"दाइबुचु" भित्र पसेर घोत्लिँदा

- खिमानन्द पोखरेल

कृष्ण बजगाई चिर परिचित नियात्राकार भनी यसो भन्दा मैले पुस्तकको पानामा मात्र कतै गल्ती गरेर जोड्न पुगेको रहेछु भने क्षमा पाऊँ है त । प्रत्यक्ष भेट्न नपाएको मित्रलाई यसरी मात्र सम्बोधन गर्न पुगेको हुँ मैले । कुराकानी हुन्छ नहुने होइन । दुइ चार दिन कुरा गर्न पाईएन भने छट्पटि हुने कुरा पनि सही हो । हामी दुइ विच दुरीको हिसावले धेरै टाढा रहे पनि हाम्रो सम्बाद बारबार भई राखेकै हुन्छ । मित्रताको मिठो बोलीको साईनो गाँस्न हामी दुबै मा कुनै कमी छैन जस्तो लाग्छ । यसले हामी दुबैको जीवन मित्रमय बनेको छ ।

कृष्ण बजगईं नियात्रा विधामा अब्बल दर्जाको नाम हो । उनका नियात्राहरूमा सम्वन्धित ठाऊँको संस्कृति समेत जोडिएको हुन्छ । यिनै विविध संस्कृति जोडिएकै कारण उनको नियात्रा अझ बढी ससक्त दमदारको बन्न पुग्छ । नियात्राको हिसावले उनको यो तेस्रो कृति भए पनि पहिलो चाहीँ पढ्ने र सुम्सुमाउने अवसर मलाई मिलेन । बजगाईँको दोस्रो नियात्रा भाया साक्राको बारेमा यस भित्र पसेर मैले जाने बुझे अनुसार उद्धरण गरिएका शब्द शब्दहरू केलाएर पत्रिकामा टङ्कण गरिएको कुरालाई ताजै स्मरण गराउन चहान्छु । यस पटक मेरो सौभाग्यले नै भनौ नियात्राकारको तेस्रो कृति दाइबुचु मेरो हातमा परेको छ । अब भने म यसकै सेरोफेरोमा रहेर आफूले जाने बूझेका र यस भित्र देखिएका प्रासङ्गिक यात्राको बारेमा खोतल्ने प्रयास गर्ने छु ।

हाइकु मोहक भएर होला दाइबुचु नियात्रामा आफ्नो यात्राका प्रेमील शब्दहरू हाइकुबाट आरम्भ गर्छन् । यस नियात्रा पुस्तकमा शब्दहरूको जाहो गर्नू भन्दा पूर्व तैयार गरिएका उनका प्रत्येक शिर्षकको लगत्तै हाइकू कविता बाट यात्रा लेखनको आरम्भ गरिएको देखिन्छ । यति मात्र कहाँ हो र प्रसङ्गको बिट मार्ने काम पनि हाइकुबाटै मारिएको देखिन्छ । उनको यो विशेषताले पाठकलाई नौलो आनन्द दिने कोशीस गरेको अनूभुत दिलाउँछ । नियात्रा लेखनको सन्दर्भलाई जोड्दा विच विचमा आउने हाइकुहरू को त गणना नै नगरौ कति कति । उनको यो दाइबुचु सङ्ग्रहमा तेह्र वटा नियात्रा रहेका छन् । कुनै कुनै नियात्राहरू केही लामा पनि छन् । लामा नियात्रा पढ्दा पनि पाठकहरूलाई त्यत्तिकै आनन्द प्राप्त हुन्छ ।

दाइबुचु नियात्रा सङ्ग्रहमा सर्व प्रथम देखा पर्छ सम्राटको आत्म दर्शन । मैले पूर्व उल्लेख गरिसकेको छु यहाँ प्रत्येक यात्राको आरम्भ हाइकुबाट भएको छ भनेर । यहाँ टोरिगेट भनेर सिन्तोको धार्मीक स्थललाई जनाइृएको छ । सिन्तो धर्म मान्ने जापानीहरू यहाँ पुगे पछि शिर झुकाएर सिन्तो धर्म प्रति श्रद्धाभाव प्रकट गर्दा रहेछन् । सिन्तो धर्माबलम्बीहरू आफ्नो धर्म प्रति कडा न देखिएर नरम रूपमा प्रस्तुत हुँदा रहेछन् । जापानी र नेपाली विच धर्मसास्त्र सम्वन्धि केही कुरामा मेल खाने गरेको पढ्न पाईयो । जापानमा अंमेरिकनहरूले सिन्तो धर्मलाई हटाउनको लागि पहल गरेको कुरा बुझ्न पाईयो । यहाँका सिन्तो धार्मीक स्थलहरूमा हाम्रै धार्मीक आस्था बोकेको मठ मन्दिरमा स्थापना गरिएका मुर्तिलाई जस्तो मानेर भगवानलाई श्रद्धा गर्दै नमस्कार गर्न पाईदो रहेनछ । हामीले नमस्कार गर्दा त्यहाँको परम्परा विपरित हुँदो रहेछ । त्यहाँको नियम अनुसार त्यस्ता कुनै धार्मीक स्थलमा प्रवेश गरिसके पछि दुइ पटक शिर झुकाई सके पछि दुइ पटक नै थपडी बजाएर श्रद्धा प्रकट गर्नु पर्दो रहेछ । यसरी थपडी बजाउँदा त्यहाँ मृत्यु भएका सम्राटको आत्मा जोडीन आएको सङ्केत हुँदो रहेछ । जापानीहरूको सिन्तो र बौद्ध धर्मको चाड हामी नेपालीहरूको चाड दशैँ जस्तै हुँदो रहेछ । नेपाल जापानको धार्मीक कुरामा केही फरक देखिए पनि कुनै कुनै धर्म संस्कृतिमा समानता रहेको कुरा नियात्रा लेख्ने क्रममा छुटाईएको छैन ।
जापानीहरू सिमसिमे पानीमा पनि छाता ओढेर हिँडेको र छाता न ओढेकासँग ठोकिने डर पनि त्यत्तिकै पाईयो । त्यहाँको लोकप्रिय जनावरमा विरालो पर्दो रहेछ । अझ विरालोमा पनि कालो विरालो अत्यन्त शुभ लक्षण भएको विरालो भनेर मानिदो रहेछ । कालो विरालोले अत्यन्त धेरै माया पनि पाउँदो रहेछ । हामीलाई भने कालो विरालोले बाटो काट्यो भने शुभ साईत भएको मानिदैन । जापानीहरू कालो विरालोको मुर्तिलाई पङ्तिबद्ध भएर दर्शन समेत गर्दा रहेछन् । यसरी नै मोटी स्वास्नी मान्छेको तिघ्रामा टाटु बनाएर कम्पनीको विज्ञापन गरिँदो रहेछ । जेब्राक्रसमा देखिएको मान्छेको भिड कुकुरको मुर्ति हेर्न गएको रोचक प्रसङ्ग यहाँ उल्लेख गरिएको देखिन्छ । एउटी भारतीय महिलाले मुर्तिबत कुकुरको खुट्टा ढोग्न पुगेको कुरा अनौठो बन्न पुगेको छ । वास्तबमा स्वामीभक्त हाचीको वास्तविक कथा प्रसङ्ग यहाँ रोचक देखिन्छ । यस्तै स्वामीभक्तको दायरा भित्र पर्ने तिन विश्वासिला पात्रहरूको प्रसङ्गलाई यहाँ यसरी जोडीएको देखिन्छ । सर्वप्रथम जीवनको पहिलो मोडमा आएर आफूलाई साथ दिने पत्नि अनि दोस्रोमा कुकुर र तेस्रोमा आफूले सञ्चित गरेर राखेको धन । यी तिन चिज प्रति जापानीहरू ठूलो विश्वास गर्दा रहेछन् ।

कुराको प्रसङ्गलाई निरन्तरता दिने क्रममा टोकियो सहरलाई कंक्रिटको सहर भनेर भनिएको छ । यहाँ बसोबास गर्ने मानिसले अक्सिजन कसरी लिन्छन् होला भनेर नियात्राकारले कुरा उठाउने गरेको प्रसङ्गलाई यहाँ यसरी जोडीएको देखिन्छ । यहाँ नियात्राकारले माचुओ बासोको घरलाई मन्दिर ठानेर झण्डै ढोग्न पुगेको रोचक प्रसङ्गको कुरा उल्लेख गरिएको देखिन्छ । जापानी हाइकु सम्राट जस्को वास्तविक नाम बासोएन भए पनि उनले बासोलाई उपनाम बनाए भने माउचो चाहीँ उनको थर हो भनेर प्रष्ट्याईएको छ । माचुओ बासोले जापान भर नै प्र्रसिद्धि कमाएका कुराहरूको प्रसङ्ग उठाईएको देखिन्छ । जापानी भाषामा बासो भनेर केरालाई भनिन्छ । माचुओले केरालाई विम्ब बनाएर लेखेका हाइकुले जापानी साहित्यमा बाढ नै ल्याएको देखिन्छ । यस्तै जापानी हाइकु सम्राटको सालिक अगाडि नेपाली हाइकु कविताका दुइ किताब विमोचन गरिएका कुराहरू पनि यस प्रसङ्गमा परेका छन् । यो नेपाली हाइकु कविहरूको जापाजी हाइकु सम्राटको सालिक अगाडि पहिलो हाइकु कविता विमोचन गरिएको हो भनि नियात्राकारले यहाँ यसरी प्रस्तुत गरेका छन् । माचुओको शालिक अगाडि बसेर दश–दश वटा हाइकु लेखेका कुराहरू पनि परेका छन् । यस्तै जापानी हाइकु सम्राटको शालीक अगाडि बसेर नेपाली हाइकु वाचन गरिएका कुरा परेका छन् । जापानमा हाइकुपथ नामाकरण गरिएको बाटो पनि रहेछ । यो देखेर नियात्राकार हर्षित बन्न पुगेको कुरालाई यहाँ जोडिएको देखिन्छ ।

जापानको प्राचिन राजधानी कामाकुरामा रहेको विश्व प्रसिद्ध मुर्तिको बारेमा कुरा गरिएको छ । कामाकुरा प्राचिन राजधानी मात्र नभएर सैनिक शासनको जन्मस्थल पनि रहेछ भन्ने कुरा थाहा भयो । सामुराइ जापानमा बसोबास गर्ने एक जाती हो । ती जातीलाई हास्न नपाईने प्रतिबन्ध लगाईयो । सामुराइ जातीका मान्छे हास्यो भने युद्ध कौशलमा मात्र हार नभएर अनुशासन समेत भङ्ग हुने कुरा उठाईएको देखिन्छ । आजभोली भने सामुराइ जाती सिनेमा र पुस्तकमा मात्र सिमीत छन् । यहाँ फेरी नियात्राकारले बुद्ध मुर्तिको गर्भ भित्र प्रवेश गर्न पाएको कुरा गरेका छन् । बुद्ध र्मुिर्तको पेट भित्र पसेर निस्कदा अर्को जन्म भएर निस्किएको हो कि भन्ने जस्ता अनुमानित कुरा गरिएको देखिन्छ । कविहरूको जापानी भाषाका मौलिक कविता हाइकु र ताङ्कालाई बुद्ध मुर्तिको वरिपरि देख्न पउदा नियात्राकार खुसी हुन पुगेका प्रसङ्गहरू पनि यहाँ जोडीएका छन् । बुद्ध मन्दिरको प्रवेश द्वार मै हरेक देशका मानिसले रूख रोपेका रहेछन् । यस्तै नेपाल सरकारका मानिसले पनि रूख रोपेका छन् कि भन्ने जिज्ञासा लागेर हेर्न मन गरेको कुरा यहाँ उठाईएको छ । बुद्ध जन्मिएको देश नेपालका उच्चस्तरका व्यक्तिले रूख रोपी दिएको भए अरू राम्रो हुने थियो भन्ने कुरा उठाईदिएको देखिन्छ ।

जापानको योकोशुका प्रवेश गर्दा नियात्राकारलाई कतै म अमेरिकामा त आएको छैन भन्ने कुराले प्रतिविम्मित गराएको देखिन्छ । योकोशुकामा बस्ने जापानीहरूले पनि आफ्नो घरमा अमेरिकि झण्डा राखेर बस्दा रहेछन् । योकोशुकामा अमेरिकी प्रभाव राम्रो रहेछ । अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा बम हानेर ध्वस्त बनाए पनि अमेरिकाले जापानलाई उन्नत र विकसित गराउनका लागि जापानीहरूलाई प्राविधिक इञ्जिनियरको तालिम दिएर आधुनिकीकरण जापान बनाउने तर्फ सघाएको रहेछ । यही कारणले पनि जापानीहरूले अमेरिकनहरूलाई मान्दा रहेछन् । वास्तवमा भन्नु पर्दा जापानमा ध्वस्त भएका सहरहरू हिरासिमा र नागासाकी मात्र रहेनछन् यिनै ध्वस्त हुनेको सूची भित्र मिकासा पार्क पनि पर्दो रहेछ । यहाँ नियात्राकारले भेनी पार्कलाई रोमान्टिक पार्क भनेर आफ्नो तर्फबाट न्वारान गरिदिएका छन् ।

ओन्सेनमा नाङ्गै भएर नुहाउन जाने चलन गजवको लाग्यो । हामी नेपाली सर्बाङ्ग नाङ्गो हुन जानेका छैनौ । सबैको अगाडि नाङ्गै बस्दा लाज लाग्छ अव लाज लागेर के गर्नु देश अनुसारको भेष गर्नै पर्यो । जुन देशको ठाऊँमा पुग्दा नाङ्गै हुनु पर्नै भए पछि त्यही अनुसार गर्नै पर्यो । यस्ता कुराबाट नियात्राकार अचम्मीत भएनन् । उनले यस्ता कुरा लण्डनमा भोगीसकेका छन् । तातो पानीमा डुबुल्की मारे पछि घाउ खटिरा निको हुँदा रहेछ भन्ने कुरा एकजना सिकारीले घाईते बनाएको जनावर सिधा गएर तातो पानीमा डुबुल्की मारेर उपचार गरेको देख्दा तातो पानीले घाउ निको हुँदो रहेछ भन्ने कुराको ज्ञान भएर यसो गरिएको प्रमाणित देखिन्छ । त्यसपछि नियात्राकारले आफ्नो घरमा पनि ओन्सेन बनाउने कल्पना गर्दै “ठाऊँ न ठहर बुढीलाई रहर” को नेपाली उखान टुक्का जोड्दै उक्त कुरा भनेका छन् ।

जापानी महिला सुन्दरीहरूको क्याटवाक हेर्न टोकियो जानुपर्ने भनाई नियात्राकारको रह्यो । जापानी युवा युवतीहरूका गजव गजवका फेसन देखिएको कुरा नियात्राकारले उद्धरण गरेका पङ्तीहरू परेका छन् । यसैक्रममा पसलमा राखिएको मुर्ती बिरालोले ग्राहक बोलाउने गरेका कुरा लेखिएको छ । गाऊँमा बसेका जापानीहरूलाई सहर पस्ने प्रबृत्तिले गाँजेको रहेछ । बुढा बुढीलाई एक्लै छोड्ने चलन त्यहा पनि हुँदो रहेछ । यस्तै ओसिमा आइलैण्ड विरालोको राज भएको आइलैण्ड रहेछ । त्यसै भएर मानिसहरू त्यही आइलैण्ड हेर्न कै लागि त्यहाँ जाँदा रहेछन् । जापानमा विरालोको पूजा गरिदो रहेछ भने चीनको ग्वाङदोङ प्रान्तमा भने विरालोको मासू खाईदो रहेछ । क्याट क्याफेमा गएर विरालो सँग खेल्न पाईने, विरालोलाई सुम्सुमाउन पाईने तर काखमा राख्न नपाईने जस्ता कुरा पनि यस प्रसङ्गमा परेका छन् । क्याट क्याफेमा विरालो सँग खेल्न पाईने अन्य कुराहरूको धेरै प्रसङ्ग उठाईको देखिन्छ ।

जापानमा यात्रा गर्दा पहाडि मार्ग भएर यात्रा गर्नु पर्दो रहेनछ । यात्राको क्रममा पहाड आए पछि पहाडलाई खोपेर सुरूङ बनाईएको हुँदो रहेछ । अनि यसै क्रममा दुइ पहाडका विचमा खोँच परेमा पुल बनाएर बाटो तय गर्न सकिने प्रविधिको विकास भएको रहेछ । जापानी गाऊँमा नेपालमा जस्तै आफ्ना आमा बाबुले खोजी दिएको केटा केटी सँग विवाह गरिँदिने चलन पनि रहेछ । यस्तै ओसाकाका अग्ला भवनहरूबाट हाइ वे र ट्रेन पास हुँदो रहेछ । जापानको प्रचलित लभ होटलमा आफू कति घण्टा आराम गर्ने हो सोही अनुसारको शुल्क तिर्नु पर्दो रहेछ ।

हिरासिमामा आँणविक बम प्रहारको पीडाले नियात्राकारको मन रूवाएको छ । छातीमा बच्चा बोकेकी आमाको सालीक देखेर त्यहीबेला उनले आफ्नी आमालाई सम्झिन पुगेका छन् । जीवनमा दुःख पर्दा सबैभन्दा पहिला आमालाई नै पुकारीने कुरा समेत गरेका छन् । बम आक्रमणले जलिरहेको सहर आधा जलेका मानिसहरूको लास अनि यस्ता अनेकौ मन थामेर हेर्नै नसकिने दृश्य हेर्न ठूलो आत्मबल चाहिने हुँदा नियात्राकार त्यस्तो हेर्नै नसकिने भिडीयोमा कैद गरिएको वास्तविकतालाई जवर्जस्ती मन थामेर त्यो कारूणीक व्यथा हेरेको देखिन्छ । हिरोमिामा खसालीएको बम कति नरसंहारकारी रहेछ पढ्दै जाँदा पनि आफैलाई कस्तो कस्तो हुने । जापानीहरूले विवाह गर्दा “हिवा कुसा” भएको परिवार हो होइन निक्र्याैल गरेर मात्र विवाह गरिदो रहेछ । “हिवा कुसा” भएको परिवारलाई जापान सरकारले अहिले पनि भत्ता खुवाएर राख्दो रहेछ । जापानीहरूले यस्ता व्यक्तिलाई हेर्ने नजर दृष्टिकोण नै परक हुँदो रहेछ । यस्ता व्यक्ति सँग अहिले पनि क्यान्सर ल्युकिमिया जस्ता प्राण घातक रोग लगायतका अन्य रोगले आक्रमण गर्ने सम्भावना रहने हुँदा कुनै हालतमा यस्ता परिवार सँग वैवाहिक सम्वन्ध कायम राख्दा रहेनछन् । यस्ता आँडविक बममा परि बाँचेको परिवारलाई जापानीहरूले अछुत परिवारको रूपमा मान्दा रहेछन् । उनीहरूले छोएको खाँदा रहेनछन् । वास्तबमा भन्ने हो भने अमेरिकाले हिरोसिमा नागासाकीमा बम खसालेर जापानलाई ध्वस्त बनायो तर फेरी उहीँ अमेरिकाले जापानलाई औद्योगिकरण गर्दै माथी उठाई दियो । त्यसैले पनि जापानीहरू कुनै हालतमा अमेरिकालाई दुश्मन ठान्दैनन् । अमेरिकालाई रूघा लाग्यो भने जापानलाई निमोनिया हुन्छ भन्छन् जापानीहरू । जापानीहरूले जापान अमेरिकाको एकाउन्नौँ राज्य हो भन्दै यसरी टिप्पणी गर्छन् ।

क्योटो सहर जापानको पुरानो राजधानीको रूपमा प्रसिद्ध छ । अमेरिकाले जापानको हिरोसिमामा बम नहानेर क्योटो सहरमा बम खसाल्ने पहिलो लिष्टमा पारेको रहेछ । क्योटो सहर काठमाण्डौ उपत्यका जस्तै रहेछ भन्ने कुरा क्योटोको बारेमा पढे पछि थाहा भयो । काठमाण्डौलाई मन्दिरै मन्दिरको सहर भनिन्छ भने क्योटोलाई पनि बौद्ध मन्दिर र गुम्बाहरूले सोभायमान भएको सहर हो भन्दा केही फरक परोइन जस्तो लाग्यो । क्योटो सहरमा काठमाण्डौको झझल्को आउने धेरै घरहरू रहेछन् भन्ने कुरा पढ्न पाउँँदा धेरै खुसि लाग्यो । यस्तै क्योटोलाई कान्मुको शासन कालमा शान्तिको नगर नामबाट पुकार्न थालेका कुरा यस प्रसङ्गमा उल्लेख भएको देखिन्छ । सुनै सुनको पाताले जडिएको बुद्ध सोर्ण मन्दिरको सुरक्षाको लागि सुरक्षाकर्मी खटिएको नदेख्दा नियात्राकारको मनमा धेरै प्रसन्नता छाएको पाईयो । जापान इमान्दारिताको हकमा निकै अगाडि छ भन्ने कुरा माथी उल्लेख गरिएको पङ्तिले नै प्रष्ट पारेको छ । जापानीहरू अक्सरगरि घरमा ताल्चा नमारी बाहिर निस्कीदा रहेछन् ।

टोकियो सहरको पुरानो नाम एदो रहेछ । एदो मा माछामार्ने माझि बस्दा रहेछन् । पहिलेको एदो अहिले टोकियो सहर बनेको रहेछ । जापान जस्तो शिक्षित र विकसित देशमा पनि गरिब माग्ने मान्छे र घरबार विहिन मान्छे बस्दा रहेछन् । माग्ने मान्छेले मागेको देख्दा नियात्राकारलाई आश्चर्य लागेको कुरा प्रकट गरिएको छ । जापानी भूमीमा रहेर घरबार विहिन तिनसय जापानीहरूलाई त्यहाँ बसेर बन्द व्यापार गरेका नेपालीहरूले बर्षको एक पटक त्यस्तो समूहलाई निशुल्क नेपाली खाना खुवाईँदो रहेछ । यसकार्यले नेपाली माग्न मात्र जान्दैन आफूसँग भयो भने दिन पनि जानेको छ भन्ने सन्देश दिएको देखियो । यस्तै भेन्डिङ मेसिनमा पैसा छिराए पछि आफूले पिउन र खान चाहेका खाद्य सामग्रीहरू तुरून्त उपलव्ध हुन सक्दो रहेछ । नियात्राकार हाइगाको हाँगा खोज्ने भनेर हिँडेका छन् । जापानी भाषामा हाइको अर्थ हाइकु र गा को अर्थ चित्रलाई मानिदो रहेछ ।

योकोहामालाई जापानको दोस्रो ठूलो सहर मानिदो रहेछ । यसकोे ठीक डेढ सय वर्ष पहिला यो माछामार्ने ठाऊँ थियो । अहिले आएर भने यो योकोहामा सहर बनेको छ । नियात्राकारले दोस्रो विश्व युद्धको मार खेपेको यो सहरले निकै प्रगती गरेको पाएका छन् । वास्तबमा भन्ने हो भने नेपालमा जस्तै धेरै चाडबाड जापानमा पनि मनाईदो रहेछ । नियात्राकार माउन्टफुजी हेर्न निकै लालायित भएको देखिन्छ । जापानीहरू माउण्टफूजीलाई पृथ्वी र स्वर्गको प्रवेश द्वार हो भनि भन्दा रहेछन् । बुद्धको मुर्ति फरक फरक अनुहारको देखेर नियात्राकारको मन तरङ्गित हुन पुग्छ । बुद्धको जन्स्थल नेपाल हो । नेपालमा बुद्ध हाँसेको मुर्ति विरलै पाईन्छ । तर जापान र चाईनामा भने बुद्ध हाँसेको मुर्ति किन देख्न सकिन्छ भन्ने प्रश्नले नियात्राकारको मन खलबलाउँछ । चाइनिजहरूको विश्वाँसमा लफिङ बुद्धको मुर्तिले जीवनमा खुसियाली दिन्छ भन्ने रहेछ ।

नियात्राकार कृष्ण बजगाई द्वारा लेखिएको यो नियात्रा सङ्ग्रहको अन्तिम अर्थात् नियात्रा क्रमको तेह्रौँ भागको शिर्षक रहेको छ कोनिचिवा जापान ! सायोनारा जापान !! यहाँ यतिखेर जापानमा हाइकु सम्मेलनको कार्यक्रम बनाएर जापानमा आफ्नो पेशा चलाएर बसेका नेपाली सङ्घ संस्थाले निमन्त्रणा गरेको बुझिन्छ । देश विदेशबाट जापान आईपुगेका हाइकु कविहरूको स्वागतार्थ तय गरिएको हाइकु कवि सम्मेलनमा जापानमा रहेका नेपाली राजदुत लगायत दुताबासमा कार्यरत अन्य कर्मचारीहरूलाई समेत आमन्त्रण गरिएकोमा स्वयम् राजदुत उपस्थित नभएर दुताबासका अन्य कर्मचारी समयमै कार्यक्रममा नआईपुगेर अपमान गरिएको कुरा उल्लेख गरिएको छ । यसै प्रसङ्गमा यहाँ उल्लेख गरिएको छ कि सगरमाथाको उँचाई जर्ज एभरेष्टले पत्ता लगाएका रहेछन् । एभरेष्ट त ती व्यक्तिको थर रहेछ । नेपाल बाहिर जापानमा खोलीएको अंग्रजी माध्यामबाट नेपाली पाठ्यक्रममा पढाई हुने पहिलो एक मात्र स्कूल जस्को नाम एभरेष्ट स्कूल राखीएको रहेछ । यस्तो एभरेष्ट नाम लेखेर खोलीएका धेरै सङ्घ संस्थाहरू नियात्राकारले धेरै देखिसकेका रहेछन् । उनको विचारमा यो स्कूलको नाम माउण्ट एभरेष्ट राखेको भए तव मात्र खुल्ने थियो नेपालको पहिचान भनेर यसो भनेका छन् नियात्राकारले । हलुवावेद, गोदावरी फूल र निललहर फूल जापानबाट भित्रिएका रहेछन् । यसरी जापान बसाईको अन्त्यमा हानिदा एयरपोर्टमा पुगेर जापान सहर र सबै साथीहरूलाई “सायोनारा” भन्दै विदाबारी भएका कुराहरू परेका छन् ।
सारांस ः–कृष्ण बजगाईँको नियात्रा सङ्ग्रह दाइबुचु नियात्रा मात्र नभएर जापानीहरूको जीवनशैली र उनीहरूको ऐतिहासिक, धार्मीक र सांस्कृतिक पक्ष जोडिएको पाठकको रोजाईमा परेको पुस्तक हो ।

अन्त्यमा ः–
नियात्राकार कृष्ण बजगाईको पहिलो नियात्रा सङ्ग्रह हो युरेसियाको स्पर्श । यस्तै भायासाक्रा दोस्रो हो भने दाइबुचु चाहीँ तेस्रो । जस्ले युरेसिया र भायासाक्राको बारेमा राम्रो सँग अध्ययन गरेको छ यस्ता विषय र वस्तुका बारेमा जान्न र बुझ्न त्यहीँ व्यक्तिबाट मात्र सम्भव देखिन्छ । त्यो बेलाको अत्यन्त चर्चीत नियात्रा सङ्ग्रह भायासाक्रा नै हो । भायासाक्रा पढ्ने अवसर म जस्तो लुखुरेलाई समेत अवसर मिलेको थियो । त्यतिखेरको सबालमा यो नियात्रा निकै राम्रो मनछुने, अब्बल र आहा मानिएको नियात्रा पुस्तक हो । हालै प्रकाशन गरिएको उनको तेस्रो नियात्रा सङ्ग्रह दाइबुचुले बजार तताएको छ । भायासाक्रा र दाइबुचुको लेखन कलामा केही भिन्नता भेटाईन्छ । जस्ले पढेको छ उस्ले बुझेको पनि छ । उनको नियात्रा लेखन दौरानमा देखा पर्ने ऐतिहासिक, संस्कृतिक र धार्मीक यी सबै पक्ष कुनै हालतमा छुट्दैनन् । यही नै उनको नियात्रा लेखनको सिल्पी धर्मीताको पक्ष हो । दाइबुचुमा जापानी संस्कृति प्रचुर मात्रामा देख्न पाईन्छ । यती मात्र यसको वर्णन गर्न खोजियो भने आफैलाई कहाँ कहाँ के के नपुगेको जस्तो हुन सक्छ । यहाँ जापानी धर्म, रितिरिवाज र उनीहरूको रहन सहनलाई पनि त्यत्तिकै जोडदार सँग उठान गरिएको देखिन्छ । उनीद्वारा लेखिएका नियात्रा पढ्दा पाठकको मन तत्तत् स्थानमा पुगेको आभाष हुन्छ । अबका आउने दिनहरूमा माथी उल्लेख गरिएका नियात्रा सङ्ग्रह भन्दा अब्बल र मन छुने सङ्ग्रह पाठक समक्ष अवश्य आउने छ भन्ने ठम्याई रहेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 6 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु