दानवीर खनूपरुदे "रामबाबू"

- नरेन्द्रराज प्रसाई

सुप्रसिद्ध राजनीतिज्ञ तथा समाजसेवी श्री खनूपरुदे (रामबाबू) आफ्नो जीवनको यात्रामा स्वच्छ छवि कायम गरेर नेपाली समाजमा सुपरिचित हुनुहुन्थ्यो । खासगरेर राजनीतिक, समाजिक र बौद्धिक वृत्तमा उहाँले आफ्नो परिचय दिनुभएको थियो । बसुधैव कुटुम्बकम्का हिमायती उहाँले आफ्नो नाउँ पछाडि थर लेख्नु भएन ।

खनूपरुदे 'रामबाबू'को जन्म संवत् १९७८ माघ १५ गते (१९२२ जनवरी २९) मा ताप्लेजुङ जिल्लाको हाङपाङ गाउँमा भएको थियो ।

रुद्रकुमारी प्रसाई र लप्टन देवीप्रसाद प्रसाईका जेठा छोरा खनूपरुदे 'रामबाबू'ले भारतको बम्बै विश्वविद्यालयबाट कृषि विषयमा बीएस्सीको शैक्षिक उपाधि हासिल गर्नुभएको थियो । साथै उहाँ पटना विश्वविद्यालयबाट बीएल र भारतको राजकोट, गुजरातबाट एनडी पनि समुतीर्ण हुनुभएको थियो ।

खनूपरुदे 'रामबाबू' राजनीति, समाजशास्त्र, साहित्य, स्वास्थ्य आदि विषयको स्वअध्ययनमा पोख्त मानिनुहुन्थ्यो । साथै उहाँको प्रमुख अभिरुचिमा अध्ययन, लेखन, विचार आदानप्रदान, भेटघाट, भ्रमण र मनोरञ्जन थियो ।

खनूपरुदे 'रामबाबू'ले आफ्नो देश नेपाल कस्तो छ भनी जान्न र बुझ्न २०११ साल भदौ १५ गतेदेखि २०१२ साल असार १५ गतेसम्म (दस महिना) नेपाललाई आमाको रूपजस्तै सम्झेर सारा नेपालको पैदल भ्रमण गर्नुभएको थियो । त्यस बेला उहाँको भ्रमणमा साथ दिने व्यक्ति नरबहादुर डाँगी हुनुहुन्थ्यो ।

खनूपरुदे 'रामबाबू'ले झापाको विर्तामोडमा स्कुलका निम्ति एक विघा जग्गा, विर्तामोडको बजार बसाउन एक विघा पाँच कट्ठा जति जग्गा र विर्ता सार्वजनिक संस्थाका लागि पाँच कट्ठा जग्गा प्रदान गर्नुभएको थियो । ती जग्गाहरू अहिले पाँच करोड जति मूल्यका भएका छन् । साथै उहाँले झापाको मेची क्याम्पसका लागि दस कट्ठा, ताप्लेजुङको हाङपाङको बरबोटेमा सार्वजनिक संस्थाका निम्ति चार रोपनी जग्गा र ललितपुरको कुपण्डोलस्थित बागमतीमा पाटी र घाट निर्माण गर्नुभएको थियो ।

खनूपरुदे 'रामबाबू'ले कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका सम्मानमा स्थापित त्रिमूर्ति निकेतनका लागि आठ लाख रुपियाँ प्रदान गर्नुभएको थियो । उहाँले नै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म शताब्दी महोत्सव मनाउने सिलसिलाको सुरुवातमा नै एक लाख रुपियाँ प्रदान गरेर सो अभियानको सुरुवात गराइदिनुभएको थियो । साथै उहाँले देरुनिख सार्वजनिक हित गुठी नामक सामाजिक संस्थाको स्थापना गरी त्यस गुठीका लागि एक करोड एक लाख अक्षयकोष छुट्याएर त्यसको उद्देश्य प्राप्तिका लागि यथेष्ट काम गर्नुभएको थियो ।

दुई करोड पचास लाख रूपियाँ अक्षयकोष रहेको नइ प्रकाशनमा खनूपरुदे 'रामबाबू'ले पनि अक्षयकोषका लागि पचासी लाख रुपियाँ प्रदान गर्नु भएको थियो ।

खनूपरुदे 'रामबाबू' नेपाली पटभूमिको राजनीतिमा पनि निक्कै चर्चित मानिनु भयो । उहाँले १५ वर्षकै उमेरदेखि राजनीतिलाई आफ्नो कर्तव्य ठान्दै आउनुभएको छ । उहाँको राजनीतिमा समर्पणका कारण उहाँ नेपाली काङ्ग्रेसको झापा जिल्लाको सभापति बन्नुभयो, नेपाली काङ्ग्रेस मेचीकोशी अञ्चलको संयोजक बन्नुभयो र नेपाली काङ्ग्रेसको केन्द्रीय कोषाध्यक्ष पनि बन्नुभयो । नेपाली काङ्ग्रेसबाटै उहाँले २०४८ साल र २०५१ सालको आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि झापाबाट उमेद्वारी पनि दिनुभयो । उहाँ राजनीतिमा कहिल्यै नथाक्ने योद्धाका रूपमा स्थापित हुनुभएको थियो । त्यसैले खनूपरुदे 'रामबाबू'का समकालीनहरूले समेत उहाँलाई अत्यन्तै मर्यादा गर्थे ।

खनूपरुदे 'रामबाबू'ले राजनीतिक कारणले पटकपटक गरी ६ वर्षभन्दा बढी समय जेल सजाय भोग्नुभयो । त्यति मात्र होइन उहाँ ७ वर्षजति भारतमा निर्वासित पनि हुनुभएको थियो । २०३३ साल पुस १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंहसँगै उहाँ पनि भारतबाट नेपाल फर्कनुभएको थियो । उहाँ जहाँ र जुन अवस्थामा रहँदा पनि नेपालवादीकै रूपमा मात्र प्रस्तुत हुनुभयो । उहाँको जीवनमा नेपाल, नेपाल र नेपाल मात्र गाँसिएको थियो । एउटा सशक्त राष्ट्रवादीका रूपमा उहाँले ख्याति पनि कमाउनुभएको थियो ।

खनूपरुदे 'रामबाबू' राजनीतिमा पनि आफ्नै मौलिकताले सुसज्जित हुनुहुन्थ्यो । उहाँ राष्ट्रवादलाई सधैं शिरमा बोक्नुपर्छ भन्नुहुन्थ्यो । उहाँ आफ्नो सिद्धान्तमा कट्टर हुनुहुन्थ्यो । नेपाली काङ्ग्रेसले संवैधानिक राजतन्त्र निरपेक्ष (र त्यसपछि गणतन्त्र)को नीति लिएपछि उहाँ नेपाली काङ्ग्रेसलाई नै छोड्न बाध्य हुनुभयो । त्यस बेलाको उहाँको भनाइ थियो- “नेपालको स्वतन्त्रता र अखण्डता कायम राख्न प्रजातान्त्रिक संवैधानिक राजसंस्था चाहिन्छ ।'' साथै उहाँ नेपाली काङ्ग्रेस (राष्ट्रवादी)को अध्यक्ष पनि हुनुभयो ।

साधा व्यवहार, साधा बोलीवचन र साधा लवाइखुवाइमा रमाउने खनूपरुदे 'रामबाबू' सबैसँग सबैले समान व्यवहार राखेको मन पराउनुहुन्थ्यो । आफ्नो र अरूको पनि हित हुने काम गर्न सकियोस् भन्ने उहाँको जीवनदर्शन थियो । त्यति मात्र होइन ‘‘नेपाल स्वतन्त्र र अखण्डित रहिरहोस् । यस पृथ्वीका सबै मानिसहरूको कल्याण होस्, यस पृथ्वीमा सबै मानिसले लेख्ने र बुझ्ने एउटा साझा (विश्व) लिपि होस् र सबैले बोल्ने र बुझ्ने एउटा साझा (विश्व) भाषा होस् । यस पृथ्वीमा एउटा देशको मानिस अर्को देशमा सजिलैसँग आवतजावत गर्न पाओस् । विश्वबन्धुत्वको भावना प्रवल हुँदै जाओस् । मानिसमा असल गुणहरू बढ्दै जाऊन्, खराब गुणहरू घट्तै जाऊन्’’ भन्ने जीवनदर्शन बोकेर आएका खनूपरुदे 'रामबाबू' अति शिष्ट, भद्र र नढाँट्ने अग्रपङ्क्तिमा उभिने व्यक्तित्वको नाउँ हो ।

खनूपरुदे 'रामबाबू' नेपाली भाषासाहित्यमा पनि प्रचलित नाउँ हो । पहिलापहिला उहाँका लेखरचनाहरू पनि प्रकाशित भइरहने गर्थे ।

प्रजातन्त्रका हिमायती खनूपरुदे 'रामबाबू' घरपरिवारमाझ पनि प्रजातान्त्रिक आचरण मन पराउनुहुन्थ्यो । नेपाली समाजमा उहाँको जीवनपद्धति एउटा नमुनाका रूपमा नै प्रस्तुत थियो ।

खनूपरुदे 'रामबाबू'का पाँच जना सन्तान छन्, जसमध्ये उहाँकी छोरी पकिम, छोरा टोरुप, छोरा डा.डुजूप, छोरी खेचीम र छोरा डा.गीसूप आआफ्नो व्यवसाय र पारिवारिक जीवनमा आबद्ध छन् ।

खनूपरुदे 'रामबाबू' त्रिमूर्ति निकेतनका संयोजक र नइ प्रकाशनका मानार्थ सदस्य हुनुहुन्थ्यो । उहाँकै संयोजकत्वमा ‘महाकवि देवकोटा शताब्दी अभिलेख’ ग्रन्थ (२०६७) पनि प्रकाशित भएको थियो ।

खनूपरुदे 'रामबाबू' महाकवि देवकोटा शताब्दी सम्मानबाट सम्मानित हुनुभएको थियो । साथै नेपाली भाषासाहित्यका २५ जना ख्यातिप्राप्त स्रष्टाहरूद्वारा उहाँलाई नइ प्रकाशनबाट ससम्मान प्रदान गरिएको सामूहिक अभिनन्दनमा ‘दानवीर’को उपाधि प्रदान गरिएको थियो ।

खनूपरुदे 'रामबाबू'का सम्मानमा नइ प्रकाशनले २०६६ सालदेखि देशदेशान्तरका प्रतिभालाई वार्षिक एक दर्जन पुरस्कार समर्पण गर्दै आएको छ ।

खनूपरुदे 'रामबाबू' १०० वर्ष टेक्न तीन महिना बाँकी थियो । उहाँको २०७७ साल असोज २३ गते शुक्रबार काठमाडौँमा स्वर्गारोहण भयो । उहाँ नेपाली सभ्य समाजका एउटा अनुकरणीय, आदर्श र प्रेरक व्यक्ति हुनुहुन्थ्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 24 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु