लाहुरी भैँसी कथाको कथानक र पात्रमा वर्गसङ्घर्ष

- नवराज पौडेल

अध्ययनसार
यस अध्ययनमा रमेश विकलको ‘लाहुरी भैँसी’ कथालाई प्रगतिवादी कोणबाट विश्लेषण गरिएको छ । मार्क्सवादी दर्शनको वर्गसङ्घर्षसम्बन्धी मान्यतालाई आधार बनाउँदै यहाँ विवेच्य कथाको कथानक र पात्रमा रहेको वर्गसङ्घर्षलाई विश्लेषण गरिएको छ । विवेच्य कथाको कथानक र पात्रमा रहेको वर्गसङ्घर्षको विश्लेषण गर्नु यस अध्ययनको मुख्य समस्या वा उद्देश्य रहेको छ । यस अध्ययनका लागि पुस्तकालयीय कार्यबाट द्वितीय स्रोतअन्तर्गत पुस्तक, पत्रपत्रिका र अनलाइन स्रोतबाट सामग्री सङ्कलन गरिएको छ भने गुणात्मक ढाँचामा वर्णनात्मक तथा विश्लेषणात्मक विधिबाट अर्थापन गरी सामग्री विश्लेषण गरिएको छ । सैद्धान्तिक पर्याधार खण्डमा मार्क्सवादको परिचय र विशेषता, यसका तीन आधारभूत सिद्धान्त पुँजीवादी समाजको आलोचना, भौतिकवादी मान्यता (द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद), वर्गसङ्घर्षको सिद्धान्तका बारेमा विश्लेषण गरी सामग्री विश्लेषणको आधार तयार गरिएको छ । सामग्री विश्लेषणका क्रममा सर्वप्रथम विवेच्य कथाको सार प्रस्तुत गरिएको छ । यस कथाका कथानक र पात्रमा रहेको वर्गसङ्घर्षलाई अलगअलग खण्डमा विश्लेषण गरिएको छ । एउटा सर्वहारावर्गीय श्रमिक लुखुरेले साहुसँग ऋण लिएर अनि श्रीमतीको सम्पूर्ण गहना बेचेर किनेको लाहुरी भैँसी बुर्जुवावर्गीय पुँजीपति द्वारेबाले कपटपूर्ण गरिकाले हत्याएको र त्यसो गर्दा लुखुरे शोषणमा परेको चित्रण गरिएकाले यस कथाको कथानकमा वर्गसङ्घर्ष रहेको देखिन्छ । त्यसैगरी एकातिर यसरी लुखुरे आम्दानीका साधन र स्रोतमाथि पहुँच पुर्‍याउन सङ्घर्षरत रहेको र अर्कातिर द्वारे श्रमिकलाई शोषण गर्न जालझेल र षड्यन्त्र गर्न उद्यत रहेका कारण यस कथाका पात्रमा पनि वर्गसङ्घर्ष रहेको छ । यसरी मार्क्सवादी विश्वदृष्टिको वर्गसिद्धान्तका धारबाट यस कथाको विश्लेषण गर्दा समाजमा रहेका सामन्ती प्रवृत्तिका पुँजीपतिहरू निम्नवर्गीय श्रमिकले आर्थिक उन्नति गरेको देख्न चाहँदैनन् त्यसैले उनीहरूमाथि शोषण गरिरहने भएकाले जबसम्म सर्वहारावर्गीय श्रमिकहरू आफ्नो हक र अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्दैनन् तबसम्म उनीहरूको उत्पादनका साधन र स्रोतमाथि अधिकार पाउन सक्दैनन् भन्ने निचोड निकाल्न सकिन्छ ।
मुख्य पद तथा पदावलीहरूः वर्गसङ्घर्ष, बुर्जुवा, पुँजीपति, सामन्त, सर्वहारा, निम्नवर्गीय, श्रमिक, पुँजीवादी समाज, भौतिकवादी मान्यता, द्वन्दात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्षको सिद्धान्त, उत्पादनका साधन र स्रोत ।
१. विषयपरिचय
रमेश विकल (वि.सं १९८५–२०६५) को कथालेखन परम्परालाई हेर्दा २०३६ सालभन्दा अघि लेखिएका कथाहरू सामाजिक यथार्थवादी धारामा केन्द्रित रहेका र बीचका केही कथाहरू मनोवैज्ञानिक यथार्थवादी धारामा केन्द्रित भएर लेखिएका छन् (लुइटेल, २०६७) । विकलका विरानो देशमा (२०१६), नयाँ सडकका गीत (२०१९), आज फेरि अर्को तन्ना फेरिन्छ (२०२४), एउटा बूढो भ्वाइलेन आशावरीको धुनमा (२०२५), उर्मिला भाउजू (२०३५), शव, सालिक र सहस्र बुद्ध (२०४२), हराएका कथाहरू (२०५५) जस्ता कथासङ्ग्रहहरू प्रकाशित भएका देखिन्छन् भने उनी उपन्यास, निबन्ध, नाटक, एकाङ्क, बालकथा, बालउपन्यास, बालएकाङ्की र बालकविता लेखनतर्फ पनि सक्रिय रहेका देखिन्छन् । विशेषतः सामाजिक यथार्थवादी धाराका कथाकार रमेश विकलका कथामा समाजमा विद्यमान आर्थिक असमानता, सामाजिक भेदभाव, वर्गीय वैषम्य र भेदभाव, अन्धविश्वास र रुढि आदिको चित्रण पाइन्छ । समाजमा व्याप्त सम्पूर्ण समस्याको मूल जड आर्थिक विषमता हो र यसैबाट अनेक समस्याहरू जन्मने धारणा राख्ने विकलका कथामा समाज र राष्ट्रबाट आर्थिक विषमताको अन्त्य गरी समतामूलक सामाजिक संरचनाको निर्माण गरिनु पर्ने धारणा व्यक्त भएको पाइन्छ । यिनले आफ्ना कथाका माध्यमबाट उच्चवर्गीय शोषक सामन्तीप्रति घृणा र आक्रोश तथा निम्नवर्गीय निमुखा, शोषित पीडित र असहायप्रति सद्भाव र सहानुभूति प्रकट गरेका छन् । सामाजिक अन्धविश्वास र कुरीतिप्रति व्यङ्ग्य, सामन्तवादी प्रवृत्तिको विरोध, समतामूलक समाजको स्थापना तथा प्रगतिवादी चिन्तनको समर्थन यिनका अधिकांश कथामा पाइने प्रमुख विशेषता हुन् । यस प्रवृत्तिको अझ सशक्त र तीव्र अभिव्यक्ति बिरानो देशमा तथा नयाँ सडकको गीत सङ्ग्रहका कथाहरूमा पाइन्छ(लुइटेल, २०६७) । यसरी विकले पूर्वार्धमा सामाजिक यथार्थवादी र उत्तरार्धमा प्रगतिवादी चेतबाट अनुप्राणित भई कथा लेखेको देखिन्छ ।
‘लाहुरी भैँसी’ विकलको नयाँ सडकको गीत कथासङ्ग्रहमा सङ्ग्रहित एक प्रगतिवादोन्मुख सामाजिक यथार्थवादी कथा हो । यस कथामा नेपाली समाजमा विद्यमान वर्गविभेद, असमानता, सामाजिक शोषणजस्ता कुरालाई समेटिएको छ । जनसामान्य तथा सोझा व्यक्तिमाथि शक्तिशाली सामन्तहरूले कसरी शोषण गर्छन् भन्ने कुरालाई यस कथामा देखाइएको छ । लाहुरी भैँसी कथामा तात्कालीन समाजमा रहेको वर्गीय विभेलाई चित्रण गर्ने प्रयास गरिएको छ । समाजमा पुँजीपतिवर्गले निम्नवर्गीय मानिसहरूलाई आर्थिक र सामाजिक शोषण गर्ने प्रवृत्ति अद्यावधि देख्न सकिन्छ । मानिसमा चेतनाको स्तर बढेको भए पनि रूपान्तरित द्वारे र लुखुरे समाजमा विद्यमान रहेका देखिन्छन् । ‘लाहुरी भैँसी’ कथामा गाउँको प्रतिष्ठित व्यक्ति द्वारेबाले उनको निम्नगर्गीय छिमेकी लुखुरेले किनेको भैँसीमाथि आँखा गाडेर अनेक षड्यन्त्र गरी उक्त भैँसी हात पारेको मार्मिक कथानक रहेको छ । यो कथा कथा लुखुरे र द्वारेबाका केन्द्रीयतामा अगाडि बढेको छ । द्वारे पुँजीपति समाजको बुर्जुवा वा सामन्ती पात्रका रूपमा र लुखुरे सर्वहारा वा श्रमिक पात्रका रूपमा चित्रित छन् । यिनै सन्दर्भमा ‘लाहुरी भैँसी’ कथामा रहेको प्रगतिवादी चेतना यस अध्ययनको मुख्य अध्ययनक्षेत्र हो भने मार्क्सवादी विश्वदृष्टिबाट विवेच्य कथाको कथानक र पात्रमा देखिने वर्गसङ्घर्षलाई विश्लेषण गर्नु यस लेखको मुख्य समस्या वा उद्देश्य हो । यस अध्ययनका लागि पुस्तकालयीय कार्यबाट द्वितीय स्रोतअन्तर्गत पुस्तक, पत्रपत्रिका र अनलाइन स्रोतबाट सामग्री सङ्कलन गरिएको छ भने गुणात्मक ढाँचामा वर्णनात्मक तथा विश्लेषणात्मक विधिबाट अर्थापन गरी सामग्री विश्लेषण गरिएको छ ।
२. अध्ययनको उद्देश्य
मार्क्सवादले परिकल्पना गरेको आदिम साम्यवादी युगको अन्त्पछि दास र सामन्तवादी युग हुँदै पुँजीवादी युगसम्म आइपुग्दा समाज धनी र गरिब, सम्पत्ति भएका र नभएका, शोषक र शोषितजस्ता समूहमा विभाजित भई आर्थिक कारणहरूले गर्दा वर्गविभक्त समाजको उत्पत्ति भएको देखिन्छ । यस्ता वर्गहरूमध्ये पहिला वर्गको उत्पादनका साधनहरूमा पहुँच हुने र दोस्रा वर्गको नहुने भएकाले श्रमिक वा सर्वहारावर्ग उत्पादनका साधन र स्रोतमाथि स्वामित्व पाउनका लागि एकजुट भएर पुँजीपति वा सामन्तवर्गसँग विद्रोह गर्दछन्, जसलाई वर्गसङ्घर्ष भनिन्छ । यस अध्ययनको उद्देश्य रमेश विकलको ‘लाहुरी भैँसी’ कथाको कथानक र पात्रमा रहेको वर्गसङ्घर्षको विश्लेषण गर्नु रहेको छ ।
३. अध्ययन विधि
प्रस्तुत अध्ययन पुस्तकालयीय कार्यमा आधारित रहेको छ । यस अध्ययनका लागि सामग्री सङ्कलनका स्रोत द्वितीय स्रोतअन्तर्गतका पुस्तक, पत्रपत्रिका र अनलाइन सामग्रीहरू रहेका छन् । यस अध्ययनमा शाब्दिक सामग्रीहरू सङ्कलन गरी पाठविश्लेषण शैलीमा तिनीहरूको व्याख्या र विश्लेषण गरिने भएकाले यसको ढाँचा गुणात्मक रहेको छ । यस अध्ययनमा सामग्री विश्लेषणको आधार मार्क्सवादी दर्शनको वर्गसङ्घर्षको सिद्धान्त रहेकाले त्यही सैद्धान्तिक विश्वदृष्टिमा रमेश विकलको ‘लाहुरी भैँसी’ कथाको कथानक र पात्रमा रहेको वर्गसङ्घर्षलाई विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
४. सैद्धान्तिक पर्याधार
मार्क्सवाद जर्मन राजनीतिशास्त्री, अर्थशास्त्री, दार्शनिक र क्रान्तिकारी कार्ल मार्क्स (सन् १८१८-१८८३) द्वारा प्रतिपादित र फ्रेडरिक एङ्गेल्स (सन् १८२०-१८९५) द्वारा विकसित विश्वका श्रमिक वर्गको वैज्ञानिक र क्रान्तिकारी विचारधारा हो । कार्क्स र एङ्गेल्सद्वारा स्थापित मार्क्सवादलाई भ्लादिमिर एलिच लेनिन (सन् १८७०-१९२४) ले इतिहासको आवश्यकताअनुसार रचनात्मक र सिर्जनात्मक रूपमा विकसित गरेका हुनाले आजको मार्क्सवाद भन्नाले मार्क्सवाद र लेनिनवादलाई बुझिन्छ भने मार्क्स, एङ्गेल्स र लेनिनको सिद्धान्तको आन्तरिक सम्बन्ध, एकता, निरन्तरता, विकास, अखण्डता तथा रूपमान्तरिक मान्यताका रूपमा यसलाई लिने गरिन्छ (भट्टराई, २०६१, पृ. ३२१) मार्क्सवाद एक वैज्ञानिक, गतिशील र सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक पथप्रदर्शक सिद्धान्त हो (केसी, २०७५) । मार्क्सवादी दर्शनको विकास र विस्तारमा मार्क्स, एङ्गेल्स र लेनिनका अलावा प्लेखानोव, माओ त्से तुङ, म्याक्सिम गोर्की, क्रिस्टोफेल कडवेल, राल्फा फक्स, हावर्ड फास्ट, जर्ज लुकाच, अर्न्स्ट फिसर, लुनाचार्स्कलगायतका दार्शनिकहरूको योगदान महत्त्वपूर्ण रहेको देखिन्छ । यस सिद्धान्तले सन् १९९० भन्दा अगाडि संसारको निकै ठूलो हिस्सालाई प्रभावित पारेको थियो (भट्टराई र काफ्ले, २०७७) । द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद मार्क्सवादका तीन महत्त्वपूर्ण पक्ष हुन् । पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको मार्कस्वादका दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद गरी तीन सङ्घटक अङ्ग रहेका छन् । प्रकृति, समाज, राज्य व्यवस्था आदिबारे कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा गहन खोज र प्रयोगद्वारा निकालिएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई मार्क्सवाद भनिन्छ । मार्क्सवादले पुँजीपति वर्गको राज्य व्यवस्थालाई ध्वस्त पारी त्यस ठाउँमा सर्वहारा श्रमजीविवर्गको राज्य व्यवस्था स्थापना गर्ने सही तथा क्रान्तिकारी बाटो देखाउँछ । मार्क्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी हुनुका साथै यस दर्शनको सिद्धान्त भौतिकवाद हो (केसी, २०७७) । मार्क्सवादी दर्शनले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्छ । मार्क्सको वैज्ञानिक समाजवाद वर्गसङ्घर्ष, इतिहासमा बलको प्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र साम्यवादका आधारभूत मान्यताद्वारा निर्मित भएको देखिन्छ ।
मार्क्स र एङ्गेल्सले साहित्य र कलासम्बन्धी व्यवस्थित चिन्तन नगरेका भए पनि राजनीतिक, दार्शनिक र आर्थिक अध्ययनका क्रममा यिनका साहित्य र कलासम्बन्धी मान्यता प्रस्तुत भएका देखिन्छन् । उनीहरूको साहित्य र कलासम्बन्धी धारणाहरू अ कन्ट्रिव्युसन टु द क्रिटिक अफ पोलिटिकल इकोनोमी नामक कृतिको प्रस्तापनाको एउटा अंशका रूपमा रहेको लिटरेचर एण्ड आर्ट नामक ग्रन्थमा अभिव्यक्त भएको पाइन्छ (शर्मा र लुइटेल, २०७२, पृ. १३१)
द्वन्द्वात्मक भौतिकवाद, राजनीतिक अर्थशास्‍त्र र वैज्ञानिक समाजवाद मार्क्सवादका तीन महत्त्वपूर्ण पक्ष हुन् । यी तीन पक्ष आन्तरिक रूपमा अभिन्न रूपमा जोडिए पनि आफ्नो एकता र अखण्डतामा श्रमिक वर्गको क्रान्तिकारी विश्वदृष्टिकोण निर्माणमा यनको स्वतन्त्र भूमिका पनि छ (भट्टराई, २०६९, पृ. ३२२) । मार्क्सवादी विचारधाराका आधारभूत सिद्धान्तहरू निम्न रहेका छन्:
४.१ पुँजीवादी समाजको आलोचना
पुँजीवादका विरोधमा जन्मिएको आर्थिक र राजनीतिक सिध्दान्त मार्क्सवादले उत्पादनका साधनमा आफ्नो स्वामित्वका कारण पुँजीवादले उत्पादन प्रणालीलाई पनि आफ्नो प्रभावमा पार्ने मान्यता राख्छ । यसले आफ्नो सर्तमा आधारित श्रम प्रणालीले गर्दा श्रमिकको शोषण गर्दछ र यही शोषणका कारण समाजमा सर्वहारा र पुँजीपति वर्गको जन्म हुन्छ भन्ने मान्यता राख्छ । यसरी पुँजीवादले प्रभुत्वशाली पराधीन वर्ग जन्माउँछ र त्यो वर्ग क्रान्तिकारी हुन्छ भन्ने मान्यता मार्क्सवादको रहेको छ । मार्क्सवादका अनुसार पुँजीवादका विरूद्धको सङ्घर्षमा सर्वहारा वर्ग सङ्गठित भई क्रान्तिको उद्‍घोष गरेपछि पुजीवादी राज्यव्यवस्थामा परिवर्तन आई समाजवादमा रूपान्तरण हुन्छ । यसरी समाजमा शोषण कायम राख्ने भएकाले पुँजीवाद मानवहितमा छैन भन्ने मान्यता राखेर मार्क्सवाद पुँजीवादको आलोचक रहेको देखिन्छ ।
४.२ भौतिकवादी मान्यता
भौतिकवादी मान्यताअन्तर्गत द्वन्दात्मक र ऐतिहासिक भौतिकवाद पर्दछन् । यिनीहरू मार्क्सवादका दार्शनिक आधार हुन् । हेगेलको द्वन्द्ववादको जगमा उभिए पनि हेगेलियन चिन्तन आदर्शवादी नै रहेको हुँदा मार्क्सले द्वन्द्वात्मक भौतिकवादको प्रतिपादन गरेका हुन् । द्वन्द्ववादका गुणबाट मात्रामा र मात्राबाट गुणमा, निषेधको निषेध तथा विरोधीहरूका बिचको एकता र रूपान्तरण गरी तीन आधारभूत नियम रहेका देखिन्छन् (भट्टराई, २०६९, पृ. ३२४) । द्वन्द्वात्मकतालाई भौतिकवादसँग जोड्ने क्रममा यस नियमलाई इतिहास वा समाजविकासको नियमसँग जोडेर प्रस्तुत गरिएको देखिन्छ । द्वन्द्वात्मक भौतिकवादले चेतना र पदार्थलाई भिन्न र विरोधी तत्त्व नभएर एकअर्कासँग सम्बन्धित मान्छ भने पदार्थबाट नै चेतनाको जन्म हुने मान्यता राख्छ ।
ऐतिहासिक भौतिकवाद इतिहासको भौतिकवादी व्याख्यामा आधारित छ । मार्क्सले इतिहासको अध्ययनमा आधारित आदर्शवादी चिन्तनका विरुद्धमा इतिहासको भौतिकवादी व्याख्या गरेको हुँदा यसलाई ऐतिहासिक भौतिकवाद भनिएको हो (भट्टराई, २०७७, पृ. ३२७) । ऐतिहासिक भौतिकवादले इतिहासको विकास नै युग विकास हो र यसले समाजविकासका नियमहरूको व्याख्या गर्छ भन्ने मान्यता राख्छ । यसले आदिम साम्यवाद, दास युग, सामन्तवादी युग , पुँजीवादी युग हुँदै समाजवाद र वैज्ञानिक साम्यवादमा पुग्न सकिने व्याख्या अगाडि सारेको पाइन्छ । मार्क्सवादका अनुसार आर्थिक आधार र अधिरचनाले नै युग र समाजमा रूपान्तरण ल्याउँछ । आधार सदैव आर्थिक हुन्छ र त्यही आधारका जगमा धर्म, कानुन, साहित्य ,कला, विज्ञान , विचारधारा जस्ता अधिरचना जन्मन्छ ।
४.३ वर्गसङ्घर्षको सिध्दान्त
वर्गसङ्घर्षको सिद्धान्तलाई ऐतिहासिक भौतिकवादको पूरक सिध्दान्त मानिन्छ (भट्टराई र काफ्ले ढकाल, २०७७) । समाजको आजसम्मको इतिहासलाई मार्क्सवादले वर्गसिध्दान्तको इतिहास मानेको देखिन्छ । यस सिद्धान्तले दासयुगमा दास र मालिक, सामन्तवादी युगमा सामन्त र किसानका बीच द्वन्द्व भएको तथा पुँजीवादी युगमा सर्वहारा र पुँजीपतिका बीच सङ्घर्ष हुने धारणा राख्छ (भट्टराई र काफ्ले ढकाल, २०७७) । मार्क्सवादी मान्यताअनुसार समाजमा सर्वहारा वा शोषित र बुर्जुवा र शोषक गरी दुई वर्ग हुन्छन् । सामाजिक उत्पादनमा आआफनो स्थानले गर्दा ती दुईको स्वार्थ एकअर्काको पूरै विपरीत रहने भएकाले तिनीहरू वैरभावको स्थितिमा उभिएका हुन्छन् । तिनीहरूमध्ये शोषकवर्ग विद्यमान शोषण व्यवस्था कायम राख्न प्रयत्नशील रहने र शोषितवर्ग आफनो हितका लागि शोषण व्यवस्था र शोषकवर्गविरुद्ध सङ्घर्षरत रहन्छ । समाज यस्ता दुई विपरीत पक्षबीचको अन्तर्विरोध वा टकरावको अवस्थालाई नै वर्गसङ्घर्ष भनिन्छ । कुनै पनि वर्गविभक्त समाजमा उक्त अन्तर्विरोध वर्गहरूबीच सङ्घर्षमार्फत अभिव्यक्त हुने गर्छ र त्यसले उक्त समाजलाई गतिशील बनाउने भएकाले स्टालिनले वर्गसङ्घर्षलाई ‘समकालीन सामाजिक जीवनको नाभी’ को संज्ञा दिएका छन् (श्रेष्ठ, २०७५) । वर्गसङ्घर्षका विभन्न रूपहरूमध्ये आर्थिक, राजनीतिक र विचारधारात्मक मुख्य मानिन्छन् (श्रेष्ठ, २०७५) । विद्यमान आर्थिक व्यवस्थाभित्रकेही सुधार गर्ने, सहुलियत हासिल गर्ने, आफ्नो तात्कालिक दैनिक हितको रक्षा वा विस्तार गर्ने कुरासँग सम्बन्धित सम्बन्धित हुन्छ । आर्थिक सङ्घर्ष शोषितहरूलाई सचेत तथा शिक्षित पार्ने र एकताबद्ध पार्ने दृष्टिबाट निकै महत्वपूर्ण रहे पनि त्यसले क्रान्तिकारी समाजिक रुपान्तरण हासिल गर्न नसक्ने भएकाले पछि वर्गसङ्घर्ष राजनीतिक तथा विचारधारात्मक क्षेत्रमा विस्तारित हुँदै जान्छ । वर्गहरूको उन्मूलनको अर्थ समग्र रूपमा समाजको अधीनस्थ रहेका साधनहरट्ठको सम्बन्धमा सबै नागरिकहरूलाई समान स्तरमा राख्नु भएकाले यो प्रक्रिया समाजवादी क्रान्तिबाट सुरु भएर साम्यवादी युगमा सम्पन्न हुने मान्यता वर्गसङ्घर्षको सिद्धान्तले राख्छ ।
मार्क्सवाद समाजलाई हेर्नेमात्र नभएर फेर्ने दर्शन भएकाले यसले कुनै पनि कुराको सुधारमात्र होइन व्यापक एवम आमूल परिवर्तनको माग गर्छ । एङ्गेल्सले मार्क्सवादी कथा वा उपन्यासमा कथानकीय विन्यासमार्फत जीवन यथार्थका गहिराइलाई हृदय संवेद्य बनाएर प्रस्तुती गरिने धारणा राखेको पाइन्छ (उपाध्याय,२०७२) । मार्क्स, एङ्गेल्स, लेनिन र माओलगायतका राजनीतिक, सौन्दर्य चिन्तन तथा मार्क्सवादी साहित्य सर्जक र चिनेतकका समग्र चिन्तनका आधारमा मार्क्सवादी समालोचनाका आधार निर्माण भएका देखिन्छन् ।
यस लेखमा मार्क्सवादी मान्यताहरूमध्ये वर्गसङ्घर्षको सिद्धान्तलाई आधार मानेर कथानक र पात्रमा केन्द्रित रही विवेच्य कथा ‘लाहुरी भैँसी’ लाई मार्क्सवादी कोणबाट विश्लेषण गरिएको छ ।
५. कथासार
विवेच्य ‘लाहुरी भैँसी’ कथामा ग्रामीण समाजको निम्नवर्गीय किसान लुखुरेले श्रीमतीको श्रीमतीको सुन मासेर र ऋण काढेर लैनो भैँसी किनेर ल्याउँछ । लुखुरेको घरमा भैँसी बाँधेको देखेपछि द्वारे बाको मनमा भएको इर्ष्या भावले युक्त खैलाबैलाबाट कथाको प्रारम्भ भएको छ । यसलाई कथाको आदिभाग मान्न सकिन्छ । घरमा गजबको लाहुरी भैँसी आएपछि लुखुरेको परिवार दङ्ग भएको हुन्छ । लुखुरेका श्रीमती र छोरा खुसीले फुरुङ्ग देखिए पनि उसको परिवारको खुसी धेरै समयसम्म रहँदैन । लुखुरेका छिमेकी तथा गाउँमा सबैद्वारा मानिएका व्यक्ति द्वारेबालाई लाहुरी भैँसी देखेर डाहा लाग्छ । उनले कपटपूर्ण तरिकाले लाहुरी भैँसीमा धम्कीको रोग रहेको झुटो दाबी गर्छन् र लुखुरेलाई विश्वस्त गराउन इशाराले रामबीरे, खुलाल र घमानेलाई आफ्नो कुरामा समर्थन गर्न लगाउँछन् । भैँसी हेर्दा हृष्टपुष्ट देखिए पनि गाउँका मानिएका मान्छे र अन्यले रोगी ठहर गरेपछि लुखुरे चिन्तित हुन्छ । एकछिन अघिसम्म प्रफुल्ल देखिएकी उसकी स्वास्नी घैँटी नानाभाँती गाली गरेर लोग्नेसँग झगडा गर्न थाल्छे । ठूलो ऋणमा जाकिएर किनेको भैँसी मरि पो हाल्ने हो कि भन्ने चिन्ताले लुखुरेलाई रातभरि निद्रा लाग्दैन । यसलाई कथाको मध्यभाग मान्न सकिन्छ । भोलिपल्ट द्वारेबाका घरमा लाहुरी भैँसीको बारेमा चर्चा हुन्छ । द्वारेबाले लुखुरेमाथि झुठो सहानुभूति देखाएको अभिनय गरेपछि बुढाथोकी, घमाने र सीताराम पण्डितले उनको समर्थन गर्छन् । लुखुरे नेपाल बाहुनको २५० रुपैयाँ तिर्नेसम्म पैसा पाए अरू घाटा सहेर भए पनि भैँसी दिन राजी भएपछि द्वारेबाले आफू भड्खालामा परेर भए पनि लुखुरेलाई सहयोग गरेको अभिनय गरी लुखुरेले किनेकोभन्दा निकै कम दाममा लाहुरी भैँसी किनिदिन्छन् र उनको लाहुरी भैँसी हत्याउने कुटिल योजना सफल हुन्छ भने लुखुरे षड्यन्त्रको सिकार बन्न पुग्छ । यो कथाको अन्त्य भाग हो । यसरी यस कथामा आफ्नो आर्थिक अवस्थामा सुधार ल्याउन प्रयत्न गरिरहेको एउटा निम्नवर्गीय पात्र लुखुरेलाई सामन्ती चरित्रका पात्र द्वारेबाले अनेक जालझेल र षडयन्त्रका सहायताले असफल बनाइदिन्छन् ।
६. कथानकमा वर्गसङ्घर्ष
कथानक कथामा स्पष्ट रूपमा आउने हुनाले यसलाई कथाको स्थूल तत्त्व मानिन्छ । विभिन्न घटनाहरूको योगबाट कथानक बन्दछ । कुनै एक विषयसँग सम्बन्धित विभिन्न घटनाहरू निश्चित ढाँचामा प्रस्तुत भएर कथानकको निर्माण भएको हुन्छ (ओझा, २०७३, पृ. १५१) । विवेच्य कथा ‘लाहुरी भैँसी’ को कथानकमा प्रारम्भ, मध्य र अन्त्य गरी तीन भाग तथा प्रारम्भ, सङ्घर्ष विकास, चरमोत्कर्ष, ह्रास र उपसंहार गरी पाँच अवस्था रहेका हुनाले कथाको कथानक रैखिक ढाँचामा अगाडि बढेको देखिन्छ । कथामा निम्नवर्गीय पात्र लुखुरे र उच्चवर्गीय पात्र द्वारेबाका बीच सङ्घर्ष देखिने भएकाले यस कथाको कथानकमा वर्गीय चेतना प्रबल पाइन्छ । लुखुरेले गाउँमा ऋण काढेर भए पनि एउटा गतिलो भैँसी किन्ने कुरा गरेको बारेमा सुनेका द्वारेबाले लुखुरेको आगनमा भैँसीजस्तो वस्तु देखेपछि ऊ इर्ष्याभावले अतालिएको प्रसङ्गबाट कथानकको प्रारम्भ भएको छ । यस कुरालाई तलको साक्ष्यले स्पष्ट पार्छ ।
‘लुखे बजियाले भैंसी ल्याएछ ?’- द्वारेबाले घोर आश्चर्यको स्वरमा भने, ......... उनलाई यो आफ्नो द्वारेपनाको निमित्त एउटा थप्पडझैं लाग्यो । उनले मनमा असजिलोपनको अनुभव गरे- भित्र अलि चस्केझैं, भित्र मुटुमा कसैले फोनबाजाको सियोले च्वास्स घोचिदिएझैं उनलाई लाग्यो ।
(लाहुरी भैँसी‚ २०७५‚ तेस्रो अनुच्छेद)
माथिको उद्धृतांशमा भैँसी उत्पादनको साधनको प्रतीकको रूपमा देखिएको छ । यहाँ एउटा निम्नवर्गीय व्यक्तिका रूपमा देखिएको लुखुरेको उत्पादनका साधनमाथि पहुँच पुँजीपतिवर्गका रूपमा देखिएको द्वारेबाका लागि असैह्य भएको देखाइएको छ । कथामा लुखुरेले लाहुरी भैँसी किन्दा द्वारेबालाई आश्चर्य लागेको, आफ्नो द्वारेपनाको निम्ति एउटा थप्पडझैँ लागेको, असजिलोपन अनुभव गरेको, भित्र अलि चस्केझैँ तथा फोनबाजाको सियोले मुटुमा च्वास्स घोचेझैँ भएको प्रसङ्ग आउनु एउटा श्रमिकका उत्पादनका साधनमाथिको पुँजीपतिको पुँजीपतिको हस्तक्षेपको उदाहरण हो । कथानकमा यहाँबाट वर्गसङ्घर्षको प्रारम्भ भएको देखिन्छ ।
सबै गाउँलेले द्वारेबालाई मानसम्मान गर्ने गरेको तथा कुनै नयाँ काम सुरु गर्नुअघि उनलाई सोध्ने गरेको भए पनि लुखुरेले उनलाई नसोधी ठूलो लगानीमा भैँसी किन्ने आँट गरेको देखाइएको छ । यसलाई पुँजीपतिवर्गप्रतिको विद्रोहको एउटा स्वरूप मान्न सकिन्छ । द्वारेबाको सहयोगी रामेले लुखुरेको भैँसी हत्याउन उनको षड्यन्त्रमा साथ दिएको भए तापनि ऊ पनि सम्पत्तिमाथि स्वामीत्व प्राप्त गर्न चाहन्छ । रामेको सम्पत्तिमाथिको स्वामीत्वको इच्छालाई निम्न उद्धरणले पुष्टि गर्छः
उसका आँखा एक टिठ लागेर लुखुरेको आँगनतिर हेरिरहेका थिए । सायद, ऊ पनि आफ्नो यस्तै भैंसी बाँधिएको, अनि रूपले भएको सपनामा चहार्न पुगेको थियो । (चौँथो अनुच्छेद)
प्रस्तुत उद्धृतांशमा रामेको उत्पादनका साधनमाथिको अव्यक्त चाहना अभिव्यक्त भएको देखिन्छ । यस प्रसङ्गले कथानकमा रामे र द्वारेबाबीचको अव्यक्त किसिमको वर्गसङ्घर्षलाई सङ्केत गरेको छ ।
द्वारेबाले अनेक छलछाम गरेर लुखुरेको भैसीलाई कम दाममा हत्याएरै छाड्छन् । यहाँ उनको बुर्जुवा प्रवृत्ति देखिएको छ । मार्क्सले समाजमा उत्पादनका साधन, भूमि, पुँजी आदिमाथि अधिकार जमाउने वर्गलाई मालिक, जमिन्दार, सामन्त वा पुँजीपति र यिनमा आश्रित तथा श्रम गरेर बाँच्ने दास, कृषक, श्रमजीवी वा मजदुर वर्गलाई श्रमजीवीवर्ग मानेका छन् । यीमध्ये पहिलो वर्गले दोस्रो वर्गका श्रमको शोषण गरी लाभ उठाउँछन् भने यसका विपरीत दोस्रो वर्गले श्रम गर्ने तर उत्पादनका साधनमाथिको स्वामित्व नपाउने भएकाले जति श्रम गर्दा पनि आफ्ना अनिवार्य आवश्यकताका साधन जुटाउन नसकी निरन्तर शोषित भइरहन्छ (शर्मा र लुइँटेल, २०७२, पृ. १४७) । यस कथामा लुखुरे त्यस्तै श्रमजीवी पात्रका रूपमा देखिएको छ । लाहुरी भैँसीलाई घैँटीले मकैको पीठोको खोले पकाएर खान दिनु, दुई डोका घाँस काटेर ल्याउनु, लुखुरेले पाँच कोस बाटो हिँडेर आएको थकाइ बिर्सिएर बीसवर्षे जोसमा आफ्नै हातले तताएर लाहुरी भैँसीलाई खोले खान दिनु, जीउमा कटकटिएका सुकेका गोबरका पाप्रा आप्नै हातले धोइपखाली गर्नु, बाटालाई आफ्नै हातले तेल खान दिनु, लाहुरीको जीउमा टाँस्सिउँलाझै गरेर मग्न हुँदै त्यसको जीउ मुसार्नुजस्ता घटनाक्रमले कथामा लुखुरेको श्रमप्रतिको आस्थालाई पुष्टि गर्छन् । यसरी लुखुरेले मन लगाएर काम गरेको भए पनि उसको घरको आर्थिक अवस्थामा भने सुधार आएको देखिँदैन । आफूलाई सबैले सम्मान गरिदिनुपर्ने तर आफूले उनीहरूलाई सम्मान नदिने, राम्रा चीजवस्तु जति सबै उनकै हुनुपर्ने, गरिब गाउँलेले प्रगति गरेको देखिनसहने प्रवृत्ति अर्कातिर द्वारेबबमा देखिन्छ । तलका केही उद्धरणहरूले द्वारेबामा रहेको शोषकीय प्रवृत्तिलाई पुष्टि गर्छन् ।
‘कस्तो भैंसी ल्याएछ हँ, लुखे बजियाले ?’ (चौँथो अनुच्छेद)
यहाँ लुखुरेले द्वारेबाको कुनै अहित नगरेको भए पनि उनले लुखुरेलाई सम्बोधन गर्दै तल्लोस्तरको भाषा प्रयोग गरेका हुनाले उनीमा शोषकीय प्रवृत्ति देखिएको छ ।
‘कति हालिस्, ए लुखे ?’ मग्न भएर लाहुरीलाई सुमसुम्याइरहेको लुखुरे द्वारेबाको गुलियो स्वरले झस्क्यो, ‘हँ बा ?” उसले हडबडाएर हेर्‍यो, द्वारेबा आँगनमा । ऊ हडबडाएर उठ्यो, हत्त र पत्त द्वारेबाको गोडामा ढोगिदियो,..... (आठौँ अनुच्छेद)
माथिको उद्धृतांशमा द्वारेबाले अनादरयुक्त नीच भाषाको प्रयोग गरेका छन् त्यस कुराको कुनै परवाह नगरी लुखुरेले हडबडाउँदै उनको गोडामा ढोगिदिएको छ । त्यसैले यहाँ द्वारेबामा सामन्ती प्रवृत्ति र लुखुरेमा निरीहता तथा दासताको मानसिकता देखिन्छ ।
.... ‘को, त्यै बाउँठे ढकाल ? त्यसका कुरा पत्याउन थाले त मान्छे खोलाँ’ पर्छ । कतिलाई भड्खाराँ’ जाक्यो, त्यस्तो बेइमानी पो त त्यो ! कसो रामे … (एघारौँ अनुच्छेद)
माथिको उद्धृतांशमा द्वारेबाले भञ्ज्याङको ढकालमाथि ‘बाउँठे’, ‘बेइमानी‘ जस्ता अपशब्द प्रयोग गर्नुका साथै उसमाथि गलत आरोप लगाएर लुखुरे र ढकालबीच असमझदारी बढाउने काम गरेका छन् भने रामवीरलाई पनि ‘रामे’ भनी अनादरयुक्त र असभ्य सम्बोधन गरेका छन् ।
त्यसै बेला अँध्यारो मुख लाएको लुखुरे आयो, द्वारेबाका गोडामा शिर टेकायो र एकाछेउमा सारै डराएझैं बस्यो । ‘क्या हो, के भन्न आइस् लुखे ?’- द्वारेले आफ्नै कटु स्वरमा भने, ‘भैंसीले हिजो साबुत दूध दियो ?’.... (उन्नाईसौँ अनुच्छेद)
माथिको उद्धरणमा लुखुरेले द्वारेबालाई ढोगेर उनीप्रति सम्मानभाव देखाउँछ भने द्वारेबाले लुखुरेलाई ‘लुखे’ भनी असभ्य र अपमानजनक सम्बोधन गरी ‘के भन्न आइस्’ भन्दै आफूसमक्ष उसले कारुणिक भावमा सहयोगको याचना गरोस् भन्ने चाहेका छन् ।
‘त्यो मुलुकमारा बाउँठे, त्यसलाई तिमीहरूले चिनेकै छैनौ । (बाईसौँ अनुच्छेद)
माथिको कथांशमा द्वारेबाले ढकाललाई ’मुलुकमारा बाउँठे’ भनेर अपशब्द प्रयोग गर्नुका साथै उनले इमानदार ढकाललाई बेइमान बनाउने कपटपूर्ण काम गरेकाले उसमा सामन्ती प्रवृत्ति देखिन्छ ।
त्यसै बेला रामवीरे द्वारेका आँगनमा उक्लेर उनलाई ढोग दियो । (छब्बीसौँ अनुच्छेद)
माथिको उद्धरणमा रामवीरेले द्वारेबालाई ढोगेर सम्मान दिएको देखिन्छ ।
यसरी माथिका उद्धरणहरूबाट द्वारेबा आफू सबैबाट सम्मानित हुन एवम् सबैले आदर गरून् भन्ने चाहने तर अरूलाई भने होच्याएर, अपशब्द प्रयोग गरेर अनि बोल्ने साथै अरूमाथि गलत आक्षेप लगाएर असमझदारी पैदा गरी त्यसको फाइदा लुट्ने षड्यन्त्रकारी, शोषकीय र हैकमवादी प्रवृत्तिको मानिस रहेको प्रमाणित हुन्छ ।
कथानकको अन्त्य भागमा द्वारेबाले आफ्ना आँगनमा लुखुरेसहित गाउँले भेला भएको समयमा भैँसीले हिजो साबुत दूध दिएनदिएको कुरा कटुस्वरमा सोध्छन् । भैँसीले थाकेर केही कम दूध दिएको भए तापनि लुखुरेले धम्कीका कारण भैँसीले कम दूध दिएको ठान्छ । द्वारेबाले जान्नेबुझ्ने मान्छेलाई नदेखाई भैँसी किन्न गएकाले लुखुरेले धम्की लागेको भैँसी चिन्न नसक्दा उसमाथि सङ्कट आइलागेको बदनियतपूर्ण कुरा गर्छन् । ढकालले लुखुरेलाई सोझो देखेर रोगी भैँसीलाई महँगो दाममा बेची गरिबमारा काम गरेको आरोप लगाउँछन् । द्वारेबाको कुरामा बुढाथोकी, पण्डित र रामबीरले समर्थन गर्छन् । रामवीर द्वारेबाको षड्यन्त्रको सहयोगी हुँदै यसरी उनलाई लाहुरी भैँसी किन्न अनुरोध गर्छः
.... ‘आ, द्वारेबा, अब त्यसो होइन, लुखे बौरा गाउँको गरिब हो, च्यापोमा परिगो, अब तपाईंले विचार नगरे कसले गर्छ यसको विचार ?’...... ‘होइन बा, सौ पचास भन्या, तपाईंको निम्ति पासङबराबर छ, तर गरिबका त घरबास उठ्छन् । तपाईंले नगरे कसले गर्छ । (चौबीसौँ अनुच्छेद)
माथिको उद्धृतांशमा रामवीरले लुखुरेको पीडामा सहानुभूति दिएको अभिनय गर्दै द्वारेको लाहुरी भैँसी हडप्ने निकृष्ट योजनामा साथ दिएको छ ।
द्वारेलगायत उनका सहयोगीसमेतले भैँसीमा खोट देखाएपछि लुखुरेले उनीहरूको कुरामा विश्वास गरी ढकालबाट नराम्रोसँग ठगिएको ठान्छ र घाटा सहेरै द्वारेलाई लाहुरी भैँसी बेच्छ । एउटा श्रमजीवी निमुखा गरिबबाट जालझेल गरी भैँसी हत्याएपछि द्वारे र उसका मतियारहरूले खुसीयाली मनाउँछन् । एउटा आर्थिक अवस्थामा सुधार ल्याउन जमर्को गर्ने निम्नवर्गीय किसानले सामन्तवादको चपेटामा परेर अलिअलि भएको जायजेथोसमेत गुमाउन पुग्छ ।
यसरी यस कथामा रहेको कथानकमा लुखुरेले आर्थिक सुधारका लागि गरेको प्रयास र द्वारेले लुखुरेमाथि गरेको उत्पीडनको प्रधानता रहेको हुनाले यहाँ वर्गसङघर्ष रहेको देखिन्छ ।
७. पात्रमा वर्गसङ्घर्ष
कथामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आएका विभिन्न व्यक्तिहरू नै पात्र वा चरित्र हुन् । कथामा पात्रको कार्यव्यापारबाट घटनाको उद्घाटन हुँदै कथाको विकास अगाडि बढेको हुन्छ (ओझा, २०७३, पृ. १५२) । ‘लाहुरी भैँसी’ कथाको केन्द्रीयतामा लुखुरे र द्वारेबा रहेका हुनाले आबद्धताका आधारमा यिनीहरू यस कथाका मुख्य पात्र हुन् भने सहायक पात्रका रूपमा लुखुरेकी श्रीमती घैँटी, लुखुरेको छोरो पोडे, द्वारेबाका सहयोगीहरू रामवीर, घमाने, खलाल, सीताराम पण्डित, बुढाथोकी र कान्छी घर्तिनी, लाहुरी भैँसीका पुराना धनी ज्याम्दीका ढकाल तथा लुखुरेले भैँसी किन्न ऋण लिएका साहु नेपाल बाहुन रहेका छन् भने अमानवीय पात्रका रूपमा लाहुरी भैँसी र त्यसको पाडो रहेका छन् । प्रस्तुत कथामा उच्चवर्गीय, पुँजीपति, शोषक, बुर्जुवा वा सामन्तका रूममा द्वारेबा रहेका तथा रामवीर, घमाने, खलाल, सीताराम पण्डित र बुढाथोकी उनका सहयोगीका रूपमा देखिएका छन् भने निम्नवर्गीय, शोषित, श्रमिक वा किसानका रूपमा लुखुरे रहेको छ । कथामा लुखुरेमा केही प्रगतिवादी चेतना रहेको देखाइएको छ । उसमा भएको प्रगतिवादी चेतनाका कारण नै उसले लाहुरी भैँसी किन्नुअघि गाउँमा उच्च सम्मानप्राप्त भनेर कथामा चिनाइएका पात्र द्वारेबा छिमेकमै हुँदा पनि उनीसँग परामर्श गर्नु उचित ठानेको छैन । लुखुरेले द्वारेबालाई नसोधी लाहुरी भैँसी किनेको कुरालाई तलको उद्धरणले पुष्टि गर्छ ।
.... ‘रामे, ए रामे ! लुखुरेको आँगनाँ केको रुमलो हो हेर् हेर् ! एउटा कालो-कालो डिंगोजस्तो पनि देखिन्छ नि ?’ (लाहुरी भैँसी, दोस्रो अनुच्छेद)
माथिको उद्धरणमा द्वारेबाले लुखुरेको घरमा भैँसीजस्तो वस्तु देखेपछि त्यसको टुङ्गो लगाउन उनको सहयोगी पात्र रामवीरलाई भैँसी हो वा होइन भनी प्रश्न गरेको प्रसङ्ग उल्लेख छ ।
यसरी उत्पादनका साधनमाथि स्वामित्व नभई आर्थिक उन्नति हुँदैन र आर्थिक उन्नति नभई समाजमा स्थापित हुन सकिँदैन भन्ने चेत आएको भएर नै लुखुरेले श्रीमतीको गरगहना मासेर अनि नेपाल वाहुनसँग २५० रुपैयाँ ऋण लिएर ३४० रुपैयाँ पर्नै गाउँभरिमै सबैभन्दा राम्रो लाहुरी भैँसी किनेको देखिन्छ । लुखुरेको घरमा लाहुरी भैँसी देख्दा द्वारेको मनमा खटपटी र उसको अहममा परेको ठेस देख्दा द्वारेसँग परामर्श नगरी लुखुरेले लाहुरी भैँसी किन्ने निर्णय गर्नु त्यस गाउँको परम्पराप्रतिको विद्रोहकै एक स्वरूप हो । लुखुरेले द्वारेबासँग लाहुरी भैँसी किन्ने सन्दर्भमा सल्लाह मागेको भए त्यो भैँसी द्वारेबाले नै किन्ने रहेछन् भन्ने कुरा उनले लाहुरी भैँसी हत्याउन गरेका षड्यन्त्र र जालझेलपूर्ण व्यवहारहरूले देखाएका छन् । अतः लुखुरेको द्वारेबालाई नसोधी लाहुरी भैँसी किन्ने निर्णय वर्गीय चेतना तथा पुँजीवादविरुद्धको वर्गसङ्घर्ष नै रहेको देखिन्छ ।
द्वारेबाको पनि राम्रो भैँसी किन्ने रहर भएको भए पनि उनको त्यो धोको पूरा हुन सकेको हुँदैन । गाउँकै सबैभन्दा लब्धप्रतिष्ठित व्यक्ति हुँदाहुँदै पनि किन्न नसकेको भैँसी लुखुरेजस्तो आर्थिक अवस्था अत्यन्त कमजोर भएको उपेक्षित व्यक्तिले किनेको कुरा थाहा पाउँदा द्वारेलाई आफ्नो मान मर्दन भएजस्तो लाग्छ । उनलाई लुखुरेको प्रगतिप्रति इर्ष्या लागेर आउँछ । घरमा लाहुरी भैँसी किनेरे ल्याएपछि देखिएको लुखुरेको उन्नतिउन्मुख अवस्थाले द्वारेको स्वमा पुर्‍याएको ठेसको साक्ष्य तलको उद्धरण रहेको छ ।
आफूले एउटा भन्याजस्तो लाहुरी जम्का गर्दागर्दै छेपारोको उखान भैरहेछ, लुखुरे नाथुले भैंसी ल्याउने ! यो कसरी हुन सक्छ ? उनलाई यो आफ्नो द्वारेपनाको निमित्त एउटा थप्पडझैं लाग्यो । उनले मनमा असजिलोपनको अनुभव गरे- भित्र अलि चस्केझैं, भित्र मुटुमा कसैले फोनबाजाको सियोले च्वास्स घोचिदिएझैं उनलाई लाग्यो । (तेस्रो अनुच्छेद)
माथिको उद्धृतांशमा द्वारेजस्तो धनाड्यले गर्न नसकेको आर्थिक उन्नति निमुखा किसानले गर्नु उनको इज्जत तथा मान प्रतिष्ठामा आँच आउनु ठानेका छन् । लुखुरेको व्यवहारले द्वारेपनाको अवमूल्यन गरेको द्वारेले ठहर गरेका छन् । द्वारेको यस्तो निषेधपूर्ण व्यवहारले मार्क्सले व्याख्या गरेको पुँजीवादमा राम्रा र उपयोगी सामानमा पुँजीपतिको मात्र पहुँच हुनुपर्ने र त्यस्ता वस्तुमा श्रमिकको पहुँच उनीहरूका लागि स्वीकार्य नुहुने मान्यतालाई पक्षपोषण गरेको देखिन्छ ।
पुँजीवादमा पुँजीपतिहरूले श्रमिकहरूलाई उत्पादनका साधनहरूबाट विमुख गराउन अनेक षड्यन्त्र र जालझेल गर्छन् भन्ने मान्यतालाई पक्षपोषण गर्दै विवेच्य कथाको पुँजीपतिवर्गको प्रतिनिधि पात्र द्वारेले सर्साउँदो लाहुरी भैँसीलाई धम्की भएको भन्ने सम्मको झुठ बोले । द्वारेबामा रहेको शोषकीय प्रवृत्ति तलको उद्धरणले प्रष्‍ट्याउँछ:
... द्वारेको मनको सम्पूर्ण कुटिलता आएर उनको घोप्टे जुँगाभित्र लुकेको ओठमा फरफराइरहेको थियो । .... ‘बाबै, भैंसी त धम्की छ, कसो ए रामे, हेर् त, कि मैले जानिनँ ?’ रामवीरेले एकपटक द्वारेबाको आँखामा हेर्‍यो, अनि उनले जस्तै भैंसीको चारैतिर घुमेर जाँच्यो । अनि खुलाल, घमानेले पनि त्यही अभिनयलाई दोहोर्‍याए । अन्तमा रामवीरेले बडो लाचारीसाथ घोषणा गर्‍यो, ‘द्वारेबाका आँखा किन झुक्किन्थे र ? यस्ता कत्ना-कत्ना भैंसी खेलाइसक्नुभा’ पो त, कसो घमाने दाइ ? भैंसी धम्की नै होइन त ?’ (दशौँ अनुच्छेद)
भैँसीको वरिपरि घुमेर हेर्दा कुनै किसिमको शारीरिक खोट नपाएपछि सोझो लुखुरेलाई झुक्याउन द्वारेले चालेको कुटिल चाल माथिको उद्धृतांशमा अभिव्यक्त भएको देखिन्छ । उद्धरणको पहिलो अंश द्वारेमा रहेको कुटिलताको साक्ष्यका रूपमा आएको छ भने अर्को उद्धरणमा उनको गलत नियतलाई सफल बनाउन उपयोग गरेका खुलाल, घमाने र रामवीरे पात्रले पुर्‍याएको सहयोगलाई दर्शाइएको छ । यहाँ खुलाल, घमाने र रामवीरे द्वारेको षड्यन्त्रको हिस्सा बन्दै लाहुरी भैँसीमा धम्की भएको गलत आरोपमा सही थप्न उद्यत देखिन्छन् । यी पात्रहरू कथामा सामाजिक-आर्थिक हिसाबले सर्वहारा वर्गकै देखिए पनि वर्गीय चेतनाको अभावका कारण यिनीहरू द्वारेबाका सामन्ती कर्तुतका मतियार बनेका देखिन्छन् । यसको साक्ष्यका रूपमा निम्नानुसारको उद्धरणलाई प्रस्तुत गर्न सकिन्छः
..... द्वारेबाका आँखा निकै घोच्ने काँटका थिए । लुखुरे के भनोस् बौरा ! उसले सबैका मुखमा हेर्‍यो । द्वारे, बुढाथोक, रामे र पण्डितबाहेक सबै मौन थिए, उनीहरूका आँखामा विवशता थियो । उनीहरू लुखुरेको आँखा हेर्न नसकेर निहुरे । (पच्चीसौँ अनुच्छेद)
माथिको उद्धृतांशमा द्वारेबाका आँखा घोच्ने काँटका भएको प्रसङ्ग उल्लेख गरेर उनीभित्र भएको बुर्जुवापन अथवा सामन्तीपनलाई सङ्केत गरिएको छ । यहाँ द्वारे, बुढाथोक, रामे र पण्डितबाहेक अरू मौन भएको र उनीहरूको आँखामा विवशता भएको प्रसङ्ग उल्लेख भएकाले वर्गीय चेतनाको अभावमा सर्वहारा वर्गका गरिब पनि गरिबकै विपक्षमा खडा भएको अवस्था देखाइएको छ । अर्कातिर बाँकी गाउँलेले द्वारेको समर्थन नगरे पनि उनका कर्तुतको विरोध पनि गर्न सकेका छैनन् अवस्था प्रस्तुत गरेर उनिहरूको निरीहतालाई उजागर गरिएको छ । लुखुरेले पनि अन्याय र अत्याचारविरुद्ध विद्रोह गर्न सकेको देखिँदैन । यसरी एउटा बुर्जुवा पात्र द्वारेले सर्वहारावर्गकै सहयोगमा एउटा सर्वहारा श्रमिक लुखुरेमाथि शोषण गरेको आशय माथिको कथांशले व्यक्त गरेको छ ।
लुखुरेबाट कम दाममा लाहुरी भैसी हत्याएपछि सर्वहारा वर्गको प्रतिनिधि पात्र लुखुरे आर्थिक उत्पीडनमा परेको छ भने बुर्जुवागर्गको प्रतिनिधिपात्र द्वारेले सर्वहारामाथि उत्पीडन गरेर उत्पादनका साधन र स्रोतको प्रतीक लाहुरी भैँसीमा आधिपत्य कायम गरेर आफ्नो सामन्तवादी अभीष्ट पूरा गरेको छ । यस तथ्यलाई तलका साक्ष्यले पुष्टि गरेका छन् ।
‘कसो रामे, भैंसी, हीरा छैन त ?’ (सत्ताईसौँ अनुच्छेद)
‘किन हुन्नथ्यो बा, लाखमा एक छ ।’ (अठ्ठाईसौँ अनुच्छेद)
माथिका उद्धरणहरूमा द्वारे र उसको सहयोगी रामवीर लाहुरी भैँसी हडप्न सफल भएकामा खुसी भएको अवस्थाको चित्रण गरिएको छ ।
यसरी यस कथाका दुई मुख्य पात्रहरू लुखुरे र द्वारेबामध्ये निम्नवर्गीय पात्र लुखुरे उत्पादनका साधन तथा स्रोतमाथि स्वामित्व प्राप्त गर्न र उच्चवर्गीय पुँजीपति पात्र लाहुरेबा उत्पादनका साधन तथा स्रोत हत्याउन उद्यत रहेका हुनाले यस कथाको पात्रमा वर्गसङ्घर्ष रहेको देखिन्छ ।
८. निष्कर्ष
मार्क्स र एङ्गेल्सद्वारा स्थापित र लेनिनद्वारा विकसित मार्क्सवाद एक वैज्ञानिक, गतिशील र सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक पथप्रदर्शक सिद्धान्त हो । द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद मार्क्सवादका तीन महत्त्वपूर्ण पक्ष हुन् । मार्क्सवाद भौतिकवादी दर्शन भएकाले यसले पदार्थलाई पहिलो र चेतनालाई दोस्रो मान्छ । मार्क्स र एङ्गेल्सले साहित्य र कलासम्बन्धी व्यवस्थित चिन्तन नगरेका भए पनि उनीहरूका दस्तावेजहरूका अध्ययनका क्रममा साहित्य र कलासम्बन्धी मान्यताहरू प्रस्तुत भएका छन् । पुँजीवादी समाजले प्रभुत्व र पराधीन वर्ग जन्माउने र पुँजीपतिवर्गले श्रमिकवर्गको शोषण गर्ने भएकाले मार्क्सवादले पुँजीवादी समाजको आलोचना गर्छ । भौतिकवादअन्तर्गत द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद पर्दछन् । द्वन्द्वात्मक भौतिकवादले चेतना र पदार्थलाई भिन्न र विरोधी तत्त्व नभएर एकअर्कासँग सम्बन्धित मान्छ भने पदार्थबाट चेतनाको जन्म हुने मान्यता राख्छ । ऐतिहासिक भौतिकवाद इतिहासको भौतिकवादी व्याख्यामा आधारित छ । यसले आदिम साम्यवाद, दास युग, सामन्तवादी युग , पुँजीवादी युग हुँदै समाजवाद र वैज्ञानिक साम्यवादमा पुग्न सकिने व्याख्या अगाडि सारेको छ । वर्गसङ्घर्षको सिद्धान्तका अनुसार साम्यवादी युगमा बाहेक अन्य सम्पूर्ण युगका समाजमा दुई वर्ग रहन्छन् र तीमध्ये एउटा शोषकवर्ग र अर्को शोषितवर्ग रहन्छ । शोषित वर्ग आर्थिक अधिकार प्राप्तिका लागि शोषकवर्गविरुद्ध सङ्घर्षरत रहन्छ, जसलाई वर्गसङ्घर्ष भनिन्छ । वर्गसङ्घर्ष आर्थिक, राजनीतिक र विचारधारात्मक गरी तीन प्रकारका हुन्छन् ।
गाउँको प्रतिष्ठित व्यक्ति द्वारेबाले उनको निम्नगर्गीय छिमेकी लुखुरेले किनेको भैँसीमाथि आँखा गाडेर अनेक षड्यन्त्र गरी उक्त भैँसी हात पार्नु विवेच्य कथा विवेच्य कथाको सार हो । यस कथाको कथानकको मुख्य विषय लाहुरी लुखुरेबाट भैँसी प्राप्त गर्न द्वारेबाले गरेका वदनियतपूर्ण गतिविधहरू रहेका छन् । एउटा सर्वहारावर्गीय श्रमिक लुखुरेले साहुसँग ऋण लिएर अनि श्रीमतीको सम्पूर्ण गहना बेचेर किनेको लाहुरी भैँसी बुर्जुवावर्गीय पुँजीपति द्वारेबाले कपटपूर्ण गरिकाले हत्याएको र त्यसो गर्दा लुखुरे शोषणमा परेको चित्रण गरिएकाले यस कथाको कथानकमा वर्गसङ्घर्ष रहेको देखिन्छ । विवेच्य कथामा लुखुरे एक गरिब किसानका रूपमा चित्रित छ तर ऊ भैँसी किनेर आफ्नो आर्थिक अवस्थामा सुधार ल्याउन चाहन्छ । उसले कुनै पनि काम गर्नुभन्दा अघि द्वारेबासँग परामर्श गर्नुपर्ने त्यस समाजको परम्परालाई उपेक्षा गरेर द्वारेलाई थाहा नै नदिई गाउँभरिमै राम्रो लाहुरी भैँसी किन्ने हिम्मत गरेको छ । अर्कातिर गाउँको एउटा गरिबको घरमा गतिलो भैँसी आएपछि आफूलाई गाउँको लब्धप्रतिष्ठित ठान्ने द्वारेले आफ्नो स्वाभिमानमा ठेस पुगेको अनुभूति चिन्तित भएको छ । उसले अनेक छलकपट गरी स्वस्थ भैँसीलाई खोटो देखाएर त्यसलाई हत्याई सामन्ती प्रवृत्ति देखाएको छ । उसका सहयोगीहरू गरिब भए पनि शोषणको पक्षमा रहेका छन् । एकातिर यसरी लुखुरे आम्दानीका साधन र स्रोतमाथि पहुँच पुर्‍याउन सङ्घर्षरत रहेको र अर्कातिर द्वारे श्रमिकलाई शोषण गर्न जालझेल र षड्यन्त्र गर्न उद्यत रहेका कारण यस कथाका पात्रमा वर्गसङ्घर्ष रहेको देखिन्छ । यसरी मार्क्सवादी विश्वदृष्टिको वर्गसिद्धान्तका धारबाट यस कथाको विश्लेषण गर्दा समाजमा रहेका सामन्ती प्रवृत्तिका पुँजीपतिहरू निम्नवर्गीय श्रमिकले आर्थिक उन्नति गरेको देख्न चाहँदैनन् त्यसैले उनीहरूमाथि शोषण गरिरहने भएकाले जबसम्म सर्वहारावर्गीय श्रमिकहरू आफ्नो हक र अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्दैनन् तबसम्म उनीहरूको उत्पादनका साधन र स्रोतमाथि अधिकार पाउन सक्दैनन् भन्ने निचोड निकाल्न सकिन्छ ।
सन्दर्भसामग्रीको सूची
उपाध्याय, यदुनन्दन (२०७२). मार्क्सवादी दर्शनका प्रमुख स्थापना र साहित्य. https://www.samakalinsahitya.com/index.php?show=detail&art_id=5399, 2077/03/19, 7.15 P.M.
ओझा, रामनाथ (२०७३). माध्यमिक शिक्षक दिग्दर्शन. काठमाडौँ: पिनाकल पब्लिकेसन ।
केसी, हस्तबहादुर (२०७५). मार्क्सवादको प्रतिपादन, विकास र रक्षामा मार्क्सको योगदान. https://leftreviewonline.com/bichar/63415.html, 2077/03/21, 11.35 A.M.
केसी, हस्तबहादुर (२०७७). मार्क्सवाद र मार्क्सवादी ज्ञानसिद्धान्त- १. http://newskoseli.com/archives/49919, 2077/03/20, 11.53 A.M.
भट्टराई, रमेशप्रसाद (२०६९ वैशाख-जेठ-असार). मार्क्सवाद र साहित्य सिद्धान्त. भृकुटी. पृ. ३१९-३४९ ।
भट्टराई, रमेशप्रसाद र काफ्ले ढकाल, रजनी (२०७७). नेपाल खुला विश्वविद्यालय मुडल सामग्री. मानभवन, ललितपुर ।
लाहुरी भैँसी (२०७५). http://baahrakhari.com/news-details/57475/index.php. 2077/03/18‚ 8.15 P.M.
लुइटेल, खगेन्द्रप्रसाद (२०६७). नेपाली साहित्यमा रमेश विकलको योगदान. https://www.samakalinsahitya.com/?show=detail&art_id=2456 2077/03/24, 9.40 A.M.
शर्मा, मोहनराज र लुइटेल, खगेन्द्रप्रसाद (२०७२). पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त. काठमाडौः विद्यार्थी पुस्तक भण्डार ।
श्रेष्ठ, कृष्णदास (२०७५). वर्गसङ्घर्ष भनेको के हो ?. https://onlinemajdoor.com/?p=23036 2077/03/23, 9.23 A.M

सुनवर्षी ६‚ मोरङ

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 भाद्र, 2077

लेखकका अन्य रचनाहरु