बरालिएको जिन्दगी

- मनिश कुमार शर्मा समित

मध्य रातको कोलाहलले फेरि मेरो निन्द्रा खुल्यो । दिउँसोभरि साइटको खटान रातभरि रुवाबासि ‘अब त अति भयो ‘ भुत्भुताउँदै उठें। पातलो ओढ्ने ओढेर म बाहिर निस्कें। बाहिरको चिसो हावाले सम्पुर्ण शरीर चिस्यायो । तर दिमाग भने ताति रहेको थियो । पल्लो घरको रुवाबासी टड्कारो सुनिदै थियो । ढोका ढकढकाँए । ठुलो आवज मौन भयो केवल माधुरो हुँक्क हुँक्क आवज ‍आईरह्यो ।

“ए ! ढोका खोलनुस् त “ फेरि ढकढकाउछु । भित्रबाट सर्‍याकसुरुक मात्र आवज आयो । तर ढोका खुलेन । पाँच- दश मिनेटको अन्तरालमा फेरि एक जोडले ढकढकाउँछु । बल्लतल्ल ढोका खुल्छ । जुनेली उज्यलोमा निहाल्न खोज्छु झण्डै ९-१० वर्षको नानी रहिछन् ।

“के भो नानी ? किन रोयकी ?”

“ ” केही उत्तर आउदैन ।

“को छ भित्र ?”

“आप्पा ” मसिनो आवजले जवाफ आउँछ ।

म भित्र छिर्छु । ह्वास्स पिसाब र रक्सीको मिश्रीत गन्धले नाक थुन्न बाध्य गराउँछ । पिलपिले टुक्कीमा उसको आप्पा भुईंमै लडिरहेको देख्छु । घचघचाउँ छु । तर मुर्दा लडे जस्तै लडेको रहेछ । ” हुँ ” भन्ने आवज बाहेक केही आएन ।

“ल नानी ढोका राम्ररी लगाउ अनि भोलि तिम्रो आप्पालाई मलाई भेट्नु भन है ” बाहिर निस्कदै भनें । उसले सहमतिमा टाउको हल्लाई ।

ढक.. ढक.. ढक.. ढक.. ढोकाको आवजले म बिउँझिएँ । टाउको भारी भएछ । घडी हेर्छु घडीले नौ बजाई सकेछ |

“को आयो फेरि एक बिहानै ” ढोका खोल्छु। ह्वास्स रक्सीको गन्धले रातीकै कोलाहल मच्चाउने व्यक्ति भनेर ठम्माउन गार्हो परेन ।

“ के हो जहिले राती राती हल्ला माच्चाउ छौ ? रातभरि सुत्न दिदैनौ ? “ कड्किदै सोधें ।

प्रतिउत्तरमा उ किच्च हाँसी रह्यो ।

“नाम के हो ? “ रुखो प्रश्न गर्छु

“पासाङ ”

“ के गर्छौ ?

“ म ता क्याई गर्दाइना “ अशुद्ध बोलीमा टाउको कन्याउदै जवाफ दिन्छ ।

“अनि रक्सी धोक्ने पैसा कता बाट आउँछ ?”

“ “ जवाफ आउदैन ।

म उसलाई तलदेखि माथि सम्म निहाल्छु । उमेर लगभग ३०-३५ को । जिङ्ग्रिङ्ग कपाल । घाँटीमा तीनपाथी मैलो । छि ! मनै घिनायो ।

“रातभरि हल्ला गरेर अर्काको निन्द्रा बिगार्ने हैन । ल जाउ त्यती भन्न बोलाको ।” म उसलाई चाँडो भन्दा चाँडो पन्छाउन चाहन्थे । केही नबोली चुपचाप उठेर गयो । उ अझ लरबरिदै थियो । निकैबेर सम्म मेरो आँखाले उसलाई पछ्याई रह्ययो । नुवाईधुवाई सकेर म साइट तिर लागें ।

“नमस्कार ईन्जिनेर साप ” मेरो अगाडि लाक्पा (ठेकेदार) हात जोड्दै उभिरहेको थियो ।

“के हो लाक्पा तिमीले कस्तो कोठा खोजी दिएको ? तीन चार दिन देखि त्यो जड्याँ छिमेकिले हल्ला गरेर सुत्नै दिंदैन “ म फेरि तात्तिन थाले ।

“ह्यजुर याँ गाउँमा काँ राम्रा कोठा पाँउछा । बल्ला बल्ला खोजेर राम्रामा पारेको ह्यजुरलाई । मा त्यो पासाङ्लाई सम्झाउँ छ । “ ठेकेदारले स्पस्टिकरण दिदैं भन्यो ।

ठिकै हो । मनमनै सोचें ‘दुर्गम भोटेहरुको बस्तीमा भने जस्तो पाउन गाह्रो छ’ । आज त मस्त निदाउने आशामा कोठामा फर्कें । आँखा के लाग्न आँटेको थियो फेरि उही ताल ।

१५ वर्षको कार्य अनुभवमा नेपालको बिभिन्न स्थानको रहनसहन, रीतिथिति, समाजिक भेषभुसाको अनुभव गरें । तर यो ठाउँ नितान्त फरक थियो । भौगोलिक विकट्ता त छदैं थियो, अशिक्षाले पनि गाँजेको थियो । स्थानिय प्राथमिक बिद्यालय पनि चौंरी गोठमा परिणत भएको थियो । भोटे जातीको बाहुल्य रहेको यस ठाउँमा प्रायः महिलाहरूनै दैनिक घरायसी कार्यमा जुटेको देखिन्थे। पुरुषजाती धेरै जसो जुवातास र मदिरामा बरालिएका हुन्थ्ये । केही भोटको व्यापारको सिलसिलामा सीमा पारि गएका थिए । नगन्य रुपमा केही सडक निर्माण कार्यमा समाहित भएका थिए । सडक विभागको प्रतिनिधित्व गर्दै म यहाँ होमिएको थिए । सदरमुकाम बाट नै धाउन साध्य थिएन त्यहि भएर स्थानिय क्षेत्रमै ठेकेदारलाई कोठा खोज्न लगाएको थिए ।

खै ! कैले विकशित हुने यो ठाउँ ? अझ बाटो नबान्ने हो भने त शुन्यतामै हराउने छ । बिहानको चियाको चुस्कीसँगै झ्यालबाट बाहिर हेर्दै सोच्दै थिएँ । मेरो आँखाले पासाङको घर चाहारिरहेको थियो । सानो ढुङ्गे घर; घर पछाडि च्याङ्ग्राको खोर । ‘के गरि गुजारा चलउछ होला यो पासाङले ?’ सोच्दै थिएँ पासाङको छोरी फुत्त ढोकाबाट बाहिर निस्की । कौतुहलबस म उसलाई हातको ईसाराले बोलउन पुग्छु । आज्ञाकारी छात्रा झैं मेरो अगाडि उभई ।

“तिम्रो नाम के हो नानी ?”

‘डोल्मा ” छोटो उत्तर आयो ।

“अनि कता हिँडेकी ?”

“छ्यामाको घर नुन लिना ”

“अनि राती राती किन रोएकी ?”

आखाँमा डरको भव प्रष्ट देखिन्थ्यो । काम्न थाली ।

“आप्पाले मार्छा ” उसको ओठ थर् थराई रहेको थियो ।

अनगिन्ति प्रश्न मनमा उब्जिरहेका थिए तर त्यती भन्दै उ भागिहाली ।

२-४ दिन त केही साम्य भयो । लाग्यो लाक्पाले सम्झायो होला तर त्यस दिन त उसले अचाक्लि नै गर्यो । बेलुका म ढोका खोलेर कोठामा पस्न मात्र के लागेको थिएँ उसले छोरीलाई जगल्ट्याउदै बाहिर निकाल्यो । दौडदै त्यहाँ गएँ । म पुग्नु भन्दा अघि कलिलो गालामा उसले दुई चड्कन बजाइसकेको थियो । रन्थनिएर उ भुँईमा पछारीन पुगी । म त्यहाँ पुग्दा उ सल्लाको दाउरा उठाएर हान्न लगेको थियो । डोल्मा डरले मेरो पछाडि लुक्न पुगी ।

“ए ! के गरेको ?” हातबाट दाउरा खोस्दै उसलाई हुत्याँए । फिट्टु भएको रहेछ । ढलमलिदै ढोका नेर पुग्यो ।

“तुँलाई ता म ” उठ्न कोसिस गर्दै थियो तर सकेन ।

टुप्लुक्क लाक्पा पनि आइपुग्यो । उसले पासाङलाई सम्हाल्दै भित्र लग्यो । डर र त्रासले डोल्मा मलाई च्याप्प समाइरहेकी थिई । केही समयमा लाक्पा बाहिर आयो ।

“हैन यो छोरीलाई किन देखिसक्दैन हँ त्यसले ?” म लाक्पालाई प्रश्न गर्छु ।

“ख्याइ क्या भान्ने सार ? काति साम्झायो मान्दाइ मान्दाइ ना “ लाग्यो लाक्पा केही लुकाउन खोज्दैछ । नत्र आफ्नो सन्तानलाई यति साह्रो त नगर्नु पर्ने ।

“ल डोल्मालाई आज तिमी नै लैजाउ” “ल नानी तिमी आज लाक्पासँगै जाउ डरुनु पर्दैन”

डोल्मालाई लाक्पाको जिम्मा लागाइ कोठामा आइ सोच्न बाध्य भएँ – ‘हैन के साह्रो काठोर मन हँ ? आफ्नो सन्तानलाई के साह्रो भकुर्न सकेको ।‘ सोच्दा सोच्दै कुन बेला निन्द्रादेबीको काखमा पुगेछु पात्तै भएन ।

हिजोको घटनाले मन भारि भइरहेको थियो । साइटमा काम गर्ने उत्साह उमङ्ग थिएन । आँखामा डरले थरथर कामेकी डोल्माको मुहार मात्र घुमिरहेको थियो । एक छिन पछि लक्पा आइपुग्यो । उसको पछि पछि पासाङ पनि ।

“ह्याजुर यो माफि माग्छा ”

पासाङ हात जोडेर ठिङ्ग उभिरहेको थियो । म केही बोलिन ।

“ह्यजुर काम पाए गार्छु भान्छा ” लाक्पाले विन्ती चडयो ।

“के काम गर्छ यस्ताले ? छैन कामसामन” झर्कदै भने ।

दुवै मौन थिए । म बाटोको ट्रेसिङ नक्सा तिर घोरिन थाले । तर दिमागले सोचीरहेको थियो – ‘के काम दिने यो जड्याँलाई ? काम दिंदा कमसेकम बरालिएर जाँड त धोक्दैनथ्यो कि ? फेरि काम दिए काम गर्ने ठाउँमै जाँड खाएर उत्पात मच्चाउने हो कि ?’ दोधारमा परें ।

“हैन काम छैन नि कि के हो लाक्पा तिमी त यहीँ छौ ? काम बिग्रेला है होस गर्नु ” झपारे झैं गर्छु ।

लाक्पासँगै पासाङ पनि जान खोज्दै थियो । म उसलाई रोक्दछु ।

“ओ पासाङ ! एता आउ ”

लाक्पा पनि रोकिन्छ । म उसलाई काममा जाने ईसारा गर्छु । अब हामी दुई मात्र भयौं । आज चाहिं केरकार गर्नै पर्यो भन्ने सोच आयो ।

“काम गर्छ ?”

“गार्छा ”

“जाँड खाएर आउन पाउदैन नि ”

टाउको हल्लाएर सहमति दिन्छ ।

“अनि यस्तो फोहोरी पनि हुन पाउदैन । नुवाईधुवाई चिटिक्क हुनुपर्छ ।”

फेरि टाउको हल्लाउछ ।

“किन नबोलेको ? बोल्नलाई जाँडै खानु पर्ने हो कि के हो ?”

“....” जवाफमा किच्च हाँस्छ ।

“अनि त्यो छोरीलाई किन कुट्छौ हँ ? हिजो त झण्डै मारेको थियो । “

“खाई सार जाँड खायापाछि मालाई क्या हुन्छा क्या ? मा ता आँख्याई देग्दैना ”

“देख्यौ त जाँडले के गर्दो रैछ ? आफ्नो मान्छे पनि चिन्दैन । अनि छोरीलाई स्कुल पठाउछ कि पठाउदैन नि ?”

“मास्टारै छैना ”

“ल ठिक छ भरे बेलुका देखि म कहाँ पठाउनु दुई चार अक्षर चिनाइ दिँउला “

“हास “ छोटो जवाफ दिन्छ ।

“ साँच्चि तिम्रो बुढी कहाँ छ नि ? मैले देखेकै छैन त ?” कौतुहलताले सोध्न पुग्छु ।

“उ ता काठमण्डा सहार गाई काम खोज्ना । ५-६ मैना भायो ”

“ए “ “ ल ठिक छ भोलि देखि सफा भएर काममा आउनु । के के गर्नु पर्ने हो लाक्पालाई सोध्नु “

“हास ”

उ फुरुङ्ग भयो । हात जोडेर “टाशीदेले ” भन्दै गयो । मेरो आँखाले उसलाई पर सम्म पछ्याई रह्यो । आज मन धेरै हल्का भएको महसुस भयो ।.

समयले आफ्नो गति लिईरहेको थियो । पासाङले मैले अह्राय बमोजिम छोरीलाई बेलुका बेलुका म कहाँ पढ्न पठाउन थाल्यो । भोटेको छोरो, जातले खान पाएको, त्यस माथि लागेको बानी पुरै त कहाँ छोड्थ्यो र तैपनि उसको मादक सेवनमा कमी आएको थियो । पहिला पहिला बोल्न पनि डराउने डोल्मा अब निकै फरासिली भएकी थिई । दिमाग तेज थियो । थोरै समयमा धेरै कुरा सिकिसकेकी थिई । म उसको मुहारमा आफ्नो छोरीको कल्पना गर्थे । उसको मुहारमा छोरीको झझल्को देख्दा मेरो आँखामा आँशु छल्किन्थ्यो ।

सानो परिवार, सुखी परिवार थियो मेरो । श्रीमती, एक छोरा र एक छोरी । हो मेरी छोरी जो आज मेरो परिवार माझ छैन । निष्ठुरी दैवले दुई वर्ष अघि ८-९ वर्षको कलिलो उमेरमा हामीबाट हरेर लग्यो । अन्तिम समयमा पनि उसको साथ हुन सकिन । वर्षायामको बाढीपहिरोले गर्दा सुदुर पश्चिमको विकट ठाउँबाट काठमाण्डौं पुग्न मलाई झण्डै पाँच दिन लागेको थियो । सोच्दासोच्दै आँखा रसाएर आयो । यहाँ आएको पनि एक महिना बितिसकेछ । घर र परिवारको यादले पिरोल्न थाल्यो ।

“म भोलि काठमाण्डौं जादै छु । तिमीलाई के ल्याईदिउँ ? “ बेलुका पढाउदा पढाउदै म डोल्मालाई सोध्न पुग्छु ।

केहि जवाफ दिन्न । टुलुटुलु हेरिरहन्छे । उसको हँसिलो मुहारमा नीराशता छाएको प्रष्ट देख्छु ।

“के ल्याईदिउँ ?” फेरि दोहोराएर सोध्छु ।

“आमालाई लाईदिनु ” उसको आँखा आँशुले टिलपिल भएको थियो ।

अप्रत्यासित जवाफले म झसङ्ग हुन्छु । जवाफ दिन सक्दिन ।


कठै ! म जस्तोलाई त घरपरिवारले पिरल्छ भने यो त अबोध बालिका । फेरि उसको आमा कस्ती छ ? त्यो कोलाहल शहरको भिडमा कता छ ? के गर्दै छ ? कसरी भेटाउनु मैले ?

दुईचार दिनको घरको बसाई लम्बिएर १० दिनको भएछ । यता बस्दा डोल्माको याद धेरै आउँथ्यो । श्रीमतीसँग पनि उसको बारेमा दिनहुँ जसो कुरा गर्थे । कहिले उत्सक भएर सुन्थिन् कहिले झर्को मान्थिन् । छोटो समयको पारिवारिक ममतालाई मुटुभरि बोकेर म पूःन कर्म क्षेत्र तिर लाग्छु । सदरमुकाम सम्म त सवारीको शुलभता तर त्यसपछि ठाडो उकालो सम्झदै आङ सिरिङ्ग भयो । उकालो चढ्दा ताना शर्माको ‘घनघस्याको उकालो चढ्दा’ याद गराउँथ्यो ।

दुबै हातमा झोला बोकेर अघि बढें । केही समय पछि पछाडिबाट कसैले बोलाको जस्तो लाग्यो । फर्केर हेरें लाक्पाको भाइ नोर्बु रहेछ । नोर्बु यहीँ सदरमुकाममा परिवार सहित सानोतिनो व्यापार गरेर बस्दथ्यो ।

“दिनुस सर एउटा झोला म बोकिदिन्छा “ उसको भाषामा केही प्रस्टता थियो “ म पानि उतै जान लाग्या । आमालाई आलि सन्चो छैन रे “ मरो हात बाट एउटा झोला लिदै उसले भन्यो ।

बाटो सजिलै कट्ने भयो अब कमसेकम गफ गर्ने साथी त भयो । बाटोमा उसले आफ्नो पारिवारिक पृष्ठभूमी बताउँदै गयो । जेठो लाक्पा कान्छो उ, एउटी दिदी सोलुतिर घरजम गरेर बसेकि । पासाङ उसको मामाको छोरा रहेछ । पासाङको नाम आउने बितिक्कै मनमा उत्सुक्ता जाग्यो ।

“हैन त्यो कस्तो मान्छे हँ ? जहिले मातिरहेको हुन्छ । छोरीलाई पनि कुटिरहन्छ ।” म प्रश्न नोर्बुलाई तेर्साउँछु ।

“आफ्नो छोरी भए पो माया गर्छा त अर्काकी छोरी परी “ उ सजिलै उत्तर दिन्छ । म झस्कन्छु । मन झन उत्सुक भयो ।

“कस्की छोरी हो त ?”

“खाइ ? पोहोर साल सोलुतिर घुम्ना गाको थियो । त्यहीबाट केटी पनि भगाएर ल्यायो छोरी पनि ल्यायो । ” उ भन्दै गयो ।

“पहिला पहिला ता ४-५ महिना माया पिरती खुब देखायो । पछि ता आमा छोरी दुबैलाई मातेर कुट्ना थाल्यो । त्यसको बुढी पनि काम्ताका छैन । मेरो र उसको झगडा लगाईदियो । उसको बुढी जिस्कायो भनेर । झण्डै मारेको थियो मलाई पासाङले । मेरो ता बोलचाल पानि छैना “ सबै बेलि बिस्तार लागायो ।

झण्डैआधी बाटो काटि सक्दा धेरै कुराहरु थाहा पाइसकेको थिएँ । बाटोमा चौतारो आयो । त्यहाँ एक युवती बसिरहेकी थिईन् । उनले नोर्बु तिर हेर्दै “टाशीदेले ” भनिन् तर नोर्बुले नदेखे झैं गर्यो । साह्रै थकाई लागेको थियो । एक छिन त्यही चौतारोमा सुसाउन चाहें ।

“एक छिन आराम गर्ने हैन नोर्बु । मलाई त धेरै थकाई लाग्यो ।”

“हैन सर मलाई अलि हतार छा । सर आउदै गार्नु । म सरको झोला घरमा पुराईदिन्छा ।” यति भन्दै उ फटाफट हिंडिहाल्यो ।

उसको परिवर्तित व्यवहार देखेर म अचम्ममा परें । अगि सम्म हतार नभाको ऐले के हतार परेछ ? सँगै हिडेको एकै ठाउँमा पुग्नु पर्ने मान्छेलाई बिच बाटोमै छाडेर गयो । के तालको होला ?


“उफ ! कस्तो गर्मी ! ” भरखरै चौतारीमा भेट भएकी युवतीसँग गफ गर्ने मनसायले कुरा उप्काए । तर उ केही बोलिन । तल देखि माथि सम्म उसलाई निहाले । हाफ टिसर्ट र जिन्स पाईन्टमा ठाट्टीएकी थिई । खुट्टामा हल्का हिल जुत्ता । पक्कै शहर तिरबाट आकी हुनुपर्छ । मेरो एकोहोरो हेराईले उ अलि हच्केको जस्तो लाग्यो ।


“बैनि कहाँ बाट आको ? “ सोध्न बाध्य भएँ।

“काठमाण्डु बाट ” अफ्ठयारो मान्दै भनी ।

“अनि कता जान लागेकी “

“माथि घ्याङफेदि सम्मा ” उसले भनी

“म पनि त त्यही जान लागेको । कस्को घरमा जान लागेकी ?”

“पासाङ ” उसको उत्तर पुरा हुन नपाउदै म फेरि प्रश्न गर्छु ।

“तिमी पासाङको श्रीमती हो ?”

पक्क परेर मलाई हेरी । ए त्यहि भएर पो नोर्बु बटारिएर हिंडेको रैछ।

“नाम के रे तिम्रो ?” मैले उसको नाम बिर्सिए झैं गरें । वास्तबमा मलाई नाम नै थाहा थिएन ।

“निङ्गमा ”

“अनि काठमाण्डौमा कहाँ बस्छौ नि ? ”

“बौद्ध ”

“ए... मेरो घर पनि त त्यहीँ मुलपानी हो नि ”

केही बोलिन । उ झोला बोकेर हिड्ने तरखर गरी । निकै ठुलो झोला रैछ । बोक्न सकस परिरहेको थियो उसलाई ।

“म बोकि दिउँ ? ” जिस्काए जस्तो गरें । बोलिन केवल मुस्कुराई । उसको मुस्कानमा मदकता थियो । त्यसै त पासाङ लठ्ठू भएको हैन रै छ भित्रभित्रै मुस्कुराए ।

बाटोभरि अनगिन्ती प्रश्नहरुको वर्षा गरे । कमै उत्तर दिई । जति जवाफ दिई मेरो लागि पर्याप्त थियो ।

५ दिदी बहिनीकी कान्छी निङ्गमा, पन्ध्रै वर्षको उमेरमा बा आमाले गाउँकै एक बुढालाई भिडाई दिएछन् । बिहाको दोस्रो वर्षमा छोरी जन्मी डोल्मा । तेस्रो वर्षमा बुढा बितेपछि जीवन विताउन निकै गाह्रो भयो । जीवनका एक्लो पाटाहरु ७-८ वर्ष बिताए पछि पासाङ सँग भेट भयो । मन मिल्यो भागेर आई । सोलुतिरको सबै घरखेत बेचेर यहीँ तल सदरमुकाममा एक टुक्रा जग्गा जोडेको रैछ । बाँकी रहेको पैसाले दोस्रो दाम्पत्य जीवनको सुरुवाति दिनहरु त राम्ररी बिते । तर केही महिना पछि खटपट सुरु भयो । परिवारमा हात मुख जोर्न पनि गाह्रो हुन थाल्यो । पासाङ बिन्दास थियो । कतै केही काम गर्न चाहदैनथ्यो । दिनहुँ मदिरा, तमाखु, जुवा तासमा रम्थ्यो । हार खाएर छोरीलाई छाडेर काठमाण्डौं काम खोज्न छिरेकी रहिछ ।

गन्तब्यमा पुग्दा साँझ पर्न लागेको थियो । पासङको घर अघि पुगेर आतुर भएर म डोल्मालाई बोलाउन पुग्छु ।

“डोल्मा हेर त को आको छ ?”

निङ्गमालाई देखेर दौडदै झ्याम्म अङ्गालो हाल्छे र भक्कानिएर रुन्छे । आमा छोरीको मिलन देखेर मेरो मन पनि भारिएर आउँछ।

भोलिपल्ट बिहानै आफनो काम तिर लागे ।

“के छ लाक्पा ? काम चल्दैछ हैन ? “ पछाडि बाट अचानक मैले गरेको प्रश्नले उ झस्किन्छ ।

“आच्या ! सार पो ? नमास्कार सार ”

“टाशीदेले ”

“ए सार पानि हाम्रो भाषा...”

“अनि सिक्नु परेन त । तिमीहरू आफु आफु बिच आफ्नै भाषामा कुरा गर्छौ । मलाई गाली गरेको हो कि के थाहा ? “ हास्दै भन्छु ।

“सार पानि मजाग गार्नु हुन्छ । सारलाई कस्ले गाली गार्ना साग्छ । सबैले मान्छा सारलाई ।” मलाई फुर्काउन खोज्छ ।

“अनि काम कस्तो चल्दै छ त ? पासाङ आउदै छ कि छैन ?”

“खाइ सार त्यसले गारि खादैना । काहिले आउँछा काहिले आउँदैना । आस्ति एक दिन मातेरा आएछा माइले फर्काईदियो ”

“हेत्तेरी ! नसकिने भो यसलाई । ल म कुरा गर्छु । अरु केही छ त ? हिजोको हिडाइले थकाई लागेको छ । कोठामा आराम गर्नु पर्यो ”

“हास सार हाम्रो पानि पार्व आउँदैछा । कामदारलाई पैसा दिनुछा । म पानि जान्छा “

कोठामा आएर बिछौनामा के पल्टेको मात्र थिएँ भुसुक्क निदाएछु ।

कोठा बाहिर गुनगुन आवजले मेरो निन्द्रा टुट्यो । ढोका खोल्छु आफ्नो अगाडि निङ्गमाको आमा छोरी पाउछु। आमाले ल्याईदिएकी नया लुगामा डोल्मा चिटिक्क परेकी थिई ।

“नमस्कार सर ” मिठो मुस्कानले निङ्गमाले भनी “मलाई सरको बारेमा सबै कुरा भनी छोरीले । आए देखि हजुरको मात्र कुरा गरिरहन्छ । पासाङलाई पानि काम दिनु भाएछ खुशी लाग्यो । हामी त सरलाई निम्ता दिना आको । भोलि लोसार हो खाना हाम्रो मै खानु पार्छ ।”

नकार्न सकिन हुन्छ भनिदिए ।

लोसारको उत्साहा गाउँभरि थियो । सबैको घरमा ध्वजापतका फर्फराइरहेका थिए । म पनि निम्तालु भएर पासाङको घर तिर लम्के । छिर्दै डुङ्डुङ् गन्हाउने कोठा आज निकै सुगन्धित थियो । हत्तनपत्त डोल्मा मेरो हात समाउन आईपुगी ।

“थाङकु ” उसले मिठो स्वरमा भनी

“किन थ्याङ्कयु ?” मेरी श्रीमतीले पठाई दिएकी कोसेली उसको हातमा राखिदिदै सोधें ।

“सारले मेरो आमा ल्याईदियो नि ता ” निकै खुसी थिई ।

सबै परिवार सांस्कृतिक भेषमा सजिएका थिए । निङ्माले मलाई खादा ओडाएर स्वागत गरी । पासाङ बिहानै देखि मथ्थु थियो । आजको दिन मैले केही भन्न चाहिन । लामो काठको बेन्चमा बिभिन्न खाना सजाएर राखेको थियो । डोल्मा मलाई परिकारको नाम बताउदै गई ।

“यो रिकिकुर, यो स्यक्पा, यो रिल्डोक, यो शाभालेप, यो कुखुराको मासु, यो च्याङ्ग्राको अनि यो.. “ उ टक्क अडिएर पासाङ तिर हेर्न थाली । मैले बुझिहाले त्यो रक्सी थियो ।

“लु लु नाकारा । आजु सारलाई पनि खुवाउनु पार्छ ।” पासाङले लरबरिदै भन्यो ।

निङ्गमाले खाना तयार गर्न लागी । एक गिलास रक्सी ल्याएर मलाई दिई ।

“तिमीहरुको सगुन होला थोरै देउ ।”

“देख्यो त कसरी खानु पार्छ ?” आफ्नो बुढा तिर हेर्दै उसले भनी ।

“तु नकारा ता ” पासाङले आँखा तर्दै थियो ।

“ल ल आज रमाईलो गर्नु पर्छ झगडा नगर “ गिलासको रक्सी सुरुप्प पार्दै भने । खानपिन सकेर बिदा भएँ । आधा गिलास रक्सीले मेरो खुट्टा हल्का लरबराई रहेको थियो ।साह्रै कडा रहेछ ।

१०-१५ दिनको बसाई पछि निङ्गमा फर्कने तरखरमा थिई ।

“छोरीलाई पनि लिएर जाउ ” मैले सुझाब दिन खोजें ।

“सार मेरो खान बस्नाको ठेगान भएको छैन । अर्को पटक लान्छा ।” गाह्रो मानी ।।

छुट्टिने बेला आमा छोरीको पिडादायीक रोदन थियो । त्यो दिन बेलुका सम्म उसको आँखा रसाईरहे । तर पासङको अनुहारमा कुनै भाव थिएन । साह्रै कठोर मन ।
निङ्गमा फर्के पछि पासाङ उही पुरानो पासाङ भएर निस्कियो । काममा आउन पनि छाडयो । “खालि ढुङ्गामाटो बोकाउँछा । त्यस्तो काम पनि गार्छ ? बुढीले कमाएर पठाईहाल्छा पुग्छा मालाई ता ।” भन्दै हिड्न थालेछ । धेरै सम्झउने कोसिस गरेँ । गाली पनि गरेँ तर पार लगाउन सकिन । आफ्नै दुनियामा रम्न थाल्यो। कहिले मातेर बाटोमै लडेको हुन्थ्यो त कहिले हप्तौं दिन सम्म गायब हुन्थ्यो ।

“आ ! सार किना टाउको दुखाउनु हुन्छा ? छाडिदिनुस ” कहिले काहीँ लाक्पा मलाई सम्झाउन खोज्दथ्यो । मलाई पासाङ भन्दा पनि डोल्माको चिन्ता थियो । उ त बिन्दास थियो । जसरि पनि आफु जिउन सक्थ्यो । तर यो बालिका न आमा को माया न बाको छत्र छाँया ।

गाउँमा केही दिन पछि हल्ला फैलियो पासाङले त भोटाङ तिरको एउटी केटी भगायो ।
हो कि हैन निर्क्यौल गर्न लाक्पालाई सोधें ।

“हो नि सार । तल सदरमुकामको बारी पनि बेचेछा । आब दुई चार महिना मोज गर्छा आनि पैसा सके पछि फर्केर आउँछा । पैला पानि त्यस्तै गरेरा बा आमालाई दुःखा दियो ।”

उफ् ! नसकिने भो । खै के भन्ने ? बिन्दास कि अरु नै ।

यस्तै गरेर ४-५ महिना बिते । पासाङको अत्तो पत्तो थिएन । निङ्गमाको पनि खबर केही पाउन सकेको थिएन । एक दिन लाक्पा बिहानै डोल्मालाई लिएर म कहाँ आइपुग्यो ।

“सार म ता डोल्मालाई लिएर काठमण्डु जाना लाग्यो ।“

“किन र के भयो ?”

“नोर्बुले खबर पठायो निङ्गमा बिमार छा रे ।”

“ओहो ! ल पर्ख म पनि सगैं जान्छु ।” दुई चार दिनपछि घर जाने तयारिमा रहेको म उनीहरूसँगै हिड्ने बिचार गरें ।

डोल्मालाई मेरो घरमै छाडेर लक्पा,नोर्बु र म हस्पिटल तिर लाग्यौं । डक्टर सँग निङ्गमाको रोगको बारेमा सोधिखोजि गरें ।

“उसलाई त एच आई भि पोजेटिभ (एड्स) भएको छ । अबस्था निकै नाजुक छ। ” डाक्टरको जवाफले म नराम्ररि झस्कें ।

कसरी हुन गयो ? दिमाग खल्बलिन थाल्यो। म कहिले नोर्बु त कहिले लक्पाको मुख ताक्छु । मेरो भाव बुझेर लक्पाले भन्यो -

“खाई सारलाई के भन्नु ? राम्रो कमाई हुन्छा भानेर हाम्रा गाउँका धेरै केटीहरु याँ आएरा दुई नम्बरी काम गार्छ ” उसले थप्दै गयो - “गाउँका जति पनि चिटिक्क परेका, टिनले छाएका सोलार राखेका घार छान् त्यो घारका एउटा ना एउटा केटी काठमण्डु आउँछा त्यस्तो काम गार्न । कतिलाई ता बुढाले नै पठाउँछा ”

लाक्पाको जवाफले म आवक थिएँ । निङ्गमालाई भेट्न गएँ । मलाई देखेर आँखाभरि आँशु पारी । यता उता खोजे झैं गरी । मैले बुझिहाले छोरीलाई खोज्दै छ भनेर ।

“छोरी पनि आकी छ । मेरो घरमा छ । भोलि लिएर आउँछु ।” उसको अनुहारमा हल्का रोदन मुस्कान देखियो ।

“केही हुदैन । डक्टरले भनेको सबै ठिक हुन्छ । ” मैले झुठो आश्वासन दिन खोजें ।

“किना झुठ बोल्नुहुन्छा सर ? मलाई सब थाहा छ। म ता बाच्दिन आब तर मेरो छोरी..... “ अघि बोल्न सकिन । डाँको छाडेर रोई ।

“तिम्री छोरीको आज देखि मेरो भई चिन्ता नलेउ ” उ धेरै बेर रोईरही ।

अर्को दिन श्रीमती र डोल्मालाई लिएर हस्पिटल गएँ । अबोध बालिका आमा भेट्न पाउने आशमा फुरुङ्ग थिई । हस्पिटलमा आमा छोरी दुबै अङ्गालिएर खुब रोए । हामी दम्पतीको पनि मन थामिएन आँखा पुछ्दै बाहिर निस्केयौं ।

केही हप्ता पछि निङ्गमाले देह त्याग गरी । जीवनको अन्तिम घडीमा उसको लोग्नेको अत्तोपत्तो थिएन । बौद्ध परम्पराले दाह संस्कार गरियो । चिता जलिरह्यो सबका आँखा बाट आँशु झरिरह्यो ।

त्यो नरकमा निर्दोष डोल्मालाई पठाउन मनले पटक्कै मानेन । श्रीमतीको पनि चाहाना यही थियो । आफैसँग राख्ने दृढ संकल्प गरेँ । श्रीमती, लाक्पा र नोर्बु सबैसँग छलफल गरें । सबैलाई कथा व्यथा थाहा थियो । सबैले सहजै स्विकार गरे ।


लाक्पा र नोर्बु फर्कि हाले । मलाई भने त्यस ठाउँमा पाईला टेक्ने मनै थिएन । सरुवाको लागि निवेदन दिँए । अर्को व्यवस्था नभए सम्म त्यहीँ रहने उर्दिले विरक्तिएको मन लिएर कर्म थलो तिर लागें । पहिला जस्तो उत्साह उमङ्ग थिएन । मन बहलाउन साइट तिर नै धेरै समय बिताउन थालें । तर बेलुका कोठा फर्कदा सधैं सामुन्नेको पासाङको घरले झस्काउँथ्यो । कोठाको भित्तामा झुण्डि रहेको निङ्गमाले लगाईदिएको खादाले निङ्गमाको मुस्कान झै मुस्कुराई रहन्थ्यो ।


झ्यालबाट कहिले पासाङको घर त कहिले तल तिर देखिने सोलार जडित टिनका घरहरु निहाल्छु । प्रत्येक घरमा बरालिएका पासाङ र निरिह निङ्गमाहरु देख्दछु ।


(रिकिकुरः आलु पराठा जस्तै परिकार
रिल्डोकः आलु उसिनेर चौंरी गाईको नौनी र नुन मिसाइ डल्लो पारेको परिकार
स्यक्पाः थुक्पा जस्तै परिकार
शाभालेपः नेवारी योःम्यरी जस्तै)

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 18 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु