गोपालप्रसाद रिमालको प्रति कवितामा लयविधान

- रमेश प्रभात

अध्ययनको सारांश
कविताका आधारभूत तत्वहरूमध्येको एक लयविधान एक महतवपूर्ण तत्व हो । लय प्रयोगले कवितालाई साहित्यका अन्य विधाबाट अलग देखाउँछ । लयको अभावमा कविताको सिर्जना गर्नु सम्भव छैन । लय प्रयोगमा निकै सचेत कवि गोपालप्रसाद रिमाल आधुनिक नेपाली कविताका आरम्भकर्ता भएकाले यिनलाई प्रथम नेपाली आधुनिक कवि पनि मानिन्छ । गद्यलयलाई कविता सिर्जनामा उपयोग गर्ने यिनको एक मात्र कवितासङ्ग्रह आमाको सपना (२०१९) मा जम्मा ४१ वटा फुटकर खालका गद्यकविता समेटिएका छन् । यी सबै कविता लय प्रयोगका दृष्टिले उत्कृष्ट छन् । कविताको विश्लेषण गर्ने विशिष्ट विधिमध्ये लयविधान पनि एक हो । कवितालाई सङ्कथनका रूपमा लिई विश्लेषण गर्न सकिन्छ । सङ्कथन विश्लेषणमा लयविधानको प्रयोग हुन्छ । पूर्वीय काव्य मान्यतालाई आधार मानेर गरिने लयविधानमा संरचनालाई प्रमुख रूपमा लिइन्छ भने सङ्कथन विश्लेषणमा लयको काव्यात्मक उपयोगितालाई हेरिन्छ । लय प्रयोगका आधारमा कवितालाई पद्यलय र गद्यलय गरी दुई भागमा विभाजन गर्ने गरिन्छ । त्यसमा पनि गद्यलयका कवितामा लयविधानको चर्चा गर्नुपर्दा लयविधानका सामग्रीका रूपमा पङ्क्तिविन्यास, आवृत्ति वा समानान्तरता, वर्णविन्यासवक्रता, लेख्य चिन्हहरूको प्रयोग, वाक्यीय ढाँचा तथा विचलनको चर्चा गरिन्छ । यहाँ ‘... प्रति’ कवितालाई लयविधानका तिनै उपकरणका आधारमा विश्लेषण गरिएको छ ।
शब्द कुञ्जी ः आवृत्ति, विचलन, पङ्क्तिविन्यास, वर्णविन्यासवक्रता, वाक्यीय ढाँचा ।
१. विषय परिचय
साहित्यकार गोपालप्रसाद रिमाल (१९७५—२०३०) प्रथम आधुनिक नेपाली गद्य कवि हुन् । कतिपय समालोचकहरू यिनलाई प्रथम आधुनिक नेपाली कवि समेत मान्ने गर्छन् । यिनका ४१ वटा फुटकर कविताहरू समेटेर आमाको सपना (२०१९) नामक कवितासङ्ग्रह प्रकाशित छ । यिनी प्रारम्भमा स्वच्छन्दतावादी र उत्तरार्धमा व्यङ्ग्य तथा विद्रोही चेत बोकेर कविता रच्ने कवि हुन् । यिनका कवितामा स्वच्छन्दता र विद्रोहका अतिरिक्त समाज परिवर्तन गर्ने परिवर्तनकारी चेतनासमेत मुखरित भएको पाइन्छ । यिनका कवितामा गद्यलयको सशक्त प्रयोग देखिन्छ । प्रस्तुत ‘प्रति’ कविता उनको एक उत्कृष्ट फुटकर कविता हो, जुन सङ्गम पत्रिका (२०१७) मा पहिलो चोटि प्रकाशित र आमाको सपना कवितासङ्ग्रहमा सङ्कलित भएर रहेको छ । गद्यलयमा रचित प्रस्तुत ‘प्रति’ कविता लयविधानका दृष्टिले अध्ययनीय छ ।
लयविधान कविताको विश्लेषण गर्ने विशिष्ट विधि हो । त्यसो त कवितालाई विविध तरिकाबाट विश्लेषण गर्न सकिन्छ । तिनमा सङ्कथन विश्लेषण पनि एक हो । सङ्कथन विश्लेषणमा लयविधानको चर्चा हुन्छ । पूर्वीय काव्य मान्यतालाई आधार मानेर गरिने लयविधानमा संरचनालाई प्रमुख रूपमा हेरिन्छ भने सङ्कथन विश्लेषणमा लयको काव्यात्मक उपयोगिता प्रमुख रूपमा आउँछ । कविताका आधारभूत तत्वहरूमध्ये लयविधान एक महत्वपूर्ण तत्व हो । लयले कवितालाई साहित्यका अन्य विधाबाट अलग देखाउँछ । यसको अभावमा कविताको सिर्जना गर्न सकिँदैन । यसका आधारमा कवितालाई पद्यात्मक र गद्यात्मक गरी दुई भागमा विभाजन गर्न सकिन्छ । त्यसमा पनि गद्यात्मक कवितामा लयविधानको चर्चा गर्नुपर्दा पङ्क्तिविन्यास, आवृत्ति वा समानान्तरता, वर्णविन्यासवक्रता, लेख्य चिन्हहरूको प्रयोग, वाक्यीय ढाँचा तथा विचलनको चर्चा गरिन्छ । यहाँ ‘प्रति’ कवितालाई लयविधानका आधारमा विश्लेषण गरेर हेरिएको छ ।
२. ‘प्रति’ कवितामा लयविधान
लय कविताको आधारभूत ततव हो । यसले कवितालाई साहित्यका अन्य विधाहरूबाट अलग गराउँछ । कवितामा प्रयोग हुने विशिष्ट प्रकारको भाषिक विन्यासका कारण लय उत्पन्न गराउँछ । पद्यात्मक कवितामा नियमित खालको लयविधान हुन्छ भने गद्यलयका कवितामा मुक्त खालको लयविधान हुन्छ । यहाँ विश्लेषणका लागि छनोट गरिएको ‘प्रति’ कविता गद्यलयमा संरचित कविता भएकाले त्यसैसँग सम्बन्धित आधारहरूको खोजी गर्दै लयविधानका आधारमा निम्नानुसार विश्लेषण गरिएको छ ः
२.१. आवृत्ति वा समानान्तरता
गद्य कवितामा समान वर्ण, पद, पदावली, उपवाक्य तथा वाक्यको आवृत्ति गरी लयको सिर्जना गरिन्छ । वर्णको आवृत्ति अन्तर्गत आद्य व्यञ्जनावृत्ति, मध्य व्यञ्जनावृत्ति, अन्त व्यञ्जनावृत्ति, आद्य अक्षरावृत्ति, आद्य व्यञ्जन स्वरावृत्तिजस्ता विभिन्न भेदहरू हुन सक्छन् । सुरुको व्यञ्जन एक वा अनेक पटक दोहोरिनु आद्य व्यञ्जनावृत्ति हो भने बीचको व्यञ्जन दोहोरिनु मध्य व्यञ्जनावृत्ति हो । पदको अन्त्यमा आउने व्यञ्जन वर्ण दोहोरिनु अन्त व्यञ्जनावृत्ति हो । त्यस्तै सुरुको अक्षर दोहोरिनु आद्य अक्षरावृत्ति हो । वर्ण मात्र नभई यस्तो आवृत्ति पद, पदावली, उपवाक्य र वाक्यको तहमा पनि हुने गर्दछ । कवितामा यस्तो आवृत्तिले लयको सिर्जना गर्दछ । यहाँ ‘प्रति’ कवितामा प्रयोग भएको आवृत्तिलाई निम्नानुसार विश्लेषण गर्न सकिन्छ ः
२.१.१. वर्णको आवृत्ति
‘प्रति’ कविताका पङ्क्तिको आदि, मध्य र अन्त्यमा हुने स्वर तथा व्यञ्जन वर्णको आवृत्तिबाट निम्नानुसार लयको सिर्जना गरिएको छ । उदाहरण ः
क) आद्य स्वरावृत्तिको नमुना ः
“ मेरो उत्ताउलो उचाइ हराएको छ ”
(रिमाल, २०७० ः ३७) ।
माथिको उदाहरणमा उत्ताउलो र उचाइ शब्दको सुरुमा उ वर्णको आवृत्ति गरी लयको सिर्जना गरिएको छ ।
ख) आद्य व्यञ्जनावृत्तिको नमुना ः
“ मैले “ म तिमीलाई प्रेम गर्छु ” भन्नुको सट्टा ”
(रिमाल,२०७० ः ३७) ।
माथिको उदाहरणमा मैले र म शब्दको सुरुमा र तिमी र प्रेम शब्दको अन्त्यमा म वर्णकोे आवृत्ति गरी लयको सिर्जना गरिएको छ ।
ग) अन्त व्यञ्जनावृत्तिको नमुना ः
“ त्यो जोसमा यो होस हुनुपर्ने ”
(रिमाल, २०७० ः ३७) ।
माथिको उदाहरणमा जोस र होस शब्दको अन्त्यमा स वर्णको आवृत्ति गरी लयको सिर्जना गरिएको पाइन्छ ।
२.१.२. अक्षरको आवृत्ति
‘प्रति’ कविताका पङ्क्तिको आदि, मध्य र अन्त्यमा हुने अक्षरको आवृत्तिबाट निम्नानुसार लयको सिर्जना गरिएको छ । उदाहरण ः
“ झरी लाग्यो, हुरी आयो ”
(रिमाल, २०७० ः ३७) ।
माथिको उदाहरणमा झरी र हुरी शब्दमा री तथा लाग्यो र आयो शब्दमा यो अक्षरकोे आवृत्ति गरी लयको सिर्जना गरिएको छ ।
२.१.३. पदको आवृत्ति
‘प्रति’ कविताका पदको आवृत्तिबाट निम्नानुसार लयको सिर्जना गरिएको छ । उदाहरण ः
“ हामी रोएका छौँ, हामी हाँसेका छौँ ”
(रिमाल, २०७० ः ३७) ।
माथिको उदाहरणमा हामी र छौँ पदको आवृत्ति गरी लयको सिर्जना गरिएको छ ।
२.१.४.पदावलीको आवृत्ति
प्रस्तुत ‘प्रति’ कविताको तीन वटै खण्डको सुरुमाओ युवती, ओ रूपवती पदावलीको प्रयोग भएको छ । उक्त पदावलीको आवृत्ति गरी कवितामा लयको सिर्जना गरिएको छ ।
२.१.५.उपवाक्यको आवृत्ति
“ यहाँ बुद्ध जन्माउनुपर्छ, यहाँ लेनिन जन्माउनुपर्छ ”
(रिमाल, २०७० ः ३८) ।
माथिको उदाहरणमाजन्माउनुपर्छ उपवाक्यको आवृत्ति गरी लयको सिर्जना गरिएको छ ।
२.१.६. वाक्यको आवृत्ति
“ म तिमीलाई सोझै भन्नेछु
“ म तिमीलाई गर्भाधान गर्छु ”
+ + +
” होसमा छु ः
“ म तिमीलाई गर्भाधान गर्छु ”
(रिमाल, २०७० ः ३८) ।
माथिको उदाहरणमा म तिमीलाई गर्भाधान गर्छु वाक्यको आवृत्तिले कवितामा विशिष्ट खालको लयको सिर्जना भएको छ । यसले लय सिर्जना मात्र गरेको छैन, भावलाई पूर्णता दिने काम पनि गरेको देखिन्छ ।
प्रस्तुत ‘प्रति’ कवितामा कविले आवृत्तिको पूर्ण पालना गरेका छन् । विभिन्न स्थानमा वर्ण, अक्षर, पद, पदावली, उपवाक्य एवम् वाक्यको आवृत्ति गरेर विशिष्ट खालको लयको सिर्जना गरिएको छ ।
२.२. वर्णविन्यासवक्रता
कविता सिर्जना गर्दा व्यञ्जन वर्णहरूको केही निश्चित अन्तरालमा एक वा अनेक पटक गरिने आवृत्ति नै वर्णविन्यासवक्रता हो । यसका पनि विभिन्न भेदहरू हुन सक्छन् । एउटा वर्णको आवृत्तिबाट एक वर्णविन्यासवक्रता, दुई वटा वर्णको आवृत्तिबाट द्विवर्ण विन्यासवक्रता र दुईभन्दा बढी वर्णहरूको आवृत्तिबाट बहु वर्णविन्यासवक्रता बन्दछ । कवितामा सुनियोजित रूपमा गरिने यस्तो वर्णहरूको आवृत्तिले विशिष्ट लयको सिर्जना गर्दछ । व्यञ्जन वर्णको विशेष आवृत्तिद्वारा उत्पन्न गरिने वक्रोक्ति नै वर्णविन्यासवत्रता हो । यसले कवितामा लयको सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्दछ । उदाहरण ः
“ हामी रोएका छौँ, हामी हाँसेका छौँ ”
(रिमाल, २०७० ः ३७) ।
माथिको उदाहरणमा ह, छ, क तथा र वर्णको आवृत्ति गरिएको छ ।
प्रस्तुत ‘प्रति’ कवितामा कविले विभिन्न ठाउँमा व्यञ्जन वर्णको सचेततापूर्वक आवृत्ति गरी वर्णविन्यासवक्रताको निर्माण गरेका छन्, जसले लयको सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
२.३. पङ्क्ति विन्यास
कवितामा सिर्जना गर्दा पङ्क्ति विन्यासमा विशेष ध्यान पु¥याइन्छ । गद्य कवितामा पङ्क्ति विन्यास गर्दा स्वतन्त्र किसिमले गरिन्छ । गद्य कवितामा असमान र अनियमित किसिमबाट पङ्क्ति विन्यास गरिए पनि एक पङ्क्ति र अर्को पङ्क्तिका बिचमा सङ्गति कायम गरिएको हुन्छ । यस्तो योजनाले विशिष्ट खालको गद्य लयको सिर्जना गर्छ । गद्य लयमा रचित प्रस्तुत ‘प्रति’ कवितमा जम्मा १६३ शब्द, ३७ पङ्क्ति र ३ वटा खण्डहरू रहेका छन् । यस कविताका पङ्क्तिहरू एक पददेखि सात पदसम्मका छन् । पङ्क्ति विन्यास हेर्दा १ पदका २ पङ्क्ति, २ पदका ३ पङ्क्ति, ३ पदका २ पङ्क्ति, ४ पदका १२ पङ्क्ति, ५ पदका ५ पङ्क्ति, ६ पदका १२ पङ्क्ति र ७ पदका १ पङ्क्ति रहेका छन् । उक्त पङ्क्ति विन्यासलाई हेर्दा चार पददेखि छ पदका पङ्क्तिहरूको सङ्ख्या अधिक देखिन्छ ।
२.३.१. छोटो पङ्क्तिको नमुना ः
तलको पङ्क्तिमा जम्मा एक शब्द मात्र पाइन्छ ः
“ उत्ताउली ”
(रिमाल,२०७० ः ३८) ।
उदाहरण स्वरूप माथि प्रस्तुत पङ्क्तिमा जम्मा एक शब्द मात्र प्रयुक्त छ । यसर्थ यो छोटो पङ्क्तिको नमुना हो ।
२.३.२. लामो पङ्क्तिको नमुना ः
तलको एउटै पङ्क्तिमा जम्मा सात शब्द पाइन्छ ः
“ मैले “म तिमीलाई प्रेम गर्छु” भन्नुको सट्टा ”
(रिमाल,२०७० ः ३७) ।
उदाहरण स्वरूप माथि प्रस्तुत पङ्क्तिमा सात शब्दको प्रयोग गरिएको छ, यसर्थ यो छोटो पङ्क्तिको नमुना हो । यसबाट कविले विशिष्ट लयको योजना गरेका छन् ।
यस्तो पङ्क्ति योजना कविको विशिष्ट पहिचान हो । यसले लयको सिर्जनामा महŒवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ, जुन यो कवितामा पनि पाइन्छ । पङ्क्ति योजना हेर्दा यो कवितामा मध्यम खालका पङ्क्तिको योजना गरिएको पाइन्छ । तसर्थ पङ्क्ति योजनाका माध्यमबाट यो कवितामा लयको सिर्जना गरिएको छ ।
२.४. वाक्यीय ढाँचा
कविताका फरक फरक पङ्क्तिहरूमा फरक फरक ढाँचाका वाक्यहरू प्रयोग गरिएको हुन्छ । यस्ता फरक फरक पङ्क्तिहरूमा कुनै वाक्य पूर्ण र कुनै वाक्य अपूर्ण खालका हुन्छन् । कुनै पङ्क्तिमा एकभन्दा बढी वाक्यहरू पनि हुन्छन् भने कुनै वाक्यका लागि एकभन्दा बढी पङ्क्तिहरूको उपयोग गरिएको हुन सक्छ । यस्तो वाक्यीय ढाँचा कविको मौलिक पहिचान पनि हो । यस्ता वाक्यीय ढाँचाले लयको सिर्जना गर्छ । विश्लेष्य ‘प्रति’ कवितामा कविले कतै एउटै पङ्क्तिमा एकदेखि दुई वाक्यसम्मको प्रयोग गरेका छन् । कतै अपूर्ण वाक्यको प्रयोग गरिएको छ भने कतै एउटै वाक्यका लागि दुई वा सोभन्दा बढी पङ्क्तिको समेत प्रयोग गरेको पाइन्छ । उदाहरण ः
२.४.१. एक वाक्यीय ढाँचा
तलको उदाहरणमा एउटा पङ्क्तिमा एउटा मात्र वाक्यको उपस्थिति पाइन्छ ः
“ त्यो बादलमा इन्द्रधनु प¥यो ”
(रिमाल,२०७० ः ३७) ।
माथिको उदाहरणमा एउटा पङ्क्तिमा एउटा मात्र वाक्यको उपस्थिति गराएर कविले विशिष्ट लयको योजना गरेका छन् ।
२.४.२. बहु वाक्यीय ढाँचा
तलको उदाहरणमा एउटा पङ्क्तिमा दुईवटा वाक्यको उपस्थिति पाइन्छ ः
“ हामी रोएका छौँ, हामी हाँसेका छौँ ”
(रिमाल, २०७० ः ३७) ।
माथिको उदाहरणमा एउटै पङ्क्तिमा दुई वटा वाक्यको उपस्थिति गराएर कविले विशिष्ट लयको सिर्जना गरेका छन् ।
२.४.३. बहु पङ्क्तीय वाक्यढाँचा
तलको उदाहरणमा एक वाक्यका लागि आठवटा पङ्क्तिको प्रयोग भएको छ ः
“ तिमीसित भेट नभए तिमीजस्तै गरी
उत्ताउली
तिमीजस्तै गरी
निन्याउरी
भएर मेरो मन तान्न सक्ने अर्की
कुनै युवती, कुनै रूपवतीलाई
म बलियो भएर त्यसै भन्न सक्ने
होसमा छु ”
(रिमाल, २०७० ः ३७) ।
माथिको उदाहरणमा एक वाक्य पूरा गर्नका लागि कविले आठवटा पङ्क्तिको प्रयोग गरेका छन्, जसका कारण छुट्टै खालको लययोजना निर्माण भएको छ ।
२.४.४. अपूर्ण वाक्यढाँचा
तलको उदाहरणमा कविले अपूर्ण वाक्यको प्रयोग गरेका छन् ः
“ त्यो जोसमा यो होस हुनुपर्ने ”
(रिमाल, २०७० ः ३७) ।
माथिको उदाहरणमा त्यो जोसमा यो होस हुनुपर्ने थियो वाक्यलाई अपूर्ण रूपमा प्रयोग गरी लयको सिर्जना गरिएको पाइन्छ ।
प्रस्तुत प्रति कवितामा यस्ता खालका वाक्यीय ढाँचाको प्रयोगबाट कविले विशिष्ट लयको सिर्जना गर्ने काम गरेका छन्, तसर्थ वाक्यीय ढाँचाका दृष्टिले यो कविता उत्कृष्ट बनेको छ ।
२.५. लेख्य चिन्हहरूको प्रयोग
लेख्य चिन्हहरूले कवितामा गति, यति र लयको सिर्जना गर्दछ । कवितामा यिनको उचित प्रयोग हुन सकेमा सुन्दर लयको निर्माण हुन पुग्छ, तर सबै कवितामा यिनको एकनास प्रयोग गरिएको हुँदैन । लेख्य चिन्हहरूमध्ये अल्प विराम, अर्ध विराम, पूर्ण विराम, प्रश्न वाचक, विस्मयादि बोधक, योजक, कोष्ठक आदि चिन्हहरूको प्रयोगबाट कवितामा आरोह अवरोह सिर्जना गरी विशिष्ट लयको सिर्जना गरिएको हुन्छ । प्रस्तुत कवितामा लेख्य चिन्हहरूको प्रयोग विभिन्न ठाउँ मा भएको छ । यसमा अल्पविराम, अर्धविराम, पूर्णविराम, प्रश्नवाचक, योजक, उद्धरण र विस्मयादिबोधक चिन्हको मात्र प्रयोग गरिएको पाइन्छ । उदाहरण ः
२.५.१. अल्पविराम चिन्ह
“ झरी लाग्यो, हुरी आयो ”
(रिमाल, २०७० ः ३७) ।
माथिको उदाहरणमा अल्प विराम चिन्ह (,) को प्रयोग भएको छ । त्यस्तै यो चिन्हको प्रयोग कविताका पङ्क्तिहरू १, २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १६, १७, १८, १९, २०, २१, २५ र ३४ मा गरी जम्मा २५ चोटि भएको छ ।
२.५.२. अर्धविराम चिन्ह
“ हामी बादलजस्तै गुटुमुटु पनि भएका छौँ ”
(रिमाल, २०७० ः ३७) ।
माथिको उदाहरणमा अर्ध विराम चिन्ह (;) को प्रयोग गरिएको छ । त्यस्तै यो चिन्हको प्रयोग २१ औँैँ पङ्क्तिमा पनि भएको छ ।
२.५.३. पूर्णविराम चिन्ह
“ यहाँ आत्मदर्शन हुनुपर्छ । ”
(रिमाल, २०७० ः ३८) ।
माथिको उदाहरणमा पूर्ण विराम चिन्ह (।) को प्रयोग गरिएको छ । त्यस्तै यो चिन्हको प्रयोग ३७ औँ पङ्क्तिमा पनि भएको छ ।
२.५.४. प्रश्नवाचक चिन्ह
“ आफू देखिने ऐना छ ? ”
(रिमाल, २०७० ः ३८) ।
माथिको उदाहरणमा प्रश्न बाचक चिन्ह (?) को प्रयोग गरिएको छ । यो चिन्हको प्रयोग अन्यत्र भने भएको छैन ।
२.५.५. योजक चिन्ह
“ यो गाउँ–घरमा, यो सहरमा ”
(रिमाल, २०७० ः ३८) ।
माथिको उदाहरणमा योजक चिन्ह (–) को प्रयोग गरिएको छ । यो चिन्हको प्रयोग अन्यत्र भने भएको छैन ।
२.५.६. निर्देशक चिन्ह
क) “ तिमीलाई सम्झना होला – ”
(रिमाल, २०७० ः ३७) ।
ख) “ होसमा छु ः ”
(रिमाल, २०७० ः ३७) ।
माथिका उदाहरणहरूमा निर्देशक चिन्ह ( ‘—’ र ‘ः’ ) को प्रयोग गरिएका छन् । यो चिन्हको प्रयोग अन्यत्र भने भएको छैन ।
२.५.७. उद्धरण चिन्ह
“ मैले “ म तिमीलाई प्रेम गर्छु ” भन्नुको सट्टा ”
(रिमाल,२०७० ः ३७) ।
माथिको उदाहरणमा उद्धरण चिन्ह (“ ”) को प्रयोग गरिएको छ । त्यस्तै यो चिन्हको प्रयोग १५ औँ, २८ औँ र ३७ औँ पङ्क्तिमा पनि भएको छ ।
२.५.८. विस्मयादिबोधक चिन्ह
“ “ म तिमीलाई गर्भाधान गरिरहेछु ” भन्न सक्नुपर्ने ! ”
(रिमाल,२०७० ः ३७) ।
माथिको उदाहरणमा विस्मयादि बोधक चिन्ह (!) को प्रयोग भएको छ । यो चिन्हको प्रयोग अन्यत्र भने भएको छैन ।
जम्मा तीन खण्ड र ३७ पङ्क्तिमा संरचित यो कवितामा आठ थरी चिन्हको प्रयोग ३८ ठाउँमा भएको छ । यस्ता लेख्य चिन्हहरूले विशिष्ट लयको सिर्जना गरेको छ, तसर्थ यो कवितामा लेख्य चिन्हको प्रयोगमा विशिष्टता पाइन्छ ।
२.६. विचलन
कवितामा लय सिर्जना गर्ने अर्को आधार विचलन हो । विचलन भनेको भाषाका मानक प्रयोगको सार्थक व्यतिक्रम हो ( शर्मा, २०५५ ः ५५२ ) । यस्तो विचलन पदक्रम र अर्थका तहमा समेत हुन्छ । कविले आफ्नो कवितामा साङ्गीतिकता भर्न र भावमा तीव्रता ल्याउन यस्तो विचलनको प्रयोग गर्दछ । विश्लेष्य कविता प्रतिमा कविले भाषिक विचलन र आर्थी विचलनको प्रयोग गरेका छन् । भाषिक विचलन अन्तर्गत पदक्रमको विचलन गरिएको छ भने आर्थी विचलनमा शब्दलाई अर्कै अर्थका रूपमा प्रयोग गरिएको छ । उदाहरण ः
२.६.१. पदक्रम विचलन
“ मैले “ म तिमीलाई प्रेम गर्छु ” भन्नुको सट्टा
“ म तिमीलाई गर्भाधान गरिरहेछु ” भन्न सक्नुपर्ने ! ”
(रिमाल,२०७० ः ३७) ।
माथिको उदाहरणका दुवै पङ्क्तिमा पदक्रमको विचलन भएको पाइन्छ, जसले लयको सिर्जना गरेको छ ।
२.६.२. आर्थी विचलन
“ तिम्रो गहिराइमा, तिम्रो गम्भीरतामा, ओ सुन्दरी,
मेरो उत्ताउलो उचाइ हराएको छ ”
(रिमाल,२०७० ः ३७) ।
माथिको उदाहरणमा मान्छेको गहिराइमा मान्छे हराएको कुरा छ । कोही मान्छे कसरी अर्को मान्छेमा हराउन सक्छ ? यस्तो नहुने भएकाले यहाँ आर्थी विचलन पाइन्छ, जसले विशिष्ट लयको सिर्जना गरेको छ ।
प्रस्तुत‘प्रति’ कवितामा यस्ता विचलनका माध्यमबाट सुन्दर लयको सिर्जना गरिएको भए पनि यस्ता विचलनको सङ्ख्या भने कम मात्रामा भेट्न सकिन्छ ।
२.७. कथ्य भाषाको प्रयोग
कवितामा लय सिर्जना गर्ने अर्को आधार कथ्य भाषाको प्रयोग पनि हो । भाषाका लेख्य र कथ्य रूपहरूमध्ये कथ्य रूपको प्रयोग जनबोलीमा बढी आउँछ । कविले आफ्नो रचनालाई प्रभावकारी बनाउन कथ्यको प्रयोग समेत गर्दछन् । यस प्रकारको भाषिक विन्यासबाट कविताका लयको सिर्जना समेत गरिन्छ । उदाहरण ः
“ अनि हामी अकासजस्तै सङ्ला पनि भयौँ ”
(रिमाल,२०७० ः ३७) ।
माथिको उदाहरणमा आकाश शब्दका सट्टाअकास शब्दको प्रयोग भएको छ,जसले लयको सिर्जना गरेको छ । यस्तो कथ्य भाषाको प्रयोग कविताभित्र अन्यत्र भने गरिएको छैन ।
३. निष्कर्ष
हरेक कविले आफ्ना कवितालाई उत्कृष्ट बनाउन विशिष्ट भाषिक विन्यासका माध्यमबाट पृथक् खालको लयको सिर्जना गरेको हुन्छ । यसरी सिर्जित लयले भावको तीव्रता समेत वहन गरेको हुन्छ । विश्लेष्य ‘प्रति’ कवितामा पनि यस्तैे सुन्दर लयको प्रयोग गरिएको छ । यसका लागि वर्ण, पद, पदावली, उपवाक्य तथा वाक्यको आवृत्तिले महत्वपूर्ण भूमिका खेलेको छ । त्यस्तै लययोजनाका अङ्गहरू पङ्क्तिविन्यास, वर्णविन्यासवक्रता, वाक्यीय ढाँचा, लेख्य चिन्हहरूको प्रयोग, कथ्य भाषाको प्रयोग तथा व्याकरणिक एवम् भावगत विचलनका माध्यमबाट पनि सुन्दर लयको सिर्जना गरिएको छ । तसर्थ यो कविता लय योजनाका दृष्टिले उत्कृष्ट छ ।

सन्दर्भ सामग्री सूची

अधिकारी, रविकिरण (२०७२). ‘तिम्रो र हाम्रो मन एक होओस् कवितामा लयविधान’. विवेक. ३१÷१०, पृ.९६ – १०४.

गौतम, देवीप्रसाद (२०६७).‘ध्वनि पद्धति र लयविधान’ . के.एम.सी. जर्नल . ४र१, पृ. ७ ( १४.

थापा, हिमांशु (२०४२). साहित्य परिचय. दो.संस्क. काठमाडौं ः साझा प्रकाशन.

प्रभात, रमेश (२०७३).‘बसेको छु म त यहाँ गजलमा लयविधान’. गजल सारथि . अङ्क – ३, पृ. ५१ ( ५३.

रिमाल, गोपालप्रसाद (२०७०). आमाको सपना. आठौँ संस्क. ललितपुर ः साझा प्रकाशन.

लुइटेल, खगेन्द्र्रप्रसाद (२०६०). कविता सिद्धान्त र नेपाली कविताको इतिहास. काठमाडौं ः नेपाल प्रज्ञा प्रतिष्ठान.

ढकाल, विप्लव (२०६८). कवितामा लयविधान हिउँमा लेखिएका नामहरू. अप्रकाशित दर्शनाचार्य कक्षा प्रस्तुतिपत्र, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर .

शर्मा, मोहनराज (२०५५). समकालीन समालोचना सिद्धान्त र प्रयोग. काठमाडौं ः नेपाल प्रज्ञा प्रतिष्ठान.

उपप्राध्यापक, बीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवन ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 18 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु