कविताको समीकरणमा हरिभक्त कटुवालका कविताहरू

- सुकराज दियाली

भारतीय नेपाली साहित्यमा भक्तिवादी, युद्धवादी, छन्द र सवाई हुँदै श्रृगार र प्रकृति प्रकोप, युद्धबारे सवाईपछि छाँयाबाद, यथार्थबाद हुँदै हुर्किन्दै अनेकैं कविता सिर्जनाले नयाँ मोड़हरू लिँदै गर्दा अगमसिंह गिरीबाट कविता सिर्जनाले अर्को दिशा लिन्छ।यसलाई भारतीय नेपाली कविता साहित्यमा एउटा नयाँ मोड़ र घुम्ती मान्न सकिन्छ। त्यस्तै अगमसिंह गिरीपछि अर्को कविताको मोड़ समात्नु हो भने कवि हरिभक्त कटुवाललाई पाइन्छ। भारतीय नेपाली कवितामा देखिएको दुईवटा घुम्तिहरू हुन् अगमसिंह गिरी र हरिभक्त कटुवाल। जब अगमसिंह गिरीका कविताले जातियवोध, जातिय अस्मितामय कविताले पाठकलाई समात्यो तब भारतीय नेपाली साहित्यमा कविताप्रतिको चाम बढ़ेर गयो। हामी अर्काकै लागि युद्ध लड़ियौ। हामी अर्काकै लागि खून-पसिना बगायौं। हाम्रो यँहा आफ्नै भनीरहेको कुराहरू हाम्रै हुन् नसकीरहेका। हाम्रो जन्मभूमिको श्रद्धा, सम्मानलाई नबुझिदिएको। हाम्रो पीरव्यथालाई नसम्झीदिएका। हामीले बोल्ने भाषा नबुझिदिएका हाम्रो ध्वनिमा ध्वनि मिलाउँदा नसुनिदिएका। जातिको भविष्यलाई खेलबाड़ गरिरहेका राष्ट्रवाद। हामी किरानीकृत भएर बाँच्नुपरेको स्थितिलाई कविले कविताद्वारा उद्घाटन गरे। यस्ता कविताहरू जनसाधरण जनजीवनसंग भिजेर गयो। अगमसिंहको कविता पाठकले रूचाएर पढ़े। खुबै मन पराएर राम्ररी बुझे। अगमसिंहका कविताहरू सार्थक मात्रै होइन जाति एकतामा बाँध्ने बलियो धागो भए। त्यसैले अगमसिंहको कविताहरू पाठकले पढ़ने काम मात्रै गरेन बुझ्नेतिर लागे। आजपनि हामी अगमसिंह गिरीका कविताहरू बुझिरहेका छौं। विश्वको नेपाली आँखाले अगमसिंह गिरीलाई दार्जीलिङमा जातिय अस्मिताको संकटमा बाँचिरहेका देखे। दार्जीलिङभन्दा अगमसिंह गिरी बुझ्ने नेपाली मनहरू भए।
अगमसिंह गिरीपछि कविताको अर्को मोड़ उत्तरपूर्वीय भारतको हरिभक्त कटुवाललाई बुझिन्छ। स्वच्छन्दवादी कवि कटुवाललाई राष्ट्रभावधाराका सशक्त कविको रूपमा पाउँछौ। जातिय वेदनालाई राष्ट्रियकरणमा लिपेर यसै देशको माटोमा रातोरगत, तातोरगत यहीं बगेको छ भनी उद्गार पोख्ने कवि बुझिन्छ। यो देशको माटोले भन्छ भनी कविले गोर्खा जातिको राष्ट्रप्रति भक्तिभाव प्रकट गरेका छन्। यस्ता भाव अन्य जातिलाई, अन्य भाषालाई चर्को स्वरमा सुनाए। असमे नेपाली जनजीवनले त्यससमयमा भोगेका काँचो जीवनलाई सुन्दर चित्रकारितामा सरल प्रकारले बुझ्ने कविता लेखेर पाठकको मन-मस्तिष्कमा छ्याप्प भिजे। हरिभक्त कटुवालले कविता लेखेर पाठक खोजेन पाठकले पो बरू कटुवालका कविताहरू खोजे। कटुवालको कवितासित बाक्लो पाठक थियो, आज पनि छ भोलि पनि रहने छ।
सरल तर गहन हृदयलाई छुने कविताको सिर्जनाले सबै प्रकारको पाठकलाई आकर्षण गर्ने कविताहरू थिए। तल्लोस्तरदेखि माथिल्लो स्तरका जनजीवनका कुराहरू जीवनलाई छुने अनुभूतिहरू भएका हुनाले उनको कविता लेखनले वा पाठकलाई छोएर बाँचिरहेका छन्। हरिभक्त कटुवालका कविताहरू कहिले पुरानो हुँदैन। यस्ता कविले आफ्नु आदर्श गुरू अगमसिंह गिरीलाई मान्थे भन्ने कुरालाई प्रमाण कटुवालको भनाईबाट स्पष्ट हुन्छ। नढाँटी भन्नु हो भने वल्लभ, भारती, गोर्खा आदि पत्र-पत्रिकामा छापिने गरेका गिरीका कविताले मलाई काव्य क्षेत्रमा ठूलो प्रेरणा दिएको छ। नेपाली साहित्यमा मेरो प्रवेश ढीलो भयो। शुरू-शुरूमा मैले असमीया भाषामा, कथा, कविता, निबन्ध आदि लेख्ने गरें( वल्लभ 2064-256) कवि अगमसिंह गिरीको कविता लेखनमाथि गुनगाण गर्दै ईश्वर वल्लभले लिएको अर्न्तवार्तामा गिरीप्रति सम्मान कटुवालले पोखेका छन्-“अगमले, नेपालीलाई जति माया गरे त्यति माया अझै मैले गर्न सकेको छैन”। उनका पंक्ति-पंक्तिमा नेपाली प्रेमको प्रतिध्वनि हुन्थ्यो। उनी मोहम्मद गल्लीको तामाङ कुल्लीलाई देखेर द्रवित हुन्थे। भन्थ्यो पहाड़ी फूल सँधै काँड़मै हाँसेको हुन्छ। म मेरो कलात्मक लाक्षणिकतालाई कसरी ठूलो भनुँ। (बल्लभ,2064-257)। यसरी अग्रज साहित्यकार कविको सम्मान गर्न जानेका कवि कटुवाल। भारतीय नेपाली कविताप्रति सम्मान दर्शाएर आफै सम्मान भएका छौं। कवि तथा साहित्यकार समाजको निम्ति बाँच्छ। आफ्नो जातिको निम्ति चिन्ता गर्ने चिन्तकहरू हुन्छ।आफ्नो जातिको उन्नति, भाषा साहित्यको निम्ति मरिमेट्ने साधकहरू समाजऋणीहरू हुन्-कवि/साहित्यकारहरू।
अगमसिंह गिरीपछि कविताको अर्को युग बोकेर जन्मीएका कवि हरिभक्त कटुवालको जन्म 2 जुलाई 1935-मा असम डिब्रुगढ़ जिल्लाको बोगिवाल भन्ने स्थानमा भएको थियो। पिता स्व. वीरबहादुर कटुवाल र माता स्व.विष्णुमाया कटुवालको जेष्ठ पुत्र थिए। गाउँकै प्राथामिक पाठशालाबाट शिक्षा श्रीगणेश गरी जर्ज हाईस्कूलबाट म्याट्रिक परीक्षा उत्तीर्ण गरेका थिए। पछि वाह्यपरीक्षा दिएर असमीया अंग्रेजी माध्यममा आई.ए. उत्तीर्ण गरेपछि घरको आर्थिक अवस्थाले गर्दा शिक्षालाई यतिमा नै थन्काएर डिगबोईको (कक्षा छःसम्म नेपाली माध्यमको स्कूल) एम.ई. स्कूलमा शिक्षक पेशामा नियुक्ती भए।
उनको कविताहरू त्यतिबेलाका पत्र-पत्रकातिर प्रशस्तै छापिन्थ्यो। विशेष गीत र मुक्तक कविताको प्रखरता थियो कटुवालमा। उनी कविता, गीत, नाटक रचना गर्न साहित्यिक सांस्कृतिक गोष्ठीहरूको आयोजना गर्न पत्र-पत्रिकाको प्रकाशन गर्न निरन्तर लागिपरिरहन्थे। नेपाली साहित्यिक पत्रकारितामा उनको अवदान पनि स्मरणयोग्य छ। साहित्यिक पत्रकारिताको एतिहासमा ‘बान्की’-को प्रकाशन गरेर उनले गोजी पत्रिकाको एउटा नयाँ अध्याय नै थपेका हुन्।
मुक्ति, हिमालय, प्रज्ञा रूपरेखा, बान्की, हिमाली सङ्गीत, सरिता जस्ता साहित्यिक पत्रिकाहरूको सम्पादन कार्य गरेका छन्। सन् 1961मा सर्वप्रथम गीतसंग्रह सम्झाना प्रकाशित गरी साहित्यिक जीवनको परिवेशलाई तयार पारेका थिए। त्यसपछि भित्री मान्छे बोल्न खोज्छ(कविता संग्रह 2002), सुधा(खण्डकाव्य 2021), पूर्व किरण(कविता संग्रह 2029), यो जीन्दगी खै के जीन्दगी(कविता संग्रह 2029), बदनाम यी मेरा आँखाहरू (गीत संग्रह2044), बादलले छोपेको घाम(पूर्णाङ्की नाटक), स्पष्टीकरण(कथा संग्रह), म मरेको छैन(एकाङ्की) आदि कृतिहरू नेपाली साहित्यलाई दिएका छन्। गीत र कवितामा कटुवालको जुन विशिष्टता छ त्यसलाई शब्द र अक्षरको विशेषताले वर्णन गर्न कमि हुन्छ। थोरै लेखे धेरै राम्रा उच्चकोटी मास्टरपीस लेखे।
कटुवालले जस्तो समाज देखे उस्तै कवितामा उतारे। साँच्चै कवितामा समाजःकविले जस्तो देख्छ उस्तै लेख्छ। कविले जस्तो भोग्छ उस्तै लेख्छ। कविको कवितामा उसकै समाजको सुगन्ध आउनु भनेको पाठकदेखि कविता पाठकसम्म टाँगिनु हो। यस्ता कविताहरूको सिर्जनालाई सबैप्रकारको पाठकले रूचाउँछ।कटुवालको कविता छाउँछ शहरदेखि गाउँ-बस्तीको चेप-चेपमा। कविता गतिशील भएर बग्छ समाज, राष्ट्रदेखि जाति विसङ्गतिमा छाएका अतत्वहरू बढ़ार्दै, परिमार्जित स्थितिलाई सिर्जना गर्छ। यस्ता कविताहरू सफल कविता भनीरहँदा फरक नपर्ला। यस्तै कविता कवि कटुवालले लेखे उनको जीवनकालमा । उनको कविताले हाम्रो समाजलाई बोकेका छन्। समाजमा नपचेका, अपच तत्वलाई जस्ताको त्यस्तै देखाएका छन्। उनको कविताले समाज बोलेका, समाज परिसीमा, परिघेरामा परेका समय स्थितिलाई उदाङ्गो पारेका छन्।
यहाँ आनन्दका गीत कोही कसरी गाउन सकिरहेका छन् कुन्नि
जहाँ एकमुठी उज्यालोका लागि लाग्नपर्छ(प्रतिबन्धःआफ्नै आँखाहरूमाथि-बाट)
मूलबाटोमा बढ़दै जाँदा
बाधा-विघ्नसंग लड़दै जाँदा
सामु परेका काँड़ा कण्टक
अरूका लागि नाग्नु छ मैले
बाँचिरहु म अनन्त(आज जीवनको अन्त-बाट)
न अटाएर कोला र नदीहरू विस्तृतिमा
पोखिदैं उर्लिदैं हामफाल्दै हिँड़ेको मलाई देखेर
तिमी नतर्स। (म पानी-पानी भईरहेछु-बाट)
जस्ता कविताहरूमा समाजको चित्र पाइन्छ। कवितामा जीवन भोगाईका यथार्थ अनुभूतिहरू सल्बलाएका पाउँछौं। विचारप्रतिको आग्रहभन्दा आफूले जे जस्तो भोगेको छ त्यस्तै चित्रण गरेका छन्।
कटुवालको कवितामा जीवन दर्शनः कटुवालको कवितामा जीवन पाइन्छ।उनले जीवनलाई नजीकबाट हेरेका छन् कवि मनले। मानव जीवनको कर्तव्य र उदेश्य खोजेका छन् कविताभरि। जीवनमा हुनुपर्ने जीवनमा भएर मात्रैले जीवनलाई पुग्दैन, जीवन नपुग्नु र नहुनुको अर्थभित्र जीवनलाई भेट्नुको सार्थकलाई कवितामा पोखेका छन्। कटुवालको कविता भनेकै जीवनका भोगाईका अनुभूति हो। यथार्थ भोगाईका समय चेतना हो। त्यसैले उनलाई धेरै समालोचक /साहित्यविद्हरूले निराशावादी कवि पनि भनेका छन्। जीवनलाई कवितामा उतार्ने कविले जीवनको उज्यालो पक्षभन्दा अँध्यारोपक्ष तथा दुःख कष्ट अपुग अभावलाई देखेका छन्, भोगेका छन्। अभावभित्र रेटिएका जीवनले संसारको अँध्यारो पक्षकै उद्घाटन गरेका छन्। उनका प्रायः कविताहरूमा भौतिक सुख-समृद्धिमा छेलिएर समस्या भोग्दै आएका जीवनलाई नाङ्गै उतारेका छन्। सिपालु फोटोग्राफरले उतारेको फोटो झैं। त्यो सुन्दर फोटो अरूको लागि हुन्छ फोटो असुन्दर स्थितिलाई नाङ्गै देखाउँदा भनेको झैं कटुवालको कविताले जीवनसित असमीकरणमा समाधान भएको गणितिय फरमूला बनिरहन्छ। उनको मास्टरपीस कविता, यो जीन्दगी खै के जीन्दगी, मन त फलाम कै भए असल हुन्थ्यो, बदनाम मेरा यी आँखाहरू- आदिमा जीवनवादी कविको रूपमा विशिष्टरूपले पाउँछौं।
काँचको चूरा जस्तो यो जीन्दगी
प्याट्ट फूट्न सक्छ यो जीन्दगी
रबरको सस्तो चप्पल जस्तै यो जीन्दगी
च्याट्ट टुट्न सक्छ यो जीन्दगी
यो जीन्दगी खै के जीन्दगी
घरिघरि हावा भरिरहनुपर्ने पङ्चर भएको
वाइस्कलको ट्यूब जस्तै यो जीन्दगी

सपना जस्तो मात्र रहेछ
जीवन हाम्रो घाम र छाँया
जीवनलाई भट्टीपसलभित्र मृत्यु खोज्न हिँड़ेको जस्तो अन्तिम पातो पनि च्यातेपछिको ठूटो चेकबुक जस्तो, काँचको चुरा जस्तो प्याट्ट फुटीजाने, सस्तो चप्पलको फीता जस्तै हिँड़दा-हिँड़दै चुट्टिजाने, वाइस्कलको ट्यूब जस्तै दशठाउँ छेड़ परेको , यसरी जीवनलाई विभिन्नअबाव र प्रभावमा भोगेको दर्शनहरू अभिव्यक्त गरेका छन्।
कटुवालको कवितामा राष्ट्रियप्रेमः
उनको कवितामा राष्ट्रप्रतिको सम्मान, भारतभूमि माटो, रगत, हावा पानीसित रहेको श्रद्धा, देशको सुरक्षामा, देशको उत्थानमा तथा देशवासीलाई देशप्रेमको ओत दिने कविताहरूले राष्ट्रभावधाराका प्रखर कविता मान्न सकिन्छ।
देशका लागि मर्नेहरूको
कीर्ति यो जगमा मेटिने छैन
काफर जो छौ हाम्रो गाथा
इतिहासमा लेखिने छैन—(शहीदहरीप्रति)
दुईहातको सकसक
हरेक साँध फड्कने
दुई खुट्टाको जमजम
हिउँ बन्छ
पानी बन्छ
वाफ बन्छ(माटाको मायाबाट)
हेर,तिम्रा सन्तति
स्त्त प्यून तम्सिए
अन्यायको पक्षमा
द्रुत वेगले लम्किए (बुद्धलाई आह्वानबाट)
यसर्थमा पनि उनी जीवनवादी कवि भनी स्वीकार्थ छ। उनको कवितामा शोषण दमन अन्याय र अत्यचारमा गरीब दुःखी, दलित पीड़ितहरूको पक्षमा बोलेको हुनाले उनका कविताहरूमा प्रगतिवादीको चर्को स्वर पनि पाइन्छ। उनीले भोगेका जीवनलाई यथार्थरूपमा कवितामा दर्शाएका हुनाले उनका कविताहरू यथार्थ धाराका कविताहरू हुन् भनीरहँदा पनि फरक पर्दैन। तर यी सबै प्रवृति धाराभित्र रहेपनि कटुवालको कविता मूलस्वरमा भने देशभक्ति वा राष्ट्रभाव रहेको पाइन्छ। उनको प्रायः कविताहरूमा देशप्रेमको गहन भाव पाइन्छ।
यो देशको माटोले भन्छ
यो देशको ढुङ्गाले भन्छ
हाम्रो पनि रातो रगत यहीं बगेको छ
हाम्रो पनि तातो पसीना यहीं बगेको छ(हामीलाई निर्धो नसम्झ-बाट)
यसरी कटुवालको कवितामा रहेको विषयवस्तुमध्ये देशप्रेम/राष्ट्रप्रेम प्रमुख रूपमा रहेको देखिन्छ। उनका कविताहरूमा यस्ता राष्ट्रियभाव एवं देशप्रेम रहेको छुट्टै प्रकारको महत्व छ। थुप्रै विशेषताले हामी कटुवाल र कटुवालको कवितादेखि टाड़ा रहन सक्दैनौ। भारतको उत्तरपूर्वीय राज्य असममा जन्मीएका कटुवाल देशप्रेमको असीमित श्रद्धाभाव रहेको कविताबाट प्राप्त गर्न सक्छौं। भारतभूमिको सुरा सैनिक एवं वीरगति प्राप्त गरेका सैनिकप्रति श्रद्धासुमन पोखेका उनका कविताहरूमा पाइन्छ।
कटुवालको कवितामा व्यङ्ग्यः
कवि कटुवालले विद्रोहको आवाजलाई व्यङ्ग्यले कस्दथे। समाजमा भइरहेका अमानव परिवेशको विरोधमा, राजनैतिक व्यवस्थाको असमीकरणमा चेप्टीएर बाँचेका जन-जीवनको समस्या, शोषण र दमनको स्थितिमा, अपुग र अभावमा रेटिएर बाँचेको मानव जीवनको विरोधमा ब्यङ्ग्यले कसाकस गरी कवितालाई बोल्न लगाएका छन्। उनीभित्रको विद्रोह कटुव्यङ्ग्यको रूपमा कवितामा पोख्थे। प्रेमले दिएको घात-प्रतिघात, आघात सामाजिक कुतत्वले थिचिनुको समयलाई राष्ट्र-अर्न्तराष्ट्रिय घटनाक्रमले जन्माएको स्थितिलाई मानिसले भोग्नुपरेको अमानवीयप्रति व्यङ्ग्यको चेतना प्रखर देखिन्छ। समाजको बनावटी, देखावटीले जन्माएको परिस्थितिमा सिर्जना भएको साँघुरो विचारको विद्रोहमा उनका कविताभित्र व्यङ्ग्य चेतना पाइन्छ।
यो जीन्दगी तर्सिएर सँधै भट्टी पसलभित्र मृत्यु खोज्न हिँडेको लाग्न-
मकैको खोया
दाम्लो बाट्ने पोया
बाँसको चोया
आँपको कोया
अरू के तोया।
तोया गुरूङलाई कवितात्मक पत्रमा कसेको ब्यङ्ग्य। यसै सन्दर्भमा साहित्यकार नरनाथ लुईँटेलले लेखेका छन्-कवि कटुवालभित्र व्यङ्ग्य चेतना पर्याप्त थियो। प्रेमले दिएका आघात सङ्घात सामाजिक उहापोह, राष्ट्र- अर्न्तराष्ट्रिय घटनाक्रम विश्वको विसङ्गत पर्यावारण खासगरी मानिसले भोग्नुपरिरहेको चरम अमानवीयाप्रति कवि कटुवालको व्यङ्ग्य चचेत अत्यन्त प्रखर देखिन्छ। उनको यो चेतना कही भाव वा अर्थसंग समाहित भएर अप्रत्यक्ष रूपमा रहेको छ भने कहीं यो शाब्दिक प्रयोग मार्फत प्रत्यक्ष पनि प्रस्तुत भएको देखन्छ।यस्ता गुण र चेतनाले गर्दा हरिभक्त कटुवालका कविताहरू सँधै पाठकप्रिय रहीरहन्छ। सर्वकाल बाँचिरहनु जति पढ़दा पनि धिक नमर्ने कविता हुनुको यथार्थ पनि यसैलाई मानिरहँदा मनग्गे पुग्ला।
कटुवालको कविता सिर्जनालाई केलाउँदा उनी स्वच्छन्दवादी धाराको रूपमा भेटिन्छ भने उनी जीवनको नजीकरहेर कविता सिर्जना गरेका छन् ।कवितामा जीवन उतारेका छन्।त्यसैले उनी जीवनवादी कवि भनीरहँदा कविता साहित्यमा दुईमत नहोला। जीवनलाई सजाएर सुन्दर र टेस्टी कविताको शिल्पले कविता पाठकलाई मख्ख पारेका छन्।

कविताको भाषा शिल्पः
कवितामा सरल भाषाले गहन विषयवस्तुलाई प्रस्तुत गर्न सफल भएका छन्। सहजरूपमा कविता पाठकले बुझ्ने। हृदयमा छ्याप्पै बसिहाल्ने खालको कविताले पाठकलाई कविताको मोहदेखि नजीक राखेका छन्। कटुवालको कवितामा आन्तारिक अनुप्रास र अन्तयानुप्रास दुवैको प्रयोग भएकोले कवितामा एकप्रकारको मिठासता आउँछ। आलङ्कारिता भाषाको प्रयोग कविताको रूप गेयात्मक रहेको पाइन्छ। यसैले हरिभक्त कटुवालको प्रायः कविताहरू गीत भएका छन्।जुन कविताहरू पढ़ीरहँदा हृदयमा लय भरिन्छ। कविताको भाकामा गेयात्मक रूपले भरिन्छ। सफल कविताहरू गीत बन्दछ भन्ने प्रमाण यतिबेला कटुवालका कवितालाई मानिलिंदा पुग्छ। भारतीय नेपाली कविता लेखनलाई हरिभक्त कटुवाल कविताको एउटा घुम्तीनै मान्नुपर्ला।

दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु