कविताका विविध रूपहरू

- सुलोचना खनाल

१. विषय प्रवेश
समाज र जीवनका आन्तरिक तथा बाह्य यथार्थलाई कलात्मक भाषाशैलीद्वारा अभिव्यक्त गर्दा साहित्यको जन्म हुन्छ । साहित्यका पनि कविता, नाटक, आख्यान, निबन्धजस्ता विविध विधाहरू छन् । यी विधिहरूमध्ये कविता अत्यन्त प्राचीन मानिन्छ (त्रिपाठी र अन्य, २०५३ ः ४) । विश्वसाहित्यमै यो विधा समृद्धशाली देखिन्छ । यो विधा मुक्तकदेखि महाकाव्यसम्मका स्वरूपमा रचिन्छ । मूलतः कविता विधा लेखकीय कथनका प्राधान्यमा पद्य (गद्य कवितासमेत) का लयात्मकताका आधारमा परिचित हुन आउँछ । यसमा आख्यान तत्त्व सूक्ष्म रूपमा वा अप्रधान स्थितिमा नै रहनुपर्छ । अतः कविता लय–सङ्गीत प्रधान रचना हो । लय–सङ्गीत तत्त्वद्वारा नै यो विधा अन्य विधाबाट अलगिन सक्छ । कविताको सानो विधा मुक्तक हो भने ठूलो विधा महाकाव्य हो (गौतम, २०५५ ः ३) । यस विधाको स्वरूप मूलतः सङ्क्षिप्त (मुक्तक) र विस्तृत (महाकाव्य) दुई किसिमको देखिए पनि सूक्ष्म रूपमा हेर्दा यसलाई लघुतम, लघु, मध्यम, बृहत् र बृहत्तर गरी पाँच भागमा विभाजन गर्न सकिन्छ । यसलाई लघु, मध्यम र बृहत् गरी तीन भागमा विभाजन गरी लघुका लघुतम र लघु अनि बृहत्का बृहत् र बृहत्तर गरी विभाजन गर्ने चलन पनि छ ।

२. कविताका विविध स्वरूपहरू
२.१ कविताको लघुतम रूप
लघुतम कविता कविताको सबैभदा सानो स्वरूप हो । यसमा दुई पाउका वा चार पङ्क्तिका गीत, सूक्ति, सायरी, समस्यापूर्ति, मुक्तक, हाइकु, लोक पद्य आदि पर्दछन् । कविता जीवनसँग सम्बन्धित वस्तु हो । यहाँ जीवनको एउटा क्षण हुन्छ । अनुभूतिको सानो उन्मेष, बिजुलीको एक झिल्कोजस्तो लघुतम कविता हो । जीवनको मिहिन क्षणलाई यसले अभिव्यक्त गरको हुन्छ । यस्ता लघुतम कवितामा खास विषयको संयोजन तथा प्रस्तुतीकरणको खास प्रविधि आवश्यक हुँदैन । यो क्लासिकल वा वस्तुपरक भए सानो टुक्रा देखिन्छ भने आत्मपरक भए आत्माको सानो उन्मेष झल्कन्छ (त्रिपाठी र अन्य, २०६० ः ४०) । यो बनाएको जस्तो नभई स्वतः निर्मितजस्तो हुन्छ । कथानक, पात्र, परिवेशको अप्रत्यक्ष प्रभाव यहाँ भए पनि तिनको स्पष्ट उल्लेख हुँदैन । दुई, तीन, चार पङ्क्तिमा यो फैलन सक्छ । संस्कृत काव्यशास्त्रमा स्वतन्त्र रूपले भावबोध गराउने एक श्लोकी कवितालाई मुक्तक, दुई श्लोकी कवितालाई सन्दानितक वा युग्मक, तीन श्लोकीलाई विशेषक अथवा निक्षेपक, चार श्लोकी कवितालाई कलापक र पाँच श्लोकीलाई कुलक भन्दछन् (पराजुली, २०५५ ः ६३८) । यस्ता कवितालाई कविताको यही लघुतम भेदमा राखेर हेर्न सकिन्छ ।
यसरी लघुतम कवितामा अनुभूतिको तरलता तीव्र हुन्छ । यहाँ अनुभूतिको एक झिल्को वा एक झरी व्यक्त हुन्छ । जीवनको एक निमेषको छाया लघुतम कवितामा हुन्छ । एक उच्छ्वासका रूपमा लघुतम कविता सिर्जना गरिन्छ । एक क्षणको जीवन यहाँ प्रकट गरिन्छ । स्रष्टाका अन्तर्मनमा उठेका आकाङ्क्षाहरूको साह्रै तीब्र उठान र त्यस्तै बैठानमा पुग्दा यस्तो रचना पूर्ण हुन्छ । सीमित पङ्क्ति, मितव्ययी सीमित शब्दावलीले असीमित भाव व्यक्त्याउनु नै लघुतम कविता हो । यो अत्यन्त कसिलो र कलात्मक हुनुपर्छ । यहाँ अत्यन्त सङ्गीतमय सुललित बिम्बप्रतीककात्मक शब्दावलीमा भावलाई चमत्कृत शैलीमा अभिव्यक्त गरिन्छ । यो पिचकरीबाट निस्केको तीक्ष्णतायुक्त भावले भरिएको हुनुपर्दछ । यो यात्रा थाल्दा साथ समाप्तितर्फ मोडिएको हुन्छ । आकारगत दृष्टिले छोटो भए पनि यो स्वयंमा पूर्ण स्पष्ट र छरितो पनि हुन्छ (भण्डारी र पौडेल, २०६६ ः ८) ।
कविताको लघुतम रूपलाई संस्कृतमा सूक्ति, अंग्रेजीमा यिपिग्राम, उर्दूमा मीर गालीव, यकवाल, सायरी (गजल), जापानीमा तीन हरफे हाइकु भनिन्छ । आधुनिक नेपाली साहित्यमा मुक्तक भनेर लघुतम रूपको सानो कविता लेख्ने चलन पनि छ । नेपाली साहित्यमा दुईदेखि छ / सात पङ्क्तिसम्म पनि मुक्तक लम्बाइएको पाइन्छ । त्यसैले यस रूपलाई यति नै पङ्क्ति भनेर किटन सकिँदैन ।
समग्रमा भन्दा कविता विधाको सबैभन्दा सानो स्वरूपमा रहेको लघुतम रूप भावको तरलता, मितव्ययी सीमित शब्दावलीद्वारा तीव्र लयात्मकताका साथ जीवनको असीमित भाव अभिव्यञ्जन गर्न सफल अतिसङ्क्षिप्त कविता रूप हो । आज विश्व साहित्यमै यस रूपले लोकप्रियता कमाएको देखिन्छ ।

२.२. कविताको लघु रूप
लघुतमभन्दा विस्तृत र मध्यमभन्दा सानो आयामको कविता स्वरूपलाई लघुरूप भनिन्छ तर लघुतम रूपलाई बढाएर वा मध्यम रूपलाई घटाएर लघु कविता बन्दैन । यो आफैमा पूर्ण संरचनाको हुन्छ । मुक्तक, खण्डकाव्य, महाकाव्यजस्तो यसको नाम छैन । सामान्यतः कविताभन्दा जुन रूप बुझिन्छ त्यही रूप नै लघु कविता हो । यसलाई फुटकर कविता पनि भन्ने गरिन्छ । यसमा कविले आफ्नो सृजनशील प्रतिभा र अवधारणालाई पोख्ने अवसर पाएको हुन्छ । अंग्रेजीमा यस रूपलाई पोयम (Poem) भनिन्छ । लघुतम कवितामा झैँ यसमा पनि निश्चित लमाइ तोक्न सकिन्न तर यो कविताको मध्यम रूपभन्दा छोटो हुनुपर्छ । संरचनाका दृष्टिले उत्कृष्ट लघु कवितामा आरम्भ, मध्य र अन्त्य अवस्थाको मसिनो सङ्केत पाउन सकिन्छ (भण्डारी र पौडेल, २०६६ ः ८) ।
लघु कविता वा फुटकर कविताको पठन–श्रवण समय सामान्यतः १ / २ मिनेट देखि १० / १५ मिनेट भित्रको हुनुपर्ने मानिन्छ (त्रिपाठी र अन्य, २०६० ः ४७) । नेपाली साहित्यमा पनि अति छोटो (किन्नर किन्नरीका केही कविता) र अति लामा (पागल, ज्वरशमना प्रकृति, स्वर्ग र देवता आदि) कविता रूप पनि भेटिन्छन् । फैलने सीमाभन्दा बाहिर गयो भने लघु कविता त्यति कलात्मक र प्रभावकारी नहुन सक्छ । त्यसैले यो कविताको लघु रूपको सीमाभित्र अटाउन सकेको हुनुपर्छ ।
लघु कविता लघुतमभन्दा विस्तृत हुने भएकाले अनुभूतिमा पनि विस्तार हुन्छ । यो विस्तार जीवनको एक घडी वा एक मुहुर्तसम्म हुन सक्छ । अनुभूतिको एक झिल्को लघुतम कविता हो भने अनुभूतिको एक झरी लघु कविता हो । एक क्षणको आवेगका रूपमा लघुतम कविता सिर्जना गरिन्छ भने केही सचेत तथा चिन्तित हुँदै लघु कविता सिर्जना गरिन्छ । खण्डकाव्यमा जस्तो आख्यान र अनुभूतिको सन्तुलित प्रयोग यहाँ नभए पनि कवि सचेत हुनुपर्दछ । भाव तत्वका दृष्टिले अनुभूतिको तरलता जति लघुतम कवितामा हुन्छ त्यस भन्दा लघु < मध्यम < बृहत < बृहत्तर हुँदै जाँदा आख्यानको आभास बढी हुँदै जान्छ (भण्डारी र पौडेल, २०६६ ः ८) । लक्ष्मीप्रसाद देवकोटाको “भिखारी”, गोपालप्रसाद रिमालको “आमाको सपना”, भूपि शेरचनको “घुम्ने मेचमाथि अन्धो मान्छे”, बैरागी काइलाको “मातेको मान्छेको भाषणः मध्य रातको सडकसित”, मोहन कोइरालाको “फर्सीको जरा” जस्ता रचना लघु / फुटकर कविताका राम्रा उदाहरण हुन् ।

२.३. कवितको मध्यम / मझौलो रूप
फुटकर कविता (लघु रूप) भन्दा विस्तृत र महाकाव्य (बृहत् रूप) भन्दा सीमित कविता संरचनालाई कविताको मध्यम रूप भनिन्छ । कविताको विभाजनको मध्यविन्दुमा यो अवस्थित भएको हुँदा यसलाई कविताको मध्यम रूप भनिएको हो (त्रिपाठी र अन्य, २०६० ः ५२) । लघुभन्दा विस्तृत र बृहत्भन्दा सीमित यसको सीमा रेखा हो । यसको अर्थ लघु कविता बढाउँदा र बृहत् कविता घटाउँदा मध्यम रूप हुन्छ भन्ने होइन । मध्यम कविता रूप आफैमा स्वतन्त्र र पूर्ण हुन्छ । यसलाई अंग्रेजीमा यसलार्इ Long Poem भनिन्छ । नेपाली साहित्यमा पनि यस लामो कविता रूपको प्रयोग २०१७ सालपछि मदन रेग्मी, मोहन कोइराला, ईश्वर बल्लभ आदिले गरेको देखिन्छ ।
कविताको मध्यम रूपको पनि निश्चित सर्ग श्लोक सङ्ख्या तथा कलेबरको निश्चित आकारप्रकार तोकिएको हुँदैन (त्रिपाठी र अन्य, २०६० ः ५८–६३) । त्यसैले यो लघुभन्दा ठूलो र बृहतभन्दा सानो रूपमा अटाउनुपर्दछ । मोतीराम भट्टको ‘पिकदूत’, लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, ‘कुन्जिनी’, ‘लुनी’ आदि, समको ‘आगो र पानी’, घिमिरेको ‘गौरी’, राजेश्वरी’ आदि मध्यम कविताअन्तर्गत पर्दछन् । नेपाली लोकसाहित्य क्षेत्रका गाथा, लहरी, सवाईजस्ता रूपका साथै नेपाली लेख्य कविता जस्ता कवितात्मक रूपलाई तिनको लमाइका आधारमा मोटामोटीमा कविताको मध्यम रूपअन्तर्गत राख्ने गरिन्छ (अवस्थी, २०६४ ः ४) । लघु कविताभन्दा मध्यम कविताले जीवनलाई विस्तारमा हेरेको हुन्छ । जीवनको खास परिच्छेदलाई यसले समेट्न सक्नुपर्छ ।
कथानक, वातावरण र चरित्रको संयुक्त नाम आख्यान हो । मध्यम कवितामा अनुभूतिको आख्यानीकरणयुक्त संरचना हुनुपर्छ । लघुतम वा लघु कवितामा आख्यान तत्त्व सूक्ष्म रूपले रहेको हुन्छ, त्यहाँ भाव तत्त्वको प्रबलता रहन्छ अर्थात् भावले नै आख्यान तत्त्वले ढाकेको हुन्छ तर मध्यम कवितमा भाव तथा आख्यान तत्त्वको सन्तुलित प्रयोग भएको देखिन्छ । यसमा अनभूतिलाई आख्यानको थाक्रो दिनुपर्छ नत्र मध्यम कविता सिर्जना गर्न गाह्रो पर्छ । मध्यम कविताबाट नै अनुभूति ठोस तथा मूर्त बन्दै जान्छ ।
यसमा जीवनको एक अंश विशेषको झलक प्रस्तुत गरिन्छ । एउटै सीमित कालखण्डमा वा अल्प समयमा घटित एउटै घटना, एउटै चरित्र र एउटै प्रभाव उपस्थित गरिन्छ । यसमा एउटै रसको अभिव्यक्ति एउटै वा सीमित छन्दमा गरिनु राम्रो ठानिन्छ । विविध घटना र विविध चरित्रहरूको समावेश गरेर लेखिएका खण्डकाव्यहरू पनि पाइन्छन् तर तिनलाई आदर्श खण्डकाव्य भन्न सकिँदैन (उपाध्याय, २०४९ ः१२१) ।
नेपाली साहित्यका प्रयोगवादीहरूले लामो कवितालाई स्वीकारेका छन् । यहाँ आख्यान तत्त्व शृङ्खलाबद्ध भेटिँदैन तापनि खण्डित रूपमा नै भए पनि आख्यान भेटिन्छ । प्रयोगवादीका अनुसार कविता चेतन मनबाट ननिस्किएर अचेतन मनबाट निस्कन्छ । यो मूर्त नभई अमूर्त हुनुपर्छ । कविता अर्थिनुपर्ने, शृङ्खलाबद्ध हुनुपर्छ भन्ने छैन । अचेतनबाट कविता निस्कदा भाषा भाँचिन सक्छ । यो संरचना विहीन संरचना, शृङ्खला विहीन शृङ्लखा, सङ्गति विहीन सङ्गतिको बन्न सक्छ । अनुभूतिलाई शृङ्खलाबद्ध गर्न आख्यान तत्त्व स्वीकारिएको हो तर शृङ्खला विहीन अवचेतनका आवेग नै कविता मान्नेका लागि यो सम्भव छैन । त्यसैले प्रयोगवादीहरूले लामो कवितामा सुस्पष्ट भाव र आख्यान मिलेको संरचना भएर सम्प्रेषणीय हुनुपर्छ भन्ने कुरालाई मान्यता दिँदैनन् । नवीनभन्दा नवीन प्रयोग अँगालेर यसको बाह्य र आन्तरिक स्वरूप तयार गरिएको हुन्छ । यो छन्दोबद्ध नभई मुक्त लयमा आबद्ध हुन्छ । अमूर्त दृश्य चित्र र बिम्बहरूको सघन प्रस्तुतिले गर्दा यसमा भाव, विचार र कथानक तथा पात्रीय अन्विति टम्म मिलेको देखिँदैन । यसको आन्तरिक संरचना विशृङ्खलित किसिमको हुन्छ । अतः केवल आख्यानको आभास दिने वा बिच बिचमा आख्यान चूर्णहरू रहने अथवा आख्यानेतर कुनै केन्द्रीय तत्त्वबाट अन्विति ग्रहण गर्ने कविताको मध्यम रूप नै लामो कविता हो । खण्डकाव्यका तत्त्वभन्दा केही भिन्न किसिमका तत्त्वबाट लामो कविता निर्मित हुन्छ ।
समग्रमा भन्दा भाव तथा आख्यानको सन्तुलित प्रयोगले कविताको मध्यम रूपलाई बढी सशक्त बनाएको हुन्छ भने आख्यान विहीनताले कविताको मध्यम रूपलाई कमजोर बनाउँछ । त्यसैले आज जति ‘मुनामदन’ र ‘राजेश्वरी’ प्रिय छन् त्यति ‘आगो र पानी’, ‘ऋतुविचार’, ‘नदी किनारका माझी’, ‘लेक’, ‘सिमराको राजदूत’ छैनन् । त्यसैले आख्यान र अनुभूतिको सन्तुलित प्रयोगद्वारा नै कविताको मध्यम रूप बढी कलात्मक स्तरीय तथा लोकप्रिय बन्न सक्दछ ।

२.४ कविताको बृहत् रूप
कविताको मध्यम रूपपछि बृहत कविता आउँछ । संस्कृत भाषामा यसलाई महाकाव्य भनिन्छ । नेपालीमा पनि कविताको बृहत् रूप बुझाउन महाकाव्य शब्द नै प्रयोग गरिन्छ । महाकाव्यमा महत् (विशाल, व्यापक) र काव्य (कविता) दुई शब्दको योग छ । त्यसैले यहाँ जीवन र समाजको विस्तृत चित्रण भएको हुन्छ । जीवनको अथदेखि इतिसम्मको अभिव्यक्ति यस्ता रचनामा भएको हुन्छ । परम्परागत परिभाषाले सुगठित प्रबन्ध विधानद्वारा उदात्त र विराट् अकारसँग सम्बन्धित कलात्मक महाकाव्यहरू यसअन्तर्गत पर्दछन् । लमाइका आधारमा एक हजारभन्दा बढी चतुष्पदी श्लोक सङ्ख्या भएका भानुभक्तको ‘रामायण’, देवकोटाको ‘शाकुन्तल’, समको ‘चिसो चुल्हो’ आदिलाई बृहत् रूपअन्तर्गत समेटिन्छ (अवस्थी, २०६४ ः ४) । अंग्रेजीमा महाकाव्यलाई Epic वा Epic of Art भनिन्छ । यसको अर्थ ग्रीकमा बोली, शब्द, गीत (स्पीच, वर्ड, सङ्ग्) आदि हुन्छ । यो भव्य शैलीमा गरिमामय विषय र गम्भीर पात्रहरू राखेर उपयुक्त प्रयोजनको सृष्टिका निम्ति तयार गरिने लामो वर्णनात्मक कविता हो (गौतम, २०५५ ः १) । अनुभूतिको प्रवाहका दृष्टिले एक झिल्को, एक झरी, एक प्रहर क्रमशः लघुतम, लघु मध्यम, रूपमा हुन्छ भने बृहत् कवितामा अनुभूतिको नदी हुन्छ । अनुभूतिको विस्तार विना महाकाव्य सिर्जना गर्न सकिन्न । विषयवस्तुको वैविद्यता र अनुभूतिको विशालता महाकाव्यको चिनारी हो । बहुविध जीवनका बाह्य रूपका साथै अनेकन अन्तरङ्ग पक्षलाई पनि महाकाव्यले समेट्न सकेको हुनुपर्छ । जीवनको पूर्णता समात्नु नै जीवनका विविध पाटाको अध्ययन गर्नु हो जो काव्यको बृहत् रूपमा आवश्यक ठानिन्छ । मान्छेका विविधतामय जीवनलाई समेट्दा निश्चय नै महाकाव्य विस्तृत हुन्छ । अतः कविताको बृहत् रूप वा ठूलो एकाइ महाकाव्य हो । कविताको यो रूप कालिदास, मिल्टन, तुलसीदास, प्रसाद, देवकोटामा देखापर्छ (जोशी, २०५१ ः ५) । यसका सुरुका उत्कृष्ट रूप त ल्याटिन भाषाका महाकवि भर्जिलको ‘इनीड’ र संस्कृत भाषाका महाकवि अश्वघोषका ‘बुद्धचरित’ र ‘सौन्दरानन्द’ महाकाव्यलाई मानिन्छ (पोख्रेल, २०५६ ः ६००) ।
आख्यानीकरणका दृष्टिले हेर्दा कविताको मध्यम रूपबाटै यसको टड्कारो आवश्यकता हुन थाल्छ । बृहत् कवितामा त यो अनिवार्य नै हुन पुग्दछ । अनुभूतिका फूलहरूलाई आख्यान सूत्रमा उनेर महाकाव्य रूपी माला गास्न सकिन्छ । आख्यानले अनुभूति रूपी फूल जोड्ने सूत्रको काम गरेको हुन्छ । जीवनको त्यो दीर्घतम स्वरूपलाई बढीभन्दा बढी शृङ्खलित गर्न आख्यानको आवश्यकता हुने गर्छ । महाकाव्यमा अनुभूतिको भेलको छाल छचल्किएको हुन्छ । त्यो भेललाई धान्न सक्ने उत्कृष्ट आख्यान यहाँ आवश्यक हुन्छ । जीवनको विराटतालाई समेट्न सक्ने विस्तृत घटनाप्रवाह भएको आख्यान महाकाव्यमा अपेक्षित ठानिन्छ । संरचनाका दृष्टिले महाकाव्य सुसङ्गठित हुन सकेन भने महाकाव्य बन्न सक्दैन । प्रत्येक अनुभूति अवयवहरूको सङ्गति महाकाव्यमा हुनुपर्छ । अनुभूति अवयवलाई समन्वित रूपमा प्रस्तुत गर्ने प्रविधि नै संरचना हो । पूवीर्य साहित्यमा यसको आवश्यकता अनुभव गरेर नै पञ्चसन्धिको स्थापना गरिएको हो भने पश्चिममा दुखान्त जस्तै सुनिर्मित भनिएको पाइन्छ । कुशल महाकाव्यले आख्यानका प्रसङ्ग–प्रसङ्गमा अनुभूति बगाउनुपर्छ । त्यसैले महाकाव्य व्यापक परिवेशलाई अँगाल्न सक्ने विशालकाय सर्गबद्ध रचना हो (जोशी, २०४६ ः ३७) । तर नेपाली महाकाव्यमा त्यस्तो गुण भेटिँदैन । देवकोटा अनुभूतिलाई भागिरथी प्रवाहझैँ बगाउँछन् तर आख्यानको सुयोजन गर्न सकेको देखिँदैन भने लेखनाथले पनि आख्यानको राम्रो योजना गर्न सकेको पाइँदैन । समले अनुभूति र आख्यान दुवै प्रयोग गरे तर त्यहाँ हार्दिकताभन्दा बौद्धिकताको भार बढी भयो । सोमनाथमा आख्यान र अनुभूतिको सन्तुलन भए पनि कविताको चोखो पक्ष भावना हराएको देखिन्छ । त्यसैले नेपाली महाकाव्यको इतिहासमा सर्वोत्कृष्ट महाकाव्य भन्न सकिने रचना आजसम्म पनि सिर्जना हुन सकेको देखिँदैन ।
समग्रमा भन्दा कविताको बहत् रूपअन्तर्गत पर्ने महाकाव्य संसारकै बूढो पुरानो विधा हो । यसलाई ललित महाकाव्यअन्तर्गत राखेर पनि हेरिन्छ । संस्कृत साहित्य तथा अंग्रेजी साहित्य दुवैतिर यो विधा जीवनको उच्चता, भव्यता, गाम्भीर्यताले भरिएको गरिमायुक्त रचनाका रूपमा प्रतिष्ठित हुँदै विकसित भएको देखिन्छ । दुवैतिर उच्चस्तरीय महाकाव्यहरू लेखिएका पाइन्छन् भने नेपाली साहित्यमा पनि यस्तो रचना सिर्जना गर्ने प्रयास देवकोटा, सोमनाथ, लेखनाथ, समजस्ता प्रतिभाबाट भए पनि यी सबैमा कुनै न कुनै कमजोरी देखापर्छन् । त्यसैले नेपाली महाकाव्य परम्परामा उच्चस्तरीय रचना लेखिन नसकेको देखिन आएको छ । विश्वसाहित्यमै आज यस विधाको लोकप्रियता कम भएको देखिन्छ । नेपाली साहित्यमा पनि यस्तो अवस्था सिर्जना भएको छ ।
२.५ कवितको बृहत्तर रूप
कवितको बृहत् वा बृहत्तर दुवै रूपले महाकाव्यलाई जनाउँछन् । बृहत्तर महाकाव्यलाई कतिपय समालोचकहरूले विकसनशील महाकाव्य (Epic of Growth) पनि भन्दछन् । यी दुई रूपलाई पनि छुट्याउने केही आधारहरू छन् । जीवनको सम्पूर्णताको अभिव्यक्ति बृहत् महाकाव्यमा हुन्छ भने जीवनको समग्रतालाई मात्रै नभई सिङ्गो युग, जाति, सिङ्गो सभ्यताको अभिव्यक्ति बृहत्तर महाकाव्यमा हुन्छ । मानवजातिका ज्ञानकोश बृहत्तर कवितामा हुन्छ । अनुभूति आख्यान, संरचना र लयको चरमोत्कर्ष बृहत्तर कवितामा हुन्छ (त्रिपाठी, २०६० ः ८८–८९) । विशाल जातीय जीवन र संस्कृतिको महाप्रवाह स्वरूप रहेको, सिङ्गो, सग्लो र परिपूर्ण अनुभूतिको व्यापकता, युग र जीवनको विशाल धरातललाई आलोकित तुल्याउने अनि विराट् र भव्यतर रूपमा प्रस्तुत गर्ने शक्ति सामर्थ्य बृहत्तर कवितामा जीवन्त रूपमा रहेको हुन्छ (चापागाई, २०५१ ः ८) । अनुभूतिको अजस्र धारालाई धान्न सक्ने आख्यान र तिनको संरचनालाई बृहत्तर कविता भन्न सकिन्छ । यहाँ आफ्नो सभ्यता संस्कृतिको गान हुन्छ । महाकविको अनुभूति लयात्मक हुँदा यसको सिर्जना हुन्छ । कवितात्मक अनुभूतिको विस्तारका दृष्टिले पनि यो उत्कृष्ट मानिन्छ । एक किसिमले यो जाति, युग, सभ्यता, संस्कृतिको सुरक्षित कोश हो ।
बृहत्तर महाकाव्यको लेखन विश्वमै नगन्य देखिन्छ । बाल्मीकि र उनको ‘रामायण’, व्यास र उनको ‘महाभारत’ फिदौसी र उनको ‘शाहनामा’, होमर र उनका ‘इलियट’ र ‘ओडिसी’ बृहत्तर कविताका उदाहरण हुन् (जोशी, २०५२ ः ३) । यस्ता कृतिहरूलाई उपजीव्य महाकाव्यका रूपमा पनि हेरिन्छ । यस्ता कृतिमा अनुभूति आख्यान संरचना र लयको समुचित समन्विति देखिन्छ ।
बृहत् कविता रूपलाई समयक्रममा लोकजीवनले थप्दैथप्दै ल्याएको विस्तृत रचना मान्ने चलन पनि छ । यस्ता रचना एक व्यक्तिले नभई लोकजीवनले सिर्जना गर्ने र व्यक्तिको भूमिका त त्यहाँ सम्पादनको मात्रै हुने पनि ठानिन्छ । आजको ‘महाभारत’ पहिला ‘जय’, त्यसपछि ‘भारत’ र अन्त्यमा ‘महाभारत’का रूपमा विकसित भएको रचना मानिन्छ । यस्तै आजको बाल्मीकि रामायण पनि कोशल, किष्किन्ध र लङ्काका कम्तीमा तीनवटा लोक महाकाव्यका चक्काहरू जोडिएर बनेको हो भन्ने यसका अनुसन्धाता फादर कामिल बुल्केको मत रहेको छ (पोख्रेल, २०५५ ः ६००) । यस्तै अनुसन्धाता ए.बी.लर्ड (सन् १९६०) ले युगोस्लाभियामा अहिले पनि लेखपढ गर्न नजान्ने जातिहरू बीच होमरको महाकाव्य जस्तै मौखिक महाकाव्य गाउँदै हिँडेको भेटेका थिए । एङ्लो सेक्सनहरूको ‘बिओबुल्फ’, जर्मनहरूको ‘निबेलउँगेनलीद’, इरानको ‘शाहनामा’ र स्केन्डिनेभियाका ‘सागा’हरू लोक महाकाव्यका नमूना मानिन्छन् । संसारकै पुरानो लोक महाकाव्य भने प्राचीन सुमेरहरूको गिल्गामेश (इ.पू. ३०००) मानिएको छ । यसका धेरै लक्षण ‘इलियट’ र ‘महाभारत’सँग मिल्ने कुरा पनि बुझिन्छ (पोख्रेल, २०५६ ः ६००) । अर्को कुरा ‘महाभारत’ र ‘इलियट’का रचयिता मानिने व्यास र होमर शब्दको अर्थ कतिपयले सम्पादक लगाएको पनि देखिन्छ (पोख्रेल, २०५६ ः ६००) । यसरी कविताको बृहत् रूपलाई एकै व्यक्तिले नभई पुस्तापुस्ताको लोकजीवनले सिर्जना गर्ने रचना पनि मानिँदै आइएको छ । हाम्रा गाइनेहरूले गाउने गाथाचक्रहरूको विस्तृत अध्ययन गर्दै जाँदा यस्ता रचना पनि भेटिन सकिने सम्भावना कायमै रहेको छ ।

३. उपसंहार
प्राचीन तथा सम्मृद्धशाली विधाका रूपमा देखा परेको कविता विधाका विभिन्न रूपहरू देखापरेका छन् । सूक्ष्म रूपबाट हेर्दा यसलाई लघुतम, लघु, मध्यम, बृहत्, बृहत्तर गरी पाँच भागमा विभाजन गर्न सकिन्छ । यी रूपहरूलाई हेर्दा मुक्तक, फुटकर कविता, खण्डकाव्य तथा लामो कविता, ललित महाकाव्य, विकासशील वा विकसनशील महाकाव्यजस्ता कविताका उपविधा भन्न सकिन्छ । यी सबै कविताका छुट्टाछुट्टै स्वतन्त्र अस्तित्व प्राप्त पूर्ण उपविधा हुन् । कवितामा हुने तत्त्वहरू भाव / अनुभूति, आख्यान, लय तथा संरचनाका कोणबाट अध्ययन गर्दा कविताका लघुतम रूपमा भाव / अनुभूतिको तरलता तीव्र हुन्छ भने लघु, मध्यम,  बृहत् र बृहत्तर हुँदै जाँदा भाव / अनुभूति क्रमशः ठोस बन्दै जान्छ । लघु कवितामा आख्यान तत्त्वको सूक्ष्म वा झिनो प्रयोग भए पनि मध्यमदेखि बृहत् तथा बृहत्तर रूपमा आख्यानीकरण अनिवार्य हुन्छ । प्रयोगवादी लामो कवितामा पनि विशृङ्खलित वा टुक्रे रूपमा भए पनि आख्यानको प्रयोग अनिवार्य जस्तै हुन्छ । लघुतम रूपमा स्वतः संरचना हुने भए पनि लघुदेखि माथिल्ला रूपको सृजना गर्दा संरचना पक्षमा बढी सचेतता अपनाउनुपर्छ । कविता लयात्मक विधा भएकाले यी सबै रूपमा लय सिर्जनाका आवश्यकतालाई नकार्न सकिँदैन । यो पनि जति सानो स्वरूपमा तीव्रतम बनेर आउनुपर्छ त्यति ठूलो स्वरूपमा तीव्रतम नबन्ने स्थिति बन्दै जान्छ । समग्रमा भन्दा कविता जति सानो रूपमा बढी तीक्ष्ण र कसिलो भाव र भाषाले भरिएको हुन्छ त्यति त्यसको आकार फुक्दै जाँदा त्यस्तो तीक्ष्ण र कसिलोपन कम हुँदै जान्छ ।

सन्दर्भ ग्रन्थ
अवस्थी, महादेव (२०६४), आधुनिक नेपाली महाकाव्य र खण्डकाव्य विमर्श, काठमाडौ ः इन्टेलेक्च्युअल्ज बुक प्यालेस ।
उपाध्याय, केशवप्रसाद (२०४९), साहित्य प्रकाश, पाचौँ सं., ललितपुर ः साझा प्रकाशन ।
गौतम, कृष्ण (२०५५), पाश्चात्य महाकाव्य, काठमाडौँ ः भुँडीपुराण प्रकाशन ।
चापागाई, नरेन्द्र (२०५१), केही सिद्धान्त ः केही विश्लेषण, विराटनगर ः पूर्वाञ्चल साहित्य प्रतिष्ठान ।
जोशी, कुमारबहादुर (२०५२), महाकवि देवकोटा र उनका महाकाव्य, तेस्रो सं., ललितपुर ः साझा प्रकाशन ।
जोशी, ताराप्रसाद (२०४६), आदर्शराघवको शास्त्रीय विवेचना, काठमाडौँ ः रत्नपुस्तक भण्डार ।
त्रिपाठी, वासुदेव र अन्य (२०६०), नेपाली कविता भाग ४ चौथो सं., ललितपुर ः साझा प्रकाशन ।
पराजुली, कृष्णप्रसाद (२०५५), “मुक्तक” नेपाली साहित्य कोश, सम्पा. बराल, ईश्वर अन्य, काठमाडौ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
पोख्रेल, माधवप्रसाद (२०५५), “महाकाव्य” नेपाली साहित्य कोश, सम्पा. बराल, ईश्वर अन्य, काठमाडौ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
भण्डारी, पारमणि र माधवप्रसाद पौडेल (२०६६), नेपाली कविता र काव्य, काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।

(उपप्राध्यापक, पृथ्वीनारायण क्याम्पस, पाोखरा)

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 20 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु