परिवर्तन कवितामा मार्क्सवादी चिन्तन

- सन्तोषकुमार काफ्ले

लेखसार
साहित्यको प्रभावशाली माध्यम कविता हो । यसका माध्यमबाट कुनै कवितामा परिष्कारवादी चिन्तन अभिव्यक्त भएको पाइन्छ त कुनैमा स्च्छन्दवादी विचारका साथै मार्क्सवादी विचारलाई पनि समेटेको पाइन्छ । यस लेखमा मार्क्सवादी धरातलमा रहेर परिवर्तन शीर्षकको कवितालाई विश्लेषण गरिएको छ । यसरी विश्लेषण गर्दा पूँजीवादका विरुद्धमा भएका आलोचनालाई परिवर्तन शीर्षकको कवितामा खोजिएको छ । दमन उत्कर्षमा पुगेपछि त्यसका विरुद्धमा जनता कसरी ओर्लिन्छन् भन्ने कुरा यस परिवर्तन कवितामा देखाइएको छ । यस लेखको मुख्य उद्देश्य भनेकै परिवर्तन कवितामा पूँजीवादी मान्यताप्रतिको आलोचनात्मक विचार खोजी गर्नु र परिवर्तन कवितामा रहेको वर्गीय चेतनाको अध्ययन गर्नु रहेको छ । यसरी अध्ययन गर्दा नेपाली परिवेश र त्यस परिवर्तनका सङ्घारमा मानवीय जीवनमा आएका समस्याहरुलाई पनि चित्रण गरिएको छ । मार्क्सका विचारले विश्वमा आर्थिक, राजनैतिक क्रान्ति भएको छ । साहित्यका क्षेत्रमा पनि आवाज उठेका छन् ।यहीँ आवाजलाई परिवर्तन शीर्षकको कविताले समेटेको छ । यस लेखको अध्ययनका क्रममा पूस्तकालयीय अध्ययन पद्धतिको प्रयोग गरिएको छ । लेखमा व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरी लेख तयार पारिएको छ । हरेक परिवर्तनका पछाडि चेतनाको स्तरले महत्वपूर्ण भूमिका खेल्दछ भन्ने मान्यता मार्क्सको पनि रहेको छ । यस परिवर्तन कवितामा जनतामा आएको परिवर्तनले राणाशासनको अन्त्य मात्र गरेन यसले त सधैका लागि अन्याय अत्याचारको अन्त्य गरेको निष्कर्ष निकालिएको छ ।
मुख्य शब्दावली
स्वच्छन्दता, स्वामित्व, रूपान्तरण, जहाँनिया र वर्ग सङ्घर्ष

१. विषय परिचय
साहित्यका विधाहरु आख्यान कविता निबन्ध र नाटकमध्ये कविता प्रभावशाली विधा हो । यसमा समाजवादी चेतना प्रगतिवादी स्वर र कुनैमा मार्क्सवादी चेतना पाइन्छ । यसका साथै प्रगतिवादी चेतनका धनी गोपालप्रसाद रिमाल यस परिवर्तन शीर्षकको कविता मार्क्सवादी चेतनाको कविता हो । कार्ल मार्क्स ( सन् १८१८–१८८३) जर्मनका राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता र दार्शनिकका रुपमा परिचित छन् । उनले बर्लिन विश्वविद्यालयमा दर्शनशास्त्रको अध्ययन गरेको पाइन्छ । विशेषगरी उनी जर्मनीमा विकसित हेगेलवाद, फ्रान्सेली राज्यक्रान्ति, तत्कालीन पूजीवादी अर्थव्यवस्था र बेलायतको राजनीतिक प्रणालीबाट प्रभावित भएको पाइन्छ । यसैको पृष्ठभूमिमा फायरवाख र हेगेलको द्वन्द्वात्मक आदर्शवादको प्रभावबाट मार्क्सले द्वन्द्वात्मक भौतिकवादको स्थापना गरेका हुन् । यसैगरी मार्क्सका विचारलाई एङ्गेल्सले अझ् विस्तार गर्दै लैजाने क्रममा साहित्यका क्षेत्रमा पनि यसलाई प्रयोग गर्न थालेको पाइन्छ (उप्रेती, २०६८)। जर्मन दार्शनिक तथा राजनीति–अर्थशास्त्री कार्ल मार्क्सको विचारलाई ‘मार्क्सवाद’ भनियो। संसारका समाजवादीहरू मार्क्सकै विचारका आधारमा न्यायपूर्ण समाजको सपना देख्छन् । मार्क्सवादले न्याय प्राप्त गर्ने वैज्ञानिक दृष्टिकोण दिन्छ । क्षमताअनुसार काम लिने र आवश्यकताअनुसार ज्याला दिने मार्क्सले परिकल्पना गरेको न्याय व्यवस्था हो । न्याय त्यसलाई चाहिन्छ जो अन्यायमा परेको हुन्छ । नोबेल पुरस्कार विजेता एल्पि्र्कड जेलिनेकका शब्दमा भन्ने हो भने साहित्य कमजोरहरूको पक्षधर हुन्छ । अन्यायमा परेकाहरू, पछाडि पारिएकाहरूको पक्षमा लेखिने, तिनलाई जागृत पार्ने साहित्य नै मार्क्सवादी साहित्य हो । गेटेको कवित्वको मूल्याङ्कन गर्दा नैतिक र राजनीतिक दृष्टिले मात्र नहेरी सौन्दर्य शास्त्रीय एवम् ‌ऐतिहासिक रुपमा हेर्नुपर्ने आलोचनात्मक विचार एङ्गेल्सले राखेको पाइन्छ । यसरी साहित्यका क्षेत्रमा पनि मार्क्सवादी विचार देखिन थालेको पाइन्छ । साहित्यका माध्यमबाट विचार र भावलाई सबैभन्दा सबलरुपमा प्रस्तुत गर्न सकिने माध्यम् कविता हो । कविता साहित्यको लयात्मक तथा भावप्रधान विधा नै हो । यसका माध्यमबाट परिष्कारवादी विचार, स्वच्छन्दतावादी विचार, मनोबैज्ञानिक विचार, प्रगतिशील विचारका साथै मार्क्सीय चेतना अभिव्यक्त गर्न सकिन्छ । यसमा गोपालप्रसाद रिमालको परिवर्तन शीर्षकको कविलाई मार्क्सवादी चिन्तनका दृष्टिले विश्लेषण गर्न खोजिएको छ । वि स २००६ सालको साथी पत्रिकामा पहिलो पटक प्रकाशित परिवर्तन कविता आमाको सपना कवितासङ्ग्रहमा सङ्कलित छ । यस कवितामा अन्याय सहेर बसेका वर्गलाई यसका विरुद्ध जुर्मुराएर उठ्ने साहस भरिदिएका छन् (एटम, २०६६)। यसरी चर्चा गर्दा यस लेखमा पूँजीवादी मान्यताको आलोचना, वर्गीय चेतना र शोषणको अवस्थाको चित्रणलाई प्रमुख आधार बनाइएको छ । यसका साथै वर्गसङ्घर्षका पक्ष र निम्न वर्गले भोग्नु परेका आवाजलाई केलाइएको छ (भट्टराई, २०६९) । यस कवितामा राणाशासन कालमा सर्वाहार जनताले भोगेका जीवनका व्यथा पीडालाई निम्न वर्गीय जनताको अवाजको रुपमा लिइएको छ यस सीमाभित्र रहेर परिवर्तन कविताको विश्लेषण गरिएको छ । यी पक्षहरुको विश्लेषण गर्ने सन्दर्भमा परिवर्तन कवितामा पूँजीवादी मान्यताप्रतिको आलोचना खोजी गर्ने र वर्गीय चेतनाको अध्ययन गर्ने प्रमुख उद्देश्यहरु रहेको पाइन्छ । यसरी यी उद्देश्य पूरा गर्न प्राथमिक स्रोत र दिव्तीयक स्रोतका सामाग्री सङ्कलन गरी पुस्तकालयीय अध्ययन पद्धतिका आधारमा तथ्याङ्कको व्याख्या विश्लेषण गरिएको छ । उच्चवर्गीय राणाहरुबाट निम्न वर्गका सोझा जनतामाथि शोषण गरिएको र यसका विरुद्धमा जनताले अवाज उठाउनु पर्ने चेतना जनतामा आएको निष्कर्ष निकालिएको छ ।
२. अध्ययनको उद्देश्य
वि स २००७ साल पूर्व र पछाडि जनतामा आएको परिवर्तनका कारकका रुपमा वर्गीय चेतनालाई कवि रिमालले लिएका छन् । बहुसख्यक जनताहरु निम्न वर्गका रहेका हुन्छन् । जब उनीहरुमा आफूहरुलाई शोषण भएको चेतना आउदछ तब यसका विरुद्धमा उनीहरु अवाज निकाल्दछन् । अत यस लेखमा रिमालको परिवर्तन कवितामा आधारित भई निम्नानुसारका उद्देश्यहरु राखी अध्ययन गरिएको छ ।
क. परिवर्तन कवितामा पूँजीवादी मान्यताप्रतिको आलोचना खोजी गर्ने,
ख. परिवर्तन कवितामा रहेरको वर्गीय चेतनाको अध्ययन गर्ने ।
३. अध्ययन विधि
यस अध्ययनमा द्वितीयक सामाग्री सङकलनका स्रोतलाई प्रयोग गरिएको छ । यस लेखमा पुस्तकालयीय अध्ययन पद्धतिको प्रयोग गरिएको छ । यसका साथै वर्णनात्मक तथा व्याख्यात्मक विधिको प्रयोग गर्दै अध्ययनलाई अगाडि बढाइएको छ । online सामाग्री, विज्ञका सुझावलाई पनि स्रोत सामाग्रीबाट सङकलन गरिएको छ ।

४. सैद्धान्तिक पर्याधार
सन् १९९० पूर्व संसारको निकै ठुलो हिस्सालाई प्रभावित पारेको राजनीतिक र वैज्ञानिक सिध्दान्त नै मार्क्सीय विचार हो । जर्मन राजनीतिशास्त्री,अर्थशास्त्री, दार्शनिक र क्रान्तिकारी विचारक मार्क्स ( सन् १८१८-१८८३) र एङ्गेल्स ( सन् १८२०-१८९५) का विचार र मान्यतामा आधारित सिध्दान्तका रुपमा यसलाई लिन सकिन्छ । समाजशास्त्र, दर्शनशास्त्र, अर्थशास्त्र र साहित्य सिध्दान्तमा यसको व्यापक प्रभाव रहेको छ । साहित्य र समालोचनामा पनि मार्क्सवादको समृध्द परम्परा रहेको र वर्तमानमा पनि यसको प्रभाव संसारभरका समालोचक र सर्जकमा रहिरहेको पाइन्छ । यसरी साहित्यका क्षेत्रमा पनि मार्क्सवादको प्रभाव परेको पाइन्छ । साहित्यलाई हेर्ने द्वन्द्वात्मक भौतिकवादी मान्यता पनि मार्क्सको प्रमुख मान्यता हो । अन्तर्वस्तु र रूप तथा यिनको द्वन्द्वात्मक सम्बन्धमा आधारित मान्यताको भूमिका प्रबल रहेको हुन्छ (भट्टराई, २०६९) । साहित्य र कला विचार धाराकै एउटा अङ्ग हो भन्ने विचार मार्क्सको पाइन्छ । साहित्य र कला सोद्देश्यपरक हुने र यो समाज परिवर्तनको महत्वपूर्ण कारक हुन सक्ने देखिन्छ । साहित्य आधार नभएर अधिरचना हुने भए पनि आधारका आधारमा अधिरचना जन्मने हुँदा साहित्य आर्थिक आधारकै अधिरचनाका रूपमा रहने देखिन्छ । लेखक साहित्य सिर्जनाका अतिरिक्त समाज र जनताप्रति प्रतिबध्द रहनुपर्दछ (सुनुवार; एटम, 2066) । लेखकलाई लेखकका रुपमा मात्र होइन कृतिको उत्पादकत्वका रुपमा हेर्नुपर्ने हुन्छ भन्ने मान्यता साहित्यका सन्दर्भबाट मार्क्सले देखाएका छन् । यसरी मार्क्सका मान्यतालाई तल केही बुँदागतरुपमा चर्चा गरिएको छ ।
क.पुँजीवादी समाजको आलोचना
मार्क्सीय मान्यता पुँजीवादका विरोधबाट जन्मिएको आर्थिक र राजनीतिक सिध्दान्त हो । उत्पादनका साधनमा आफ्नो स्वामित्वका कारण पुँजीवादले उत्पादन प्रणालीलाई पनि आफ्नो प्रभावमा पार्ने देखिन्छ । आफ्नो सर्तमा आधारित श्रम प्रणालीले गर्दा श्रमिकको शोषण गर्दछ र यही शोषणका कारण समाजमा सर्वहारा र पुँजीपति वर्गको जन्म हुन्छ भन्ने मान्यता यसले राख्दछ (भट्टराई, २०६९) । पुँजीवादले सर्वहारा वर्ग जन्माउँछ र सर्वहारा वर्गको शोषणबाट नै पुँजीवाद टिकेको हुन्छ । यसरी पुँजीवादले प्रभुत्वशाली पराधीन वर्ग जन्माउने र त्यो वर्ग क्रान्तिकारी हुने धारणा उनको हो । मार्क्सवादका अनुसार पुजीपति वर्ग र सर्वहारा वर्गको हितमा कतै पनि सामञ्जस्यको सम्भावना रहन्न । पुँजीवादका विरूद्धको सङ्घर्षमा सर्वहारा वर्ग सङ्गठित हुन्छ र क्रान्तिको उद्घोष गर्दछ (उप्रेती, २०६८) । यसले पुजीवादी व्यवस्थामा परिवर्तन ल्याउछ र समाजवादमा रूपान्तरण हुन्छ ।
ख.भौतिकतावादी मान्यता
यसको दार्शनिक आधार द्वन्दात्मक र ऐतिहासिक भौतिकवाद हो । यसले प्लेटो प्रतिपादित आदर्शवादको विरोध गर्दछ । हेगेलको द्वन्द्ववादको जगमा उभिए पनि त्यसको चिन्तन आदर्शवादी नै रहेको हुँदा मार्क्सले द्वन्द्वात्मक भौतिकवादको प्रतिपादन गरेका हुन् । यसमा गुणबाट मात्रामा र मात्राबाट गुणमा, निषेधको निषेध तथा विरोधीहरूका बिचको एकता र रूपान्तरण जस्ता तीन महत्वपूर्ण नियम रहेका हुन्छन् (भट्टराई, २०६९) । द्वन्द्वात्मकतालाई भौतिकवादसँग जोड्ने क्रममा यस नियमलाई इतिहास वा समाजविकासको नियमसँग जोडेर प्रस्तुत गरिएको छ । मार्क्सका अनुसार हाम्रो चेतनाले हाम्रो अस्तित्व निर्धारण गर्ने नभएर हाम्रो अस्तित्वले हाम्रो चेतनालाई निर्धारण गर्दछ ।
ग.ऐतिहासिक भौतिकवाद
मार्क्सवादको अर्को मान्यता ऐतिहासिक भौतिकवाद हो । यो मान्यता इतिहासको भौतिकवादी व्याख्यामा आधारित छ । इतिहासको विकास नै युग विकास हो र यसले समाजविकासका नियमहरूको व्याख्या गर्छ भन्ने मान्यता रहेको छ । आदिम साम्यवाद, दास युग, सामन्तवादी युग , पुँजीवादी युग हुँदै समाजवाद र साम्यवादमा पुग्न सकिने व्याख्या मार्क्सको रहेको छ । यसमा आर्थिक आधार र अधिरचनाले नै युग र समाजमा रूपान्तरण ल्याउने गर्दछ । आधार सदैव आर्थिक हुने र त्यही आधारका जगमा धर्म, कानुन, साहित्य ,कला, विज्ञान , विचारधारा जस्ता अधिरचना जन्मने गर्दछ ।
घ.वर्ग सङ्घर्षको सिध्दान्त
ऐतिहासिक भौतिकवादको पूरक सिध्दान्तका रुपमा वर्ग सङ्घर्षको सिध्दान्तलाई लिइन्छ । समाजको आजसम्मको इतिहास वर्ग सिध्दान्तको इतिहास हो भन्ने मान्यता उनको हो । दासयुगमा दास र मालिक, सामन्तवादी युगमा सामन्त र किसान, पुँजीवादी युगमा सर्वहारा र पुँजीपतिका बिचको सङ्घर्ष हुने गर्दछ । यसैले साम्यवादी समाजमा मात्र वर्गको अन्त्यको अवस्था आउँदछ ।
ङ. पदार्थ र चेतनाको मान्यता
पदार्थ र चेतनाबीच एकरुपता हुने गर्दछ भन्ने मान्यता उनले राखेका छन् । पदार्थबाटै चेतनाको विकास हुन्छ । आदर्शवादीहरुले चेतनालाई पहिलो र पदार्थलाई चेतनाको उपज मानेका छन् तर भौतिकवादीहरुले पदार्थलाई पहिलो र चेतनालाई पदार्थको उपज मानेका छन् । द्वन्द्वात्मक भौतिकवादीहरुले चेतनालाई पदार्थको सुसङ्गठित तथा गुणात्मक ढङ्गले विकसित प्रतिविम्बनको उच्च अभिब्यक्ति मानेका छन् (एटम, २०६६)।
यसरी यहाँ मार्क्सीय विचारलाई चर्चा गरिएको छ । यसैको पृष्ठभूमिमा गोपालप्रसाद रिमालको प्रगतिका स्वरहरुलाई बुलन्द पारेको …परिवर्तनÚ शीर्षकको कवितामा मार्क्सवादी मान्यतमा आधारित रहेर विश्लेषण गर्न खोजिएको छ (भट्टराई, २०६९) । यसरी विश्लेषण गर्ने क्रममा मार्क्सको वर्गीय चिन्तन, पूँजीवादी मान्यताको विरोध जस्ता पक्षहरुलाई अधार बनाइएको छ ।
५. व्याख्या विश्लेषण
गोपालप्रसाद रमालको जन्म वि स १९७५ जेठ १८ गते काठमाडौँको लगटोलमा भएको हो । सानैदेखि मेधावी रिमालले वि स १९९३ सालको एस एल सी परीक्षामा बोर्ड फस्ट गरेका छन् । उनी आइ ए पढ्दापढ्दै देशलाई राणाशासनबाट मुक्त गर्न क्रान्तिमा गोप्य रुपबाट सक्रिय रहेको पाइन्छ । उनी सैनिकमा लेफ्टिनेन्ट, नाटकमा अभिनेता र शारदा पत्रिकामा सम्पादकका रुपमा कार्य गरी अन्त्यमा क्रान्तिका सिपाही बन्न सफल भएका छन् । उनको १९९२ सालको गोरखा पत्रमा प्रकाशित कविको गान शीर्षकको कविता नेपाली साहित्यको पहिलो गद्य कविता हो । उनको एक मात्र कविता सङ्ग्रह अमाको सपना हो (एटम, 2066) ।
कवि रिमालका गद्य कवितामा क्रान्तिको स्वर प्रशस्त मात्रामा पाइन्छ । उनी सामाजिक विसङ्गतिप्रति कठोर व्यङ्ग्य गर्दछन् । यसलाई समाधान गर्न विद्रोह र क्रान्तिको आह्वान गर्दछन् । यहाँ मार्क्सवादी विचारलाई खोजी गर्ने प्रयास गरिएको छ । मार्क्सवादी विचारका आधारमा रिमालको परिवर्तन शीर्षकको कवितालाई तपशीलका मूलभूत मान्यताका आधारमा विश्लेषण गर्न खोजिएको छ (उप्रेती, २०६८) । यसमा मार्क्सका मान्यताअनुरुप पूँजीवादी चिन्तनमा विद्रोह यसका साथै वर्गीय चेतनाको अवस्थालाई यसमा चर्चा गरिएको छ ।
५.१. परिवर्तन कवितामा पूँजीवादी मान्यताप्रतिको आलोचना
५.१.१ उच्च वर्गको शोषणको अवस्था
शासन र सत्तामा बसेर गरिब दुखीहरुको शोषण गर्ने राणाहरु उच्च वर्गका छन् । उनीहरुले गरिबी भोकसँग लडिरहेका जनतालाई कायरतापूर्ण जीवन बिताउन बाध्य पारेका छन् । गरिब जनतासँग बोली थिएन । शब्द थियो भने शब्दमा अर्थ थिएन । उनीहरु रोईरोई बाँचेका छन् । उनीहरुले भिखारीको जस्तो जीवन बिताएका छन् (एटम, २०६६) । यसरी जीवन जीउन बाध्य जनताले यो वर्गीय शोषणबाट धेरै लामो समयसम्म मुक्ति पाउन सकेका छैनन् । उदाहरणका रुपमा हेरौँ ।
हिजोसम्म जसका बोलीमा केही थिएन
मनको प्रतिध्वनिसम्म थिएन
मानिसले बोलेजस्तै थिएन
केबल शब्द थियो, अर्थ थिएन
आज तिनैको बोलीमा प्राण छ
व्यथा, उन्माद अहवान छ अकर्षण छ ।
यसरी गरिब जनताले निर्थक जीवन बिताएका छन् । उनीहरुको आवाज दबेको छ । सामन्तिहरुको तुच्छ व्यवहारले उनीहरुले निकै अन्याय अत्याचार सहनु परेको छ । यो अवस्थाका विरुद्धमा जब जनताले अह्वान गरेका छन् तब यसले गोडा टेकेको छ ।
५.१.२. पूजीपतिका विरुद्धको आन्दोलन
क्रान्ति चेतना आउनु अगाडिको समयमा राणाहरुको त्रासपूर्ण वातावरण छ । ती शासकहरु र उच्च वर्गका विरुद्धमा बोल्नै नसक्ने अवस्था रहेको छ । गरिब जनताहरु निरङ्कुशताका विरुद्धमा बोल्न नसकेर रोईरोई बाँचेका छन् । उनीहरु लाचार जीवन बिताइरहेका हुन्छन् र दयाको भिख मागिरहेका हुन्छन् । पूँजी,शासन र सत्ता तिनै राणाहरुको हातमा थियो । यसैको आडमा उनीहरु जनतालाई स्वतन्त्र भएर बोल्न दिदैनथे (एटम, २०६६)। जब जनतामा अमेरिकाको स्वतन्त्रताक्रान्ति, फ्रान्सको राज्यक्रान्ति,भारतको स्वतन्त्रता आन्दोलनको पृष्ठभूमिमा सोचाइमा परिवर्तन आएकाले गरिब जनताले आवाज उठाएका छन् ।
हिजोसम्म जो रोईरोई बाँचिरहेका थिए
आज तिनै हाँसीहाँसी मर्न तयार छन् ।
यसरी पूँजीपतिका विरुद्ध आवाज उठाएको पाइन्छ । यहीँ आवाजले जनताले सधैँका लागि राणाशासन अन्त्य भएको महशुस गरेका छन् भन्ने भाव यस श्लोकमा रहेको छ ।
५.२. परिवर्तन कवितामा वर्गीय चेतनाको अवस्था
प्रस्तुत कवितामा क्रान्तिचेतना आउनु अगाडिको समय र क्रान्तिचेतना आइसकेपछिको अवस्थामा देखिने भिन्नतालाई देखाइएको छ । समयले गर्दा मानिसमा पूजीपतिका विरुद्ध दमन शोषण अन्याय अत्याचारका विरुद्ध चेतना पलाएको चर्चा यस कवितामा छ ।
५.२.१. उच्चवर्गको अवस्था
यस कवितामा राणाहरुलाई इतिहासकै भूमिकामा राखी चर्चा गरिएको छ । उनीहरु शासन र सत्तामा बसेका छन् । राज्यबाट उत्पादित बस्तु उनीहरुको अधीनमा रहेको छ । उनीहरु भोग विलासीपूर्ण जीवन बिताउन चाहन्छ । उनीहरुले राज्यका जनतासँग गर्ने गतिबिधिमार्फत गरिब जनताका शिक्षा स्वास्थ्य सचारका क्षेत्रमा अधिकार खोसिएका छन् (एटम, २०६६) । जनतालाई काममा लगाउने र उनीहरुकै पसिनाबाट भोग विलासी जीवन विताउने राणाहरुका विरुद्धमा निन्न वर्गका जनताहरुले सङ्घर्ष गरेका छन् ।
५.२.२.निम्नवर्गको अवस्था
तत्कालीन राणा शासनबाट हिजोका त्रसित जनताहरु बेचिएका नोकरझै मौन बसिरहेका छन् । गरिबीका कारण सबैका सामु हात फैलाउनु उनीहरुको बाध्यता हो । उनीहरुले आफ्नो अधिकार सामर्थ्य चिनेका थिएनन् । उनीहरु आँशु झारेर चुपचाप बस्दथे । जब जनतामा चेतनाको लहर बढ्दै गएको छ, तब जनता अधिकारका लागि गर्जने उत्साह देखाउने मात्र होइन , आवश्यकता परे जीवन नै आहुति दिने अठोटका साथ अगाडि बढेका छन् । जनजागरणको यस अवस्थाले गर्दा देशमा प्रजातन्त्रको आगमन हुने सङ्केत देखिएको छ (एटम, २०६६) । जुनै देशको परिवर्तन पनि त्यस देशका जनताको मानसिक परिवर्तनमा निर्भर हुन्छ । विचारले मानिसको सोचाइ बद्लिन्छ र त्यसलाई व्यवहारमा प्रयोग गरिन्छ । यसरी फराकिलो छाति बनाउँदै वर्गसङ्घर्षको इतिहासमा सर्बाहारा बर्गको जीत हुने कुरा निश्चित छ भन्ने मान्यता मार्क्सको हो ।
६. निष्कर्ष
यस परिवर्तन कवितामा जहाँनिया राणा शासन र त्यसका विरुद्ध जनताले गरेको क्रान्ति र त्यसमा आएका परिवर्तनहरुलाई चित्रण गरिएको पाइन्छ । यसका साथै राणा शासनमा जनताले झेलेका समस्याहरुलाई यसमा चित्रण गरिएको छ । वास्तवमा राणाहरु भोगविलासी प्रवृतिका रहेका र उनीहरुले गरिब जनताहरुमाथि शोषण गर्ने गरेको अवस्थाको चित्रण यसमा गरिएको छ । राणाहरुकै यहीँ प्रवृतिले जनताका हक अधिकारहरु खोसिएका र उनीहरु माथि सङ्घर्ष गर्न सुरु गरेको देखिन्छ । हिजोसम्म लाचार भएका तिनै जनताका आवाजले आज राणाहरु आतिएको अवस्थाको चर्चा गरिएको छ । यसरी सर्वाहारा वर्गको सामूहिक आवाजले पूँजिपतीहरु डराउने निष्कर्ष निकालिएको छ । जनताका आवाजले परिवर्तन ल्याउने अवस्था यस लेखमा देखाइएको छ । परिवर्तनमा उच्च वर्गका विरुद्धमा आवाज निस्कने यसले एउटा सत्त्तालाई परिवर्तन गर्छ भन्ने निष्कर्ष पाउन सकिन्छ ।
सन्दर्भ सूची
उप्रेती, सञ्जीव (२०६८).सिद्धान्तका कुरा, काठमाडौँ : अक्षर क्रियसन्स नेपाल ।
केसी, हस्तबहादुर (२०२०). मार्क्सवादी दर्शन, काठमाडौः जनखबर प्रकाशन ।
बराल, कृष्णहरि र एटम,नेत्र ( २०६६). अनिवार्य नेपाली, काठमाडौः विद्यार्थी पुस्तक भण्डार ।
भट्टराई, रमेशप्रसाद (२०६९), मार्क्सवाद र साहित्य सिद्धान्त,भृकुटी ।
भण्डारी, पारसमणि र पौडेल, माधबप्रसाद -२०७४_, साहित्यशास्त्र र नेपाली समालोचना, काठमाडौ M विद्यार्थी पुस्तक भण्डार ।
मार्क्सको अतिरिक्त रिद्धान्तM एक चर्चा -२०७५, कार्तिक ८_ Retrieved from https://onlinemajdoor.com/?p=19238
सुनुवार,रमेश -२०५८_,मार्क्सवादको आधारभूत सिद्धान्त,काठमाडौF M दीपक प्रकाशन ।
शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल (२०६१) . पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।

बराह न.पा. ११, सुनसरी





प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 18 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु