अवस्थाको विश्लेषणको लागि निम्न बुँदाहरू विश्लेषणको प्रारूपका रूपमा अघि सारिएको छ ।
(क) धर्म, ईश्वर, देवीदेवता
(ख) गरिवी, वर्गीय विषमता
(ग) सुन्दर, स्वतन्त्र, स्वस्थ समाजको सुन्दर सपना
(घ) सिद्धान्तहीनता र नृशंस सत्ता
(ङ) राजनीति र लोकतन्त्रप्रति निशाना
४. समकालीन नेपाली कविताका रढिवैचिœय वक्रताको विश्लेषण
समकालीन नेपाली कवितामा रुढिवैचित्र्य वक्रता अन्तर्गत व्यक्तिवाचक नाम र व्यक्तिवाचकेतर नामका रुढ अर्थभन्दा अर्को लोकोत्तर तिरस्कारको माध्यमबाट नाम शब्दका कार्य र व्यवहारमा अवमानना, अपमान, तिरस्कार अर्थ सङ्क्रमित गरी वक्रता सिर्जना गरिएको छ । समकालीन नेपाली कविता रुढिवैचित्र्य वक्रताकै कारण तीक्ष्ण, संवेदनायुक्त एवं चोटिल बनेका छन् । समकालीन नेपाली कवितामा देखा पर्ने त्यस्तो वक्रता यस प्रकार रहेको छ ।
४.१ धर्म, ईश्वर र देवीदेवता
समकालीन कविका कवितामा धर्म, ईश्वर र देवीदेवता सम्बद्ध शब्दका रुढ अर्थमा अत्यन्त तिरस्कारमूलक नवीन अर्थको आरोप गरी वक्रता पैदा गर्ने प्रवृत्ति पनि पाइन्छ । समकालीन कवितामा बहुङ्ख्यक मानवले दुःख र कष्ट भोग्नु परेको तथा धर्म र ईश्वरले यस्ता दारुण दुःख र कष्ट निवारण गर्न नसकेको स्वर मुखर भएको पाइन्छ ‘धर्म’ र ‘ईश्वर’ शब्दको रुढ परम्परागत अर्थमा तिरस्कारयुक्त असम्भव धर्मको आरोप गरी समकालीन कविहरूले आफ्ना कवितामा लोकातिक्रान्त तिरस्कारमूलक अर्थगत जुन सौन्दर्य सिर्जना गरेका छन्, त्यसको मूल तत्व नै रुढिवैचित्र्य वक्रता हो भन्न सकिन्छ । जस्तै ः
(क) के नै नयाँ छ र मसँग
मनाउन सक्दिनँ म छोनाम
मनाउँदिन सङ्क्रान्ति पनि
न मान्छु अब यो कुलदेवता
जसले कुलको नाश मात्र गराउँछ
गर्दिन भूमिपूजा पनि
जुन तिमीले लुटेका छौ
(केशव सिलवाल, ङा चेपाड, पृ. १४)
(ख) गुम्बाभित्र
ध्यान हल्ला गरिरहेछ
हल्लाहरू ध्यान गरिरहेछन्
‘ओम् माने पद्मे हुँ’ को वाक्यमा बीच
गृहकार्य गर्न असमर्थ छ एउटा बालक
(श्रवण मुकारुङ, शान्ति सम्बन्धी कविता, पृ. ८३)
यी दिइएका पङ्क्तिपुञ्जका शब्दहरूमा रुढिवैचित्र्य वक्रता विद्यमान छ । यहाँ ‘क’ मा दिइएको (ङा चेपाङ) कविताको कवितांशमा ‘छोनाम’, ‘सङ्क्रान्ति’ र ‘भूमिपूजा’ धर्म र पूजासँग सम्बद्ध व्यक्तिवाचक इतर पवित्र नाम पद हुन् । यी नामपदको रुढ र वाच्य पवित्र अर्थमा असम्भव र तिरस्कारयुक्त विरोधमूलक अर्थको सङ्क्रमण वा आरोप गरी वक्रता पैदा गरिएको छ । ‘छोनाम’ मनाउँदिन भन्नु ‘सङ्क्रान्ति’ मनाउँदिन भन्नु, कुलको नाश गर्ने ‘कुलदेवता’ भन्नु लुटिएको भूमिको पूजा गर्दिन भन्ने भनाइहरूमा ‘छोनाम’, ‘सङ्क्रान्ति’, ‘कुलदेवता’ र ‘भूमिपूजा’ जस्ता रुढ परम्परागत पवित्र अर्थयुक्त शब्दको अर्थलाई तिरस्कृत गरी नवीन व्यङ्ग्य वा तिरस्कारकै अर्थ सङ्क्रमण गरिएको छ, जसका कारण यी पङ्क्तिमा चेपाङ जस्ता गरीब, विपन्न, दुःखी, दमित एवं पीडितहरूका लागि धर्म, देवी, देवता, ईश्वर सबै अर्थहीन छन् भन्ने अर्थ अत्यन्तै मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरिएको छ ।
यहाँ ‘ख’ मा दिइएको ‘शान्ति सम्बन्धी कविता’ को पङ्क्तिपुञ्जमा ‘गुम्बा’ (बौद्ध मन्दिर) भन्ने रुढ अर्थमा ध्यानले हल्ला गरेको भन्ने विरोधमूलक तिरस्कारयुक्त चमत्कारयुक्त अर्थको सविस्तार आरोप गरिएको छ । जसमा शान्तिको प्रतीक मानिने गुम्बाभित्र ध्यानका नाममा हुने हल्लाले बाहिर गृहकार्य गर्न असमर्थ भएको बालकको चित्र मार्पmत शान्तिका नाममा हुने अशान्ति, होहल्लाजस्ता वास्तविक अर्थलाई अतिशय तिरस्कारमूलक आरोपका रूपमा उद्घाटित गरेको छ ।
४.२ गरिवी र वर्गीय विषमता
समकालीन कविका कवितामा प्रयुक्त पदहरूमा रुढ अर्थमा तिरस्कारयुक्त धर्मको आरोप गरी गरिबी र वर्गीय विषमताका विरुद्ध आक्रोशको अर्थ आरोप गरी चमत्कार पैदा गरिएको पाइन्छ । समकालीन कविका कवितामा एक्काइसौँ शताब्दीको आधुनिक युगमा अभैm पनि समाज गरिवी, वर्गीय विषमताजस्ता रोगले ग्रसित छ भन्ने कुरालाई संज्ञा शब्दको रुढ अर्थमा लोकातिक्रान्त तिरस्कारयुक्त असम्भाव्य धर्मको आरोप मार्पmत कलात्मक रूपमा यसरी प्रस्तुत गरिएको छ, जस्तै ः
(क) लगाइदिउँला म आफ्ना छोराछोरीलाई पनि
स्याउलाकै लुगा
तर मेरो छालाको
दौरा सुरुवाल लगाउने अधिकार
कसैलाई छैन
  
मलाई लाज लाग्छ
कि हामी एउटै देशमा छौं
र तिमी हाम्रो करङको भ¥याङ चढेर
अरू माथि माथि जादैछौं
तिमीले कुल्चिए पछि वेस्सरी
दुखेको मेरो ढाड
अभैm ठीक भएको छैन ।
(केशव सिलवाल, ‘ङा चेपाङ’, पृ. १०)
(ख) काका
अब त राखिदेऊ कतै यो अङ्गुछिया
   
यो त तिम्रा सन्ततिहरूको
पुरातात्विक सम्पत्ति हो
यसलाई राखिदेऊ कुनै सङ्ग्रहालयमा
कि देखून् प्रष्टसित
देशका इतिहासकारहरूले
देखून् तिम्रै पैताला नाप्दै हुर्किएका
सहस्र नयाँ पैतालाहरूले
गरुन् यसभित्र
तिम्रा असङ्ख्य गन्ध र कहरहरूको शल्यक्रिया
र तिम्रो पसिनाको आदिम अवशेषबाट
निकालून् तिम्रो साँचो इतिहास ।
(सरिता तिवारी, ‘अङ्गुछिया’, पृ. ९६)
दिइएका पङ्क्तिपुञ्जका निश्चित पदहरू रुढिवैचित्र्य वक्रताद्वारा चमत्कृत छन् । (क) मा दिइएका ‘ङा चेपाङ’ कविताका पङ्क्ति पुञ्जमा ‘स्याउला’, ‘छाला’ र ‘करङ’ व्यक्तिवाचेतर नाम शब्द हुन्, यी नामपदको रुढ (कोशीय) अर्थले जे अर्थ बुझाउँछ । त्यस अर्थमा यहाँ ती शब्द प्रयुक्त भएका छैनन्, यी शब्दमा त त्यस अर्थको तिरस्कार भई ‘स्याउला’ शब्दले लगाउने वस्त्र, ‘छाला’ शब्दले पनि लगाउने वस्त्रजस्ता अर्को अर्थ आरोप गरिएको छ । यही आरोपित अर्थले गर्दा यस कविताको जातिभेद रूप विषयको कथ्य अत्यन्त सशक्त बनेको छ । त्यस्तै ‘करङ’ शब्दको मानिसको ढाडमा रहेको हड्डी भन्ने कोशीय अर्थ तिरस्कार गरेर भ¥याङ वा सिढींजस्तो चमत्कारपूर्ण अर्थद्वारा वक्रता पैदा गरिएको छ । (ख) मा दिइएको सरिता तिवारीद्वारा रचित कवितामा पुस्तौंदेखि श्रम गरिरहेको एउटा मधेशवासी वृद्धको ‘अङ्गुछिया’ गम्छा वा रुमाल भन्ने सामान्य अर्थलाई अतिशय प्रशंसाका माध्यमबाट पुरातात्विक सम्पत्ति, असङ्ख्य गन्ध र कहरहरूको मिश्रण, पसिनाको आदिम अवशेष जस्ता नवीन अर्थ आरोपित गरी सौन्दर्य सिर्जना गरिएको छ । यही वर्णनवैचिœयका कारण एउटा सामान्य ‘अङ्गुछिया’ मा असामान्य एवं अतिशय प्रशंसामूलक आरोपित गरी किसानले भोग्नुपरेका अनन्त दुःख, कष्ट र पीडालाई जीवन्त रूपमा उतारिएको छ ।
४.३ सुन्दर, स्वतन्त्र र स्वस्थ समाज
समकालीन कविका कवितामा सुन्दर स्वतन्त्र स्वस्थ एवं सुखी समाजको चाहनाको अभिव्यक्तिका लागि विभिन्न रुढ अर्थमा असम्भव अर्थको आरोपद्वारा नवीन अर्थ उद्भाव गरी कथ्यलाई सशक्त तुल्याउने रुढिवैचित्र्य वक्रताको प्रयोग पाइन्छ । समकालीन (सहरिया होस वा ग्रामीण सबै) पुस्ता सुन्दर, स्वतन्त्र र स्वस्थ्य समाजको निर्माणको लागि कैयौं पटक आन्दोलनमा होमिएको छ । यिनै सपना पूरा गर्ने इच्छाले उसले द्वन्द्व, युद्ध र पीडा भोगेको छ । जतिसुकै आन्दोलन, युद्ध र लडाइँ भए पनि युवाहरूका सपना पटक पटक ढलेका छन् । समकालीन कविले यही स्वरलाई शब्दमा निहित रुढ अर्थको अतिवैयक्तिकतालाई त्यागेर निर्वैयक्तिक रूपमा र अर्थविस्तारका रूपमा रुढ अर्थमा तिरस्कारयुक्त असम्भाव्य धर्मको आरोप गरी रुढिवैचित्र्य वक्रतायुक्त सुन्दर कविताको रचना गरेका छन्, जस्तै ः
(क) गाउँमा पूर्णिमा आउँदैन कहिल्यै पूर्ण भएर
आउना साथ त्यसको एउटा टुक्रा खस्छ–
काली नदीमा ।
एउटा टुक्रा खस्छ – सती पोखरीमा ।
एउटा टुक्रा रूखको हाँगामा गएर अल्झिन्छ ।
अभैm अर्को कुनै टुक्रा त
एक्लो मानिसको ऐनामा गएर पनि बस्छ ।
जूनको हल्का, हो कि जस्तो सानो उज्यालो टुक्रा
खस्तछ – नानीहरूको खाली पन्नामा ।
र भोलिपल्ट होमवर्क सकेर मुस्कुराउँदै
नानीहरू स्कूल जान्छन् ।
गाउँमा पूर्णिमा आउँदैन कहिल्यै पूर्ण भएर
तर त्यो गाउँबाट जाँदा सम्पूर्ण भएर फर्कन्छ ।
(मनु मञ्जिल, ‘गाउँमा पूर्णिमा’, पृ. ४८)
(ख) तपाई मेरो वस्तीमा प्रमिथस भैंm आइदिनुभो
र जगाइदिनु भो उज्यालोको तिर्खा
मेरो जुठो खाइदिनु भो
र लगाइदिनु भो समानताको भोक
आज क्यै छैन मेरो छाप्रोमा
न अनाज छ, न पानी
अब कतिवटा भोक बोकेर हिडूँ म
अब कति थरी तिर्खा बोकेर हिँडूँ म
जीवन भोक तिर्खा मात्रै बन्यो भने
मान्छे पशु हुँदैन र ?
(विनोद विक्रम के.सी., ‘चिन्ता ः एक मुद्रा’, पृ. ७५)
(ग) चौरासी लाख जुनी पछि
आज फेरि जन्मिए भानुभक्त मानिस भएर
मानिसको जीवनको कुनै भर छैन
र हिडे भानु –
अमरावती कान्तिपुरी नगरी ।
   
खल्तीमा छ रू सातसय पचास
लच्छिनकी रहिछन् घरबुढी
दिइन् स्नेहले दालभात
ढल्किए कविजी चुरोट तान्दै
सम्भेंm उनले चुँदी रम्घा
झ¥यो आँसु दुई कानमा
ताने सिरक र छोपे मुख
  
किनकि
भोलि त उड्नु छ मलेसिया
लेख्नु छ – रामायण
(श्रवण मुकारुङ, भानुभक्त, पृ. ८६)
दिइएका पङ्क्तिपुञ्जका निश्चित पदहरू रुढिवैचित्र्य वक्रताद्वारा अलङ्कृत छन् जसका कारण सिङ्गो पङ्क्तिपुञ्जको अर्थमा चमत्कार सिर्जना भएको छ । माथि ‘क’ को उदाहरणमा ‘पूर्णिमा’ र ‘जून’ शब्दको कोशीय अर्थमा ‘खुसी’ र ‘सुख’ जस्ता असम्भाव्य अर्थको आरोप गरी सिङ्गो पङ्क्तिपुञ्जलाई चमत्कृत तुल्याइएको छ । जसका कारण प्रस्तुत पङ्क्तिपुञ्जका गाउँमा दुःखै दुःख छ, सुख कहिल्यै आउँदैन आए पनि आंशिक र नजानिदो रूपमा मात्र आउँछ भनी गाउँको कष्टकर जीवनको चित्रण गर्ने जुन कथ्य छ त्यो यी वक्रताका माध्यमबाट निकै सशक्त एवं प्रभावकारी बनेको छ । ‘गाउँमा कहिल्यै पूर्ण भएर पूर्णिमा आउँदैन’ भन्ने कथनमा र ‘जूनको हल्का हो कि जस्तो सानो उज्यालो टुक्रा’ भन्ने कथनमा प्रयुक्त ‘पूर्णिमा’ र ‘जून’ शब्दमा अतिशय (पूर्णिमा र जूनको उत्कृष्ट कोशीय अर्थमा) तिरस्कार (पूर्णिमा र जूनले पनि गाउँमा भेदभाव गरेको भन्ने रिस्कार) अर्थको आरोपबाट सौन्दर्य सिर्जना गरिएकोले नै प्रस्तुत पङ्क्तिपुञ्जको कथ्य अत्यन्त सशक्त बनेको देखिन्छ । कवि विनोद विक्रम के.सी. को पङ्क्तिपुञ्ज (ख) को वाक्यमा ‘प्रमिथस’ प्राचीन ग्रीक चरित्र भन्ने कोशीय अर्थलाई क्रान्तिको प्रतीक र सुन्दर सुखी समाजको द्रष्टा भन्ने विशिष्ट एवं अतिशय प्रशंसामूलक (तर व्यङ्ग्य) अर्थ आरोपित गरी सौन्दर्य सिर्जना गरिएको छ । सिङ्गो पङ्क्तिपुञ्ज ‘प्रमिथस’ का लागि आरोपित नवीन (समानताको भोक जगाइदिने, मुक्तिदाता जस्तो देखिने तर धोकेबाज) भन्ने तिरस्कारमूलक अर्थको आरोप गरी वक्रता पैदा गरिएको छ ।
कवि श्रवण मुकारुङ विरचित ‘भानुभक्त’ कविताबाट लिइएका (ग) क. पङ्क्तिमा ‘भानुभक्त’, ‘घरबुढी’ र ‘रामायण’ शब्दको प्रयोग भएको छ । यस कवितामा कविले भानभुक्त भन्नाले चुँदी रम्घामा १८७१ मा जन्मेका श्रीकृष्ण आचार्यका नाति र धनञ्जयका छोरा आदिकवि भन्ने अर्थ, भानुभक्तले बास माग्न गएको घरकी बूढी र रामायण भन्नाले उनै भानुभक्तले रचेको रामायण भन्ने कोशीय अर्थलाई तिरस्कार गरी क्रमशः नवीन अर्थ अध्यारोप गरेर रुढिवैचित्र्य वक्रता सिर्जना गरेका छन् । यसमा ‘भानुभक्त’ शब्दमा वैदेशिक रोजगारमा जाने युवा, ‘घरबुढी’ शब्दमा होटलमा भात खान दिने र बास दिने घरकी साहुनी बुढी तथा ‘रामायण’ शब्दमा वैदेशिक रोजगारीमा भोग्नु पर्ने पीडाको आख्यानात्मक काव्य भन्ने नवीन–नवीन अर्थ आरोपित गरी कवितालाई सघन एवं संवेद्य तुल्याइएको छ । कविले प्रयोग गरेका यी नवीन अर्थयुक्त शब्दले नेपाली युवाले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता जस्तो विषयवस्तुलाई अत्यन्तै सम्प्रेष्य तुल्याइएको छ । यसरी समकालीन कविका यी सबै कवितामा सुन्दर, स्वतन्त्र र स्वस्थ समाजको सपनामा भएको तुषारापातरूप कथ्य रुढिवैचित्र्य वक्रताको माध्यमबाट प्रस्तुत भएको देखिन्छ ।
४.४ सत्ताको त्रूmरता र निरङ्कुता
समकालीन कविका कवितामा सत्ता वा शासकको त्रूmरता र निरङ्कुशताको अभिव्यक्ति पनि रूढ अर्थमा असम्भाव्य धर्मको आरोपका रूपमा र अतिशय तिरस्कार वा आक्रोशका रूपमा वक्रतापूर्ण ढङ्गले प्रस्तुत भएको छ । कविले प्रस्तुत गरेको सत्ताको त्रूmरता र निरङ्कुशता चित्रण पनि रुढ अर्थमाथि नवीन अर्थ चमत्कारपूर्ण तरिकाले आरुढ भएर यसरी प्रस्तुत भएको छ, जस्तै ः
(क) यो देशको सरकार
कुकुर पाल्छ, कवि पाल्दैन
कुकुरलाई माला लगाउँछ
कविलाई हथकडी
उसका शब्दहरूलाई थुनुवापुर्जी ?
   
ए मेरो देशको सरकार
कविलाई हथकडी लगाएर
रमाउन त सक्छौ
रमाऊ
एक दिन कवि रोयो भने
देश रुने छ
तिम्रा कुकुरहरू भुक्न छाड्ने छन् ।
(महेश रेग्मी, कवि र हत्कडी, पृ. ५१–५२)
(ख) यो वर्ष पनि
चिसोको ज्वालामुखी फुटेर
खेतमा मर्नेछ गहुँ छरिरहेको किसान
कारखानामा मर्नेछ, मेसिन पुछिरहेको मजदूर
सडकमा मर्नेछ
तरकारी वेचिरहेको अर्घेलो मानिस
र सडक बालकहरू

खुशीको कुरा
देहातमा पहिलो पटक
हेलिकोप्टर चढेर आउने छन् प्रधानमन्त्री
र दलदलेमा फसेको कुर्सी सम्भिंmदै
गर्ने छन् एकमिनट अफिसियल मौनधारण
तर विर्सने छैनन् उनले दोहो¥याउन
आगामी चुनावका लागि
दश रिल लामो
स्वर्गको आगो चोर्ने प्रमिथसको भाषण ।
(भूपिन, ‘देहातमा हेलिकप्टर’, पृ. ४६)
दिइएका पङ्क्तिपुञ्जका निश्चित पदहरूमा रुढिवैचित्र्य वक्रता विद्यमान छ । माथि उदाहरण (क) मा दिइएको महेश रेग्मीको ‘कवि र हत्कडी’ कविताका पङ्क्तिपुञ्जमा ‘कुकुर’, ‘माला’, ‘देश’ र ‘भुक्न’ शब्द आ–आफ्नो कोशीय अर्थमा प्रयुक्त भएका छैनन् । यी शब्दको कोशीय अर्थमा कविले अत्यन्त प्रशंसा र तिरस्कारमूलक अर्थको आरोप मार्पmत प्रस्तुत पङ्क्तिपुञ्जको कथ्यलाई निकै मर्मस्पर्शी एवं संवेद्य तुल्याएका छन् । सत्ताको त्रूmरता र निरङ्कुशतालाई व्यक्त गर्ने अभिप्रायले कविले यी शब्दहरूको आफ्नो अर्थको सट्टा अर्को अर्थको आरोप गरेको देखिन्छ । यहाँ ‘कुकुर’ शब्दलाई डन, गुन्डा, भ्रष्ट भन्ने अर्थमा अध्यारोप गरेका छन्, कुकुरलाई माला लगाउने भन्ने कथनमा सरकारले गुण्डाको सम्मान गर्छ भन्ने अर्थ आरोपित गरेका छन् र ‘माला’ शब्दको रुढ कोशीय अर्थमा ‘सम्मान’ शब्द आरोपित भएको छ । ‘देश रुनेछ’ भन्ने कथनमा ‘देश’ भन्ने निर्जीव वस्तुलाई सजीव मानवीय अर्थ अर्थात् अत्यन्त प्रशंसामूलक अर्थमा आरोपित गरेका छन् । ‘भुक्न’ भन्ने शब्दको अर्थ तिरस्कार गरी ‘स्तुतिगान’ भन्ने नवीन अर्थ आरोपित गरेका छन् । कविले कविताको यो सिङ्गो कथनमा रुढिवैचित्र्य वक्रताका माध्यमबाट नृशंस एवं त्रूmर सरकारले कविको अपमान र भ्रष्टको सम्मान गरेको कथ्यलाई घनीभूत तुल्याएका छन् ।
उदाहरण (ख) को कवि भूपिनद्वारा लिखित पङ्क्तिपुञ्जमा ‘प्रमिथसको भाषण’ भन्ने शब्दावलीको पर्यायार्थ वा रुढ अर्थभन्दा पृथक् ‘वर्तमानका नेताहरूको भाषण’ भन्ने नवीन अर्थ अध्यारोप गर्न रुढि अर्थमा वैचिœयपूर्ण वक्रता पैदा गरिएको छ । यस पङ्क्तिपुञ्जमा जनताको कहालीलाग्दो मृत्युप्रति संवेदनहीन र सत्ताको आयु लम्ब्याउन उद्यत नेताको चरित्र उजागर गर्न कविले स्वर्गको आगो चोर्ने प्रमिथसको भाषणको रुढ अर्थयुक्त शब्द चयन गरी त्यसमा नवीन सत्ता लिप्सामा आसक्त भन्ने अर्थको आरोपद्वारा कथ्यमा विशिष्टता पैदा गरेका छन् । चिसाले कठ्याङ्ग्रिएर मरेका जनताको शोकसभामा आएका नेताहरूमा जनताको करुण अवस्थाप्रति शोक होइन, सत्ताको भोक सवार रहेको कथ्यलाई सशक्त तुल्याउन यो रुढिवैचित्र्य वक्रता प्रभावकारी बनेको देखिन्छ ।
४.५ नेता, राजनीति र लोकतन्त्रप्रति आक्रोश
समकालीन कविका कवितामा नेता, राजनीति र लोकतन्त्रका विकृतिसँग सम्बद्ध विविध अर्थलाई विभिन्न रुढ अर्थयुक्त शब्दमा अध्यारोप गरी वक्रता पैदा गर्ने प्रवृत्ति पनि पाइन्छ । त्यसैकारण समकालीन कविता अत्यन्तै सशक्त एवं प्रभावकारी बनेको देखिन्छ । समकालीन कविले नेताका दुश्चरित्र, राजनीतिका विकृत–विसङ्गत पक्ष एवं लोकतन्त्रका नाममा गरिने अलोकतान्त्रिक आचरणलाई सघन रूपमा व्यक्त गर्न रुढिवैचित्र्य वक्रताको प्रचुर उपयोग गरेका छन्, जस्तै ः
(क) असङ्ख्य दरबारका बुर्जाबाट
तोप पड्किए जसरी आउँछन्
डकारका आवाजहरू
त्रूmरहरू
मान्छेका आँसु, रगत र पसिनाका
चौरासी व्यञ्जन खाइ रहेछन्
सडक पेटीमा भोकभोकै हिडिरहेछन्
भोका नानी बोकेर
आला सुत्केरीहरू
क्रुद्ध छ उनीहरूको हिँडाइ
भोजनको होइन
सायद बन्दुकको खोजीमा छन् उनीहरू
(विनोद विक्रम के.सी., ‘पेट’, पृ. ७३)
(ख) भनिन्छ, सीतादेवी नेपाली
मात्र नेपाली हुन्
ठमेलको मसाज सेन्टरमा होस् या
लोकतन्त्र चोकको अर्को कुनै नयाँ हवेलीमा
नाङ्गो घोप्टो लम्पसार लोकतन्त्रलाई
घोडा चढेर तेल घसिरहेकी हुन्छिन्
लोकतन्त्रको लागि
जुनसुकै बेला नाङ्गो हुन तयार छिन् ।
(स्वप्निल स्मृति, ‘सीतादेवी नेपाली...’, पृ. १११)
समकालीन नेपाली कवितामा नेता, राजनीति र लोकतन्त्रप्रति आक्रोशको अभिव्यक्तिका लागि कविले रुढिवैचित्र्य वक्रताको भरपूर प्रयोग गरेका छन् । उदाहरण ‘क’ मा दिइएको पङ्क्तिपुञ्जमा ‘दरवारका वुर्जा’ पदावलीमा बुर्जा शब्दको अर्थ सामान्य झ्याल हो र त्यो निर्जीव वस्तु हो, कविले दरबारका वुर्जाबाट तोप पड्किए जसरी डकारका आवाजहरू आउँछन् भनी ती वुर्जाको रुढ कोशीय अर्थमा दरबारभित्र बस्ने शासकहरूको मुख भन्ने अर्थ आरोपित गरेका छन् । यसै उदाहरणमा आएको ‘मान्छेका आँसु रगत र पसिनाका चौरासी व्यञ्जनहरू खाइरहेछन्’ भन्ने कथनमा चौरासी व्यञ्जन भनेको अन्न वा मिष्ठान्न जस्ता खाद्य पदार्थ भन्ने रुढ अर्थमा मान्छेका आसु, रगत र पसिना भन्ने नवीन अर्थ आरोपित गरी वक्रता पैदा गरेका छन् र त्रूmर शासकहरूको त्रूmरताको धज्जी उडाउने कथ्यलाई घनीभूत पारेका छन् । उदाहरण ‘ख’ मा प्रस्तुत गरिएकी ‘सीतादेवी नेपाली’ एउटी व्यक्ति विशेषको नाम हो तर यस नामबाट कविले मसाज सेन्टरमा वन्धक बनाइएकी व्यक्ति, लोकतन्त्र चोकको नयाँ हवेलीमा नाङ्गीन विवश युवतीको अर्थ आरोपित गरेका छन् । त्यस्तै ‘नाङ्गो, घोप्टो, लम्पसार परेको लोकतन्त्र’ भनी लोकतन्त्र नामक लोक (जनता) ले गर्ने शासन भन्ने रुढ अमूर्त अर्थमा लोकतन्त्र आगमन पश्चात् बनेका नवधनाढ्य त्रूmर भ्रष्ट नेताहरू भन्ने मूर्त र मानव अर्थ अध्यारोप गरी वक्रता पैदा गरेका छन् । यसरी समकालीन कवितामा कविले रुढिवैचित्र्य वक्रताको प्रयोगद्वारा नेता, राजनीति र लोकतन्त्रप्रतिको आक्रोशलाई घनीभूत तुल्याएका छन् ।
४.६ पहिचान, रङ्भेद र जातिभेद विरुद्धको आवाज
समकालीन नेपाली कवितामा पहिचान रङ्गभेद र जातिभेद जस्तो कथ्यलाई प्रभावकारी तुल्याउन रुढिवैचित्र्य वक्रताको प्रयोग गरिएको छ । देशमा बसोबास गर्ने जातिमाथि भेदभाव गर्ने प्रवृत्तिका विरुद्ध समकालीन कविताले चर्को आवाज उठाएको पाइन्छ, जस्तै ः
सुनकै पिंजडामा थुनिए पनि
गाउँदिन म तिम्रो लागि–
गोपीकृष्ण कहुँ
म होइन तिम्रो शान्तिको प्रतीक परेवा
म होइन–
तिम्रो भ्यालेन्टाइनको प्रतीक जोडी चखेवा
म केही पनि होइन तिम्रो लागि
तर कालो र लामो पुच्छर भएको
कुरूप नै सही
म यो देशको एउटा चरा हुँ
मेरो पनि दावी छ –
म यो देशको राष्ट्रिय चरा हुँ ।
(केशव सिलवाल, ‘चिवेचरा’, पृ. १३)
यस कवितांशमा जातिवशेष र रङ्गका आधारमा गरिने र गरिएको भेदभावप्रतिको आवाज वक्रतापूर्ण ढङ्गले प्रकट भएको छ । ‘गोपीकृष्ण कहूँ’ भनेको सुगाले बोल्ने आवाज भनी अनुकरण गरिएको मानवीय आवाज हो तर ‘गोपीकृष्ण कहूँ’ गाउँदिन भनी उक्त ‘गोपीकृष्ण कहूँ’ शब्दको रुढि अर्थ माथि स्तुतिगान, चाकरी र चाप्लुसी गर्दिन भन्ने नवीन अर्थ आरोपित गरिएको छ । यहाँ ‘सुनको पिजडा’ भन्ने शब्दको रुढ अर्थ सुनजस्तो महँगो धातुबाट बनाएको पिंजडा हो तर यहाँ कविले ‘सुनको पिजडा’ शब्दमा बन्धन, शोषण र दमन जस्ता अर्थ आरोपित गरी वक्रता पैदा गरेका छन् । यहाँ प्रयोग भएको ‘परेवा’ र ‘चखेवा’ दुवै चराका एक जाति हुन् तर यस्तो रुढ अर्थमा कविले ‘शासकका इसारामा नाच्ने, उनकै चाकरी गर्ने व्यक्ति’ भन्ने अर्थ अत्यन्त रमणीय ढङ्गले आरोपित गरेका छन् । ‘म यो देशको राष्ट्रिय चरा हुँ’ भन्ने पङ्क्तिमा ‘राष्ट्रिय चरा’ भन्ने पदावलीको अर्थ माथि ‘राष्ट्रको नागरिक’ भन्ने अतिशय प्रशंसामूलक अर्थको आरोप गरी वक्रता पैदा गरेका छन् । यसरी समकालीन कविका कवितामा जातीय भेदभाव विरुद्धको आवाज रुढिवैचित्र्य वक्रताका माध्यमबाट सशक्त रूपमा प्रकट भएको छ ।
५. निष्कर्ष
रुढिवैचित्र्य वक्रताको प्रयोग गर्ने प्रवृत्ति समकालीन नेपाली कविताको मुख्य विशेषता देखा पर्दछ । समकालीन कविले धर्म, ईश्वर, देवीदेवता, गरीब, गरिबी, विषमता, सिद्धान्तहीनता, नृशंस सत्ता, राजनीति र लोकतन्त्रप्रतिको निसाना र जातीय भेदभाव जस्ता विषयवस्तुलाई कलात्मक रूपमा अभिव्यक्त गर्न अङ्गीकार गरेको एक महत्वपूर्ण प्रवृत्ति रुढिवैचित्र्य वक्रता हो भन्ने प्रस्ट हुन्छ । जसमा शब्दको रुढ अर्थमा अनेक असम्भाव्य अर्थ आरोप गरी वक्रता पैदा गरी कविता कृतिलाई कलात्मकताको शिखरमा पु¥याउने विशिष्ट माध्यम रुढिवैचित्र्य वक्रता हो भन्ने छर्लङ्ग हुन्छ ।
सन्दर्भग्रन्थ सूची
कुन्तक (सन् १९९५), हिन्दी वक्रोक्तिजीवित, सम्पा. डा. नगेन्द्र, दिल्ली ः हिन्दी माध्यम निर्देशनालय, दिल्ली विश्वविद्यालय ।
के.सी., विनोद विक्रम (२०६२), ‘चिन्ता ः एक मुद्रा’, गरिमा, (पूर्णाङ्क ३६३), ललितपुर ः साझा प्रकाशन ।
–––, (२०६२), ‘पेट’, गरिमा, (पूर्णाङ्क ३६३), ललितपुर ः साझा प्रकाशन ।
तिवारी, सरिता, (२०६३), ‘अङ्गुछिया’, गरिमा, (पूर्णाङ्क ३६३), ललितपुर ः साझा प्रकाशन ।
त्रिपाठी, राममूर्ति. भारतीय काव्य विमर्श. दिल्ली ः वाणी प्रकाशन. सन् २००९ ।
द्विवेदी, दशरथ. रसाभिव्यक्ति. वाराणसी ः विश्वविद्यालय प्रकाशन. २००७ इ. ।
भूपिन (२०६२), ‘देहातमा हेलिकप्टर’, गरिमा, (पूर्णाङ्क ३६३), ललितपुर ः साझा प्रकाशन ।
मञ्जिल, मनु (२०६२), गाउँमा पूर्णिमा, (पूर्णाङ्क ३६३), ललितपुर ः साझा प्रकाशन ।
मुकारुङ, श्रवण (२०६२), ‘शान्ति सम्बन्धी कविता’, गरिमा, (पूर्णाङ्क ३६३), ललितपुर ः साझा प्रकाशन ।
–––, (२०६२), ‘भानुभक्त’, गरिमा, (पूर्णाङ्क ३६३), ललितपुर ः साझा प्रकाशन ।
रेग्मी, महेश (२०६२), ‘कवि र हत्कडी’, गरिमा, (पूर्णाङ्क ३६३), ललितपुर ः साझा प्रकाशन ।
शर्मा, ऋषिराम. नेपाली वक्रोक्ति परिचय. भक्तपुर ः इन्दिरा अर्याल. २०७० ।
सिलवाल, केशव (२०६२), ‘डा. चेपाङ’, गरिमा, (पूर्णाङ्क ३६३), ललितपुर ः साझा प्रकाशन ।
–––, (२०६२), ‘चिवेचरा’, गरिमा, (पूर्णाङ्क ३६३), ललितपुर ः साझा प्रकाशन ।
स्मृति, स्वप्निल (२०६२), ‘सीतादेवी नेपाली...’, गरिमा, (पूर्णाङ्क ३६३), ललितपुर ः साझा प्रकाशन ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु