संसारको सबभन्दा ठुलो त्रिशुल !

- काशीनाथ मिश्रित

शिक्षण पेशामा लागेपछि रहर हुँदाहुँदै पनि घुम्न पाइँदो रहेनछ । प्रकृतिका अनेकन रमाइला ठाउँहरू भ्रमण गर्ने इच्छालाई मनभित्रै हत्या गर्नु पर्ने कस्तो पेशा रोजिएछ कुन्नि ! कहिलेकाहीँ त दिक्क पनि लाग्छ । शैक्षिक भ्रमणका नाममा विद्यार्थीहरूलाई लैजाँदा विद्यालय बन्द गरेरै सबै जना गए मात्र हो नत्र मियाँको यात्रा मस्जिदसम्म भने झैँ घरबाट विद्यालयसम्मको यात्रा हुन्छ शिक्षकको । आफू परेँ त्यस्तै मध्येको एउटा मामुली शिक्षक । तै पनि कसो एक पटक जिल्ला स्तरको हाजिरी जवाफ प्रतियोगितामा विद्यार्थी लिएर जाने अवसर मिल्यो ।
तोकिएको समयभन्दा एक डेढ घन्टा ढीलो कार्यक्रम सुरु गर्नु नेपालीको विशेषता नै बनिसकेकोछ । साना होउन् वा ठुला, सरकारी होउन् वा गैर सरकारी सबै कार्यक्रमहरू समयमै थालिनु र समयमै सिद्धिनु त मुस्किलै हुन्छ । जे होस् कार्यक्रम सुरु भयो । विद्यार्थीहरूलाई बसाइ व्यवस्थापन मिलाएर क्रमिक रूपमा प्रश्नहरूको सवाल जवाफ थालियो । ‘सामान्य ज्ञानको दायरा फराकिलो हुने हुनाले प्रश्नहरू जस्ता पनि सोधिन सक्छ । आत्तिनु र हतारिनु हुँदैन । समय र नियमको ख्याल गरेर जवाफ दिनुपर्छ ।‘ भनेर मैले पहिले नै विद्यार्थीलाई सचेत गराएको थिएँ ।
अतिथि बनेर प्रश्नोत्तर सुन्नुबाहेक मेरो अरु केही काम थिएन । प्रश्नकर्ताले सोधे – ‘एसिया महादेशको सबभन्दा ठुलो त्रिशुल कहाँछ?’ उत्तर तुरुन्तै आयो – ‘भैरवस्थान मन्दिर पाल्पा’ । उत्तर मिलाउने समूहलाई अङ्क प्राप्त भयो । तर मलाई भने उत्तर गलत लाग्यो । दिमाग घुम्न थाल्यो फनफनी । वास्तवमा शरीरबाट मन अलग्गियो । शरीर कुर्सीमा सबैले देख्ने गरी त्यहीँ बसिरहेको भए पनि मन बेपत्ताले दौडन थाल्यो । अँहँ यो हुनै सक्दैन । मैले कक्षा छ मा पढ्दा नै देखेको त्यो त्रिशुल त्यतिविधि ठुलो त्रिशूल होइन र छैन भन्ने मलाई भान भयो । के त्योभन्दा ठुला त्रिशुल अरु छैनन् त एसियामा? सुनौला घामका किरण पर्दा सुन झैँ टल्केको दृश्य आँखा अगाडि झल्झली नाच्न थाल्यो । कसरी उक्त त्रिशुल हेर्नकै लागि म त्यहाँ पुगेको थिएँ ! मैले छ कक्षामा पढ्दादेखि अहिलेसम्म पनि यो प्रश्न बदलिएको रहेनछ । कत्रो रहेछ त एसियाको ठुलो त्रिशुल भनेर जुत्ता पनि नलगाई फुपूसित भैरवस्थान पुगेको मलाई कुर्सीमै राखे पनि मनलाई भने चौँतिस वर्ष अघि धकेलिदियो मस्तिष्कले विगतको यादमा ।
अरु के के प्रश्न सोधिए अब मेरो कानले सुने पनि भित्र पस्न सकेनन् कानको जालीबाट । टाउको अचल मुर्तिवत् बसिरहेँ म । मन दौडेर उक्त चौतिस वर्ष अघिको त्यो उत्तेजक र आकस्मिक यात्राका चोइटिएका टुक्राटाक्रीहरू जम्मा गर्न थाल्यो ।कसरी घरमा भैरवस्थान जाने चर्चा चलेदेखि नै म बुरुक्क बुरुक्क उफ्रन थालेको थिएँ ! कसरी ‘हिँड्न सक्दैनौ, नजाऊ बाबु’ भनेर सम्झाउँदा पनि नमानीनमानी सेन्दीको पछिपछि लागेको थिएँ !! यादले वर्तमान भुलेर विगतमा घोप्ट्याइदियो सारा चिन्तनलाई ।
२०४३ सालको मङ्सिर महिनाको अन्तिम मङ्गलबार होला शायद । प्रायः भैरवस्थानमा मङ्गलबार र शनीबार पारेर जान्छन् टाढाका भक्तजनहरू । टाढा भएकाले र दिन जुराउनु पर्ने भएकाले गाउँघरका अन्य इच्छुकहरूलाई पनि खबर गरेर जाने चलन छ । सोहीअनुरुप हाम्रो घरमा खासखुस हल्ला सुनेको थिएँ मैले भैरवस्थान जाने । हाजिरी जवाफमा सोधिएको एसियाको ठुलो त्रिशुल हेर्नकै लागि भनेर मात्र हैन मलाई जान मन लागेको । खासखुसबाट देवी गिरीको ट्रकमा चढेर जाने भन्ने सुनेकाले ट्रकमा चढ्न पाइन्छ भनेर पनि जाने लोभ जागेको थियो त्यतिबेला । ‘ट्रक त जाँदा मात्र हो; आउँदा त हिँड्नै पर्छ । टाढा छ, सक्दैनस् कि न जा भो माइला ।‘ हजुरआमाले मलाई फकाउन खोज्नुभयो तर मैले ढिपी कसेँ । छ वर्षको उमेरमा तानसेन पैदलै गएको थिएँ हजुरआमासित । आज तेह्र वर्षको हुँदा पनि नसक्ने कसरी भए? भनेर जिद्दी गरेपछि सेन्दीले लैजाने हुनुभयो ।
बिहान झिसमिसेमै उठेर भैरवस्थान जानका लागि तयारी भयो । सेन्दी र म बाहेक शान्ता दिदी, माहिली आमा, ठाकुर दाइ, राम गिरी दाइ(ट्रक मालिक देवीका भाइ), बाँसपाटा माहिली आमा यात्राका सहभागी थिए भन्ने पनि मनले भुलेको थिएन । हाम्री फुपूलाई सबैले सेन्दी भन्थे । उहाँ सानैमा विधवा भएर माइतैमा बस्नुहुन्थ्यो । ‘सानी दिदी’को छोटकरीमा सान दी, स्यान् दी हुँदै अपभ्रंश भएर सेन्दी भएको हो भन्ने पछि बोध भएको हो मलाई । घामथरा पल्तिरै पुग्दा बजारमा दुध पुर्याएर फर्किँदै गरेका यज्ञले सोधे ‘कहाँ हिँड्नुभयो काशीजी?’ मैले ‘भैरन्थान’ भनेपछि म पनि जाने भन्दै घरतिर दौडिहाले । अब यो साइँध्वा पनि जाने भयो भनेर यज्ञकि आमा(बाँसपाटा माहिली आमा)ले भन्दा पनि म हिँडेको देखेर यज्ञलाई जाने मन लागेको स्पष्ट भयो ।
यज्ञ उमेरले मभन्दा कान्छो भए पनि सात कक्षामा पढ्थे । हामी छिमेकी मात्र नभएर विद्यालय आउँदा जाँदाका सहयात्री पनि थियौँ । छुट्टिने बेलामा सधै 'हस्त’भन्ने शब्दको प्रयोग गर्थ्यौँ ‘हवस् त’को छोटकरी रूपमा । विद्यालयमा अनुशासनका कडा नियमहरू पालन गर्नु पर्थ्यो । साथीहरूलाई सम्बोधन गर्दा नामको पछाडी ‘जी’ लगाउनु अनिवार्य थियो । उच्च आदरार्थी शब्द ‘तपाईँ’को प्रयोग भएन भने तत्कालीन समयमा पनि एक रुपैयाँ जरिवाना तिर्नु पर्थ्यो । त्यसैले भाइ भए पनि यज्ञलाई मैले यज्ञजी भन्थेँ र उनले पनि मलाई काशीजी नै भन्ने गर्थे । त्यस बेला गुरुहरूले यो नियम नलगाएको भए हामी कति अनुशासनहीन हुन्थ्यौँ होला आज सम्झँदा उदेक लाग्छ ।पाँच मिनेटभित्रै यज्ञ आइहाले हाम्रो समूहलाई भेट्न । ‘कुकुरले नपाएको दुःख पाउँछौ केटा हो, नजाओ तिमीहरू !’ हामी दुवैलाई फर्काउन धेरै पटक प्रयास गरे कति जनाले तर सकेनन् ।
लुगा त जाडो थाम्नेसम्मका थिए तर खुट्टामा जुत्ता/चप्पल केही थिएन । नाङ्गो गोडा नै विद्यालय जान्थ्यौँ । अहिले जस्तो जन्मदै जुत्ता लगाउन त्यतिखेर कहाँ पाउनु? अहिले जस्तो विद्यालयमा पोशाकको अनिवार्यता थिएन । आर्थिक रूपले पनि पछाडि नै थियो समाज । कोही कोही त जुत्ता मोजा लगाएर पनि आउँथे । चामलमा बियाँ भेटिए जस्तै लाग्थे तिनीहरू । हाम्रो जस्तो न्युन आर्थिक स्थिति भएको परिवारमा त्यो सम्भव थिएन नै । विद्यालयहरू पनि त अहिले जस्तो सुविधासम्पन्न कहाँ थिए र ! बेन्चमा बस्न पाएको त कक्षा चारमा पुगेपछि मात्र हो । डेस्कको प्रयोग सात कक्षामा पुग्दा गरेको थिएँ उसमाथि अघिल्लो पङ्क्तिमा बस्नेले मात्र । ट्याक्टर हिँड्ने कच्ची मोटर बाटो बनेको थियो । बाटोमा हिँड्दा खुट्टाको पन्जा र कुर्कुच्चाको डाम पुरै पर्यो भने भाग्य नभएको र बीचमा काटिएर पर्यो भने भाग्य भएको हुन्छ रे भनेर पाइलाका डोबहरू हेर्दै हिँडेको बानी थियो विद्यालय जाँदा आउँदा । पाइतलाले सानोतिनो काँढालाई बिझ्न दिँदैनथ्यो । तर तुषारो परेको जमिन खाली गोडाले टेक्दा माटो, ढुङ्गा वा पात पतिङ्गर केमा टेकियो भन्ने थाहा पाउन सकिँदैनथ्यो । कुनै तीखो काँढाको घोँचाइभन्दा कम थिएन तुषारोको चिसो । चिसो मुटुसम्मै पुगेको थियो तर त्यसलाई उत्साहले दबाएकोले होला कम्पन पनि भएन र मैले व्यक्त पनि गर्ने कुरा भएन । टक्सारमुनिको उकालोमा त खुट्टा नै झर्ला जस्तो गराएको थियो ठन्डीले । केही समस्या खडा गर्ने बित्तिकै फर्कन परिहाल्थ्यो । जतिसुकै ठिहिर्याएको भए पनि म नबोली हिडिरहेँ । बलेटक्सार पुग्दा घाम देखिएकाले केही राहतको अनुभूति त भयो तर पैतालाले थाहा पाउने गरी भने होइन । ट्रक आउँछ भनेर केही समय सबैले पर्खेरै बस्यौँ । ‘थोर्गामा गाडी बिग्रेर बाटो थुनिएको छ रे; हाम्रो गाडी जाँदैन रे अब ।‘ राम गिरीले यति सुनाएपछि त हामीलाई फर्काउने झन् ठुलो मौका मिल्यो । ‘ल दिनभरि हिँड्नुपर्ने भयो । तिमीहरू यहीँबाट फर्क भो । थकाइ लाग्छ ।‘ हामीलाई सबैले एक स्वरले सम्झाउन खोजे । तर मेरो मनले दृढ इच्छा गरिसकेकोले हिँड्नै परे पनि म जान्छु भनेर आफ्नो दृढता व्यक्त गरेँ । फर्कन मान्दै मानिनँ । मैले नमानेपछि यज्ञले मान्ने कुरै भएन ।
आखिर कुर्कुच्चा र पन्जा कसको जोडिन्छ कसको जोडिँदैन भनेर धुले मोटर बाटोमा पाइतलाका डोबहरू हेर्दै हामीलाग्यौँ छ जनाका अघिअघि ।थोर्गाको बाटो माघे सक्रान्तिमा मेला हेर्न सधै हिँडेको परिचित बाटो हो त्यो । हाम्रो खुशीको सिमा थिएन । बाटोमा पनि बुरुक्क बुरुक्क उफ्रदै हिँड्दा ‘अहिले थाक्यौ भने बाटैमा छोडेर जान्छौँ हामी’ भन्दै पछाडिबाट सम्झाइरहेका थिए तर हामीलाई आफ्नै किसिमको रमाइलो अनुभव भइरहेको थियो । पानीटङ्की भन्ने ठाउँमा पुग्दा पैदल जाने र मोटर हिँड्ने बाटो छुट्टिन्थ्यो । अब हामी कुन बाटो जाने? भन्नेमा सबैजनाको विचार विमर्श भयो । संयोगवश बाटो खुल्यो भने ट्रक आउन पनि सक्छ त्यसैले मोटरबाटो नै जाऔँ भन्ने मैले अडान लिएँ केही फेरो पर्ने भए पनि कुरा चित्त बुझ्ने गर्यो है अहिले माइलाले भन्दै सबै मोटरे बाटो नै हिँड्यौँ पैदल ।
करिब साढे एक घन्टाको हिँडाइपछि फलाँटे भन्ने ठाउँ आयो जहाँ एउटा ट्रक बिग्रेर अरु गाडी ओहोरदोहोर गर्न सकेका थिएनन् । त्यहाँ पुग्दा बिग्रेको गाडी बन्नै लागेको कुरा थाहा भयो । ‘अब यो गाडी टक्सार पुगेपछि हाम्रो गाडी आउँछ । चढेरै जान पाउने भयौ केटा हो ! भाग्यमा त लेखेरै ल्यारैछौ !’ भने राम गिरी दाइले । मोटर बाटो भए पनि आजभोलिको जस्तो पक्की र फराकिलो भए त हुन्थ्यो साँगुरो थियो । त्यसैले बाटोमा बिग्रिएको ट्रकले पुरै बाटो ब्लक गरेको थियो । धुलोमा खाली खुट्टाले टेक्दै आउँदा पनि हामीलाई आनन्द नै लागेको थियो । अहिले जस्तो हातहातमा फोनको सुबिधा भएको भए हामीले त्यो गाडी टक्सार पुगुन्जेल कुर्नु पर्दैनथ्यो । बाटो खुलेर बनेको ट्रक अघि बढेपछि हामी ढुक्क भएर त्यहीँ बस्यौँ; एक पाइला पनि अघि बढेनौँ । लगभग एक घन्टाको कुराइपछि आयो ट्रक । पारि डाँडाको घुम्तिमा आउँदा नै ऊ आयो हाम्रो गाडी भनेर राम गिरी दाइले बताइदिए । सेतो रङको थियो ट्रक । राम गिरी दाइको आफ्नै ट्रकहुनाले र ठाकुर दाइ साथी हुनाले अगाडि बसे । हामी छ जना टालीमा बस्यौँ । टालीमा पन्चड भएको टायर राखिएको रहेछ त्यसैलाई सिट मानेर हामी ट्रक हिँडेको विपरित फर्केर बस्यौँ । त्यसरी बस्दा झन् रमाइलो हुँदो रहेछ । यता र उता हल्लाएर पिङ खेले जस्तो बनाउँदा हामी उत्साहित हुन्थ्यौँ । डरले होइन रमाइलाले हामी चिच्याउँदा आमैहरूले गाली गर्थे । ट्रकमा हाम्रो टोलीबाहेक अरु धेरै मानिसहरू पनि चढेका थिए । खाली ठाउँ थिएन ।
वन जङ्गल भीर पाखा उकाली ओराली खाली गोडा हिँडेर यात्रा गर्नुको मजा नै बेग्लै । ट्रकको टालीमा चढेर झ्याकिँदै र धुलो खाँदै हिँड्नुको मजा पनि अलग्गै । मैले देखेको छु; आकाशमा चिल उडे झैँ हवाइजहाज उडेको । सोच्छु, त्यसभित्र चढेर उड्नुको मजा कस्तो हुँदो हो ! जीवनमा त्यसरी उड्न पाइएला कि नपाइएला? मनले कल्पना गर्दै सहकर्मी यज्ञसितको हुटिङमा पनि साथ दिँदै कतिखेर रिडी झरिएछ पत्तै भएन । बगरपारि पुगेर ट्रक रोक्यो । ‘सेन्दी ! भैरन्थान आयो? अब त हिँडेर जाऔँ न है?म त साह्रै आत्तिएँ !’ शान्ता दिदीले घोप्टिएको मुन्टो नठड्याइकन भन्नुभयो । गाडी लागेर ज्यान नै लल्याकललुक भैसकेको थियो शान्ता दिदीको ।‘बल्ल रिडी आयो । अझै थुप्रै बाँकी छ । हिडेर त साध्य छैन ।‘ भनेर सेन्दीले सम्झाउँदा हामी मात्रै भए पनि हिँडेर जाऔँ अरु गाडीमै जान्छन् भनेर शान्ता दिदी झण्डै प्राण जाला जस्तो गर्नुभयो तर हिँडेर जाने कुरा सम्भव थिएन ।गाडी नै नपाइएको भए कुरै अर्को हुन्थ्यो ।
पुनः ट्रक हुइँकिन थाल्यो आफ्नै गतिमा । तर हामीलाई भने छेउछाउका रुखहरू पो दौडिरहेका छन् जस्तो लागिरहेको थियो । भैरवस्थान पुग्दा मध्यान्ह भैसकेको थियो । मङ्सिरको अन्तिम मङ्गलबार भएकाले होला भक्तजनहरूको घुइँचो थियो मन्दिरमा । भैरवलाई के चढाउने भनेर भाकल गरेका हुन् सोहीबमोजिमका वस्तुहरू ल्याइएका थिए त्यहाँ । बोकाहरू त कति थिए कति ! कुखुराहरू पनि उस्तै !! रगतको त खोलै बगेको । हाम्रो टोलीका भने सबैले रोट नै लगेका थिए । मन्दिरकै पौवामा रोट पकाइदिने व्यवस्था रहेछ । सेन्दी, माहिली आमा र शान्ता दिदीहरू त्यता लाग्नुभयो । ठाकुर दाइ र राम गिरी दाइ भने रोट चढाएर त्यही ट्रकमा बुटबलतिर लाग्नुभयो । यसरी हाम्रो टोलीका दुई जना सदस्य कम भए । पूजाआजाको प्रक्रिया पूरा गर्दा दिन ढल्किसकेको थियो । सूर्यले पश्चिम दिशाबाट नियाल्दै थियो । हामी फर्कने अवस्था थिएन त्यस दिन । टाढाका श्रद्धालुहरूलाई मन्दिरसितै जोडेर बनाइएको पौवामा बस्ने प्रबन्ध पनि रहेछ । हामीले त्यहीँ नै बास पाउने भयौँ ।
पौवाको छत र मन्दिर आम्नेसाम्ने भएकाले छतमा उभिएर मन्दिरको हाताभित्रका सबै गतिविधि नियाल्न सकिन्थ्यो । चिसो चिसो सिरेटोले मुटु छेड्ने गरी हान्दै थियो । तर त्यसको पर्वाह थिएन हामीलाई । मन्दिरको अगाडिको प्राङ्गणमा अलिकति भाग दुबो पलाएको चौर जस्तो देखेँ मैले । ठम्याउन गाह्रो भयो र सोधेँ – ‘यज्ञजी ! ऊ त्यो कालोकालो देखिने के हो?’ श्रद्धालुहरूले चढाउन भनी ल्याएका सानासाना त्रिशुलहरूलाई बाक्लै गरी गाडेर राखिएको ठाउँ रहेछ त्यो । मलाई यज्ञले बताइदिएपछि पो म छक्क परेँ । ‘बाफ रे ! त्यति धेरै त्रिशुलै त्रिशुल हुन् !’ मेरो मुखबाट यस्तो आवाज विस्फोटन भयो । मन्दिरको मुल द्वारअगाडि एउटा चौकोमा अग्लो स्तम्भमा ठुलो त्रिशुल गाडिएको थियो । सूर्यका किरण पर्दा सुन झैँ टिलिक्क टल्कने त्यो त्रिशुल नै हो एशियाको सबभन्दा ठुलो त्रिशुल । कसले बनायो? कहिले बन्यो? त्यो जान्ने चासो हामीलाई त्यतिबेला हुने कुरै भएन । हामी त त्यहाँको रमाइलो वातावरणमै लठ्ठिएका थियौँ ।मन्दिरको स्थापना कसले गरेको हो र किन गरेको हो भन्ने पनि हाम्रो सरोकारको विषय थिएन । बरु शिर काटिएर फ्याँकिएका कुखुराहरू उफ्रेर छतसम्मै छुन खोज्दै गरेको दृश्यले हामीलाई तानिरहेको थियो । बोका भने अचानोमा सुताएर एकै चोटमा काटिँदो रहेछ । काटिएको टाउको भैरवलाई नै चढाइने भएकाले इच्छुकहरूले किनेर लैजाने गर्दारहेछन् । देउताका नाममा बली चढाएर आफुले मासु खाने गजबको चलन कहिलेदेखि चल्यो होला ! मलाई यो विचारले एकैछिन घोरिन बाध्य गरायो । विश्वास हो कि अन्धविश्वास हो खै आफ्नो भाकल पूरा गर्न टाढाटाढाबाट मानिसहरू आइरहेकै थिए ।
एउटै सीधा लहरमा झुण्ड्याइएका पाँचवटा ठुला घण्टहरूको रालोबाट एकएकवटा रसि बाँधेर एकमुस्ठ गरी मन्दिरको बायाँपट्टिको झ्यालभित्र पुर्याइएको थियो । किन त्यसरी सबै घण्टहरूलाई बाँधेका होलान् भन्ने जिज्ञासा भने लागिरहेकै थियो मलाई । सोध्नु पनि कसलाई ! कसैलाई चिनिएको थिएन । सन्ध्या कालमा साँझको पूजा लगाइँदो रहेछ । त्यतिबेला पो थाहा भयो पौवाको कोठाभित्रैबाट एक जनाले त्यो रसी तान्दा सबै घण्टाहरू संयुक्त रूपमा बज्दा अनौठो आवाज आउँदो रहेछ । शङ्ख, घन्ट र डम्मरु बजाएर मन्दिरको परिक्रमा गरिँदो रहेछ । त्यहीँ नै हो मैले पहिलो पटक डम्मरु बजेको आवाज सुनेको । आरती सकेर मन्दिर परिसर सुनसान भएपछि माहिली आमाले खाना पकाउनुभयो । त्यस रात हामी पौवाकै ठुलो हलमा सुत्यौँ ।
भोलिपल्ट सबेरै उठेर सबै जना नुहाउन गए । मलाई भने तँ सक्दैनस् होला अहिले न जा भनेर त्यहीँ छोडिदिए । घाम झुल्किएपछि त त्रिशुलको दृश्य अनौठो देखिँदो रहेछ । यज्ञ र म यो पक्कै सुनको हो भन्ने निष्कर्षमा पुग्यौँ । किनकि सूर्यका उषाकालीन किरणले त्यो पित्तलको त्रिशुललाई सुनौलो बनाइदिएका थिए । पूर्वपट्टि फर्केको मन्दिरको ढोका हामीले हेर्दै गरेको त्रिशुलले छेकिदिन्थ्यो । अर्थात् हामी उभिएको छत र मन्दिरका बीचमा थियो त्रिशुल । धातुका पाताहरूलाई नटले कसेर जोडिएको जस्तो लाग्यो मलाई । त्यति ठुलो त्रिशुल एउटै धातुको टुक्राले बनाउन पक्कै सकिएन होला । त्रिशुलको पातो कति फराकिलो होला यज्ञजी भनेर मैले सोध्दा लगभग ठुला मान्छेको एक हात जति होला भनेर यज्ञले जवाफ दिएको याद अझै ताजै छ । अहो ! योभन्दा ठुलो त्रिशुल यो एशिया महादेशमै छैन हगि ! हामीले त्यही छतमा उभिएर आश्चर्य व्यक्त गरेका थियौँ ।
हिजोभन्दा मानिसको उपस्थिति कम थियो । नियमित पूजा चलिसकेपछि सेन्दी र शान्ता दिदीले मलाई भैरवको दर्शन गराउन लैजानुभयो । ‘लौ हेर् माइला देउता !’ भनेर मन्दिरको ढोकाअगाडि उभ्याइदिनुभयो । भित्र पुजारी थिए । चाँदीको सेतो टल्कने ठुलो खप्पर जस्तो मात्र देखेँ मैले । मुखमा रोटका टुक्राहरू राखिदिएका रहेछन् । ‘खै त यिनै हुन् द्यौता?' मैले जिज्ञासा राखेपछि पुजारीले भने -'खास भगवान त यसभित्र हुनुहुन्छ । भगवानलाई कसैले पनि हेर्न सक्दैन । मूर्ति अत्यन्त डरलाग्दो भएकाले हेर्ने मान्छे मर्छ । हेर्ने मान्छे डरले तत्कालै मर्ने भएकाले कसैलाई पनि देखाउने गरिँदैन ।‘ यस्तो चर्चा मैले घरमै पनि सुनेको थिएँ । भुइँ तलामा देवी र दोस्रो तलामा भैरवलाई राखिएको रहेछ एउटै मन्दिरमा । मन्दिर परिक्रमा गरेर हामी बाहिरियौँ । रोटका प्रसाद लिएर त्यहाँबाट निस्किएपछि नास्ताका रूपमा केही रोट खायौँ । रोटमा लागेको रातो टीका देखेर शान्ता दिदीले ‘छ्या ! रगत लागेको होला ; मैले त खान्नँ’ भनेर रोट खानुभएन । ‘हैन के टीको हो, रगत पनि किन मिसाउँदा हुन् र, यो केटी पनि अचम्म गर्छे ।‘ माहिली आमाले भन्नुभयो ।
‘अब हिँडेर जानुपर्छ । रिडी गएर पुतला दिदीकहाँ भात खाने हो । लौ हिँड केटा हो । ढीलो गर्यौ भने घर पुग्न सकिँदैन ।‘ सेन्दीले यति भनेर हामीलाई खेद्नुभयो । हामी पनि पछिपछि लाग्यौँ । तल सडकमा आएपछि मैले सोधेँ – ‘हामी मोटर बाटो नै हो जाने?’ ‘हैन, खुटिल्याङको बाटो हो । हामी बटौली नुन लिन जाँदा हिँड्ने बाटो । मोटर बाटो त लामो पर्छ ।‘ सेन्दीले भनेपछि हामी सबै पैदल यात्रीहरू भैरवस्थान छोडेर रिडीतर्फ लाग्यौँ । ‘खुटिल्याङ्को ओरालो कति टाढा हो र सेन्दी?’ यज्ञले र मैले धेरै चोटि सोध्यौँ होला शायद । खुटिल्याङ शब्द सुन्दै अनौठो लागेर पनि होला । ‘अहिले आइपुगेपछि भनौँला कति आत्तिएका तिमीहरू !’ हामीलाई सम्झाउँदै आफ्ना गनथन गर्दै उनीहरू हिँडिरहेका थिए । हामी केटाकेटी नै भएकाले उनीहरूको कुराप्रति चासो राखेनौँ । बरु बाटोमा आउने उकाली ओरालीलाई अँगाल्दै छोड्दै हिँडिरह्यौ हिँडिरह्यौ । खुटिल्याङको ओरालो आएपछि यज्ञ र म दुवै जनाले खुट्टो खोच्याउँदै खुटिल्याङ् खुटिल्याङ् भन्दै हिँडेको स्मरण जीवितै छ ।
तानसेनसम्म गाडी नाउँदै वर्षको दुई पटक नुन तेल बोक्न बटौली जान्थे हाम्रो गाउँका बुढापाकाहरू । आजकल त बलेटक्सारमै सबै थोक पाइन्छ । म पनि सानैमा सेन्दीसित तानसेन नुन तेल लिन जाँदा सँगै गएको छु । विकासको क्रमले अहिलेको पुस्तालाई पहिलेको पुस्ताले जति दुःख कष्ट व्यहोर्नु परेन । बिजुली, टेलिफोन, टिभी, नेट जस्ता आधुनिकताका प्रतिकहरु त हामीले दसमा पढ्दासम्म पनि आइपुगेका थिएनन् हाम्रो गाउँमा ।अहिले जस्तो यातायातको सुविधा पनि त पर्याप्त थिएन । भए पनि आर्थिक हैसियत नभएकाले पैदलै हिँड्नुपर्थ्यो । जे होस् हामी छ जनाकोतीर्थ यात्री टोली हाम्री साहिली फुपू अर्थात् पुतला दिदीकहाँ आएर खाना खाइ उकालियौँ थोर्गाको बाटो ।
घर आएपछि मैले मन्दिरमा मुर्ती नदेखाइने विषयमा कुरा गर्दा दाइले भन्नुभएको कुरा पनि ताजै छ ।‘ मूर्ति चोरी गरेर कुन देशमा बेचिसके । अब हेर्न सकिन्न भनेर ढाक्नुको बिकल्प नै के रह्यो र? मरे एक दुई जना मर्दा हुन्; के नै फरक पर्थ्यो र? नत्र इच्छाले मर्न मन लागेका मान्छेले त्यही मुर्ति हेर्थे । यो कुरामा मेरो विश्वास छैन ।‘ कुरा तर्कयुक्त नै थियो । वास्तवमा हाम्रो देशका महत्त्वपूर्ण मूर्तिहरू कति चोरिए कति ! त्यसको लेखाजोखा नै छैन । लेखाजोखा राख्ने निकायका मान्छेहरू नै मूर्ति तस्करी गर्न सम्लग्न पो थिए कि !
मेरो मस्तिष्क त्यो चौतिस वर्षअघिको यात्रा पूरा गरेर वर्तमानमा आइसकेको थियो । हामीले छ कक्षामा पढ्दाको त्यो प्रश्न अहिले पनि परिवर्तन भएको थिएन । मलाई उत्तर गलत नै लागिरहेको थियो । तर मैले त्यहाँ यो उत्तर गलत भयो भन्नु उपयुक्तठानिन । त्यो त्रिशुल एशियाको नै सबभन्दा ठुलो हो भने विश्वको ठुलो कुन हो त? यसको उत्तर कसले दिने? एशियाको ठुलो हो भने विश्वको नै ठुलो हो भन्न किन हिचकिचाउनु पर्ने? त्रिशुल हुनका लागि हिन्दू धर्मका शिव वा भैरव मन्दिरहरू हुनु पर्यो । नेपाल भारतमा रहेनछ भने संसारका अरू कुन देशमा छ त त्योभन्दा ठुलो त्रिशुल? हिन्दूहरुको बाहुल्य भएका अरु देशहरूमा रहेनछ ।कि कसैले यहाँ छ भनेर सप्रमाण प्रस्तुत गर्नु पर्यो हैन भने त्यो पाल्पाको भैरवस्थानमा रहेको एशिया (कतैकतै दक्षिण एशिया पनि भन्ने गरिएको) को त्रिशुललाई म संसारकै सबभन्दा ठुलो त्रिशुल घोषणा गर्छु । अस्वीकार गर्ने महानुभावहरू कोही हुनुहुन्छ भने तपाईँले देखेको त्योभन्दा ठुलो त्रिशुल यहाँ छ भनेर प्रमाण पेश गर्न सक्नुहुनेछ ।नत्रभने त्यो नै हो संसारको सबभन्दा ठुलो त्रिशुल ।
दिन उजेली सुती गुमाई रात उजेली बिस्कुन सुकाई भन्ने उखानलाई चरितार्थ गर्ने बानी परेका हाम्रो देशका बागडोर सम्हाल्नेहरू कसैले ‘तेरो कान कागले लग्यो !’ भनेपछि कागका पछिपछि दौडिन्छन् । समय छँदै चासो राख्दैनन् ।लिपु लेक र लिम्पियाधुरा समेटेको नक्शा आज आएर किन चाहिएको हो ? सीमा मिचिएको थाहा नभएर होइन । भारतले लुम्बिनी जस्तै नक्कली लुम्बिनी बनाएको छ भन्ने सुनिन्छ । नेपाललाई पछाडि पार्न उसले भैरवस्थानको त्रिशुलभन्दा दस गुना ठुलो त्रिशुल पनि बनाइदिन सक्छ । सम्भव भए सगरमाथा जत्तिकै अग्लो हिमाल बनाउँदोहो । धर्म निरपेक्ष राष्ट्र घोषणा गरेका हाम्रा अग्रजहरूलाई त्रिशुलको कुरा गर्दा लाज लाग्न सक्छ । बेलैमा आफ्नो कान छाम्ने हो भने कागका पछाडि दौडन पर्दैनथ्यो । भारतले कतै नबनाउँदै संसारको सबभन्दा ठुलो त्रिशुल कहाँछ? भन्ने प्रश्नको उत्तर खोज्ने हो कि !

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 16 भाद्र, 2077

लेखकका अन्य रचनाहरु