हिमाल

- इन्दिरा चापागाईं

म मस्त निदाइरहेको थिएँ।ढोका ढक ढकसँगै कानमा कसैको आवाज ठोक्कियो- नेपाली! ए नेपाली! ब्युझ, उठ, कति सुतेको? ढिला भैसक्यो।
अर्धनिन्द्रामै बोलेँ, मेरो निन्द्रा बिगार्ने तिमी को हौ? किन बोलाएको?
“म तिम्रो गौरब हुँ।मैले तिमिलाई विश्वमा पहिचान दिलाएको छु।तिमी मलाई चिन्दैनौ।यही त बिडम्बना छ। सदियौंदेखि तिमी निदाईरह्यौ।कहिलेही आँखा खोलेनौ।मलाई चिन्ने प्रयास नै गरेनौ।”
चिन्न सकिन त सकिन के गर्नु? चिनाउन त अब।
“धर्तिमातालाई स्नान गराएको छु।लाखौंलाई पानी पिलाएको छु।थुप्रै प्राणी वनस्पतिलाई जीवन दिएको छु।अब त चिन्यौ होला नि?”
ए चिने चिने। पानी पो रहेछ।अनि किन मलाई बिउँझाएको, किन उठाएको त?
“विश्वका कति व्यक्ति, राष्ट्र र संस्थाहरुले मेरो बारेमा अनुसन्धान गरे। शोध तयार गरे।कीर्तिमान कायम गरे। बिभिन्न फिल्म बनाएर आर्थिक उपार्जन गरे तिमी भने अझै मलाई चिन्दैनौ।मेरो उपेक्षा गरिरहन्छौ। विश्वसामु पछि परिरहन्छौ।बत्तीमुनिको अध्यारो भनेको यही हो।”
म आँखा नखोली सुनी रहेँ।उ अझ भावुक हुँदै भन्दै गयो।
“मेरो उद्देश्य त तिमीलाई विश्वमा चिनाउनु र सम्पन्न बनाउनु थियो।म तिमी जस्तो होइन,नेपालमा बसेर विदेशको गुणगान गर्ने।म त नेपालको समृध्दि चाहन्छु, त्यो पनि आफ्नै योगदानबाट।मैले तिमीलाई चिनाउने काम त गरें। तर तिमीले आँखै खोलेनौ।मेरो साथ हुँदाहुदै पनि तिमीलाई छिमेकीले हेपेको र विश्वले कम आँकेको देख्दा दुख लाग्छ।समुद्री राष्ट्रहरुले समुद्रको सौन्दर्य बेचेर सम्वृध्दि हाँसिल गरेको देखेनौ? तर तिमीले त मेरो सदुपयोग गरेर आफूलाई सम्पन्न बनाउने तर्फ कहिलेही सोचेनौ।”
अति भयो बा!यो को शुभचिन्तक रहेछ ,के आइलाग्यो।बिहानीको मीठो निन्द्राबाट ब्यँझि त सकें।अब उठ्नु पर्यो भनेर उठें।जब ढोका खोलें ।उसलाई देखें।अहिले सम्म आफू निदाईरहेको र उसलाई नचिनेकोमा आत्मग्लानी भयो।
उत्तरतिर फर्केर मैले उसलाई भरपुर हेरिरहेँ ।केवल हेरिरहेँ।

सभापोखरी १ संखुवासभा।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 6 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु