"अकलान्त योद्धा नारी" कविता सङग्रहको एक अध्ययन

- शरद कुमार क्षेत्री

संग्लो विश्वको आधा आकाश भनेर सम्वोधन गरिने नारी समाजलाई हाम्रो समाजको दृष्टिकोणले महत्वहीन नै ठान्दछन्। अशिक्षित, पुरातनवादी अनि पितृसत्ता सर्वोपरी मानिलिने जमातले मात्र नारीलाई हेय भावानाले हेर्ने हैन अपितु समाजका शिक्षित आधुनिक विचारधारा अंगालेका समूहले पनि नारी समाजलाई मनोवैज्ञानिक तवरले समानरूपले स्वीकार गरिरहनु सकिरहेको छैन भन्दा कुनै अतियोक्ति नहोला।
कुनै पनि समाजको बँचाईको क्रम, गरिशीलता सांस्कृतिक गतिविधि अनि शैक्षिक स्वरले त्यस समाजको साहित्यको प्रतिनिधित्व गर्दछ अनि समाजलाई सर्वाङ्गीन विकाशको दिशातर्फ दोहाऱ्याउँदछ साहित्यले। यसरी विकासको परिचायक मानिएको लेखनमा नारी हस्ताक्षरको संतुलित सहभागीता नरहे विकाशको क्रम असंतुलित हुनेछ। नारीको गुणगान गर्न संस्कृतका श्लोकहरू उघृत गरेर नारी अस्मिताको विषयमा सभाहरूमा गम्भीर वार्ता राखेर वा सड़कको जुलुसमा समानताको नारा बुलन्द पारेतापनि नारीलाई वस्तुको रूपमा हेर्ने समाजको दृष्टिकोण परिवर्तन नभएसम्म नारीहरू अन्य क्षेत्र सरह साहित्य क्षेत्रमा पनि पुरूषसंग काँधमा काँध दँजाएर अग्रसर हुन सम्भव छैन। हाम्रा नारी हस्तारको संख्या अनुपातिक रूपमा न्युन छ त्यसमाथि पुरूष साहित्यिकवर्गले प्रत्यक्ष वा परोक्षरूपमा नारी लेखनलाई उपेक्षित गरिदिँदा समाजमा आतेस लाग्दो परिस्थितिको सृजना हुँदछ।
2.समय, समाज र परिस्थितिको बिम्ब साहित्यमा परिलक्षित हुँदछ। लेखकको बौध्दिक क्षमता, मनस्थिति अनि समाजप्रति उसको उत्तरदायित्वको भावना उसको लेखमा प्रतिविम्वित हुँदछ। नारी मात्रालाई केन्द्रमा राखेर लेखिएको कृतिहरूको अभाव मात्र नभई यस विषयमा सोंच राख्नसमेत कन्जुस्याई भइरहेको कालखण्डमा समान अधिकार, आत्मासम्मान आदिबाट वञ्चित नारीहरूले प्रेरणाका केही छिटा-छिटी यो शब्दभित्र प्राप्त गरेभने आफूलाई सफल भएछु भनी सम्झने छु-को भावनाले लेखेको कविता संग्रह “अकलान्त योद्धा नारी” प्रकाशित हुन लाई हाम्रो साहित्यको निम्ति एउटा शुभ लक्षणको रूपमा स्वीकारनु पर्दछ। बसुन्धरा शर्मा तेजपुरद्वारा लिखित अनि मित्रदेव शर्माद्वारा प्रकाशित एक समाचार पृष्ठको यो संग्रहमा मोठ बियालिसवटा कविताहरू नारी समाजलाई नै मूल विषय बनाएर लेखिएका छन्। सवत्र अनि समग्ररूपमा माइताघरमा गरिने व्यवहार अनि ससुरालीमा एउटी नारीले भोग्नपर्ने यथार्थता अनि समाजमा विभिन्न लाञ्चित, तिरिस्कृत, अवहेलित अनि अवमूल्यको अचानोमा ठुन्किरहनु परेको अवस्थामा पनि एउटी नारीले सद्भावनाको दियो सल्काएर समाजमा ज्योति फैलाउने कार्य गरिदिन्छन्। सहिष्णुता, शक्ति, पथप्रर्दशक, संगीनीका प्रतिक हुन्-नारी। छोरीको रूपमा जन्म ग्रहण गरेपश्चात बालिका, नवयुवती, वयस्क नारी विभिन्न अवस्थामा नारीले भोग्न पर्ने यावत समस्या, दुःख-सुख, प्रेम-छल, माया-ममता अनि सन्तान सुरक्षामा कसरी आफूलाई चाहिँदो साँचोमा डाल्न सफल हुन्छिन्। नारी जीवनको समस्त आयामलाई संगालेर लेखिएको लघु खण्ड-काव्यको हारमा राख्न मिल्ने छियालिस पदको नारी कला शीर्षकको कवितामा यसरी पोखेकी छिन्-
छोरी भएर उदाउँछिन् नारी
पुरूष साझा धड़ेरी नारी
सुयोग्य सन्तानका धरोहर नारी
महाशक्ति धैर्य र सौन्दर्यकी प्रतीक नारी
धसिएर, बज्रिएर अरूकै निम्ति नारी
नुनिला अश्रुले मुहार धोएर
अब धोकावाजमा फस्ने छैनन्।(नारी कला-पृ.11-12)
प्रतिकुल अवस्थालाई आफ्नो कौशलद्वारा अनुकूल परिस्थितिमा परिणत गर्ने कलामा नारी पारंगत हुन्छन् भन्ने आयास पोख्छिन्—
बालुवाको बगरहित पल्लवित पार्ने नारीलाई(वेदना पृ.25)
नारी नै नारीको प्रमुख वैरी भन्ने उक्तीलाई मूल खाँबो बनाई कोरीएको कविता झुटो नियतमा आफ्नो अभिव्यक्ति पोख्छीन्----
नारी नै नारीका बाटाका खाड़ल खन्दछौ
तिमी कस्ती नारी
दाइजो नभेटे बुहारी पोल्दछौ(पृ. 28)
नारीको जन्म हारेको कर्म यहीं मूलमन्त्र जपेर आफ्नो अस्तित्व बिर्सन जमातलाई नारी हुनुको गौरववोधको भावना जगाउने मन्त्र फूक्दछीन----
हे! नारी तिमी
जननी, विश्वजननी, पूज्यजननी
सृष्टिकी मुहान----------
हे नारी आफूलाई चिन्ने गर(पृ. 30-31)
बेच-बिखन, बलात्कार, दाइजो प्रताढ़ना आदिले पीड़ित बजार विज्ञापनको नाममा भोग्न परिरहेको शोषण, घरेलु हिंसामात्र नभएर कन्या भ्रूणहत्या बढ़दो घटनाप्रति समाजले मौनधारण गरेको देख्दा समाजलाई यसरी धिक्कार्दछीन्----
संसारको उज्यालो देक्न नपाई
गर्भैमा भ्रूणहत्या
कहिले विज्ञापनको सामाग्री
कहिले दाईजोमा जोखिन्दै
मूकवधिर, अन्धो, बहिरो समाजमा।(पृ.32-35)
नारीमा समर्पणको भावना जति गहिरो हुँदछ परेको खण्डमा विद्रोहको स्वर त्यतिनै चर्को पार्न सक्षम छिन्। सहनशीलताको सागरतूल्य बनेर सुख-दुःखलाई आफूमा समाहित गर्दछिन् भने सुनामी बनेर ध्वसंको ताण्डव रच्न पछि परेकी छैनन् भन्ने चेतावनी-----
नारीको मुटुभित्र लागेको चोटले
छिनैमा पारिदिन्छ खरानी
नारीको रापिलो अग्निपुञ्जले(पृ.40)
बसुन्धरा शर्मा कविताको नाङ्ग्लोमा सासु बुहारीको सम्बन्ध निफन्छीन्, नारी भएर कसरी बाँच्न सिकें-भन्दै अनुभव बाँड़दछीन्। कनकलता, मूलागभारू, जयमती, मायादेवी क्षेत्री, झाँसीकी रानी, लक्ष्मीबाई जसले आफ्नु अधिकार-न्यायको निम्ति लड़ने हिम्मत गरे ति सबैलाई(पृ.64), छोरी तिमी यहीं देशकी जाग्रत नारीको पद्वीले सुशोभित गर्दै रहँदा छोरीको पुकार सुनेर मर्माहत छीन्। मातृस्वरूप लिएर छोरीलाई आमाको अर्ती दिँदा घाइते भाग्य छोरीको सम्झेर उदास बसेकी छिन्। यत्र पुजयन्ते नारी तत्र रमन्ते देवता-श्लोकको मार्फत नारीलाई महाशक्ति-को रूपमा पुज्ने समाजले आमा हुन नसक्नुको पीड़ा भोगीरहेकी एउटी महिलामाथि थप लाक्षाणा थोपर्दा दोष कसको भनी प्रश्न आमालाई तेर्साउँदछिन्------
जीवनको आदर्शलाई लत्याएर भाषा संस्कृति-संस्कारबाट विमुख आफ्ना सन्तानका अधोगति देखेर भारत मातालाई पुकार-गर्दै निस्वार्थ सेवाका प्रतिमुर्ती-मदर टेरेजा-लाई प्रार्थाना चढ़ाएर सपुत स्वाभिमान, देशप्रेमी, विश्व साहित्यको ढुकुटी भर्ने सन्तान तिमीले अब जन्माउनु छ-को आर्शीवादको बचनसाथमा भाषा-संस्कृति अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा हस्तानतरण भइरहने निरन्तर प्रकिया हो अनि यो निरन्तरता रोकिए हजारौं वर्ष खर्चेर विकशित भएको संस्कति लोप हुने भएकोले यस जोखिमबाट नारी मात्राले पार लगाउन सक्षम भएको आभास पाएर लेख्दछीन्- जस्तै हावा-हुण्डुरीले लछारे-पछारे तापनि आफ्नो भाषालाई------
नव पिढ़ीलाई आफप्नै प्यारो भाषा-संस्कृति अङ्कमाल गर्न सिकाउँछ(पृ.91)
अकलान्त योद्धा नारी कविता संकलनमा समावेश कविताहरूले नारीका 1.परिचय 2.सम्बन्ध 3.पीड़ा 4.समर्पण 5.विद्रोह 6.जागरण 7.महिमा-उजगार गरेका छन् अनि नारीलाई- 1.उपदेश 2.आह्वान 3.सुझाव 4.चेतना पस्कने प्रयास गरिएको छ।
नारीद्वारा नारीलाई मात्र विषय वस्तुको केन्द्ररूपमा समावेश गरि प्रकाशित यो कविता संग्रहको निम्ति बसुन्धरा शर्मालाई वधाईका पुष्पहार अर्पण गर्दा-गर्दै केही खट्किएका कुरा लेखिनै पर्छ-नारी निर्यातन भ्रूणहत्या, बलत्कार, द्रौपतीको वस्त्रहरण आदि विषयहरू एकाधिक कविताहरूमा उल्लेख भएको कारण पाठकलाई पहिले कै कविता पाठ गरिरहेछ भन्ने आभास हुँदछ अनि कविता संकलनभित्र एउटै भाव दोहोरिँदा एउटा कवितापछि सिध्याएर नौलो बनाउने अभिलाषी पाठकवर्गलाई निराश बनाउने अनि कविताका गतिशीलतामा ब्रेक लागेको पाइन्छ। कविताका मूलभाव पक्ष प्रवल रहेतापनि प्रस्तुति पक्ष केही कमजोर रहेको छ। स्वभाविक रूपमा केही क्षेत्रियरूपमा प्रयोग हुने शब्दहरूले स्थान पाएको छ तर त्यसले त्यस क्षेत्र बाहिरका पाठकलाई केही समस्या हुन्छ।
कविता संकलनमा पाइने गुण र अवगुणहरू मूल्याङ्कनको कसिमा जोख्दा गुणको बोझ अधिक मात्रामा पाउँदछन् पाठकवर्ग।
नारीको जीवन चियाएर हेर्दा नारीको जीवनलाई अन्धविश्वासले कठ्याङ्ग्रिएको समाजमा कष्ठकर भएतापनि ईश्वरीय देन नारी भएकाले मातृमहिमा-को स्तुति गुञ्जीरहेको समाजमा आमाको चाहना अनुरूप प्रार्थाना अर्पण गर्दै यो संग्रह नारी जातिलाई समर्पित भएको छ।
‘प्रार्थाना गर्दछु हे सभ्य समाजका कर्णधार--------नारी विरोधी कुसंस्कार निमोठेर स्नेहको बन्धनमा बाँधिन पाउन-यही मेरो प्रार्थाना छ’।
कुशल गृहिणी, सफल व्यवसायिक अनि निस्वार्थ भावले समान सेवामा लागिपरेका बसुन्धरा शर्माको यस कविता संकलनले अन्य सचेत नारीवर्गलाई उत्प्रेरकको कार्य गर्नेछ अनि यस्तै पुस्तकहरू नयाँ नारी कलमबाट पाठकहरूले प्राप्त गर्ने विश्वास उत्पन्न हुन्छ। समाजप्रति समर्पित यस्तो संकलनको निम्ति बसुन्धरा शर्मा साधुवादकी पात्रा बनेकीछिन्।

कालेबुङ

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु