धर्म नछाड्नु है

- मनिश कुमार शर्मा समित

“बाबु आफ्नो धर्म नछाड्नु है....” मृत्यु शैय्यामा रहेको उनका बाले बोलेको अन्तिम शब्द ...। साच्चै सापकोटा बाले तन, मन, वचन र कर्मले अहिले सम्म धर्म छाडेका छैनन् । समाजको मुल्य मान्यतामा उनी कहलिएका पण्डित । धर्मशास्त्र, रीतिरवाज, धर्मकर्ममा पारङ्गत अझ धुरन्धर पुराणवाचक । पुराण पाठ गर्न त टाढा टाढाबाट बोलावट हुन्थ्यो उनलाई । पुस्तैनी सम्पत्तिले घर परिवार खानदानी थियो । लोभ लालच थिएन । दानदक्षिणा दिन माहिर थिए । गाउँघर छरछिमेकमा आपत विपत्‍मा सधैं अगाडि हुन्थे । त्यही भएर छरछिमेक, गाउँले उनी प्रति नतमस्तक हुन्थे । प्रत्येक मानिसमा एउटा न एउटा अवगुण हुन्छ भने झैं उनलाई पनि आडम्वरी आवरणले थिचेको थियो । पुरातनवादी र परंपरावादीका नाममा थिचिएर छोइछिटो तथा जातीय विभेदलाई पुर्ख्यौली पहिचानको रूपमा स्विकार गर्दै आएका थिए ।

सापकोटा बा, उमेरले छ दशक छोएको । परिवारमा श्रीमती, एक छोरा एक छोरी । परिवार प्रति उत्तरदायित्वबोध । छोराछोरीलाई समान शिक्षा दिएका थिए । संस्कारि शिक्षामा आफ्नो आडम्वरलाई लादि हाल्थे । तर उनको संस्कारि पाठलाई छोरीले आत्मसात् गर्न सकिनन् । छोरीको छेत्रीय जातको युवकसँगको बहिर्गमनले उनका घर आगन चारदिवार जुठो पारेको थियो । धेरै समय सम्म उनी हीनता, छटपटी वा पीडाले घेरिएका थिए । छोरीको पुनरागमनको ढोका सदालाई बन्द गरिदिएका थिए ।

छोरालाई उच्च शिक्षाको लागि बनारस पठाएका थिए । उनलाई छोरा प्रति पूर्ण विश्वास थियो । छरछिमेकमा छोराको गुणगान खुब गाउँथे । आफ्नो पुर्खौली पेशाको अनुकरण गर्ने कुरामा उनी ढुक्क थिए । श्रीमतीको त झन के कुरा, पतिव्रता नारीको ज्वलन्त उदाहरण । पतिदेवको कुनै पनि कुराको प्रतिवाद गर्दिन थिईन् । उनि पनि असाध्धै माया गर्थे । पत्नीलाई कहिल्यै पनि हेयको दृष्टिकोणले कहिले पनि हेरेनन् । छोरीसँगको बिछोड पछि निकै गल्दै गएकी थिईन् । सायद त्यहि वियोगमा शरीरमा एक पटक हृदयघात भयो । त्यस पश्चात उनी सधैं साथ हुन्थे । कतै जादा पनि प्राय साथै हुन्थिन् ।

असारको महिना खेतिपातीको चटारो । सापकोटा बा बेंशी तिरको खेतको चाँजोपाँजो मिलाएर घर फर्कदै थिए । बाटोमा पल्ले गाउँको काँईलो मुखिया भेट भए । काँईलो मुखिया.... जसलाई भरअबरमा सापकोटा बाले ठुलो गुण लगाएका थिए ।

“ओहो ! काँईला कता बाट आज एता तिर ?”

“ए बाजे ढोग गरें है । यसो माथि सानकान्छाकाँ । भोलि खेतला लगाउनु छ । सहयोग गर्छ कि भनेर । अनि बाजे कता पुगेर आउनु भएको ?” पसिना पुछ्दै काँईलो मुखियाले भने ।

“म पनि तल बेंशी सम्म । अनि घर तिर सब ठिक छन् हैन त ?”

“सबै वेस छन बाजे तर...” बोल्दा बोल्दै मुखिया टक्क अडियो । भनु कि न भनु जस्तो गरि पक्क परेर हेर्यो ।

“के तर भन् न मुखिया पैसोसैसो को अखट्टै छ भने भन् ।”

“त्यस्तो केही छैन बाजे । मैले त बाजेको छोराको पो के के जाति गाईँगुईँ सुनेको छु ।”

“हैन के भन्छ यो ? प्रष्ट भन् न के भो छोरोलाई । ” अलि आत्तिएको स्वरमा सोध्छन् ।

“खै बाजे मैले त सुनेको कुरा । विश्वास त छैन । तर हाम्रा गाउँ तिर निकै हल्ला छ तँपाईको छोरो पढ्न छाडेर खै को केटीसँग बसेको छ रे ” मुखियाको कुरा सुनेर सापकोटा बाको अनुहार निचोरेको कागति जस्तो देखिन थाल्यो ।

“सुनेको कुरा हो नहुन पनि सक्छ । तैपनि छोरा मोराको भर हुन्न भन्छन् । बिचार गर्नु है बाजे ।” यति भन्दै मुखियाले आफ्नो बाटो ततायो ।

सापकोटा बालाई भाउन्न भयो । उनको मनमा काँईलो मुखियाले भनेका शब्द अक्षरस घुमिरहे । मन उकुसमुकुस भयो । तर्कना सिवाय दिमाग शुन्यप्राय थियो । भौंतारिदै कति खेर घर पुगे पत्तै भएन । घर पुगेर सरासर खाटमा गएर उत्तानो परे । सधैं बाहिरबाट घर छिर्दा हातखुट्टा नधोई नछिर्ने बुढालाई देखेर श्रीमती अचम्भित थिईन् ।

“किन सन्चो भएन कि के हो ?” चियाको गिलास खाट नजिकैको टेबुलमा राख्दै उनी बुढाको निधार छाम्न थाल्छिन् ।

“हँ केहि भएको छैन ।” शून्यबोध बाट झस्कदै उनले जवाफ दिए ।

“आज अलिधेरै दौडधुप भएछ साह्रै थकाई लागेछ । “ झुटो मुस्कान छर्दै उनले भने ।

“अनि तैंले औषधी खाईस त ?” कुरा अन्तै मोड्न चाहे ।

“खाएँ । कत्ति खानु त्यो पनि ।” एकोहोरो बुढा तिर हेर्दै बोलिन् । लाग्थ्यो बुढाले उनलाई कुरा लुकाइरहेका छन ।

“ल म गएँ भान्छा तिर । तँपाई आराम गर्नुस् । ”


“बुढी हप्ता दस दिनको लागि म बाहिर जादै छु । मेरो लत्ताकपडा ठिक पारिदे है । ” बेलुका खानाको गाँसहाल्दै अचानक बुढाले भनेको कुरा सुनेर बुढी चकित थिईन् ।

‘ हैन के भयो आज बुढालाई घर आए देखि न्याउरो छन । फेरि भोलि नै हिड्ने भन्छन् । पहिला पहिला त कतै जानु पर्दा दुईचार दिन अघि नै जानउ दिन्थे । के भयो भनेर सोध्दा पनि के जवाफ दिदैनन् । खै...’
एकोहोरो सोच्न थालिन् ।

श्रीमती एकोहोरिएको देखेर बुढाले कुरा थप्दै गए “ यो पटक अलि अपर्झट भयो । केही चिन्ता लिनु पर्दैन तल्ला घरकी कान्छीलाई साथी बोलाउनु । भरसक म चाडैं फर्कन्छु ।“

भोलिपल्ट तल्ला घरकी कान्छीलाई बुढीले खाने औषधी र अन्य कामकुरा बताएर बुढा लागे बनारस तिर ।

xxxxxxxxx

बनारसको सम्पूर्णानन्द संस्कृत विश्विद्यालय, जहाँ उनको छोरो अध्यनरत थियो । त्यहाँ गएर छोराको खोजिनिती गरे तर उस को अत्तोपत्तो थिएन । छोरोसगैं पढ्ने छात्रावासको एक नेपाली सहपाठीलाई सोधे ।

“खै बुबा के भन्नु ? के भएर मति बिग्रेको हो ? अहिले त दार्जिलिङ् तिरको गुरुङ्नीको कोठामा बसेको छ । कति सम्झाए सकिन ।”

बुढा छांगा बाट खसे झैं भए । मन भत्‍भति पोलेर आयो । हतास मुद्रामा भने “अहिले कहाँ बसेको छ त ?”

“हिड्नुस म कोठा देखाइ दिन्छु ।”

उनीहरू त्यहाँ पुग्दा झण्डै रात छिप्पिन लागेको थियो । “ल बुवा उ त्यहि हो घर । त्यसको दोस्रो फ्ल्याटमा बस्छन उनीहरू । म चाहिँ बिदा हुन्छु एतै बाट ।” यति भन्दै उ लस्किहाल्यो । सायद कुनै पनि विवादमा पर्न चाहदैनथ्यो ।

भारी र त्रसिद मनले सापकोटा बा ढोका ढ्कढकाउछन् । तीन चार पटकको ढ्कढकाहट पछि भित्रबाट मधुरो आवज आउँछ “ फेरि को आयो यति खेर ? ” । ढोका खुले पछि आएको चुरोट र रक्सीको मिश्रीत गन्धले बा को दिमाग खलबलिन्छ । नाक मुक एकैचोटी बिगार्छन । ढोका खोल्ने उनकै छोरा थियो । हातमा चुरोट र मदिरा सहितको सिसाको गिलास ।

सामुन्ने बाको अकस्मातको उपस्थितिले छोराको हातबाट एकाएक मदिराको गिलास भुईंमा झरेर चकनाचुर भयो । उसको लागि बाको उपस्थिति अप्रत्यासित थियो । अकल्पनिय, अविश्वसनीय थियो । “बुवा...” त्यो भन्दा बढि शब्द केही पनि बोल्न सकेन ।

“के भयो प्यारा ?” पछाडिबाट एक नारी ध्वनि आयो ।

सापकोटा बा ती नारीलाई निहार्छन् । शरीरमा लेसमात्रको पहिरन ।

सापकोटा बाको भाउन्न छुट्यो । मन मात्र हैन तन पनि त्यहाँ एकछिन टिकिरहन सकेन । फरक्क फर्के ।

मनको कुनै कुनामा सुषुप्त रहेको बिगतको पीडामा फेरि आगोको लप्कोले भेटेको थियो । सुमधुर सपनामा कुठारापात भईसकेको थियो । चिनजान, मित्र, आफन्तरूको झुण्ड, बन्धुत्वले हेपाई, गाली, तिरस्कार, खिसिट्युरी गरेको आँखामा झल्झलि नाच्न थाल्यो । मनको वायुमण्डलमा कालो कालो धुवाँ आकाशिन थाल्यो । हीनता, छटपटी र पीडाले घेरिए । अब बाँच्नुले के अर्थ राख्यो र ? सबै सँग तिरस्कृत हुनु भन्दा त यतै देह त्याग गर्ने विकृत सोच पलाउन थाल्यो । सिधै गंगाको तीर तर्फ लागे ।

गंगा नदी हिन्दु धर्मको प्राण । महाशक्ती धार्मिक मान्यता अनुसार अधर्मीको पनि पाप पखाल्ने । त्यहीँ गएर आफ्नो पाप पखाली इहलिला समाप्त बिचार गरे । नदीको किनारामा पुगेर भक्कानिएर रोए । केही बेर पछि गंगाको पानी अन्जुलीमा लिएर पितृहरुलाई तर्पण दिए । सबै देवदेवी को स्मरण गरे । फेरि एक अन्जुली पानी लिए । जुनेली रातको उज्यालोमा अन्जुलीको पानी निहारे । कता कता आफ्नै श्रीमतीको छायाँ आकृति देखे ।
ओहो ! मेरी बुढी परिस्थिति र रोगले गाँजिएकी । त्यसको साहारा नै को छ र ? म पनि त भईन भने ? आफ्नो मरण पछि श्रीमतीलाई छरछिमेक ईष्टमित्रहरु सबैले गर्न सक्ने होच्याई उनको मनसपटलमा एकाएक उमडिएर आयो । अन्जुलीको पानी त्यहि गंगामा छाडी दिए र दुई पाईला पछि हटे ।

छि ! यस्तो लाछीपन मेरो दिमागमा किन आयो ? सामाजिक तिरस्कारको विकल्प आत्माहत्या नै हो त ? परिस्थिति आफ्नो अनुकुल भएन भनेर मरण स्विकार्नुको सट्टा आफूलाई मजबूत बनाउनु पर्नेमा म के पाप गर्न लागेको ? आखिर गल्ति कस्को मेरै त हो । मेरो एक कमजोरीले आज आफैमा दाग लाग्यो । एक गहन ईच्छाले नै विकराल घृणाको जन्म भयो । अब यो घृणालाई अब अवसरमा परिणत गर्नेछु । आउने जुनसुकै परिवेशलाई पनि आत्मशात गर्नेछु । एक मार्गबोधी भएर प्रस्तुत हुनेछु । एक उदाहरणीय बनेर दिखाउने छु ।

धरमरिएको, कमजोर भईसकेको आत्मालाई आत्मविश्वासले दृढ बनाए । अन्तरआत्माले गंगा नदीलाई प्रणाम गरे । सेतो छालाभित्रको कालो मन, कालो सोचलाई गंगामा तिलान्जलि दिएर रेल्वे स्टेसन तिर लागे।

xxxxxxxxx

सापकोटा बा घर फर्कदा मध्यरात भईसकेको थियो । ढोका ढकढकाए । साथी आएकी कान्छीले ढोका खोली ।

“ए बा पो आउनु भएछ । ढोग गरे बा ।” कान्छीले सापकोटा दम्पतीलाई सधैं बा आमा भनेर नै सम्बोधन गर्थी ।

“तँ सुतेकी छैनस ?” आशिष दिने भावमा हात कान्छीको शिरमा राख्दै बा ले सोधे ।

“ पढ्दै थिएँ अब सुत्ने ”

“अनि आमा खै त ?”

“माथि सुत्नु भएको छ ।”

“ल सुत नानी तँ पनि । रात धेरै छिप्पिसक्यो “ बा माथि उक्लदै भने । माथि कोठामा पुगेर एकटकले श्रीमतीलाई हेरे । सबै कुराले बेखाबर उनी मस्त निद्रामा थिईन् । मुसुक्क हाँसे र गालामा एक मिठो चुम्वन दिए । हल्का छटपटहटमा श्रीमतीले आँखा खोलिन् ।

“कति खेर आउनु भयो तँपाई ?” आश्चर्य भावमा बुढालाई हेरिन् ।

“भर्खरै हो ” कपडा फेरेर सुत्ने तरखर गर्दै भने “ल सुत तँ पनि भोलि बिहान कुरा गरौंला ”


बुढीले बिहानको नित्यकर्म सकिसकेकी थिईन् । बुढा अझै उठेका थिएनन् ।

“ए सानीको बा अब उठ्ने हैन ?” बुढालाई झकझकाईन् ।

“ओहो ! कस्तो निदाइएछ।” बुढा आँखा मिच्दै थिए । यस्तो लाग्थ्यो निद्रा अझ पुगेको छैन । घडी हेरे आठ बजिसकेछ । हत्त न पत्त उठे । नुवाईधुवाई सकेर पूजापाठमा लागे । पूजाकोठाको एक भित्तामा रहेको बाको ठुलो फोटो फ्रेममा नतमस्तक भए र मनमनै गुनगुनाए “ म मानविय धर्म कहिल्यै छाड्ने छैन बा...”

त्यतिन्जेल सम्म बुढीले चिया लिएर आईसकेकी थिईन् । चियालाई एका तिर राखेर बुढीको हात समाएर बिस्तारै आफु तिर तान्छन् र छेउमा बस्ने ईसारा गर्छन ।

“बुढी एउटा कुरा भनु है ?“ विश्मित आँखाले बुढा तिर पुलुक्क हेर्छिन् ।

“यसपालि छोरीलाई तीजमा बोला है । “

बुढाका यी शब्दहरु अप्रत्यासित र अकल्पनिय थियो उनलाई । केही बोलिनन् । स्विकृतिको अभिव्यक्ति आँसुको अश्रुधाराले दिईन् । बुढालाई च्याप्प अङ्गालो हालेर धेरै बेर सम्म रोइरहिन् ।


ठिमी, भक्तपुर

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 6 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु