उपयोग

- कृष्णराज अधिकारी

‘‘खपौंदीनेरको जङ्गलमा मान्छे झुण्डिएको छ रे, थाहा पाउनु भो ? मान्छे यतैतिरको भन्छन् !’’ प्रातः भ्रमणमा हिँड्दै गर्दा बिहानै क्याम्पिङ चोकमा भेटिएकी छिमेकी महिलाले भनिन् । उनको ‘यतैतिरको’ भन्ने वाक्यांशले मुटुमा चिसो पस्यो । कोही आफन्त वा चिनेजानेका हुनसक्ने भयले स्तब्ध हुँदै नजिकैका आफन्त र तिनको अवस्थाबारे सरसर्ती सर्वेक्षण गर्दै सोच्न थालेँ । बिहानै हल्ला चलेपछि पक्कै बेलुकाकै घटना हुनुपर्छ भन्ने लाग्यो र बेलुकाको घटना आफूले बिहानसम्म थाहा नपाएको हुँदा नजिकका आफन्त होइनन् भन्ने विश्वास पलाउन थाल्यो । थप जानकारी लिन बाटोमा भेटिएका एक–दुई जनासँग घटना बारे सोधेँ, तर सबैले अनभिज्ञता व्यक्त गरे । एकजना व्यक्ति त्यही कुरा सुनेर घटनास्थलतिर जान लागेको रहेछ । वास्तविकता बुझ्नै प¥यो भनेर म पनि उसँगै हिँडें ।
खपौंदी, फेवातालको पश्चिमी किनारमा रहेको सानो बजार । दुई– चारवटा स–साना पसल र पर्यटकका लागि बनाइएका दुई–तीनवटा सामान्य होटल । थोरै पर यो भन्दा केही ठूलो पामे बजार । पोखराबाट घुम्न र माछा खानका लागि यात्रुहरु जाने एउटा गन्तव्य । सराङकोट डाँडाबाट प्याराग्लाइडिङमा उडेकामध्ये धेरैजसो यसैको अगल–बगलमा झर्ने गर्थे । उत्तरतिर स–सानो जङ्गल र पहाड अनि दक्षिणतिर अतिक्रमण र प्रदूषणले खुम्चिँदै गरेको फेवाताल । बजारभन्दा अलि वरको जङ्गलमा केही मानिसहरु जम्मा भएकाले हामी त्यतै लाग्यौं । जति जति नजिक गएँ उति उति भय र कुतूहलताले निमोठ्न थाल्यो । साहस बटुलेर अघि अघि हिँडें । दुई–चारवटा रुख छिचल्नासाथ एउटा रुखमा मानिस झुण्डिएको देखियो । रुखमा झुण्डिने अधबैंसे पुरुष थियो । मुन्टो लत्रिएको र आँखा बन्द भएकाले चिन्नका लागि नजिकै गएँ । ओ हो, लाल बहादुर ! विगतका उसँगका सम्बन्ध र सम्झनाले मन भरिएर आयो ।
लाल बहादुर थापा अर्थात् लाले एउटै गाउँको र एउटै स्कुलमा पढेको साथी थियो । दुई कक्षा अगाडिको भएपनि विद्यालयका हरेक क्रियाकलापमा सक्रियता साथ सहभागी हुने भएकाले उसको कक्षाका विद्यार्थीले मात्र होइन अघिल्ला र पछिल्ला कक्षाकाले समेत उसलाई चिन्दथे र धेरै विद्यार्थीहरु वीच चर्चित र प्रिय थियो । ऊ शारीरिक रुपले मात्र हट्टाकट्टा र बलियो नभई मानसिक र वौद्धिक दृष्टिले पनि त्यत्तिकै सशक्त थियो । विद्यालयभित्र मात्र होइन अन्तर–विद्यालयस्तरका खेलकुद, हाजिरी–जवाफ, वक्तृत्व अनि कविता–गीतका प्रतियोगितामा पनि ऊ नै छनोट हुन्थ्यो र प्रायः पुरस्कृत पनि । पढाइमा प्रथम नै नभए पनि तेस्रो–चौथोमा भने आउँथ्यो । छ–सातमा पढ्दादेखि नै बाँसुरी बजाउने गरेको थियो र पछि पछि त असाध्यै मीठो धुन बजाउँथ्यो पनि । ऊ माथिल्लो कक्षाको भए पनि हाजिरी–जवाफ, कविता र वक्तृत्व प्रतियोगितामा भने म पनि सँगै भाग लिएको हुन्थें । यसैले गर्दा पनि उसको र मेरो निकटता हुन गएको थियो । मैले भन्दा दुई वर्ष अघि नै एस.एल.सी. दिएकाले त्यसपछिको उसको स्थिति मलाई थाहा हुन सकेन । कसैले भन्थे— ऊ सेनामा भर्ती भयो, कसैले भन्थे–लाहुरे हुन इन्डिया गयो, कोही भन्थे—काठमाडौंमा पढ्दै छ रे । लामो समयसम्म उसँग भेट भएन र उसको वास्तविक स्थिति पनि थाहा भएन ।
तीन वर्षपछि उसँग अकस्मात बाटोमा भेट भयो । ऊ नेपाली सेनामा भर्ना भएर हवल्दार भइसकेको रहेछ । उसको शरीर झनै सुगठित र फूर्तिलो देखिन्थ्यो भने बोली र व्यवहार पनि उस्तै नम्र, शालीन र हँसिलो । शरीर अग्लो, भरिलो र कालो वर्णको भएकाले ऊ बाहिरबाट हेर्दा कुनै लडाकु वा पहलमान जस्तो देखिन्थ्यो तर भित्री प्रतिभालाई भने कमैले मात्र चिन्ने गर्दथे । उसको सम्बन्ध कम्युनिस्ट नेताका स्थानीय नेताहरुसँग पनि रहेछ । उसको लडाकुपन र शारीरिक क्षमतालाई उनीहरु पार्टीमा उपयोग गर्न चाहन्थे । यसैले तत्कालीन उदीयमान पार्टी नेकपा, मा.ले.का स्थानीय नेताहरु उसलाई बारम्बार पार्टीको उद्देश्य बताएर सुन्दर सपनाहरु देखाउँदै पार्टीमा संलग्न हुन उत्प्रेरित गर्दथे । आफ्नै गाउँकी विधवा बाहुनीकी एक्ली छोरीसँग उसले प्रेम विवाह गरेको थियो । एकातिर सेनाको कडा अनुशासनमा बस्नुपरेको थियो भने उता नवविवाहित प्रेमिकासँग बस्न नपाएको असन्तुष्टि थियो । उसको यही असन्तुष्टिमाथि टेकेर पार्टीले जागिर छोडेर आउन र यहीँ परिवारसँगै बसी आफ्नो अध्ययनलाई अघि बढाउन आग्रह गरिरहेको थियो । जागिर छोडौंं भर्खर हवल्दार भएको थियो र विभिन्न तालिम लिँदै आफूलाई सक्षम सैनिकका रुपमा स्थापित गरिरहेको थियो अनि बढुवाका ढोकाहरु प्नि खुल्दै जाने अवस्था थियो । जागिरमा बसिरहूँ आफ्नो प्रतिभा र स्वतन्त्रता कुण्ठित हुँदै जाने, श्रीमतीसँग सधैंजसो बेग्लिनु पर्ने अनि पार्टीका साथीहरुबाट जागिर छाडेर आउन दबाब आउने । पछिल्लो पटक पार्टीका साथीहरुबाट राम्रो विकल्प देखाउँदै जागिर छाड्न चर्को दवाव दिन थाले । यही मानसिक द्वन्द्वका वीच उसले एक वर्ष बितायो ।
आखिर पार्टीका साथीहरुको तीव्र दवाव, राम्रो जागिर र पढाइको आश्वासन पछि ऊ छँदा–खाँदाको जागिर छाडेर घर फर्कियो । जागिरबाट फर्किएपछि पार्टीले उसको भरपुर उपयोग ग¥यो । पोखराको पी.एन. क्याम्पसमा भर्ना भयो र विद्यार्थी युनियनमा काम गर्न थाल्यो । विद्यार्थी युनियनले उसको प्रतिभा र शारीरिक क्षमताको निकै उपयोग ग¥यो । अखिल र ने.वि.संघ बीच बारम्बार भइरहने झडपमा ऊ अखिलको दह्रो खम्बा भएर उभिन्थ्यो । सेनामा सिकेको जुडो, कराँते र बक्सिङको प्रयोगले आठ–दशजनासम्मको समूहलाई परास्त गरिदिन्थ्यो । विगतमा अभ्यास गरेको गीत–सङ्गीत र कवितालाई पनि उसले ब्युँझाउन थालेको थियो । अखिलका आमसभाहरुमा उसको साङ्गीतिक प्रस्तुतिले रौनक थपिदिएको हुन्थ्यो । क्याम्पसका झडपहरुमा ऊ कहिलेकाहीँ थुनिन्थ्यो पनि ।
ऊ क्याम्पस आउन थालेदेखि ऊसँगको भेटघाट बढ्न थाल्यो । स्कुलमा ऊ मभन्दा दुई कक्षा अगाडि थियो भने अहिले ऊ ढिलो गरेर पढ्न आएकोले ऊभन्दा म अगाडि अर्थात् ऊ आइ.ए. र म वी.ए.मा थियौं । कहिलेकाहीँ ऊ थोरै घुमेर भएपनि हाम्रो घरको बाटो आउँथ्यो र सँगै क्याम्पस जान्थ्यौं भने फर्कने बेला पनि कहिलेकाहीं सँगै परिन्थो । एक घण्टा टाढाको क्याम्पस ऊ प्रायः हिँडेरै जान्थ्यो र हिँडेरै फर्किन्थ्यो । फर्किँदा ऊ नयाँ नयाँ बाटोको प्रयोग गथ्र्यो । समानान्तर विद्यार्थी सङ्गठनका धेरै जनासँग उसको मनमुटाव र दुश्मनी थियो । परिआउँदा लड्नभिड्नमा पनि पछि नहट्ने उसको यो प्रवृत्ति शान्त स्वभावको मलाई चाहिँ मन पर्दैनथ्यो । उसँग हिँड्दा उसका प्रतिद्वन्द्वी विद्यार्थीले मलाई समेत नकारात्मक दृष्टिले हेर्ने गरेको आभास पाउँथें । यसैले भेट हुँदा खुलेरै कुरा गरे पनि सँगै हिँड्न नपरे हुन्थ्यो भन्ने लागिरहन्थ्यो । तर देख्ने वित्तिकै कसिलो हात मिलाउन आइपुग्थ्यो र पाखुरामा समाउँदै सँगै लैजान खोज्थ्यो । कहिलेकाहीँ त कुनै न कुनै बहाना बनाएर फुत्कन्थें तर त्यो सधैं बहाना बनाएर चल्दैनथ्यो । कहिलेकाहीं ऊ प्रहरीबाट खोजिएको पनि हुन्थ्यो । यसैले पनि ऊसँग हिँड्दा मलाई कतै नचाहिँदो झमेला आइलाग्ने हो कि भन्ने भय उत्पन्न हुन्थ्यो । ऊ बगरबाट बैदामसम्म आउँदा कति धेरै बाटाहरु प्रयोग गथ्र्यो भने धेरैजसो गल्लीहरु त मलाई पनि पत्तो हुँदैनथ्यो । घुमेरै भए पनि नयाँ नयाँ बाटो प्रयोग गर्नुको कारण सोध्दा ऊ भन्ने गथ्र्यो — ‘सधैं एउटै बाटो हिँड्दा पुलिस वा दुश्मनहरुलाई समाउन र आक्रमण गर्न सजिलो पर्छ । यसरी बाटो फेर्दै हिँड्दा कुन बाटो हिँड्छ भन्ने पत्तै पाउँदैनन् ।’ उसको यस्तो भनाइले मलाई झन् अप्ठेरो महसूस हुन्थ्यो र ऊ भेटिने आभास पाउनासाथ खुस्स पुस्तकालय वा पसलतिर छिर्न पुग्थें । कहिल्यै आफ्नो आन्तरिक कुरा नभन्ने तर अरुका कुरा खोतल्ने स्वभावको ऊ पछिल्ला भेटहरुमा भने अलि अलि गरेर आफ्ना कुराहरु भन्न थालेको थियो । जागिर छोडेर गल्ती गरेको, त्योभन्दा राम्रो जागिर मिलाइदिने आश्वासन दिएर बोलाउनेले आश्वासनमै भुलाउने गरेको जस्ता निराशापूर्ण कुराहरु गर्न थालेको थियो ।
पहलमानको जस्तै शरीर भएको र दिनहुँ कडा व्यायाम गर्ने भएकाले उसलाई दह्रो र पोषिलो खाना चाहिन्थ्यो । बिहानमा चारवटा उसिनेका अण्डा र दुई गिलास दूध खानुपर्छ भन्थ्यो । अघि पछिको खानामा पनि त्यही अनुसार खुराँक चाहिँदो हो ! ठुलो परिवार र घरको कमजोर आर्थिक अवस्थाका बीच उसलाई आवश्यक वस्तु मात्र होइन खानाकै पनि समस्या पर्न गएको थियो तर उसले यो कुरा बाहिर चाहिँ भन्दैनथ्यो । उता छोरी जन्मिसकेकी थिई । एकातिर पारिवारिक जिम्मेवारी थपिँदै थियो भने जागिरको अभावमा आम्दानीको स्रोत सुकेको थियो । विचरा बाबुआमाको खेती किसानीले परिवारमा हातमुख जोर्नै धौ धौ थियो । उता पार्टीले चाहिँ आश्वासन दिन र सपना देखाउन छाडेको थिएन । आफू भित्रको प्रतिभा र शारीरिक क्षमता अनि आर्थिक दुरवस्था र विद्रोही भावको सन्तुलन मिलाउन उसलाई कठिन भइरहेको थियो । ऊ भित्रको विद्रोही भाव कतिसम्म उम्लिएको रहेछ भने एकदिन क्याम्पसबाट आउँदा बाटोमा उसले भनेको थियो— ‘म जस्ता पचास जना मात्र हुने हो भने यो जिल्लालाई नै मुक्त जिल्ला घोषणा गर्दै नयाँ जनवादी व्यवस्था स्थापना गर्न सकिन्छ ।’ कसरी सम्भव हुन्छ यस्तो कुरा भन्ने मेरो प्रश्नमा उसले झापा विद्रोहको शैली अपनाउने कुरा गर्दै भनेको थियो — ‘यो जिल्लामा ४०० जना ठुला शोषक र सामन्त रहेछन् भने एउटाको भागमा आठवटा सामन्त पर्छन्, तिनको सफाया गर्नु ठुलो कुरो होइन ।’ उसको त्यो क्रान्तिकारी रोमाञ्चकता र साहसले मलाई सैद्धान्तिक बहसमा उतार्न खोज्थ्यो तर म त्यसलाई पुरानो, गलत र आत्मघाती बाटो भन्दै नेपालकै सन्दर्भमा उपयुक्त, सफल र टिकाउ हुने क्रान्तिको खोजी हुनुपर्ने कुराले बिट मार्दै प्रसङ्ग बदलिदिन्थें । तर मलाई उसको साहस, त्याग र विद्रोह–चेतप्रति भने सम्मान भाव जाग्दथ्यो ।
धेरै दिनसम्म ऊ क्याम्पसमा देखा परेन । एकातिर उसको अनुपस्थितिले मलाई स्वतन्त्रता दिइरहेको थियो भने अर्कातिर भित्र भित्र चाहिँ उसको अनुपस्थितिको आकलन गर्दै दुःख र वेचैनीको अनुभूति भइरहेको थियो । करिव एक महिनासम्म नदेखेपछि मैले उसको छिमेकी दाजुलाई सोधें । उसले भन्यो — ‘त्यति राम्रो जागिर छोडिहाल्यो, घरको अवस्था राम्रो छैन । खानाकै समस्या होला जस्तो छ, कसरी पढोस् । डाइट नपुगेर मान्छे पनि दुब्लाउँदै गएको छ ।’ त्यो कुरा सुनेर मेरो मन खिन्न भएर आयो । त्यस्तो पहलमान जस्तो शरीर, जिल्लालाई नै सामन्तबाट मुक्त गर्न तम्सिने साहस अनि गीत–सङ्गीत र साहित्यप्रतिको लगाव भएको एउटा होनहार व्यक्ति आज खर्चको अभावमा पढाइ छाड्दैछ, शरीरलाई चाहिने खाना समेत नपुगेर दुब्लाउँदै छ, भोलिको स्थिति के होला !
करिव चार महिनापछि मैले उसलाई भेटें । ऊ साच्चिकै दुब्लाएको थियो र केही उदास देखिन्थ्यो । तैपनि पहिलेझैं गरी हात मिलायो । मैले क्याम्पसको प्रसङ्ग निकाल्दा उसले आफ्नो परिस्थिति लुकाउँदै औपचारिकता निर्वाह गर्दै भन्यो —‘यो मानविकी पढेर केही काम रहेनछ, अव एच.ए. पढ्नुपर्छ कि भन्ने विचार गर्दैछु । जागिर पनि पाइने, आफ्नै औषधि पसल राखौं भने पनि हुने ।’ आफ्नो भनाइ सक्नासाथ खिस्स हाँसिदिने स्वभाव कायमै रहेछ । बाहिर हाँसेर उसले आफ्नो पीडा लुकाइरहेछ भन्ने मैले बुझिसकेको थिएँ, यसैले बढी कुरा नगरी बाटो लागें । उसले पहिलेझैं हात समातेर हिंड्दै कुरा गर्ने रुचि देखाएन । आफ्नो स्थिति लुकाउन ऊ स्वयं नै मबाट फुत्किन खोज्यो । त्यसपछि लामै समय ऊसँग भेट भएन ।
२०४८ को आम निर्वाचनको माहोल थियो । दुई ठुला पार्टी नेपाली काँग्रेस र एमालेका वीच तीव्र प्रतिस्पर्धा भइरहेको थियो । ठाउँ ठाउँमा झडप भइरहेको खवर सुनिन्थ्यो । निर्वाचनको दिन मतदान केन्द्रमा दुवै पार्टीले आफ्नो प्रभाव देखाउन थुप्रै स्वयंसेवक परिचालन गरेका थिए । निर्वाचन केन्द्रमा छिर्नै लाग्दा गेटैमा उसँग जम्काभेट भयो । पार्टीको झण्डा र चुनाव चिन्ह अङ्कित टोपी, टिसर्ट र ब्याचले ऊ सजिसजाउ थियो । भेट्नासाथ हाँस्दै हात जोड्ने र हात मिलाउन अग्रसर हुने उसको स्वभाव यथावत रहेछ । झन् यो चुनावको माहोलमा त यस्तो कार्य आवश्यकै हुन्थ्यो । यतिखेर ऊ व्यस्त थियो । यसैले आफ्नो पार्टीका लागि भोटको आग्रह मात्र गरी अन्यत्र लाग्यो । सोचें, पार्टीले यतिखेर उसको राम्रै उपयोग गरेछ ।
करिव एक–डेढ वर्ष भइसकेको थियो उसँग भेट नभएको । कहाँ छ, के गर्दै छ कुनै पत्तो थिएन । यस्तैमा गाउँमा एउटा आपराधिक घटना भयो । एक्लै बस्ने गरेकी एउटी बृद्धाको घरमा राती कुनै अपराधी पसेछ र बुढीको हात मुख बाँधेर उनले लगाएका संपूर्ण गहना लुटेर लगेछ । बुढी बेहोस अवस्थामा थिइन् र अपराधी भागिसकेको थियो । अपराधी पत्ता लाग्छ कि भनेर प्रहरीले कुकुर समेत ल्याएको थियो र शङ्का लागेकाको नाम भन्न बृद्धालाई भनिएको थियो । बृद्धाले क–कसमाथि शङ्का गरिन् कुन्नि प्रहरीले एकान्तमा लगी नाम टिपेको थियो । गाउँमा केही दिनसम्म उक्त घटनाले चर्चा पाइरह्यो । अपराधी को होला भन्ने बारेमा धेरैले भित्रभित्रै खासखुस गर्न थालेका थिए । त्यसको केही दिनपछि सरजमिन मुचुल्का गर्न केही प्रहरीहरु गाडी लिएर घटनास्थल नजिक आएका थिए । म त्यहाँ पुग्दा मानिसहरुको भीड जम्मा भइसकेको थियो र एउटाले नेपाली कागजमा सरजमिन मुचुल्का लेख्दै थिए । गाडीमा झुम्मिएका मानिसलाई प्रहरीले पछि हट्न भन्दै थिए । यस्तैमा मेरा आँखा गाडीभित्र पुगे । मुटु ढक्क फुलेर आयो । ओ हो ! त्यहाँ त उही चीर परिचित व्यक्ति लाल बहादुरलाई हत्कडी लगाएर राखिएको थियो । लेख्दै गरेको व्यक्तिले उभिएर भन्यो —‘ल, लाल बहादुर राम्रो चरित्र भएको मानिस हो र ऊ जस्ताले आपराधिक काम गर्नै सक्तैन र उसमाथि कुनै शङ्का लाग्दैन भन्नेहरुले यहाँ सही गर्नोस् ।’ ऊ संलग्न भएको पार्टीका स्थानीय नेताहरु लगायतका केही व्यक्तिहरुले त्यसमा सही गरे । म सही नगरी उभिइरहेको देखेर होला लेख्ने व्यक्तिले मलाई भन्यो— ‘आफ्नो छुट्टै भनाइ छ भने पनि राख्न सकिन्छ ।’ लाल बहादुरले पनि मतिर हेरिरहेको रहेछ । मैले उतिर हेर्नासाथ चार आँखा भए । ऊ अपराधबोध, ग्लानि वा चिन्ता केले हो भित्र भित्रै जलिरहेको देखिन्थ्यो तर आफूलाई परिबन्धमा पारिएको देखाउन सहज रुपमा प्रस्तुत हुन खोजिरहेथ्यो । मुचुल्काको व्यहोरा र सही गर्ने व्यक्तिहरुलाई नियालिरहेको उसले मतिर हेर्दै भन्यो —‘तपाईंले नि केही लेख्नोस् न ।’ मलाई अप्ठेरो प¥यो, उसको बारेमा कसरी के लेख्ने ! मप्रति विश्वास लागेरै होला उसले आफूलाई निर्दोष सावित गर्न मेरो समेत सहयोग थप्न खोजेको थियो । मैले भाषामा थोरै परिवर्तन गर्दै लेख्न लगाएँ —‘लाल बहादुरले यस अघि कुनै आपराधिक काम गरेको आफूले थाहा नपाएको र यस अघिको उनको चरित्र पनि राम्रो रहेकाले निजप्रति शङ्का लाग्दैन ।’ मैले यति भनेर सही गरिदिएपछि ऊ केही हँसिलो देखियो । भित्र भित्रै कसैले उसलाई शङ्का गरिहालेका भएपनि मुचुल्कामा भने कसैले पनि ‘शङ्का लाग्छ’ भन्ने आँट गर्न सकेनन् । बरु ऊ प्रति शङ्का गर्नेहरुले सही नै नगरी तटस्थ बसेका थिए । पीडित बृद्धाले उसैमाथि शङ्का गरेकाले ऊ समातिएको रहेछ ।
त्यस्तो होनहार व्यक्ति किन यसरी आपराधिक कार्यमा लाग्यो होला ! के ऊ साच्चिकै निर्दोष थियो ? निर्दोष भएको भए यसरी हत्कडी लगाएर सबैका अघि उभ्याउन नपर्ने । उसको त्यो अवस्था देखेर मेरो मस्तिष्कमा धेरै कुराहरु सल्बलाउन थाले । धेरै ठुलो महत्वाकाङ्क्षा र सपना पालेको व्यक्ति त्यसप्रति मोहभङ्ग हुँदा यसरी विपरीत दिशामा हिँड्न पुग्दो रहेछ कि ! उसको प्रतिभा र क्षमताको सदुपयोग हुन सकेको भए समाज मात्र होइन सिङ्गै देश कति लाभान्वित हुने थियो । जागिर छुटाएर ल्याएपछि उचित व्यवस्था गरिदिन नसक्नु सम्बन्धित पार्टीको गैरजिम्मेवारी थियो । सरजमिन मुचुल्कामा सबैले उसकै पक्षमा बोलेकाले हो वा स्थानीय नेताको राम्रै पहुँच पुगेर हो केही दिनमा नै ऊ थुनामुक्त भयो । यसपछि भने ऊ सामाजिक क्षेत्रमा मात्र होइन राजनीतिक क्षेत्रमा पनि निष्क्रिय रहन थाल्यो । आफू संलग्न भएको पार्टीप्रति नै उसको वितृष्णा जाग्न थालेको थियो । २०५१ को निर्वाचनको मुखमा उसले पार्टी परिवर्तन गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेछ । मतदानको केही दिन अघिबाट पार्टीमा सक्रिय हुन थालेको थियो । तर चुनाव सकिएसँगै उसको राजनीतिक पारो पनि क्रमशः झर्दै गएछ । पार्टीले उसको उपयोग गरिसकेको थियो यसैले अव उसको त्यति महत्व हुन छाडेको थियो । पछिल्लो पार्टीले पनि आश्वासन बाहेक अरु कुनै व्यवस्था गरिदिएन । आर्थिक दुरवस्थाले गर्दा अव उसँग जीवन निर्वाहकै समस्या पर्न थालेको थियो । उसको अवस्थाप्रति कुनै पनि पार्टीले ध्यान दिएनन् । अव ऊ बेलाबेलामा हराउन थालेको थियो । लामै समय हराउने र केही दिन देखापर्ने गर्दथ्यो । उसको स्थिति परिवारलाई पनि त्यति थाहा हुँदैनथ्यो । माओवादी जनयुद्ध सुरु भई ठाउँ ठाउँमा आक्रमणका घटनाहरु घटिरहेको सुनिन्थ्यो । यसैले कतिपयले उसलाई भूमिगत भएर माओवादी युद्धमा लागेको आशङ्का समेत गर्न थालेका थिए । तर ऊ माओवादी पार्टीमा हैन आपराधिक कार्यमा लागेको रहेछ । सारा आशङ्का चिर्दै एकदिन ऊ यहीँको जेलमा थुनिएको खवर आयो । लागु पदार्थको विक्रीमा उसको संलग्नतालाई लिएर थुनिएको रहेछ । छुटाउनतिर पार्टीले त्यति चासो नदेखाएर हो वा मुद्दाको प्रकृति अलि अप्ठेरो भएर हो यसपटक ऊ लामै समय थुनियो । पछि कसरी हो कुन्नि ऊ थुनाबाट निस्कियो र केही महिनामै पुनः पुरानै पार्टीमा संलग्न हुन पुग्यो । जेलबाट निस्केको लामै समयपछि उसँग बाटोमा भेट भयो । तर यसपटक राजनीतिक पार्टीप्रतिको उसको मोह भङ्ग भइसकेको रहेछ । प्रसङ्ग आउनासाथ बहसमा उत्रन खोज्ने ऊ अव पार्टी र नेताहरुको प्रसङ्ग आउनासाथ मुख बिगार्दै प्रसङ्गलाई मोड्न खोज्ने भएको थियो । तर पनि आफू पुरानै पार्टीमा फर्किएको कुरा मलाई मन नलागी नलागी बताएको थियो । सोचेँ पार्टीले फेरि उसको आवश्यकता देख्यो, कतै प्रयोग गर्नलाई । कुरै कुरामा उसले भर्खरै मसाज केन्द्र खोलेर बसेको बतायो । स्वतन्त्र पेशा अपनाएकाले अव आर्थिक समस्या त्यति नपर्ने र कसैको दबाब र आग्रहमा लत्रिनु नपर्ने भन्दै मैले प्रोत्साहन गरेँ । उसको मनस्थिति अझै स्थिर भएको थिएन, निकै उद्वेलित देखिन्थ्यो ।
त्यसको करिव आठ–दश महिनापछि मैले उसलाई असामान्य अवस्थामा भेटेँ । उसले टन्न रक्सी खाएको थियो । भेट्नासाथ मेरो हात च्याप्पै समातेर पाँच हजार रुपैयाँ सापटी माग्यो । मैले आफूसँग पैसा नभएको बताएपनि उसले मेरो हात छोडेन । रक्सीको नसाले होला उसले आफ्नो आन्तरिक कुरालाई फुत्काउँदै गयो । परिवारको पालनपोषण र शिक्षा अनि आफ्नो इच्छा चाहना । घरबाट छुट्टिएपछि छोराछोरी सहित ससुरालीमै बस्न थालेको रहेछ । तर त्यहाँको अवस्था पनि राम्रो नभएपछि ऊ निकै सकस र तनावमा परेको रहेछ । उता मसाज केन्द्र राम्ररी नचलेको र कामबाट सन्तुष्ट पनि नभए पछि त्यो पनि छोडिदिएछ । राजनीतिक पार्टीले दिएको धोकाप्रति ऊ निकै आक्रोशित देखिन्थ्यो । आफूलाई अहिले पाँचहजार रुपैयाँको जरुरी परेको भन्दै मलाई जसरी पनि त्यति रुपैयाँ दिन कर गरिरह्यो । रक्सी खाएको र बाटोमा भेट भएको हुँदा मैले उसलाई पैसा दिनसक्ने स्थिति थिएन । मैले आफूसँग पैसा नभएको भनेर पन्छिन खोजेपछि ऊ ‘घरै जान्छु’ भन्दै पछ्याउन थाल्यो । अप्ठेरो पर्ने स्थिति देखेपछि मैले आफू अन्यत्र जरुरी काममा हिँडेको र अहिले साथमा हजार–बाह्रसय मात्र भएको भन्दै खल्तीको रकम देखाएपछि उसले अहिले त्यतिनै भएपनि हुन्छ भन्दै पैसा लिएर खल्तीमा हाल्दै फर्किएको थियो । त्यसपछि उसँग भेट नभएको एक–डेढ वर्षै भएको थियो । एक–डेढ वर्षपछि भेट त भयो तर यसरी यस्तो अवस्थामा, निर्जीव शरीरसँग ।
विस्तारै मानिसहरुको भीड बढ्दै थियो । उसको अवस्था देखेर कसैले सहानुभूति र चिन्ता प्रकट गरिरहेका थिए भने कसैले आफ्नो शरीर आफैले मारेको, परिवारको विचल्ली पारेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए अनि कसै कसैले चाहिँ मारेर झुण्ड्याइएको भन्दै आशङ्का व्यक्त गरिरहेका थिए । प्रहरीमा खवर पुगिसकेको रहेछ । एउटा होनहार व्यक्ति यो स्थितिमा पुगेको देखेर म चाहिँ निकै तरङ्गित भइरहेको थिएँ । उसको यो अवस्थालाई मैले आत्महत्याको रुपमा नभएर एक किसिमको हत्याकै रुपमा लिइरहेको थिएँ । उसको प्रतिभा र क्षमताको उपयोग सकिएछ कि कुन्नि थुनामा पर्दा छुटाउनको लागि प्रतिस्पर्धा गर्ने पार्टीहरु मृत्युको मुखमा पर्दा भने छुटाउन आएनन् । कसैले उपयोग नगरेपछि यसपटक मृत्युले उसको उपयोग ग¥यो । प्रहरी भ्यान भर्खर आइपुगेको थियो । म भने आपराधिक कार्यमा लाग्नु अघिको उसको प्रतिभा, साहस र विद्रोहचेतप्रति सम्मानले शिर निहुराउँदै बाटो लागेँ ।
पोखरा–६ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 6 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु