बस्ती बसाल्नु छ

- इन्दिरा गौतम

हिजोआज तिमी
समानताका कुरा दोहोर्‍याउँछौ
पूर्ण विकसित नभई
छातीभित्र हजारौं, लाखौं चाहना
दबिएका हुन्छन्।
समयको हुङ्कारमा
लाचार अनि दुर्बल आत्मकथाहरू
मर्मान्तिक पीडामा छट्पटाउँछन्।

अस्मिता लुटिएर
आँसुले नुहाउँदै
फ्याँकिदिएका छन् कोही अघाएपछि
घरबार भत्किएका
विवश नारीहरूलाई।

आरोप-प्रत्यारोपका
अशुभ र अलपत्र शब्दहरू
वर्बर नृशंसताका घटनाहरू
तेर्सिएका छन् वरिपरि।

छोरो नजन्माउँदाको अपराधमा
कतै साङ्लोले बाँधिएका छ्न्
कतै दाइजोले पोलिएका छ्न्
कतै विष अनुहारमा ढालिदिएर
कतै घाँटी चेपेर मारिएका छन्
आफ्नै चेली र बैनीहरू।

निष्पट अँध्यारो कहाली लाग्दो नारी जीवनको
कथा र व्यथा लामो छ
कुनै पुस्तकको आयाममा नआँट्ने लामो।

फुल्न आँटेका कोपिला
शरदअघि नै तहस-नहस हुन्छन्
पासविकता फैलिएर मौलाउँछ
मासु लुछ्दै हिँड्छ्न् स्यालहरू।

मेरो मनमा आँधी चल्छ,
बारबार प्रश्न उठ्छ -
प्रतिवादीहरू किन मौन छन् आज?
चिच्याउन मन लाग्छ संसारै थर्काउने गरी
मलाई चिथोर्न मन लाग्छ
यी पर्शुरामहरूलाई।

क्रमश: विद्रोही कलमहरूले
न्यायका आवाज उठाउँछ्न्
नव युग जन्माउने तरखर गर्छन्
एउटा छुट्टै बस्ती बसाल्न यहाँ
तम्सिन्छ्न् जूनको झुटो विशेषण लगाएर लठ्याएका घामका सन्तानहरू।

उता,
समयको पाइलासँगै
पाइला चालेर
अन्यायलाई थर्कमान पार्न
जुर्मुराइरहेको छ समय।

पक्षपात पालेर बाँचेको समाजलाई
सूर्योदयअघि नै
परास्त गर्ने अखडा चल्दैछ भित्र भित्रै
एउटा खण्डहर युगलाई
सगोलबाहिर निकाली सिँगार्नु छ।

चारैतिर विषाक्त काँढा हुन्
ढुङ्गाको पर्खाल होस्
कसैले नाघ्न नसक्ने,
जहाँ निःसङ्कोच विचरण गरुन् नारीहरू
आमा र स-साना चेलीहरू
एउटा सुरक्षित, सुन्दर शान्त
नारी शक्तिको बस्ती बसाल्ने हतारमा छ
आजको घाइते समय।


ओदालगढी, असम

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 6 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु