नेपाली कवितामा नवीन प्रयोग : ठोस कविता, वर्ण पिरामिड र रेखा कविता

- ज्ञान बहादुर क्षेत्री

प्रयोगवादको उद्देश्य साहित्य सिर्जनाका स्थापित परम्पराबाट मुक्त भएर नयाँ कुरा आविष्कार गर्नु र प्रयोग गर्नु हो। नयाँको खोजीमा प्रयोगवादीहरुले निषिद्ध क्षेत्रहरुलाई उघारो पारेका छन, नैतिकता र अनैतिकताका लक्ष्मणरेखा मेटिदिएका छन। विचित्र भावार्थ जन्माउऩ, वाक्यविन्यासमा र शैलीको प्रतिपादनमा प्रयोगवादीहरुले अनेक उपाय अपनाएका छन। कविताका शब्द र वर्णहरुलाई विभिन्न आकारमा, चित्रको रुपमा सजाएर विचित्रको अनुभूति अभिव्यक्त गर्दछन। अंरेजी र अन्य पाश्चात्य साहित्यमा चित्रात्मक कविताको प्रयोग हुन थालेको सय वर्ष पुगिसकेको छ।
नेपाली साहित्यमा चित्रात्मक कविताको प्रयोग यस अघि बैरागी काइंलाले अनि त्यस पछि रङ्गवादी कविहरुले साथी सिर्जनशील अराजक समूहले पनि यसको व्यापक प्रयोग गरेका छन। हाङयुग अज्ञात, राजन मुकारुङ र साथीहरुले स्थापना गरेको यस समूहले --- वैचारिक भिन्नता, सांस्कृतिक विविधता, नश्लीयताबोध, कवित्व निस्सीमता र सिर्जनात्मक निर्णय------- यी पाँचवटा मान्यताहरुलाई लिएर साहित्यिक आन्दोलन थालेका हुन। त्यसै गरी धर्मेन्द्र विक्रम नेम्बाङको नेतृत्वमा स्थापित रङ्गवादले एउटा ठूलो क्रान्ति ल्यायो। छजना रङ्गकविले साठीको दशकमा सातवटा चित्रात्मक कविताको संग्रह प्रकाशित गरे। त्यसै गरी उत्तरवर्ती नामका समूहले पनि धेरै चित्र कविता बनायो। यसको विवरण गोविन्दराज भट्टराईको उत्तरआधुनिक विमर्श नामक ग्रन्थमा छ। यसले यथास्थितिको विरोध गर्दछ अनि बहुलता र विविधतालाई आघार मानेर सिर्जना गर्न चाहन्छ।
यतिखेर बन्दाबन्दीको समयमा कविहरुले विभिन्न आकृतिका चित्रात्मक कविता रचना गर्न थालेको देखिँदैछ। कसैले खुकुरीको आकृतिमा कविता रचेका छन भने कसैले मादलको आकृतिमा कवितालाई सजाएका छन। असमका कवि मिलन बोहोराले हिजो आज कवितालाई ज्यामितीय आकार दिने प्रयास गरिरहेका छन। उनका चतुष्कोणी रम्बस कविताले सामाजिक सञ्जाल फेसबुकमा निकै लाइक र कमेन्ट पाएको देखिँदैछ। उनले एउटा अक्षरदेखि क्रमश एक एक अक्षर बढाउँदै दशओटासम्म पुर्याएर फेरि क्रमश एक एक अक्षर घटाउँदै एक अक्षरमा पुर्याएका छन। यो उन्नाइस हरफको कवितामा पहिलो र अन्तको अक्षर एकै हुन्छ। झलक्क हेर्दा यो ज्यामितीय आकार रम्बस जस्तो लाग्नाले होला यसका प्रयोक्ता कवि मिलनले रम्बस कविता भनेका छन। उदाहरणका लागि बोहोराको एउटा कविता ----
बाठो
****
"म
बाठो"
भनेर
भन्नेदेखि
होसियार है!
धेरै भयो साथी
मुलबाटो छोडेर
भौँतारिएर हिँडेको
बाठाको कुरामा लागेर।
अझै पछ्याए बिग्रेला कुरा।
तिम्रो विवेक छँदाछँदै,
बाटो थाहा हुँदाहुँदै,
विवेकहीन किन?
ब्युँझ जाग चिन
स्वयमलाई।
अनि भन
तँभन्दा
बाठो
म।
उसै गरि गुवाहटेली कवि नीता गुरुङले रुखको आकृतिमा कविता रचेर सामाजिक सञ्जाल फेसबुकको माध्यममा प्रसारित गरेकी छन। नीता गुरुङको रुख कविताको एउटा उदाहरण-------
के
भन्छौ भन
आँखाको भाखाले
नभनेर मुखले बोल अब
मेरो नै तस्विर छ तिम्रो मुटु माझ
एकपल्ट विश्वासको नजरले हेर


त्या

आफ्नै आत्मालाई सोधी हेर

वर्ण पिरामिड
वर्ण पिरामिड कविता पनि त्यस्तै चित्रात्मक प्रयोग हो। झलक्क हेर्दा यो अति नै सहज, साना केटाकेटीहरुको खेल जस्तो लाग्छ। थोरै शब्दमा विचारलाई अभिव्यक्त गर्नु अत्यन्त कठिन काम हो। वास्तवमा, थोरैमा धेरै भन्न सक्नु नै चित्रात्मक कविताको कलात्मक सुन्दरता हो।
यो चित्रात्मक कविता लेखन वस्तुत साहित्यिक आन्दोलन नभएर नेपाली कवितामा देखा परेको नवीनतम प्रयोग हो । हिन्दी कवि सुरेश वर्मा जशालाले चित्रात्मक वर्ण पिरामिड कविता सिर्जना गरी सामाजिक सञ्जाल फेसबुक माध्यममा यसको प्रचार प्रसार गराएका हुन। यसरी कवि जशालाई अनुकरण गरेर रेवतीमोहन तिमसिना लगायत अन्य केही नेपालीमा पनि प्रयोग गर्न थालेका छन। वर्ण पिरामिड कविताको चित्रात्मक प्रस्तुति हो। यसमा पहिलो हरफ सधैँ एकाक्षरी शब्द हुन्छ अनि दोस्रो हरफमा दुइ अक्षर, तेस्रोमा तीन अक्षर, चौथोमा चार अक्षरका एक वा ततोधिक शब्द हुन्छन। त्यस पछिका हरफहरुमा यही रीतले क्रमश एक एक अक्षर बढाउँदै लगिन्छ र पिरामिडको आकृतिको कविता बन्दछ। पिरामिड कवितामा सर्वोच्च यति हरफ हुनु पर्छ भनेर कुनै सीमारेखा तोकिएको छैन। सामान्यत जशालाका हिन्दी ढाँचामा रचिएका र नेपाली भाषामा रचिएका वर्ण पिरामिड कविता सात हरफका रहेका छन।
यद्यपि वर्ण पिरामिड कविता सन 2015 तिरै फट्याक फुटुक रचिन थालेका हुन यसलाई कोभिड 19 बन्दाबन्दीको प्रोडक्ट भन्न सकिन्छ किनभने यही समयमा यसको प्रयोगलाई निकैजना कविले अपनाएको देखियो । शीर्षक नै वर्ण पिरामिड दिएर पहिलो पुस्तक प्रकाशित गराउने श्रेय भने असमका कवि रेवतीमोहन तिमसिनाले हासिल गरेका छन। भाषा मान्यताको ऐतिहासिक दिवसको छेक पारेर 20 अगस्त 2020 का दिन मराधनशिरिमा उक्त पुस्तकको लोकार्पण, असम साहित्य सभाका महासचिव रुद्र बरालका हातबाट सम्मन्न भयो। यसमा कवि तिमसिनाले कोभिड-19 को बन्दाबन्दी अवधिमा रचेका एक सय पचासवटा वर्ण पिरामिड कविता परेका छन।
असमका विशेष गरी नवोदित कविहरुमा यो नवीन शैली निकै जनप्रिय हुँदै गएको देखिन्छ। नीता गुरुङ, मिलन बोहोरा, नीलिमा आचार्य, बुद्धि सुबेदी, हीरा छेत्री, चन्द्र भट्टराई, दीपक दबाडी, नारद भट्टराई, लखिमा उपाध्याय, चिन्तामणि शर्मा, रीता सिंह सर्जना, रेवतीरमण सापकोटा, विष्णु शास्त्री, रण काफ्ले आदि कविले यो चित्रात्मक शैली अपनाएको देखिन्छ। यो नवीन शैलीका अनुगामीहरुको संख्या दिन दिन बढदै गएको छ अनि कविहरुले वर्ण पिरामिडको शैली अपनाएर उत्कृष्ट कविता सिर्जना गरेका छन। यी कविताले छिटै नै ठोस कवितासहित नयाँ प्रयोगका अरु पनि निकै संग्रहहरु प्रकासित हुने सङ्केत दिएका छन।
केही वर्ण पिरामिड कविताका उदाहरण------

रुख
साथी हुँ
मानिसको
म बाँचे भने
बाँच्दछ मानिस
बाँच्छ पर्यावरण
--- रीता सिंह सर्जना
लौ
फेरि
भएछ
शहरमा
लक डाउन
महामारी रोग
फैलिएछ आगो झैं
----नीता गुरुङ
हे
प्रिये
चन्द्रमा
घुम्टो ओढी
लुकेकी किन
मधुमय रात
आऊ न गरौं बात
----रेवतीमोहन तिमसिना

रेखा कविता
उसै गरी कवि बुद्धि सुवेदीको यसै वर्ष, 2020 मा प्रकाशित कविता संकलन एउटा समयका किनारमा असमबाट प्रकाशित पहिलो रेखा कविता बन्ने कीर्तिमान स्थापित गरेको छ। रेखा सबैमा हुन्छ। वास्तवमा सबैथोक नै रेखाबाटै रेखा निर्माण हुन्छ। त्यसैले जीवन र जगतलाई हेर्ने नयाँ काव्यिक दृष्टि लिएर रेखा कविता विकसित भएको छ। समानता, क्षेत्रता, सहनशीलता, अलङ्कारिता, रेखियता र सामयिकता रेखा कविताका मान्यता हुन भन्ने कुरा देश सुब्बाले उल्लेख गरेका छन।
सन 2010 मा देश सुब्बाको सीमा समाधिस्थ गर्दछु कविताबाट रेखा कविताको प्रारम्भ भएको थियो भने यसलाई मलजल गरेर अघि बढाउनेहरुमा टङ्क सम्बाहाम्फे, बिमल राई, डिबि पालुङ्वा, मनोज बोगटी, अतीत मुखीया, लेक सिंघक, हिमाल सुब्बा, केदार सङ्केत, टङ्क बनेम र खेरेश देवेन्द्र आदि कविहरुको योगदान रहेको छ। रेखा कवितामा दृश्य, अदृश्य, भावना, समय र क्षितिजको प्रस्तुति हुन्छ। आफ्नो लक्ष्य, उद्देश्य र विचारलाई व्य़ाख्या गर्न विभिन्न प्रकारका रेखा, चित्र र ढाँचाले यसलाई प्रभावकारी पार्ने प्रयास गरिन्छ। रेखा कविताको एक उदाहरण यस प्रकार छ
तिमी/ म
मुना/ मदन
मन – धन = प्राप्ति
आशा + विश्वास


अविश्रान्त जीवन नदी।
(जीवन)
अंग्रेजी भाषामा वर्ण पिरामिड र यस प्रकारका चित्रात्मक कवितालाई ठोस कविता (कङ्क्रिट पोएट्री) भनिएको छ। ठोस कविता भनेको भाषिक उपादानहरुको विन्यास हो जसमा मौखिक ध्वनि भन्दा टङ्कणको प्रभावलाई बडी महत्व दिइन्छ। कतिपयले यसलाई दृश्यात्मक कविता नामले पनि चर्चा गरेको पाइन्छ। अग्रेजी सहित अन्य भाषाहरुमा यसको प्रयोग हुनथालेको धेरै भयो। ठोस कवितामा ज्यामितीय आकार बाहेकै पनि रुख, पात, उढदै गरेको विमान, छाता आदि ठोस वस्तु, अनि मूसो, जिराफ, कङ्गारु आदि थरिथरिका जीवजन्तुको आकारमा कवितालाई सजाएको देखिन्छ। कसैले पानी परेको आकारमा सजाउने हुनाले वर्णलाई साना पारेर माथिबाट झरेको धर्कोजस्तो देखिन्छ। यसरी सजाउने हुनाले परम्परागत क्रम टुटेर कविता पढनै नसकिने दुर्वोध्य हुने गर्दछ।
(Concrete poetry is an arrangement of linguistic elements in which typographical effect is more important in conveying meaning than verbal significance. It is sometimes referred to as visual poetry, a term that has now developed a distinct meaning of its own.)
सन्दर्भ
1. उत्तरआधुनिक विमर्श---- गोविन्दराज भट्टराई, मोडर्न बुक्स, काठमाडौ।
2. काव्यिक आन्दोलनको परिचय--- डा. गोविन्दराज भट्टराई, साझा प्रकाशन।
3. वर्ण पिरामिड (कविता संग्रह)----रेवतीमोहन तिमसिना, मौदगल्य प्रकाशन, रौता ।
4. एउटा समयको किनारमा (कविता संग्रह) ---- बुद्धि सुवेदी, पूर्वायण प्रकाशन, गुवाहाटी।
5. विकिपिडिया (कङ्क्रिट पोएट्री)

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 1 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु