साहित्यकार युवराज मैनालीका कृतिहरूमाथि परिचयात्मक दृष्टि

- इन्दिरा दीक्षित

सरकारी जागिरबाट भर्खरै अवकाश प्राप्त गरेका साहित्यकार युवराज मैलाली साहित्य क्षेत्रका स्थापित व्यक्तित्वभित्र पर्दछन् । २०३७ सालतिर युवा अवस्थामै ‘मुर्दा बोल्यो’ नामक कथा लिएर साहित्य फाँटमा उत्रिएका उनले फुटकरबाहेक विभिन्न विधामा गरी हालसम्म करिब आधा दर्जन पुस्तक प्रकाशन गरिसकेका छन् । उनले गनोटमा भन्दा स्तरीय र सारगर्भितातिर ध्यान दिने भएकाले पहिलो कृतिको निकै अन्तरालपछि २०४२ सालतिर केही प्रतिभा केही प्रवृत्ति नामक समालोचना सङ्ग्रह निकाले । त्यसपछिको उनको कृति २०६५ तिर भ्रष्टाचारको भाङ नामक व्यङ्ग्यात्मक निबन्ध थियो । बिस्तारै उनको ध्यान समालोचनातिरै आकृष्ट भएछ र २०६९ सालमा समको पौराणिक नाट्यकौशल र २०७० मा कर्मयोगी देवकोटा महाकाव्यको विश्लेषण नामक दुई समालोचनाका पुस्तक प्रकाशन गरे । समालोचनापछि हाल उनको पछिल्लो कृतिमा पृथक् बाटो नामक लघुकथासङ्ग्रह (२०७५) रहेको छ ।
विभिन्न सम्मान र पुरस्कारले सुशोभित भएका मैनालीले हालसम्म प्राप्त पदक र सम्मानको गनोट गर्दा सरकारी सेवाबापत प्राप्त जनपद सेवा पदक र दीर्घ सेवा पदकबाहेक रसुवा नागरिक सम्मान (२०६७), युगान्तर वर्ष साहित्य पुरस्कार (२०६८), बी.डी. त्यागी हिरक जयन्ती सम्मान (२०७१), भैरव प्रतिभा पुस्कार (२०७४), अनेसास सर्वोकृष्ट कथा पुरस्कार (सन् २०१९), खिल शर्मा राजीवलोचन सम्मान (२०७६) लगायत रहेको पाइन्छ ।
मैनालीका पहिलो प्रकाशित कृति मुर्दा बोल्यो कथासङ्ग्रहबाहेक अरू कृतिहरू पढ्ने मौका हालसालै जुरेको हो । उनका कृति अध्ययन गर्दै जाँदा अधिकांश लेखकहरूको भन्दा एउटा फरकखाले शैली, विशेषता र आफ्नै मौलिकता भएको मैले पाएँ । उनको लेखाइको स्तरीयता हेर्दा हामीजस्ता साधारण पाठकको दिमागले आलोचना, समालोचनामा भ्याउने कुरा हैन । यद्यपि, पढिसकेपछि केही लेख्ने जमर्को गर्न खोज्दै छु ।
भैरव पुरस्कार प्राप्त गर्न सफल भएको व्यङ्ग्यात्मक निबन्ध ‘भ्रष्टाचारको भाङ’ निक्कै स्तरीय रहेको छ । जम्मा ३८ शीर्षक र १३६ पृष्ठमा समेटिएर रहेको उक्त पुस्तकमा मैनालीजीले समाजमा रहेको विकृति र विसङ्गतिहरूलाई सूक्ष्म रूपमा केलाएर व्यङ्ग्यात्मक तरिकाले उजागर पारेका छन् । समाजदेखि बाहेक रहेका दृश्य अदृश्य शक्ति र तिनका गतिविधिका बारेमा समेत इङ्गित भएको उनको लेखाइ व्यङ्ग्य मात्र नभएर कतैकतै हास्य पनि रहेकाले हास्यव्यङ्ग्य हुन पुगेको देखिन्छ । जनजीवन र जनबोलीमा लेखिएको हास्यव्यङ्ग्य ‘भ्रष्टाचारको भाङ’ पाठकसामु लोकप्रिय बन्न पुग्यो ।
मैले अध्ययन गर्दा मैनालीजीको कलम अन्य विधाभन्दा बढी समालोचनातिर ढल्किएको पाएँ । उनको पहिलो समालोचना केही प्र्रतिभा केही प्रवृत्ति (२०४२) सालमा पहिलो प्रकाश भएको र २०६७ सालतिर दोस्रो पटक पनि प्रकाशन भएको रहेछ । यसमा भिन्नभिन्न साहित्यकारका कृतिहरूका बारेमा समालोचना गरिएको छ । जम्माजम्मी १० वटा शीर्षकमा विभाजित केही प्रतिभा केही प्रवृत्तिमा सायद मैनालीजीलाई मनपरेका अथवा उनको विचारमा उत्कृष्ट ठहरिएका १० जना लेखक र उनका कृतिका बारेमा समालोचना गरेका हुन् कि जस्तो मलाई लाग्यो ।
जसमध्ये पहिलो नम्बरमा बालकृष्ण सम र उनका नाटकहरूका विशेषताबारे प्रकाश पारिएको छ । समका विभिन्न नाटकहरूको समीक्षा गर्दै मैनालीजीले भनेका छन्, उनका नाटकहरू प्रयोगात्मक मूल्य र मान्यतामा आधारित हुनुको साथै पौराणिक र आधुनिकताको सम्मिश्रण बनाएर लेख्न सक्ने विशेषता सममा विद्यमान रहेको छ भन्दै आफ्नो विचार पनि पोखेका छन् । सरल भाषा शैलीमा उत्कृष्ट स्तरका उनका नाटक हुने भएकाले सम नै नेपालका पहिलो उत्कृष्ट नाटककार हुन् भनेर मैनालीजीले ठोकुवा गरेका छन् ।
मैनालीजीका अर्का मन परेका कवि हुन् महाकवि लक्ष्मीप्रसाद देवकोटा । कलावादी मान्यताभित्र देवकोटा भन्ने शीर्षकमा लेखिएको देवकेटाका केही कृतिहरूको चर्चा गर्दै भनेका छन्, “कला र मान्यताभित्र बसेर आधुनिकतालाई डो¥याउँदै लैजाने स्पष्टवादी कवि देवकोटा बराबरका अरू कोही छैनन् ।”
कवि सिद्धिचरण श्रेष्ठका बारेमा जीवनलाई हेर्ने दुई आयाम नामक शीर्षक दिएर मैनालीजीले आफ्नो विचार यसप्रकार व्यक्त गरेका छन्, “सिद्धिचरण युगीन मनोवेगलाई कवितात्मक ढङ्गबाट अथवा युगलाई कवितात्मक मूल्य मान्यता प्रदान गर्ने समकालीन कवि हुन् । सिद्धिचरणका कविताको विशेषताबारे समीक्षा गर्दै उनले मानवतावादी कविको उपनाम पनि दिएका छन् ।
मैनालीजीको अर्का प्रिय कवि हुन्– माधवप्रसाद घिमिरे । ‘गौरीभित्रको विरहव्यथा र माधव घिमिरे’ शीर्षकमा प्रस्तुत गरिएको उक्त समीक्षामा राष्ट्रकवि माधव घिमिरेज्यूका काव्यशैली र रचनाहरूको समीक्षाका साथै गौरी नामक शोककाव्यका बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका छन् । कसैको आँसु र विरहव्यथा कसैका लागि वरदान साबित हुन्छ भन्दै घिमिरेज्यूका पत्नीवियोगमा निस्किएका विरही काव्य पढ्नेहरूका लागि वरदान साबित भएको छ । घिमिरेज्यूका हृदयबाट निस्किएका काव्यरुपी आँसु पाठक साराको अमूल्य सम्पत्ति बन्यो र गौरी शोककाव्यलाई माध्यम बनाएर अरू कविता लेख्न खोज्नेले सिक्ने मौका पाए । कसैको शोक अरू कसैका लागि वरदान साबित हुन सक्दो रहेछ भन्दै आफ्नो विचार स्पष्ट पारेका छन् ।
लैनसिंह बाङदेलको उपन्यास मुलुक बाहिरले पनि मैनालीजीलाई हल्लाएको देखिन्छ । मुलुक बाहिर एक शाश्वत अनुभूति शीर्षक लिएर उपस्थित भएका उनले बाङदेलका औपन्यासिक विशेषताको बयान गर्दै उपन्यासमा हुनुपर्ने कला कौशल र भाषा, शैली मुलुक बाहिर नामक उपन्यासमा उत्कृष्ट रहेको बयान गरेका छन् ।
साहित्यकार विजय मल्लज्यूको भित्ते घडी नामक नाटक पनि मैनालीजीको सम्झनामा रहिरहेको देखिन्छ । ‘आस्वादन प्रत्यास्वादन भित्तेघडी र विजय मल्ल’ शीर्षक दिएर लेखेको समालोचनामा विजय मल्लको नाटकलाई राम्ररी केलाएका छन् । भित्तेघडी नाटकको निष्कर्षमा घडी चलिरहुन्जेल त्यसको अस्तित्व रहेजस्तै मान्छेको जीवन पनि बाँच्नु एक अस्तित्व बोध रहेछ भनेका छन् ।
रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती नामक उपन्यासको वस्तु यथार्थ’ शीर्षक राखेर गरिएको समीक्षामा मैनालीजीको कथनअनुसार उपन्यासको दायराभित्र रहेर पनि ऐतिहासिकता र जीवनको जीवन्त आर्जन गर्न सकिन्छ भन्ने कुरा विकलज्यूको अविरल बग्दछ इन्द्रावती उपन्यासले प्रमाणित गर्दछ भनी औँल्याएका छन् ।
मैनालीजीको अर्का जीवन्त स्रष्टाका रूपमा पारिजातलाई लिएका छन् । उनले पारिजातमा विद्यमान रहेका अद्वितीय गुणहरूलाई उजिल्याउँदै भनेका छन्– कुमारी पारिजात नारी मनोदार्शनिक, अद्वितीय प्रयोक्ता, सिद्धहस्त हस्ताक्षर हुन् । पारिजातको शिरीषको फूल नामक उपन्यासको समालोचनामा उनले प्रेम, यौवन, चिन्तन र विकृत दिमाग आदिको समिश्रणबाट सृजित एउटा उत्कृष्ट उपन्यास हो भनेका छन् ।
कवि धीरेन्द्र मल्लका कविताको समालोचना गर्दै मैनालीजीले उनका कविताको शिल्प, परिवेश र साहित्यिकताका बीचमा कवि धीरेन्द्र मल्लको सन्तुलनबारे विश्लेषण गरेका छन् ।
अर्का साहित्यकार गोपी मैनालीज्यूको अवसाद अभिनयी नामक प्रबन्धका बारेमा युवराज मैनालीको विचारमा अवसाद अभिनयी खालि प्रबन्ध मात्र नभएर एउटा आत्मा हो र आत्मास्वस्थापनता तथा तरलित विश्वासको नैबन्धित प्रयोग नै गोपी मैनालीको अवसाद अभिनयी हो भनेर समालोचना गरेका छन् ।
यसरी मैनालीजीको केही प्रतिभा केही प्रवृत्ति नामक समालोचना सङ्ग्रहमा १० जना साहित्यकारका समालोचना र उनका कृतिका बारेमा समीक्षा गरिएको छ ।
युवराज मैलालीजीको एकल पुस्तक समालोचनामा कर्मयोगी देवकोटा महाकाव्य विश्लेषण र समको पौराणिक नाट्यकौशल रहेका छन् । कवि श्रीहरि फुयाँलज्यूको कर्मयोगी देवकोटा महाकाव्य पढेर मैनालीजी यत्ति प्रभावित भएछन् कि समालोचनाको नाममा प्रत्येक १५ सर्गलाई केलाएर १०६ पृष्ठ लामो पुस्तक लेखेका रहेछन् । पुस्तकको पृष्ठभूमिमा कवि श्रीहरि फुयाँलज्यूका विभिन्न कृतिका बारेमा प्रकाश पार्दै कर्मयोगी देवकोटाका महाकाव्य र यस महाकाव्य अन्तर्गत उनले पाएका सम्मानको बयान गर्दै महाकाव्यतिरै फर्किएका देखिन्छन् । मैनालीजीले मिहीन ढङ्गले केलाएर पूरै महाकाव्यको समालोचना गर्दा पढ्ने पाठकले श्रीहरि फुयाँलज्यूकै पूरै महाकाव्य पढेजस्तै भान हुन्छ । यस मानेमा युवराज मैनालीजी धन्यवादको पात्र पनि देखिन्छन् जसले हामीलाई पूरा महाकाव्यको दर्शन गराए । मैले बुझेअनुसार फुयाँलज्यूको महाकाव्य जुनप्रकारले गएको छ उस्तै किसिमबाट मैनालीजीले सर्गसर्गको साथसाथै छुट्टाछुट्टै किसिमले आलोचनासहितको समालोचना गरेका छन् ।
महाकाव्यको प्रथम सर्गमा देवकोटाको कूल गोत्र खानदान र स्तुति गानका बारेमा लेखिएको रहेछ । यसै विषयलाई आधार बनाएर मैनालीजीले चार पृष्ठ लामो समालोचना गरेका छन् ।
दोस्रो र तेस्रो सर्गमा देवकोटाको जन्म, शरद ऋतु र शारदीय शोभाको वर्णन, उनको बाल्यकाल आदिका बारेमा वर्णन गरिएको रहेछ, उक्त काव्यश्लोक माथि केस्राकेस्रा केलाएर ४ देखि १२ पृष्ठसम्म लामो समालोचना गरिएको छ । यसैगरी मैनालीजीका अनुसार चौथो सर्गमा पूर्वोक्ति कुरालाई बढाएर काव्य लम्याएको भन्दै दुई पृष्ठमै समालोचना भ्याएका छन् अथवा ऋतुवर्णन र किशोरावस्थामा नै अल्झिरहेका भनी आलोचनासमेत गरेका छन् ।
पाँचौँ सर्गमा फुयाँलज्यूद्वारा वसन्त वर्णन र देवकोटाको विवाहउत्सव आदिका बारेमा वर्णन गरिएको रहेछ । यसका बारे २ पृष्ठसम्मको समालोचना गरिएको रहेछ भने छैटौँ सर्गदेखि आएर देवकोटाको जीवन सङ्घर्षको गाथा सुरुवात भएको रहेछ । साथै चुरोटको लत लागेको बयान छ । सातौँ सर्गमा देवकोटाको जन्मदाताका देहावसान, उनका सन्तानको क्रमशः जन्म, कामको बोझ आदि–इत्यादि हुँदाहुँदै पनि देवकोटालाई देशाटनको कार्य आइमिल्यो । गोसाइँकुण्डतिरको भ्रमणमा त्यस क्षेत्रतिर देखिएका रौनक अनि सौन्दर्यका बारेमा हर्षित हुँदै देवकोटाले लेखेका लेखहरूको प्रशंसासहित वर्णन फुयाँलज्यूले आफ्नो महाकाव्यमा गरेका रहेछन् । यसै काव्यगत बयानका आधारमा मैनालीजीले आफ्नो पुस्तकमा १७ देखि २५ सम्म जम्मा ९ पृष्ठ लामो समालोचना गरेका छन् ।
आठौँ र नवौँ सर्गमा फुयाँलज्यूले देवकोटाकालीन समय, परिस्थिति, समाजको रीतिथिति, अन्याय, झूट, असमान व्यवहार आदिका बीचमा पिसिएका देवकोटा र उनको संवेदनशील कविहृदय भावुक बन्दै यस्तो विसङ्गतिको विरुद्धमा लेख्न थालेको तर उनलाई कसैले नबुझेर समाजदेखि अलग्गै खाले उनको स्वभाव एकोहोरो पनालाई पागलको संज्ञा दिँदै राची पु¥याइयो । राचीमा युरोपियन डाक्टर बर्कले हिलले पागल नभएको घोषणा गरेका आदि–इत्यादि देवकोटाका असाधारण जीवनीमाथि लेखिएको महाकाव्य पढेका मैनालीजीले आफ्नो पुस्तकमा २६ देखि ३८ पृष्ठमा क्रमैसँग समालोचान गरेका छन् ।
दसौँ सर्गमा फुयाँलज्यूद्वारा देवकोटाको दयनीय अवस्था, छिटोसँग लेख्नसक्ने शैली, नयाँनयाँ शब्दको आविष्कार, अरू सबैको भन्दा नितान्त फरक विचार आदिका बारेमा बयान गर्दै सरकारले महाकविको उपाधि दिएकोसम्म बयान गरिएको रहेछ । मैनालीजीले दसौँ सर्गका एकएक श्लोकका पङ्क्ति उतारेर ३९ देखि ४४ सम्मका ६ पृष्ठ लामो समीक्षा गरेका छन् ।
सर्ग एघारौँमा आएर देवकोटाले आफूलाई भेडासँग दाजेको प्रसङ्गमा फुयाँलज्यूले देवकोटाको निरीह अवस्थाको वर्णन गरेका छन् । समाजले एउटा भेडालाई पालेर वयस्क भएपछि त्यसलाई काटेर छाला, मासु, हड्डी, ऊन आदि छुट्याएर विभिन्न किसिमबाट उपभोग गरेका हुन्छन्, उस्तै पाराले देवकोटालाई पनि पहुँचवाला व्यक्तिहरूले आ–आफ्नै तरिकाले लछारपछार पारेर अन्तिम अवस्थामा पु¥याए । यस्तो कारुणिक कथाव्यथालाई फुयाँलज्यूले सुन्दर काव्यमा ढालेकोमा मैनालीजीले ४५ देखि ५४ पृष्ठमा समेटेर समालोचना गरेका छन् ।
बाह्रौँ र तेह्रौँ सर्गमा प्रसङ्ग बदलेर देवकोटाको कलकत्ता, दार्जीलिङ आदि विभिन्न ठाउँमा भ्रमण गर्दा बटुलेका अनुभवका साथै बनारसमा बिरामी पर्दा असहाय अवस्थामा भोगेको अनुभूतिलाई समेटेर बनेको काव्यमा मैलालीजीले ‘मानवता हराएको मान्छे र सतिले सरापेको देश’ भनेर आफ्नै देशवासीको आलोचना गरेका छन् । सर्ग चौधौँ र पन्ध्रौँमा फुयाँलज्यूले देककोटाका कृति, देवकोटाले देखेका नेपाल, नेपालमा प्रजातन्त्रको कल्पना, चन्द्र छुने उद्देश्य आदि–इत्यादिको काव्यात्मक वर्णन गर्दै देवकोटाको इच्छाबमोजिम पशुपति आर्यघाटमा देहावशान हुन्छ । देवकोटाको पार्थिव शरीरलाई टुँडिखेलमा राखेर सारा नेपालीले श्रद्धाञ्जली गरेका थिए सम्मको बयान गर्दै महाकाव्यको अन्त्य गरेका छन् । मैनालीजीको भनाइमा अन्तिम सर्ग निक्कै लामो थियो । सायद बाँकी सबै कुरा समेट्नुपर्ने भएकाले पनि लामो बनेको होला ।
समालोचनाको अन्त्यमा पृष्ठ ९२ देखि अन्तिम पृष्ठ १०६ सम्म पूरै महाकाव्यको मोटामोटी सार खिचेर समालोचना गरेका छन् । यति लामो महाकाव्यको समालोचना गर्दागर्दै मैलालीजी काव्यमा यत्ति हराएजस्ता देखिन्छन् कि पढ्दापढ्दै काव्यकार श्रीहरि फुयाँललाई बिर्सिएर देवकोटाकै मुखबाट निस्किएका शब्द, देवकोटाले नै लेखेका हुन् जस्तै उनी आफै देवकोटामय बनेका देखिन्छन् । पुस्तकको अन्त्यतिर आएर उनले देवकोटाको जीवनमा घटित मुख्यमुख्य र अविस्मरणीय घटनाहरू लेख्न पनि छुटाएका छैनन् ।
युवराज मैलालीजीको अर्को एक्कल समालोचना समको पौराणिक नाट्य कौशल नामक समालोचना हो । २०६९ सालमा प्रकाशित उक्त पुस्तक ९६ पृष्ठ लामो रहेको छ । समका नाटक शैलीबाट प्रभावित भएका मैलालीजीले पौराणिक कथामा आधारित उनका नाटकहरूको समालोचनामा जम्मा ११ विधा छुट्याएका छन् ।
यसमध्ये पहिलो समालोचना ‘नेपाली नाटकको विकासक्रममा बालकृष्ण सम’ रहेको छ । यस विधामा मैनालीजीले पृष्ठ १७ देखि २५ सम्म लामो विश्लेषण गरेका छन् । नेपालमा भएको नाटकको सुरुवात र सुरुवाती अवस्था, ऐतिहासिक पृष्ठभूमिदेखि सम र उनका कृतिहरूको समालोचना गर्दै सबै किसिमका तथ्यहरू पाठकसामु उजागर गरेका छन् । उनले दिएको तथ्यगत आधारलाई हेर्दा नेपालमा नाटकको सुरुवात पूर्व कालमा जे जसो भए तापनि पृथ्वीनारायण शाहको पालादेखि खास नाटक लेखनको सुरुवात भएको मान्न सकिन्छ । सुरुवाती कालमा नाटकको स्वरूप परम्परावादी र यथास्थितिवादी थियो । समले परम्परालाई तोडेर नेपाली नाटकलाई आधुनिकतातिर तानेर लगेका हुन् । त्यसैले उनी नै नेपाली नाटकका सम्राट हुन् भनी मैनालीजीले समलाई नाटककारको सिंहासनमा बसाएका छन् ।
दोस्रो समालोचनामा आउँछ ‘नाटककार समको प्रमुख प्रवृत्ति’ यस विधालाई मैनालीजीले २७ देखि ३५ पृष्ठ छुट्याएका रहेछन् । उनको विचारमा समका नाटकहरू मनोरञ्जन प्रधान हुँदाहुँदै मनोवैज्ञानिकतिर गएका देखिन्छन् । उनको समालोचनामा समाजका आदर्श, मूल्यमान्यता र निष्कर्षलाई ध्यानमा राख्दै नाटक लेख्ने भएकाले समका नाटकहरू रङ्गमञ्चमा मञ्चन गर्दा सजिलो, सुपाच्य र सरल हुन्छ भनेका छन् ।
तेस्रो समालोचनामा ‘प्रह्लादको कथासार समीक्षात्मक रूपमा’ यसका लागि ३५ देखि ४५ पृष्ठसम्म लामो कथनमा मैनालीजीले पौराणिक कथामा आधारित समले लेखेका प्रह्लाद नाटक, प्रह्लादको मुख्य पात्र परिचयदेखि कथावस्तुको पृष्ठभूमिसम्म विवेचना गर्दै प्रह्लाद नाटकको पूरै समीक्षा पनि यसै शीर्षकमा गरेका छन् ।
अर्को समालोचना ‘प्रह्लादमा प्रतिविम्बित सम’ ४६ देखि ५४ पृष्ठ लामो समालोचनामा मैनालीजीले समको नाट्यकौशलताको बयान गर्दै धार्मिक प्रवृत्ति र सामाजिक परम्परालाई आधार मान्दै आधुनिकतातिर ढल्किएकाले पढ्दा अथवा मञ्चन गर्दा रोचक हुन्छ भनेका छन् ।
यसै गरी अर्को समालोचना ‘प्रह्लादमा परिलक्षित मानव र उसको अन्तरतŒव’ ५६ देखि ६० पृष्ठमा समेटिएको यस विधामा प्रह्लादलाई प्रतीक बनाएर लेखिएको मानव स्वभाबका बारेमा लक्ष्य गरिएको कुरामा मैनालीजीले स्पष्टसँग समालोचना गरेका छन् ।
यसैगरी ‘रङ्गमञ्चीय दृष्टिकोणमा प्रह्लाद’ यो विधाका लागि मैनालीजीले ६१ देखि ६८ पृष्ठ छुट्याएका रहेछन् । मैनालीजीको विचारमा नाटक भनेको रङ्गमञ्चमा मञ्चन गर्नकै लागि हुन्छ । समको प्रह्लाद नाटक जुनसुकै दृष्टिबाट हेर्दा पनि र जस्तोसुकै अवस्थामा पनि रङ्गमञ्चमा मञ्चन गर्न योग्य छ भन्दै समालोचना गरेका छन् ।
‘नाटकीय तŒवका आधारमा प्रह्लाद’ ६९ देखि ७९ पृष्ठमा समेटिएको यो विधा नाटकका तŒव र आधारहरूका बारेमा विवेचना गरिएको छ । संसार एक रङ्गमञ्च हो, हामी सबै नरनारी यसका पात्र हौँ भन्दै सुरु गरेका समालोचक मैनालीजी यो विधामा अलि दार्शनिक भएजस्ता देखिन्छन् । समका नाटक लेखनका विशेषताहरूमा विषयवस्तु छनोटदेखि त्यसको संवाद शैली, अभिनयकला, कालगत सापेक्षतासम्मलाई विचार पु¥याएर लेखिने हुँदा उनको नाटकबाट मैनालीजी निक्कै प्रभावित भएका देखिन्छन् ।
‘पौराणिक नाटक ध्रुव र प्रह्लादको तुलनात्मक विवेचना’ मा मैनालीजीको विचारमा नाटक राम्रो बन्नका लागि, कथावस्तु, पात्र, संवादका साथै सशक्त द्वन्द्वात्मक परिवेश पनि आवश्यक हुन्छ । ध्रुव र प्रह्लाद दुवै पौराणिक कथामा आधारित नाटक हुन् । दुवैको लक्ष्य पनि एकै किसिमको हुन्छ । बाल्यकामा भक्तिमार्गद्वारा ईश्वर प्राप्ति, तर पनि तुलनात्मक दृष्टिले हेर्दा धु्रवमा संवाद र द्वन्द्व झिनो रूपमा आएको छ भने प्रह्लादमा धेरै किसिमका पात्र, संवाद अनि कौतूहलपूर्ण द्वन्द्वले नाटकलाई उत्कृष्ट बनाएको छ ।
अन्तिममा आएर ‘नाटककार सममा देखिएका नाटकीय दोष’ आफ्ना नाटकलाई सशक्त रूपले उत्कृष्ट पार्न जुनसुकै लेखकले कथावस्तुभन्दा बाहिर गएर कृत्रिम पात्रहरू खडा गर्दै रोचक संवाद पनि घुसाएका हुन्छन्, मैनालीजीको सूक्ष्म नजरले समलाई पनि यस मानेमा अछुतो देखेन । समका नाटक शैलीबाट प्रभावित हुँदाहुँदै पनि उनले थोरै समको आलोचना गर्न भ्याएका छन् । यसरी ९६ पृष्ठ भएको समको पौराणिक नाट्यकौशल नामक समालोचानमा मैनालीजीले पाठकलाई प्रह्लाद नाटकभित्र पूरै विचरण गराएर समापन गरेका छन् ।
अध्ययनशील स्वभाव भएका साहित्यकार तथा समालोचक युवराज मैनाली कार्यालयको कामबाहेकका समय आफूलाई मन परेका पुस्तक खोजेर अध्ययन गर्ने गर्दारहेछन् । पुस्तक अध्ययन धेरैले गर्छन्, मौखिक टिकाटिप्पणी पनि गरेकै हुन्छन् तर मैनालीजीले जत्तिकै गहिरिएर अध्ययन गरेर मन परेका लेखक र पुस्तकको सामग्री केलाएर समीक्षा–समालोचना गर्ने विरलै हुन्छन् होला ! पढेको पुस्तकको समीक्षा गर्ने उनको कार्य सराहनीय लाग्यो । अझै धेरै राम्रा पुस्तकहरूको अध्ययन गर्दै समालोचना गर्ने ऊर्जा उनलाई सधैँ मिलिरहोस् ।

विशालनगर, काठमाडौँ

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 22 भाद्र, 2077

लेखकका अन्य रचनाहरु