नारी पीडा र विद्रोहको ऐतिहासिक प्रस्तुति : विद्रोही इन्द्रकुमारी

- डा.कृष्णराज अधिकारी

थालनी
नेपालको वर्तमान भूगोल विक्रमको अठारौं शताब्दीसम्म विभिन्न ससाना राज्यहरूमा विभक्त रहेको थियो । त्यस समयमा अठार ठकुराई, बाह्र ठकुराई, पश्चिममा बाइसे–चौबिसे राज्य र उपत्यकामा मल्ल राज्य अनि पूर्वका सेन राज्यहरू, माझकिराँत, पल्लो किराँत, लिम्बुवान क्षेत्र समेत गरी तत्कालीन अवस्थामा ५५÷५६ वटा राज्यहरू थिए । आपसी झगडा र द्वेषले गर्दा तिनीहरू कमजोर र टुटफुटको अवस्थामा थिए । उता उत्तरमा तिब्बत र दक्षिणमा अङ्गे्रजहरूको शासन थियो । नेपालका राज्यहरूप्रतिको तिनको आक्रमक दृष्टिले यहाँका भुरे–टाकुरे राज्यहरूको अस्तित्व सङ्कटमा पर्दै थियो । यसैले यी राज्यहरूलाई आपसमा गाभेर ठूलो राष्ट्र बनाउनु ऐतिहासिक आवश्यकता थियो र समयले यस्तो कार्यभार पूरा गर्ने नायकको खोजी गरिरहेको थियो । उपत्यकाका राजाहरू अन्य राजाहरूका तुलनामा बलिया र सुदृृढ थिए तर इतिहासको कार्यभार ती राजाहरूले बहन नगरी गोरखा जस्तो अत्यन्त पिछडिएको र कमजोर राज्यका राजा पृथ्वीनारायण शाहले गर्न पुगे । उनले प्रारम्भ गरेको राज्य विस्तार (एकीकरण ?) अभियानलाई उनका छोरा बहादुर शाह र बुहारी राजेन्द्र लक्ष्मीले पूरा गरे । विशाल राज्यको राजा हुने महत्वाकाङ्क्षाका साथ राज्य विस्तारको उद्देश्यले गरिएको भए पनि यो एउटा ऐतिहासिक आवश्यकता थियो । यसैले राज्य विस्तारले एकीकरण अभियानको स्वरूप लिन पुग्यो र राज्य विस्तारका महत्वाकाङ्क्षी पृथ्वीनारायण शाह ‘राष्ट्रनिर्माता’ बन्न पुगे ।
नेपाली साहित्यको इतिहास पनि गोरखाको राज्यविस्तार (नेपालको एकीकरण) अभियानसँगै प्रारम्भ भएको मानिन्छ । पृथ्वीनारायण शाहकै बारेमा लेखिएको सुबानन्द दासको कविता ‘पृथ्वीनारायण’ लाई अहिलेसम्म भेटिएको पहिलो नेपाली कविता भन्ने गरिन्छ । पृथ्वीनारायण शाह र त्यसपछिको राज्य विस्तार अभियानलाई उत्प्रेरित गर्दै सैनिकहरूको मनोबल उच्च पार्न त्यतिखेरका कवि लेखकहरूले युद्ध र वीरताका कविता– काव्यहरू लेख्न पुगे । यसैले प्रारम्भिककालको नेपाली साहित्य वीर रस–प्रधान हुन पुग्यो । पृथ्वीनारायणको वीरता, पराक्रम, कुटनीति, युद्धनीति र उनको व्यक्तित्वका साथै विजय अभियानलाई समेत विषयवस्तु बनाएर तत्कालीन समयमा मात्र होइन पछिसम्म पनि धेरै कविता–काव्य र महाकाव्यहरू सिर्जना हुन पुगे । वि.सं. १८६० तिर लेखिएको मानिने नेपाली साहित्यको पहिलो महाकाव्य उदयानन्द अर्यालको ‘पृथ्वीन्द्रोदय’ मात्र होइन आधुनिक कालमा लेखिएका कृष्णप्रसाद घिमिरेको ‘राष्ट्रिय चरित्र’ (२०१५), गोविन्दप्रसाद भट्राईको ‘पृथ्वी महेन्द्र’ (२०१९), उमानाथ शास्त्रीको ‘मकवानीबाला’ (२०३५), गुणराज खनालको ‘शाहवंश’ (२०३९) अनि ओमवीर सिँह बस्नेतको ‘पृथ्वी’ (२०५८) जस्ता महाकाव्यले पनि पृथ्वीनारायण शाहलाई नै नायक वा मुख्य पात्र बनाएर महाकाव्यको सिर्जना गर्न पुगे । यी सबै महाकाव्यहरूमा पृथ्वीनारायणलाई महान् व्यक्तित्वका रूपमा अघि सार्दै उनको वीरता, पराक्रम र शौर्यका साथै उनलाई एकीकरणमा आशिर्वाद र प्रेरणा दिने गुरु गोरखनाथसँगको घटना–सन्दर्भ, बिसे नगर्चीको सल्लाह, राज्य विस्तार अभियान अनि उनको जीवनका महत्वपूर्ण पाटाहरूको चर्चा गरिएको पाइन्छ । यी सबैजसो महाकाव्यहरूमा उनलाई महान् बनाउने प्रयत्न गरिएको हुँदा स्तुति र प्रशंसाले नै ती काव्यका पाना भरिएका पाइन्छन् । ती कृतिहरूमा उनका जीवनका छायामा परेका नकारात्मक पाटाहरूलाई भने वेवास्ता गरिएको पाइन्छ । यसै सन्दर्भमा पृथ्वीनारायण शाहकी प्रथम पत्नी इन्द्रकुमारीलाई नै मुख्य पात्र बनाएर उनले भोगेका पीडाजन्य पाटोलाई खोतल्दै बुनू लामिछानेद्वारा ‘विद्रोही इन्द्रकुमारी’ (२०६४) महाकाव्य लेखिएको छ ।
पूर्वीय आचार्यहरूले महाकाव्यको चर्चा विभिन्न लक्षणहरुका अतिरिक्त ठिक्कका आठभन्दा बढी सर्ग भएको रचनालाई महाकाव्य भनेको हुँदा पछिल्ला महाकाव्यकारहरूले विषय, शैली, उद्देश्य, भाव र चरित्रलाई वेवास्ता गर्दै केवल सर्ग सङ्ख्या पु¥याई आफ्नो रचनालाई महाकाव्यको संज्ञा दिनमै लागिपरेको देखिन्छ । हुन त कतिपय कृतिहरूले महाकाव्यीय उदात्तता र महत्तालाई नपछ्याएका होइनन् तर पनि समग्रमा महाकाव्यीय मूल्य र महत्तालाई अँगालेर महाकाव्य लेख्ने साहस, धैर्य र साधना भने ज्यादै कम कविहरूमा मात्र पाइन्छ । यसैले नेपाली साहित्यमा महाकाव्यको सङ्ख्या उल्लेख्य देखिए पनि महाकाव्यीय मूल्य र महत्ता बोकेका महाकाव्यको सङ्ख्या भने अत्यन्त न्यून देखिन्छ । नेपाली महाकाव्य लेखनको यही परम्परामा बुनू लामिछाने शास्त्रीय मान्यताका शिल्प, शैली र संंरचनालाई पछ्याउँदै बृहदाकार महाकाव्य ‘विद्रोही इन्द्रकुमारी’ लेख्न पुग्छिन् ।
दाङको तुलसीपुर–६ गोलौरामा जन्मेर नेपाली साहित्य र संस्कृतिमा स्नातकोत्तर गरेकी बुनूका कविता, खण्डकाव्य, महाकाव्य र समालोचना गरी एक दर्जन कृतिहरू प्रकाशित छन् । समालोचनामा समेत कलम चलाउने उनका अधिकांश कृतिहरु कविता–काव्यकै भएकाले उनको साधना कविता–काव्यमै विशिष्ट बन्न पुगेको छ । प्रकाशित सबै काव्य–महाकाव्यहरु शास्त्रीय छन्दमै लेखिएको हुँदा छन्दप्रति उनको विशेष लगाव र साधनासमेत देखिन्छ । पहिलो महाकाव्य ‘याचना’ (२०६०) प्रकाशन गरेको चार वर्षमै ९० सर्गको बृहदाकार महाकाव्य ‘विद्रोही इन्द्रकुमारी’ प्रकाशन गर्नुलाई उनीभित्रको काव्यिक ऊर्जा र साधनाको द्योतक मान्न सकिन्छ ।
विषय र कथ्य
पृथ्वीनारायण शाहकी प्रथम पत्नी इन्द्रकुमारीलाई नायिका बनाएर लेखिएको ‘विद्रोही इन्द्रकुमारी’ ९० सर्ग र ५ हजार श्लोक भएको बृहत्काय रचना हो । महाकाव्यको शीर्षक पृथ्वीनारायणकी जेठी पत्नी इन्द्रकुमारी र उनको मनस्थितिलाई झल्काउने गरी राखिएको भए पनि यहाँ पृथ्वीनारायण शाह र उनको विजय अभियानलाई नै बढी स्थान र महत्व दिइएको छ । पृथ्वीनारायणका बारेमा लेखिएका काव्य–महाकाव्यमा मात्र होइन इतिहासका अन्य पुस्तकहरूमा समेत इन्द्रकुमारीका बारेमा अत्यन्त कम चर्चा भएको पाइन्छ । पृथ्वीनारायणको विवाहको सन्दर्भमा उनको नाउँ उल्लेख गरिए पनि विवाहको अवस्था, विवाह सम्पन्न भएपछि पृथ्वीनारायणले बेहुलीलाई नलिई हिँडेको स्थिति, विवाह भएर पनि लामो समयसम्म माइतमै बस्नुपर्दाको इन्द्रकुमारीको मानसिक अवस्था, पृथ्वीनारायण र उनका जेठान दिग्बन्धन सेनबीचको द्वन्द्व अनि मकवानपुरसँगको सम्बन्ध र द्वन्द्वले पृथ्वीनारायणको राज्यविस्तार अभियानमा पारेको प्रभाव जस्ता कुराहरूलाई भने अधिकांश इतिहासका पुस्तक र काव्यहरूले केलाउन सकेको पाइँदैन । प्रस्तुत महाकाव्यमा भने शीर्षक नै नायिका इन्द्रकुमारीको नामबाट राख्दै उनको विवाहको दुःखान्त अवस्था र लामो समयसम्म पतिगृहमा जान नपाउनुको पीडादायी तर विद्रोहात्मक मनस्थितिलाई महत्वका साथ प्रस्तुत गरिएको छ ।

इन्द्रकुमारीले आफ्नो परिचय प्रस्तुत गर्ने सन्दर्भको दोस्रो सर्गमा नै बिहेमा एकदन्त हात्ती र नौलखा हार दाइजोमा नदिएकै कारण बिहेपछि बेहुलाले आफूलाई नलिई गएको भन्दै विद्रोहात्मक भाव व्यक्त गर्दछे । त्यस लगत्तै तेस्रो सर्गबाट पृथ्वीनारायणको जीवनीतिर प्रवेश गर्दै गुरु गोरखनाथको प्रसङग, नेपाली प्रकृतिको वर्णन, छरिएर रहेका स–साना राज्यप्रति गोरखनाथको चिन्ता, गोरखनाथ र उनका शिष्य भगवन्तनाथबीचको संवाद, पृथ्वीनाराणलाई गोरखनाथले जुठो दही खान दिँदा खान नमानी हातबाट पोखिँदा खुट्टामा परेको किंबदन्तीको प्रसङ्ग रहेको छ । तीनदेखि आठ सर्गसम्मका छवटा सर्ग गोरखनाथसँगको किंवदन्तीमा आधारित भएर प्रस्तुत गरिएको छ । एउटा सर्ग दिन पुग्ने प्रसङ्गलाई यतिधेरै महत्व दिएर प्रस्तुत गर्नुको औचित्य देखिँदैन, महाकाव्यलाई विस्तार गर्नका लागि मात्रै तन्काएको देखिन्छ । यसपछिका तेह्रौं सर्गसम्म पृथ्वीनारायणलाई गुरु भगवन्तनाथको आध्यात्मिक शिक्षा र एकीकरणका लागि दिएको मार्ग निर्देशन प्रस्तुत गरिएको छ । गुरुले पृथ्वीनारायणलाई इन्द्रकुमारीको रुप र गुणको बखान गर्दै बिहेका लागि उत्प्रेरित गर्दछन् भने उता इन्द्रकुमारीलाई पनि सपनाले चेष्टा दिएको हुन्छ । यसपछिका सातवटा सर्ग इन्द्रकुमारीको स्वप्नाभास, इन्द्रकुमारीको प्रकृतिसँगको एकालाप, बाबुको निर्देशन, विवाहप्रति इन्द्रकुमारीको दृष्टिकोण र विवाह जस्ता प्रसङ्गमा खर्चिएको पाइन्छ ।
विवाह सकिएर डोली दिने बेलामा पृथ्वीनारायणले एकदन्त हात्ती र नौलखा हार नदिए डोली नलिई रित्तै जाने घुर्की र धम्की दिन्छन् । इन्द्रकुमारीका दाजु दिग्बन्धन सेन पृथ्वीको मागप्रति आक्रोशित हुन्छन् । ठूलो विवादपछि पृथ्वी डोली नलिई हिँड्छन् । त्यसको केही वर्षपछि गोरखाको राजा भएका पृथ्वीनारायणलाई हेमकर्ण सेनले पृथ्वीको माग पूरा गरिदिने भन्दै डोली लैजान निम्तो दिन्छन् । दुलही लैजान ससुराली आएका पृथ्वीनारायणलाई दरवारको द्वारमा रहेको पालेले जुत्ता नफुकाली सलाम गर्छ । यसबाट पृथ्वीनारायण आफूलाई अपमान गरेको सम्झँदै हतपत त्यसको शिरच्छेदन गरिदिन्छन् । स्थिति तनावपूर्ण बन्दछ । दिग्बन्धन सेन आक्रोशित हुँदै पृथ्वीमाथि जाइलाग्न थाल्दा बाबुले रोक्दै अन्यथा हुनबाट जोगाउँछन् । त्यस्तालाई एकदन्ता हात्तीसहित आफ्नी बहिनी पठाउन नहुने भन्दै दिग्बन्धन गर्जेपछि दोस्रोपटक पनि पृथ्वी रित्तै फर्किन पुगछन् । पृथ्वीनारायणको आवेग, हठ र क्रुरता अनि माइतीपट्टिको अहंका कारणले इन्द्रकुमारीको वैवाहिक जीवन सङ्कटमा पर्दछ । ज्वाइँ–जेठानको द्वन्द्व भित्रभित्रै सल्किँदै जान्छ । पृथ्वीनारायणमा पनि बदलाको भावना जागृत हुन्छ । हेमकर्णमा चिन्ता र विषादको भाव छाउँछ । डोली नलिई रित्तै फर्किएका पृथ्वी दोस्रो बिहेको तयारी गर्छन् । मकवानपुरका राजालाई चुनौती दिन र आफू योग्य छु भन्ने देखाउनसमेत पृथ्वीनारायणले काशी नरेश अभिमानसिँहकी पुत्री नरेन्द्र लक्ष्मीसँग दोस्रो बिहे गर्न पुग्छन् । यता इन्द्रकुमारीको मनमा पीडा, व्यथा र चिन्ता उम्लिरहेको हुन्छ भने उता पृथ्वीनारायणको राज्यविस्तार अभियान अघि बढ्छ । नुवाकोट, कीर्तिपुर आदि राज्यमाथि गोरखाको विजय हुन्छ । पछि मकवानपुरमाथि पनि आक्रमण हुँदा दिग्बन्धन सेन पराजित हुन्छन् । इन्द्रकुमारीको घनगर्जन हुन्छ । आफ्नो जीवनको समीक्षा गर्छिन्, नयाँ बिहानीको आह्वान गर्छिन् र जन्मधरासित बिदा माग्दै जीवन समाप्त हुन्छ ।
यसरी महाकाव्यमा इन्द्रकुमारीसँग जोडिएको कथानक अत्यन्त क्षीण हुन्छ भने पृथ्वीनारायणसित जोडिएको प्रसङ्ग केही सबल हुन्छ । तर धेरैजसो सर्गमाचाहिँ कविले यी दुवै कथानकलाई अलपत्र छोडेर आफ्नै भावनामा बहकिएको पाइन्छ । पृथ्वीले डोली नलिई हिँडेपछि इन्द्रकुमारीको मनमा उब्जिएको मनोभावनालाई केही हदसम्म उधिन्न सफल भएपनि त्यो बिद्रोहजन्य अवस्थामा पुगेको देखिँदैन । इन्द्रकुमारीको सक्रियता कहिँ कतै देखिँदैन । महाकाव्यले अपेक्षा गरेको घटना–सन्दर्भलाई भन्दा आफ्नै मनोभाव र काव्यिक अनुभूतिलाई पस्कन पुगेको पाइन्छ । पृथ्वीनारायण डोली नलिई फर्किनु पर्दाका दुवै अवस्थाको वर्णन अत्यन्त सशक्त रुपमा आएको छ तर अन्य सन्दर्भहरुमा चाहिँ कथानक सो अनुरुप अघि बढ्न सकेको छैन । इन्द्रकुमारी गोरखा वा पतिगृहमा गएको प्रसङ्ग, मकवानपुरमाथि गोरखा राज्यको हमला हुँदा इन्द्रकुमारीको भूमिकाको प्रसङ्ग अनि इन्द्रकुमारीको मृत्यु कहिले, कहाँ र कसरी भयो भन्ने सन्दर्भलाई राम्ररी प्रस्तुत गरिएको छैन । उनको जीवनको महत्वपूर्ण पाटो रहेको यस्तो घटनालाई महत्व नदिई केवल इन्द्रकुमारीको मनोभावनामै चहारिरहनु र त्यो पनि कविको जीवन–जगत्प्रतिको भावलाई इन्द्रकुमारीको भाबमा आरोपित गर्दै बहकिनुले आरम्भदेखि फलागमसम्मका कथावस्तुका पाँच अवस्थालाई व्यवस्थित गरेको देखिँदैन । ऐतिहासिक घटनामा आधारित काव्य भए तापनि कतिपय ठाउँमा कविले सम्भाव्य घटनाको सिर्जना गरेर अपुष्टतालाई पुष्ट पार्ने गरेको हुन्छ । यसरी पृथ्वीनारायणको घटना–सन्दर्भले महाकाव्यको विषयवस्तुलाई थिच्न र मिच्न पुगेको छ । इन्द्रकुमारीको घटना–सन्दर्भ प्रमुख र पृथ्वीनारायणको राज्य विस्तार अभियान सान्दर्भिक कथावस्तु बन्नुपर्नेमा यहाँ सान्दर्भिक कथावस्तु नै मूल रूपमा प्रस्तुत हुन पुगेको छ । ऐतिहासिक तथ्य, सम्भाव्य घटना र कवित्वको उचित तारतम्य मिल्न नसक्दा कथानक त्यति सुपुष्ट, सबल र सशक्त हुन सकेको छैन ।
शिल्प र संरचना
विभिन्न ५८ वटा शास्त्रीय छन्दहरुको प्रयोग गरी ९० वटा सर्गमा संरचित यो महाकाव्य आयामका दृष्टिले बृहत् देखिन्छ । पूर्वीय महाकाव्य–मान्यतालाई अवलम्बन गरी लेखिएको हुँदा अधिकांश लक्षणहरु त्यसै अनुरुप कायम गरिएको छ । आठभन्दा बढी सर्ग (९० सर्ग)मा विभक्त, करुण र वीर प्रमुख रस र अरु सहायक रसका रुपमा कायम, मङ्गलाचरणबाट काव्यारम्भ, सर्गान्तमा छन्द परिवर्तन र आगामी सर्गको निर्देश, विभिन्न ऋतु र प्रकृतिको वर्णन जस्ता लक्षणहरुलाई सुनियोजित रुपमै कायम गरिएको छ भने धीरोदात्त गुणले युक्त उच्च कुलको नायक र पुरुषार्थ चतुष्टयको उद्देश्यलाई भने यसले अवलम्बन गर्न सकेको छैन । अनुष्टुप्, शादूर्लविक्रीडित, मन्दाक्रान्ता, शिखरिणी, उपजाति जस्ता पच्रलित छन्दहरुका साथै प्रहरणकलिका, मणिमध्य, चित्रलेखा, दोधक, समानिका, रुपामाली, मदलेखा जस्ता प्रचलनमा त्यति नआएका छन्दहरुसमेत गरी ५८ किसिमका छन्दहरुको प्रयोगले यसलाई छन्दहरुको प्रयोगशाला जस्तै बनाएको छ । शशिवदना (६ अक्षर), विद्युन्लेखा (६ अक्षर), सोमराजी (६ अक्षर), समानिका (७ अक्षर), प्रमाणिका (८ अक्षर) जस्ता थोरै अक्षरका छोटा छन्दहरु देखि लामा अक्षरका दुर्मिला (२४ अक्षर) र स्रग्धरा (२१ अक्षर) जस्ता छन्दहरुको पनि उत्तिकै सहजताका साथ प्रयोग गरिनुले कविको छन्दमाथिको पकडलाई पुष्टि गर्दछ । कविले यसअघि नै ‘बिहानीका पाइलाहरु’ कवितासङ्ग्रह र ‘याचना’ महाकाव्य प्रकाशन गर्नुबाट पनि छन्दमा कविको विशेष रुचि र लामो अभ्याससमेत देखिन्छ । यसैले कविलाई यति धेरै किसिमका छन्द प्रयोग गरीै बृहत् आकारको महाकाव्य लेख्न सम्भव भएको अनुमान गर्न सकिन्छ । कथाको भाव अनुकूलको छन्दप्रयोगले काव्यलाई रससिक्त र प्रभावकारी बनाउन पुग्छ । तर प्रयोगकै लागि गरिने विभिन्न छन्दप्रयोगले भने उल्टै काव्यको प्रभावमा क्षति पु¥याउँछ ।
महाकाव्यको लामो काव्यिक–यात्रामा एउटै मात्र छन्दको प्रयोगले पाठकमा एकरसता उत्पन्न गरी पट्यारको अवस्थामा पु¥याउने भएकाले पूर्वीय आचार्यहरुले छन्द परिवर्तनको आवश्यकता औंल्याएको देखिन्छ । सर्गान्तमा आगामी सर्गको सङ्केत गर्न वा अन्य केही सन्दर्भमा अति छोटा छन्दहरुको प्रयोग उपयुक्त लागेपनि महाकाव्य जस्तो बृहत् कथानक हुने विधामा भावलाई सुस्पष्ट पार्न लामो र मध्यम आकारका छन्द उपयुक्त हुने गर्दछन् । यसैले होला भानुभक्तदेखि देवकोटा, लेखनाथ, सम, घिमिरे वा पछिका अधिकांश कविहरुले पनि शार्दूलविक्रीडित, अनुष्टुप्, शिखरिणी, मन्दाक्रान्ता जस्ता लामा र मध्यम छन्दकै बढी प्रयोग गरेको पाइन्छ । तर यस महाकाव्यमाचाहिँ लामा छोटा धेरै छन्दहरुको प्रयोग भएपनि अधिकांश ठाउँ छोटा छन्दहरुले ओगटेका छन् । आख्यान र कवित्वलाई सँगै लिएर जानुपर्ने ठाउँमा पनि आख्यानलाई उछिन्दै कवित्व एक्लै हिँडिरहेको पाइन्छ । कविताले महाकाव्यको लामो यात्रा तय गर्दा आख्यानलाई पनि सँगै लिएर जानुपर्नेमा त्यसो हुन नसक्दा काव्यको रस परिपाक अवस्थामा पुग्न नसक्ने मात्र होइन र काव्यिक प्रभावमा पनि क्षति पुग्न जान्छ । सर्गहरुलाई आवश्यकताविनै बढाउनु र तन्काउनु तर आख्यानलाई भने सोही अनुरुप विस्तार गर्न नसक्नुले महाकाव्य सबल र सुपुष्ट हुन सकेको छैन ।
पूर्वीय महाकाव्य–मान्यतालाई अवलम्बन गर्दै कविले कतिपय ठाउँमा प्रकृतिको चित्रण पनि गर्न पुगेकी छन् तर त्यहाँ प्रकृतिको विराटता, भव्यता, सुन्दरता र मानव–प्रकृतिको सम्बन्ध देखाउनतिर नभई सामान्य चित्रणका रुपमा कतै–कतै मात्र आएको देखिन्छ । नब्बे सर्ग ओगटेको र कतिपय सर्ग र श्लोकहरु अनावश्यक रुपमा बढाइएको भए पनि प्रकृति चित्रणकै लागि भने कतै पनि सिङ्गै सर्ग वा धेरै श्लोकहरु उपयोग गरिएको छैन । इन्द्रकुमारीको बिहेका सन्दर्भमा कवि उक्त सुसीयालीमा प्रकृतिलाई सरिक हुन आग्रह गर्छिन्—
चुम–चुम लहरा हो ! प्रीतिको भावबेली
सुन–सुन छहरा हो ! यो खुसीको सुसेली
पवन गति सुधाका दिन्छ यस्तै सुझाव
सुखद सुख सँगाली भर्न शृङ्गार आज (२७÷८)
कतै सामान्य प्रसङ्ग वा घटनालाई पनि पाँच–छ सर्ग खर्चेर वर्णन गरिएको छ भने कतै आवश्यक घटना र सन्दर्भलाई पनि स्थान दिइएको छैन । गुरु गोखरनाथले पृथ्वीनारायणलाई जुठो दही खान दिएको सन्दर्भ देखाउन आठवटा सर्ग खर्च गरिएको छ (सर्ग ३–८) भने गुरु भगवन्तनाथको सन्दर्भलाई पनि दुई सर्ग खर्च गरिएको छ । गुरु भगवन्तसँगको सन्दर्भ, ‘इन्द्रकुमारीको स्वप्नाभास’, ‘इन्द्रकुमारीको मनोव्यथा’, ‘काशीसुतालाई आग्रह’, ‘इन्द्रकुमारीको घन गर्जन’ जस्ता सन्दर्भहरुलाई पनि एक–एक सर्गमा समेट्न सकिनेमा प्रत्येकलाई दुई–तीनवटा सर्गमा तन्काइएको छ । पृथ्वीनारायणले इन्द्रकुमारीसँग बिहे गर्दा मागेअनुसारको दाइजो नदिएको निहुँमा दुलही नलिई हिँडेको, दिग्बन्धनसेनसँग पृथ्वीनारायणको विवाद र द्वन्द्व अनि दोस्रोपटक पृथ्वीनारायण दुलही लिन आउँदा दरबारको पालेले जुत्ता नफुकाली सलाम गरेपछि आफ्नो अपमान सम्झी उसलाई तत्काल हत्या गरिदिएको सन्दर्भजस्ता कतिपय सर्गहरुमा भाव र आख्यानको तीब्र प्रवाह रहन्छ, तर त्यसपछिका सर्गहरुमा भने कथा र भाव दुवैमा मन्दीको अवस्था देखिन्छ । पृथ्वीनारायणको मकवानपुर विजय र त्यसमा इन्द्रकुमारीको भूमिका, इन्द्रकुमारी पतिघरमा गएपछिको उनको अवस्था र भूमिका, पृथ्वीनारायणसँगको उनको सम्बन्ध अनि पृथ्वीनारायणको मृत्युपश्चात उत्पन्न अवस्था र इन्द्रकुमारीको अन्त्यावस्था जस्ता घटना–सन्दर्भहरुलाई जसरी उत्तरोत्तर विकसित गर्दै लैजानुपथ्र्यो, महाकाव्यमा त्यस्तो हुन सकेको छैन । दिग्बन्धन सेनसँगको विवादपछिका घटनाहरु त्यति स्पष्ट र विकसित हुँदै अघि बढ्न सकेका छैनन् । केवल इन्द्रकुमारीको मनोवादलाई मात्र बढी स्थान र महत्व दिएको छ । यसले गर्दा महाकाव्यको कथानक उत्तरोत्तर विकास भई आरम्भबाट फलागमसम्म पुग्नुपर्नेमा बीचमा गएर शिथिल र अस्पष्ट हुँदै अघि बढेको र पछिसम्म पनि यो स्थिति रहेको देखिन्छ । धेरै किसिमका शास्त्रीय छन्दहरुको प्रयोग गरिएको, छन्दले कविको भावलाई कुण्ठित नगरेको र तिनलाई प्रायः भावानुकूल हुने गरी प्रयोग गरिएकाले छन्द प्रयोगका दृष्टिले महाकाव्यकार बुनू लामिछाने सफल देखिन्छिन् । तर महाकाव्यीय संरचना र उदात्त भावका दृष्टिले भने यो त्यति सबल र सुपुष्ट हुन सकेको छैन ।
चरित्राङ्कन
पृथ्वीनारायण शाह महाकाव्योचित नायक भएकैले धेरै कवि–लेखकहरुले उनलाई प्रमुख पात्र वा नायक बनाएर काव्य–महाकाव्यहरु लेख्न पुगे । सानो गोरखा राज्यको विस्तार गरी एउटै ठूलो राज्य बनाउन उनले सुरु गरेको युद्ध–अभियान, विभिन्न राज्यहरुसँग अख्तियार गरेको कुटनीति, रण–चातुर्य र कतिपय नृशंस र अमानवीय हत्याका घटनाहरु साँच्चिकै महाकाव्यका लागि उपजीव्य घटनाहरु थिए । तर प्रस्तुत महाकाव्य पृथ्वीनारायणलाई नभएर उनकी जेठी पत्नी इन्द्रकुमारीलाई प्रमुख पात्र वा नायिका बनाएर लेखिएको छ जसको व्यक्तित्व र भूमिका इतिहासमा त्यति सक्रिय, महत्वपूर्ण र उल्लेख्य देखिँदैन । इतिहासमा मात्र होइन प्रस्तुत काव्यमा पनि इन्द्रकुमारीको भूमिकालाई त्यति उल्लेख्य र सक्रिय बनाउन सकिएको छैन । ऐतिहासिक विषयमा काव्य लेख्दा कविले इतिहासको कङ्कालमाथि कल्पनाको मासु भर्दै काव्यलाई सुन्दर बनाएको हुन्छ । तर त्यसरी थपिएको मासु उपयुक्त र सम्भावनायुक्त भने हुनुपर्छ । कुनैपनि कविको काव्यिक क्षमता पनि यसैमा निहित हुन्छ । इन्द्रकुमारीसँग सम्बद्ध ऐतिहासिक घटना–सन्दर्भहरु अत्यन्त कम भएकैले होला कविले अपुग सामग्री जुटाउन पृथ्वीनारायणको बाल्यकालतिर पुग्दै गुरु गोरखनाथ र भगवन्तनाथसँगका सन्दर्भहरुलाई आवश्यकभन्दा बढी स्थान दिन पुगेको देखिन्छ ।
महाकाव्यमा पृथ्वीनारायणको राज्य विस्तार अभियान, विशाल राष्ट्रको राजा हुने महत्वाकाङ्क्षा, विजयप्रतिको प्रतिबद्धता, कुटनीतिक चातुर्य र राज्य सञ्चालन–पद्धति जस्ता पक्षलाईभन्दा उनको किशोरकालमा भएका घटना र विशेष गरी गुरु गोरखनाथ र भगवन्तनाथले दिएको आशीर्वाद र सल्लाह, बिसे नगर्चीले दिएको सुझावका साथै पृथ्वीनारायणको इन्द्रकुमारीसँगको विवाह सन्दर्भ, एकदन्त हात्ती र नौलखा हार दाइजो नदिए दुलही नलिई जाने घुर्की, दरवारको पालेले जुत्ता नफुकाली सलाम गर्दा अपमान सम्झी उसको हत्या गरिदिएको अनि जेठान दिग्बन्धन सेनसँगको विवाद र द्वन्द्व जस्ता घटनाहरुलाई बढी महत्व दिई प्रस्तुत गरिएको छ । यसबाट महाकाव्यमा पृथ्वीनारायणलाई उच्च महत्वाकाङ्क्षी, क्रुर, अर्काको सम्पत्तीमाथि आँखा गाड्ने लोभी अनि नारीप्रति असहिष्णु निर्दयी पात्रका रुपमा उभ्याइएको देखिन्छ । उनको चारित्रिक पक्षलाई उजागर गर्ने क्रममा राज्य विस्तार अभियानका सिलसिलामा र विशेष गरी कीर्तिपुर आक्रमणका क्रममा त्यहाँका धेरै मानिसको नाक काटिदिएको अनि मकवानपुर आक्रमणका सन्दर्भमा जेठान दिग्बन्धन सेन र तिनका परिवारप्रति गरेको अमानवीय व्यवहारलाई कुनै उल्लेख नगरी केवल बिहेको सन्दर्भलाई मात्र उल्लेख गरिएको छ । पृथ्वीनारायणलाई एउटा राजाका रुपमा, योद्धाका रुपमा र पतिका रुपमा गरी विभिन्न पक्षको चरित्राङ्कन नगरी केवल पतिका रुपमा मात्र र त्यो पनि बिहे गरेदेखि डोली नलिई फर्किएको सन्दर्भसम्मको मात्र चरित्राङ्कन गर्नाले उनको चरित्रको संपूर्ण पाटो आउन सकेको छैन ।
पृथ्वीनारायणले मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग बिहे गर्नुमा उनको रणनीतिक उद्देश्य थियो । मकवानपुर राज्य सैन्य दृष्टिले सुदृढ र आर्थिक दृष्टिले सम्पन्न त छँदै थियो, रणनीतिक दृष्टिले पनि काठमाडौं छिर्ने ढोका हुनुका साथै तराईको मुख्य नाका पनि थियो । यसैले उपत्यकामाथि आक्रमण गर्न पनि मकवानपुरसँग मित्रता कायम राख्नु आवश्यक हुन्थ्यो । यसै कुरालाई दृष्टिगत गरी पृथ्वीनारायणले मकवानपुरे राजाकी छोरीसँग बिहे गर्न तम्सिएका थिए । मकवानपुरका राजा हेमकर्ण सेनकी कलिली छोरी इन्द्रकुमारीसँग गोरखाका युवराज पृथ्वीनारायण शाहको विवाह जे जस्तो रणनीतिक दृष्टिले गरिएको भएपनि विवाहपछिको घटनाले पृथ्वीनारायणको व्यक्तित्वलाई स्खलित तुल्यायो । विवाह सकेर बेहुली नलिई हिँड्नुमा कतिपय इतिहासकारहरूले कलिली छोरीलाई केही वर्ष माइतीमै राख्ने तराईको प्रचलन भन्दै पृथ्वीनारायणलाई जोगाउन खोजेपनि वास्तविकता अर्कै थियो ।
नरभूपाल शाहको मृत्युपछि गोरखाको राजा बनेका पृथ्वीनारायण शाहलाई पछि ससुरालीबाट उनको माग पूरा गरिदिने भन्दै बेहुली लिन बोलाइएपछि पृथ्वीनारायण लावा लस्कर सहित मकवानपुर आएका थिए । मकवानपुरमा उनको भव्य स्वागत हुँदाहुँदै पनि दरवारको एकजना ढोकेले उनलाई जुत्ता नफुकाली सलाम गरेकोले पृथ्वीनारायणले यसलाई आफ्नो अपमान ठान्दै तत्काल तरवार झिकी उनको हत्या गरिदिएका थिए । पाहुनालाई स्वागत गर्ने राज्यको आफ्नै परम्परा र संस्कार हुन्छ । सलाम गर्दा जुत्ता नफुकाली ग¥यो भन्ने सानो बहानामा आफ्नो ससुराली राज्यका बफादार सैनिकलाई अप्रत्यासित रूपमा हत्या गर्नु कुनै पनि अर्थमा जायज र विवेकपूर्ण कार्य मान्न सकिँदैन । यसले पृथ्वीनारायण शाहको क्रुर र आवेगपुर्ण व्यवहारलाई नै दर्शाउँछ । आफ्नो वफादार सेनालाई अर्कै राज्यका राजाले आफ्नै दरवारमा हत्या गर्नु दिग्बन्धनका लागि ठुलो चुनौती हुन पुग्यो । दिग्बन्धनले चाहेको भए पृथ्वीनारायणको पनि हत्या हुन सक्थ्योे तर निकै ठुलो वाकयुद्ध भए पनि अरू ठुलो हत्याकाण्ड भने हुन पाएन । महाकाव्यमा दिग्बन्धन सेन र पृथ्वीनारायण शाहबीचको वाकयुद्ध र द्वन्द्वलाई विस्तृत र रोचक रूपमा यसरी प्रस्तुत गरिएको छ —
तिमीले मन्परी गर्ने तिम्रो राज्य यहाँ छ र ?
बधशालासरी तिम्रो हो र यो राज्य सुन्दर ?
अधिकार दियो कल्ले ? यहाँ द्वन्द्व मचाउन
लाज लाग्दैन व्यर्थैमा ? यत्रो पाप पचाउन ? (३४÷१८)...
यसरी गर्जना गर्दा सेनका युवराजले
रौद्रभाव अझै झोसी पृथिवी दन्दनी बले
सेन भन्छन् मरे मर्छु किन्तु राज्य बचाउँछु
गोर्खाली पृथिवी भन्छन् तिम्रो राज्य डढाउँछु । (३४÷४७)
पृथ्वीनारायणले एकदन्त हात्ती र नौलखा हार दाइजोमा नपाएपछि डोली नलिई रित्तै फर्किएको भन्ने कतिपय इतिहासकारको भनाइ रहेपनि बिहेकै दिन छोरीलाई दुलाहाको घर नपठाई केही बर्षपछि मात्र पठाउने तराईको चलन भएकाले त्यही चलन अनुसारै इन्द्रकुमारीलाई पनि बिहेकै दिनमा नपठाइएको हो भन्ने तर्क पनि उत्तिकै बलियो देखिन्छ । पृथ्वीनारायणले मागे अनुसारको दाइजो नपाउनु र छोरीलाई पनि तराईको चलनअनुसार उत्तिखेरै डोली नदिनु दुवै कुराको संयोग मिलेको हुनसक्छ । तराई र पहाडको संस्कार नमिल्नु र बिहे पहिल्यै यसबारे जानकारी नगराउनुले इन्द्रकुमारीको बिहे तनावपूर्ण बन्न पुग्यो । दुलही लिन दोस्रोपटक ससुराली आउँदा दरबारको पालेले जुत्तासहित सलामी गरेकोमा आफ्नो अपमान सम्झी तत्कालै उसको हत्या गर्नुले पनि पृथ्वीनारायणको अमानवीयता र क्रुरता उजागर हुन्छ । किन जुत्ता नखोली सलाम ग¥यो भन्ने बारेमा सामान्य सोधपुछ र जानकारीसम्म नलिई तत्काल आवेशमा आई हत्या गरिदिनुले पृथ्वीनारायणको सङ्किर्ण सोच, तुरुन्त आवेशमा आउने स्वभाव र स्वेच्छाचारी चरित्रलाई उजागर गर्छ । दोस्रोपटक पनि दुलही नलिई रित्तै फर्केका पृथ्वीनरायणले त्यसपछि कहिले र कुन सन्दर्भमा इन्द्रकुमारीलाई लिन पठाए वा आफैंले लिएर गए भन्ने सन्दर्भ मात्र होइन त्यसपछिको अवस्था बारे महाकाव्यले कुनै उल्लेख गरेको देखिँदैन । यसरी पृथ्वीनारायणको चरित्रलाई महाकाव्यले राम्ररी र समग्रमा चित्रण नगरी सीमित सन्दर्भ बोकेको सानो पक्षलाई मात्र समेटेको पाइन्छ ।
पृथ्वीनारायणकी प्रथम पत्नी इन्द्रकुमारीलाई यहाँ नायिका वा प्रमुख पात्रका रुपमा उभ्याइएको छ । कुनै पनि पुरुषको सफलतामा उसकी पत्नीको प्रत्यक्ष वा अप्रत्यक्ष हात रहेको हुन्छ भन्ने मान्यताद्वारा प्रेरित महाकाव्यकार बुनूले पृथ्वीनारायणकी प्रथम पत्नी इन्द्रकुमारीलाई महाकाव्यकी नायिका बनाउन पुगेकी छन् । देश र समाजका लागि महत्वपूर्ण योगदान पु¥याएर पनि कसैकी पत्नी वा महिला भएकै कारणले उपेक्षित भएका वा छायामा परेका महिलाहरुलाई साहित्यमा प्रमुख पात्र वा नायिका बनाएर भूमिका स्थापित गर्नु एउटा इमानदार र समाजसचेत लेखकका लागि आवश्यक हुन जान्छ । पितृप्रधान समाज व्यवस्थाले हजारौं वर्षदेखि महिलाहरुका प्रतिभा र क्षमतालाई कुण्ठित मात्र नगरी तिनका योगदानलाई पनि छायामा पारिदिएको अवस्था हिजो र आजको पनि यथार्थ हो । इतिहासले पुर्दै गरेका कतिपय यस्ता घटना र सन्दर्भहरुलाई आजका महिला लेखकहरुले मात्र होइन सचेत र इमानदार पुरुषहरुले पनि उधिन्ने गरेका छन् । प्रस्तुत महाकाव्यमा पनि पृथ्वीनारायणलाई युग पुरुष र महान् व्यक्तित्व ठहर गर्दै लेख्ने गरिएको धारभन्दा भिन्न धारबाट लेख्दै उनकी प्रथम पत्नी इन्द्रकुमारीलाई नायिका बनाएर उनको अवस्थालाई उजागर गर्न खोजिएको छ । तर यसरी लेख्दा इन्द्रकुमारीको व्यक्तित्व र चरित्रलाई जसरी सशक्त र प्रभावशाली बनाउनु पथ्र्यो त्यस्तोचाहिँ हुन सकेको छैन । ‘विद्रोही इन्द्रकुमारी’ शीर्षक दिइए पनि यहाँ इन्द्रकुमारीलाई विद्रोहीका रुपमाभन्दा उत्पीडित महिलाका रुपमा उभ्याइएको छ । उनको विद्रोहात्मक गतिविधि नदेखाई विद्रोहात्मक मनस्थितिमा मात्र खुच्याइएको छ । इन्द्रकुमारीप्रति लेखकले प्रशस्त सहानुभूति राख्दाराख्दै पनि उनको व्यक्तित्व र चरित्रलाई सक्रिय र प्रभावकारी बनाउन सकेकी छैनन् । इतिहासले न्याय गर्न नसकेको अवस्थामा पनि उनको भूमिका र योगदानलाई सम्भावनाको काल्पनिक जलप लगाएरै भएपनि न्याय दिन सक्नुपथ्र्यो । तर यहाँ न्यायकोलागि चाहना मात्र राखी कार्यान्वयन नगरेको स्थिति देखिन्छ । इन्द्रकुमारीप्रति पाठकको सकारात्मक भाव र सहानुभूति दिलाउन उनकै सबल पक्षहरु उजागर गर्नुपर्नेमा पृथ्वीनारायणका केही क्रुर र अमानवीय व्यवहारद्वारा इन्द्रकुमारीप्रति सहानुभूति दिलाउन खोजिएको छ ।
९० सर्ग ओगटेको यति बृहत् महाकाव्यमा नायिकाको रुपमा उभ्याइएकी इन्द्रकुमारीकै भूमिकालाई निष्क्रियप्रायः राख्नु महाकाव्योचित लाग्दैन । आफ्नो बिहेमा इन्द्रकुमारी चौध वर्षकी किशोरीे भएकाले त्यतिखेर उनले पृथ्वीनारायणको व्यवहार र गतिविधिप्रति विरोध वा प्रतिक्रिया जनाउनु सहज र स्वाभाविक थिएन तर दोस्रोपटक बेहुली लिन आउँदा पृथ्वीनारायणले दरबारको पालेको हत्या गरिदिएको र त्यसकै कारण पृथ्वीनारायणसँग दाजु दिग्बन्धनको झगडा र विवाद हुँदाचाहिँ उनले कुनै प्रतिक्रिया जनाउन सक्नुपथ्र्यो । आफ्ना दाजु र पतिबीचको विवादमा समझदारी कायम गराउन केही न केही भूमिका निर्वाह गर्नुपथ्र्यो । नयाँ पति हुनाले पृथ्वीनारायणलाई सम्झाउन नसके पनि दाजु दिग्बन्धन सेनलाई सम्झाउन सक्नुपथ्र्यो । यसमा उनको कुनै भूमिका देखिँदैन । पतिगृह वा गोरखामा उनी कहिले गइन् ? पृथ्वीनारायणले मकवानपुर आक्रमण गर्दा उनी घर वा माइती कहाँ थिइन् र उनको भूमिका कस्तो रह्यो ? पृथ्वीनारायणका पछिल्ला विजय अभियानहरुमा उनको के कस्तो भूमिका र योगदान रह्यो ? सौता नरेन्द्र लक्ष्मीसँग उनको सम्बन्ध के कस्तो रह्यो र उनको अन्त्यावस्था के कसरी भयो भन्ने सवालहरुमा महाकाव्य प्रायः मौन देखिन्छ । यस्ता महत्वपूर्ण सवालहरुलाई उपेक्षा गरी इन्द्रकुमारीले मनमा पालेका कुण्ठा, निराशा, चिन्ता, आक्रोश र अन्य भावहरुलाई थुप्रै सर्गहरु खर्च गरेर मनोवादात्मक रुपमा प्रस्तुत गर्नुले इन्द्रकुमारीको व्यक्तित्व र चरित्र सबल र जीवन्त रुपमा चित्रित हुन सकेको छैन ।
महाकाव्यमा दिग्बन्धन सेनको भूमिकालाई यथार्थ र स्वाभाविक रुपमा चित्रण गरिएको छ । आफ्नी बहिनी इन्द्रकुमारीको बिहे गोरखाका युवराज पृथ्वीनारायणसँग भएपछि जव बेहुला पृथ्वीनारायणले एकदन्त हात्ती र नौलखा हार दाइजो नदिए बेहुली नलिई फर्किने घुर्की र धम्की दिन्छन् । यस घटनाले युवा उमेरका मकवानपुरे युवराज दिग्बन्धन सेनमा आक्रोश पैदा हुनु स्वाभाविक थियो । उनी पृथ्वीनारायणलाई अर्काको सम्पत्तीमा आँखा लगाउने लोभी, स्वार्थी र कपटी भन्दै मागे बमोजिमको दाइजो नदिने भन्दै हुँकार गर्छन् । बाबु हेमकर्ण सेनले दाइजो दिएर भएपनि डोली पठाउने चाहना राख्दा उनी त्यसलाई अस्वीकार गर्दछन् । पृथ्वीनारायणको लोभ र अहङ्कारमाथि उनी कडा जवाफ दिन्छन् । बेहुली नलिई रित्तै फर्केका पृथ्वीनारायणले पनि अपमानको बदला लिने मनस्थिति बनाउँछन् । मागेको दाइजो दिने भनी केही वर्षपछि पृथ्वीनारायणलाई बेहुली लिन बोलाइन्छ । बाबुको यो निर्णय छोरा दिग्बन्धनलाई मन परेको थिएन । बेहुली लिन पृथ्वीनारायण मकवानपुर दरबारमा आउँदा त्यहाँको पालेले जुत्ता नफुकाली पृथ्वीनारायणलाई सलाम गरेपछि उनले आफूलाई अपमान गरेको सम्झी तत्काल उसको हत्या गरिदिएपछि परिस्थिति जटिल बन्न पुग्यो । आफ्नो दरबारको इमानदार पालेलाई बिना गल्ती हत्या गरिनु मकवानपुर राज्य र दरबारकै लागि असह्य थियो । आफ्नै दरबारमा आएर बिदेशी पाहुनाले आफ्नै सिपाहीको हत्या गर्नु कुनै पनि स्वाभिमानी शासकका लागि अक्षम्य थियो । झन् अघिल्लै पटक द्वन्द्व भइसकेको हुँदा दिग्बन्धन सेन पृथ्वीनारायणको यो हर्कत सहन सक्ने स्थितिमा थिएनन् । यसैले उनी यसको बदला लिन अग्रसर भएका थिए जुन स्वाभाविक पनि थियो । बाबु हेमकर्णले नरोकेको भए त्यहाँ अनर्थ भइसक्ने थियो । यस घटनाले चरम द्वन्द्वको रुप लिन पुग्छ । दुबैको अहम्ले टक्कराउने स्थिति बन्दछ । पृथ्वीनारायणको यो हर्कतलाई दिग्बन्धनले विवाहका नाउँमा गरिएको षड्यन्त्र र लुप्त स्वार्थका रुपमा हेर्दै महिलालाई कठपुतली सम्झने निकृष्ट खेलको संज्ञा दिन्छन्—
रसिलो हैन यो नाता स्वार्थको जालझेल हो
नारी कठ्पुतली पार्ने सोचको चाल–खेल हो
उग्र षड्यन्त्रको धक्का भावनाको दरिद्र हो
नारी सत्व फुटोस् भन्ने स्वत्वघातक छिद्र हो (सर्ग ५१ः३५)
यस घटनाले दोस्रो पटक पनि पृथ्वीनारायण बेहुली नलिई फर्कन विवश हुन्छन् । यसले पृथ्वीनारायण र दिग्बन्धनका बीचमा तीब्र द्वन्द्व मात्र बढ्दैन, पृथ्वीनारायणमा दिग्बन्धन र मकवानपुर राज्यप्रति बदलाको भावना तीब्र बन्न पुग्छ । यसैको परिणाम पृथ्वीनारायणले मकवानपुर राज्यमाथि हमला गर्ने योजना मात्र बनाउँदैनन् मकवानपुर विजयपछि दिग्बन्धन सेनका परिवारमाथि बदलाको भावना राख्दै घोर अपमानसमेत गर्छन् । महाकाव्यमा दिग्बन्धनको चरित्र पृथ्वीनारायणले बिहेमा दाइजो नदिएपछि बेहुली नलिई हिँड्दा र दोस्रो पटक पृथ्वीनारायण बेहुली लिन आउँदा दरबारको पालेलाई हत्या गरिदिएपछिको घटनाका सन्दर्भमा मात्र उजागर भएको छ । यी दुई सन्दर्भमा दिग्बन्धनको चरित्र एउटा स्वाभिमानी, निडर, इमानदार र कर्तव्यनिष्ट युवराजका तथा राजाका रुपमा चित्रण गरिएको छ जुन स्वाभाविक देखिन्छ । तर यी दुई सन्दर्भ बाहेक पछिका सन्दर्भहरुमाचाहिँ दिग्बन्धनको भूमिका र चरित्रलाई उजागर गर्न सकिएको छैन । विशेष गरी मकवानपुर युद्धलाई लिएर दिग्बन्धनको क्षमता, भूमिका र व्यक्तित्वलाई उजागर गरिनुपथ्र्यो तर त्यसो नभएर सीमित घटना–सन्दर्भमा मात्रै उभ्याइएको छ ।
इन्द्रकुमारीको विद्रोह
महाकाव्यको शीर्षक नै ‘विद्रोही इन्द्रकुमारी’ रहेकाले हरेक पाठकले महाकाव्यभित्र इन्द्रकुमारीको विद्रोहात्मक अवस्था र स्वरुपको खोजी गर्नु स्वाभाविक हुन्छ । चौध बर्षको उमेरमै विवाह भएर पनि दाइजोका कारण (वा तराईको प्रचलनअनुसार) बर्षौसम्म पतिगृहमा जान नपाएर माइतमै बस्नुपरेको अवस्थाले पीडाग्रस्त बनेकी पृथ्वीनारायणकी प्रथम पत्नी इन्द्रकुमारीलाई विद्रोही नारीका रुपमा प्रस्तुत गर्नु नयाँ र अपेक्षित पक्ष थियो । मङ्गलाचरणबाट सुरु भई नब्बे सर्गसम्म तन्किएको यो महाकाव्य पृथ्वीनारायणको किशोर अवस्थाबाट सुरु हुँदै उनको विवाह र राज्यविस्तार अभियानमा आधाभन्दा बढी स्थान ओगट्न पुग्छ भने बाँकी सर्गहरुमा इन्द्रकुमारीको विवाह–कल्पना, बिहेको सन्दर्भ र त्यसपछि उत्पन्न अवस्थाको वर्णन गर्दै उनको स्वप्नाभास, मनोव्यथा, घन गर्जन जस्ता मानसिक अवस्थाको चित्रण गर्दै अन्त्यावस्थामा पुग्छ । उनको विद्रोहात्मक अवस्थाको खोजी गर्दा गर्दै महाकाव्यको अन्त्य हुन्छ तर त्यस्तो अवस्था भेटिँदैन । महाकाव्यभरि कतै पनि उनको विद्रोहात्मक गतिविधि वा कार्य मात्र होइन संवाद पनि भेटिँदैन । इतिहासमा इन्द्रकुमारीको विद्रोहात्मक स्थितिको उल्लेख नभेटिए पनि कविले विद्रोहको सम्भाव्य अवस्था र वातावरण सिर्जना गर्दै उनलाई साँच्चीकै विद्रोही नारीका रुपमा प्रस्तुत गरिनुपथ्र्यो । यसका लागि पृथ्वीनारायण दोस्रो पटक बेहुली लिन आउँदा दरबारको पालेलाई हत्या गर्दाको अवस्था, पृथ्वीनारायणले पहिली पत्नीलाई घरमा भित्र्याउन नपाउँदै दोस्रो बिहे गरेपछिको अवस्था, कीर्तिपुरमाथि आक्रमण गर्दा त्यहाँका सिपाहीको नाक काटिदिएपछिको अवस्था, मकवानपुरमाथि आक्रमण पश्चात् उनका दाजु दिग्बन्धन सेन र परिवारका सदस्यहरुपति गरेको घोर अपमान र बदला–भावको अवस्था तथा उनी पतिगृहमा गएपछिको अवस्थामा इन्द्रकुमारीले आफ्नो न्यायोचित र मानवीय भूमिका खेल्दै विद्रोही चरित्र प्रदर्शन गर्न सक्नुपथ्र्यो । तर महाकाव्यमा त्यस्तो केही देखिँदैन । उनी न पृथ्वीनारायणले मकवानपुर दरबारको निर्दोष पालेको हत्या गर्दा कुनै प्रतिक्रिया जनाउन सक्छिन् न त दाजु दिग्बन्धनसँग पृथ्वीको द्वन्द्वको स्थिति रहँदा मध्यस्थता गर्न पुग्छिन् । न पृथ्वीनारायणले मकवानपुरमाथि आक्रमण गरी दाजु र उनको परिवारमाथि बदला–भाव लिँदै सम्झाउन पुग्छिन् न त पछि पतिगृहमा जाँदा कुनै भूमिका निर्वाह गर्न पुग्छिन् । वास्तविक जीवनमा निर्वाह गरे जतिको भूमिका पनि महाकाव्यकी नायिकाले निर्वाह गरेको नपाइनुले उनको निस्क्रियता र निरीहता देखाउँछ । शीर्षकमा विद्रोही भनिए पनि महाकाव्यभित्र उनी एउटी अवला र निरीह नारीका रुपमा देखिन्छिन् । भित्रभित्रै पीडा पिउँदै मानसिक उद्वेग, असन्तुष्टि, छट्पटी र आक्रोशको भावलाई नै यहाँ उनको विद्रोह मानिएको छ । उनको आक्रोश र गर्जनलाई नै विद्रोहचेत मान्दा पनि त्यस्तो आक्रोश बाहिर कतै पनि व्यक्त भएको देखिँदैन । ती आक्रोश र पीडाका गर्जनहरु कसैसँग कुनै संवादका रुपमा व्यक्त नभएर कविले उनको मानसिक अवस्थाको चित्रण गर्ने सन्दर्भमा मात्र आएको देखिन्छ । यहाँ लेखकले नारीप्रतिका आफ्ना विचार र भावनाहरु इन्द्रकुमारीको भावनामा समाहित गर्दै प्रस्तुत गरेको पाइन्छ । मनोगत रुपमै भएपनि वा इन्द्रकुमारीको मनोदशालाई प्रस्तुत गर्ने सन्दर्भमै भएपनि व्यक्त भएका यस्ता भावना विद्रोहात्मक मनस्थितिको द्योतक बनेका छन्—
चुकें म एकपल्ट नै म फेरि फेरि चुक्दिन
झुकें असाध्य नै झुकें झुकें म फेरि झुक्दिन
म अड्छु आज क्रान्तिका विचार–बीज यी छरी
र क्रान्तिकारिणी बनी तिमी समीपमै बढी (८४÷३१)
म क्रान्तिबीज छर्छु यो धराभरी जताततै
र त्यै अपूर्व बीज ली विवेक–रक्त सिन्चिदै
अवश्य उम्रनन् यिनी सशक्त क्रान्ति वीर भै
भविष्यपुत्र लक्ष्यका नयाँ स्वरुप गर्जंदै । (८४÷३६)
जसरी पृथ्वीनारायण र दिग्बन्धन सेनका बीचको विवाद र द्वन्द्वलाई जीवन्त रुपमा प्रस्तुत गरिएको छ त्यसैगरी इन्द्रकुमारीको पति पृथ्वीनारायणसँग, दाजु दिग्बन्धनसँग, बाबु हेमकर्णसँग वा अन्य पात्रहरुसँग संवाद गराइनु पथ्र्यो तर उनको कसैसँग पनि त्यस्तो संवाद भएको देखिँदैन । महाकाव्यमा कविले इन्द्रकुमारीलाई दाइजोका लोभी र स्वार्थी पतिबाट पीडित एउटी अवला र निरीह नारीका रुपमा मात्र चित्रण गरेको पाइन्छ । लेखकको उद्देश्य छायामा परेकी पृथ्वीनारायण–पत्नी इन्द्रकुमारीको सचेत र विद्रोही व्यक्तित्वलाई उजागर गर्नु रहेको भए पनि सो अनुरुपको कथानक र चरित्राङ्कन हुन नसक्दा उनको व्यक्तित्व उत्पीडित र निरीह महिलाको जस्तै देखिन पुगेको छ । शीर्षकमा अङ्कन गरिएझैं उनको व्यक्तित्वलाई विद्रोही बनाउन खोजिएको भए नब्बेमध्ये कम्तीमा दुई–तीन सर्ग विद्रोहात्मक कार्यकलाप वा द्वन्द्वमा उपयोग गरिनुपथ्र्यो । नारी भएकै कारण उनले यति धेरै पीडा भोग्नु परेको हो र यसमा पितृप्रधान समाज जिम्मेवार छ भन्ने कविलाई लागेको भएपनि इन्द्रकुमारीलाई पुरुषहरुसँगको संवादमा उतार्दै उनको व्यक्तित्वलाई उचाइमा पु¥याउनु पथ्र्यो । कतिपय कवि–लेखकहरुलेझैं पृथ्वीनारायणको व्यक्तित्वलाई भव्य र दैवी स्वरुपको नमानी दाइजोको लोभी, स्वार्थी, नारीको अस्तित्वमा खेलवाड गर्ने, अमानवीय, असहिष्णु र क्रुर देखाउँदै उनबाट पीडित पत्नी इन्द्रकुमारीप्रति सहानुभूति राख्दै उनको विद्रोही व्यक्तित्वलाई उजागर गर्न खोजिएको यो महाकाव्य लेखकको उद्देश्य अनुरुप भने हुन सकेको छैन ।
बिसौनी
विवाह सकिएपछि पनि बेहुला पृथ्वीनारायणले दाइजोको निहुँमा बेहुली नलिई हिँडेपछि मनमा अनेक तर्क र तरङ्ग, छाल र ज्वारभाटा बोकेर पीडा र वेदना सहँदै लामो समयसम्म माइतमा बसेकी इन्द्रकुमारीको मनस्थितिलाई केलाउनु यस महाकाव्यको उद्देश्य देखिन्छ । महाकाव्यलाई बृहत् आकार दिनकै लागि ऐतिहासिक घटना–सन्दर्भ आवश्यक मात्रामा नभेटेर होला गुरु गोरखनाथ, भगवन्तनाथका साथै पृथ्वीनारायणको राज्य विस्तारको सन्दर्भलाई आवश्यकभन्दा बढी स्थान दिइएको छ जसले महाकाव्यमा अधिक सर्ग ओगट्न पुगेका छन् । लेखकले आफ्ना विचार, मान्यता र नारीप्रतिको दृष्टिकोणलाई इन्द्रकुमारीको मनोदसा र मनोभावसँग जोड्दै उनको आक्रोश र पीडाजन्य अवस्थालाई विद्रोहात्मक रुपमा प्रस्तुत गर्नु महाकाव्यको विशिष्ट पक्ष मान्न सकिन्छ । इतिहास अनुसार पृथ्वीनारायणले मकवानपुर विजय गरेपछि दिग्बन्धन सेन उनको कव्जामा परेको र त्यसपछि नै इन्द्रकुमारी पतिगृहमा गएको देखिन्छ । तर महाकाव्यमा यस विषयलाई स्पष्ट रूपमा खुलाइएको छैन । जसरी नुवाकोट, कीर्तिपुर जस्ता राज्य कब्जा गर्दा विस्तृत वर्णन गरिएको छ त्यसरी मकवानपुरमाथि आक्रमण गर्दाको घटनालाई वर्णन गरिएको छैन र पछिको कथावस्तु पनि अमूर्त र अस्पष्ट रहेको छ । महाकाव्यलाई तन्काउन खोज्दा कतिपय ठाउँमा आख्यानलाई एकातिर मिल्काएर कवि भावनामा बग्दै गएको देखिन्छ जसले महाकाव्यीय प्रभावमा क्षति पु¥याएको छ ।
काव्यको सुरुमा पृथ्वीनारायणलाई महानायकका रूपमा प्रस्तुत गर्दै सोही अनुरूपको चरित्राङ्कन गरिएको छ भने इन्द्रकुमारीसँगको विवाह लगत्तै उनलाई क्रुर र घमण्डी व्यक्तिका रूपमा चित्रण गरिएको छ । विवाहपछि पृथ्वीनारायणलाई दाइजोको लोभी, पुरुषार्थहीन, माइतीको सम्पत्तिमा आँखा गाड्ने भन्दै निन्दा गर्ने इन्द्रकुमारी पृथ्वीनारायणको राज्यविस्तार अभियानप्रति चिन्ता र चासो राख्छिन्, आफ्नी सौता बनेर आएकी नरेन्द्र लक्ष्मीलाई नारी कसैका दास होइनन् भन्दै नारी अस्तित्ववारे सम्झाउँछिन् र भित्रभित्रै विद्रोहको आगो ओकल्छिन् । इन्द्रकुमारीको चेतना यहाँनेर नारीवादी चेतनाका रूपमा प्रस्तुत भएको पाइन्छ,जहाँ पुरुषको हैकम, आडम्बर र नारी दमनमाथि तिव्र आक्रोश व्यक्त गरिएको छ । यहाँ महाकाव्यकार बुनूले आफ्ना विचार, मान्यता र दृष्टिकोणलाई इन्द्रकुमारीका माध्यमबाट व्यक्त गर्न खोजेकी छन् । तर इन्द्रकुमारीको यो आक्रोश, यो नारी चेतना र विद्रोह–भाव खाली भित्रभित्रै गुम्भिएर रहेको भावनाको स्तरसम्म मात्र देखिन्छ । उनको विद्रोह चेत बाहिर कतै प्रकट भएको र कार्य रूपमा आएको देखिँदैन र क्रमिक विकसित हुँदै गएको पनि पाइँदैन । उनको विद्रोहभाव कार्यरूपमै वा बाहिर देखिने गरी प्रकट भएको भए महाकाव्य प्रभावकारी बन्दथ्यो तर यहाँ इन्द्रकुमारीका भावना मात्र प्रस्तुत गरिएको छ । महाकाव्य पढिसक्दा पृथ्वीनारायणलाई महान् चरित्रका रूपमा वा महानायकका रूपमा प्रस्तुत गर्न खोजिएको हो कि इन्द्रकुमारीलाई अलपत्र पारेर छाड्ने, आफूलाई सलाम गर्ने सेनाको हत्या गर्ने, रिसको आवेगमा कीर्तिपुरेको नाक काट्ने विवेकहीन क्रुर व्यक्तिका रूपमा प्रस्तुत गर्न खोजिएको हो त्यो स्पष्ट हुँदैन । यही अस्पष्टताले महाकाव्यमा न त वीररस परिपाक अवस्थामा पुग्न सक्यो न त रौद्र रस प्रधान हुन पुग्यो ।
विभिन्न ५८ वटा शस्त्रीय छन्दको निर्वाध प्रयोग गर्न सक्ने महाकाव्यकार बुनू अनुभूति र कवित्वमा जति सशक्त छन् त्यति आख्यानीकरणमा हुन सकेकी छैनन् । महाकाव्यलाई बृहत् बनाउन खोज्दा कवित्व र आख्यानीकरणको सन्तुलन संयोजित हुन सकेको छैन । महाकाव्यका पूर्वीय मान्यतालाई अवलम्वन गरी लेखिएको यस महाकाव्यमा पृथ्वीनारायण र दिग्बन्धन सेनको चरित्र अपेक्षाकृत यथार्थ र स्वाभाविक लागे पनि महाकाव्यकी नायिका इन्द्रकुमारीको चरित्राङ्कन महाकाव्योचित हुन सकेको छैन । काव्यलाई बृहत् बनाउन खोज्दा कतिपय सर्गहरू अनावश्यक लाग्ने गरी बढाइएको छ जसले महाकाव्यको महत्तालाई उठाउनभन्दा खसाउन सहयोग गरेका छन् । महाकाव्यमा पाइने कवित्व र छन्दको प्रवाहशीलता, छन्दको व्यापक र भावानुकूल प्रयोग, नारी मनोदशा अनि नारी उत्पीडन र त्यसबाट उन्मुक्तिको खोजी यस महाकाव्यका सबल पक्ष हुन् । कतिपय इतिहासकार र महाकाव्यकारले लुकाउन खोजेको पृथ्वीनारायणको व्यक्तित्वको नकारात्मक पाटोलाई उजागर गर्दै नारी संवेदना र तिनले भोगेको पीडा, उत्पीडन र मनोदसालाई महाकाव्यात्मक वाणी दिनुलाई यस महाकाव्यको प्राप्ति मान्न सकिन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु