जदौ काठमाडौँ

- कृष्ण उपाध्याय

न मैले हँसाए न उस्ले हँसायो
र हाँस्ने कुरा चैँ कसैले बगायो
नहाँस्दा नि बाँच्ने बन्यो यो जमाना
परी फुङ्ग आफू रसाएँ कुनामा ।

अशान्तै छ सारा कहाँ हुन्छ अन्त
नहाँस्ने जमाना म यात्री दिगन्त
नदेख्दा कतै नै न हाँसो मिठास
त्यसैलै नहाँसी बसेको उदास ।

यही गाउँ कस्तो जहाँ शून्यता छ
यही ठाउँ कस्तो जहाँ मौनता छ
यही काठमाडौँ झनै पो उदास
नहाँसूँ म यात्री कहाँ ठाउँ खास !

नदी ताल झर्ना नहाँसी बसेका
सफा नीलिमाले नगाँसी सजेका
उडे सामुबाटै चरा दूर कुञ्ज
लिई फर्किने छन् खुसीको निकुञ्ज ।

उदासी थिएँ नै नहाँसी बसेँ नै
खुसी शान्ति मिल्ने छ आशा कसेँ नै
अकस्मात् म यात्री उडेँ अन्य ठाउँ
जदौ काठमाडौँ पुनः हाँस्न आऊँ ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 17 भाद्र, 2077

लेखकका अन्य रचनाहरु