अब घाम लाग्यो !

- काशीनाथ मिश्रित

(वसन्ततिलका छन्द)
हामी सुत्यौँ विगतमा भइ कुम्भकर्ण
यै हेतु उम्कन गए नि कैयौँ सुवर्ण ॥
तारा डुबे सगरका नवकान्ति छायो !
लौ लौ जुरुक्क उठ है अब घाम लाग्यो !!१॥

खुम्च्याइ हात किन हो र अझै सुतेको ?
थाहा छ;छैन शिरमा उपियाँ घुसेको ??
तन्द्रा टुटेन यसरी कसले सुतायो?
लौ लौ जुरुक्क उठ है अब घाम लाग्यो !!२॥

कालो थियो गगनमा अघिसम्म सारो ।
देखिन्नथ्यो वरिपरी अति भै अँध्यारो ॥
पूर्वी किनार नभको अब खुल्न थाल्यो !
लौ लौ जुरुक्क उठ है अब घाम लाग्यो ॥३॥

घुर्दै अबेरतक सुत्न असाध्य जाती
हुन्थ्यो, सबै उठिसके अब छैन राती !!
क्वीरोसँगै धरतिको सब शीत भाग्यो ।
लौ लौ जुरुक्क उठ है अब घाम लाग्यो!!४॥

बाटा खुले सहज हिँड्न भएन गाह्रो
हाल्दैन कोही पनि बाधक भै तगारो !
लालीसँगै किरणको सब लोक जाग्यो ।
लौ लौ जुरुक्क उठ है अब घाम लाग्यो !!५॥

साकार पार सपना अघि जो बुनेका ।
बाँकी थिए नि मन कुण्ठित भै थुनेका !!
बेला भयो समयले अब ता जगायो ।
लौ लौ जुरुक्क उठ है अब घाम लाग्यो !!६॥

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु