घार–फिर्ती

- चूडा मणि रेग्मी

नदीको स्वाँ ... शब्दले मृगनयनीका आँखा खुले । शरीरभरि बिजुली फैलियो । रात शून्यमा बितिरहेको । “अब उपाय के छ त ?” ऊ जुरुक्क उठी । उसलाई कसैले जबर्जस्ती अँठ्याएको अनुभव भयो । ऊ बिस्तारै बाहिर निक्लिई । विस्तारो ढोकाको आग्लो उघारेर आँगनमा आई– पर्खालमा बसी । रात अस्तव्यस्त थियो र खोलाको स्वाँआँ.... आवाज आइरहेको थियो । मृगनयनीले ठहर गरेझैं गरी– “मर्ने दिन आअ‍े !” कोठामा ढ्वाक्क आवाज आयो । ऊ हस्याङ–फस्याङ गर्दै कोठामा गई । अँध्यारो थियो र बच्चा–बच्चीको ठाउँ सरेको आवाजको साथै दुर्गन्धले कोठा भरिएको थियो । “एउटी सुकुमार छोरी पो त– बाबुकी, प्यारी साहिँली “छोरी ! यस घरमा परी दुर्घटनामा विचरा मर्ने भई ।”
उसका दिमागमा पुराना कुरा आअ‍े । ऊ सानी पुतली जस्ती यस घरमा आई । उसको लोग्ने पनि सिङाने थियो । उसले कति घरमा भुक्तमान खपी । लोग्नेको हातबाट गोदाइ पनि खाई र बडो जुक्तिले प्रेम पाई अनि एउटा लामो समयमा सासू–ससुराको मृत्युपछि घर–मालिकनी भई । यी पाँच भाइ छोरा र दुई बहिनी छोरीलाई उसले जिउ–ज्यान दिएर हुर्काउँछे ! परन्तु ... ...
गोपीनाथ जुरुक्क उठ्दा झसङ्ग भयो र ‘नयनी’ भन्यो ‘हजुर उसले भनी’ –‘पेट सफा गरेर आअ‍ेँ, निद्रा लागेन– के भयो, के भयो !’
“के मासु पचेन कि ?”
“पेट त्यति दुख्या छैन !”
“चिसो लाग्यो कि ?”
“होइन !” मृगनयनी लोग्नेको सोधाइको उत्तर दिँदै केही भक्कानिई । गोपीनाथ वाहिर गअ‍ेर आयो र ओछ्यानमा पल्टियो– “आऊ आऊ सुतौं !”
दुबै चुपचाप सुते । एक छिनपछि गोपीनाथले बोलायो– “नयनी !” ‘हजूर !’ उत्तर आयो ।
“तिमीले थाहा पायौ होली होइन ? ...” गोपीनाथले भन्यो– “तिमी माइत नजाऊ अब !” मृगनयनी छक्क पर्छे । ऊ कुरा के सुनिरहेकी छ । हे मान्छे, तँलाई आफ्नै समस्या छन् र यसैमा तैंले रुमल्लिनु परेको छ ।
“तिमी बोल्यौन !” प्रश्न दोहोरियो ।
“भन्नुहोस् न म के भन्छु र !” गोपीनाथ भन्न थाल्यो– “अस्ति नै क्या तिमी माइत गएको दशै दिनका दिन सिग्देल्नी फुपू आइन् । भान्से बाजे त्यस दिन घर गअ‍ेको थियो – भोलिपल्ट आउँछु भनेर गअ‍ेको । भोलिपल्ट बाजे आअ‍ेन र फुपू पनि बसिन् । पर्सिपल्ट पनि बाजे आअ‍ेन । सुन्तली फुपूसँगै सुतेकी राती भुँडी दुखेर निकै रुन थाली । फुपू कराउन थालिन् र म उठेर गअ‍ेँ र सुन्तलीलाई फुल्याउँदा–फुल्याउँदा त दुर्घटना ...”
“हे राम !” मृगनयनीले आँखाबाट आँसु झार्दै भनी– “४० वर्षे बुढीसित ! त्यो पनि नाता लाग्ने ...” मृगनयनीले आँसुका भलै बगाई । ऊ बोलिन र उसको लोग्ने पनि चुपचाप आँखा चिम्ली सुत्यो । मृगनयनी सम्झिन थाली– यो लोग्नेमान्छे हरहमेसा छुट चाहन्छ । एउटा लोग्नेमान्छे हरहमेसा स्वास्नीमान्छेबाट श्रद्धा चाहन्छ, हरहमेसा बलिदान चाहन्छ । रिठ्ठीसित जाँदा माफी माग्यो, गोरीलाई तान्दा रोएर जित्यो र मङ्गलीलाई भुँडी बोकाउँदा मलाई समेत छोड्ने धम्की दिएर चोखो भयो । अनि त ... ए अप्रेसन गरेको हुनाले अहिले त ...” टुङ्गामा कुरा सम्झिनासाथ मृगनयनीलाई एउटा ठुलो आशङ्काले बाँध्यो– आहो ! आज उसको जीवन मर्नु र बाँच्नुमा पुगिसकेको छ ।”
“नयनी, के गर्नु लोग्नेमान्छेको जात बडो अविवेकी हुन्छ ! परन्तु यो सत्य नभनी पनि त सक्तिन फेरि !” गोपीनाथ भन्न थाल्यो– “नयनी ! हेर तिमी आमा हौ र म बाबु, यत्रा सन्तान हामी दुईले हुर्काउनु छु, मेरा बाबुआमा मरि गए त तब अरु कसले यस घरलाई हेरिदेला र ! दाजुभाइ तिनै हुन् । स्कुलमा फिस तिर्नुपर्छ – मैले नकमाए कसरी ? तिमीले पनि घर नगरिदिए घर कसरी चल्ला ?” आँसु झारेर गोपीनाथले भन्दा मृगनयनी केही आस्वस्त भई । “हे बाबु–आमा, म बित्तलमा परेँ । यो कस्तो घर ? यहाँ रातोदिन मिठा कुरा खुवाऊ र रचाऊ, छोराछोरीको चाकरी गर र लोग्नेको चर्तिकला सुन ! लोग्नेको खेलौना बन र सहू सम्पूर्ण– हे बाबुआमा !” मृगनयनीको आत्मा चिच्यायो । परन्तु उसको हात जब आफ्नो भुँडीमा पर्यो– ऊ पुन बिचलित भई । “आखिर हुने त भईगयो– दुर्घटना ! खोलामा फाल हाल्नु नै हो भने– विस्तारमा !” ऊ एक किसिमले दृढ भई र लोग्नेको कपाल कन्याएर भन्न थाली– “हेर्नुहोस् ! तपाईँलाई थाहा छैन– अप्रेसन त असफल भअ‍ेछ !”
गोपीनाथको जिउमा भयानक भयको भावना भरियो । उसका दाँत कटकटाए । ऊ थोरै डुगडुग काम्यो पनि । उसलाई अचानक होस आयो “कतै मृगनयनी नै ! ...” मृगनयनी प्रत्युत्तरको प्रवल रूपले प्रतीक्षा गरिरहेकी थिई ।
“होइन, तिमीले पेट बोक्यौ ?”
“अनि के सुन्नुभयो त ?”
अनि त एउटा शून्य वातावरणले त्यहाँ ग्रस्त गर्यो । लोग्ने–स्वास्नीमा यस्तो देखियो– मानौं उनीहरू हालका दुबै घटनावारे परस्पर केही सोचिरहेका छैनन् ।
यस रातपछि दुबै पति–पत्नीमा साधारण बोलचाल बन्द भयो । गोपीनाथ मुख्य ओछ्यानमा सुत्दथ्यो भने मृगनयनी छोराछोरीको ठुलो खाटमा सुत्दथी । एउटा ठुलो खटपटीमा दुबै जना रात बिताइरहेछन् भन्ने दुबैलाई थाहा छ । मृगनयनी सम्झन्छे– बितेका दिन र उसले आफ्नो पति भनेर यस घरमा आअ‍ेर के गरिन– यो पति निर्धो छ, खोकिरहन्छ, यसलाई कपाल पनि दुखिरहन्छ, यो वर्ष दिनभरि प्रायः दुखिरहन्छ र दिनरात ऊ सेवा गर्दछे । यतिका छोराछोरी पाउँदा उसले भुक्तमान खपी । त्यो गोपीनाथले हेरिरहन्छ र कहिलेकाहीँ उसले गुनासो प्रकट गरिहाली भने लाचारी प्रकट गरेर मृगनयनीलाई नै फकाउँछ । मृगनयनीले यति मात्र तकलिफ गरेकी होइन– गोपीनाथ आइएसम्म पढेको मान्छे भअ‍े पनि जुवा खेल्नको दैब छ, उसले असाध्य चुल्हो कुर्नुपर्छ । मृगनयनीका यो घर पसेपछिका १५ वर्ष एउटा यस्तै क्रमको चाकाचुलीमा बितेका छन् । उसलाई यतिमै यो क्रम चलिरहन मन परेको छ– गोपीनाथ पनि उसको कदर गर्दछ । भअ‍ेको सम्पत्तिकी ऊ मालिक्नी छे र माइततिर चर्चा हुँदा उसको भाग्यको राम्रै तारिफ गरिन्छ– “लाउन–खान राम्ररी पाउनु पनि एक जीवन !” भनी ।
गोपीनाथ खुइय ! गर्दै सोच्तछ– ऊ ठुला नामी बाबुको होनहार छोरो । बाबुको ऊ निकै प्यारो थियो । आमाको बेइमानीमा नपरेको भअ‍े भाइको साटो उसैले नै जिउनी पाउँथ्यो, रपनि उससित लाखौंको हैसियत छ । सय मुरी धान पहाडमा र मधेसमा तिस बिगाहा जग्गा उससित छ । उसले चाहँदा तिनटी स्वास्नी हेलै ल्याउन सक्दछ तर मृगनयनीलाई उसले अति माया गरेकाले आफूले जुवा खेलेर आउँदा ऊ रिसाउँदा पनि उसले सह्यो । चुल्हो कुराउँदा ऊ झर्किन्थी र पनि सह्यो । कतिसम्म उसले गर्यो भने उसका मृगका जस्ता आँखा र सिनेमाका तारिकाका जस्ता सलक्क परेका मुहारमा मक्ख परेर आफ्नै अप्रेसन गर्यो र अशिक्षित नभनी एक पत्नीमा अडिने प्रत्यक्ष प्रमाण उसले देखाइदियो । यस्तो अशिक्षित गाउँमा अरुले गर्नै नसक्ने उदाहरण दिने लोग्नेलाई यस्तो धोका ! ...”
अब गोपीनाथ दिनहुँ देख्तछ– छोरा–छोरीको मुख निन्याउरो हुन थालेको छ र उसलाई सायद ! बाबु हुन नसुहाइरहेछ । ऊ प्रायः घरबाट वाहिर हिडिरहन्छ । डाँडाघरे माहिली आमाकोमा एक दिन ऊ देख्तछ– उसलाई देख्नेबित्तिकै स्वास्नीमान्छेहरू हाँस्छन् । निकै बेर गफ चल्छन् । गफको थालनीतिर उसलाई अनुभव हुन्छ– उसको जीवन त सडन्ता भइसकेछ, कुरा गर्दासम्म ऊ तगडा छैन र उसको भित्रभित्रै कमजोरीले खाइसकेको छ । “अँ, फुपूले कहीँ ? ...” उसलाई भित्रभित्रै खसखस भयो । माहिली आमाले आँटेर भनिन्– “नानी, फेरि सुरसार छ कि के हो ?”
गोपीनाथले संयमित भअ‍ेर उत्तर दियो– “डाक्टरले पैसा मात्र खायो– ख्वाप्प २०० ।” उसलाई यति भन्न सकेकामा निकै सन्तोषको भावना उत्पन्न भयो ।
“प्रकृति कहाँ मान्छ र भगवानले दिने नदिई छाड्दैन !”
“त्यसै भन्नुपर्यो !”
गोपीनाथ घरतिर लाग्दा बाटामा सोच्छ– वीरगन्जमा एक जना शिक्षक भन्थे– ‘बर्थकन्ट्रोल’ गर्नु पाप हो– शारीरिक र मानसिक दुबै दृष्टिकोणले ! “मलाई हाँसो उठेथ्यो । यस महँगीमा ख्वाउने र लगाउने मात्र होइन, पढाउने पनि समस्या बड्छन् । यसैले आत्म–बलिदान गरेर डाक्टरको कोठामा लम्पसार नाङ्गिअ‍ेँ– परन्तु यो धोका ! ....”
घर पुग्नुभन्दा अगाडि उसले आफ्नो च्यादरको घर हेर्यो– “यो ठुला ठालु गुरुभक्तको घर हो र हो ठुलाठालु रामप्रसादको ज्वाइँको घर ! हे राम, मेरो इज्जत आज मेरा हातमा छ– म बगाउँछु खानदानको इज्जतको साथै ससुराको पनि इज्जत । मेरा मोहीयाले मेरो खिस्सा उडाएर धान बताउनेछन् र मेरा गाउँघरका शत्रु थपडी मारेर भन्नेछन्– “गाउँका एक भालेपोथीको कुरा यस्तो !” अब राती पनि सबैका आँखा मेरा घरमा पर्नेछन् ! म लाखे झैं रमिता हुनेछु ।”
घरमा झिँगा भन्किरहेका थिअ‍े– पर्खालबाट उसले हेर्यो – तल गहिरामा अ‍ेकनास नदी बगिरहेछ, के उसलाई बोलाअ‍ेको त होइन ? तर ऊ किन मर्छ ? यति जाबो अपरेसन असफल हुँदा ऊ किन सिद्धिन्छ ? गोपीनाथले छोरालाई सोध्यो– “आमा खोइ हँ ?”
“पँधेरा जानुभअ‍ेको छ ।”
“कति बेर भयो ?”
“अघि ... नै ...?”
गोपीनाथलाई झस्का पर्यो मृगनयनी त एउटी स्वाभिमानी आइमाई हो– ऊ कसैसित आफ्नो हकमा हक्की बोल्छे र ऊ आफ्नो जीवनमा कहिल्यै बाङ्गोटिङ्गो मन पराउँदिन । कतै ...” झस्किएर ऊ सरासर पँधेरातिर गयो । साँच्चै नै डोको, नाम्लो, लुगा र गाग्रो त्यसै लडिरहेका रहेछन् । ऊ हडबडिएर पाखातिर गयो । तलमाथि वरपर वन चाहार्यो । नभन्दै अलिक पर कुइनेटोनेरि मृगनयनी झोक्राएर बसेकी रहिछ ।
हराएको वस्तु पाएको अनुभव गोपीनाथमा भयो ऊ सुरुसुरु मृगनयनी भअ‍ेठाउँ गयो । झसङ्ग झस्किएर मृगनयनीले आँसुले भरिएको अनुहार देखाई ।
“किन यहाँ आअ‍ेकी ?”
मृगनयनी बोलिन ।
“हिँड घर जाऔं !”
मृगनयनी नबोली अघि लागी ।
गोपीनाथ आफ्नी प्यारी पत्नी मृगनयनीको हिडाइ विचार गर्छ– “कति कामिरहेकी छ विचरा !”
“मर्ने विचार कसरी गर्यौ ? यी छोराछोरी कसरी हुर्केलान्– पटक्कै विचार गरिनौ ?” गोपीनाथ भन्दै गयो । मृगनयनी सोच्छे– के उसले विग्रिएकी आफ्नी स्वास्नीलाई गाउँघरका मान्छेका अगाडि सकार्ने ह्याउ राख्छ ? कुन कुराले कसरी आज यो मान्छे ऊप्रति सहानुभूति गरिरहेछ ?
“हे कठोर, तिमीलाई मैले केही भनेको थिअ‍ेँ – यतिका छोराछोरी छाडेर मर्न हिड्यौ ? के म तिमीबिना बाँच्न सक्छु ?” गोपीनाथले फेरि भन्यो । यसको बाटो मोडिँदा मृगनयनीले देखी – भक्कानिएर गोपीनाथका आँखाबाट अविरल आँसु झरिरहेछन् । पातलो जिउको निर्धो गोपीनाथ अचम्मैसित सिठ्ठा र लुते भइसकेछ !”

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु