काग साहित्यकार र उनीहरूका ठुङाइँ

- कृष्ण प्रधान

भनिन्छ कागले कागको मासु खाँदैन । तर "काग साहित्यकार"-हरू भने एकले अर्कालाई ठुङ्ने गर्छन् । एकजना ग्रीक दार्शनिकले अर्का ग्रीक दार्शनिकलाई यसरी ठुङेको पाइन्छ - "उनी अहङ्कारहीनजस्तो छेँड़ परेको कम्बल ओढ़्छन् तर कम्ब्लको प्रत्येक छेँड़बाट उनको अहङ्कार निस्किरहेको हुन्छ ।"
दस्तोभयेस्किले उनकी श्रीमतीलाई लेखेका चिठी - "टल्सटयले उनको उपन्यास "एना करेनिना"-को चालिस किस्ति रसियन मेसेञ्जरलाई बिक्री गरे भन्ने हिजो मात्रै पढ़ेँ । प्रति किस्ति पाँच रूबलको दरले मोठ दुइ लाख रूबल । तर उनीहरूले मलाई अढ़ाइ सय रूबल दिन पनि नाकनिक गरेका थिए । उनीहरूले मलाई मामुली, लरतरा, तुच्छ लेखक ठानेछन् क्यारे ! तर मेरो ता लेख्ने पेशा हो । म टल्सटय र तुर्गेनेभजस्ता जमिन्दार चाहिँ होइन ।"
यस्ता ठुङाइँ प्रायः रिले रेशजस्तै विश्व साहित्यकै प्राङ्गणमा देखिन्छ । टल्सटयको "एना करेनिना" उपन्यास पढ़ेर विश्वकवि रवीन्द्रनाथ ठाकुरको पनि मुख नचलाएका होइनन् । उनले ता टल्सटयको उक्त उपन्यास पढ़्दा-पढ़्दै खल्लो लागेर पढ़्नै छोड़ेका कुरा गरेका छन् । टल्सटयले सरल, सुन्दर अनि उदाररूपमा उपन्यास लेखेका भए पनि रवीन्द्रनाथको ठुङाइँ गजबकै देखिन्छ ।
कविगुरू रवीन्द्रनाथ ठाकुरले "गीताञ्जली"-मा नोबेल पुरस्कार प्राप्त गरे । भारतवासीको नाताले नाक घोक्राउनुपर्ने कुरा नै हो । तर टल्लटयको उपन्यासमा सरल, सुन्दर, उदार रूप खोज्न चाहने रवीन्द्रनाथका कविताहरूबारे अर्निष्ट हेमिङ्वेले रवीन्द्रनाथलाई यसरी ठुङेको पाइन्छ - "रवीन्द्रनाथका कविताहरू अच्चाकाली मिठो सरबतजस्ता छन् तर यस्ता हल्का-फुल्का लेखकहरूले कसरी नोबेल पुरस्कार पाउँछन् ?
फकनरको ठुङाइँबाट हेमिङ्वे पनि उम्किन सकेका छैनन् । हेमिङ्वेलाई फकनर यसरी ठुङ्छन् - "उनको निम्ति साहित्य कुश्तीको अखड़ा झैं नै छ । शब्द, वाक्य र भाषालाई घुस्सी हानेरै चित् पार्छन् हेमिङ्गवे । साहित्यलाई नक-आउट गर्न चाहने मुक्काबाजजस्तै छन् हेमिङ्वे ।
फकनरबारे पनि एकजना आधुनिक अमेरिकी लेखकको ठुङाइँ पनि हेरौं - " उनका कथाको चरित्र जस्तै, धेरै वर्षसम्म नबोलेर जसको स्वर अचम्मको भएको छ । उनका निजी कण्ठस्वर पनि यान्त्रिक रूपले अचम्मकै छ ।"
हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, यस्ता ठुङाइँ धेरै प्रकारका हुनसक्छन् । तीमध्ये ईर्ष्णीय एउटा ठुङाइँ यहाँ राख्ने धृष्टता गरेँ । हाम्रा महाक्वि लक्ष्मीप्रसाद देवकोटाले पनि ठुङाङँ खाएका छैनन् भनिहाल्नु मिल्दैन । "शाकुन्तल" महाकाव्य लेख्दाहुँदी उनले भाषानुवाद परिषदमा पुष्कर शमशेरका गतिलो ठुङाइँ भेटेका पाइन्छ - "यो भाषानुवाद परिषदका निम्ति हो यसमा मैले चाहेजस्तै शैलीमा लेखिनुपर्दछ । यसैको निम्ति जागिर दिएइको छ ।" त्यतिमात्रै होइन परिषदका अध्यक्ष वालकृष्ण समतिर हेर्दै "शाकुन्तल"-को एउटा पङ्क्ति पुष्कर शमशेरले फेरि ठुङेका देखिन्छ - "भाइ, तिमी नै हेर, सुन ृ
सुतट मट्टि मान्द्रिलो स्निग्ध गोबरी
उफर सानु शावके सानु स्वर्ग छ
सुन्यौ ? " यो कुन दिशाको नेपाली भाषा हो ? यस्तो भाषामा शाकुन्तल महाकाव्य लेख्ने रे, कसको निम्ति ?"
महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि काँचो काठले डढ़्ने खालका व्यक्ति ता कहाँ थिए र ! यसको लगत्तै दुइ दिनपछि देवकोटाले पनि बालकृष्ण समलाई च्याँखे थापेर ठुङ्नसम्म ठुङेका पाइन्छ - "कवि हृदय नभएका एक भाषाशास्त्री वैयाकरणले मेरो हार्दिक वेदना के बुझ्दछ ? त्यस्ताको अधिनमा म कसरी महाकाव्य लेख्न सकूँला ।"
कुनै कुनै ठुङाइँमा भित्र कता-कता अर्ती, उपदेश र सन्देश भए पनि कुनै-कुनैमा ठुङाइँ चाहिँ विद्वेषणीय पनि देखिन्छ । हेमिङ्वेको विद्वेषपूर्ण ठुङाइँ निकै प्रासङ्गिक देखिन्छ । हेमिङ्वेले उनका घनिष्ट बन्धु अनि पृष्ठपोषक गारटुस् स्टेइनबारेमा यसरी ठुङेको पाइन्छ - "आँखीभौंमा भुत्ला भएकी आइमाई ।"
समयको परिवर्तन सँगसँगै एकार्कालाई ठुङ्ने विषय पनि परिवर्तन भएको पाइन्छ । अस्कर वाइल्डले वाल्ट ह्विटम्यानका बारेमा यसो भनेका थिए - "पृथ्वीमा अरूभन्दा उनकै योगदान धेर छ ।" उनको उच्छवास पछि ह्रास भएको यस ठुङाइँबाट प्रष्ट हुन्छ - "कविताले शायद ह्विटम्यानलाई नाँघेर गएको छ, तर दर्शनको आलिङ्गण उनले निकै पाएका छन् ।"
ठुङाइँ कहिले-काहीँ सुठी नै निर्दोषर उटपटाङ पनि हुनसक्छ । विलियम वर्डसवर्थको प्रकृति प्रेमबारे ठट्टा गर्दै के भनिएको थियो भने, कवि वर्डसवर्थलाई अफ्रिकाको जङ्गलमा गएर बस्नु परेको भए उनको यो प्रकृति प्रेम जीवनभरिको निम्ति स्वाहा हुनेथ्यो । ठूला-ब़ड़ा साहित्यकारहरूप्रति गरिएको मनतव्य कहिले काहीँ यथोपयुक्त र मूल्यवान आलोचना पनि हुन सक्छ । यी ठूला-बड़ा साहित्यकारहरूलाई कनिष्ठ साहित्यकारहरूले श्रद्धाञ्जली चढ़ाउँछन् वा आफ्ना समकालीनहरूमध्ये एकजनाले अर्कालाई मूल्याङ्कन गर्छन् त्यतिबेला यस्तो पनि हुन सक्ने सम्भावना देखिन्छ । जस्तै, भारत स्वतन्त्र भएको समयमा राष्ट्रपिता महात्मा गाऩ्धीले टल्सटयप्रति यसरी मनतव्य गरेको पाइन्छ - "मेरो हातमा भारतको बागडोर वा शासन हुँदो हो ता टल्सटयको लठुवा आइभानजस्तो राज चलाउँथेँ ।" यस भनाइमा महात्मा गान्धीको टल्सटयप्रति असिम श्रद्धा भए पनि यो भनाइलाई ठुङाइँकै श्रेणीमा राख्न सकिन्छ ।
अस्कर वाइल़्ड पनि अर्कालाई ठुङ्न कम्ति सिपालु थिएनन् । एडगर एलेन पो-लाई वाइल्डले यसरी ठुङेका पाइन्छ - "Marvellous Lord lf rhythmic expression." । गुण्टार ग्रासले थोमस मानलाई लेखकरूपमा यसरी ठुङेका छन् - "जो छिन्द्रान्वेषी छन्, उनीहरूले गुण्टार ग्रासले झैं केही लेखेर देखाउन् न ।"
ठुङ्ने निहुँमा बोक्रे श्रद्धा पनि नपाइने होइन । ब्रेखटले सक्रेटिषलाई श्रद्धा गर्दै ठुङ्ने मनसायले कथा लेखेको पाइन्छ । "करेल च्यापेल" कथामा स्वाधीनचेत आर्किमिडिसको प्रज्ञा मनन र दर्शनबोधको गहिऱ्याइको साङ्गोपाङ्गो वर्णन पाइन्छ । दस्ताभयेस्कीको जीवनबारे फ्रायडले जुन पुस्तक लेखेका छन् उनैको रचनाबाट मनोवैज्ञानिक तत्त्व तानतुन पारेर पुस्तक लेखेका पाइन्छ । एकजना लेखकले अति व्यापकरूपमा नभए पनि गहिरै पाराले समसामयिक अर्का लेखकले मूल्याङ्कन गर्नै सक्छन् । यसमा शङ्का गर्न ठाँवै छैन अनि नस्वीकारी पनि धर छैन । यस्ता उदाहरणहरू कति छन् कति विश्व साहित्यको इतिहासमा । टल्सटयले तुर्गेनिभको प्रतिभा अस्वीकर नगरे पनि पनि मिठो पाराले यसरी ठुङेको पाइन्छ - " तुर्गेनिभ यस्ता एकजना झरना हुन् जसको पानी न स्वाभाविक मौलिक श्रोत नै । अन्य कुनै श्रोतबाट आएको पानी त्यस झरनाबाट झरिरहेछ कि झरिरहेछ...अनि एकदिन यो झरना स्याप्पै सुक्नेछ भन्ने आशङ्का सधैँ रहिरहनेछ ।" यस्तो ठुङाइँलाई "कागचक्षुजल मनतव्य वा विचार" भन्न सकिन्छ । टल्सटयबारेमा चेखवको ठुङाइँ - "टल्सटयको आँखामा एउटा लजिली मुस्कान झुण्डिरहेको हुन्थ्यो । उनले स्वर सानो पार्थे, मानौं सूक्ष्म र रहस्यमय केही भइरहेको छ ।"
टल्सटय मृत्यु हुनभन्दा दस वर्ष अघि चेखवले उनलाई यसरी ठुङेका पाइन्छ - " चेखव कहिले मर्लान् भन्ने मलाई डर छ । उनी मरे मेरो जीवनमा विराट शून्यता आउँनेछ । उनलाई छोड़्दा हाम्रो साहित्य गोठालो बिनाको चरणका गाईहरू जस्तै हुनेछ ।"
गोर्कीले चेखवमित्र सूक्ष्मता, महत्त्व, प्रज्ञा, सत्यता, चरम शिल्पोत्कर्ष र असुन्दर विरूद्घ विद्रोह देखेकेा थिए । प्रेम र मानिसरूपमा उनलाई चिनेका थिए । चेखवका सामु अन्य मानिसहरू अज्ञातवश नै धेर सरल, सोझा, विश्वस्त भइटोपल्थे । चेखव बितेपछि गोर्कीले भनेको पाइन्छ - "यस्ता एकजना मानिसको कुरा जब हाम्रो मनमा आउँछ हामीलाई धेर उपकार हुन्छ । एक आकस्मिक आनन्दले मन भरिन्छ । यस भनाइमा "गोर्कीको ठुङाइँलाई काकचक्षुजल"-कै श्रेणीमा राखिहाल्दा पनि कुनै टुटा पर्दैन कि !
बाचुञ्जेल कुनै पनि साहित्यकारको त्यति मूल्याङ्कन भएको पाइँदैन । घरको कुखुरा सागै बराबर भनेजस्तो बाचुञ्जेल साहित्यकारहरू त्यत्ति सम्मानित भए पनि मरेपछि मा कुनै पनि ताहित्यकारको उच्छवास सर्वत्र देखिन्छ । मेरो नितान्तै व्यक्तिगत विचारमा मृत्यु अगावै यसको सामान्य अंश देखाउन सकिएको हुँदो हो ता वा देखाउन सकिएको भए हाम्रा देवकोटा, गिरी, गुमानसिंह चामलिङ आदि-आदि स्रष्टाहरू कति प्रफुल्लित हुन्थे होलान् । हाम्रो नेपाली साहित्य संसारमा मात्रै होइन विश्व साहित्यमा पनि यो साबिक रोग यथावत् देखिन्छ । किट्सलाई उनका जीवनकालमा कतिले प्रशंसा गर्थे र ? काफकालाई कतिले चिन्थे ?
अब प्रवीण साहित्यकारहरूले कनिष्ठ साहित्यकारहरूलाई ठुङेका कुराहरू नराख्नु हो भने यो लेखोट अधूरो नै रहनेछ । गुरू प्लेटोका अकादमीमा एरिष्टोटल सोह्र वर्षका उमेरमा भर्ना भएका थिए । अकादमीमा उनले सोह्र वर्ष नै बिताए । एरिष्टोटलका प्रतिभा देखेर गुरू प्लेटो भित्र-भित्रै गर्वित थिए । एरिष्टोटलजस्ता शिष्य पाएर गुरू प्लेटोको नाक घोक्रेको थियो । यसैले उनले आफ्नो अकादमीलाई दुइ भागमा विभक्त गरेका सगर्व घोषणा गरेको पाइन् । उनले अकादमीको मस्तिष्क एरिष्टोटललाई मानेका थिए भने अन्य सबै शिष्यहरूलाई अकादमीका शरीर मानेका थिए । तर गुरूसित शिष्य एरिष्टोटलको विचारमा प्रखर विरोध थियो । स्वयम् कवि भए तापनि प्लेटो रूपियाँमा सोह्रै आना काव्यविरोधी थिए । एरिष्टोटलको क्व्यशास्त्र प्लेटोको काव्यविरोधिताको विरोध गरेरै लेखिएको पाइन्छ ।
हाम्रो भारतीय नेपाली साहित्यकारहरूमाझ पनि एकजनाले अर्का साहित्यकारलाई ठुङ्ने प्रवृत्ति प्रखर देखिन्छ । यी ठुङाइँहरूबारे बेलिविस्तार लाउनु हो भने एउटा लम्बेतान लेखोट नै तयारी हुनसक्छ । एकजनाले अर्कोलाई ठुङ्नमा कोहीभन्दा कोही कम्ति देखिँदैनन् । पुरस्कार पाउँदा पनि ठुङाइँ, नपाउँदा पनि ठुङाइँ । बाचुञ्जेल पनि ठुङाइँ, मरिसकेपछि पनि ठुङाइँ । यहाँ ठुङ्ने र ठुङिमाग्ने परम्परा अहिलेदेखिको होइऩ । तर यी ठुङाइँहरू सबै कसैको पिठ्यूँपछि नै हुन्छ। यसरी एकजनाले अर्कालाई ठुङ्ने साहित्यकारहरूका नाम यहाँ उल्लेख गर्नु हो भने सबै साहित्यकारहरू मसित ठुस्किने छन् । सबै कुरौ उदाङ्गो भएपछि एकार्कामाझ ठुङाठुङ् गर्नेहरूका अनुहारको भूगोलमा कस्ता-कस्ता परिवर्तन आउने हुन् कोनि मलाई नै कुरीकुरी लाग्ने भएकोले यी ठुङ्ने साहित्यकारहरूका नाम उल्लेख गरेर मपाइँ नहुनु नै बेस ठानेँ । निकट भविष्यमा एका-अर्कामाझ ठुङाठुङ् गर्ने भारतीय नेपाली साहित्यकारहरूका नाम र उनीहरूका ठुङाइँबारे लेख्नेछु भन्ने कुरो अहिले नै जनाइँ राखुँ क्यारे !
पुछारमा, कागकै प्रसङ्ग झिकेर के भन्न सकि्नछ भने, साहित्यकारहरूका ठुङाइँमा साधारणतः निम्न बूँदाहरू पाउन सकिन्छ -
क) कागले कागलाई ठुङ्नु,
ख) आन्द्रे जिद्ले भनेजस्तो थुप्रै कागहरू मिलेर एउटा चीलको बचेरोलाई ठुङ्नु ,
ग) उनीहरूका सबै पानीहाँस नै उनीहरूका निम्ति काग,
घ) हाम्रो सबै पानीहाँस नै राजाहाँस,
ङ) काकचक्षुजल जस्तो स्वच्छ विचार ।
साहित्यकारहरूबाट उपर्युक्त बूँदाहरूमध्ये अन्तिम बूँदा ओकलेको नै उत्तम हुन्छ । तर विश्वकै साहित्यको इतिहासमा उपर्युक्त अन्तिम बूँदाको नाक-मुख देख्न बड़ो दुर्लभ छ । वस्तुतः, थोरै मात्रामा त्यसको गन्ध पाउन सकिन्छ ।
काकस्यः परिवेदनाः ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 21 भाद्र, 2077

लेखकका अन्य रचनाहरु