आसन, भासन र शासन

- राजेन्द्र पहाडी

आसन, भासन र शासन उनको अन्तरहृदयदेखिको चाहना हो । उनी जुन जुन कार्यक्रममा पुग्दछन्, आयोजकहरुले आसन ग्रहण गराएकै हुनुपर्दछ । यदि आसन ग्रहण गराउने सम्भावना देखिएन वा गराइएन भने उनले कार्यक्रम सञ्चालकलाई आफूलाई आसन ग्रहण गराउनका लागि चीट नै लेखेर दिन्छन् । यतिमात्र कहाँ हो र नाम मात्रका भएपनि कम्तीमा एक दर्जन पदीय जिम्मेवारीमा रहेको फेहरिस्त पनि सञ्चालकको हातमा पुग्छ । उनलाई सञ्चालकले आसन ग्रहण गराएर मात्र पुग्दैन, उनका सबै पदीय जिम्मेवारी पनि क्रमशः पढिदिनै पर्छ । यदि आसन ग्रहण गराइएन वा दिइएका सबै पद सही सलामत उच्चारण गरेर सुनाइएन भने उनी भन्कँदै सभास्थलबाट बाहिरिन्छन् । (आयोजक आफूलाई सुरक्षित महशुष गर्छ–कुचोले बढार्नुपर्ने हावाले लगिदिएकोमा)
ल मानौं, उनले दिएको चीट अनुसार नै सञ्चालकले आसन ग्रहण गराएछन् । अब पालो आयो उनको भाषणको । उनीसँग खास सरोकार नभएको, उनको दक्षताको क्षेत्र नभएको वा उनलाई मन्तव्य राख्न दिने कुनै तयारी नगरिएको कार्यक्रममा पनि उनलाई आयोजकले बोल्न दिनै पर्दछ । नभए कहीँ न कहीँ गएर कार्यक्रम बिथोलिने कुरामा कुनै शंका नै हुँदैन । किनभने कार्यक्रम चलिरहेकै अवस्थामा उनले आफूलाई भाषण गर्न नदिएको बहानामा लफडाबाजी निकालिहाल्छन् । आयोजक बाध्य भएर उनलाई दुई मिनेटभित्र आफ्नो भनाई राख्न अनुरोध गर्दै समय उपलब्ध गराउँछ । (रहरले होइन, कहरले–मूर्खदेखि दैव डराउँछ)
जब उनी माइक्रोफोन अघि पुग्छन्, तब सुरु हुन्छ अर्को रमाइलो । कार्यक्रम सञ्चालकले उपलब्ध गराएको दुई मिनेटको त के कुरा, कम्तीमा २० मिनेटमा उनको भनाई टुङ्गिए ठूलै उपलब्धी हुन्थ्यो । चाकडी चाप्लुसीका अनेकानेक फतुर फुर्कासहितको सम्बोधनमा पाँच मिनेट, कार्यक्रमको ब्यानरतिर फर्केर ब्यानरमा लेखिएको कुरा कनिकुथि उच्चारण गर्दै व्याख्या गर्न र आयोजकले आफूलाई सुरुमा आसन ग्रहण नगराएको र बोल्न पनि समय उपलब्ध नगराएको गुनासोका लागि १० मिनेट र आफूले गरेका कथित सेवाक्षेत्रका काम र आफ्ना बारेमा बखान गर्न कम्तीमा पाँच मिनेट बताउँदा बताउँदै २० मिनेटको समय पनि कम्ति नै हुन्छ । सञ्चालकले भनाई टुङ्ग्याउन अनुनयसहितको चीट नथमाएसम्म व्यक्तिगत चर्चाको उत्कर्ष जारी नै रहन्छ । ‘बक्ताको रुपमा बोलाएपछि आफ्ना कुरा त राख्न दिनुपर्छ नी, बीचैमा चीट दिने ? सञ्चालकको सभ्यता भएन है ।’ उनकै धम्कीपूर्ण अभिव्यक्ति । (जो चोर–उसकै ठूलो श्वर)
उनी कसरी अरुमाथि शासन चलाउँछन् भन्ने कुरा त अघिल्ला प्रसङ्गबाट प्रष्ट नै भैसकेको छ । कहिलै कार्यक्रम स्थलमा समयमा पुगेको रेकर्ड नै छैन उनको । आयोजकलाई कार्यक्रम सुरु भएपछि आफूलाई खबर गर्न आदेश फर्माउँछन् । घरका सदस्य वा बाटोमा भेटिने जो कोहीसँग लिफ्ट मागेर ढिलो गरी कार्यक्रममा पुग्छन् । कार्यक्रमस्थलमा पुगेपछिको केही झलक त माथि नै आइसकेको छ । आफू बोलेपछि अरुका विचार सुन्दैनन्, लुसुक्क सभास्थलबाट बाहिरिन्छन् । उनी आफूलाई महान अभियन्ता, राजनीतिज्ञ, पत्रकार, साहित्यकार, समाजसेवी, व्यवसायीसहित यस्तै थुप्रै विशेषण जोडेर दावी प्रस्तुत गर्दछन् । उनको सोचाइमा उनका यी कथित दावीहरुलाई बाँकी दुनियाले निशर्त मानिदिनुपर्दछ । साँझ परेपछि स्थानीय पत्रकारलाई फोन गरेर आजको कार्यक्रममा आफूले बोलेका कुरालाई प्राथमिकता दिएर समाचार बनाउन, प्रकाशन गर्न र प्रशारण गर्नका लागि अनुरोध कम आदेश बढी दिन्छन् । उनको अरुमाथि शासन चलाउने शैली हो यो ।
आसन, भासन र शासनका लागि आशक्त उनलाई धेरैले चिन्दछन् । (चिन्नेहरुले नामथर थप्न सक्ने सुविधा उपलब्ध गराइएको छ ।) उनी अर्थात् श्रीमती ............ । उनी अर्थात् श्रीमान् ............ । उनी अर्थात् सुश्री .............. । उनी अर्थात् श्री .............. ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 21 भाद्र, 2077

लेखकका अन्य रचनाहरु