माधव घिमिरेको महाप्रस्थान !

- प्रा. डा. ऋषिराम शर्मा

सत्यम् शिवम् र सुन्दरम्‌का कवि ! नेपाली माटो र मुटुका असाध्यै प्रिय कवि, नेपाली प्रकृति र संस्कृतिको महिमागान गर्ने कवि, हाम्रा महान् कवि माधव घिमिरेको महाप्रस्थान भयो ! शताब्दी बाँचेका एक कविको अर्थात् सिङ्गो एक शताब्दीको अवसान भयो ! देशभक्ति र राष्ट्रप्रेमका सर्वाधिक सशक्त र हृदयस्पर्शी कृति रचना गरेका र राज्यले राष्ट्रकविको उपाधि प्रदान गरेका हाम्रा ह्दयका कविको भौतिक काया अनन्तमा विलीन भयो ।
प्रा.डा.ऋषिराम शर्मा

एकसय वर्ष पहिले लमजुङको पुस्तुनमा जन्मेका घिमिरेको भौतिक काया विलीन भए पनि उनका दर्जनौ कृतिहरूमा उनको कीर्तिकाया भने पुस्तौँपुस्तासम्म जीवित रहिरहने छ । देवकोटा लेख्छन्, ‘हामी भानुभक्त पढेर पढ्न सुरु गर्छौ, उनलाई हेला गरेर समाप्त गर्दछौँ’ । कतिपय अवस्थामा माधव घिमिरेमा पनि यो मिल्दोरहेछ ! माधव घिमिरेका कविताबाट साहित्यको आदिम आस्वादन गर्नेहरू, उनकै कविताका धुलेपाटीमा कविताका कखरा सिक्नेहरू र उनकै कविताका सुमधुर लय गुनगुनाउँदै कवितामा तोते बोल्नेहरू र उनकै कविताका दौराको फेरो समातेर कवितामा तातेताते गर्नेहरू कुर्कुरे बैँस चढेपछि जब कुनै वादको अलिक बढी पावरको र आँखा नसुहाउँदो उत्तरआधुनिक चस्मा लगाएर छड्के नजरले हेर्न थाल्छन्, तब माधव घिमिरेका कविताको गन्ध पनि मन नपर्ने हुने रहेछ कि क्या हो !

आफू उँभिएको ठाऊँलाई केन्द्र मानेर अरूलाई छेउको भन्न पाइन्छ, कुनै विचारका केन्द्रमा बसेर सोही विचारको चस्मा लगाएर हेर्दा माधव घिमिरे छेउमा देखिन सक्छन् ! घिमिरे ०३६ सालको आन्दोलनमा साठी वर्षका, ०४६ सालको आन्दोलनमा सत्तरी वर्षका र ६२/६३ को आन्दोलनका बेला ८८ वर्षका वृद्ध थिए भने २००७ सालको आन्दोलनमा भने उनी ३१ वर्षे भर्भराउँदा युवा थिए !

युवा अवस्थामा सैद्धान्तिक र व्यावहारिक रूपमा पनि कम्युनिस्ट र प्रगतिवादी हुनु अनि चालिसेको उकालो उक्लिसकेपछि गोजीमा कम्युनिस्ट पार्टी वा त्यसको कुनै भ्रातृसङ्गठनको नवीकृत रसिद र निधारमा कुनै नाथको टीका वा बगलीमा बगलामुखीको स्तोत्र राखेका (र अहिले नराखेका भए पनि भविष्यमा त्यसो गर्नै पर्ने) हरूले माधव घिमिरेका योगदानमाथि औँलो ठड्याए भन्दैमा कागका पछाडि दगुर्नुको के तुक होला र ? उकालो लाग्दो उमेरको युवा अवस्थामा भौतिकवादी र ओरालो लाग्दो उमेरको प्रौढ अवस्थामा अध्यात्मवादी देखिने गरेका उदाहरण खोज्दै गयो भने नेपाली राजनीतिमा बग्रेल्ती भेटिँदा हुन् !

नत्र युवा अवस्थामा जीवनको पूर्वार्धमा क्रान्तिका मशाल बोक्नेहरू र समाजवादी क्रान्तिका कुरा गर्ने आदर्श पुरुषहरूले साठी वर्ष नपुग्दै भैँसी, बोका, कुखुरा र कुभिन्डो पूजा गरेका र कतैकतै पीतवस्त्र धारण गरेका समेत समाचारहरू हाम्रा आँखामा ठुङ मार्न आउँदैनथे होलान् ।

युवा अवस्थामा भनौ वा २००७ सालको क्रान्तिको सेरोफेरोमा भनौ, घिमिरेले जेजस्ता क्रान्तिकारी र परिवर्तनकारी कविता लेखेका छन्, त्यसले घिमिरेको तात्कालीन क्रान्तिचेतलाई उजागर गर्दछ ! घिमिरे नवयुवक कवितामा युवालाई आह्वान गर्दै मन्दाक्रान्ता छन्दमा लेख्छन् : ‘छिः यो बेला नबस घरमा निस्क आलस्य फाली, हे तन्देरी उठन पृथिवी तीन बित्ता उचाली ।‘ सोही कवितामा उनी लेख्छन्ः अग्ला सिंहासनहरू हिले क्रूर अन्याय काँपे, सामन्तीका खँडहरमहाँ क्रान्तिका दूत नाचे । कलमवीर कवितामा लेखक र साहित्यकारको कलमको ताकत र शक्ति कति हुन्छ भन्ने कुरा उनले एक वाक्यमा जसरी भनेका छन् त्यसरी आजसम्म कुन लेखकले भन्न सकेको होला ! ‘पेली थोत्रा नियम युगको चक्र पल्टाइदिन्छु’ ।

यसरी जसका कविताले आफ्नो समय र युग हल्लाएका छन् त्यस्ता कविका कवितामा सङघर्षको कुरै छैन भन्नु कति जायज होला ! गत वर्ष असौज ७ गते माधव घिमिरेको जन्मोत्सवका दिन माधव धिमिरेको शताब्दी यात्रा ।।।शीर्षकमा पत्रकार गिरीश गिरीलेएक अनलाइनमा लेख लेखे । उनका रचनामा माया पिरती, देशभक्ति र प्रकृति छ, समाजको संघर्ष छैन भन्ने आलोचना एकथरीले लगाउने गरेका छन् भन्दै जब यसै विषयसँग सम्बद्ध प्रश्न आएपछि उन्मुक्तसँग गफिँदै र पोखिँदै कवि घिमिरेले प्रस्टैसँग भनेको कुरा भनी गिरीले लेखेका छन्, ‘म त एभरग्रिन चिज चाहिन्छ भन्छु,’ ।।।।‘राजनीतिबाट प्रेरित भएको साहित्य सधैंभरि बाँच्दैन। म त्यतातिरको हुँदै होइन।’

माधव घिमिरेको यस साहित्य राजनीतिबाट प्रेरित हुनुहुँदैन भन्ने अभिव्यक्ति उनी सयवर्षको हुँदाको हो । उनको यो कथनका आधारमा उनी आलोच्य पनि होलान् । सैद्धान्तिक रूपमा साहित्य राजनीति निरपेक्ष हुँदैन भन्ने मान्यताका कोणबाट हेर्दा यो अनुपयुक्त पनि होइन तर यही आग्रहका आधारमा उनको शाश्वत काव्यमूल्य र योगदानको अवमूल्यन गर्नु कत्तिको उपयुक्त हो भन्ने प्रश्न उठ्नु पनि स्वभाविकै हो !

माधव घिमिरेका कविताबाट साहित्यको आदिम आस्वादन गर्नेहरू, उनकै कविताका धुलेपाटीमा कविताका कखरा सिक्नेहरू र उनकै कविताका सुमधुर लय गुनगुनाउँदै कवितामा तोते बोल्नेहरू र उनकै कविताका दौराको फेरो समातेर कवितामा तातेताते गर्नेहरू कुर्कुरे बैँस चढेपछि जब कुनै वादको अलिक बढी पावरको र आँखा नसुहाउँदो उत्तरआधुनिक चस्मा लगाएर छड्के नजरले हेर्न थाल्छन्, तब माधव घिमिरेका कविताको गन्ध पनि मन नपर्ने हुने रहेछ कि क्या हो !

फेरि अर्को विडम्बना र आश्चर्यको कुरो के पनि छ भने प्रगतिवादी लेखकको लाइसेन्स वा पुर्जा गोजीमा बोकेर हिँड्नेहरू र त्यसको नेतृत्व गर्नेहरू चोकचोकमा थोकमै भेटिन्छन् तर तिनकै कविता के कति छन् ! एक दुई थान भए पनि ती के कति प्रगतिशील छन् र के कति मायाप्रीतिका रोमान्सले भरिएका छन् के कति काव्यत्वविहीन बोक्रे आदर्शले चुलिएका छन् त्यसको पनि एक दिन अनुसन्धान होला नै ! फेसबुकमा पोतिने केही चर्चित प्रगतिशील (! ) र ( खासै कविता सङ्ग्रह नै नभएका)का केही कविहरूका केही रोमान्सले भरिएका कविता देखेर र उनीहरूको आचरण देखेर उनीहरूका गोजीमा रहेको प्रगतिशीलताको निस्सा पनि कस्ताका गोजीमा पसिएछ भनेर हैरान हुँदो हो !

अर्को कुरा प्रगतिवादी लेखकको पुर्जा नै नलिएका वा पुर्जा नवीकरण नै नगरेका तर उक्त मार्क्सवादी प्रगतिवादी विचारप्रति निष्ठावान् र बेजोड कविता लेख्ने कतिपय सशक्त प्रगतिवदी (प्रगतिशील कवि पङ्क्ति पनि उत्तिकै छ, जो माधव घिमिरेका योगदानको उच्चतम मूल्याङ्कन गर्दै शालीन र शिष्टरूपमा आलोचना गर्छन् ।

माधव धिमिरे (एक सय वर्षसम्म अर्थपूर्ण जीवन बाँच्ने) शताब्दीपुरूष र आधुनिक नेपाली कविताका (लेखनाथ र लक्ष्मीप्रसाद युगपछिको अर्को युगको नेतृत्व गर्ने) युगकवि पनि हुन् । शताब्दीपुरुष पदवी सत्यमोहन र युगकवि पदवी सिद्धिचरणले पाइसकेका हुँदा एक व्यक्ति एक पद (!) को विधि र पद्धति (!) अनुसार माधव घिमिरेलाई उक्त पदद्वारा मैले यहाँ पुकार्न मिल्ने कुरै भएन !

हो, माधव घिमिरे मार्क्सवादी दर्शनबाट प्रेरित भएर कविता लेख्ने प्रगतिवादी कवि होइनन् तर राजनैतिक स्वतन्त्रता सामाजिक र आर्थिक न्यायका पक्षमा कविता लेख्ने प्रगतिशील कवि भने हुन् भन्ने कुरा उनका कवितामा व्यक्त ( र यस लेखमा दिइएका विभिन्न उदाहरणले ) त्यस्तो विचारको साक्ष्य प्रस्तुत गरेकै छ ।

उनका कवितामा राजनैतिक चेत एवम् सामाजिक र आर्थिक समानताका चेतनाको अभिव्यक्ति पनि देखापर्दछ ! यद्यपि माधव घिमिरेलाई विगत आधा शताब्दीदेखिका नेपाली साहित्य र भाषाका आधिकारिक पाठ्यपुस्तकमा समाविष्ट गरी विद्यार्थीहरूलाई माधव घिमिरे “नेपाली साहित्यको स्वच्छन्दतावादी धाराका कवि हुन्” भन्दै पढाइँदै आएको छ !

उनका कविता कालजयी छन् । “गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली जय जय जय नेपाल सुन्दर शान्त विशाल !” : “नेपाली हामी रहौँला कहाँ नेपालै नरहे”: “लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो चिमालचुली मुन्तिर पानी भर्ने पँधेरो”: “यही हो मेरो मिथिला धरती शस्य श्यामला”: “पारिन्छ सत्ता जब खण्ड खण्ड रहन्छ के राष्ट्र त्यहाँ अखण्ड”: जस्ता शीर्षक र कवितांशबाट चुलिएको उनको काव्यात्मक उँचाइ, उनको लोकप्रियताका शिखरको फेँदीमा बसेर उफ्रँदैमा घट्ने होइन क्यारे !

माधव घिमिरेका काव्यकृति प्रकृति, मानवता र राष्ट्रियताका त्रिवेणी हुन् । नेपालको सांस्कृतिक र भौगोलिक विविधता पनि उनका कविताको प्राण हो । सामान्यतया परिभाषेय शब्दको परिभाषा शब्दमा दिने गरिन्छ तर कवि घिमिरेले गीत, गीतिकविता, पद्यकविता र गद्य कविताका बारेमा परिभाषा दिँदा प्रकृतिको नै सहारा लिएको रमाइलो सन्दर्भ छ ! गिरीश गिरीले उही लेखमा लेखेका छन् ,

“उनले धेरै वर्षअघि अन्तर्वार्ता दिँदा भनेका रहेछन्, ‘गीत एक हाँगाबाट गाउँदै अर्को हाँगामा पुगेर फेरि उही हाँगामा आउने रानीचरी हो।’
त्यसैगरी गीतिकविता ‘एक कुञ्जवनबाट अर्को कुञ्जवनमा गाउँदै डुल्ने कोइली हो। पद्यकविता भने ‘पंक्तिबद्ध रूपमा गाउँदै हिमालपारि पुग्ने मालचरी हो र गद्यकविता फूलबारीभरि गुन्गुनाउँदै फैलिने एक हुल मौरी हो।’

माधव घिमिरेका बारेमा धेरैले लेखे तर कवि श्यामलले भाद्र ६ गतेको नयाँ पत्रिकाको ‘झन् नयाँ’मा माधव घिमिरेको साहित्यिक तात्पर्य शीर्षकको लेखको उपसंहारमा घिमिरेको वास्तविक, गहन र शालीन मूल्याङ्कन यसरी गरेका छन्ः


“नेपाली लोकभावनालाई यति गहिरोसँग आत्मसात् गर्ने, नेपाली कण्ठलाई यसरी पछ्याउने र नेपाली ग्राम्य संस्कृतिलाई आफ्ना रचनाका माध्यमबाट यसरी प्रतिष्ठा दिने अर्को कवि नेपाली साहित्यमा कोही छैन । वैचारिक आस्थाको स्तरमा भलै हामी उनीसँग सहमत नहौँला, तर उनले काव्यकलामा व्यक्त गरेको प्रेम र देशभक्तिको भाव र भाषाको शौष्ठव हामीबाट पृथक् रहन सक्दैन ।।।।। उनीबाँचिरहनेछन्, लेखनाथ, देवकोटा, सिद्धिचरण र समझैँ । भाँडामाझ्नेहरूले भाषामाझ्नसिके भने त्यहाँ माधव घिमिरे सम्झिइनेछन् ।“

हो, माधव घिमिरे प्रगतिवादी कवि होइनन् तर जनजीविकाको सवाल, गास, बास र कपास, सामाजिक न्याय र आर्थिक समानताबारे उनले सशक्त प्रगतिशील कविता रचेका छन् । कोही कोही प्रगतिवादी हु भनी दावी गर्ने र माधव घिमिरेको आलोचना गर्दा क्रान्तिकारिताको थप रिचार्ज हुन्छ भनी ठान्नेहरूका लागि माधव घिमिरेको किन्नर किन्नरी कविता सङ्ग्रहमा रहेको यो मेरो धोको शीर्षक कविताका यी पङ्क्तिपुञ्ज नै काफी छन् ।

यी पङ्क्तिका बारेमा लोकप्रिय युवाकवि सुदेश सत्यालले आफ्नो फेसबुक स्टाटसमा यसरी पोस्ट गरेका छन् “देवकोटाको पागल ,रिमालकोआमाको सपना कवितामा कपास जस्तो भाषामा देखिएको विद्रोही चेत घिमिरेको यो गीति कविता पनि अभिव्यञ्जित छ”


तोपचरीको गुँडै राम्रो पूर्वतिर दैलो
भाइको भने घरै छैन कहाँ खेलूँ भैलो
कस्तो हुन्थ्यो (एक घर सबैलाई पुगे
मेरो दिल दुख्छ हजुर भाइको दिल दुखे ।।

पल्लो घरको धुरीबाट धुवाँ आको छैन
मैले खाई के सार भयो भाइले खाको छैन
कस्तो हुन्थ्यो ( एक गाँस सबैलाई पुगे
मेरो दिल दुख्छ हजुर , भाइको दिल दुखे ।

फूल राम्रो गुराँस हो कि फूल राम्रो कपास
भाइको शिरमा टोपी छैन ,कहाँ लाउने गुराँस
कस्तो हुन्थ्यो एक धरो सबैलाई पुगे
मेरो दिल दुख्छ हजुर ,भाइको दिल दुखे ।

माधव घिमिरेको निधन नेपाली साहित्यमा अपूरणीय क्षति हो । उनी ढल्दा नेपाली साहित्यमा लोकभाका, लोकलय र शास्त्रीयछन्दमा त्यत्तिकै लोकप्रिय कविता रचना गर्ने ऐतिहासिक काव्यवृक्ष ढलेको छ । नेपाली प्रकृति, संस्कृति र राष्ट्रियताका पुजारीको अवसान भएको छ ! नेपाली कविताको युगपुरुष र शताब्दीपुरुषको अस्त भएको छ । उनको क्षर देह धर्तीमा विलाए पनि उनी आफ्ना अमर कृतिहरू र त्यसभित्रका अक्षर शब्द, लय र भावहरूमा युगौँयुगसम्म बाँचिरहने छन् !

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 18 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु