जिउँदो लास

- इन्दिरा गौतम

पर्दा पछाडी
बन्द कोठामा
जिउँदो लासको
बाँच्नु बाध्यता छ,
मनमा गाँठो परेका
कुनै पनि कुरा भन्न असमर्थ छ ।
मनका कुरा अमिलिएर
उगाल आएछ, ढुसी परेछ।

ईज्जत जान्छ रे
कुल-वंशको
घर-समाजको
जातिको
अनुहार ढाक्नुपर्ने
सास रोकिँदैछ बन्द कोठामा।
प्वाँख काटिएका छन्
उनलाई गिद्धे दृष्टि परेछ
सातै बर्षको उमेरमा।
समाज त थुकिरहन्छ
मिडियाहरु भुकिरहन्छन्
पिडित छन् बन्द कोठामै।
चिप्लो बोली र
एउटा चक्लेटको भाउ
तीन पिढीको कलंकित दाग बनेछ,
सात जन्मको अभिषाप बनेछ।

दिन प्रतिदिन बढ्दैछ
हिंसा मानवतामा,
शिकार हुँदैछन्
निर्दोष, असहाय, लाचार
आबाल, बृद्ध, वनीता
मानवताको मुखुण्डोधारी
नर पिशाचको हातमा।
अपराधी निस्फिक्री बजारमा
उन्मुक्त अट्टहास हाँसो हाँस्दै
जताततै दौडिरहेका छन्।

शोषित र पिडितका लागि
दुई थोपा आँसु झार्न नसक्ने मान्छे
अपाङ्ग बनिसकेको कानून
अपराधीको सहोदर सरकार
सबै एकैता रहेछन्।
बन्द कोठामा पिडित र
बाहिर रमाउनेहरूमा
खै!
भिन्नता नै पो के रह्यो र?
दुबै जिउँदो लास रएछन्।


ओदालगढी, असम

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 18 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु