खोचे थाप्नु

- कृष्ण प्रधान

"संस्कृत "कुञ्च" शब्दबाट "खोचे" भई हाम्रो शब्द ढुकुटीमा वास बस्ने आएको "खोचे" शब्दको कोशसम्मत अर्थ हुन्छ "राम्रो कुरालाई बङ्ग्याएर नराम्रो अर्थ निकाल्ने काम; निहुँ; बिङ्क्याइँ, अ़ड़को ।
मान्छे स्वभावका दास हुन्छन् । स्वभावले नै मान्छेलाई खोचे बनाउँछ । आफ्नो आङमा जुम्रा हिँड़को नदेख्ने तर अरूको आङमा भैँसी हिँड़ेको देख्ने, अर्काले गरेको जस्तै राम्रो कामलाई पनि खोट देखाउने मान्छेलाई "खोचे" भनिन्छ भने यिनको यस्ता खाले स्वभावलाई "खोचे थाप्नु" भनिन्छ ।
हाम्रो समाजमा यसरी खोचे थाप्ने मान्छेहरू जत्ति पाइन्छन् । खोचे थाप्ने मान्छेको दृष्टिकोण, विचार सबै खोटपूर्ण हुन्छ । उनको सोंचाइँ, हेराइ आदि सबै-समै नै नकरात्मक हुन्छ । आफूले गरेको सबै राम्रो तरअरूले गरेको नराम्रो । यो भएन, त्यो भएन । यस्तो हुनुपर्ने, उस्तो हुनुपर्ने । पानी पर्दा पनि गनगन, घाम लाग्दा पनि गनगन । जाड़ोमा पनि कचकच, गर्मीमा पनि ख्याङ्ख्याङ ।
विद्यार्थी जीवनमा आफूले पचास प्रतिशत अङ्क हासिल नगर्ने तर आफ्नै बल र बुताको भरमा अस्सी प्रतिशत अङ्क ल्याएर परीक्षा उत्तीर्ण हुने छोरोलाई "तैँले नब्बे प्रतिशत ल्याउनुपर्ने...किन ल्याइनस्...के पढ़िस् ?" भनी कचकच गरी खोचे थाप्ने बुवाहरू छन् तपाई-हाम्रो समाजमा । उच्च शिक्षा हासिल गरेको बेरोजगार लाठे छोरो घरमा छन् । "कुनै रोजगारगरिन्स" वा "अहिलेसम्म नोकरी हत्याउन सकिन्स" भनी लाठे बेरोजगार छोरोलाई साँझ बिहान खोचे थाप्ने अवसरप्राप्त बुवा होलान् । बबुरो बेरोजगार छोरोले के गरून् ? खोचे थाप्ने बुवाको मुखमा घोँचा त्यतिबेलै खाँदन सकिन्छ जब बेरोजगार छोरोले रोजगार पाएकै महिना दिनपछि क्याटका क्याट नोटका बिटा बुवाको काखैमा फ्याँकिदिनेछन् ।
कागले कागको मासु खाँदैन । एउटा कागलाई कुनै आपद्-विपद् पऱ्यो कि हजारौं कागहरू एकै मिलिकमा थुप्रिएर विरोध प्रदर्शन गर्छन् । कागको गुँड़ भएको रूखमा चढ़़्नुहोस्...छर-छिमेकका कागहरू थुप्रिन्छन् र रूख चढ़्नेलाई ठुङ्न तम्सन्छन् । अर्थात् , कागजातिमा खोचे थाप्ने प्रचलन छैन, खोचे थाप्ने काम हुँदैन । तर खोचे थाप्नेहरू पाइन्छन् भने मान्छे जातिमै जत्ति पाइन्छ ।
दुष्ट स्वभावका व्यक्तिहरू खोचे थाप्छन् । खोचे थाप्नु भनेको नै अर्काको अवगुण, दोष तथा खोट देखाउनु हो । महात्मा विदुरको निम्न भनाइले खोचे थाप्ने व्यक्तिको जीवनमा सामिप्यट राखेको पाइन्छ -
"न तथेच्छन्ति कल्याणामन् गरेषाँ वेदितुं गुणगान् ।
यथैषांआतुमिच्छन्ति नैर्गुण्यं पापचेतसः ।।"
अर्थात्, "दुष्ट बुद्धि भएका मानिसहरू असल गुणहरूबारे बुझ्ने चाहना गर्दैनन् । बरू मानिसको अवगुण (दोष वा खोट) भने खूबै पत्ता लाउन खोज्दछन् ।"
एकजना सङ्गीतकार वा गायकले अन्य सङ्गीतकार वा गायकलाई बेसुरा ठान्छन् । एकजना मत्थुले अर्का मत्थुलाई "के साह्रो मातेका" भनी कटु मनतव्य गरेको सुनिन्छ तर ऊ आफू चाहिँ कत्ति मातेको छ सो आफूलाई नै थाहा हुँदैन । खोचे थपाइको एउटा उदाहरण - गाउँमा मसिना भाइ-बहिनीहरूले मञ्चन गरेका नाटक हेर्ने सौभाग्य जुऱ्यो एकदिन । प्रेक्षागृहमा मेरै आसनको छेउमा आफूलाई ख्यातिप्राप्त ठान्ने एकजना एकाङ्कीकार बसेका रहेछन् । ती एकाङ्कीकारसित सँगै बसेर नाटक हेर्नु पाएकामा गदगद भएँ म । नाटक हेऱ्यौं दुवैले । नाटक सिद्घिएपछि ती तथाकथित एकाङ्कीकार गनगन गर्न थाले - "यो भएन; त्यो भएन । यस्तो हुनुपर्ने; उस्तो हुनुपर्ने। हाम्रो बदनाम गऱ्यो । यस्तो पनि नाटक हुन्छ ?"
मलिन स्वरमा बोलेँ म - " सर ! के चाहिँ भएन ? मलाई ता नाटक मनपऱ्यो । खै हाम्रो बदनाम हुने कुरो मैले नाटकमा केही पनि देखिनँ ता सर !"
प्याच्चै बोले ती तथाकथित महान् एकाङ्कीकार - "तिमीले एकदिन नाटक हेरेको र मैले यत्रो एकाङ्की लेखेकोमा आकाश-पातालको फरक र भिन्नता छ...बुझ्यौ भाइ ?"
म केही नबोले पनि उनले खोचे थापेकै हुन् भन्ने बुझ्न मलाई ठ्याम्मै गाह्रो परेन। उनको खोचे थपाइमा आह्रिस, डाह वमन भएको छ्याङ्ङै बुझेँ मैले । मेरो पालो पनि प्याच्चै भनिदिएँ - "अन्त हाम्रो बदनाम नहुने खालको नाटक सरले नै मञ्चन गर्नु नि ! तपाईको नाटक हेरेर यी भाइहरूले पनि धेरै ज्ञान हासिल गर्नेथिए कि !"
दीर्घश्वास लिँदै ती तथाकथित खप्पिस नाटककार टिठलाग्दो पाराले बोले - "हुँ...त्यै ता गर्न सक्दिनँ म । डेढ़-डेढ़ महिना रिहर्सलको खर्च, हल भाड़ा, लाइट खर्च, कलाकार बटुल्नु, स्पन्सर खोज्नु कम्ति साह्रो छैन भाइ । यो मेरो वशको कुरो होइन ।"
मैले प्याच्चै भनेँ - "जब तपाईसित नाटक म़ञ्चन गर्ने बुता छैन भने किन खोचे थाप्नुहुन्छ सर ?"
बुझ पचाउँदै उनी बोले - "खै मैले कहाँ खोचे थापेँ ऱ ! बरू भाइहरूले मेरो ऩाटक मञ्चन गरिगिने भए एक्सलेण्ट...एक्सलेण्ट नाटकरू छन् मसित..."
उनलाई बोल्न नदिई म फेरि प्याच्चै बोलेँ - "....तपाईको ऩाटक हामीले मञ्चन गर्नु सर ? फेिर म नाटक गरिहिँड़्ने मान्छे पनि होइन साघारण दर्शक मात्रै । गोली खेल्ने मैदान बनाउने विचारा भाइहरू अनि बनिसकेको मैदानभित्र पसेर तपाईले चाहिँ डङ् कि डङ् गोल छिराउने ? यो हुन सक्दैन सर । घर साङ्ले भनेको घर साङ्ले नै हुन्छ । घर साङ्लेलाई बन साङ्लेले उछिट्याउँछु भन्ने सोंच्नु...."
बीचैमा उनी बोले - "कुरो त्यसो होइन भाइ ! मजस्ता महान् ऩाटककारलाई यी केटाहरबले एउटा पास ता दिनुपर्ने ।"
उनको कुरो सुनेर मेरो कन्सिरी तातिएर आयो । सोधेँ - "तपाई महान् नाटककार भन्ने ग्यारेण्टी के छ सर ?"
गजक्क भएर बोले उनी - "मैले थुप्रै ऩाटकहरू लेखेको छु नि ता !"
त्यसपछि मैले अरू तन्काइनँ । सामान्य एउटा पासको निम्ति तड़्पिने यी तथाकथित ऩाटककारले पास नपाएकामा खोचे थापेका रहेछन् भन्ने मैले छ्याङ्ङै बुझेँ । यसबाट अझै एउटा कुरा मलाई के स्पष्ट भयो भने, केही गर्न नसक्नेले मात्रै खोचे थापि हिँड़्दा रहेछन् वा आफूले भनेजस्तो नहुँदा पनि खोचे थाप्नु मन लाग्दोरहेछ । खोचे थाप्नेलाई दुर्जन व्यक्तिकै पङ्क्तिमा राख्दा केही टुटा पर्दैन । यिनै दुर्जन व्यक्तिबारे भर्तृहरिले यसो भनेका छन् ः
"जाड़्यं हीमति गण्यते, व्रतरूचौ दम्भः शुचौकैनवं,
शूरे निर्घृणता, मुनौ विमतिता, दैन्यं प्रियालापिनि ।
तेजस्विन्यवलिप्तता, मुखरता वक्तर्वशक्तिः स्थिरे,
तत्को नाम गुणो भवेत्स गुणिना यो दर्जनैर्नाङ्कितः ।।"
अर्थात्, "दुर्जन व्यक्तिले सज्जनका सबै गुणलाई दोषको रूपमा लिने गर्छन् - दुष्टहरूले सत्पुरूषमा रहँदै आएको लज्जाशील स्वभावलाई मूर्खत हो भन्ने ठान्दछन् । सज्जन पुरूषले गर्ने गरेको व्रत र उपवासना आदिलाई पाखण्डीपन सम्झन्छन् । सत्पुरूषको शुद्धतालाई शठपनाको संज्ञा दिने गर्छन् । वीरता र पराक्रमीपनलाई निर्दयता भन्ने गर्दछन् । तपश्चिन्तनलाई बुद्धिहीन भन्दछन् । मीठो मिजास भएकालाई दीनता (गरिबीपन) ठान्दछन् । तेजस्वीलाई अभिमानी र असल प्रखर वक्तालाई वाचाल वा बकबके भनी पुकार्दछन् । स्थिर चित्त भएको मान्छेलाई सामर्थ्यहीनताको संज्ञा दिने गर्दछन् । यसैले दुर्जनद्वारा कलङ्कित नतुल्याएको गुणी व्यक्तिका कुनै गुण बाँकी छैनन् ।"
पराजित पुरूषहरू खोचे थाप्छन् । जिन्दगीमा हार्नेहरू खोचे थाप्छन् । खोचे थाप्नेहरू हजारौंपल्ट मर्छन् । खोचे थाप्नेहरू समाजका जिउँदा लाशहरू हुन् । खोचे थाप्नेहरूलाई पर-परै टक्टकाएको उत्तम । यस्ताहरूलाई अलिकति पनि मौका दिइयो भने औँलो दिँदा डुड़ुलको मात्रै होइन कुहिनासम्मै निल्नु बेर लाउँदैनन् ।
ठुङमार्दो कुरो ता के छ भने, अर्काको खोचे थाप्दा-थाप्दै आफ्ना जीवनाक अमूल्य अनि स्वर्णिम क्षणहरू फुर्मास भएको कुरो खोचे थाप्नेहरूलाई थाहै हुँदैन । पत्याउनु हुन्न भने तपाईकै गाउँ-घरमा भएका खोचे थाप्नेहरबलाई नै हेर्नुहोस्, उनीहरूले अर्काको खोचे थाप्नु बाहेक खै अरू के नै पो गर्नसकेका छन् र !
खोचे थाप्नेहरूको हाँक ठूलो...फ्वाँकै ठूलो । तर फर्सी जत्रै ठूलो भए पनि पातकै तल हुन्छ भन्ने कुरो यी खोचे थाप्नेहरूलाई थाहा हुँदैन । यसकारण, तपाईलाई पनि तपाईका आँतकै साथीले तपाईले गरेका काममा खोचे थाप्छन् भने खोचे थाप्न दिनुहोस्...तपाई 120 किलोमीटरको रफ्तारमा काम गर्दै जानोस्...तपाईलाई खोचे थाप्ने धुनमा तपाईका साथीको रफ्तार 20 देखि 25 किलोमीटरभन्दा धेर भए लु मरिजाऊँ । कहाँको 120 ; कहाँको 20-25 किलोमीटर रफ्तीर ?
यस्ता खोचे थाप्ने दुइ-चारजना साथीहरू मलाई पनि चाहिएको छ...तपाईका गाउँ-घरतिर त्यस्ता खप्पीस खोचे थाप्नेहरू भए कृपया मकहाँ पठाइदिनुहोस न है....

0 सिलगढ़ी, उत्तर बङ्गाल (भारत)

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 6 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु