महाकवि विद्यापति दाहाल

- बैद्यनाथ उपाध्याय

रहरको कुनै सीमा हुँदैंन अनि आकाङ्क्षाको कुनै भर हुँदैन। मान्छे कति सम्पन्नशाली हो र पहुँचवाला हो त्यस्ले हाम्रो समाज जीवनमा केही फरक पार्दैन। तर उस्ले जीवन कसरि बाँचो त्यस्ले मान्छेलाई र समकालीन समाजलाई पनि धेरैनै प्रभाव पारेको हुन्छ। सेतो धोती र कुर्ता पहिरने विद्यापति दाहाल एकजना अति सहज सरल र सहृदयी व्यक्तित्व सम्पन्न लेखक हुनुहुन्छ। जीवनमा कुनै तडक-भडक न देखिए पनि वहाँको गुण गरिमाले नेपाली समाजलाई भने निक्कै प्रभाव पारेको छ। मान्छेको जीवनमा संघर्ष, अन्तर्द्वन्द्व, घात-प्रतिघात लगायत कयौं जाज्ज्वल्यमान समस्याहरू विद्यमान रहन्छन। हाम्रा लेखक आदरणीय विद्यापति दाहालज्यूले पनि यस्ता अनेकौं आपत्-विपत् आफ्नो जीवनकालमा भोगेर आउनुभयो। तिनै भोगाइहरूको अनुभवले वहाँलाई महाकविको ओहदासम्म डोऱ्यायो। वहाँले जीवनमा साइकिल सम्म पनि चलाउन सिक्नु भएन। सँधै पैदल हिंडेरै काम चलाउने विद्यापति दाहालज्यूको घरमा अहिले ‘वागोनर’ गाडी पनि देख्न पाइन्छ। वहाँ उदालगुडी भेगमा एकजना पुराणवाचक पण्डितका रूपमा पनि छुट्टै परिचय राख्ने व्यक्तित्व हुनुहुन्छ।
विशिष्ट लेखक तारापति उपाध्यायले महाकाव्य लेखनमा वहाँको विशेष व्युत्पत्ति देखेर दसवटा महाकाव्य लेखन पुरा गरे पछि वहाँलाई महाकविको उपाधि प्रदान गर्नुपर्ने सिफारिस गर्नुभएको थियो। तदनुरूप नेपाली र संस्कृत भाषाका विद्वान लेखक विद्यापति दाहाललाई महाकाव्य सृजनमा विशेष व्युत्पत्तिका निम्ति वहाँको बयासिऔं जन्म जयन्तिको उपलक्षमा आयोजित एक सभामा उदालगुडी जिल्ला नेपाली साहित्य सभाले महाकविको उपाधि प्रदान गरेको छ। यहाँले असमको जातीय जीवनमा भगवान मानिने श्रीमन्त शङ्करदेव, माधवदेव, दामोदर देव, हरि देवको जीवन चरित्रलाई लिएर संस्कृत भाषामा महाकाव्यहरू लेखि विशेष योगदान पुऱ्याउनु भएको छ। सरल संस्कृत भाषामा रचित यी महाकाव्यहरू अद्वितीय ग्रन्थ भएका छन। विद्यापति दाहालले आफ्नो गुण र गरिमाले नेपाली र संस्कृत दुवै भाषामा विशेष कीर्तित्व राख्न सक्षम हुनु भएको छ। यहाँको साहित्यिक योगदानलाई हेर्ने हो भने आजसम्म 1. पञ्चविंशति तत्वविवेचनम् 2. साहित्य विमर्श, 3. काम्य खण्डकाव्य, 4. आमा खण्डकाव्य, 5. पाश्चात्य समालोचना सिद्धान्त, 6. पाश्चात्य समालोचना र प्रमुखवाद, 7. विवेकानन्दप्रशस्ति, 8. उषाहरण महाकाव्य, 9. तत्वचिन्तनम् 10. श्रीमद्भागवतमहत्वम् 11. भगवच्चरितामृतम् 12. सृष्टिनव्यमहाकाव्यम् 13. भारतीय नेपाली साहित्यको इतिहास 14. शङ्करदेवमहाकाव्यम् 15. भानुभक्तमहाकाव्यम् 16. श्रीमाधवदेवमहाकाव्यम् 17. श्रीदेवदामोदरदेवमहाकाव्यम् र 18. स्वामिविवेकानन्दमहाकाव्यम् प्रकाशित भै सकेका छन। यसका अतिरिक्त श्रीशङ्करदेव चरितामृतं नव्यमहाकाव्यम्, संस्कृत साहित्येतिहास,गुरूदेवकालिचरणब्रह्ममहाकाव्यम् र हरिदेवमहाकाव्यम् प्रकाशनाधीन छन।
काम्य विद्यापति दाहालद्वारा रचित एक खण्डकाव्य हो। यो खण्डकाव्य लघु आकारको भएतापनि यसमा शास्त्रीय छन्दमा लेखिएका लगभग एक सय श्लोकहरू छन। यो चार सर्गमा विभाजित छ। यस काव्यमा चिन्तन र मननरूप भावात्मक स्वाभिमानलाई विषयवस्तु बनाउने प्रयास गरिएको छ।
सदाचारी भारी न बन अब गर्बी जन तिमी
हुने छौ सत्मार्गी अहरहरही सेवक सरी।
बनी न्यायी ध्यायी बन जन मुखी सागर सरी
भई उच्चाकांक्षी हुनु अब तिमी विश्व-विजयी।।
यस प्रकारले समाजलाई नीति शिक्षा र ज्ञान दिने कार्य विद्यापति दाहालले आफ्नो लेखनकार्यबाट गर्नुभएको छ।
शङ्करदेवमहाकाव्यम्- यो महाकाव्य सोह्र सर्गमा विभाजित गरिएको छ। यस महाकाव्यमा महापुरूष शङ्करदेवको समयको सामाजिक, आध्यात्मिक र प्रशासनिक परिस्थितिको पनि वर्णन गरिएको छ। सरल संस्कृत भाषामा लेखिएको शङ्करदेवमहाकाव्यम् एक अनुपम ग्रंथ हो भन्न सकिन्छ। लेखक विद्यापति दाहाललाई अति प्रिय लाग्ने पुस्तकपनि यही नै हो। वहाँले सृजन गर्नुभएको अनुपम कृति साहित्य विमर्श अहिले भारतीय नेपाली भाषा साहित्य अध्ययनको लागि विशेष कृतिको रूपमा परिचित छ। पाश्चात्य समालोचना सिद्धान्त, पाश्चात्य समालोचना र प्रमुखवाद लगायत वहाँका अन्य खण्डकाव्य र महाकाव्यहरू विभिन्न विश्वविद्यालयका पाठ्यक्रमहरूमा अन्तर्भूक्त भएका छन।
यस्ता प्रतिभावान विद्यापति दाहालको जन्म 22 अप्रेल 1939 सनमा वर्तमान बाक्सा जिल्लाको सुवनखट्टा नामको गाँउमा भएको थियो। वहाँका पिता हुनुहुन्थ्यो स्वर्गीय देव नारायण दाहाल र आमा हुनुहुन्थ्यो स्वर्गीय भीमा देवी।
चौदह वर्षको उमेरमा मातृवियोग भए पछि संस्कृत विद्यालयहरूमा प्राथमिक पर्यायमा संस्कृत अध्ययन गरेर काशी, मथुरा, वृन्दावन, हरिद्वार, ऋषिकेश, बद्रीनारायण, केदारनाथ आदि तीर्थ भ्रमण गरेर वृन्दावनमा पुगेर श्रीमद्भागवतको अध्ययन गर्नुभयो । गुजराटको अहमदावादस्थित रघुभर वेदान्त संस्कृत महाविद्यालयमा अध्ययन गरेर 1970 सनमा तदानीन्तन वाराणसी संस्कृत विश्वविद्यालयबाट रामानन्द वेदान्तमा सर्वोच्च अंकका साथ शास्त्री परीक्षा उत्तीर्ण भै यतीन्द्र रजत पदक प्राप्त गर्न सक्षम हुनुभएको थियो। मुम्बाईको भारतीय विद्याभवन बाट साहित्यमा शास्त्री परीक्षा उत्तीर्ण भएर सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीबाट सांख्य दर्शनमा आचार्य उपाधि लिनु भयो। वहाँले बृहत् गुजरात संस्कृत परिषदका अधीन व्याकरणमा पनि शास्त्री उपाधी प्राप्त गरी शैक्षिक उत्तरण जारी राख्नु भयो। त्यसै महाविद्यालयबाट पछि काठमाडौंको त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एम.ए उत्तिर्ण हुनुभयो। यहाँले गन्धिया, नलबारीमा 1971 सनबाट 1975 सनसम्म आद्यनाथ ज्योतिर्विज्ञान संस्कृत महाविद्यालयमा अध्यापन गर्नुभयो। 1976 सनमा उदालगुडी सांगवेद विश्वशान्ति विद्यालयमा अध्यक्षका रूपमा पदासीन भएर 2003 सनमा सेवानिवृत्त हुनुभयो। यहाँले धेरै अनुष्ठानहरू संग संलग्न भै यथेष्ट योगदान पुऱ्याउनु भएको छ। अखिल असम संस्कृत अध्यापक सम्मेलनको सदस्य, असम नेपाली साहित्य सभाको आजीवन सदस्य, विश्व हिन्दू परिषद, अखिल भारतीय नेपाली भाषा समिति जस्ता अनेक संगठनहरू संग संलग्न भै काम गर्नुभएको कुरो जान्न पाइन्छ। यहाँले दरंग जिल्ला नेपाली साहित्य परिषदको सभापतिका रूपमा पनि कार्यनिर्वाह गर्नुभएको थियो। असम साहित्य सभा उदालगुडी शाखा संग संवद्ध श्री दाहाल असम साहित्य सभाका पनि आजीवन सदस्य हुनुहुन्छ। केही समयावधिको लागि तत्कालिन प्रेम सिं ब्रह्म नेतृत्वाधिन बडोलैंड पीपुल्स पार्टीको केन्द्रीय सदस्यका रूपमा पनि कार्यरत हुनुभएको जान्न पाईन्छ। तर राजनीति वहाँको स्वभाव नभएको हुँदा त्यसबाट निवृत्त हुनुभयो।
सानो छँदा देखि नै लेख्न आरम्भ गर्ने दाहालको 1969 सनमा प्राच्य भारतीमा प्रकाशित लेख प्रपत्ति विवेचनम बाट वहाँको लेखकीय थालनी भएको देखिन्छ। 1982 सनबाट यहाँले नेपालीमा लेख्न थाल्नुभयो। दरंग जिल्ला नेपाली छात्र संघको मुखपत्र प्रभातमा प्रबन्ध आदि लेख्नुभयो। कुमार भाष्कर वर्मा पुरातन अध्ययन विश्वविद्यालयले यहाँलाई सम्मानित गरेको छ। यहाँको साहित्यिक योगदानको फलस्वरूप असम सरकारले 2017 सनबाट आजीवन साहित्यिक पेंशन प्रदान गर्दै वहाँको प्रतिभाको कदर गरेको छ। साहित्य अकादेमीले ‘लेखक से मिलिए’ कार्यक्रम अन्तर्गत 2019 सनमा वहाँको साहत्यिक कृतित्वको स्वीकृति स्वरूप सम्मान गरेको छ।
लेखकलाई प्राप्त पुरस्कारहरू-
1. साहित्य विमर्श ग्रन्थको लागि नेपाली साहित्य कला निकेतन, गुवाहाटीबाट हरिभक्त कटुवाल स्मृति पुरस्कार, 2001
2. राष्ट्रिय कृती शिक्षक पुरस्कार, भारत सरकारबाट, 2003
3. पण्डित तारानाथ शाण्डिल्य स्मृति पुरस्कार, 2016 असम नेपाली साहित्य सभा।
4. महामहोपाध्याय धीरेश्वराचार्य स्मृति नवद्वीप पुरस्कार, 2018 नलबाडी जिल्ला साहित्य सभा।
5. विशिष्ट सेवा पदक, 2019 असम नेपाली साहित्य सभा।
6. गुवाहाटी दूरदर्शन केन्द्रबाट सम्बर्धना, 2008
7. युथ क्लब, मंगलदैको सम्बर्धना, 2008
8. कादम्बिनी क्लब, उदालगुडीको सम्बर्धना, 2004

जीवन क्षणभङ्गुर छ। मान्छेले कुनै पनि कुराको घमण्ड गर्नु उचित हुँदैन। यस्लाई विद्यापति दाहालज्यू यसरि मान्छेलाई सचेत गराउँदै भन्नुहुन्छ-
हठीगर्वी भोगी सब जन परे काल वशमा,
परी खाली रित्तो विवश वशमै पान्थ बनदा।
जनाकीर्णी विर्णी सरलमतिहारी कर-धरी
अभावी-सम्भावी सब भई गए काल कबली।।
विद्यापति दाहाल विहान ब्रह्ममुहुर्तमै उठेर नित्यकर्म बाट निवृत्त भएर लेखन कार्यमा सदा प्रवृत्त भै रहनुहुन्छ। अब फेरि नेपालीमा लेख्ने अठोट वहाँले गर्नुभएको छ। सदाचारी र परोपकारी प्रवृत्तिको सहारामा जीवनका खुटकिलाहरू चढदै अघि बढिरहनुभएको छ। अस्ताचलगामी पथका बटुवा विद्यापति दाहाललाई लिन आएर कालले पनि एकक्षण टक्क उभिएर सोच्नेछ अनि उद्घोष गर्नेछ-‘अमृतस्य पुत्रा’।

खांखलाबारी, उदालगुडी-784509, बीटीएडी, असम

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 भाद्र, 2077

लेखकका अन्य रचनाहरु