श्रीमतीको बलिङ

- कृष्ण प्रधान

किन ढाटुँ ? हात-खुट्टा बाँधेपछि मेरी उसलाई प्रणय निवेदन गरेँ ।
ऊ बोली -अलिकति पर जानुहोस्...आज अच्चाकाली गरम छ । पङ्खा हो कि के हो त्यो ? हावाभन्दा आवाज नै धेर छ । घरभित्र एउटा एरोप्लेन पसेर निस्किनै सकेको छैनजस्तो लाग्दैछ । यो पङ्खा किलोको भाउमा बेचिदिनोस् ।
सुस्तरी बोलेँ म - अरे ! भर्खरै ता लक्ष्मी भित्र्याएको छु । सबूर गर प्रिये ! सबूर गरे मेवा फल्छ, हतार गरे कुहेको चिण्डो । अब तिमीलाई एउटा दामी रातो कार किनिदिउँला ।
बघिनीजस्तो हाय काढ़ेर गम्भीर स्वरमा ऊ बोली - होस् पर्दैन । मेरो गधै मलाई निको छ ।
ऊ फनक्कै उता फर्की । सिरानी च्याप्पै अँगालो हालेर बघिनीजस्तै घुर्न थाली । आँखाकै सामु बिस्तारै बिस्तारै जूनको उज्यालो धिमा हुँदै गयो । सबै प्रेमिका स्वास्नी नहुँदारहेछ । प्रेमिकाले स्वास्नीको रूपमा प्रोमोशन पाई भने प्रेम पङ्चर हुन्छ । यो प्रेम भनेको दही जमाउनु जत्तिकै हो । दूध तताएर तात्तात्तै अवस्थामा सामान्य दुमो दही खन्याएर सुनसान ठाउँमा राख्नुपर्छ । धेर हल्लाउनु हुँदैन । हल्लियो कि ता दही जम्दैन । मेरी ऊ अहिले मसित छैन भनेर उसको बद्ख्वाइँ गरेको होइन । हाम्रो प्रणयको कुरा गर्ने लाइसेन्स उसले मलाई दिएकी छ । कारण म पनि एकजना एक्सपिरियन्स्ड लोग्ने हुँ, मेरी ऊ विकेट किपर । म अहर्निश ब्याटसम्यान ।ऊ विकेट किपर भइदिएकीमा मलाई नाफै छ । टुटा छैन । यसले मेरो रणनीतिमा सतर्कता बढ़ेको छ । क्रिचमा बड़ो चतुरताका साथमा उभिएको छु । सामान्य असावधानी भयो कि लट्ठक भएर बोल्ड हुनुपर्छ । कलेजको क्रिकेट टिममा ग्याचैपछि 'छक्का' हान्ने म । तर अहिले गृहस्थी जीवनको क्रिचमा श्रीमतीको बल स्ट्रोक गर्दा-गर्दै इनिङ्गस् सकिजान्छ । यो म्याच वान डे वा पाँच दिने टेष्ट म्याच होइन । लाइफ लङ्ग क्रिकेट । कति ठूलो मैदान । मैदानमा एकेकजनाको एकेक नामको बाउण्ड्री। लोग्ने-स्वास्नी अनि उनीहरूका लालाबाला चाहिँ विकेट । उनीहरूका टाउकामाथि दुइवटा साना 'बेल' चाहिँ उनीहरूका माता-पिता । सामान्य छोयो कि सर्वनाश । बलर चाहिँ प्रभुजी । उनले जीवनभरि नै स्लो बल गरिरहेका छन् ।
बेला-बखत एक-दुइवटा बाउन्सर पनि आउँछ । जस्तै- हार्ट एटेक. एक्सिडेण्ट । त्यसबेला औषधिको ब्याटले खेल्नुपर्छ । डिफेन्सिभ खेल । त्यसबेला त्यो 'वान डे' होइन क्लासिक टेष्ट म्याच हुन्छ । त्यस अवस्थामा छिमेकी, आफन्त, सहकर्मीबाट विविध प्रकारका बलहरू अनवरत् आउँछन् । कुनै-कुनै फाष्ट, कुनै गुगली, स्पिन आदि । फेरि कहिले-काहीँ पहाड़े बल पनि आउँछ । त्यसबेला भने आँखा नहेरी ब्याट चलाउनुपर्छ, ओभर बाउण्ड्री । बेला-बखत रिस्क लिनैपर्छ । नो रिस्क नो गेम । तर हामीजस्ता मध्यवित्तहरूका निमित्त रन बिट्वीन द विकेटस् नै काफी हुन्छ । यस्ता ठूला प्रकारको म्याचमा दुइ प्रकारका विकेट्स पाइन्छन् । गुड विकेट र स्टिकी विकेट । तर एउटा साँचो कुरो चाहिँ के हो भने, श्रीमतीहरू सधैं नै उपकारी विकेट किपर हुन् । तिनीहरूकै डरले लोग्नेहरू क्रिचमा शान्त, संयम भएर खेल्छन् । त्यसो भएन भने ता चोखै रन आउट ।
एक दिन एकजनाको मङ्गनीमा गएको थिएँ । केटी राजी भई । मैले सोधेँ - तिमी कुन प्रकारको बल गर्न चाहन्छ्यौ ?
- बाउन्सर !
-ब्याटिङ ?
-स्क्वायर ड्राइभ!
हाम्रो पालामा हामी गार्ड बेगरै क्रिकेट खेल्थ्यौं । त्यो बानी अहिलेसम्म पनि यथावत् छ । अब चाहिँ नचल्ला-नचल्ला जस्तो छ । अबदेखि उसो सबै लोग्नेहरूले हेड गार्ड, चिन गार्ड लाएर श्रीमतीसित क्रिकेट खेल्नुपर्ने अवस्था आएको छ । कतिबेला कस्तो बल आउँछ केही भन्नु सकिँदैन । प्रिभेन्स इज बेटर द्यान क्यूर । अचेल बल र बलरको अभाव छैन । मेरैजस्तो अवस्था होला । हाम्रो देशमा अहिले पूर्ण स्वतन्त्रता छ । तीन तलाबाट कसैलाई ईँटा तल झार्नु मन लाग्यो । लाग्नै सक्छ । यो उसको इच्छा हो । नेताहरूले दुनियाँलाई लण्ड्याएर आफ्नो थैली भर्न सक्छन् भने एकजनाले माथिबाट ईँटा फ्याँक्दा वा झार्दा के हुन्छ र ! धेरभन्दा धेर नर्सिङ होममा । साह्रै भयो भने पैताला फर्काउला ।
गृहस्थीको क्रिकेट क्रिचमा विकेट किपर (श्रीमती) सित बेला-बखत रफ म्याच खेल्नु पनि पर्दोरहेछ । त्यतिबेला श्रीमतीले बल किपिङ् गर्न छोड़ेर डाड़ु-पन्यूँ, चिम्टा, बेलना कम्पनीको बल बलिङ् गर्छे । यही बलिङ्ले मेरो टाउकोमा लागेर अहिले ब्याण्डेज लाएर यो व्यङ्ग्य लेखिरहेको छु । यसलाई भनिन्छ - एच. बी. डब्ल्यू अर्थात् हेड विफोर विकेट ।
अहिले मेरी ऊ माइत गएकी छ । डिसिसन अहिले थर्ड अम्पायरका हातमा छ । हरियो बत्ती बल्ने हो कि रातो ! त्यसैको प्रतिक्षामा छु म । ब्याट हेलमेट हातमा लिएर क्रिचमा मौन उभिरहेको छु ।

सिलगढ़ी, उत्तर बङ्गाल, भारत

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु