वर्षा कवितामा स्वच्छन्दतावादी चिन्तन

- नवराज पौडेल

लेखसार
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचना गरिएको ‘वर्षा’ मन्दाक्रान्ता छन्दमा रहेको पद्य कविता हो । स्वच्छन्दतावादका मान्यताहरूमध्ये वैयक्तिकता, काल्पनिकता, विद्रोहात्मकता, भावुकता, प्रकृतिप्रेम, सौन्दर्यात्मकता, अद्भूतता, कृत्रिमताबाट मुक्ति र मानवतावादी दृष्टिकोणका आधारमा विश्लेषण गर्नु यस अध्ययनको उद्देश्य रहेको छ । यस लेखका लागि पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरी पाठ विश्लेषण विधिबाट सामग्री विश्लेषण गरिएको छ । यस लेखमा सैद्धान्तिक पर्याधारका रूपमा स्वच्छन्दतावादको चर्चा गर्दै यसका मान्यताहरू वैयक्तिकता, काल्पनिकता, विद्रोहात्मकता, भावुकता, प्रकृतिप्रेम, सौन्दर्यात्मकता, अद्भूतता, कृत्रिमताबाट मुक्ति र मानवतावादी दृष्टिकोणलाई अलगअलग उपशीर्षक बनाई तत्तत् मान्यताका सापेक्षतामा ‘वर्षा’ कविताको विश्लेषण गरिएको छ । प्रस्तुत कवितामा प्रकृतिलाई मानवीकरण गरी त्यसको विशद् महिमा गाइएकाले यहाँ स्वच्छन्दतावादी विश्वदृष्टि पाइन्छ । प्रकृतिप्रेम, काल्पनिकता, भावुकता, सौन्दर्यात्मकता, वैयक्तिकता, अदुभुतता र मानवतावादी दृष्टिकोणको बलियो उपस्थिति रहेको हुनाले ‘वर्षा’ कवितामा स्वच्छन्दतावाद प्रबल रहेको निष्कर्ष निकालिएको छ ।
मुख्य पदहरूः वैयक्तिकता, काल्पनिकता, विद्रोहात्मकता, भावुकता, प्रकृतिप्रेम, सौन्दर्यात्मकता, अद्भूतता, कृत्रिमताबाट मुक्ति, मानवतावादी दृष्टिकोण ।
१. विषयपरिचय
‘वर्षा’ कविता लक्ष्मीप्रसाद देवकोटाले रचना गरेका हुन् । देवकोटाको जन्म वि.सं. १९६६ कार्तिक २७ गते लक्ष्मीपूजाको दिन काठमाडौँको डिल्लीबजारमा भएको हो । यिनी नेपाली साहित्यका महाकविका रूपमा प्रसिद्ध छन् । देवकोटाले नेपाली साहित्यका कविता, कथा, नाटक र निबन्ध विधामा कलम चलाएका देखिन्छन् । यिनका नेपाली साहित्यमा कविता विधामा शाकुन्तल, सुलोचना, वनकुसुम, महाराणा प्रताप, पृथ्वीराज चौहान र प्रमिथस महाकाव्य तथा मुनामदन, लुनी, कुञ्जिनी, सृजामाता, वसन्ती, मैना, सुन्दरी जर्पिना, म्हेन्दु, सीताहरण आदि खण्डकाव्य र लक्ष्मी कविता सङ्ग्रह, भिखारी, सुनको विहान, छहरा, आकाश बोल्छ आदि कविता सङ्ग्रहहरू प्रकाशित भएका देखिन्छन् । देवकोटाले कविताका अतिरिक्त निबन्ध, कथा र उपन्यास विधामा पनि कलम चलाएको देखिन्छ । देवकोटाको गोरखापत्रमा प्रकाशित ‘पूर्णिमाको जलधि’ (१९९१) शीर्षकको कवितालाई पहिलो प्रकाशित स्वच्छन्दतावादी कविता मानिन्छ (ढुङ्गेल र दाहाल, २०७४, पृ. २५३) । देवकोटाका अन्य स्वच्छन्दतावादी काव्यकृतिहरूमा गाइन तिनले घँसिया गीत (१९९२), मुनामदन (१९९२), घाँसी (१९९५), सन्ध्या (१९९६), वन (१९९७), कुञ्जिनी (२००२), सुलोचना (२०२०), शाकुन्तल (२००२), राजकुमार प्रभाकर (१९९७) आदि रहेका छन् । नेपाली साहित्याकाशका एक मुर्धन्य नक्षत्र मानिने देवकोटाको क्यान्सर रोगका कारण वि.सं. २०१६ मा निधन भयो ।
मन्दाक्रान्ता छन्दमा रहेको ‘वर्षा’ कविता प्रकृतिको जीवन्त चित्रण गरिएको देवकोटाको एक उत्कृष्ट फुटकर कविता हो । आठ श्लोक र ३२ पाउमा संरचित यस कवितामा प्रकृतिलाई मानवीकरण गरी प्रकृतिले गर्ने लीलाहरूको कल्पना गर्ने क्रममा जीव र वनस्पतिका लागि वर्षाको महत्त्वलाई प्रस्ट्याइएको छ । बादल, वर्षा, समुद्र, पृथ्वी, बोटबिरुवाका हाँगा र जरा, चरा, कमिला आदिमाथि मानवजनित क्रियाकलापहरूको आरोप गर्दै प्राकृतिक सौन्दर्यको कलात्मक वर्णन गरिएकाले विवेच्य कवितामा स्वच्छन्दतावादी विश्वदृष्टि प्रबल रहेको देखिन्छ । यस लेखमा प्रस्तुत कवितालाई स्वच्छन्दतावादी मान्यताका आधारमा विश्लेषण गरिएको छ । स्वच्छन्दतावादी चिन्तनले मानिसलाई भौतिक जगत्भन्दा टाढा पु¥याएर आत्मानन्द दिन चाहन्छ । स्वच्छन्दतावादीहरूमा नियम वा परम्परालाई उल्लङ्घनमा रुचि राख्ने, यथार्थ वा समाजप्रति विरोध गर्ने, अनियन्त्रित भावनाहरूमा विचरण गराउने, वस्तुहरूलाई वैयक्तिक दृष्टिले हेर्ने जस्ता प्रवृत्ति पाइन्छन् (ढुङ्गेल र दाहाल, २०७४, पृ. २४२) । यसरी विवेच्य कविताले शिल्पगत साजसज्जा र कल्पनामाथिको बौद्धिक लगामजस्ता परिष्कारवादी मान्यतालाई उपेक्षा गर्दै प्रकृति चित्रण, हार्दिकता, काल्पनिकता, अद्भुतता, मानवतावादी दृष्टिकोणजस्ता स्वच्छन्दतावादी मान्यताहरूलाई अँगालेको हुनाले यस लेखमा यिनै स्वच्छन्दतावादी विश्वदृष्टिका आधारमा प्रस्तुत कविताको विवेचना गरिएको छ । सामग्री सङ्कलनका लागि पुस्तकालयीय कार्य विधि अवलम्बन गरिएको छ भने सामग्री विश्लेषणका लागि पाठविश्लेषण विधि उपयोग गरिएको छ । साहित्यानुरागी पाठक, साहित्य र समालोचनाका विद्यार्थी एवम् शिक्षक तथा सम्बद्ध क्षेत्रका शोधार्थीहरूका लागि यो लेख उपयोगी हुनेछ । यस लेखमा शीर्षक, शोधसार, मुख्य पदहरू, विषयपरिचय, अध्ययनको उद्देश्य, अध्ययन विधि, सैद्धान्तिक पर्याधार, सामग्री विश्लेषण, निष्कर्ष र सन्दर्भसामग्रीको सूची स्तम्भहरू रहेका छन् । सामग्री विश्लेषण स्तम्भभित्र उपशीर्षक सिर्जना गरी स्वच्छन्दतावादका मान्यताहरू वैयक्तिकता, काल्पनिकता, विद्रोहात्मकता, भावुकता, प्रकृतिप्रेम, सौन्दर्यात्मकता, अद्भूतता, कृत्रिमताबाट मुक्ति र मानवतावादी दृष्टिकोणका सापेक्षतामा विवेच्य कविताको विश्लेषण गरिएको छ ।
२. अध्ययनको उद्देश्य
स्वच्छन्दतावादी विश्वदृष्टि यस लेखको अध्ययनक्षेत्र हो । नेपाली कवितासाहित्यमा स्वच्छन्दतावादी धाराका केन्द्रीय कविका रूपमा स्थापित देवकोटाको ‘वर्षा’ कवितामा वैयक्तिकता, काल्पनिकता, प्रकृतिप्रेम, सौन्दर्यात्मकता आदि प्रवृत्ति पाइन्छन् । त्यसर्थ स्वच्छन्दतावादका मान्यताहरूमध्ये वैयक्तिकता, काल्पनिकता, विद्रोहात्मकता, भावुकता, प्रकृतिप्रेम, सौन्दर्यात्मकता, अद्भूतता, कृत्रिमताबाट मुक्ति र मानवतावादी दृष्टिकोणका आधारमा ‘वर्षा’ कविताको कृति विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ ।
३. अध्ययन विधि
प्रस्तुत लेखका लागि प्राथमिक सामग्रीका रूपमा लक्ष्मीप्रसाद देवकोटाको विवेच्य कविता ‘वर्षा’ रहेको छ भने सामग्री सङ्कलनका द्वितीय स्रोतअन्तर्गत विषयसम्बद्ध पुस्तक, अनुसन्धानात्मक लेख, पत्रपत्रिका तथा अनलाइनमाध्यमबाट उपलब्ध अनुसन्धानमूलक लेखहरू रहेका छन् । सामग्री विश्लेषणका लागि आवश्यकताअनुसार आगमनात्मक र निगमनात्मक दुवै पद्धतिको उपयोग गरिएको छ भने सामग्री विश्लेषणका क्रममा पाठ विश्लेषण विधिबाट अर्थापन गरिएको छ । पाठ विश्लेषणको आधार स्वच्छन्दतावादी चिन्तन रहेकाले सामग्री विश्लेषण शीर्षकभित्र वैयक्तिकता, काल्पनिकता, विद्रोहात्मकता, भावुकता, प्रकृतिप्रेम, सौन्दर्यात्मकता, अद्भूतता, कृत्रिमताबाट मुक्ति र मानवतावादी दृष्टिकोण उपशीर्षकमा विवेच्य कविताको विश्लेषण गरिएको छ । विश्लेषणका क्रममा आवश्यकता अनुसार साक्ष्यका रूपमा ‘वर्षा’ कविता र अन्य सैद्धान्तिक सन्दर्भहरूका उद्धरणको उपयोग गरिएको छ । प्रस्तुत लेखमा सान्दर्भिक उद्धरण र तर्कहरूद्वारा दाबीलाई पुष्टि गरिएको छ ।
४. सैद्धान्तिक पर्याधार
‘स्वच्छन्दतावाद’ अङ्ग्रेजी शब्द ‘रोमान्टिसिज्म’को नेपाली रूपान्तरण हो । साहित्यका क्षेत्रमा यसको प्रथम प्रयोग जर्मनबाट भएको मानिन्छ । एउटा काव्यप्रवृत्ति वा वादका रूपमा रोमान्टिक शब्दलाई सर्वप्रथम जर्मन समालोचक फ्रेड्रिक स्लेगलले गरेका हुन् (ढुङ्गेल र दाहाल, २०७४, पृ. २४१) । उनले लय र भिन्नताका कारण उत्पन्न विविधतायुक्त नयाँ साहित्यलाई स्वच्छन्दतावादी साहित्य मानेको पाइन्छ । स्वच्छन्दतावाद अठारौँ शताब्दीको उत्तराद्र्ध दशक तथा उन्नाईसाँै शताब्दीको पूर्वाद्धमा नवशास्त्रवादद्वारा जकडिएको काव्य नियमहरूको विद्रोह स्वरूप युरोपमा प्रारम्भ भएको साहित्य चिन्तन मानिन्छ (पृ. २४१) । सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिबाट उत्पन्न विचारहरूबाट स्वच्छन्दतावादको पृष्ठभूमि तयार भएको मानिन्छ । दुःखवादबाट प्रभावित देखिएको यस चिन्तनले मानिसलाई भौतिक जगत्भन्दा टाढा पु¥याएर आत्मानन्द दिन चाहन्छ । कल्पनाको प्राचुर्यता पाइने स्वच्छन्दतावादमा कविले काव्यलाई व्यक्तिपरक दृष्टिकोणबाट हेर्छन् ।
स्वच्छन्दतावादलाई फ्रेडरिक स्लेगलले ‘भावपूर्ण विषयवस्तुको कल्पनाप्रधान रूप’ भनेर अथ्र्याएका छन् (शर्मा र लुइटेल, २०७२, पृ. २८१) । वाल्टरपेटरले ‘अद्भूत र सुन्दरताको भव्य मिश्रण स्वच्छन्दतावाद हो’ भनेका छन् भने एवरक्रम्बेले ‘बाह्य अनुभवबाट आन्तरिक अनुभूतितर्फको प्रयाण स्वच्छन्दतावाद हो’ भनेका छन् (स्वच्छन्दतावाद, सन् २०१५) । वर्डस वर्थले लिरिकल ब्यालेड (सन् १७९८) को भूमिकामा नवपरिष्कारवादी मान्यताको विरोध गर्दै जनसाधारणको बोलचालको भाषा, वैयक्तिक अकृत्रिम अनुभूति, मानव र प्रकृतिबीचको असीम सम्बन्ध, रूढ मान्यता र बन्धनको त्याग, मानवताप्रति प्रगाढ आस्था, अभिव्यक्तिमा सहजता र आत्मपरकताजस्ता पक्षलाई स्वच्छन्दतावादी मान्यता भएको उद्घोष गरेका देखिन्छन् (गैरे, २०६८, पृ. १३२) । माथिका धारणालाई हेर्दा रूपगत एवम् शिल्पगत साजसज्जालाई बेवास्ता गर्ने, परम्परागत शास्त्रीय मूल्यमान्यता नस्वीकार्ने, वस्तुगत यथार्थभन्दा काल्पनिकतामा विश्वास गर्ने, बद्धतामा भन्दा मुक्ततामा रुचि राख्ने, स्थिरतालाई नभई तरलतालाई आत्मसात् गर्ने, प्रकृतिप्रेम, भावुकता, विद्रोहात्मकता र मानवतावादी दृष्टिकोणको अनुसरण गर्ने दार्शनिक सिद्धान्तका रूपमा यस वादलाई चिनाउन सकिन्छ । स्वच्छन्दतावादमा जर्मन आत्मवादी तथा भाववादी दर्शन, फ्रान्सेली क्रान्ति, अमेरिकाको गृहयुद्ध, बेलायतको औद्योगिक क्रान्ति आदिको गहिरो प्रभाव परेको देखिन्छ ।
पाश्चात्य साहित्य जगत्मा सन् १७९८ देखि १८३० सम्म सक्रिय देखिएको स्वच्छन्दतावादको समयावधिलाई पूर्वस्वच्छन्दतावादी युग र स्वच्छन्दतावादी पुनस्थापनाको युग गरी दुई चरणमा विभाजन गरिएको देखिन्छ ( शर्मा र लुइटेल, २०७२, पृ. २८४) । पुनर्जागरणकालअन्तर्गत अठारौँ शताब्दीको मध्यतिर अङ्ग्रेजी कवितामा पूर्वस्वच्छन्दतावादी प्रवृत्ति देखिएको पाइन्छ । स्वच्छन्दतावादी पुनस्थापनाको युगको यस चरणलाई स्वच्छन्दतावादको वास्तविक समय मानिन्छ । लिरिकल ब्यालेड (सन् १९७८) को दोस्रो संस्करणको भूमिकालाई स्वच्छन्दतावादको घोषणापत्र मानिने भएकाले साहित्यमा स्वच्छन्दतावादको स्थापना यसै कृतिबाट भएको मानिन्छ ।
शर्मा र लुइटेल (२०७२) का अनुसार स्वच्छन्दतावादका प्रमुख मान्यता र प्रवृत्तिहरू निम्न रहेका छन्ः
वैयक्तिकता
स्वच्छन्दतावादीहरू निजी रुचि, व्यक्तिवादी दृष्टि तथा स्वकीय भावना र आत्मपक्षलाई बढी महत्व दिन्छन् । यिनका रचनामा सामाजिक विवेक, तर्क तथा आदर्शले ठाउँ पाएको हुँदैन ।
काल्पनिकता
स्वच्छन्दतावादीहरू वास्तविक वा यथार्थ जगत्बाट पलायन भई टाढै रहेर कल्पनाको लोकमा विचरण गरी रमाउन रुचाउँछन् । यिनीहरू कल्पनाको प्रक्रियालाई आनन्ददायक र यसको अभावलाई विषादपूर्ण मान्छन् ।
विद्रोहात्मकता
फ्रान्सेली राज्यक्रान्तिजस्तो सशक्त विद्रोहबाट प्रभावित भएर तथा परिष्कारवादको घोर विरोधी भएर जन्मिएको हुँदा विद्रोहात्मकता स्वच्छन्दतावादको एक मूल प्रवृत्ति मानिन्छ । यसले बुद्धिवाद, आभिजात्य विषय, व्यक्ति, परम्परा, शास्त्रीयता आदिको विरोध गरी सामान्य विषयलाई स्वीकारेको पाइन्छ ।
भावुकता
स्वच्छन्दतावादले तार्किकतालाई बलात् गरिएको विचार र भावनालाई साहचर्यद्वारा मानवहृदयको उद्घाटन ठान्ने भएकाले यसले तर्कभन्दा बढी भावना र आवेगलाई महत्त्व दिन्छ ।
प्रकृतिप्रेम
स्वच्छन्दतावादीहरूले प्रकृतिलाई जड रूपमा नहेरी जीवितका रूपमा हेर्दै त्यसलाई सखी, सहचरी, माता, शिक्षिका, प्रेमिका, संरक्षिका एवम् ईश्वरीय सत्ताका रूपमा हेरेको देखिन्छ । यिनीहरूले प्रकृतिको अङ्गप्रत्यङ्गको मात्र चित्रण नगरी त्यसलाई भावनापूर्ण, मुक्त तथा सजीव रूपमा चित्रण गर्न रुचाउँछन् ।
सौन्दर्यात्मकता
सौन्दर्यप्रति विशेष आकर्षण, जिज्ञासा, तथा लगाउ स्वच्छन्दतावादको खास मान्यता मानिन्छ । यिनीहरू कृतिको कृतिको अवयवमा सङ्गठन र अनुपात, त्यसमा रङ, क्रान्ति र आकारको आकर्षण तथा समग्रमा मनोरम रूपलाई सौन्दर्य मान्छन् । यिनीहरू प्रकृतिलाई अनुपम सौन्दर्यमय देख्छन् र यसको चारैतिर सौन्दर्य छरिएको पाउँछन् ।
अद्भूतता
स्वच्छन्दतावादीहरूले अतिमानवीय तत्त्वको यान्त्रिकता र भद्दापनलाई पन्छाएर अद्भुतताको स्वाभाविक र आकर्षक रूप प्रस्तुत गरेको पाइन्छ । यिनीहरूद्वारा आत्मसात् गरिएको अद्भुतता रचनालाई प्रभावशाली बनाउने साङ्कतिक वस्तु बनेको देखिन्छ ।
कृत्रिमताबाट मुक्ति
सामाजिक रूढि, परम्परा, मर्यादा, नैतिकतालगायतका कृत्रिम बन्धनहरूबाट मुक्ति स्वच्छन्दतावादको महत्त्वपूर्ण मान्यता रहेको देखिन्छ । यिनीहरूले मिथ्या अहङ्कार र दम्भबाट मुक्त भएर प्राकृतिक शब्दहरूमा आफ्ना भावहरूलाई अभिव्यक्त गर्छन् ।
मध्ययुगोन्मुख
स्वच्छन्दतावादले मध्ययुगीन रोमानी प्रवृत्तिलाई बढी महत्त्व दिएको छ (शर्मा र लुइटेल, २०७२, पृ. २८८) । यसलें नियमबद्धता, बौद्धिकता, शास्त्रीयता, तार्किकतालगायतको परित्याग गरी सहजातवृत्ति, भावुकता तथा स्वप्निलतालाई अँगालेको पाइने हुनाले यसले मध्ययुगतिर उन्मुख हुने प्रवृत्ति देखाउँछ ।
सङ्गीतात्मकता
स्वच्छन्दतावादी रचनामा सुखदुःखका रागमय उद्गारहरूको निष्कपट र निर्बाध अभिव्यक्ति पाइने हुँदा यो सङ्गीतमय हुन्छ । यिनीहरू भावमयता, सहजता तथा स्वतःस्फुर्ततालाई महत्त्व दिन्छन् ।
मानवतावादी दृष्टिकोण
रुसोको समानतावादी, स्वतन्त्रता र भ्रातृत्वसम्बन्धी मानवतावादी विचारका प्रभावस्वरूप स्वच्छन्दतावादमा मानवतावादी दृष्टिकोण विकसित भएको देखिन्छ । त्यसकारण स्वच्छन्दतावादीहरूले आफ्ना रचनामा पीडित र दुःखीप्रति सहानुभूति प्रकट गरेको पाइन्छ ।
यस लेखमा यी मान्यताहरूमध्ये वैयक्तिकता, काल्पनिकता, विद्रोहात्मकता, भावुकता, प्रकृतिप्रेम, सौन्दर्यात्मकता, अद्भूतता, कृत्रिमताबाट मुक्ति र मानवतावादी दृष्टिकोणका सापेक्षतामा लक्ष्मीप्रसाद देवकोटाको ‘वर्षा’ कविताको विश्लेषण गरिएको छ ।
५. ‘वर्षा’ कविताको विश्लेषण
लक्ष्मीप्रसाद देवकोटाद्वारा विरचित ‘वर्षा’ कविता प्राकृतिक सौन्दर्यको कलात्मक वर्णन गरिएको कल्पनाप्रधान कविता रहेको छ । यस कवितामा विद्रोह, भावुकता र मानवतावादी चेतजस्ता प्रवृत्तिहरूको उपस्थिति पाइन्छ । ‘वर्षा’ कवितामा अन्तर्निहित यिनै अभिलक्षणका सापेक्षतामा यस लेखको सैद्धान्तिक पर्याधार खण्डमा आएका स्वच्छन्दतावादका मान्यता तथा प्रवृत्तिहरूलाई आधार मानेर विवेच्य कविताको विश्लेषण गरिएको छ ।
५.१ वैयक्तिकता
सामाजिक मूल्यमान्यताबाट पर रहेर ‘स्व’को प्रकटीकरण हुनु व्यैयक्तिकता हो । स्वच्छन्दतावादीहरू निजी रुचि, व्यक्तिवादी दृष्टि तथा स्वकीय भावना र आत्मपक्षलाई बढी महत्त्व दिन्छन् (शर्मा र लुइटेल, २०७२, पृ. २८४) । प्रस्तुत कवितामा कविले कल्पनाको उडान भरेका छन् । कवितामा असाधारण र काल्पनिक किसिमले प्रकृतिको चित्रण गरिएको छ । प्रकृतिलाई मानवीकृत गर्ने प्रयास गरिएको पाइन्छ । कविताको पहिलो श्लोकमा नै वर्षा वायुपङ्खी विमानमा चढेर धर्तीमा आएको तथा आकाश डराएर कालोनीलो भएको कुरा गरिएको छ । यस्ता कुरा कविका व्यक्तिगत धारणा हुन् । यस्ता कुरामा वस्तुगत सत्यता छैन । कविताको दोस्रो श्लोकमा कविको वैयक्तिकताको भाव यसरी देखिएको छः
फर्फर् पार्छिन् चदर हलुका, लत्रिँदो मेघ ह्वैन
लाखौँ मोती–लुङ नपहिरी चित्त बुझ्ने हुँदैन ।
पोल्टो झोली रतन–निधिका स्नेहले मुस्कुराइन्
यौटा मोती–लुङ चुँडिन गई शैलमा झर्झराइन् ।।
(त्रिपाठी, सुवेदी र ज्ञवाली, २०७४, पृ. ७०)
प्रस्तुत उद्धृतांशमा वर्षाले चदर ओढेको, मोतीका लुङ लगाएको, बहुमूल्य सम्पत्ति (रतननिधि) को थैलो पोल्टामा राखेको र एउटा मोतीको लुङ चुँडिएर शैलमा खस्दा त्यसले वर्षाको रूप धारण गरको कुरा अभिव्यक्त भएको देखिन्छ । माथि उल्लेखित धारणा सर्वस्वीकार्य नभएर कविका व्यक्तिगत हुन् । त्यसै गरी यस कविताको सातौँ श्लोकमा कविको वैयक्तिकता निम्नानुसार देखापरेको छः
लौ लौ गाओ दल दल वनै, वृक्ष हो उठ सारा
वर्से घैँटा घट घट गरी स्वर्ग–पीयूष धारा ।
दर्दर् दर्के अमित–कनिका, प्यून लागिन् धराले
उफ्री, नाची चल बिटप हो, पाउने छौ जराले ।।
(पृ. ७२)
माथिको कवितांशमा वृक्षका हाँगाहरूले नाचगान गर्ने, उत्सव मनाउने, पानीलाई स्वर्गको अमृत मान्ने र पृथ्वीले पानी पिउने कुरा सर्वस्वीकार्य हुन नसक्न भएकाले यहाँ वैयक्तिकताको भाव पाइन्छ । यसरी प्रस्तुत कवितामा वैयक्तिकताको बलियो उपस्थिति रहेको देखिन्छ ।
५.२ काल्पनिकता
स्वच्छन्दतावादी सर्जकहरू वास्तविक यथार्थ वा जगत्बाट पलायन गरी टाढै रहेर कल्पनाको लोकमा विचरण गरी रमाउन बढी रुचाउने भएकाले कल्पनालाई शब्दबद्ध गर्नु नै यिनीहरू कविता ठान्छन् ( शर्मा र लुइटेल, २०७२, पृ. २८६) । यस कवितामा कल्पनाको प्रधानता पाइन्छ । तल उदाहरणका लागि पहिलो श्लोकका सुरुका दुई पाउ उद्धृत गरिएको छ ।
आइन् वर्षा हरहर चढी वायुपङ्खी विमान
पाङ्ग्रा घर्षी शिखर गरजी थर्कियो आसमान ।
(पृ. ७०)
माथिको कवितांशमा वर्षा वायुपङ्खी विमान चढेर विमानका पाङ्ग्रा शिखरमा घिसार्दै आएको कुरा उल्लेख छ, । यस प्रकार यहाँ वर्षामा स्त्रिीलिङ्गी मानिसको कल्पना गरिएको देखिन्छ । यस कवितांशमा प्रस्तुत वायुपङ्खी विमान र त्यसका पाङ्ग्राको प्रसङ्ग काल्पनिकताका उदाहरण हुन् । तलको कवितांशमा पनि काल्पनिकता भ्ट्न सकिन्छ ।
फर्फर् पार्छिन् चदर हलुका, लत्रिँदो मेघ ह्वैन
लाखौँ मोती–लुङ नपहिरी चित्त बुझ्ने हुँदैन ।
पोल्टो झोली रतन–निधिका स्नेहले मुस्कुराइन्
यौटा मोती–लुङ चुँडिन गई शैलमा झर्झराइन् ।।
(पृ. ७०)
माथिको श्लोकमा रहेका हलुका चदर (पछ्यौरा) फरफर पारेको प्रसङ्ग, लाखौँ मोतीका लुङ पहिरिएको प्रसङ्ग, रतन–निधिको झोली पोल्टामा राखेर मुस्कुराएको प्रसङ्ग र एउटा मोतीको लुङ चुँडिएर शैलमा झर्झराएको प्रसङ्ग वस्तुपरक प्रकृतिका नभएर काल्पनिक छन् । त्यस्तै विवेच्य कवितामा रहेका जलधि–दुहिता (पानी) समानता र करुणाको भाव लिएर दौडाहामा रहेको, शरद ऋतुमा रसिला फलहरूले लच्किएर मानिसलाई चाख भन्न पाएको जस्ता प्रसङ्गहरूमा पनि काल्पनिकता प्रबल देखिन्छ । यसरी यस कवितामा स्वच्छन्दतावादको एक महत्त्वपूर्ण मान्यता काल्पनिकता प्रबल रहेको देखिन्छ ।
५.३ विद्रोहात्मकता
स्वच्छन्दतावादले अभिजात्य विषय, व्यक्ति, मान्यता तथा नियम विरुद्ध विद्रोह गरी त्यसका ठाउँमा सामान्य वैयक्तिक मान्यता, विषय एवम् दृष्टि र धारणा प्रस्तुत गर्दै विद्रोहको स्वर उचाल्छ (गैरे, २०६८, पृ. १३६) । प्रस्तुत कवितामा वर्षा र यसका महत्त्व तथा विशेषताहरूको चर्चा गरिएको छ । तल उद्धृत गरिएको कवितांशले वर्षासम्बन्धी परम्पम्परागत धारणाप्रतिको विद्रोहलाई प्रकाशित गरेको देखिन्छ ।
धूली खोला ललिल बरषी शानजस्तो अटूट
पाई प्राणी अमृत–लहरी फस्टिने छन् अछूट ।
(पृ. ७१)
माथिको कवितांशमा प्राणी अमृतरूपी पानी पाएर फस्टिने पसङ्ग उल्लेख छ । वर्षा याममा पानी पर्नु सामान्य कुरा हो । तर यस कवितामा वर्षाको तुलना जीवनदायी र पवित्र मानिने पदार्थ अमृतसँग गरिएको देखिन्छ । आम मानिसद्वारा सामान्य महत्त्व दिइने वर्षा प्राणी र वनस्पतिका लागि विशिष्ट महत्त्वको रहेको देखाइनुले यस कवितामा परम्परागत धारणाप्रतिको विद्रोहात्मक भाव रहेको अनुभूति गर्न सकिन्छ । यसरी यस कवितामा वर्षालाई जीवनदायी अमृत, मोतीजस्तो मूल्यवान्, समुद्रकी छोरीजस्तो वनस्पति र प्राणीका लागि कल्याणकारी पदार्थ मान्दै वर्षालाई सामान्य ठान्ने परम्परागत दृष्टिकोणप्रति विद्रोहात्मक भाव अभिव्यक्ति भएको देख्न सकिन्छ । त्यस्तै वर्षाले लिङ्ग, जात, वर्ग, पेसा, शक्ति, वर्ण आदि कुनै पनि आधारमा कसैलाई भेदभाव गर्दैन । त्यसको सबैप्रति समानता र करुणाको भाव रहन्छ भन्ने भाव प्रस्तुत गर्दै स्वार्थी, आत्मकेन्द्री र विभेदकारी मानवीय प्रवृत्तिप्रति पनि विद्रोह गरेको देखिन्छ । यस कुरालाई अझ प्रष्ट बनाउन तल विवेच्य कविताको सातौ श्लोक साक्ष्यका रूपमा तल प्रस्तुत गरिएको छ ।
लौ लौ गाओ दल दल वनै, वृक्ष हो उठ सारा
वर्से घैँटा घट घट गरी स्वर्ग–पीयूष धारा ।
दर्दर् दर्के अमित–कनिका, प्यून लागिन् धराले
उफ्री, नाची चल बिटप हो, पाउने छौ जराले ।।
(पृ. ७२)
माथिको श्लोकमा पानी परेको र उक्त पानी जमिन, वृक्षका जरा हुँदै हाँगाबिँगाहरूले प्राप्त गर्ने भएकाले वनका सबै वृक्षहरूलाई उत्सव मनाउन भनिएको छ । यस श्लोकमा पनि वर्षाले विभेद नगरी सबैलाई करुणा गरेर समान किसिमले पानी पार्ने आशय अभिव्यक्त भएकाले वर्षाको दृष्टान्त दिएर मानिसका स्वार्थी, आत्मकेन्द्री र विभेदकारी प्रवृत्तिप्रति विद्रोहात्मकताको भाव अभिव्यञ्जित गर्दै मानिलसाई लोककल्याणकारी कार्यमा लाग्न समेत सचेत तुल्याइएको देखिन्छ ।
५.४ भावुकता
स्वच्छन्दतावादले तार्किकतालाई बलात् गरिएको विचार ठानी भावनालाई साहचर्यद्वारा मानव हृदको उद्घाटन ठान्ने भएकाले तर्कभन्दा बढी भावना र आवेगलाई महत्त्व दिन्छ (शर्मा र लुइटेल, २०७२, पृ. २८७) । वर्षा कविताको पहिलो श्लोकमा वर्षा वायुपङ्खी विमान चढी शिखरमा पाङ्ग्रा घर्षण गराएर आउँदा आकाश थर्किएर (डराएर) कालोनीलो भएको अनि प्रकृति कलिली भएर चुली नाघेको प्रसङ्ग तर्कसङ्गत नभई भावनात्मक किसिमको रहेको देखिन्छ । प्रस्तुत कवितामा रहेको भावुकतालाई पुष्टि गर्न तल दोस्रो श्लोक प्रस्तुत गरिएको छ ।
फर्फर् पार्छिन् चदर हलुका, लत्रिँदो मेघ ह्वैन
लाखौँ मोती–लुङ नपहिरी चित्त बुझ्ने हुँदैन ।
पोल्टो झोली रतन–निधिका स्नेहले मुस्कुराइन्
यौटा मोती–लुङ चुँडिन गई शैलमा झर्झराइन् ।।
(पृ. ७०)
प्रस्तुत श्लोकमा पानी पर्ने बेलाको बादलले हलुका चदर (पछ्यौरा) फर्फर् पारेको, बादलले मोतीका लाखौँ लुङ (झुत्ता) पहिरिएको, मुस्कुराउँदै रतन–निधिको झोली पोल्टामा राखेको मोतीको एउटा लुङ चुँडिएर शैलमा झर्झराएको कुरा उल्लेख छ । यसरी बादलले पछ्यौरा ओढ्ने, मोतीमाला लगाउने, बहुमूल्य सम्पत्ति (रतन–निधि) पोल्टामा राख्ने जस्ता कुरालाई वस्तुपरक ढङ्गले प्रमाणित गर्न सकिँदैन । त्यसर्थ यस श्लोकमा बादल पानीको स्वरूपमा आउँदासम्मका गतिविधिलाई भावनात्मक ढङ्गले अभिव्यक्त गरिएको पाइन्छ । त्यस्तै यस कवितामा आकाशलाई स्वर्गछानाको परिकल्पना गरिएको छ भने वर्षाको पानीलाई अमृतलहरी भनिएको छ । समुद्रको पानी वास्पीकरण भएर वर्सातको पानीमा रूपान्तरण हुने प्रक्रियालाई कवितामा समुद्रकी छोरीको दौडाहा भनिएको छ । कविताको छैटौँ श्लोकमा वर्षायामलाई समुद्ररूपी युवकको शक्तिशाली हृदयबाट उत्पन्न भएको सङ्गीतको प्रेमपूर्ण खेल भनिएको पाइन्छ । शरद ऋतुमा फलका वृक्षहरूले रसिला फलहरू चाख्नका लागि आग्रह गर्ने कुरा उल्लेख छ । वनका सबै वृक्षहरूलाई उठ्न र तिनका हाँगाहरूलाई उफ्रन र नाच्न आग्रह गरिएको छ । वर्षा ऋतुलाई रस मिलनको चाड, वर्षायामको पानीलाई पौडीको सुख जलधि र वर्षायाम आकाशलाई गीत सङ्गीतले युक्त आकाश भनिएको छ । यी माथि वर्णित सम्पूर्ण प्रसङ्गहरू कवितामा प्रयुक्त भावुकतालाई पुष्टि गर्ने आधारहरू हुन् ।
५.५ प्रकृतिप्रेम
प्रस्तुत कविताको शीर्षक नै ‘वर्षा’ रहेको हुनाले यस कवितामा प्रकृतिको यथेष्ट चित्रण भएको कुरालाई सङ्केत गर्छ । कविताका आठओटै श्लोकमा प्राकृतिक सौन्दर्यको वर्णनसँग सम्बन्धित देखिएका छन् । कविताको पहिलो श्लोकमा वर्षा वायुपङ्खी विमान चढेर धर्तीमा आएको, आउने क्रममा पहाडमा विमानको पाङ्ग्रा घर्षण भएको र घर्षणका कारण आगोका झिल्काहरू निस्किएका, आकाश थर्किएको जसले गर्दा आकाशको मुख त्रासले नीलो भएको, वर्षाका कारण रूखबिरुवाहरू कलिलिएर पहाडका चुलीहरू ढाकिई टाढाटाढाबाट देख्न सकिने भएका प्रसङ्गहरू उल्लेख गरेर प्रकृतिप्रतिको मोहलाई प्रदर्शन गरिएको छ । कविताको दोस्रो श्लोकमा बादलले पछ्यौरा फर्फराएको, बादलले लाखौँ मोतीका लुङहरू पहिरिएको, पोल्टामा बहुमूल्य सम्पत्तिको थैलो राखेर मुस्कुराएको अनि एउटा मोतीको लुङ चुँडिदा शैलमा झर्झराएको कुरा उल्लेख छ । यो प्रसङ्ग पनि पकृतिको वर्णनमै केन्द्रित छ । कविताको तेस्रो श्लोकमा स्वर्गछाना गर्जिने कुरा गरिएको छ भने चौँथो श्लोकमा वर्षाका कारण धूली खोलाहरू निरन्तर बगिरहेका, प्राणीहरूले अमृतरूपी पानी निरन्तर पाउने, समानता र करुणाको भावका साथ जलधि–दुहिता दौडाहामा रहेकी र धर्तीले मुख फैलाई वर्षालाई ग्रहण गरेर आनन्द लिएको कुरा उल्लेख गरिएको छ । कविताको पाँचौ श्लोकमा पृथ्वी धानले छापिएर कलिली भएको, वर्षाका कारण बालीनाली राम्रो भएको, वर्ष सोचेअनुरूप राम्रो भएको, समुद्ररूपी युवकको शक्तिशाली हृदयबाट सङ्गीतको प्रेमपूर्ण खेल प्रदर्शन भएको प्रसङ्ग उल्लेख भएको छ । कविताको छैठौँ श्लोकमा रसिला फलका बोटहरूले फल चाख भन्नका लागि हाँगा लच्किएको हेर्ने रहर भएको बताइएको छ । सातौँ श्लोकमा आकाशबाटा अमृतरूपी पानी बर्षिएको र उक्त वर्षा जमिन, जरा हुँदै सम्पूर्ण रूखहरूले पाउने भएकाले उफ्रिन, नाच्न र रमाइलो गर्न आग्रह गरिएको पाइन्छ । तल प्रस्तुत कविताको आठौँ श्लोकलाई प्रकृतिप्रतिको प्रेमभाव दर्शाउने साक्ष्यका रूपमा प्रस्तुत गरिएको छ ।
यो बेला हो रस–मिलनको, प्राप्तिको यो चहाड
यो गानाको गगन, जनको कल्पनाको बहाड ।
यो पौडीको सुखजलधिमा फूल रातो असारे
झन्डा सम्झी, मुजुर–मन भै पिच्छमा रङ्गधारे ।।
(पृ. ७३)
प्रस्तुत उद्धृतांशमा वर्षायाम रस–मिलनको चाड, आकाशमा गानाबजाना हुने समय, मानिसमा कल्पनाको बाढी आउने बेला र सबै प्राणी तथा वनस्पति सुखको जलधिमा पौडी खेल्ने र रमाइलो गर्ने अवधि भएको उल्लेख गरिएको छ । यसरी यो कविताको मुख्य विशेषता नै प्रकृतिको वर्णन देखिएकाले यहा प्रकृतिप्रेम प्रबल रहेको देखिन्छ ।
५.६. सौन्दर्यात्मकता
स्वच्छन्दतावादीहरूले झिल्का स्वरूप प्रत्यक्ष सौन्दर्यका आधारबाट विराट स्वरूप अप्रत्यक्ष सौन्दर्यको खोजी गरी त्यसको उद्घाटन गर्छन् । यिनीहरू प्रकृतिलाई अत्यन्त सौन्दर्यमय देख्छन् र प्रकृतिमा चारैतिर अनुपम सौन्दर्य छरिएको पाउँछन् (शर्मा र लुइटेल, २०७२, पृ. २८७) । प्रस्तुत कवितामा प्रकृतिको अथाह चित्रण भएको कुरा यसअघि नै चर्चा भइसकेको छ । प्रस्तुत कवितामा विमानमा चढेर आएको बताइएको छ । विमानमा चढनु भनेको ससम्मान आनन्द प्राप्त गर्नु हो । हावाले हुत्याएर दिसा परिवर्तन गर्ने वर्षा विमानमा चढेर शोभायमान हुँदै धर्तीमा आएको बताइनु सौन्दर्यात्मकताको अभिव्यक्ति हो । पानी पर्नुअघि बिजुली चम्किएको, आकाश कराएको र कालोनीलो भएको सामान्य विषयलाई कवितामा वर्षा सवार विमानका पाङ्ग्रा अग्लाशिखरहरमा घस्रिँदा आकाश थर्किई झिल्कैझिल्का भएको, त्रासले आकाश जड भई अनुहार कालोनीलो भएको भनी बढाइचढाइ गरेर प्रस्त्ुत गर्दा सौन्दर्यको अनुभूति भएको देखिन्छ । यस कुरालाई तलको उद्धृतांशले पुष्टि गर्ने देखिन्छ ।
आइन् वर्षा हररर चढी वायुपङ्खी विमान
पाङ्ग्रा घर्षी शिखर गरजी थर्कियो आसमान ।
झिल्के झिल्का, अचल मुख भो त्रासले नील गाढा
चूली नाघिन् प्रकृति कलिलिन्, देखिँदै दूर टाढा ।।
(पृ. ७०)
कविताको दोस्रो श्लोकमा पनि सौन्दर्यात्मकताको प्रबल उपस्थिति पाइन्छ । त्यहाँ आकाशमा बादल उडेको दृश्यलाई बताउन वर्षाले हलुका किसिमले पछ्यौरा फर्फराएको दृश्यसँग तुलना गर्दै उक्त दृश्य लत्रिएको मेघको होइन भनिएको पाइन्छ । आकाशमा देखिने सेता बादलहरूको समूहलाई कवितामा वर्षाले लाखौँ मोतीका लुङहरू धारण गरेको बताइएको छ । त्यही श्लोकमा पानी बोकेको सेतो बादल र पानी परेको अवस्थालाई वर्णन गर्दै कवितामा वर्षाले बहुमूल्य सम्पत्तिको पोको पोल्टामा बोकेको र त्यसमध्येको एउटा लुङ शैलमा वर्षाका रूपमा झर्झराएको उल्लेख गरिएको छ । कवितामा कीराफट्याङ्ग्रा र चराचुरुङ्गीलाई पनि उच्च महत्त्व दिएर प्रस्तुत गर्दा सौन्दर्यको भाव अभिव्यक्त भएको पाइन्छ । तेस्रो श्लोकमा आकाश गर्जिँदा बच्चाहरू तर्सिन सक्ने र उनीहरूलाई क्षति पुग्न सक्ने भएकाले अबेर नगरी आआफ्नो बासस्थानमा फर्किन आग्रह गरिएको पाइन्छ । चौँथो श्लोकमा पानीलाई अमृतसँग तुलना गर्दै उक्त अमृत पान गरेर प्राणीहरू राम्रोसँग फस्टाउने कुरा गरिएको पाइन्छ भने अर्को पाउमा वर्षा समानता र करुणाको भावसहित पृथ्वीको दौडाहामा भएको कुरा गर्दै वर्षाको प्राणी एवम् वनस्पतिप्रतिको उपकारको भावनालाई खुलस्त पारिएको देखिन्छ । पानी परेको अवस्थालाई कवितामा धर्तीले मुख फैलाएर पानी ग्रहण गरी आनन्दित भएको भनी बढाइँचढाइँ गरिएको पाइन्छ । वर्षायामको धानको हरियालीलाई कविताको पाँचौ श्लोकमा पृथ्वी धानले छापिएर पानीका कारण कलिली भई फलेकी भनी पृथ्वीको सौन्दर्यको खुलेर वर्णन गरिएको पाइन्छ । त्यस्तै त्यही श्लोकको दोस्रो पाउमा ‘गाई रोप्लान् चपलवयसी दृक्–बिजुली लिएर’ भन्दै धान रोप्दा युवतीहरूले गर्ने रमाइलो र उनीहरूको सुन्दरताको सौन्दर्यात्मक प्रस्तुति गरिएको देखिन्छ भने चौँथो पाउमा पानी पर्ने स्वाभाविक प्रक्रियालाई समुद्ररूपी युवकको शक्तिशाली हृदयबाट सङ्गीतको प्रेमपूण खेल उत्पन्न हुने मनोरम दृश्यको कल्पना गरिएको पाइन्छ । कविताको पाँचौ श्लोकमा अमृत रसले युक्त मीठा फलहरू चखाउन रूखका हाँगाहरू लच्किएको हेर्ने रहर सुनाउँदै फलतरुको उदारता एवम् सेवाभावलाई अभिव्ञ्जन गरिएको छ । कविताको सातौँ श्लोकमा वनका सबै वृक्षहरूलाई नाचगान गर्न आग्रह गरेको र आकाशबाट वर्सेको अमृतरूपी पानी (स्वर्ग–पीयूस धारा) का कणहरूलाई धराले पिउन लागेको सुन्दर दृश्यात्मक चित्रण गरिएको पाइन्छ । कविताको अन्तिम श्लोकमा वर्षा ऋतुलाई रसमिलनको चाड, आकाशको गाना र मानिसको सुखद कल्पनाको बाढी आउने समय र वर्षाका कारण सबै प्राणी र वनस्पति मजुर मनले सुखरूपी समुद्रमा पौडी खेल्ने समय मान्दै यस यामका कारण सौन्दर्य एवम् आनन्दको आगमन हुने अभिव्यक्ति दिइएको पाइन्छ । यसरी वर्षा कवितामा वर्षायाममा हुने गतिविधिहरूलाई सौन्दर्यपरक ढङ्गले कवितात्मक प्रस्तुति दिइएको हुनाले यहाँ सौन्दर्यात्मकताको उपस्थिति सघन रूपमा पाइने देखिन्छ ।
५.७. अद्भुतता
परिष्कारवादी साहित्यले आदर्श, यान्त्रिक, दैवी, अतिमानवीय आदि तत्त्वलाई प्रधानता दिन्छ भने त्यसका विपरीत प्रवृत्ति, अद्भत, कोमल, आकर्षक, रहस्यमय आदिलाई स्वच्छन्दतावादले प्रश्रय दिन्छ (शर्मा र लुइटेल, २०७२, पृ. २८८) । प्रस्तुत कविताको पहिलो श्लोकमा वर्षा वायुपङ्खी विमान चढेको, विमानका पाङ्ग्राले शिखरमा घर्षण गरेको, आकाश त्रासले जडवत् भई कालोनीलो भएको अद्भूत र रहस्यमयी सन्दर्भ उल्लेख छ । दोस्रो श्लोकमा वर्षाले पछयौरा ओढेको, मोतीको लुङ लगाएको, रतननिधिको झोली पोल्टामा राखी मुस्कुराएको तथा त्यही मोतीको लुङ चुँडिएर झर्दा वर्षा हुन पुगेको कुरा गरिएको छ । कविताको तेस्रो श्लोकमा वर्षा समानता र करुणाको भावसहित दौडाहामा रहेको र धर्तीले आफ्नो मुख फैलाई वर्षाको पानी ग्रहण गरेर आनन्द लुटेको प्रसङ्ग उल्लेख पाइन्छ । पाँचौ श्लोकमा पृथ्वी फल्ने र पारावार प्रभु–हृदयबाट सङ्गीतको प्रेमपूण खेल उत्पन्न हुने सन्दर्भ उल्लेख पाइन्छ । प्रस्तुत कवितामा रहेको अद्भुततालाई पुष्टि गर्न साक्ष्यका रूपमा तल वर्षा कविताको सातौँ श्लोक प्रस्तत गरिएको छ ।
लौ लौ गाओ दल दल वनै, वृक्ष हो उठ सारा
वर्से घैँटा घट घट गरी स्वर्ग–पीयूष धारा ।
दर्दर् दर्के अमित–कनिका, प्यून लागिन् धराले
उफ्री, नाची चल बिटप हो, पाउने छौ जराले ।।
(पृ. ७२)
माथिको श्लोकमा स्वर्गबाट पीयूषका धारा घटघट गर्दै बर्सिएका, पृथ्वीले अमित–कनिकारूपी पानीका कणहरूलाई पिउन लागेको र वनका रूखका हाँगाहरूलाई उफ्री, नाची चल्न तथा नाचगान गर्न आग्रह गरिएको सन्दर्भ उल्लेख भएको देखिन्छ । स्वर्ग र अमृत अमूर्त धारणा हुन् भने पृथ्वी निर्जीव भएकाले त्यसले पानी पिउनु सम्भव छैन त्यस्तै वृक्षका हाँगाहरू नाचगान गर्न अनि उफ्रिन सक्दैनन् । यसर्थ माथि वर्णित घटनाहरू अद्भुत र रहस्यमय रहेका देखिन्छन् । यसरी वर्षा कवितालाई विवेचना गर्दा यसमा अदुभूतताको उपस्थिति रहेको अनुभूति हुन्छ ।
५.८. कृत्रिमताबाट मुक्ति
सरल र प्राकृतिक जीवनको पक्षधर स्वच्छन्दतावादले सबै प्रकारका आडम्बरहरू, बाह्य आलङ्कारिकता, साजसज्जा, छन्दका बन्धन, शास्त्रीयताको अतिशय आग्रह, रूढीपना आदिबाट मुक्त भई सरल, सहज अलङ्ककार तथा स्वाभाविक लय अँगाल्ने प्रयत्न गर्नुका साथै जनसामान्यका बोलचालको सामान्य भाषामा सहज भावको अभिव्यक्तिलाई महत्त्व दिन्छ (शर्मा र लुइटेल, २०७२, पृ. २८८) । मन्दाक्रान्ता छन्दमा रचित यस कवितामा छन्दका नियमहरूको पूर्ण रूपमा पालना भएको देखिए पनि शास्त्रीय कविताको महत्त्वपूण गहना मानिने अन्त्यानुप्रासमा भने कतैकतै विचलन आएको देखिन्छ । उदाहरणका लागि दोस्रो श्लोकको पहिलो र दोस्रो पाउका अन्त्यमा रहेका शब्दहरू ‘ह्वैन’ र ‘हुँदैन’, तेस्रो श्लोकको तेस्रो र चौँथो पाउका अन्त्यमा रहेका शब्दहरू ‘हतार’ र ‘अबेर’, पाँचौ श्लोकको तेस्रो र चौँथो पाउका अन्त्यमा रहेका शब्दहरू ‘कबूली’ र ‘केली’ तथा छैटौँ श्लोकको पहिलो र दोस्रो पाउका अन्त्यमा रहेका शब्दहरू ‘लाखा’ र ‘चाख’ मा अन्त्यानुप्रासमा विचलन आएको देखिन्छ । यस कवितामा प्रयुक्त चदर, चहाड, मुजुर जस्ता कोशीय प्रविष्टि नपाएका शब्दहरूको प्रयोग पाइन्छ भने नतरसून्, वरषी जस्ता वर्णविन्यासगत त्रुटियुक्त शब्दको प्रयोगबाट छन्दका मात्र मिलाएको पनि पाइन्छ । त्यस्तै प्राकृतिक सौन्दर्यको वर्ण कविताको मूल विषयवस्तु भएकाले भावगत हिसाबले हेर्दा यस कवितामा स्वच्छन्दताको आधिक्य पाइन्छ । यसरी हेर्दा यस कवितामा बाह्य आलङ्कारिता, साजसज्जा र छन्दका नियमको अधिकतम पालना भएकाले यहाँ संरचनागत हिसाबले बढी कृत्रिमता र आंशिक स्वच्छन्दता तथा भावगत हिसाबले स्वच्छन्दताको आधिक्य पाइने देखिन्छ ।
५.९. मानवतावादी दृष्टिकोण
स्वच्छन्दतावादी रचनाहरूमा पीडित र दुःखीप्रति सहानुभूति र संवेदना व्यक्त गर्ने भावले महत्त्वपूर्ण स्थान पाएको हुन्छ (शर्मा र लुइटेल, २०७२, पृ. २८९) । प्रस्तुत कवितामा मानवलगायत सम्पूर्ण र प्राणी र वनस्पतिका लागि जीवनदायिनी मानिएको पानीको मुख्य स्रोत वर्षाका विशेषता र महत्त्वका बारेमा चर्चा गरेर, प्रशंसा गरेर मानवतावादी दृष्टिकोण प्रस्तुत गरिएको छ । यस कविताको श्लोक नं. तीनमा निम्नानुसार चराचुरुङ्गी र कीराफट्याङ्ग्राको जीवन रक्षाका विषयमा समेत चर्चा भएको पाइन्छः
आशङ्काले भुरभुर गुँडै सम्झिँदा पङ्ख नाना
जाओ बच्चाहरू नतरसून् गर्जिँदा स्वर्ग–छाना ।
लर्बर् गर्दा कुशल कमिला ! लौ गरे है हतार
तेसै ओर्ली चिर चकँरिँदो चील ! होला अबेर ।।
(पृ. ७१)
प्रस्तुत उद्धृतांशमा आकाश गर्जिएर भारी वर्षा हुँदा कमिला र चीलका बच्चाहरू असुरक्षित हुनसक्ने भएकाले तिनका कमिला र चीललाई अलमल नगरी सरासर घर जान आग्रह गरेबाट मानव होस् वा जनावर, चराचुरुङ्गी तथा कीराफट्याङ्ग्रा नै किन नहुन् सबैको जीवनको महत्त्व समान हुने भएकाले यस पृथ्वीका सम्पूर्ण प्राणी तथा वनस्पतिको अस्तित्व रक्षा हुनुपर्नेतर्फ सङ्केत गरिएको दखिन्छ । यस्तै प्रस्तुत कविताको चौँथो श्लोकको तेस्रो र चौँथो पाउमा वर्षायाममा समुद्रकी छोरी अथवा पानी समानता र करुणाको भावसहित सम्पूर्ण पृथ्वीलाई सिंचित गर्न दौडाहामा निस्किएकी प्रसङ्ग र छैटौँ श्लोकमा फलफूलका रूखका हाँगाहरू प्राणीलाई फल चखाउनका लागि तलतिर लच्किएको हेर्ने इच्छा जाहेर गर्दै आफ्नो सामथ्र्यले भ्याएसम्म मानिस सेवामूलक कार्यमा लागिपर्नुपर्ने सन्देश प्रवाह भएकाले यस कवितामा मानवतावादी दृष्टिकोणको उपस्थिति रहेको देखिन्छ ।
वर्षा, बादल, आकास, रूखबिरुवाका हाँगाबिँगा र जरा, समुद्र, चील, कमिला आदिको क्रीडासम्बन्धी कलात्मक चित्रण गरिएको हुनाले प्रकृतिप्रेम विवेच्य कविताको प्रमुख विशेषता देखिन्छ । उपर्युक्त कुराहरूमा विभिन्न आरोप गरी गरिएको काल्पनिक चित्रणले काल्पनिकता, भावुकता, अद्भुतता र सौन्दर्यात्मकतालाई सङ्केत गर्छ । यहाँ वर्षा र फलतरुको सेवाभाव र कर्तव्यनिष्ठतालाई प्रस्तुत गरेर मानवतावादी चेतना प्रवाह गरिएको छ भने वर्षा र फलतरुसम्बन्धी परम्परागत धारणामा परिवर्तन ल्याएर विद्रोहात्मक भाव अभिव्यक्त भएको छ । कोशीय प्रविष्टि नपाएका शब्दप्रयोग र अन्यानुप्रासमा विचलन ल्याएर शिल्पगत स्वच्छन्दताको अनुसरण गरेको देखिन्छ । यसरी स्वच्छन्दतावादी विश्वदृष्टिको कसीमा विश्लेषण गर्दा देवकोटाको ‘वर्षा’ कविता सशक्त देखिन्छ ।
६. निष्कर्ष
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘वर्षा’ मन्दाक्रान्ता छन्दमा संरचित प्रकृतिको कलात्मक चित्रणयुक्त कविता रहेको देखिन्छ । आठ श्लोकमा संरचित यस कवितामा स्वच्छन्दतावादी मान्यताको अधिकाधिक उपयोग भएको पाइन्छ । यस अध्ययनमा प्रस्तुत कवितालाई स्वच्छन्दतावादी मान्यताका आधारमा विश्लेषण गरिएको छ । सैद्धान्तिक पर्याधार खण्डमा स्वच्छन्दतावाद र यसका मान्यता तथा प्रवृत्तिहरूको चर्चा गरिएको छ । सामग्री विश्लेषण खण्डमा स्वच्छन्दतावादका मान्यताहरूमध्ये वैयक्तिकता, काल्पनिकता, विद्रोहात्मकता, भावुकता, प्रकृतिप्रेम, सौन्दर्यात्मकता, अद्भूतता, कृत्रिमताबाट मुक्ति र मानवतावादी दृष्टिकोणका आधारमा विवेच्य कवितालाई विश्लेषण गरिएको छ । वर्षा, बादल, वृक्ष, पृथ्वी आदिले गरेको लीलाका विषयमा गरिएको चर्चा सार्वभौम नभएर वैयक्तिक प्रकृतिको रहेको देखिन्छ । प्रस्तुत कवितामा प्रकृति र त्यसमा पनि वर्षाको महत्त्वलाई बढाइचढाई गरी प्रस्तुत गरिएको हुँदा यहाँ प्रकृतिप्रेम, भावुकता, सौन्दर्यात्मकता र काल्पनिकताको प्रचुरता पाइन्छ । वर्षाको समानता र करुणा भाव अनि फलका वृक्षको उदारताको भाव प्रस्तुत गरी यहाँ स्वकेन्द्रित र विभेदकारी मानवीय प्रवृत्तिप्रति विद्रोहात्मक भाव अभिव्यक्ति भएको पाइन्छ । प्रस्तुत कवितामा वर्षा, बादल, वृक्ष, पृथ्वी आदिले गरेको असाधारण लीलाको उल्लेख गरेबाट यहाँ अद्भुतताको उपस्थिति देखाइएको छ । विवेच्य कवितामा शास्त्रीयताको अक्षरसः अनुसरण गरिएको हुनाले केही कृतिमताको छनक पाइने भएता पनि भाव र विषयवस्तुका हिसाबले कविता कृत्रिमताबाट उम्किन खोजेको देखिन्छ । यस कवितामा चील र कमिलाका विषयमा चिन्ता अभिव्यक्त गरेर अनि वर्षामा रहेको समता र करुणाभावको दृष्टान्त दिएर मानवतावादी दृष्टिकोण प्रस्तुत गरिएको छ । यसरी स्वच्छन्दतावादी मान्यताका सापेक्षतामा ‘वर्षा’ कविताको कृति विश्लेषण गर्दा यस कवितामा स्वच्छन्दतावादी मान्यताहरूलाई अधिकाधिक उपस्थिति रहेको निष्कर्ष निकाल्न सकिन्छ ।
सन्दर्भ सामग्री
गैरे, ईश्वरीप्रसाद (२०६८). पाश्चात्य साहित्य सिद्धान्त र नेपाली समालोचना (द्वितीय सं.). काठमाडौँः अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन प्रा.लि. ।
ढुङ्गेल, भोजराज र दाहाल, दुर्गाप्रसाद (२०७४). पाश्चात्य साहित्यशास्त्र र नेपाली समालोचना. काठमाडौँः एम.के. पब्लिसर्स एण्ड डिस्टिब्युटर्स ।
शर्मा, मोहनराज र लुइटेल खगेन्द्रप्रसाद (२०७२). पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त (चौँथो सं.). काठमाडौँः विद्यार्थी पुस्तक भण्डार ।
‘स्वच्छन्दतावाद’ (सन् २०१५). अ फाइन वर्ड प्रेस डट कम साइट. https://komalprd.wordpress.com/2015/06/11/%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%9A%E0%A5%8D%E0%A4%9B%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%A4%E0%A4%BE%E0%A4%B5%E0%A4%BE%E0%A4%A6-romanticism/ viewed 2077/02/20, 9:20 P.M.
त्रिपाठी, सुधा, सुवेदी, धनप्रसाद र ज्ञवाली, रामप्रसाद (२०७४). नेपाली कक्षा १० (प्रथम संस्करण). सानोठिमी, भक्तपुरः नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र ।
धन्यवाद !

सुनवर्षी ६‚ मोरङ

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 21 भाद्र, 2077

लेखकका अन्य रचनाहरु