पर्दाभित्र/पर्दाबाहिर

- प्रमोद पराजुली


दर्शकमाझ पर्दाबाहिर
श्रम र साहसको पोको बोकेर
सकिनसकि सुख र खुशीको आशमा
अनुहारमा कृतिम मुस्कान फिंजाउदै
भाग्यमा कत्ति विस्वाश नगरी
तन, मन र वचनले सत्कर्म गर्दै
सुन्दर सृष्टिको सपना सजाउदै
सबैसामु सत्यकथा सुनाइरहदा

तिमी
दर्शकविमुख पर्दाभित्र
अदृष्य रंगिन दुनियाँमा
आफ्नो धर्म र कर्तब्य भुल्दै
नातासम्बन्ध सारा लत्याई
निरन्तर नौला कुपात्रहरूको
रापिलो दौलती अँगालोमा
बेफिक्र बेशरम बेरिदै गर्दा
अचानक
समयको हुरी चल्छ
सत्यको पर्दा उडेर
सबथोक पर्दाफास हुन्छ
जीवनकथा अलपत्र बन्छ
अलमलिएका दर्शकहरू
प्रश्नसूचक दृष्टिले
अग्रमञ्चमा प्रदर्शित
दुबै नाटकहरू हेर्दै
कानेखुशी गरिरहन्छन।

सुर्यविनायक न पा (वडा नं ४)
भक्तपुर

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 18 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु