विश्वेश्वर प्रसाद कोइरालाका उपन्यासहरूको अनुशीलन

- प्रा.डा. विष्णु प्रसाद पौडेल

(विगत दुई दशकदेखि नेपाली समालोचनामा अत्यधिक चर्चा हुँदै आएका विषयमा विश्वेश्वर प्रसाद कोइराला र पारिजातका कृतिहरु पनि पर्दछन् । यस्तो चर्चा उनीहरुका उपन्यासमै अझ बढी केन्द्रित भएको पाइन्छ । अध्येताहरुको ती विषयमा बढी आकर्षण हुनुको मुख्य कारण ती सर्जकहरुका रचना राम्रा भएर मात्रै नभई ती सर्जकहरुको निश्चित राजनीतिक दृष्टिकोणप्रति अध्येताको बढी लगाव हुनु पनि हो । कोइरालाले जम्मा २६ वटा कथा र ६ वटा उपन्यास लेखेका छन् तर उनका कृतिमा १५ वटा पिएच डी भएको बुझिन्छ । ती बाहेक अनेकौँ स्वतन्त्र समालोचनात्मक लेखहरू पनि लेखिएका छन् । यस्ता कतिपय उद्देश्य केन्द्री अध्ययनले ज्ञानको विकासमा थप योगदान पनि दिनुका साथै तिनले अध्येताहरुलाई बढी लाभान्वित पनि तुल्याएका होलान् तर यस्ता धेरैजसो अध्ययनमा भने अरूले पिसेको पिठो पिसि रहने वा मनोगत आस्था कथन गर्ने वा राजनीतिक आग्रही दृष्टि प्रकट गर्ने काम पनि मनग्गे भएका भेटिन्छन् । यस्तो असहज र अर्थहीन पृष्ठभूमिलाई ख्याल गरी मैले कोइरालाका उपन्यासमा कलम चलाउने हतारो गरेको थिइन तर बेला बेलामा नेपाली स्नातकोत्तर तह दोस्रो वर्षका कोइरालाको आख्यान पढ्ने विद्यार्थीहरुले गरेका जिज्ञासा र अन्य परिस्थितिले पनि यस विषयमा मलाई कलम चलाउन अभिप्रेरित गरेको हो । त्यसैले यहाँ लेखकको राजनीतिक आस्थालाई महत्त्व नदिई उनका कृतिगत वा औपन्यासिक तथ्यका आलोकमा कोइरालाका उपन्यासहरुलाई एक झमटमा स्वतन्त्र पठन गर्ने काम गरिएको छ । यस अनुसार कोइराला औपन्यासिक सुगठनमा त्यति ध्यान नदिई विविध विचार प्रक्षेपणका लागि उपन्यास लेख्ने लेखकका रूपमा चिनिएका छन् र यिनको औपन्यासिक विचारमा आध्यात्मिक र भौतिक अन्तर्विरोध पनि देखिएको छ । अन्त्यमा, प्रस्तुत पठन कत्तिको सार्थक छ भन्ने कुरा विज्ञ पाठकबाट नै मूल्याङ्कित हुने अपेक्षा पनि रहेको छ ।)
१. उपन्यासकारको परिचय
विश्वेश्वर प्रसाद कोइराला १९७१ साल भदौ २४ गते भारतको वाराणसी वा काशीमा जन्मेका थिए । यिनका पिता कृष्ण प्रसाद कोइराला राणा शासनका विरुद्ध लागेका हुँदा सपरिवार निर्वासनमा रहदा यिनको जन्म भएको हो । बनारसको काशी हिन्दू विश्व विद्यालय (बी.एच.यू.) बाट यिनले सन् १९६४ मा कला र कानुन विषयमा स्नातक तह उत्तीर्ण गरेका थिए । साहित्य लेखन भने १९८५ सालतिर स्कुले जीवनबाटै हिन्दी भाषामा कथा, कविता र निबन्ध लेखेर सुरु गरेका थिए । त्यतिखेरका हंस, विशाल भारत, हिमालय, वीणा र भविष्य नामक चर्चित पत्रिकाहरु जो क्रमशः वाराणसी, कलकत्ता, पटना, इन्दौर र इलाहावादबाट निस्कन्थे तिनमा यिनका हिन्दी भाषाका रचनाहरु प्रकाशित हुन्थे । यो देखेर सूर्य विक्रम ज्ञवालीले यिनलाई नेपाली भाषामा लेख्न अनुरोध गरेपछि १९९२ सालमा शारदा पत्रिकामा यिनको पहिलो नेपाली कथा “चन्द्र वदन” छापियो । यसले नेपाली कथा परम्परामा नै मनोवैज्ञानिक धाराको थालनी भएको मानिन्छ । त्यसपछि यिनले नेपाली भाषामा प्रशस्त कथा र उपन्यास लेखे । यी बाहेक आत्मवृत्तान्त, वैचारिक लेख, कविता, नाटक जस्ता क्षेत्रमा पनि यिनको कलम चलेको छ तर बढी चर्चित रचना भनेका कथा, उपन्यास र आत्मवृत्तान्तहरु नै हुन् ।
यिनको पहिलो उपन्यास २०२५ साल सालमा .‘तिन घुम्ती’ नामबाट प्रकाशित भयो । त्यसपछि नरेन्द्र दाइ (२०२७), सुम्निमा (२०२७), मोदिआइन (२०३६), हिटलर र यहुदी (२०४०) अनि बाबु आमा र छोरा (२०४५) गरी जम्मा ६ वटा प्रकाशित भए । कोइराला राजनीतिमा बढी सक्रिय रहेका र राजनीतिकै कारण लामो समयसम्म जेलको निरस जीवन बिताउनु परेको हुँदा सोही बन्दीगृहको समयमा यिनले आफ्ना सबैजसो साहित्यिक रचना लेखेका थिए । यिनका साहित्यिक रचनामा विशेषतः फ्रायडीय यौन मनोविश्लेषण, अस्तित्ववाद, नारीवाद, नियतिवादका सन्दर्भ व्यक्त भएका हुन्छन् । यस्ता लेखक कोइरालाको निधन २०३९ साल साउन ६ गते भएको थियो ।
२. उपन्यासहरुको अध्ययन
२.१ तिन घुम्ती
नारी चरित्र प्रधान यो उपन्यास डिमाइभन्दा सानो साइजका जम्मा ७४ पृष्ठ (२०६४ को नवौँ संस्करण) मा विस्तारित लघु उपन्यास हो । यसमा उपन्यासकी केन्द्रीय पात्र इन्द्रमायाका महत्त्वपूर्ण तिन निर्णयलाई तिन भागमा विभाजित गरी प्रस्तुत गरिएको छ । पहिलो भागमा १६ बर्से इन्द्रमायाको अभिभावकहरुले विवाह गरि दिन खोज्दा आफूले स्कुल पढ्दादेखि नै भित्रभित्र प्रेम गरेको केटो पीताम्बर कहाँ भागेर आएको विषय प्रस्तुत गरिएको छ । इन्द्रमाया काठमाडौंकी मध्यम वर्गीय हुने खाने नेवार परिवारकी छोरी भएकी हुँदा उसको विवाह आफ्नो जात र आर्थिक अवस्था मिल्दो केटासँग मात्रै हुनु पर्ने सोच बाबुआमाको हुन्छ तर पीताम्वर नेपालको कुनै पहाडतिरबाट उपत्यका पसेको, बाबुआमा विहीन र नातागोतासँग पनि सम्बन्ध टुटेको गरिब बाहुन थियो । अर्को कुरा इन्द्रमायाको परिवारको सम्बन्ध दरबारसँग पनि राम्रै थियो तर पीताम्बर आतङ्कवादी सङ्गठनमा लागेर दरवार विरुद्ध विद्रोहमा लागेको ठानिन्थ्यो । यस्ता अनेक कारणले उसको घर परिवार इन्द्रमायाको प्रेम विवाहका विरुद्ध दृढ बनेर रहे पनि ऊ पनि प्रेमको एकोहोरो हठका साथ आफ्नो एकल निर्णय गरी समाज, परिवार सबैलाई त्याग्दै सोझै पीताम्बरको कोठामा पुगी । त्यसपछि उनीहरु सुखी पति पत्नीका रूपमा रहन थाले । यसले इन्द्रमायाको प्रेमप्रतिको दृढ उत्सर्गको चरित्रलाई देखाएको छ।
दोस्रो भागमा विद्रोही पीताम्बर र उसको सङ्गठनका धेरै मानिसहरुलाई सुरक्षाकर्मीले समातेर जेलमा हाल्छन् । त्यसले इन्द्रमायाको जीवन अस्तव्यस्त हुन्छ । उसलाई घर र माइतीतिरबाट सहयोग हुने स्थिति रहँदैन । पीताम्बरसँगै जेल परेको उसको निकटको साथी रमेश केही दिनमै छुटेर इन्द्रमायालाई सहयोग गर्न एक्कासि आउँछ । त्यसले इन्द्रमायाको दिनचर्या फेरि सहज र सुखपूर्ण हुन थाल्छ । तर लामो समय लोग्नेसँगको सहवासबाट विमुख इन्द्रमायाको रमेशसँग अगाडि देखिकै अवचेतनको आकर्षण रहेको र रमेशले पनि स्पष्ट रूपमा आफ्नो इच्छा जनाउन थाले पछि मन तरङ्गित हुन थाल्छ । पीताम्बरको सान्निध्यमा आमा बन्न नसकेकी र उल्टै पीताम्बरबाट आफ्नै कारणबाट बन्ध्या वा बाँझी भएकी आक्षेप खेपेकी इन्द्रमायाले स्वस्थ र आकर्षक रमेशलाई अस्थायी प्रेमीका रूपमा अङ्गीकार गरी यौन सुख लिन थाल्छे । यही क्रममा ऊ गर्भवती पनि हुन्छे । यसले उसमा तीव्र खुसी पनि सञ्चार गर्छ तर मनको एउटा कुनामा पाप गरे जस्तो पनि लाग्छ र ऊ प्रायश्चित्तका लागि विहान बाग्मती नुहाई पशुपति दर्शन गर्न पनि पुग्छे । जेलको आफ्नो पतिलाई चाहिँने सामानहरु रमेश मार्फत पु–याउन लगाउँछे । जेल छुटेर आएपछि आफ्नो सन्तान देखेर पति पनि खुसी हुने छ भन्ने उसको अपेक्षा छ । संयोग छोरी जन्मने र पीताम्बर जेलबाट छुट्ने एकै दिन पर्छ । ऊ अस्पताल इन्द्रमाया भेट्न गए पनि उसले जन्माएको सन्तान हेर्न चाहँदैन । आमा बन्न सकेकोमा प्रफुल्ल भएकी इन्द्रमायालाई पीताम्बरको व्यवहारले ठेस पनि लाग्छ । यसरी यस भागमा आमा बनेर नारीत्वको पूर्णता प्रमाणित गर्नका लागि इन्द्रमायाले परम्परा विरोधी दोस्रो स्वनिर्णय गरेकी छ ।
तेस्रो भागमा छोरीकै विषयलाई लिएर इन्द्रमाया र पीताम्बरबिच मनमुटाव बढ्दै गएको छ । पीताम्बरले इन्द्रमायासँग छोरी रमेश वा कुनै अनाथालयको जिम्मा लगाएर आएमा परिस्थिति सहज बन्दै जाने नत्र छोरी वा लोग्ने एउटा रोज्नु पर्ने जनाए पछि दुबै छोड्न नचाहने इन्द्रमायालाई केही अप्ठ्यारो त पर्छ तर उसले छोरी नै रोज्ने स्वनिर्णय गर्छे र आफ्ना भएका एक जोर कपडाको पोको र छोरी लिएर लोग्नेको घर त्याग्छे । कर्मचारी र शिक्षक जस्ता विभिन्न पेसा अँगालेर दुखसुख गर्दै उसले एक्लै आफ्नै आर्जनले छोरी रमालाई हुर्काउँछे । वयस्क भएकी छोरी रमाले पनि आफै आफ्नो जीवन साथी छनोट गरी आमा इन्द्रमायाको आर्शीवाद लिन आउँदा उसले दुबैलाई भाग्यमानी भए भन्ने आर्शीवाद दिएको प्रसङ्गसँगै उपन्यास टुङ्गिन्छ । यसबाट व्यक्तिको स्वनिर्णयको स्वीकृति इन्द्रमायाले नवपुस्तमा स्थापित गरेकी छ । उपन्यासमा यी सबै विषय ४५ वर्षे इन्द्रमायाले आफ्नो विगत सम्झदै संस्मरणात्मक शैलीमा प्रस्तुत गरेको देखिन्छ ।
यसरी यस उपन्यासमा शिक्षित सहरिया नेपाली नारीका प्रेम, यौनसुख र मातृत्वका समस्यालाई अस्तित्ववादी कोणबाट प्रस्तुत गरिएको छ र नारी अस्त्विको संरक्षणका सन्दर्भमा नारीवादी कोण पनि मुखरता साथ प्रकट भएको छ । नारीले आफ्नो जीवन आफ्नै निर्णयद्वारा सञ्चालन गर्न पाउनु पर्छ; त्यसो गर्न उनीहरु सक्षम छन्; पितृसत्तात्मक समाजका धर्म, नैतिकता र परम्परा त्यसका अवरोधक भए पनि त्यसको वास्ता गरिनु हुन्न; युग सापेक्ष र व्यक्तिको मनोभावना सापेक्ष तिनमा परिवर्तन गरिनु पर्छ; व्यक्ति जीवनको सुख खोस्ने गरी बनाइएका परम्परा र मान्यता स्वीकार्य हुँदैनन्; पुरुष र नारीलाई वा धनी र गरिबलाई फरक फरक मापदण्ड सिर्जना गरी मानव मानवबिच विभेदको खाडल खनिनु हुन्न भन्ने जस्ता व्यापक मानवतावादी सोचहरु यसमा अभिव्यक्त भएका छन् ।
२०२५ सालमा प्रकाशित यस उपन्यासको सोच वा इन्द्रमायाका कर्महरु परम्पराका सापेक्षतामा निकै भिन्न र बढी विद्रोही प्रकृतिका छन् । विशेष गरी यौनका बारेमा इन्द्रमायाका तर्क बढी पेचिला छन्। प्रेम आत्मिक हुने हुँदा शारीरिक अशुचिताले त्यसमा कुनै असर नपार्ने यसको सोच छ (यो सोच २०३९ सालको मदन मणि दीक्षितको माधवी उपन्यासमा अझ व्यापकतासाथ आएको छ) । त्यही भएर विद्रोही राजनीतिमा लागे पनि इन्द्रमाया जति उदार हुन नसकेको पीताम्बरले उसलाई रमेशसँग पोइला गएकी जस्ता आपेक्ष लगाएर अन्ततः आफूबाट अलग्गिन प्रेरित गरेपछि ऊ अलग्गिए पनि “म जहाँ पनि रहुँला तिमीलाई माया गरी रहुँला र त्यो मायाले सदा गौरवान्वित भइ रहुँला” (पृ.७३) भन्ने पत्रमा उल्लेख गरेर गएकी छ । त्यसपछि पनि पीताम्बरका बारेमा उसको कुनै नकारात्मक टिप्पणी देखिएको छैन । मनबाट रमेशलाई प्रेम गर्ने र शरीर मात्रै पीताम्वरलाई साँचेर राख्ने कर्म उसले ठिक ठानेकी छैन (यो भावको बोध २०६८ सालको अमर न्यौपानेको सेतोधर्ती उपन्यासकी विधवा ताराले पनि जीवनको उत्तरार्धमा गरेकी छ)। अर्को कुरा रमेशसँगको सहवासमा उसले सुखानुभूति गरेको पनि सहजै सकारेकी छ । यदि त्यो सम्बन्ध रसशून्य हुन्थ्यो भने म वेश्या हुन्थेँ भन्ने उसको तर्क छ । त्यस्तै यौन सम्बन्ध राखेकै आधारमा कोही कसैको पति र पत्नी हुँदैनन् । त्यस्तो हुँदो हो त वेश्याका सबै ग्राहक पति हुन्थे । तिमीले यौन सम्बन्ध राखेका सबै नारीका तिमी पति हुन्थ्यौ । के त्यसो भएको छ भन्ने उसको प्रश्न छ । यहाँ अझ खुट्याउनु पर्ने कुरा के छ भने विवाह भएर ४/५ वर्षसम्म पीताम्बरसँग रहँदा पनि इन्द्रमाया आमा हुन नसक्दा उसले इन्द्रमायाकै शरीरमा समस्या हुन सक्ने जनाएको छ । पुलिसद्वारा समातिने रातमा इन्द्रमायाले आमा बन्ने अपेक्षाले यौनको कामना गर्दा म आज धेरै थाकेको छु भनी टारेको छ । यस्तो पृष्ठभूमिले आमा बनेर नारीत्वको पूर्णता पाउन चाहेकी इन्द्रमायामा ठुलो व्यवधान सिर्जना भएको थियो र त्यसकै क्षतिपूर्ति उसले रमेशबाट गरेको पनि देखिन्छ । यदि उसले रमेशबाट यौन सुख मात्रै लिन चाहेका भए त्यो पनि असम्भव थिएन तर ऊ आफ्नो परिवारमा सन्तान चाहन्थी । तिम्रो शरीरमै समस्या छ भन्दै पत्नीलाई बाझी ठान्ने लोग्नेलाई अप्रत्यक्ष समस्या त तिम्रो शरीरमा पो थियो भन्ने उत्तर पनि दिन चाहेको बुझिन्छ । आफ्नो कमजोरी बोध सहित सन्तानको समस्या पनि हल भएको ठानेर पीताम्वर खुसी नै हुने छ भन्ने इन्द्रमायाको सोच भए पनि उसमा पितृसत्ताको अभिमान उम्लन पुग्यो र पत्नीको सतीत्वको प्रश्न उठाउन थाल्यो तर “मेरो सतीत्व तिम्रो खाँचोको विषय नै होइन; पटक्कै होइन; त्यो त मेरो विषय हो, म सती भएँ वा असती भएँ भन्ने कुरा त मैले निर्णय दिने कुरा पो हो । तिम्रो वास्ता त मेरो प्रेमसँग मात्र हुने होइन ?” (पृ.६८) भन्दै ठाडै प्रतिरोध गरेकी छ ।
यस्तै पीताम्बरको त केटीहरुसँग बढी उठबस छ है भनी आफूलाई सुनाउनेको पनि ऊ वास्ता गर्दिन र लोग्नेले आफूप्रतिको त्यसरी गरेको टिप्पणीलाई पनि ऊ ठिक ठान्दिन । बाहिरी कृत्रिम औपचारिकता प्रेम नभई आत्मिक इमान्दारितालाई उसले प्रेम ठानेकी छ । साथै मानिसले बनाएका नियम तोड्न सकिन्छ तर प्रकृतिले बनाएका नियम तोड्न सकिन्न भन्ने सोच भएकी यसले यदि जीवनको कुनै त्यस्तो मौलिक आवश्यकताको अजेय आग्रहद्वारा कसैसँग यौन सम्बन्ध गरिन्छ भने त्यो अपवित्र हुन्न र त्यसमा लज्जित हुनु पर्दैन भन्ने स्पष्ट राय राखेकी छ (पृ.७१) । परम्परित दृष्टिले हेर्दा यसका यस्ता दृष्टिकोण निकै अराजक र अनैतिक देखिन्छन् । मन या आत्माबाट उपेक्षा वा घृणा गर्ने तर बाहिर कर्तव्य देखाउने पीताम्बरको कर्मलाई पनि यसले “मेराप्रति कर्तव्य गर्ने तिमालाई कुनै खाँचो छैन (पृ.६)” भन्दै ठाडै नकारेकी छ । छोरीलाई रमेश कहाँ वा अनाथालयमा बुझाएर पीताम्वरसँग बस्नुलाई पनि यसले “परान्न भोगी दासी” (पृ.७१) हुनु ठानेकी छ । पहिला म पीताम्वरसँग मात्रै खुसी हुन सक्छु भनी घर परिवार समाज सबै त्यागी आएकी इन्द्रमाया पढेलेखेको र राजनीति सचेत भए पनि पितृसत्ताको साँधुरो घेराबाट मुक्त हुन नसकेको पीताम्बरका कारण आफ्नो मूल्याङ्कनमा फेल भएकी त छ तर आफ्नै विवेकमा चली नारी अस्तित्व कायम राख्न भने समर्थ देखिएकी छ । उसले आफ्नो सन्तानलाई पनि सोही बाटोमा डो¥याएकी छ । त्यति मात्रै होइन उसको स्वत्वबोध सहितको नारी अस्तित्व संरक्षणको धारणा वा प्रेम र यौनका बारेमा उसले प्रकट गरेका नवीनतम दृष्टिकोण वर्तमान आधुनिक पुस्तामा स्वीकृत बन्दै गएका छन् र परवर्ती साहित्यकार वा उपन्यासकर्मीहरुले पनि फरक सन्दर्भ साथ सोही दृष्टिकोणलाई पुष्टि गर्दै पनि आएका छन् । यसले मूलतः दृष्टिकोण प्रक्षेपणका लागि उपन्यास लेख्छु भन्ने कोइरालाको यो औपन्यासिक कर्म फलीभूत नै भएको छ ।
यसो भन्दा भन्दै पनि इन्द्रमायाको चरित्रमा खोट लगाउने ठाउँ नै छैन भन्न सकिन्न । उपन्यासमा उसलाई स्वनिर्णयमा चल्ने, तत्कालै निर्णय लिन सक्ने, परिस्थितिको वस्तुवादी विश्लेषण गरेर जीवन सञ्चालन गर्ने, परम्परा विरोधी, दृढ नारी चरित्रका रूपमा देखाइए पनि कतिपय अन्तर विरोधहरु पनि उसमा देखिएका छन् । ऊ आफै रमेशसँग राति सहवास गर्न पनि पुग्छे र विहानै वाग्मतीमा नुहाएर पशुपतिको दर्शन गरी आफ्नो पाप कटनी गर्न पनि खोज्छे । पीताम्बरसँग आफूले रमेशबाट भोग गरेको यौन सुख नाजायज थिएन भनी तर्क गरे पनि उसकै अन्तर मनको कुनामा त्यो पाप थियो भन्ने खेलि रहन्छ । उसले भनेकी पनि छ– “हे भगवान्, वाचा र कर्मणाले म व्रतमा एक निष्ठ छु । केवल मनसाको एउटा क्षुद्र कुनामा मात्र धूमिल भएको छ । उसले (त्यसले ?) गर्दा स्वयं आफूलाई दण्डित भइ रहेको पाउँछु (पृ.१७) ।”
यस्तै घर परिवार, समाज, सम्पत्ति सबै त्यागी पीताम्बरसँग मात्रै सुखी हुन्छु भनेर आए पनि पीताम्बर हुँदा नै उसको साथी रमेशसँग इन्द्रमाया भित्रभित्रै मनबाट आकर्षित हुँदै गएकी छ । यस्तै पीताम्बरसँग बस्नै नसक्ने वैचारिक बेमेल भए पनि तिमीलाई सदा प्रेम गरि रहन्छु र गौरवान्वित हुन्छु भनेकी छ । यस्ता अन्तर विरोधले भरिएका वा द्विविधाग्रस्त मनोविज्ञान यसका चरित्रमा देखिएका छन् । मानव जीवनका कतिपय क्षणमा यस्ता अन्योल देखिन पनि सक्छन् भनेर तिनलाई बेवास्ता गर्न पनि सकिएला तर तीभन्दा अझ गम्भीर वैचारिक समस्या यहाँ ४५ बर्से इन्द्रमायाले आफ्नो अतीतको मूल्याङ्कन गर्दै कतिपय ठाउँमा प्रकट गरेका नियतिवादी धारणा रहेका छन् । ५ वर्षे इन्द्रमायाले आफ्ना सबै जसो निर्णय र कर्महरु आफूले गरे पनि ती सबै नियति निर्देशित थिए । आफू त निमित्त मात्र थिएँ भन्ने भाव व्यक्त गरेको पाइन्छ । जस्तै–
– इन्द्रमायाले सोची– उसले निर्णय लिएको भनेको नियतिले कोरेको बाटोमा हिँडेको हो (पृ.२९) ।
– अचेल इन्द्रमायालाई लाग्न थालेको छ कि हुन त मानिसले नै निर्णय गर्छ, तर नियातिले निर्देशन गरेकै बाटामा हिँड्न उसको निर्णय भवितव्यको सेवकको रूपमा प्रकट हुन्छ (पृ.२३) । आदि
इन्द्रमायाको जीवनको उत्तरार्द्धमा देखिएको यस्तो नियतिवादी दृष्टिकोणले उसको विगतको चरित्रमा पाइने स्वनिर्णयको क्षमतालाई केही अवमूल्यन गर्नुका साथै उपन्यासको वैचारिकतामा पनि अन्तर विरोधको स्थिति उत्पन्न गराएको छ। समग्रमा भन्दा विचार प्रक्षेपणका लागि उपन्यास लेख्छु भन्ने कोइरालाको यो पहिलो उपन्यास भए पनि परम्पराका सापेक्षतामा निकै उत्तेजक नवीन विचार प्रक्षेपण गर्न समर्थ देखिएको छ । यसमा अस्तित्ववादी, नारीवादी र नियतिवादी वैचारिकता, नारी चरित्रको केन्द्रीयता, सङ्क्षिप्तता, सूक्ष्मता र गहनता जस्ता विशेषताहरु अन्तर्निहित छन् । यसको वैचारिक प्रभाव परवर्ती समाज र लेखनमा पनि देखिएको छ । यति भएर पनि मुख्य वैचारिक पात्रका कार्य र कथनमा वा उपन्यासको विचार प्रतिपादनमा केही अन्तर विरोधहरु देखिनु यसका सीमा बनेका छन् ।
२.२ नरेन्द्र दाइ
मुख्यतः पूर्वी नेपालको कोशीको सेरोफेरोको समाजमा आधारित यस उपन्यासमा स्फुट रूपमा यौन मनोविज्ञान र अस्फुट रूपमा नियतिवादी जीवन दर्शन प्रस्तुत गरिएको छ । डिमाइ साइजका जम्मा ७८ पृष्ठ (२०५६ को पाँचौ संस्करण) मा फैलिएको यस उपन्यासमा विषयलाई तिन भागमा विभाजित गरी प्रस्तुत गरिएको छ । ‘तिन घुम्ती’मा भन्दा यसमा समाज निरीक्षण केही विस्तृत भएको हुँदा यसको आकार पनि बढेको छ । ‘तिन घुम्ती’मा जस्तै यसमा पनि नरेन्द्र दाइ, गौरी र मुनरियाको त्रिकोणात्मक सन्दर्भ रहेको छ । यसको पनि विषय प्रेम र यौन नै रहेको छ । उपन्यासको पहिलो भागमा बाबु आमाले नरेन्द्रको गौरीसँग विवाह गरी दिए पनि खाइ लाग्दो नरेन्द्रले छाँट नपरेको शरीरकी सानी गौरीलाई आफू सुहाउँदो पाउँदैन र घरकै तरुनी नोकर्नी मुनरियालाई लिएर भाग्छ । दोस्रो भागमा त्यसरी भागेको नरेन्द्र र मुनरिया विभिन्न ठाउँ हुँदै बनारस पुग्छन् तर त्यहाँ नरेन्द्र गम्भीर रूपमा क्षयरोगले ग्रस्त भएको हुँदा अन्ततः मुनरियाकै आग्रह अनुसार ऊ एक्लै घर फर्किन्छ । रोगी नै भए पनि फर्किएको लोग्ने पाएर गौरी सारै खुसी त हुन्छे तर नरेन्द्र केही दिनमै मर्छ । त्यसले गौरी विक्षिप्त जस्तै बन्छे । यसपछि तेस्रो भागमा विक्षिप्त गौरीलाई म वा उपन्यासको समाख्याता पात्र सानो बाबुले वीरगन्ज माइत पु¥याएर काशी जान्छ । यता १९९० सालको भूकम्पमा परी नौ दिनसम्म च्यापिएकी गौरी उद्धार भएको ३ दिन पछि मर्छे र उपन्यास टुङ्गिन्छ । उपन्यासमा यी सबै कुरा संस्मरणका रूपमा म वा सानो बाबुले प्रस्तुत गरेको छ ।
उपन्यासको मुख्य समस्या भनेको जमिन्दार मालिकको खाइलाग्दो छोरो नरेन्द्र दाइले आफू सुहाउँदी पत्नी नपाउनु हो । गौरी गोरी हिस्सी परेको अनुहारकीर सारै सुशील भए पनि वैशका कुनै लक्षण नबोकेकी, होची र शरीरको ढङ्ग ढाँचा पनि नमिलेकी हुँदा नरेन्द्रले विवाहको रातमै शरीर छामेर सारै सानी रहिछौ भनेको थियो । बाबुले धेरै पहिला कुनै इलम नभएको स्वास्नी पनि पाल्न नसक्ने भनि दिँदा ज्यादै रिसाहा नरेन्द्रले तपाईले मेरो गलामा झुन्ड्याइ दिएकी गौरी तपाईंलाई नै भयो भनेपछि त एकै घर भए पनि उसले गौरीलाई हेर्न छाडि दिएको थियो । पछि आमाले घर स्वास्नी हुँदा हुँदै नोकर्नीसँग हिँड्ने भनेर बाज्दा मुनरियालाई लिएर हिँडेको छ । नरेन्द्रको गौरीप्रतिको विकर्षण र मुनारियाप्रतिको गहिरो आकर्षणका पछाडि उनीहरुको बाह्य शारीरिक बनोट नै हो । जुन्टुले भनेकी पनि छ– “गौरीमा नरेन्द्रले के पाउँछ र एक चिम्टी छाती छैन, जहाँ मुनारिया अँजुलीभरी लिएर हिँड्छे (पृ.१४) ।” महारानी दिदीले पनि दुबैको तुलना गर्दै गौरीको विकर्षणलाई सङ्केत गरेकी छन् (पृ.३१) । यो कुरा गौरीलाई पनि थाहा छ र उसले आफ्नो शरीर बनाउन अनेक प्रयत्न गरे पनि सफल भएकी छैन । लोग्नेलाई खुसी पार्न पढ्न र गाउन पनि सिकेकी छ । सरसफाइमा पनि विशष ध्यान दिएकी छ तर पनि लोग्नेको नजर आफूमा टिकाउन सकेकी छैन। यौन कुण्ठा नरेन्द्र र गौरी दुबैमा छ । नरेन्द्रले मुनरियाबाट स्वाभाविक ढङ्गमा पूर्ति गर्ने बाटो लियो भने गौरीले सानो बाबुलाई अस्वाभाविक रूपमा म्वाइ खाएर अनि कृष्णको मूर्तिमा तल्लीन भएर क्षतिपूर्ति गर्न खोजेकी छ । गौरीमा पछि आदर्श चेतना प्रबल हुँदै गएको छ । लोग्नेले माया नदिए पनि उसको निकटमा बसेर सन्तुष्ट हुने उसको इच्छा छ । त्यसैले सौता सहितको नरेन्द्र भए पनि ऊ घर छोडेर नजाओस् भनेर उसले अनेक प्रयत्न गरेकी छ तर सफल भएकी छैन । पछि क्षयरोगग्रस्त लोग्ने पाउँदा पनि उसमा हर्षको सीमा देखिन्न ।त्यसैले प्रेमको आध्यात्मिक रूप गौरीमा देखाइएको छ र त्यसले अन्ततः हठी र क्रोधी नरेन्द्रलाई पनि फर्काएर विजयी बनेको छ । भौतिक वा शारीरिक प्रेममा भुतुक्क भएका नरेन्द्र र मुनरिया दुबैको दुखान्त भएको छ । सानी आमाले नरेन्द्रलाई पहिला भनेको “वासनाको यो तिम्रो प्रबल उद्वेगले सबैलाई विनष्ट गर्ने छ (पृ.४०) ।” कुरा पुरै सत्य देखिएको छ । नरेन्द्र क्षयरोगले मरेको छ भने मुनरिया बनारसमा रसिक मण्डलीलाई आफनो शरीरले सन्तुष्ट बनाउन बाध्य भएकी छ । पछि बुढो जौहारीकी पत्नी बनेकी उसले सानो बाबुसँग अगाडिको मुनरिया त मरिसकी भन्नुले पनि उसको जीवनको दारुणता नै झल्किएको छ । उसको एक्लो रोगी बुढो बाबुको पनि मृत्यु भएको छ । कोशीको बाढीले गाउँमा पनि ठुलो क्षति पु¥याएको छ । बाँचेका धेरै मानिसहरु पनि लाखा पाखा लागेका छन् । गाउँमा जम्मा २/३ घर मात्र बाँकी छन् । सबैतिर दुख र शून्यता छाएको छ ।
१९९० सालको भूकम्प अघिको परिवेश लिएर लेखिएको यस उपन्यासमा पितृसत्ताको जग्जगी त छँदैछ । जातीय छुवाछुत जस्ता परम्परित रूढ अन्धविश्वासहरुले पनि हाम्रो समाजलाई गाँजेको पाइन्छ । लोग्नेलाई स्वास्नी मन नपेर अर्की ल्याए भइ हाल्यो नि (पृ.१५) भन्ने, नारीले कुनै गल्ती नगरे पनि पारिवारिक र सामाजिक परिस्थितिद्वारा दण्डित हुन बाध्य पारिने, नारी जीवन स्वयंको लागि भन्दा पनि प्रेमी वा लोग्नेका लागि हुनु पर्ने, दुख भने उसले एक्लै भोग्नु पर्ने, मालिकले चाहेपछि विपन्नका छोरीचेलीले उनीहरुको इच्छा पुरा गर्नु पर्ने, मानिसले पानी मागेर अलग्गै खाँदा पनि तल्लो जातको भनेर रँडाको मच्चाउने (पृ.२९) जस्ता नारी विरोधी र मानव विरोधी समस्याहरु उपन्यासमा आएका छन् । विपन्न वर्गका समस्यालाई मुनरियाको जीवन भोगाइ र उसका कथनले पनि निकै मार्मिकताका साथ देखाएका छन् ।
समाजका लिङ्गीय, वर्गीय र यौन कुण्ठाका समस्याहरु त सतहमै देखिन्छन् । गहिराइमा जाँदा मानव जीवनको गति नियन्त्रको खोजी वा जीवन चिन्तन यसमा देखिएको छ । यसको अभिव्यक्ति विशेषतः समाख्याता पात्र सानु बाबुले उपन्यासका पात्रहरुको जीवन सन्दर्भ नियाल्दै गरेको छ । “पापकाम नगरे पनि पाप भोग किन मानिसले सहनु पर्छ ... (पृ.४०) ?” भन्ने गौरीको प्रश्नमा गम्भीर बनेको सानु बाबुले जीवनको निरर्थकता बोध गर्न थाल्छ र भन्छ “जीवन के एउटा अर्थहीन यात्रा मात्र हो, जुन यात्रामा पापपुण्यसँग सुख दुखको कुनै तारतम्य छैन ? केवल एउटा तर्कहीन अवस्था हो यो मानव जीवन (प.४२) ?” उपन्यासका नरेन्द्र, गौरी र मुनारियाको जीवन हेर्दा त त्यस्तै देखिन्छ । तिनीहरुको जीवन आकाङ्क्षा के के थियो तर सोचे जस्तो त कसैले पनि भोग्न पाएका छैनन् नि । मुनरिया भन्छे “मेरो त कतै छैन फर्केर जाने ठाउँ, कोही छैन मलाई पर्खेर बस्ने (पृ.५५) ।” गौना गरेको लोग्ने लिन आउँदा मालिकसँग भागेर धेरै ठुलो स्वप्न देखेकी मुनरियाको उक्त कथन निकै मार्मिक छ । ठुलो घरमा परे पनि लोग्नेद्वारा परित्यक्त गौरी पनि जीवनमा कुनै किसिमको आशा गर्ने बानी छाडेर अस्तित्वहीन जीवन बिताउन अभ्यस्त भएकी छु भन्छे (पृ.४४) तर कल्पनाभन्दा बाहिरको कुरा भइ दिन्छ । त्यस्तो हठी, क्रोधी लोग्ने पनि उसकै शरण पर्न आउँछ अनि ऊ केही दिनमै मर्छ । जस्तो अवस्थाको लोग्ने भए पनि उसलाई पाएर प्रफुल्ल बनेकी दुखी गौरी लोग्ने मरेपछि विक्षिप्त बन्छे र भूकम्पमा परी निकै दारुण मृत्यु ब्यहोर्छे ।
“नियतिको अगम्य चाला छ (पृ.७०)” भन्ने गौरीको कथन उसकै जीवनमा बढी लागु भएको छ । नियतिको अगम्यताले जीवन र यसका गतिहरुलाई पनि झन् अगम्य तुल्याइ दिएको छ । जीवन के हो र यसको प्राप्तिको के हो ? जस्ता प्रश्नहरु सहजै उत्तरित हुन सकेको छैनन् । यसले गर्दा जीवनको निस्सारता वा अर्थहीनताको थप बोध सानो बाबुलाई हुँदै जान्छ । उसले दृष्टान्तमा भनेको छ– कोशीको तटको बालुवामा नरेन्द्र, गौरी र मुनारियाद्वारा बनाइएको त्रिकोण आकृतिलाई सानो हावाको झोक्काले मेटेझैँ नियतिको सानो धक्काले उनीहरुको जीवन समाप्त पारेको छ (पृ.७८) ।
यसरी पाप कर्म नगरी दण्ड पाइनु, एउटा लक्ष्य लिए जीवनमा अघि बढ्दा अनेक असङ्गत परिस्थितिहरु भोग्न पर्नु, उपन्यासका मुख्य तिनै पात्रको जीवन अकल्पनीय रूपमा विसादमा परिणत हुनु अनि सानो बाबु र गौरीले कथन गरेका कतिपय सन्दर्भहरु पनि यतैतिर परिलक्षित देखिनुले उपन्यासमा प्रारब्धको लेखा वा भाग्यवादी र नियतिवादी जीवन दृष्टि रहेको पुष्टि हुन्छ । उपन्यासकारले पनि यसमा मानवीय स्वभावभन्दा “मानवीय नियतिलाई उद्घाटन गर्न खोजेको छु” (कोइराला, २०५८ः १९) भनेका छन् तर यसको त्यति सुस्पष्ट प्रस्तुति भने देखिँदैन । उपन्यासका यस्ता घटना, सन्दर्भ र परिस्थितिलाई विसङ्गतिवादी कोणबाट पनि हेर्न र व्याख्या गर्न सकिन्छ । (नियतिवाद पनि एक किसिमको विसङ्गतिवाद नै त हो ।)
समग्रमा भन्दामा १९९१ पूर्वको परिवेशमा आधारित यस उपन्यासमा मुख्यतः यौन मनोविज्ञान, नारीपीडा, विपन्नका पीडा, परम्परित रूढ संस्कार, प्रेमको भौतिक र आध्यत्मिक रूपका साथै भाग्यवादी र नियतिवादी (वा विसङ्गतिवादी) जीवन दृष्टि प्रस्तुत गरिएको छ । उपन्यासमा स्थानीय दृश्यका साथै तद्देशीय भाषिक स्वरूपलाई पनि टिपिएको छ । कथनमा काव्यात्मक वक्रता पनि देख्न सकिन्छ तर कतिपय ठाउँमा पात्रको स्तर अनुकूलको भाषा भने देखिँदैन ।
२.३ सुम्निमा
डिमाइ साइजका जम्मा ९४ पृ. (२०६३ को आठौं संस्करण) मा फैलिएको यस उपन्यासमा विषयलाई उपकथा, १, २, ३ र उपसंहार गरी पाँच भागमा विभाजन गरिएको छ । यसको प्रस्तुति पूर्ववर्ती दुई उपन्यासको भन्दा बढी परिष्कृत र कलात्मक पनि छ । यसमा परम्परित मूल्य मान्यताप्रति गम्भीर प्रश्न सिर्जना गरी समाज र जीवन सञ्चालनमा समन्वयवादी नवीन दृष्टिकोण प्रक्षेपण गरिएको छ । यसको प्रस्तुति बढी प्रतीकात्मक वा अप्रत्यक्ष किसिमको छ । उपन्यासको उपकथा (पृ.१) मा यसको स्पष्ट उल्लेख पनि छ । उपकथा भागमा नै उपन्यासलाई ऐतिहासिक पौराणिक परिवेश प्रदान गर्न विगतमा कोशी नदी किनारमा विश्वाभित्रको आश्रम रहे पनि त्यो परम्परा टुटेको तर उत्तर र दक्षिणपूर्वतिर किराँत र भिल्लहरुको बसोबासले निरन्तरता पाएको जनाइएको छ । विगतमा विश्वामित्रको आश्रम रहेकै ठाउँमा सूर्यदत्त आफ्नी पत्नी र पुत्र लिएर आर्य परम्परालाई निरन्तरता दिन पुगेको छ । सूर्यदत्त विशेषतः आफ्नो छोरोलाई अन्य सामाजिक वा सांसारिकताबाट अलग राखी आर्यधर्मको सफल अनुयायी बनाउने उद्देश्यले त्यहाँ गएको हो र छोरालाई उसले त्यसरी नै प्रशिक्षित पनि गरेको छ । छोरो सोमदत्त पिताको निर्देशनप्रतिपूर्ण प्रतिबद्ध पनि छ । उपनयन संस्कार गर्दा पण्डितहरुले उसको क्षमता देखी ऊ कुनै ठूलो सिद्ध बन्ने भविष्य वाणी पनि गरेका छन् । तीव्र स्मरण शक्ति भएको मेघावी आफ्नो पुत्रप्रति बाबु आमाको ठुलो विश्वास पनि छ तर गाई चराउन जाँदा भेटिएकी किरात पुत्री सुम्निमाको प्राकृतिक नग्न स्वरूप र उसको सरल सोझा व्यावहारिक तर्कले सोमदत्तको सोचाइ र व्यावहारलाई खलबल्याउन थाल्दछन् । अनि ऊ आफ्नो तप साधनाको अपूर्णता बोध गरी घोर तपका लागि अन्यत्र जान्छ । आफ्नो शरीरको मासु समेत काटेर हवन गर्ने, गर्मीमा मरुभूमिमा पञ्चाग्नि तापेर बस्ने, शरीरमा धमिराले गोलो लगाउने गरी एकाग्र भएर बस्ने जस्ता सारै कठोर र जीवन नै समाप्त हुने तहसम्म पुगेर तपस्या गरेपछि उसले सिद्धत्व प्राप्त गर्छ र पिताको आश्रममा फर्किन्छ । कठोर साधनाद्वारा इन्द्रियजयी बनी फर्केको पुत्र देखेर बाबु आमालाई हर्षको सीमा हुन्न । उनीहरुले अब पितृऋण तिर्न वंश रक्षाका लागि सोमदत्तलाई विवाह गर्नु पर्ने भन्छन् तर आजीवन ब्रम्हचर्यमा रहने सोचको सोमदत्त माता पिताको निर्देशनले द्विविधामा पर्छ । फेरि पिताले शारीरिक आशक्ति नराखी पुत्र प्राप्तिका लागि गरिने पत्नी समागमले ब्रह्मचर्य खण्डित नहुने (पृ.३४) जनाएपछि उसले विदुषी पुलोमासँग विवाह गर्छ । सोमदत्त र पुलोमाका माता पिता आफ्नो कर्तव्य पुरा भएको ठानी सन्यासी बनी प्राण त्याग्ने उद्देश्यले हिँड्छन् । उपन्यास यहाँसम्म आर्य चिन्तन वा वेदान्त दर्शनका आलोकमा अगाडि बढेको छ । यो उपन्यासको पूर्वार्द्ध पक्ष हो ।
यसपछि उपन्यासमा अघिल्लो पक्ष खण्डित वा पराजित तुल्याउँदै लगिएको छ । त्यसका लागि वैज्ञानिक तर्कभन्दा पनि किरात जातिको परम्परित आस्थालाई आधार बनाइएको छ । भएको के छ भने सोमदत्त र पुलोमा दुबैले वासना वा शारीरिक सुखबाट अलग्ग भई पुत्र प्राप्तिका लागि धेरै पटक शास्त्रीय विधि सम्मत ढङ्गमा शारीरिक सम्पर्क गरे पनि पुलोमा गर्भवती हुन्न । त्यसले दुबैलाई गम्भीर चिन्ता र दिक्दारीमा पार्छ । “आर्यहरुका समस्त देवीदेवता र उनीहरुका शास्त्रमा उल्लिखित कर्मकाण्ड, वैदिक ग्रन्थमा निर्देशित तप यज्ञादि हामीद्वारा विधिवत् सम्पन्न भएर पनि किन कार्यसिद्धि भएन (पृ.४३) ?” भन्ने उनीहरुको प्रश्नसँगै आफूहरुमा रहेको परमपद प्राप्तिको दृढ आस्था खजमजिन थाल्छ । यहाँ आर्य परम्पराकै अनुयायी सोमदत्तले “उनीहरुका शास्त्रमा” भन्नुले पनि उसको त्यसप्रतिको रोस वा दुरीको भाव पनि सङ्केत गरेको छ ।
यसपछि सोमदत्त त्यो क्षेत्र मध्य किरातहरुको भएको हुँदा उनीहरुको विधि विधानले पार पाइन्छ कि भनी किरात बस्तीको प्रमुख वा विजुवासँग सल्लाह लिन पुग्छ । विजुवा सुम्निमाकै पिता हुन्छ । उसले सोमदत्तको सबै कुरा सुनी हठयोगद्वारा शरीरिक भावना मार्न खोजेको हुँदा उसको मनुवा (शरीरिक चाहना) रिसाएको छ । त्यसलाई खुस पार्न मनुवा दहमा नुहाउनु पर्ने जनाउँदै त्यो काम सुम्निमालाई गर्न लगाउँछ । त्यस्तै पत्नी समागममा शरीरले भोग गर्दैछ भन्ने बोध नभए सन्तान नहुने विजुवाको स्पष्ट दृष्टिकोण रहेको हुँदा त्यसको तारतम्य पनि उपन्यासमा राम्रैसँग मिलाइएको छ । किशोर कालमै राम्रै परिचित सुम्निमाप्रति सोमदत्तको चेतन अचेतन आकर्षण रहे पनि आदर्श चेतका कारण उसले कठोर तपस्या वा हठयोगद्वारा त्यसलाई निस्क्रिय बनाएर फर्किएको थियो तर घना जङ्गलको बिचमा निर्जन मनुवादहमा दुध र मह खाएर सुम्निमाको तेल मालिससँगै जलक्रीडारत बनेको सोमदत्तमा तपद्वारा निस्क्रिय तुल्याइएको वासना वा यौन भावना पुनः स्वाट्टै अङ्कुरित र पल्लवित हुन थाल्दछ । भिल्ल युवकका रूपमा सिंगारि दिएकी सोमदत्तलाई सुम्निमाले रात पर्न लाग्दा उसको आश्रम छेउ पु¥याई कसेर छातीमा टाँसी दरो म्वाइ खाएर पठाएकी छ । उता किशोर कालीन आफ्नो भिल्ल केटो साथीलाई सम्झेर बसेकी पुलोमालाई यौनावेगमा रहेको भिल्ल भेषधारी सोमदत्तले एक्कासि अँध्यारो कोठामा सुम्निमा ठानी भोग गरेको छ । पुलोमाले पनि सोमदत्तलाई अतीतको भिल्ल युवक ठानेकी छ । दुबैमा अतीतका कुण्ठाले निकास पाएका छन् । चरम तृप्तिको अनुभूति उनीहरुमा छाएको छ ।
फ्रायडीय मनोविश्लेषणका आलोकमा यस किसिमको रम्य कल्पनाको तारतम्य जुटाएर पाठकलाई रनभुल्ल पार्न खोजे पनि वस्तु सत्य वा वैज्ञानिक चेतना र व्यावहारिक दृष्टिले पनि यी कुरा सम्भाव्य देखिन्नन् किनभने पहिलो कुरा सन्तान हुन उपयुक्त परिवेशमा रजो र वीर्यको मेल भए हुन्छ । विजुवाले भने जस्तो शारीरिक भोगको अनुभूति अनिवार्य छैन । टेस्टट्युव बेवीले त्यो प्रमाणित गरि सकेको छ । उपन्यासमा स्पष्ट बयान नभए पनि सूर्यदत्तका जोइपोइले सोमदत्तलाई वासना शून्य शारीरिक क्रियाद्वारा नै जन्माएको अनुमान गर्न सकिन्छ । सोही कुरा उसले पुत्रलाई पनि भनेको हुनु पर्छ । त्यसैले सोमदत्त र पुलोमाको शास्त्रीय विधिसम्म समागमबाट गर्भ नरहनुको जुन कारण उपन्यासमा आएको छ त्यो वैज्ञानिक सत्य होइन । उपन्यासकारले आर्यहरुको शास्त्रको विरोध गर्न गरिएको परिकल्पना मात्रै हो । अर्को कुरा यम, नियम, निदिध्यासन आदि योगका अष्टमार्गको कठोर साधनाद्वारा इन्द्रियजयी बनेको सोमदत्त त्यति सजिलै आफ्नोमूल्य मान्यताभन्दा ठिक विपरीत सोच भएको विजुवाको रायसँग अलिकति पनि द्विविधामा समेत नपरी सहजै विश्वस्त भएर उसले भने अनुसार सुम्निमाको पछि लागेर हिँड्नु पटक्कै स्वाभाविक छैन । विजुवा शारीरिक सुखलाई महत्व दिन्छ । उसले शरीरलाई यन्त्र, माध्यम वा साधन नमानी साध्य वा लक्ष्य नै मान्दछ (पृ.४६) । तर सोमदत्त शरीरको विकासबाट आत्मा जति असंलग्न वा शुद्ध रहन सक्छ त्यति नै त्यो परमात्माको निकट हुने ठान्छ । आत्मालाई परमात्मा एकाकार बनाउन सक्नु नै उसका निम्ति मोक्ष हो (पृ.३५) । शरीर त उसका दृष्टिमा क्षणिक नाशवान् र पापको खाडल हो (पृ.१८) । शारीरिक सुखानुभूतिलाई उसले अधार्मिक कर्म मानेको छ (पृ.३८) । त्यसैले शारीरिक इन्द्रिय भोगबाट मुक्त वा इन्द्रियजयी बनेको सोमदत्तले सन्तान प्राप्तिको उपायका लागि पशुधर्मावलम्बी ठान्ने किरातसँग गएर त्यति सजिलै आफ्नो सम्पूर्ण आस्थामा प्रहार हुने किसिमले प्रकट हुनु वा उसको चारित्रिक परिवर्तन सुहाउँदो बनेको छैन । त्योभन्दा पनि अझ पत्याउनै नसक्ने कुरा त के भने सोमदत्त जस्तै आर्य संस्कारमा दीक्षित विदुषी पुलोमाले भिल्ल भेषधारी सोमदत्तसँग निशङ्कोच समागमको रात बिताए पनि उसलाई आफ्नो बाल्य कालीन केटो साथी भिल्ल नै हो भन्ने ठान्नु वा सोमदत्तलाई नचिन्नु अनि सुम्निमाले पनि पुलोमाको बाल्य कालीन केटो साथी भिल्ल नै थियो भन्ने थाहा पाए झैँ गरी सोमदत्तलाई किरात वा अरू रूपमा नसिँगारी भिल्लकै रूपमा सिँगार्नु आदि ।
वास्तवमा उपन्यासका उत्तरार्द्धका घटना, प्रसङ्ग र पात्रका चारित्रिक गतिविधि लेखकीय विचार निरूपणका लागि लेखकद्वारा बढी नै निमोठिएका छन् । उपन्यासकारको पूर्वीय अध्यात्म (विशेषतः वेदान्त) दर्शन र यौन अनुशासनप्रति टड्कारो विमति छ । त्यसकै अभिव्यक्तिका लागि उनले चरित्र निरूपणको यस किसिमको अवैज्ञानिक, अस्वाभाविक, अव्यावहारिक र अनौठा अनौठा संयोगको प्रयोग गरेका छन् ।
उपन्यासमा त्यसपछि सोमदत्त र पुलोमामा झन् झन् तनाव विकास गराइएको छ । दुबैमा फ्रायडीय तर्कका आलोकमा त्यस रातको घटनाप्रति नैतिक बोधका कारण चेतन मनको पछुतो र शारीरिक सुखका कारण अवचेतन मनको आकर्षण देखाइएको छ । यसले उपन्यसकारलाई आर्य संस्कृतिका अनुयायी सोमदत्त र पुलोमाको गृहस्थी जीवनमा विष सञ्चार गरी पारिवारिक विघटनका साथै उनीहरुको परमपद प्राप्तिका लागि भएका यावत् कर्महरुको अर्थहीनता सिद्ध गर्न वा पूर्वीय अध्यात्म चिन्तन र जीवन शैलीलाई अर्थहीन प्रमाणित गर्न सजिलो भएको छ । पुलोमा गर्भवती भए पनि सोमदत्तले त्यसलाई आफ्नो वीर्य सुम्निमाको मानस गृहमा उम्रिएको र त्यसको मानस पिता भिल्ल युवक नै रहेको ठान्दछ (पृ.८५) । आफूले पत्नी पुलोमालाई सुम्निमा ठानी भोग गरे पनि त्यसलाई पाप ठानेको छैन तर आफूलाई भिल्लका रूपमा पुलोमाले भोग गरी भनी उसलाई व्यभिचारी असती नारी भनेको छ । फेरि भिल्ल युवकको सम्झनामा रमाएकी पुलोमाको चैन हर्न त्यो भिल्ल युवक म नै थिएँ (पृ.८४) भनेको छ । त्यसमा पुलोमाले पनि रुखो प्रतिक्रिया दिँदै भनेकी छ “व्यभिचारको सुखको पनि ईर्ष्या गर्ने अधम पुरुष (पृ.८४) ।”
उनीहरुका यस्ता भनाइले साँच्चै दुबै आफ्नो विगतको आत्मानुशासनबाट नराम्रोसँग च्युत भएका देखिन्छन् । शारीरिक यौनभोग पनि उनीहरुमा जागेको छ तर फरक फरक समयमा जागेको हुँदा एकअर्काले एकअर्कालाई तिरस्कार गरेर झन् कुण्ठित बनेका छन् । सोमदत्तको सुम्निमाप्रतिको अवचेतन आकर्षण चेतन तहमै खुलेर प्रकट हुन थालेको छ । पुलोमा र सुम्निमाको नग्न शरीरको तुलना गर्दै पुलोमालाई बीभत्स, कुरूप, क्लेशदायी दुस्वप्न ठानेको छ भने सुम्निमालाई सौम्य, सुन्दर र सुखमयी स्वप्न मानेको छ (पृ.७८) । पुलोमाले पनि भिल्ल युवकको कल्पनामा रमाउने र आफ्नो पतिलाई कुरूप देख्न थालेकी छ (पृ.७७) । सोमदत्त र पुलोमा जस्ता आर्य आदर्शका चरित्रको यति बीभत्स विघटन नगराइकन पनि उपन्यासकारले आफूले चाहेको फ्रायड कल्पित यौन मनोवैज्ञानिक सोच प्रस्तुत गर्न सक्थे । सोमदत्त र पुलोमाबिचमै सन्तानको अपेक्षाले गरिएको समागम अन्ततः शारीरिक भोगकै रूपमा परिणत भएको देखाउन पनि सकिन्थ्यो र यो नै बढी स्वाभाविक पनि हुन्थ्यो तर आर्य चिन्तन र परम्पराप्रतिको द्वेषभावले उनीहरुलाई मानसिक रूपमै पतित सिद्ध गरिएको छ । सुम्निमाको मानस गृहमा उम्रिएको पुत्रको सुम्निमाकै छोरीसँग गरिएको बिहेले त झन् साँस्कृतिक अराजकता सिर्जना गरेको पनि देखाउँछ । यस्ता परम्परित आर्य चिन्तन र संस्कृतिसँग मेल नखाने घटना सन्दर्भ र चारित्रिक गतिविधिहरु प्रस्तुत गरेर त्यसप्रति निर्मम प्रहार गर्ने काम एकातिर भएको छ भने अर्कातिर मानिसको यौन भावना केही समय दबेर रहे पनि परिवेश पाउने बित्तिकै प्रकट हुन्छ, त्यो दुर्दमनीय छ भन्ने कुरा स्थापित गरिएको छ । त्यस्तै सुम्निमाले अन्त्यमा आफ्नी छोरी र जुवाइँ (सोमदत्त र पुलोमाको पुत्र) लाई आर्य र किरातका आआफ्नै मूल्य मान्यता रहे पनि ती दुबैमा केही कमी कमजोरी पनि छन्; तिनका उपयोगी कुरालाई समन्वय गरी जीवन सञ्चालन गर्नु पर्छ; त्यसमा “तिमीहरुका सन्तान सम्झौताको बाटो झिक्न सक्ने होउन् (पृ.९४)” भन्ने जुन दुई संस्कृतिको समन्वय वा सम्झौताको भाव व्यक्त भएको छ; त्यो यस सिर्जनाको सकारात्मक पाटो बनेको छ । यस्तै उपन्यासमा देखिएका सुम्निमाका तर्कहरु बढी स्वाभाविक र व्यावहारिक जीवनमा लागु हुने पनि देखिन्छन् । जस्तै सुम्निमाका कथन–
“आमाले देखाएको मानिस हाम्रो बा हुन्छ (पृ.६) ।”
“मान्छे भएर द्यौता हुन खोज्नु असल हैन (पृ.७) ।”
“हामीले धरतीसँग पो नाता राख्नु पर्छ (पृ.८) ।”
“धर्मका नाममा मान्छेको नाश हुनु राम्रो होइन (पृ.१४) ।”
“पर्कितिको बनोटलाई भत्काउन खोज्नु आफ्नै बिगार गर्नु हो (पृ.१७) ।”
“फुल जस्तो झर्ने जीवनको आनन्दलाई भोगि हाल्नु पर्छ (२४) ।”
“घाउ लागेको रुख पनि त हुर्किन्छ नि (पृ.५६) ।”
“हाम्रा लागि हाम्रो शरीर नै सब भन्दा प्यारो वस्तु छ । हामीहरुलाई बाहुनहरु धागो चुँडिएको चङगाजस्तो लाग्छ र उनीहरुलाई चाहिँ हामी माटाका गड्यौला जस्ता लाग्दा हौँ (पृ.९३) ।” आदि ।
उपन्यासमा आर्य संस्कृतिभन्दा किरात संस्कृतिलाई जीवन उपयोगी ठानिएको छ । त्यसैले आर्य संस्कृतिको अवलम्बन गर्ने (सोमदत्त, पुलोमा) को भन्दा किरात संस्कृतिको अवलम्वन गर्ने पात्र (सुम्निमा, विजुवा) को चरित्र बढी स्वाभाविक र आकर्षक बनाई प्रस्तुत गरिएको छ । एउटालाई आत्मा वा अध्यात्मवादी र अर्कालाई देह वा भौतिकवादीका रूपमा प्रस्तुत गरिए पनि अध्यात्मवादीको निकै कुरूपताका साथ विघटन भएको देखाइएको छ । विश्वामित्र पछि सूर्यदत्तले पुनः सञ्चालन गरेको कोशी किनारको आश्रम उसको छोराकै पालामा विघटित भएको छ । सोमदत्तको छोरो आमा बाबु मरेपछि सुम्निमाकै घरमा हुर्के बढेको छ । आश्रम पुनः खण्डहरमा परिणत भएको छ ।
सुम्निमाले सोमदत्तको पुत्रलाई आश्रमबाट घर लाने बेलामा बाबुआमाको कुनै चिनो राख्छौ कि भन्दा उसले अनिच्छा वा निषेध गरेको छ । सुम्निमाले दुबै संस्कृतिका बिच आउँदो पुस्तामा मेल वा सम्झौताको अपेक्षा गरेर देहात्मवादी स्वर सञ्चार गर्न खोजे पनि उपन्यासको बुनोटमा त्यो संयम र सन्तुलन देखिएको छैन । आर्य संस्कृतिप्रति बढी निषेधको स्वर छ । सुम्निमाकै सहिष्णु र समन्वयवादी व्यवहार र सोचलाई उपन्यासका अन्य घटना, प्रसङ्ग र पात्रका व्यवहारले पोषण हुने किसिमले प्रकट गर्न नसक्नु उपन्यासकारको त्रुटि साबित भएको छ।
२.४ मोदिआइन
२०३६ सालमा प्रकाशित यो उपन्यास सानो आकारका जम्मा ५७ पृष्ठ (२०५० को तेस्रो संस्करण) मा फैलिएको लघु उपन्यास हो । यसमा पनि विषयको प्रस्तुति संस्मरणात्मक शैलीमा गरिएको छ । “४० वर्ष पहिले बालक कालको मेरो भावनामय जगतमा घटेको एउटा घटना हो यो” (पृ.२) भन्दै म पात्रले उपन्यासको विषय संस्मरण गर्दै कथन गरेको छ । म पात्रको संस्मरण भए पनि विषयको प्रस्तुतिमा प्रशस्त संवाद वा नाटकीयता रहेको छ । उपन्यासको विषयमा यथार्थ, स्वैरकल्पना र पौराणिक पात्र अनि तिनका कार्यकलाप प्रस्तुत गरिएको छ । म र मिसिरजी यथार्थ, मछुवारिन, नारी, मोदिआइन, तान्त्रिक आदि स्वैरकाल्पनिक र पाण्डव, कौरव, श्रीकृष्ण, द्रौपदी आदि पौराणिक पात्र हुन् । उपन्यासमा यथार्थ पात्रको खासै भूमिका नभई स्वैर काल्पनिक र पौराणिक पात्रहरुकै बढी महत्त्वपूर्ण भूमिका देखिएको छ । मिसिरजी दरभङ्गा जान लागेकी हुँदा बालक म पनि उनकै पछि लागेर जान्छ । दरभङ्गामा मोदिआइन कहाँ उनीहरु बस्छन् । सोही क्रममा मोदिआइनले बेलुका सुत्दा बालकलाई सुनाएको महाभारतको भीष्म पर्वको कथा र त्यसप्रतिको तार्किक आलोचना नै यसको खास विषय बनेको छ ।
उपन्यासमा पौराणिक विषय सारै सङ्क्षेपमा सङ्केतका रूपमा आएको छ । पाण्डव र कौरुवबिचको द्वन्द्व बढ्दै गएर अन्ततः भयानक युद्धमा परिणत भएको र त्यसले ठुलो नर संहार निम्त्याएको विषयलाई उपन्यासमा फरक ढङ्गले समीक्षा गरिएको छ । धर्म वा कुनै पनि नाममा जीवन खोस्ने युद्धको औचित्य हुँदैन भन्ने अभिप्रायका साथ उपन्यासले परम्परित धार्मिक आस्था र विश्वासमा गहिरो प्रतिद्वन्द्वित देखाएको छ । आफन्तहरुको संहार गरी राज्यभोग गर्दिन भनी युद्ध मैदानबाट पलायन हुन थालेका अर्जुनलाई श्रीकृष्णले गीताको उपदेश र आफ्नो विराट स्वरूप देखाएर जे जसरी सो नरसंहारका लागि अभिप्रेरित गरे त्यो ठिक थिएन भन्ने मनसाय मार्फत उपन्यासमा हिन्दू धर्मावलम्बीहरुको पवित्र धार्मिक ग्रन्थ ‘गीता’ र त्यसका नायक श्रीकृष्णप्रति नै गम्भीर प्रहार गरिएको छ। उपन्यासमा अर्जुन, युधिष्ठिर र अवस्था विशेषमा भीम समेत (पृ.४५) युद्धका विपक्षमा थिए । त्यस्तै सिपाहीकी पत्नी र अन्य नारी समुदायहरु पनि युद्ध नहोस्, युद्धको क्रूरता व्यहोर्नु नपरोस् भन्ने पक्षमै थिए तर कौरव पक्षले सियोको टुप्पो जति पनि जमिन पाण्डवलाई नदिने निर्णय गरे पछि मध्यस्थ गर्न गएका श्रीकृष्ण स्वयंले पाण्डवहरुलाई जसरी पनि युद्ध मैदानमा डटि रहन अभिप्रेरित गरेर भयानक नर संहार गरे । श्रीकृष्णद्वारा सुनाइएको १८ अध्याय गीताको श्रवणले अर्जुन लगायत अन्य योद्धाहरुमा युद्धको उन्माद चढ्यो । त्यसले मानिसको सहज र स्वाभाविकपन समाप्त पारि दियो ।
जब मानिसमा देवत्व अरूढ हुन थाल्छ अनि मानवता विलुप्त हुन्छ भन्ने उपन्यासको आक्षेप छ (पृ.५५–५६) । मानिस देवता र दानव (वा पशु) बन्नतिर नलागी मानिस नै भएर बस्नु पर्छ भन्ने सोचका (कोइराला,२०५८ः४३) उपन्यासकारले यहाँ आफ्नो युद्ध विरोधी दृष्टिकोण मूलतः नारी (सिपाहीको पत्नी), अर्जुन, युधिष्ठिर जस्ता पात्रबाट प्रस्तुत गरेका छन् । उपन्यासमा सिपाहीकी भरखरै विवाहित तर युद्धका कारण विधवा बनेकी पत्नी नै मछुवारिन र मोदिआइनका रूपमा जन्म लिएको बुझिन्छ । उसको असमयमै लोग्नेसँग विछोड भएको अतृप्त वा कुण्ठित आत्माले बारम्बार जन्म लिएर आफ्नो लोग्नेको लास डुबेको दरभङ्गाको त्यस विशाल तलाउकै सेरोफेरोमा बास गर्दै आएको सङ्केत पनि रहेको छ । सो युद्धका कारण सिपाहीकी पत्नी मात्रै नभई ऊ जस्ता लाखौँलाख नारीहरुको प्रेतात्मा आफ्नो अनन्तको वैधव्यको व्यथा बोकेर चौध भुवनमा भौँतारिइ रहेको कुरा पनि नारी स्वयंले भनेकी छ । सिपाहीकी पत्नीको नाम नारी हुनुको अर्थ पनि त्यो धर्म युद्धले पीडित नारीको प्रतिनिधित्व गर्छ भन्ने सङ्केत नै हो ।
“कुनै अवस्थामा पनि युद्ध धर्ममय हुँदैन” (पृ.४५) भन्दै धर्मका नाममा गरिने युद्धको विरोध र मानवतावादी स्वर मार्फत हिन्दू धर्मको मूल ग्रन्थ ‘गीता’को दृष्टिकोणको अर्थहीनता र त्यसका नायक श्रीकृष्णको खलनायकीपनलाई उपन्यासमा बडो चतुरताका साथ देखाइएको छ । “अर्कालाई समाप्त गरी आफू पनि समाप्त हुने विघटनकारी प्रवृत्ति बाहेक गीताले केही दिएन (कोइराला,२०५८ ः ५९) भन्ने उपन्यासकारको गीताप्रतिको गम्भीर वैचारिक विमति र आफ्नो जीवनवादी मानवतावादी स्थापना नै यसको उद्देश्य हो र त्यसको निकै कुशलताका साथ यसमा व्यवस्थापन गरिएको छ । विराट स्वरूप देखाउने कृष्ण ठुला त होलान् तर भयानक नर संहार निम्त्याउने, युद्धको विकल्प खोज्न नसक्ने उनी असल भने देखिएनन् । त्यसैले मोदिआइन मार्फत उपन्यासकारले पटक पटक (पृ.१४ र ५६) ठुलो होइन, असल मान्छे बन्नु पर्ने आग्रह गरेका छन् । ठुलो वा शक्ति सम्पन्नतामा अमानवीयता छिपेको हुन्छ भन्ने सङ्केतभित्र उनको राजनीतिक लगायत अरू पनि व्यङ्ग्यको व्यञ्जना संश्लिष्ट देख्न सकिन्छ । यति भएर पनि कौरवबाट भएको चरम अमानवीय कर्मको उत्तर युद्ध बाहेक अरू के हुन सक्छ भन्नेतिर उपन्यासकारको खासै ध्यान पुगेको छैन । यसले युद्धको मात्रै विरोध गर्दा प्रकारान्तरले अमानवीयताप्रतिकै मौन सहमतिको स्थिति पनि देखाएको छ । यस्ता केही विरोधाभास रहे पनि समग्रमा भन्दा मानव जीवनलाई केन्द्रमा राखेर मात्र अरू कुरा सोच्नु पर्छ भन्ने विचार प्रधान यस उपन्यासको कथावस्तु, पात्र र परिवेशमा नेपाली समाजको उपस्थिति पनि त्यति देखिन्न तापनि महाभारतीय महत्त्वपूर्ण विषयको यसमा जनु शैल्पिक कुशलता साथ विपठन र विनिर्माण समेत गरिएको छ, त्यसले भने यस लघु उपन्यासलाई निकै पोटिलो र आकर्षक तुल्याएको छ ।
२.५ हिटलर र यहुदी
२०४० सालमा प्रकाशित यो उपन्यास १३६ पृष्ठ (२०६४ को छैटौँ संस्करण) मा फैलिएको छ । यसमा उपन्यासको विषयलाई ११ परिच्छेदमा विभाजित गरी यात्रा वृत्तान्तका रूपमा प्रस्तुत गरिएको छ । उपन्यासको विषय प्रस्तोता र चिन्तक म पात्र क्यान्सरको रोगी भएको हुँदा उसले नेपालबाट बम्बईमा गई उपचार गराए पनि ठिक हुँदैन । त्यसपछि श्रीमती लक्ष्मीको सहयोग र इच्छा अनुसार उपचारका लागि लन्डन पुग्छ । उपचार गराई फर्किंदा ऊ बर्लिन, हानोवर, पेरिस र इजरायलसम्म पुगेको विषय मात्रै यहाँ आएको छ ।
यात्राका क्रममा बम्बईमा म पात्रसँग यहुदी सङ्गठनको प्रतिनिधि डेबिड भेटिन्छ । उसले साठी लाख यहुदीहरुलाई हिटलरले ग्यास च्यम्बरमा हाली मारेको त्रासद कथा सुनाउँदा म पात्र निकै संवेदनशील बन्छ । समुद्री यात्रामा गीताको नियतिवादप्रति पूर्ण आस्था राख्ने नारायण र जीवनको तत्क्षणलाई मात्रै भोग गर्न खोज्ने, सौन्दर्य प्रेमी, नारीवादी रेखा देसाई जस्ता पात्रहरु भेटिन्छन् र उनीहरुका बिच प्रशस्त वैचारिक संवाद पनि चल्दै जान्छ । बम्बईमा डेबिडसँग उठबस गरेको देखेर जहाजको एक यहुदीले म पात्रलाई खान बोलाउँछ र उनीहरु बिच धेरै कुरा हुन्छन् । इजरायललाई देवताले हामीलाई छुट्याइ दिएको भूमि ठान्ने उनीहरु विभिन्न देशमा छरिएर रहँदा भोगेका डायोस्पोरिक पीडा पनि यहाँ सङ्केत गरिएको छ (पृ.३५) । त्यही क्रममा यात्रुहरु आआफ्नो गन्तव्य अनुसार छुट्दै जान्छन् । म पनि लन्डनमा तिन हप्ता उपचार गरी फर्किन्छ । सोही क्रममा सहरका भित्री भागमा युद्धले कुरूप बनाएका खण्डहरु देख्दा अनि युद्धका कारण सबै थोक गुमाएका मानिसले युद्धले सबै थोक लग्यो (पृ.७८) भन्दै विलाप गरेको देख्दा ऊ निकै प्रभावित हुन्छ । हानोवरमा हिटलरको बन्दी क्याम्प हेर्न पुगेको म पात्रलाई गाइड थियोडेराले युद्धको व्यथा कहदै भन्छे– “हामीहरु मुटुमा चिहान लिएर हिँड्छौँ, आफ्ना प्याराहरुको चिहान (पृ.८१) ।” उसका परिवारका सबै सदस्यहरुलाई हिटलरका सैनिकले बीभत्स ढङ्गमा मारेका थिए भने उसलाई सामुहिक बलात्कार गरेर छाडेका थिए (पृ.८४) । “बर्लिनका धेरै धेरै नारीहरुको कथा” (पृः८५) त्यही नै थियो । युद्ध कालीन अर्को सानो बन्दी शिविर हेर्न जाँदा पनि म पात्रले कुरूप परिदृश्य देख्छ । अङ्ग्रेज सेनाले भोग्या बनाएर विकृत बनेकी बालिका इल्जेलिजा जो असमयमै वेश्यावृत्तिमा लागेर आफ्ना वृद्ध बाबुआमा पाल्छे, उसलाई देखेपछि त म पात्र झन् युद्धको त्रासदीप्रति निकै गम्भीर बन्छ । युद्धले मान्छेको मानवता कसरी समाप्त पार्छ भन्ने उसलाई लाग्छ । बन्दी शिविर हेर्ने क्रममै युद्धले खोरन्डोबनेको हिटलर क्याम्पको बुढा सैनिक लिओनार्डबाट म पात्रले अझ धेरै वीभत्सता र विद्रूपताको सूचना पाउँछ । हिटलरले निर्माण गरेको जिउँदै मानिस पोल्ने भट्टी वा ग्यास च्याम्बरमा हजारौँ हजार शत्रुपक्ष यहुदीहरु कसरी पोलिन्थे वा मारिन्थे भन्ने बयान उसले गरेका छ । लडाइको मैदानमा मान्छे मार्ने वा कुनै आइमाईलाई तिघ्रामुनि पार्ने बाहेक अरू सोच हुँदैन (पृ.१००) भन्ने उसको अनुभव सुनाउँछ । केटाकेटी पोल्नुलाई सेनाहरु आलु पोल्नु भन्थे (पृ.१०३) ।
लिओनार्डका यस्ता कुरा र उसको युद्धका कारण खण्डहरुमा परिणत भएको बासमा परिस्थितिवश एक रात बिताउनु पर्दा म पात्रले अनौठो सपना देख्छ । सपनामा हिटलर र यहुदीहरुले आफ्नो ठाउँ स्वर्गमा सुरक्षित हुनु पर्ने ईश्वरसँग पुकारा गरेका हुन्छन् । हिटलर आफू व्यक्तिगत स्वार्थभन्दा माथि उठी राष्ट्रका लागि ‘गीता’ले भने झैं युद्ध लडेको र त्यो निष्काम कर्म थियो; कुनै हत्या वा अमानवीय कर्म थिएन भन्ने आफ्नो तर्क पेस गर्छ । उसलाई “चरम निष्ठुरताको अपरिमेय दृष्टान्त” (पृ.११०) ठानिए पनि ऊ आफू निष्ठुर नरहेको, मात्र आफ्नो कर्तव्य सम्पादनका लागि शक्ति सञ्चयमा लागेको (जुन राजनीति कर्मीको स्वाभाविक धर्म नै हो) भन्छ (पृ.११२) । त्यस्तै ‘गीता’को आशय अनुसार आफू आफ्नो जन्मजात पेसाप्रति पूर्ण प्रतिबद्ध भएर लागेको वा सबै प्रकारका आशक्ति र संशयबाट मुक्त वा निस्पृह सन्यासी जस्तो भएर आफ्नो जाति रक्षाका निम्ति श्रीकृष्णले आर्जुनलाई प्रेरित गरे झैं आफूले धर्म युद्ध गरेको ठान्छ । यस्तो स्वप्न तरङ्गबाट ब्युझिएको म पात्रका मनोलोकमा फेरि युद्धले क्षत विक्षत बनेका थियोडोरा, इज्जे र खोरन्डाहरुका तस्विर नाच्न थाल्छन् र पनि ऊ आफ्नो पेरिसको यात्रामा अघि बढ्छ । बाटामा हिन्दू धर्म संस्कृतिका कट्टर अनुयायी डा. सुनिल भट्टचार्य भेटिन्छन् । उनले जर्मन दर्शनलाई “हिन्दू दर्शनले ओतप्रोत” (पृ.१२१) ठान्दछन् । गीतावादीहरुको अन्तस्करणमा पश्चातापको भाव नहुने उसको थप तर्क (पृ.१२४) ले आफूले स्वप्नमा देखेको गीताप्रेमी हिटलरमा त्यसको सङ्गति देख्छ । भट्टाचार्य स्वयंले पनि हिटलरलाई आदर्शवादी नेता ठान्दछ (पृ.१२५) । पेरिसको रेस्टुराँमा पनि उसले अस्तित्ववादी, मानवतावादी, नव मानवतावादी जस्ता अनेक चिन्तकहरुको विकीर्ण चिन्तनहरु सुन्न पाउँछ । त्यसपछि ऊ त्यहाँबाट इजरायलका लागि पानी जहाज चढ्छ र उपन्यास टुङ्गिन्छ ।
उपन्यासमा उक्त मूल विषयका अतिरिक्त अन्य दैनिन्दिनीका विषयहरु पनि प्रशस्त आएका छन् । जस्तै– म र उसकी पत्नी लक्ष्मीबिचको सम्बन्ध, म र रेवा देसाईबिचका रमाइला क्षणहरु, बाटामा भेटिएका अन्य जोडीहरुको उठबसहरु, विभिन्न बौद्धिक पात्रहरुका वैचारिक संवाद आदि । यस्ता कुराको अनपेक्षित विस्तारले उपन्यासको कलेवर यसमा अनावश्यक रूपमा बढेको छ । यसले कोइरालाको यो सबै भन्दा ठुलो उपन्यास बने पनि त्यसको औचित्य पुष्टि भने हुन सकेको छैन । ठाउँ ठाउँमा प्रस्तुतिमा अरूमा जस्तो प्रवाह पनि पाइँदैन । विषय विकासका दृष्टिले पनि यो पूर्ण उपन्यास बनेको छैन । यसका यस्ता परिसीमाहरु देखिएका छन् ।
कथ्यका दृष्टिले हेर्दा यो पूर्ववर्ती ‘मोदिआइन’सँग नै सम्बन्धित छ । यसमा पनि युद्धले निम्त्याएको मानवीय बीभत्सता, विदू्रपता र अकल्पनीय भौतिक ध्वंश देखाउँदै त्यसप्रति पाठकको चरम वितृष्णाको भाव सिर्जना गर्ने अनि त्यस्तो युद्धलाई प्रेरित गर्ने हिन्दूहरुको धर्मग्रन्थ ‘गीता’को रुखो ढङ्गमा आलोचना गर्ने काम भएको छ । यो काम ‘मोदिआइन’मा जति स्पष्ट र एकाग्रताका साथ गरिएको थियो त्यो भने यसमा छैन तर यसको पनि पिँधमा त हिन्दूहरुको ग्रन्थ ‘गीता’को सन्देश र त्यसका नायक श्रीकृष्णको कर्मलाई अर्थहीन साबित गर्ने उद्देश्य नै छ तर त्यसलाई सोझै मुखर भएर प्रस्तुत नगरी नारायणन् र भट्टाचार्य जस्ता पात्रहरुका भनाइले त्यस पक्षका बारेमा पनि केही तर्कहरु प्रस्तुत हुन दिइएको छ । नियतिवादी नारायणन् मानिस जन्मदा नै नियतिको छाप लिएर जन्मने ठान्छ (पृ.६२) । उसका अनुसार साठी लाख यहुदीहरु हिटलरका कारण मर्नु पनि पूर्व नियोजित नियति नै थियो । हिटलर त निमित्त मात्र बनेको हो । ईश्वर वा नियति एउटा विश्वास हो तर विज्ञान त झन् निम्नकोटिको विश्वास हो । त्रिगुणात्मक मोहबाट मुक्त हुने चेष्टा मानिसले गर्नु पर्दछ जस्ता कुरा उसले प्रस्तुत गरेको छ । त्यस्तै डा. भट्टाचार्यले हिन्दू दर्शनमा बुद्धितत्त्वले त्यति स्थान नपाउने भन्दै ‘गीता’को नियतिवादी पक्ष पोषण गरेको छ । यी दुबै पूर्वीय दर्शनको प्रभाव पश्चिमी सिर्जना (कविता) र चिन्तन (सामूहिक अवचेतन) मा पनि देख्दछन् । दुबैका माध्यमबाट नियतिवादी स्वर पनि उपन्यासमा देखाइएको छ ।
यस्तै उपन्यासमा पितृसत्तात्मक समाजमा हुने नारीहिंसा र त्यसप्रतिको आक्रोश पनि प्रसङ्गवश प्रकट भएको छ । युद्धमा सेनाले नारीप्रति गर्ने दुव्र्यवहार, युद्धपछि जीविकाका लागि उनीहरुले गर्नु परेको वेश्याचरण, हिन्दू धर्मको सतीप्रथा जस्ता कुराले नारीप्रतिको हिंसा देखाउँछन् भने रेवा देसाईद्वारा “हिन्दू नारीलाई मन्दिर पत्थर र चित्रलिपीमा अल्प वसना, यौन पयोधरी, गुरु नितम्बिनी र त्रिवली चित्रित उदर धारिणी” (पृ.२८) का रूपमा प्रस्तुत गरिएको भन्दै आक्रोश पनि व्यक्त गरिएको छ । म पात्रले पनि यौन उपभोगमा पुरुष जस्तो नारी स्वतन्त्र नभएको देख्छ (पृ.७०) । यस्तै प्रेममा शारीरिक शुद्धता अप्रासङ्गिक हो भन्ने ‘तिन घुम्ती’को अभिप्राय यहाँ पनि देख्न सकिन्छ (पृ.१५) । विवाहिता रेखा देसाई र म पात्रको बढ्दो हेलमेल र आआफ्नो गन्तव्यतिर लाग्दा रेवा देसाईको तटस्थताले पनि त्यही सङ्केत गरेको छ । यी बाहेक पेरिसको रेस्टुराँमा भएका विकीर्ण वैचारिक संवाद पनि उपन्यासमा देख्न सकिन्छ ।
समग्रमा भन्दा प्रस्तुत उपन्यास पूर्ववर्ती ‘मोदिआइन’ उपन्यासकै कथ्यको प्रकारान्त अभिव्यक्ति रहे पनि यसमा व्यापक अन्तर्राष्ट्रिय परिवेश संलेषण गरी युद्ध विरोधी र मानवतावादी सो कथ्यलाई अझ व्यापकता साथ यात्रा वृत्तान्तको नव शैलीका रूपमा प्रस्तुत गरिएको छ । यस क्रममा दोस्रो विश्वयुद्धको नाइके जर्मनको क्रूर शासक हिटलरलाई भगवान् श्रीकृष्णको प्रबल अनुयायी वा प्रतिरूप जस्तो बनाएर प्रस्तुत गर्दै मानवतालाई दण्डित गर्ने युद्धको मात्रै विरोध नगरी हिन्दूधर्मको अन्धार ग्रन्थ ‘गीता’ र त्यसका नायक श्रीकृष्णप्रति नै गम्भीर प्रहार गरिएको छ । उपन्यासको बलियो पक्ष भनेकै विचारको प्रस्तुति हो । उपन्यासमा त्यस बाहेक पूर्ववर्ती उपन्यासमा देखिइ सकेको नियतिवादी, नारीवादी र प्रेमप्रतिको नव सोच पनि यहाँ आएको छ । नितान्त नव विचार भने खासै छैन । औपचारिक सुगठन र पूर्णताको पक्ष पनि ऋणात्मक नै छ ।
२.६ बाबु आमा र छोरा
२०४५ सालमा प्रकाशित यस अन्तिम उपन्यासमा बाबु र आमाले क्रमशः दुई भागमा आफ्ना अनुभूति र परिस्थिति बयान गरेका छन् । आकारका दृष्टिले डिमाइ साइजका जम्मा ७१ पृष्ठ (२०६१ को पाँचौं संस्करण) मा फैलिएको यो मध्यम आकारको उपन्यास हो । यसको विषय पारिवारिक विडम्बना हो । त्यसका माध्यमबाट हाम्रो परम्परित धार्मिक, सामाजिक र साँस्कृतिक मूल्य मान्यताप्रति उपेक्षा भावका साथै मानवीय विडम्बनापूर्व नियतिको निरूपण गर्नु यसको उद्देश्य बनेको छ । त्यसका लागि उपन्यासमा अनौठा घटना क्रम र परिस्थिति सिर्जना गर्ने काम भएको छ तर ती त्यति स्वाभाविक यथार्थ भने बन्न सकेका छैनन् । सोचे जस्तो हुन्न जीवन भन्ने कुरा प्रमाणित गर्न वा नियतिले मानिसलाई बडो विद्रूप परिस्थितिमा उभ्याउँछ भन्ने देखाउन यस्तो तारतम्य जुटाइएको छ ।
भएको के छ भने बस्नेत (बाबु) की जेठी श्रीमती प्रेमकी खानी भए पनि रोगी हुन्छे र उसले लोग्नेलाई अर्की श्रीमती बिहे गर्न बारम्बार प्रेरित गर्छे तर ऊ जीवित छँदासम्म बाबुले अर्को बिहे गर्दैन । मरेपछि छोराको समेत अनुरोधमा बिहे त गर्छ तर भित्र्याइएकी दुलही छोराले प्रेम गरेर गर्भ समेत बोकेकी उमा हुन्छे । बनारसमा फुपू कहाँ रहेर बी.ए. पढ्दा उमाको शिव प्रसाद बस्नेत (छोरो) सँग गन्धर्व विवाह भइ सकेको हुन्छ तर उसको दाजु अकस्मात् बनारस गएर बहिनीलाई ल्याउँछ । बाबु, आमाको र दाजुको समेत जोडबलले विधुर बाबु बस्नेतसँग उमाको बिहे गरिन्छ । केही महिनापछि छोरो घरमा आउँदा आफ्नी गायब भएकी प्रेमिकालाई सानी आमाका रूपमा देखेर दुबै स्तब्ध हुन्छन् । उपन्यासको खास विषय यत्ति हो ।
समाजमा यस किसिमको विडम्बना पूर्ण स्थिति यदाकदा उत्पन्न नै हुँदैनन् भन्न त सकिन्न तर बी.ए. पढ्दै गरेकी उमाले दाजुसँग मेरो बिहे भइ सकेको छ भन्नु, आमासँग त मैले अर्कैको गर्भ पनि बोकि सकेकी छु भन्नु र त्यो कुरा बाबुलाई दाजुले समेत बताइ सकेपछि पनि जसरी पनि उनीहरुले सामाजिक गाल टार्न उमाको बिहे विधुर बस्नेतसँग गराइ दिनु र पढेलेखेकी उमाले त्यसलाई मनले नमाने पनि व्यवहारले खासै प्रतिरोध नगर्नु त्यति सुहाउँदो देखिएको छैन । उमाका बाबु र आमा परम्परित धर्म संस्कृतिका कट्टर अनुयायी जस्ता देखेर पनि दाजु र स्वयं उमा पनि त्यस गम्भीर परिस्थितिमा मौन रहनु स्वाभाविक देखिन्न । उमा आफूले प्रत्यक्ष प्रतिरोध नगरे पनि छिमेकीको छोरालाई बनारस पठाएर प्रेमीको सहायता लिन खोजे पनि प्रेमी बाबुकै बिहेका लागि सामान किन्न कलकत्ता गएको हुनु र उमाले लेखेको पत्र उसको कोठामा छिराइएको भए पनि त्यो पत्र उसले पायो वा पाएन, उमाको अनुपस्थितिले उसमा कस्तो अवस्था सिर्जना भयो भन्ने बारेमा उपन्यासले केही बोलको छैन । उपन्यासमा बाबु र आमाका कथनहरु आए पनि छोरोको भनाइ त्यसरी नआएको हुँदा विषय विकासका दृष्टिले उपन्यास अधुरो अपुरो जस्तो बनेको छ ।
उपन्यास मूलतः नारी जीवनका विडम्बना प्रस्तुत गर्न केन्द्रित रहे पनि नारीवादी कोणबाट बुनिएको छैन । नारी यहाँ पुरै पितृसत्ताले रत्याए अनुसारका आफूलाई पुरुष आश्रित अबलाका रूपमा प्रस्तुत छन् । “हामी आइमाईको जात जस्तो भयो त्यस्तैमा रमाउनु पर्छ” (पृ.४०) भन्ने उमाकी आमाको सोच छ र तदनुकूल नै उमालाई पनि उसले प्रशिक्षित गर्न खोजेकी छ । तर उमा आफैले प्रेमी रोजी ऊसँग सहवास गरी गर्भ बोकेकी छ । त्यो कुरा सुन्दा उमाकी आमा छाँगाबाट खसे जस्ती भएर निशब्द बनेकी छ । आफ्नो वंशमा नैतिक पतनको बोधले ऊ त्यस्ती हुनु स्वाभाविक भए पनि उमा ढुलमुले वा परिस्थिति अनुकूल बन्न खोजेर आफ्नो दृष्टिकोण शून्य बनेकी छ । “सक्रियता स्त्रीको गुण होइन, त्यो कर्ता हुन सक्तिन । सृष्टिले उसलाई कर्मको स्थितिमा राखेको छ (पृ.२४)” भन्दै उमा वा आमा निस्क्रिय र नियतिवादी दर्शनको आड लागेर उम्भिएका छन् । आफ्नो जीवनमा अप्रत्यासित रूपमा आइ लागेका परिस्थिति र आफ्नो जीवनको अनपेक्षित मोडलाई देखेभोगेर उसले त्यस्तो सोच बनाएकी हो
जीवनमा सङ्गतिभन्दा असङ्गति वा विसङ्गतिहरुको ओइरो यहाँका महत्वपूर्ण पात्रहरुले खेपेका छन् । उमा प्रेमीसँगको सान्निध्यमा आफ्नो पुनर्जन्म भएको ठान्छे भने पिता समान उमेरको लोग्नेसँग बिताउनु परेको सुहाग रातलाई मृत्युको अनुभूति गर्छे तर आमाले भनेको हामी स्वास्नी मानिसहरुले जे परि आए पनि प्रारब्धको भोग हो भनी खप्नु पर्छ (पृ४५) भन्ने सोचका कारण खप्दै जान्छे । दुलाहालाई सुखी र सन्तोष दिलाउन सक्नु नै ऊ आफ्नो धर्म ठानेर लाग्छे । अनमेल विवाह भए पनि आफ्नो दुलाहा उसलाई असल पनि लाग्छ तर असल दुलाहा भएर मात्रै सुखी भइदो रहेनछ भन्ने बोध उसलाई हुन्छ (पृ.४५) ।
उमा अनौठो जटिल परिस्थितिमा जकडिएकी र विडम्बना नै विडम्बनाको प्रतिरूप बनेकी चरित्र हो । यसका माध्यमबाट समाजका अर्थहीन परम्परा र कलुषित नैतिकतालाई पेचिलो व्यङ्ग्य गरिएको छ । अर्काको गर्भ बोकेकी छु भन्दा भन्दै कन्यादानको नौटङ्की रचेर आफ्नो धर्मप्रतिको अटल आस्था देखाउने उमाका अभिभावक, प्रेमीको गर्भलाई लोग्नेकै पौरख स्थापित गरेर बुढो लोग्नेलाई जसरी पनि सुखी र सन्तोष तुल्याउन खोज्ने पढेलेखेकी उमा, छोरी समान उमेरकी गर्भिणी केटी जो छोराकै प्रेमिका थिई उसलाई भित्र्याएर जीवनका अभाव पूर्ति गर्न खोज्ने समाजको टाठोबाठो भनाउँदो बाबु, आफ्नै प्रेमिका सानी आमा भएको कुराप्रति बेखबर बनेर बसेको आधुनिक शिक्षित युवा छोरो यी सबै समाजका स्थापित सम्बन्ध र व्यावाहारिक विसङ्गतिका प्रतिरूप हुन् । यिनका जीवन भोगाइले हाम्रो परम्परित सामाजिक मूल्य मान्यता कसरी मक्किँदै गएका छन् भन्ने कुरा एकातिर देखाइएको छ भने अर्कातिर जीवन सबै नियति वा प्रारब्धको खेल हो, तर्क विकेक त्यसका अगाडि अर्थहीन साबित हुन्छन् भन्ने दार्शनिक सोच पनि सञ्चार गरिएको छ । जीवन पर्यन्त प्रेम दिएर अनि प्रेम पाएर पनि अन्तमा खोक्रोपनकै अनुभूति गर्ने बाबु (पृ.१) को अनुभूतिले पनि नियति निर्देशित विसङ्गति बोधकै पुष्टि गरेको छ ।
समग्रमा भन्दा कोइरालाको यो उपन्यास नियतिवादी दर्शनका आलोकमा समाज र जीवनको अनौठो विडम्बना निरूपणमा केन्द्रित छ । उपन्यासमा परम्परित पितृसत्तात्मक गलत सोचका चापमा निरीह र निरुपाय बनेको नारी जीवन एकातिर देखाइएको छ भने अर्कातिर साङ्ख्य दर्शनको आड लिएर प्रकृति वा नारी पुरुषको सक्रियतामा मात्रै अर्थपूर्ण हुन्छे भन्ने किसिमको व्याख्या गरेर पनि नारीको महत्त्व प्रथम तहको होइन भन्ने पुष्टि गरिएको छ । नारी प्रारब्ध वा नियति भोग्न अभिशप्त छ र नियतिको चक्रबाट पुरुष पनि मुक्त छैन भन्ने यहाँ देखाइएको छ। साथै परम्परित सामाजिक मूल्य मान्यताहरु पनि भित्रभित्रै मक्किँदै गएका कुरा पनि यहाँ अभिव्यञ्जित छ । उपन्यासको शीर्षक बाबु, आमा र छोरा भए पनि छोराको आत्माभिव्यक्तिको अभावले उसको केही पक्ष अधुरो नै रहन गएको छ । प्रस्तुति पनि नवीन ढाँचाको हुँदाहुँदै पनि विषय र विचारको सुसङ्गठन त्यति हुन सकेको छैन ।
३. निष्कर्ष
१. विश्वेश्वर प्रसाद कोइराला बहुभाषा (हिन्दी, अग्रेजी, संस्कृत र नेपाली) को सामर्थ्य भएका बहुमुखी साहित्यकार भए पनि यिनको साहित्यिक योगदान विशेषतः नेपाली आख्यान सिर्जनामै रहेको छ । १९९२ सालमै यौन मनोविश्लेषणात्मक कथा लेखेर नेपाली कथाका क्षेत्रमा नयाँ धाराको थालनी गरेका यिनको पहिलो उपन्यास भने २०२५ साल प्रकाशित भएको हो । कथा लेखनबाट परिष्कृत बनेको यिनको लेखनीले छ वटा लघु (मोदिआइन) र मध्यम आकारका विचार केन्द्री उपन्यास लेखेको छ ।
२. कोइराला आफ्ना उपन्यासमा विषयको प्रस्तुति मूलतः त्रिकोणात्मक द्वन्द्वको ढाँचामा प्रस्तुत गर्दछन् । विषय सामाजिक, पौराणिक (पूर्वीय) र ऐतिहासिक (पश्चिमी) हुन्छ । विषयको प्रक्षेपण संस्मरणात्मक शैली वा यात्रा वृतान्तको नवीन शैली (हिटलर यहुदी) मा गरिएको छ । उपन्यासमा घटना र परिवेशले भन्दा पात्रको चरित्रले बढी महत्त्व पाएको छ ।
३. उपन्यासकार कोइराला धर्म, दर्शन, परम्परा, संस्कृति जस्ता यावत् कुराको केन्द्र मानिस र उसको समाज हुनु पर्ने सोच व्यक्त गर्छन् । जस्तै परिस्थितिमा पनि मानिस र उसको स्वतन्त्रतालाई केन्द्रीय महत्त्व दिइनु पर्छ; मानव प्रकृतिलाई अवरोध गरिनु हुन्न वा मानव निर्मित विधान परिवर्तन गर्न सकिन्छ तर प्राकृतिक विधान परिवर्तन गर्न सकिन्न भन्ने यिनका उपन्यासहरुको वैचारिक निष्कर्ष रहेको छ । साथै मानिस आधुनिक वस्तुवादी सोच अनुसार चले पनि कतिपय अवस्थामा समाजका अनेक कारणले अनपेक्षित विसङ्गत परिस्थिति भोग्न बाध्य हुन्छ;, त्यो तर्क बुद्धिद्वारा व्याख्येय नहुन सक्छ र प्रारब्ध वा नियतिको खेलका रूपमा त्यो रहेको हुन्छ भन्ने वैचारिक निष्कर्ष पनि यिनका उपन्यासमा देखिएको छ ।
४. विचार केन्द्री उपन्यास लेख्ने कोइरालाका उपन्यासमा मूलतः आस्तित्ववाद, नारीवाद, यौन मनोविश्लेषण, समन्वयवाद र मानवतावादको अभिव्यञ्जना रहेको छ । ‘तिन घुम्ती’मा अस्तित्ववाद, नारीवाद, यौन मनोविश्लेषण र नियतिवाद रहेको छ भने ‘नरेन्द्र दाइ’मा मूलतः यौन मनोविश्लेषण र नियतिवाद रहेको छ । त्यस्तै ‘सुम्निमा’मा मूलतः समन्वयवाद र यौन मनोविश्लेषण छ भने ‘मोदिआइन’ अनि ‘हिटलर र युहदी’मा मूलतः त्रासद युद्धको विरोध, मानवतावाद, नियतिवाद र यौनमनोविश्लेषण रहेको छ । त्यस्तै ‘बाबु, आमा र छोरा’मा यौन मनोविश्लेषण र नियतिवाद रहेको छ । यौन मनोविश्लेषण र नियतिवादको प्रसार सबै उपन्यासमा छ । मात्रात्मक अन्तर मात्रै तिनमा रहेको छ । नारी मातृत्वको सन्दर्भ ‘तिन घुम्ती’ अनि ‘बाबु आमा र छोरा’मा बढी छ तर नारीवादका दृष्टिले भने ‘बाबु, आमा र छोरा’ बढी ऋणात्मक छ ।
५. कोइरालाका छ वटै उपन्यासहरु एकातिर आर्य संस्कृतिमा आधारित नेपाली समाजको परम्परित मूल्य मान्यताको तिखो आलोचना गर्न केन्द्रित छन् अर्कातिर जीवनको गतिलाई प्रारब्ध वा नियतिको खेलका रूपमा अर्थ्याउन पनि अग्रसर छन् । एकातिर आधुनिक वस्तुवादी, विज्ञानवादी (फ्रायडवादी), व्यवहारवादी सोचका आलोकमा आर्य संस्कृति र परम्पराको रुखो ढङ्मा आलोचना गरिएको छ भने अर्कातिर सोही आर्यहरुको प्रारब्धवादी दर्शनप्रति झुकाव देखाएर वैचारिक अन्तर विरोधको स्थिति सिर्जना गरिएको छ । शिक्षित इन्द्रमाया र उमा जस्ता फरक फरक सोचका चरित्र निर्माणले सांसारिक वैविध्यलाई मात्रै नदेखाई कोइरालाको वैचारिकताको समग्रता नै द्विविधाले ग्रस्त हो कि भन्ने पनि देखाएको छ ।
६. यस्तै नेपाली समाज र जीवनको प्रतिबिम्बन न्यून हुनु, विचार प्रक्षेपणका लागि घटना प्रसङ्गहरुको स्वाभाविकतामा कम ध्यान दिनु, नेपाली समाजको पूर्वीय अध्यात्म चिन्तप्रतिको झुकावलाई निर्मम ढङ्गमा प्रहार गर्नु, पछिल्ला दुई उपन्यासमा विषयको अपूर्णता देखिनु, तिनमा र ‘नरेन्द्र दाइ’मा समेत चयनात्मक सिप कमजोर रहनु, अरू उपन्यासमा पनि विचारले भन्दा शिल्पले कम महत्त्व पाउनु, पूर्व स्थापित दृष्टिकोण (जस्तै ‘तिन घुम्ती’को अस्तित्ववादी नारीवादी) लाई पछिल्लो लेखन (जस्तै बाबु, आमा र छोरा) ले खण्डित गर्नु जस्ता कुराहरु कोइरालाका उपन्यास लेखनका परिसीमाका रूपमा देखिन आएका छन् ।
समग्रमा भन्दा उपन्यासकार कोइरालामा औपन्यासिक लेखनका लागि अपेक्षित दृष्टि सम्पन्नता रहे पनि औपन्यासिक विन्यासमा अपेक्षित शिल्प सम्पन्नता भने त्यति देखिएको छैन र पनि यिनका ‘तिन घुम्ती’, ‘सुम्निमा’ र ‘मोदि आइन’ उपन्यास अन्य तिन उपन्यासभन्दा सुगठित देखिएका छन् ।
आधार कृतिहरु
कोइराला, विश्वेश्वर प्रसाद (२०५०), मोदि आइन, पाँचौं सं., ललित पुरः साझा प्रकाशन ।
––––––––––––––– (२०५६), नरेन्द्र दाइ, पाँचौं सं., ललित पुरः साझा प्रकाशन ।
कोइराला, जीवन चन्द्र (सङ्कलक/सम्पादक, २०५८), वी.पी कोइरालाका छरिएका सामाग्री, दोस्रो सं., काठमाडौंः मनिका कोइराला ।
कोइराला, विश्वेश्वर प्रसाद (२०६३), सुम्निमा, आठौं सं., ललित पुरः साझा प्रकाशन ।
–––––––––––– (२०६४), तिन घुम्ती, नवौं सं., ललित पुरः साझा प्रकाशन ।
––––––––––– (२०६४), हिटलर र यहुदी, छैटौं सं, ललित पुरः साझा प्रकाशन ।
––––––––––––– (२०६१) बाबु, आमा र छोरा, पाँचौं सं., ललित पुरः साझा प्रकाशन ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 भाद्र, 2077

लेखकका अन्य रचनाहरु