जलानमा प्रतिबिम्बित नौलो लघुकथा शिल्प

- प्रा.डा. कुमारप्रसाद कोइराला

प्राध्यापन पेसामा संलग्न विदुर चालिसेले ऐतिहासिक भाषाविज्ञानमा विद्यावारिधि गरेर त्यस विषयमा करिब आधा दर्जन अनुसन्धानात्मक पुस्तक प्रकाशित गरिसकेका छन् । यसका साथै उनमा साहित्य सृजनामा पनि उत्तिकै गहिरो अभिरुचि देखिन्छ । चालिसको दशकदेखि साहित्यिक कृति प्रकाशित गर्न थालेका चालिसेले अहिलेसम्ममा छ वटा कवितासंग्रह र एउटा लघुकथासंग्रह प्रकाशित गरिसकेका छन् । जलान उनको दोस्रो प्रकाशोन्मुख लघुकथासंग्रह हो । म यहाँ यस संग्रहमा के कस्ता कथा छन् र तिनमा के कस्तो लघुकथा शिल्प प्रयुक्त छ भन्ने बारेमा संक्षिप्त रूपमा आफ्ना केही भनाइ राख्न चाहन्छु ।
नेपाली साहित्य अहिले छापा माध्यमका साथै विद्युतीय माध्यममा पनि उत्तिकै प्रकाशित र प्रसारित भइरहेको देखिन्छ । खास गरी विद्युतीय सञ्जालको तीव्र विकास वा विभिन्न वेभसाइट र सामाजिक सञ्जालको निर्माण तथा सञ्चालनपछि साहित्यका सबै विधा र खास गरी लघु आकारका साहित्यिक सामग्री अर्थात् गजल, हाइकु, फुटकर कविता र लघुकथा लेखन, प्रकाशन र प्रसारणमा विस्मयकारी परिवर्तन भएको छ । यसले गर्दा नेपाली साहित्यको प्रकाशन र प्रसारण स्थान र समयको सीमा भत्काएर एकै पटक संसारभरिका पाठकसमक्ष पुगिरहेको देखिन्छ । यसरी छापाका साथै विद्युतीय माध्यममा प्रकाशित भएर लोकप्रिय भइरेहका साहित्यिक विधामा लघुकथा सम्भवतः पहिलो नम्बरमा पर्न सक्छ । यो मेरो अनुमान मात्र हो । अहिले सयौं नेपाली साहित्यकार लघुकथा सृजनामा संलग्न देखिन्छन् । उनीहरूका लघुकथा छापा र विद्युतीय माध्यममा प्रकाशित र प्रसारित भइरहेका छन् । तीमध्ये एक हुन् विदुर चालिसे । उनले विभिन्न साहित्यिक पत्रपत्रिकामा, लघुकथा कुनो र अन्य सामाजिक सञ्जालमा प्रायः लघुकथा प्रकाशन र प्रसारण गरिरहेको देखिन्छ । त्यसैको परिणाम स्वरूप यो जलान कृति अहिले छापा माध्यममा आउन लागेको बुझिन्छ ।
यसमा एक सय पाँच वटा लघुकथा संकलित छन् । ती लघुकथा वर्तमान नेपालका सामाजिक, राजनीतिक, लै¨िक, मनोवैज्ञानिक, जातीय, वर्गीय आदि अनेक समस्याका विषयमा आधारित देखिन्छन् । तीमध्ये कतिपय लघुकथाले दाम्पत्य जीवनका समस्या देखाएका छन्, भने कतिपयले नेपालमा मौलाउँदै गएको भ्रष्टाचार, दुराचार, व्यभिचार, मानवीय मूल्यको पतन देखाएका छन् । कतिपय कथा दुव्र्यसन, वातावरण विनाश, यौनमनोविश्लेषण, नारीविभेद आदि समस्याहरुसँग सम्बन्धित छन् । कतिपय कथाले भरखरै सकिएको द्वन्द्व र युद्धबाट पीडित व्यक्ति, परिवार र समाज तथा संघीय लोकतान्त्रिक राजनीतिक व्यवस्थामा देखिएका विकृति, विसंगति र विडम्बनाको चित्रण गरेका छन् । त्यसैले यसमा संकलित सबै कथा समसामयिक नेपालको वास्तविक छवि देखाउने ऐना जस्तै भएका छन् ।
यी कथाको संरचनात्मक शिल्प अलि भिन्न देखिन्छ । यी कथा यथार्थवादी र अतियथार्थवादी शिल्पले निर्मित छन् । यिनले नेपाली समाजको उज्यालो पक्ष वा सुरूप नदेखाएर अँध्यारो पक्ष वा कुरूप देखाएका छन् । आदर्श नदेखाएर यथार्थ देखाएका छन् । त्यसैले यी कथामा अति सामान्य मान्छेको, सीमान्त, विभेदित र उत्पीडित वर्गको जीवन देखाइएको छ । पात्र पनि यिनै वर्गको प्रतिनिधित्व गर्ने खालका छन् । कथाको परिवेश मूलतः सहरिया र अंशतः ग्रामीण देखिन्छ । कतिपय कथा भने अतियथार्थवादी शिल्पमा रचिएका छन् । यस्ता कथामा यथार्थ प्रकट गर्न पुराकथा, स्वैरकल्पना, प्रतीक आदि साहित्यिक युक्तिको प्रयोग गरिएको छ । यीबाहेक चालिसेले आख्यानका अनेक टेक्निक जस्तैः पूर्वदीप्ति, दृश्य र सूच्य विधि, वर्णन विधि, प्रत्यक्ष र अप्रत्यक्ष चरित्रचित्रण विधि आदिको प्रयोग गरेको देखिन्छ । यी कथा बाहिरबाट हेर्दा हलुका जस्ता देखिन्छन्, तर जब पढेर तौलिन थालिन्छ, तब कथाको गहिराइले कथा भारी हुँदै गएका देखिन्छन्, किनभने कथाको भित्री तहमा नजानिंदो गरी निरन्तर रूपमा विचार प्रवाहित भइरहेको देखिन्छ । यी कथाले प्रस्तुत गर्ने सार अभिधार्थमा नभएर लक्ष्यार्थ र व्यङ्ग्यार्थमा व्यक्त भएको छ । कतिपय कथा प्रतीकले, दृष्टान्तले बुझ्नुपर्ने खालका छन् । त्यसैले यी कथा सामान्य पाठकका लागि भन्दा विशेष पाठकका लागि लेखिएका देखिन्छन् । यी लघुकथामा प्रयुक्त कथावस्तु, घटना, पात्र, परिवेश आदिको संयोजन अपरम्परित ढ¨ले वा समकालीन लघुकथाकारको भन्दा अलि भिन्न तरिकाले गरिएको जस्तो लाग्छ, किनभने यी कथा अवचेतन मनले स्वचालित रूपमा लेखिए जस्ता लाग्छन् । त्यसैले यी कविता वा निबन्ध जस्तापनि लाग्न सक्छन् ।
यिनको भाषिक शिल्प पनि विदुरेली अर्थात् अरू कसैको जस्तो नभएर विदुर चालिसेकै जस्तो लाग्दछ । केही कथाका शीर्षक हेरौंः बाँझो दिन, सपनाको दवाव, रोपाइरो, बतासवाणी, संक्रमणको प्यास, चक्रवातमा लैला, ताजा लैलैमा, मर्जर माइन्ड, पाटे कुरा, जलान आदि । त्यस्तै शब्द चयन र प्रयोग, वाक्यरचना, अनुच्छेद रचना र समग्र लघुकथाको आशयको अभिव्यक्तिमा लघुकथाकारले प्रशस्त निजात्मकता वा मौलिकता देखाएका छन् । यो उनको भाषिक अनुसन्धानको प्रभाव र भाषिक शिल्पप्रतिको सचतेता हो भन्ने मलाई लाग्दछ । यसरी समग्रमा भन्दा उनका लघुकथा संरचनाका दृष्टिले सुगठित र जटिल, व्यङ्ग्यार्थ शक्तिले गम्भीर, साहित्यिक युक्ति र भाषिक शिल्पको उचित विन्यासले सुन्दर र कलात्मक भएका छन् । पहिले उनी कुशल कविका रूपमा परिचित थिए । अब उनी यसभन्दा पहिले प्रकाशित लघुकथासंग्रह रातो चामल (वि.सं.२०७६) र छापामा प्रकाशोन्मुख जलान लघुकथा संग्रहबाट समकालीन नेपाली लघुकथाकारमध्ये भिन्न र बेग्लै देखिन सक्ने उल्लेख्य लघुकथाकारका रूपमा परिचित भइरहेका छन् भन्ने कुरामा म विश्वस्त छु । उनको लघुकथा लेखन अझ लोकप्रिय र मूल्यवान् बनोस् भन्ने शुभकामना दिंदै म अहिले आफ्ना भनाइ यहीं रोक्न चाहन्छु ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 6 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु