चम्स्कीः भाषिक सामर्थ्य, सार्वभौमिकता र सिर्जनशीलता

- सन्तोषकुमार काफ्ले

१.विषय प्रवेश
चमस्कीले संरचनावादी भाषाविज्ञान तथा अनुभववादी र व्यवहारवादी मनोविज्ञानको विरोध गरी भाषविज्ञान एवम् भाषासिकाइका क्षेत्रमा नयाँ दृष्टिकोणहरु प्रस्तुत गरेका छन् । उनको रुपान्तरण व्याकरण संरचनावादी व्याकरण संरचनावादी व्याकरणका सीमाहरुको निराकरण गर्ने सन्दर्भमा विकसित भएको भाषिक चिन्तन हो । चम्स्कीको उदय हुनुपूर्व अमेरिकामा वोआस,सपिर, व्लुमफिल्ड जस्ता भाषवैज्ञानिकहरुको संरचनावादी भाषिक सिद्घान्त र नेलसन गुडम्यान, हिलरी पटनम,डब्लु.बी.क्वाइन,स्किनरवाटसन,जोन लक जस्ता व्यक्तिहरुको अनुभववादी दर्शन एवम् व्यवहारवादी मनोविज्ञानले व्याप्क प्रभाव पारेको थियो । स्वयम् चम्स्की प्रभावमै यिनै भाषिक चिन्तनबाट प्रभावित रहेका देखिन्छन् । उनले संरचनावादी पद्घतिमा भाषाको विश्लेषण गर्दा धेरै समस्याहरु देखापरेपछि रुपान्तरण व्याकरणको प्रवर्तन गरिएको हो । मूलतः तथ्यहरुको विश्लेषण गर्ने गणितका उत्पादक सूत्रहरु जस्तै भाषिक तथ्यहरुको विश्लेषणका निम्ति उत्पादक सूत्रमा आधारित भाषिक सिद्घान्तको खोजी गर्ने सन्दर्भमा रुपान्तरण व्याकरणको उदय भएको हो ।
भाषाका सन्दर्भमा विभिन्न विद्वानहरुको आ–आफनै मत रहेको छ । यसै सन्दर्भमा पाश्चात्य जगतमा देखापरेका अमेरिकी चम्स्कीले भाषाका सन्दर्भमा फरक मत राखेका छन् । उनको रुपान्तरण व्याकरणको पृष्ठभूमिमा भाषिक सामाथ्र्य केलाउनु, भाषिक सार्वभौमिकतालाई परिचित गराउनु र भाषिक सिर्जनशीलताको परिचय दिनु यस अध्ययनको मुख्य उद्देश्य रहेको छ । यस अध्ययनका क्रममा पुस्तकालयीय अध्ययन विधिको प्रयोग गरिएको छ । विद्वानका राय,सल्लाह,सुझावलाई यसमा प्रयोग गरिएको छ । यसमा विभिन्न स्रोतबाट तथ्य संकलन गरी निष्कर्ष निकाल्ने प्रयास गरिएको छ ।
२.व्याख्या विश्लेषण
२.१परिचय
नोम चम्स्कीको पूरा नाम अब्राहम नोम चम्स्की हो । उनको जन्म सन् १९२८ डिसेम्बर ७ मा अमेरिकाको फिलाडेल्फियामा भएको थियो । उनका पिता विलियम चम्स्की र माता एल्सी नाम्स्की हुन् । पछि गएर उनी भाषावैज्ञानिक कैरोल स्कात्जसँग वैवाहिक जीवनमा बाँधिन पुगे ।
भाषाविज्ञानका चर्चित व्यक्तित्व अब्राहम नोम चम्स्की रुपान्तरण व्याकरणका जन्मदाता हुन् । उनले संरचनावादी व्याकरण मान्यताको खण्डन गर्दै रुपान्तरण व्याकरणको प्रतिपादन गरेका छन् (भण्डारी र पौडेल, २०७०, पृ.९७) । यो रुपान्तरण व्याकरण आधुनिक भाषाविज्ञानको निकै चर्चित विषय हो । आधुनिक भाषाविज्ञानका क्षेत्रमा चम्स्कीले दिएको योगदानलाई मनोविज्ञानका क्षेत्रमा फ्रायडले र अर्थशास्त्रका क्षेत्रमा केनिसले दिएका योगदानसँग तुलना गर्न सकिने देखिन्छ (बन्धु, २०६४, पृ.१४८)। यसैले भाष विज्ञानका क्षेत्रमा रुपान्तरण व्याकरणको आगमनलाई चम्स्केली क्रान्तिका रुपमा लिने गरिन्छ । यसको विकास तथा विस्तार हुने क्रममा बुद्धिवादी दर्शनको प्रभावमा चम्स्कीले रुपान्तरण व्याकरणका मान्यता अगाडि ल्याएका छन् । यसरी भाषाका सन्दर्भमा चम्स्की सन् १९४५मा जेलिङ ह्यारिसजस्ता प्रसिद्ध संरचनावादी भाषाशास्त्रीको प्रेरणाबाट भाषा क्षेत्रमा लागेको भटिन्छ (गैरे, २०६४, पृ.३४२) । जीवनको प्रारम्भमा वा चम्स्की जन्मदा अमेरिकामा सपिर, बोआस र ब्लुमफिल्डका भाषासम्बन्धी चिन्तनको प्रभाव रहेको देखिन्छ । यसै सरोफेरोमा चम्स्कीले स्कुलमा परम्परागत व्याकरण पढ्ेका थिए । चम्स्कीले ११ वर्षको उमेरमा आफ्ना बुबाद्वारा लेखिएको हिब्रू भाषाको व्याकरणको प्रुफ पढने अवसर पाए । यसले गर्दा चम्स्की परम्परावादी र संरचनावादी दुबैखाले व्याकरणबाट परिचित हुन पुगे । यसका साथै चम्स्कीले पेन्सिलभानिया विश्वविद्यालयमा रहँदा आफ्ना गुरु जेलिङ्ग ह्यारिसका निर्देशनमा संरचनावादकै सीमाभित्र रही वाक्य रूपान्तरण बारे काम गरेका थिए । यसै पृष्ठभूमि रहँदै अमेरिकामा संरचनावादी पद्धति निकै चर्चित भइरका बेला त्यसलाई चुनौति दिँदै आफ्नो रुपान्तरण व्याकरणका मान्यतालाई अगाडि सारी सन् १९५७ मा पहिलो पटक प्रकाशमा ल्याएका थिए । रुपान्तरण व्याकरणलाई चम्स्कीले समय समयमा सामयिक सुधार, परिमार्जन तथा परिबद्र्धन गरेको देखिन्छ । यसका साथै चम्स्कीको रुपान्तरण व्याकरणलाई निम्न अनुसार विकास गरिएको पाइन्छ (ओझा र गिरी , २०६४, पृ. १४९) ः
१. क्लासिकल सिद्धान्त (सन् १९५७)
२. मानक सिद्धान्त (सन् १९६५)
३. विस्तारित मानक सिद्धान्त (सन् १९७०)
४ संशोधित. विस्तारित मानक सिद्धान्त (सन् १९७५)
५. शासन र आबद्धताको सिद्धान्त (सन् १९७५)
६. न्यूनतमवादी सिद्धान्त
२.२ रुपान्तरण व्याकरणका मान्यताहरू
चम्स्कीलाई अमेरिकी भाषाविद् एवम् आधुनिक भाषा बैज्ञानिक मानिन्छ । उनका रुपान्तरण व्याकरणसँग सम्बन्धित सबै सिद्घान्तहरु चम्स्कीका परिवर्तनशील धारणा र सैद्घान्तिक विश्लेषणका सन्दर्भमा विकसित भएका छन् । यसै सिद्घान्तहरुका केन्द्रियतामा भाषविज्ञानका क्षेत्रमा चम्स्कीले दिएका योगदानहरुको मूल्याङ्कन निन्नानुसार गर्न सकिन्छ ः
१. अनुभववादको विरोध र वुद्धिवादको समर्थन
२. भाषिक सम्पादनको नभई सामथ्र्यको व्याख्या
३. भाषिक सार्वभौमिकता
४. भाषाका आन्तरिक र बाह्य संरचनाको व्याख्या
५. भाषिक सिर्जनशीलता वा उत्पादनशीलतामा जोड
६. वाक्यवादी व्यारकणात्मक अवधारणाको स्वीकार
यस लेखमा भाषिक सामथ्र्य, भाषिक सार्वभौमिकता र भाषिक सिर्जनशीलता तथा उत्पादनका आधारमा नोम चम्स्कीको योगदानको चर्चा गर्ने प्रयास गरिएको छ ।
२.२ ं१ भाषिक सम्पादनको रुपमा नभई सामथ्र्यको रुपमा
भाषभाषीमा रहेको भाषासम्बन्धी वास्तविक ज्ञानलाई भाषिक सामाथ्र्य भनिन्छ । व्याकरणले भाषाका संरचनाको वर्णन नगरेर भाषाभाषीको वास्तविक ज्ञानलाई अभिव्यक्त गनुपर्ने तथा भाषिक सिद्घान्तले आदर्श वक्ता र श्रोताका भाषिक क्षमताहरु भाषामा कसरी व्यक्त भएका छन् भनेर खोजी गर्नुपर्ने जस्ता विषयसँग सम्बन्धित रहेको पाइन्छ । चम्स्कीले रुपान्तरण व्याकरणमा भाषिक सामथ्र्यको व्याख्या गरेको पाइन्छ । यस सन्दर्भमा उनले लाइवनित्स, पोर्ट, रोयल, व्याकरणका मान्यतालाई आधार मानी उनले यस मान्यतालाई अघि ल्याएका हुन् । वक्ताले सम्पन्न गरेको भाषिक कार्यलाई भाषिक सम्पादन भनिन्छ भने प्रयोक्ताले प्राप्त गरेको भाषासम्बन्धी ज्ञान वा सीपलाई सामथ्र्य भनिन्छ । यसैले यस रुपान्तरण व्याकरणमा संज्ञानवादी मान्यतालाई प्रस्तुत गरेको पाइन्छ । उनी दिमागलाई निष्क्रिय शतिm मान्दैनन् । उनका अनुसार मष्तिकमा भाषाप्राप्तिको संयन्त्र(LAD) रहेको हुन्छ । यो मानिसको सहजात वा अन्तर्जात विशेषता हो । यही शक्तिका आधारमा उसले भाषिक ज्ञान आर्जन गर्छ भन्ने चम्स्कीको बुझाइ रहेको छ । भाषा सुन्दा र पढ्दा बुझ्ने क्षमता नै भाषिक सामथ्र्य हो । चम्स्कीले बालकले उसको भाषिक सामथ्र्यलाई जन्मजातरूपमा लिएर आएको हुन्छ यसैले प्रयोक्ताले कहिल्यै नसुनेका र प्रयोग नगरेका वाक्यहरू बुझ्न सक्ने सन्दर्भलाई चम्स्कीले भाषिक सामथ्र्यकोरूपमा व्याख्या गरेको पाइन्छ । चम्स्की पूर्वका भाषावैज्ञानिकहरू वर्णनात्मक अध्ययनमा सीमित थिए । उनीहरू भाषिक सम्पादनमा जोड दिन्थे । भाषिक सम्पादन भनेको कसले के प्रयोग गरेको छ भनी हेर्नु हो । चम्स्कीले संरचनावादी भाषिक सम्पादनको मान्यतालाई सतर्क गलत ठान्दै भाषिक सामथ्र्यको सिद्धान्त अघि सारेकाहुन् । चम्स्कीकाभनाइअनुसार भाषिक सामथ्र्य भनेको व्यक्तिको संज्ञान क्षमतासँग सम्बनिधत कुरा हो भने भाषिक सम्पादन भनेको भाषाको प्रयोग वा प्रकटीकरणसँग सम्बन्धित कुरा हो (पौडेल,२०७४,९५) । यसप्रकार भाषिक सामथ्र्य बोध पक्षसित र सम्पादन अभिव्यक्तिसित सम्बन्धित रहेको देखिन्छ । चम्सकीका विचारमा“वक्ताले के जानेको छ ?” अर्थात् आदर्श वक्त र स्रोताका भाषिक क्षमताहरू भाषामा कसरी व्यक्त भएका छन् भन्ने कुराको खोजीगर्नु नै भाषिक सामथ्र्य हो । यसले वक्तमा रहेको भाषासम्बन्धी वास्तविक ज्ञानलाई अभिव्यक्त गर्दछ ।
उनले व्यवहारवादीको उत्तेजना प्रतिक्रियात्मक वयवहारवादी मान्यतालाई अस्वीकार गरी बुद्घिवादी एवं मानसिकतावादी धारणाको समर्थन गरेका छन् । यसलाई स्पान्तरण व्याकरणको मूलभूत मान्यताको रुपमा लिन सकिन्छ । भाषिक कार्य सम्पादनका क्रममा आफूले सुनेका कुरा मात्र नदोहो¥याई नयाँ नयाँ शब्द निर्माण, वाक्य ढाँचाको प्रयोग गर्ने गरेको पाइन्छ ।
२.२ .२ भाषिक सार्वभौमिकता
संरचनावादीहरू भाषिक सार्वभौमिकताको विरोधमा थिए र उनीहरूको धारणा भाषिक विशिष्टताको खोजी हो । उनीहरू कुनै एउटा भाषा अर्को भाषाभन्दा त्यस भाषाको मौलिकताका आधारमा भिन्न छ भन्थे । यस कुरालाई चमस्कीले विरोध गरेनन् । तर संरचनावादीहरूको भाषिक विशिष्टताको अन्वेषणको मूल धारणाका विपरीत भाषिक सार्वभौम गुणको खोजी गरे । यस धारणाको मूल मान्यता के हो भने संसारका सम्पूर्ण भाषाहरूमा पाइने साझापन नै भाषिक सार्वभौमिकता हो । चम्स्कीका अनुसार संसारका सम्पूर्ण भाषाको आन्तरिक संरचना समान हुने तर बाह्य संरचनामा आउँदा मात्र रुपान्तरण नियमका कारण फरक हुने गरेको पाइन्छ भन्ने हो । सबै मानिसका मस्तिष्कमा पनि एकै किसिमका भाषिक संरचना हुने भएकाले संसारका जुनसुकै भाषा पनि सिक्न सक्ने सामथ्र्य मानिससँग रहेको हुन्छ । रुपान्तरण व्याकरणले संसारका सबै भाषमा आन्तरिक तहमा साझा विशेषताहरु रहेका हुन्छन् भन्ने मान्यतालाई प्रस्तुत गर्दै भाषका विश्लेषणका क्रममा भाषामा निजि विशेषताहरुलाई मात्र नकेलाई भाषाका साझा नियमहरुको खोजी गर्नुपर्ने कुरामा जोड दिएका छन् । भाषामा पाइने यिनै सामान्य विशेषतालाई सामान्य अथमा भाषिक सार्वभौमिकता भनिन्छ । खास गरी सबै मानिसका मष्तिष्कमा रहने साझा विशेषता र सबै भाषामा रहने साझा विशेषता नै मानव र मानव भाषाका बीचमा रहने सार्वभौमिकता हो ।
चम्स्कीका अनुसार भाषामा आन्तरिक र वाह्य गरी दुई तहको संरचना रहेको हुन्छ । उनी संसारका सबै भाषामा सार्वभौम रुपमा पदावली संरचना हुन्छ । रुपान्तरण नियम लाग्नुभन्दा पहिलेको संरचनालाई आन्तरिक संरचना मान्ने गरिएको छ । हरेक भाषको आन्तरिक संरचना एकै किसिमको हुन्छ । बाहिरी तहमा भाषहरु विशिष्ट देखिए पनि अन्त संरचनाका तहमा तिनीहरु समान हुन्छन् । वाक्य,उपवाक्य,पदावली, उदेश्य,विधेय,वर्ण रुप लगायतका एकाइहरु सबै भाषमा रहेकै हुन्छन् । यसैगरी हरेक भाषाका वाक्यहरु उद्देश्य र विधेयमा विभक्त हुन्छन् । भाषा भाषका बीचका यस्ता समान विशेषता नै सार्वभौम भाषिक विशेषता हुन् । शब्द प्रविष्टि एवं रुपान्तरण नियमका कारणले बाह्य तहमा मात्र हरेक भाषा भिन्न भिन्न हुन्छन् । उनले यसमा भाषिक सार्वभौमिकताको खोजी गरेका छन् ।
२.२. ३ भाषिक सिर्जनशीलता वा उत्पादनशीलतामा जोड
सीमित नियमका आधारमा असीमित वाक्यको उत्पादन नै भाषिक सिर्जनशीलता वा उत्पादनशीलता हो । हरेक भाषामा सिर्जनशीलता हुने हुँदा नयाँ नयाँ शब्दहरु सिर्जना हुने गर्दछन् । यसैको सापेक्षमा वक्ताले थोरै ज्ञानका आधारमा पनि धेरै भाषिक कार्य सम्पन्न गर्न सक्ने देखिन्छ । भाषिक वक्ताले कुनै एक वाक्यको नियमलाई देखाई त्यसका आधारमा उसले अनन्त वाक्यहरूको सिर्जना गर्न सक्नु नै उत्पादनशीलता वा सिर्जनशीलता हो । जानेका नियमका आधारमा कहिल्यै नसुनेका र नपढेका वाक्यहरू बुझ्न तथा नयाँ वाक्यहरू निर्माण गर्न सक्ने क्षमता मानिसमा रहेको हुन्छ । चम्स्कीको यहीँ मान्यताका आधारमा यसलाई उत्पादक व्याकरण भनिएको हो । यसबाट उसले असङ्ख्य वाक्यहरुको निर्माण गर्न सक्दछ ।
क्लासिकल सिद्दान्तमा भाषिक उत्पादनशीलता सम्बन्धि मान्यतालाई प्रस्तुत गरिएको छ । सीमित नियमका आधारमा असीमित वाक्यको उत्पादन गर्ने कार्यलाई भाषिक उत्पादनशीता भनिन्छ । बालकले भाषा सिकाइका सन्दर्भमा जन्मजात लिएर आएको ज्ञानआर्जनको बौद्घिक संयन्त्रका आधारमा भाषिक नियमहरु आत्मसात् गर्दै भाषिक सामाथ्र्य आर्जन गर्ने धारणा नोम चम्स्कीले राखेका छन् । यही भाषिक सामथ्र्यका कारण सीमित नियमका आधारमा बालकले असीमित वाक्यको उत्पादन गर्ने धारणालाई चम्स्कीले उत्पादनशीलता भनेको पाइन्छ । यस सिद्घान्तमा वाक्यतत्वको अध्ययनमा केन्द्रित रहँदै वाक्यतत्वको अध्ययनको लक्ष्य भाषाका सिद्घान्तको निर्माण गर्नु तथा सीमितथ नियमहरुद्वारा असीमित वाक्यको निर्माण गर्ने प्रक्रियालाई देखाउनु हो भन्ने धारणा राखेका छन् ।
सामथ्र्यका सन्दर्भमा मातृभाषाभाषीमा रहने भाषासम्बन्धी वास्तविक ज्ञानका रुपमा भाषिक सामथ्र्यलाई अथ्र्याएका छन् । यसैले उत्पादनशील सामथ्र्य राख्दछ ।
३ .निष्कर्ष
मानवीय भाषा संज्ञानात्मक क्षमताको उपज हो । यसै क्ष्मताको आधारमा मानिसले भाषा सम्बन्धी ज्ञान हाँसिल गर्दछ । संसारको जुनसुकै भाषा सिक्न सकने क्षमता मानिसमा रहेको हुन्छ । यसमा उसले जन्मदै लिएर आएको LAD ले सहयोग गर्दछ । यही बुद्घिवादले गर्दा मानिसले भाषिक सामथ्र्य प्राप्त गर्दछ । यसले नया नयाँ वाक्य सिर्जना गर्न सहयोग गर्दछ । सीमित नियमका आधारमा मानिसले असीमित वाक्य निर्माण गर्नु भनेकै उत्पादनशीलता हो । यसले विमातृभाषी विद्यार्थीलाई भाषा सिकाउन निकै सहयोग गर्दछ । यसका साथै संसारका सबै भाषाहरु आन्तरिक तहमा समान गुण बोकेका हुन्छन् भने वाह्य तहमा रुपान्तरण व्याकरण नियम प्योग गर्न सकिने अवस्थामा रहेको हुन्छन् । यसैले भाषामा रहेको आन्तरिक विशेषतालाई नै सार्वभौमिकता भनिएको हो । हरेक भाषको आन्तरिक संरचना एकै किसिमको हुन्छ । बाहिरी तहमा भाषाहरु विशिष्ट देखिए पनि अन्त संरचनाका तहमा तिनीहरु समान हुन्छन् । वाक्य,उपवाक्य,पदावली, उदेश्य,विधेय,वर्ण रुप लगायतका एकाइहरु सबै भाषमा रहेकै हुन्छन् । यसैले आधुनिक भाषविज्ञानमा उनको यस भाषिक मान्यताले महत्वपूर्ण स्थान बोकेको पाइन्छ ।
सन्दर्भ सामग्री
आचार्य, लक्ष्मीप्रसाद (२०७०), सामान्य भाषाविज्ञान, काठमाडौं ः सारथि पब्लिकेसन प्रा.लि. ।
ओझा, रामनाथ, गिरी, मधुसुधन (२०६४) भाषाविज्ञान, काठमाडौंं, काठमाडौं ः सनलाइट पब्लिकेसन
गैरे, ईश्वरीप्रसाद (२०६४), भाषाविज्ञान र नेपाली भाषा, काठमाडौँ ः हजुरको प्रकाशन ।
पौडेल,माधवप्रसाद (२०७४),प्रायोगिक भाषाविज्ञान,काठमाडौंः विद्यार्थी प्रकाशन प्रा.लि ।
बन्धु, चूडामणि (२०६४), भाषाविज्ञानका सम्प्रदाय, काठमाडौँ ः एकता बुक्स डिस्ट्रिब्युटर्स प्रा. लि ।
भण्डारी, पारशमणि र पौड्याल, सालिकराम (२०७०), सामाजिक भाषाविज्ञान र मनोभाषाविज्ञान, काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।
भुसाल,विश्वास र आचार्य,विष्णु (२०६८) भाषविज्ञानका प्रमुख सिद्घान्त सहायक, काठमाडौ ः स्टुडेन्ट बुक ।
यादव, योगेन्द्रप्रसाद र रेग्मी, भीमनारायण (२०५८) भाषाविज्ञान, काठमाडौं ः न्यु हिरा बुक्स इन्टरप्राइजेज

बराह न पा ११, सुनसरी

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 16 भाद्र, 2077

लेखकका अन्य रचनाहरु