कवि विचन्द्रका ‘शून्य शून्य शून्य’ : एउटा पाठकीय अध्ययन

- बिक्रम राई.

“विचन्द्र शिरदेखि पाउसम्मै कवि हुन्”- भनेर विख्यात कवि, लेखक तसलिमा नासरिनले भनेकी छन्। उनले यो वाक्य त्यसै भनेकी होइनन्, किनभने कवि विचन्द्रलाई जसले पनि भेटेको छ उसलाई थाहा छ तसलिमाले उक्त कुरो किन भनेकी हुन्।
भारतीय नेपाली कविताको क्षेत्रमा कवि विचन्द्रको एउटा अलग्गै पहिचान र महत्त्व छ। उनी स्वच्छन्द कविता लेख्न मन पराउने फूका कवि हुन्। उनी कुनै वाद, मान्यता वा सिद्धान्तलाई अनुसरण गरेर कविता रच्ने कवि होइनन्। आफ्ना मनमा उठेका भाव तरङ्गलाई तत्क्षण शब्दमा उतारी दृश्यलाई जीवन्त तुल्याउने कवि हुन् विचन्द्र। उनी कविता कोर्न कुनै गम्भीर विषय चुन्दैनन्। उनका कविताका विषय हामीले देखेका-सुनेका वस्तुहरू नै हुन्छन् अर्थात् जीवन जगतका सामान्य कुराहरू।
सङ्ख्याको दृष्टिकोणणा सयौँ कविता लेखी सकेका कवि विचन्द्रका पुस्तकाकारका रूपमा मौलिक र अनूदित गरी लगभग डेढ दर्जन जति कविता सङ्ग्रहका कृतिहरू प्रकासित भई सकेका छन् भने केही कृतिहरू प्रकाशोन्मुख पनि रहेका छन्। शारीरिक उमेर ढल्दै गए तापनि उनको लेखनमा भने यौवनपूर्ण जोस र उद्गार अझसम्म कम भएको देखिँदैन। मलाई लाग्छ पद्य लेखनमा उनीजति चर्चित छन् त्यो भन्दा बढी गद्य लेखनमा हुन सक्छन्। पद्य र गद्य दुवै लेखनमा आफ्नो शब्द चातूर्यले पाठकको मन हर्ने कवि विचन्द्रका थुप्रै कविता सङ्ग्रहहरूमध्ये ‘शून्य शून्य शून्य’ कविता सङ्ग्रह सन् २००९ सालमा प्रकासमा आएको देखिन्छ। ‘शून्य शून्य शून्य’ कविता सङ्ग्रहभित्रका कवि विचन्द्र अनि कवि विचन्द्रका कविता सङ्ग्रहभित्रका कविताबारे पाठकको हैसियतमा एउटा पाठकीय अध्ययन प्रस्तुत गर्ने जमर्को यस लेखमा गरिएको छ।
‘शून्य शून्य शून्य’ कविता सङ्ग्रहभित्र जम्मा ४६ वटा कविताहरू सङ्ग्रहित छन्। सङ्ग्रहभित्र प्रायः फूट्कर स्वरूपका कविताहरूको आधिक्य देखिन्छ। आयामको दृष्टिमा सबैभन्दा लामो कविता सङ्ग्रहभित्र खल्ती रहेको छ भने सबैभन्दा सानो कविता मन्दिर रहेको देखिन्छ। धेरै जसो कविताहरू सम्बोधनात्मक शैलीमा रचिएका छन् भने केही वर्णनामूलक गद्य शैलीमा।
मूलतः कवि विचन्द्र प्रणयप्रेमी, सौन्दर्यप्रेमी, प्रकृतिप्रेमी कवि हुन्। उनका कवितामा भावनाको सहज र स्वाभाविक प्रस्तुति पाइन्छ। शब्द छनौट र बिम्ब संयोजनले कवितामा प्राण भर्दछ। प्रकृतिलाई मानवीकरण तुल्याउने कवि विचन्द्रका बिम्ब हाम्रा अघि जीवन्त रूपमा चित्रित हुँदै कवितामा यसरी देखा पर्दछ------
“माथि......डाँडाको धुप्पीघारी बीचबाट
फुत्त देखा परी
सग्लो, सुडौल टहटह जून।
उसले पल्याकपुलुक हेरी
अनि मलाई देखेर
ऊ मुसुक्क हाँसी।
त्यसपछि
सुस्तरी, सुस्तरी
मेरो शयनकक्षमा ऊ स्वाट्ट पसी
अँगालोमा बाँधेर मलाई
म्वाईँ वर्षाइरही, वर्षाइरही......।
(घटना-दूर्घटना)
उद्धृत कवितांशमा कविले जुन प्रकारले रात्री जून र जूनको प्रकाशलाई मानवीय बिम्बमा उतारेका छन् त्यसबाट हामीलाई एउटी लज्जाशील युवतीको रूप सौन्दर्य र आगमनको भान हुँदछ। कति सहज ढङ्गमा कोठामा छरिएको रात्री जूनको प्रकाशलाई कविले एउटी युवतीको भाव भङ्गीमासँग दँजाएका छन्, मानो साँच्चै नै कुनै प्रेमिकाले आफ्नो प्रेमीलाई अजस्र चुम्बनको वर्षा गराइरहेकी छे।
मायाप्रीति र प्रेम प्रणयका आभास दिने कविताहरूमा मात्र होइन अपितु सङ्ग्रहभित्रका अन्य भावका कविताहरूमा पनि कवि विचन्द्रको बिम्ब प्रस्तुति सजीव रूपमा प्रस्तुत छन् -----
“कतै कहीँ कुनै उत्सव होला
कतै कहीँ कुनै पर्व होला।
सुस्तरी, सुस्तरी तन्नेरी घाम चढ्दैछ उकालो
आकाशले ओढेको छ नीलो बर्को।
हिमालले पैहेको छ श्वेत शुभ्र वस्त्र।”
(बदलँदै घएका दृश्यहरू)
कवि लेखनाथ पौड्यालले आफ्नो काव्य ऋतुविचार – मा प्रकृतिलाई मानवीकरण तुल्याए झैँ कवि विचन्द्रले पनि घाम, जून, आकाश, हिमाललाई मानवकै रूप दिई आफ्ना मनका उद्गारहरू पोखेका छन्।
गद्य शैलीमा लेखिएका यिनका कविताहरूले जीवनका विभिन्न पाटालाई बयान गरेका छन्। जीवनलाई जहिले पनि सकरात्मक कोँणबाट हेर्ने कवि विचन्द्रले सङ्ग्रहभित्रका कतिपय कवितामा मानवीय प्रवृतिमा आएको ह्रासोन्मुख मानवीय चरित्र र विश्वासको सङ्कट स्थितिलाई पनि उजागर गरेका छन्। वर्तमान समयमा मान्छेमा आएको मान्छे-मान्छे बिचको विश्वास, एकार्का प्रतिको छलकपट, ईर्ष्या, षडयन्त्र, धूर्त्याईँ र अवसरवादितालाई पनि आफ्ना कविता मार्फत् सोझै यसरा देखाएका छन् --
“सर्प भएका ती बाटोहरू
अब बाटो भएर होइनन्,
सर्प नै भएर बस्न रूचाउंछन्
अनि सर्वत्र आतङ्क फैलाउँदछन्।
सर्प भएका ती बाटोहरूले
पहिले सानातिना बाटोहरूलाई डस्छन्,
त्यसपछि क्रमैसित
युवाहरूको बेकारीपनलाई डस्छन्
किशोरीहरूको कुमारीत्वलाई डस्छन्
तरूण शहीदका विधवाहरूको
रित्तो सिउँदोलाई डस्छन्,
पासो पारी-पारी
मौका खोजी-खोजी
हरेकलाई डस्छन्
केवल डस्छन्।
(बाटोहरू जो सर्प बनेका छन्)
माथिका कवितांशमा कविले ‘बाटो’ भनेर मान्छे अनि मान्छेको ह्रासोन्मुख मानवीय चरित्रलाई सम्बोधन गरेको देखिन्छ। मानवता र संवेदनाको खिल्ली उडाउँदै आजका मान्छे केवल आफ्नो स्वार्थपूर्तिको निम्ति कति निर्मम र निरङ्कुश हुन सक्छ भने मौका पाएको खण्डमा आफू जस्तै अर्को मान्छे विरुद्ध उसले जे पनि गर्न सक्दछ। एक प्रकारले समाजको वास्तविक चित्रण प्रस्तुत गर्दै मान्छेको अमानवीय चरित्रप्रति कविको कटाक्ष पनि यस कवितामा देख्न सकिन्छ।
दार्जिलिङे कवि विचन्द्रले आफ्ना केही कवितामा दार्जिलिङको प्रसङ्गलाई पनि ल्याएका छन्। दार्जिलिङका भूमिपूत्र भएको नाताले पनि कविको मनमा दार्जिलिङ प्रति अगाध माया र चासो रहेको देखिन्छ। यसैले होला वर्तमान दार्जिलिङ प्रति कवि बढी चिन्चित देखिन्छन्। दार्जिलिङको गरिमा र स्वच्छतामा आएको ह्रास; दार्जिर्लिङको माया र आत्मीयतामा आएको दुरूत्त्व; दार्जिलिङको एकता र अखण्डतामा आएको फाटो देखेर कवि बढी दुःखी र चिन्तित देखिन्छन्---
“दार्जिलिङमा हिजोआज
आफूमुनिका पहाड अनि डाँडालाई हियाउँदै
हिमाल कालो हाँस्न थालेको छ।
दार्जिलिङमा हिजोआज
एकतले, दुईतले घरहरूलाई लछार-पछार पार्दै
पाँचतले, छतले, साततले भवनहरू
खित्का छोडेर हाँस्न थालेका छन्।
----- ---- --- --- --- -- --- ---- -----
--- --- --- --- --- --- --- --- --- -----+
दार्जिलिङमा हिजोआज
चौकबजारलाई खिशी गर्दै
चौरस्ता, महाकाल मार्केटहरू हाँस्न थालेका छन्।”
(दार्जिलिङमा हिजोआज)
शहरीकरणको बढ्दो प्रभावले दार्जिलिङले दिनहूँ आफ्नो सौन्दर्य र स्वच्छता गुमाउनु पर्ने स्थिति आएको छ। ‘पहाडकी रानी’ अहिले ‘मैलाकी खानी’-मा परिणत हुनुपर्ने अवस्थाले दार्जिलिङलाई छोपेको छ। बढ्दो मैला र प्रदूषणको प्रभावले होला यहाँका स्वच्छ स्थानहरू मात्र होइन अचेल यहाँका मान्छेका मन पनि प्रदूषित बन्दै गइरहेको छ। यसैले होला कविको दार्जिलिङ प्रतिको उद्गार यसरी प्रकट भएको छ---
“आकाश निस्तब्ध छ
पहाड मौन छ
घाम निस्तेज छ
खोलाको पानी
भित्रभित्रै निःशब्द बगेको छ।
दार्जिलिङमा हिजोआज
साह्रै गाह्रो पर्छ ठम्याउन
को हाँसेको छ
को रोएको छ।”
पहाडलाई माया गर्ने कवि विचन्द्र यहाँका हरेक वस्तु र स्थितिसँग भिजेका छन्। त्यसैले होला उनी आफ्ना कवितामा आफूले देखेका-भोगेका ससाना कुराहरूलाई पनि कविताको विषय बनाई कविता कोर्दछन्। यहाँका हावा-पानी, फूल-पात-पत्कर, साँझ-बिहान, दिन-रात, खोला-नाला, पहाड-पर्वत, वन-जङ्गल, गाउँ-शहर, पशु-पन्छी, नर-नारी, हाँसो-रोदन, जन्म-मृत्यु, जाति-धर्म, घर-समाज आदि यिनका कवितामा चित्रित र वर्णित छन्। यहाँ बसेर उनले दैनिक क्रियाक्लाप र गतिविधिलाई अवलोकन गरेका छन्। यहाँको समाजमा देखिएको उतार चढावलाई भोगेका छन्। परिवर्तनशील राजनीतिलाई बुझेका छन्। त्यसैले उनी सहजै झ्यालबाट हेरी भोलिबारे भन्न सक्छन्—
“एउटा काग मरेकोमा
शोक र प्रतिवाद जनाउँदै
एकताको नारा लाउँदै
हूलका हूल काग
उँभौली, उँधौली हुँदै उडिरहेछ।
त्यसैले आकाश वित्यास परेको छ।
शहरको भित्तामा पर्चा टालिँदैछ
माइकमा घोषमा भइरहेछ
भोलि फेरि शहर भरि
हडताल हुने रहेछ।”
( झ्यालबाट )
राजनैतिक अस्थिरतामा पहाड शान्ति र सन्चोले बस्न नसकेको आभास कविले ससाना दैनिक घटित् हुने घटनाहरूमा देखेका छन् अनि देखेका छन् यहाँको वित्यास परेको आकाश पनि। कागरूपी यहाँका मानिस आफ्नै मृत्युमा शोक र प्रतिवाद गर्दै जीवनका अमूल्य क्षणहरू व्यर्थैमा बिताइरहेका स्थितिले कवि विचलित भएका छन्। भित्ताको पर्चा र माइकको घोषणा पहाडको संस्कृति बनिसकेको छ अनि यस्ता क्रियाक्लापले हडताल भइहाल्नु पर्ने भन्ने सामाजिक अवस्थाळाई पनि दृश्याउँदछ। कविको कवितामा वर्णित् यी सामान्य दृश्यहरूले हामीलाई यहाँको असामान्य स्थिति बोध गराउँदछ।
असामान्य र अस्तव्यस्त हामी भारतेली नेपालीहरूको जीवन भोगाइले कविलाई कति विचलित तुल्याएको रहेछ भन्ने कुरा सङ्ग्रहभित्रका उनको अर्को कविता बेटुङ्गोका कुरा-मा पनि देख्न सकिन्छ। वास्तवमा कवि बेटुङ्गोका कुरा गर्न चाहदैनन् तर बेटुङ्गाका कुरा गराई मार्फत् टुङ्गो नलागेका सामाजिक जीवनका पाटाहरू हामी उनका कविताका पङ्क्तिहरूमा देख्न सक्छौँ—
“खै त सहकाल फर्केको बस्तीबारीको कुरा ?
कै त सीमासाँध र सपना भएको कुरा ?
खै त नारीको नाडी भरि सुनका चुरा ?
कति बजाउनु मादल र डम्फू
कति बजाउनु च्याब्रुङ र खैँजडी
कति बजाउनु बिनायो र मुर्चुङ्गा
कति गर्नु बेटुङ्गोका कुरा।”
(बेटुङ्गोका कुरा)
हामी नेपालीहरूको जीवन टुङ्गो नलागेको स्थितिले कविलाई हर्ष र उन्माद छर्ने, मनोरञ्जन र स्फूर्ति प्रदान गर्ने बाजा-गाजाले पनि विरक्तिको आभास गराउँदछ। हाम्रा रोजीरोटीका कुरा, चियाबारीका दयनीय आस्थाका कुरा, बस्तीबारीका कुरा, सीमासाँध र हाम्रो सपना पुरा नभएको कुराले अन्यान्य थुप्रै प्रिय लाग्ने कुराहरू पनि आज बेटुङ्गोका कुरा मात्र भएका छन् भन्ने बोध गराउन चाहन्छन् कवि विचन्द्र आफ्ना कविता मार्फत्। जुन कुरा आज सान्दर्भिक पनि ठहर्दछ।
संसारभरि छरिएर बसेका नेपाली र नेपाली संस्कृतिलाई माया गर्ने कवि विचन्द्रले आफ्ना काव्यिक उद्गारहरूमा पनि नेपालीहरूको सोचनीय स्थिति प्रति आफ्नो संवेदना, चिन्ता, प्रेम र आस्था प्रकट गरेका छन्। विशेष गरी नेपाल र भारतमा छरिएर बसेका नेपालीहरू माझको सम्बन्ध, माया अनि सुख-दुःखलाई आत्मसाथ गरी लेखिएको सङ्ग्रहभित्रको कविता हो, ‘उता र यता’ । कवितामा कुनै देशका नेपालीहरूको कथा-व्यथा एउटै हो अनि दुवैतिरकाले भोग्न परेको दुःख, कष्ट र पीडा पनि साझा नै हो भन्ने संदेशका साथ कवि आशावादी पनि बनेका छन्। कविलाई लाग्दछ दुःख र कष्ट झेलिरहने अवस्थामा बाँचेका उता र यताका नेपालीहरूलाई एकदिन कुनै नेपाली ठिटोले चामत्कारिक ढङ्गमा दुःखको खोला तार्ने छ; सबै कष्ट र पीडाहरूबाट मुक्ति अवश्य नै दिलाउनेछ---
“उता पशुपतिनाथको गजुरमा घाम लाग्दा
यता कञ्चनजङ्घा झलमल्ल हुन्छ।
यता आकाशमा कालो बादल मडारिँदा
उता बर्खाको झरी पर्छ।
गण्डकाको पानीको छाल
यता संकोश नदीमा उर्लने गर्छ।
ब्रह्मपूत्रको बगरले कहिले
बागमति नदीलाई अँगालो हाल्छ।
कालेबुङको मैना चरीलाई कहिले
संखुवा सभाको ठिटोले मायाजालमा पार्छ।
पार्छ, पार्छ, पार्छ
एकदिन कुनै नेपाली टिटोले
हामीलाई दुःखको भवसागर तार्छ,
तार्छ, तार्छ, तार्छ।
संसारलाई छक्कै पार्दै;
एकदिन सुनको तारा झार्छ।”
(उता र यता)
सङ्ग्रहभित्रकै सबैभन्दा सानो कविता ‘मन्दिर’ मलाई अत्यन्तै मनपर्ने कविता हो। आयामको दृष्टिले यो सानो भए तापनि भाव र अर्थको दृष्टिले यो अन्य कविताहरूभन्दा ठुलो छ भन्ने मलाई लाग्छ। दुई पङ्क्तिको युग्मक स्वरूप भएको यस लघु कविताले गम्भीर र दर्शनपूर्ण अर्थ वहन गरेको छ। अभिधायुक्त रूपमा कविले ढोङ्गी र आडम्बरपूर्ण जीवन यापन गर्ने धर्मान्धहरूलाई एक प्रकारले व्य़ङ्ग पनि गरेका छन्----
“कति धेरै मन्दिरहरू नि
यो गाउँमा,
पापीहरू बेसी छन् कि क्या हो
यो ठाउँमा।”
(मन्दिर)
अति अर्थपूर्ण यी कविताका पङ्क्तिहरूले पापी र धर्मीमाझको पार्थक्य छर्लङै छुट्याई दिएको छ। धेरै मन्दिरहरूको पस्थितिले गाउँमा धर्मीहरूकोभन्दा पापीहरूको पापलाई पो इङ्गित गरेको देखिन्छ। कवि भन्न चाहन्छन् जो धर्मी छन् वा जो सत् पथमा छन् उनीहरूले कसैसित डराउनु पनि पर्दैन, उनीहरूले कसैलाई आफ्नो धर्म देखाउन पनि पर्दैन अनि आडम्बर गर्दै ठाउँ-ठाउँमा धर्मको नाउँमा मन्दिरहरू बनाउनु पनि पर्दैन। बरू मन्दिरहरूको आवश्यकता तिनीहरूलाई बढी हुँदछ जसले पाप गर्दछन्, जो अनैतिक र असत् पथमा छन्, किनभने उनीहरूलाई आफ्नो पापको प्रायश्चित् गर्न अनि आफ्नो आडम्बर र ढोङ्गलाई धर्मको रूपमा सत्य तुल्याउन मात्र देखावटी रूपमा मन्दिर बनाउनु पर्ने हुन्छ। सत् कर्म र सत् मार्गमा हिँड्नेहरूलाई न धर्मको डर हुँन्छ, न ईश्वरको। त्यसैले कवि आफ्नो रचना मार्फत् अति सरल र सहज ढङ्गमा जीवनका गूढ तथ्यलाई खुबै रोचक प्रकारले दुई वाक्यमा अर्थ्याउन सफल बनेका छन्।
कवि विचन्द्र साह्रै सरल कविता लेख्छन्। उनका कवितामा कुराहरू सोझै भनिएको हुन्छ। कवितालाई धेरै बिम्ब, मिथक र प्रतीकहरूको भारीले क्लिष्ट र दूर्बोध्य बनाउन चाहदैनन् उनी। गफाडी प्रवृत्तिका कवि विचन्द्र कवितामा पनि गफ गर्न नै रूचाउँछन्। उनका कविता उनले गर्ने गफ जस्तै छन्। मिठा अनि सरल। त्यसैले होला पाठकलाई उनका कविता बुझ्न र पढ्न साहित्य सिद्धान्तका ठेलीका ठेली पुस्तकहरू पल्टाइ रहनु पर्दैन, न त पर्छ कुनै दर्शनका पुस्तकहरू। ससाना विषयहरूबारे पनि आकर्षक कविता रच्ने कवि हुन् विचन्द्र। उनका कविताहरू बौद्धिक र क्लिष्ट छैनन्। बौद्धिकता विरूद्ध हार्दिकता; साहित्यिक सिद्धान्त र नियमहरूका विरूद्ध स्वत: स्फूर्त लेखन; वस्तुपरकताको विरूद्ध आत्मपरकता नै विचन्द्रका काव्यिक वैशिष्ट्य हुन्। सरलता, सहज बोध्यता र सामान्यको विसेषीकरण नै उनको कविता लेखनका आधार हुन्।



मिरिक महाविद्यालय

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु