चाहना

- नारायण मरासिनी

इच्छा छैन अमेरिका, अरबको जोतेर बारी यहीँ
आफ्नै जन्मथलो म बस्छु घरमै रोपेर टारी यहीँ
गर्दै पुर्वजको सिको हरघडी डोको र डालो बुनी
साथीभाइ सबै बसौँ मिलिजुली एउटै छहारीमुनि ।

चौबन्दी, फरिया कसेर पटुका आँसी लिई हातमा
साझा लक्ष्य बनाउने मन हुने मान्छे लिई साथमा
नेपालीपनका मिठा र रसिला भाका यहीँ गाउने
मेरो चाह यहीँ बसेर घरको छानो स्वयम् छाउने ।

चाहिन्नन् महँगा लुगा र गहना चाहिन्न कालो धन
आफ्नै पौरखमा म बाँच्छु सहजै चाहिन्न आश्वासन
मेरै देश रमाइलो छ हरिया पैसा यहीँ फुल्दछन्
माटैमा खनजोत गर्छु सुनका बाला यहीँ झुल्दछन् ।

नेपाली वनका सबै जडिबुटी खानी र पानी पनि
गर्ने हो उपयोग जाँगर झिकी आफै म ज्यामी बनी
मेरो धर्म यहीँ बसी नवलता उद्यान फैलाउने
मेरो कर्म यहीँ बसी विषमता च्यातेर मिल्काउने ।

मेरो जन्म दिने उदार मनकी आमा रुवाउन्न म
आफ्नो थातथलो भुलेर पसिना अन्तै चुहाउन्न म
मेरा हात र पाखुरा सबल छन् केही न क्यै गर्दछु
मर्नै पर्दछ भोकले यदि भने नेपालमै मर्दछु ।

ज्याग्दीखोला, स्याङ्जा
हाल : पोखरा

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 22 भाद्र, 2077

लेखकका अन्य रचनाहरु