तुुफानको ‘तुफान’ गजलसङ्ग्रह नियाल्दा

- अरुणबहादुर खत्री “नदी”

कवि एवं गजलकार राजेश तुफान कार्कीको ‘तुफान’ नामक गजलसङ्ग्रह (२०७६) सालमा प्रकाशित भएको छ । यस सङ्ग्रहभित्र उनले लेखेका ७८ वटा गजलहरु संकलन गरिएका छन् । यस कृतिभित्र प्रेमका संयोग अनि वियोग भावका साथै देशभक्तिको भावले ओतप्रोत भएका गजलहरु छन् ।
गजललाई कविताजस्तै अत्यन्त लोकप्रिय, लयात्मक प्रकृतिको साहित्यिक विधा मानिन्छ । यसलाई कविताकै समधर्मी विधा पनि मानिन्छ । यस सङ्ग्रहभित्रको पहिलो गजलले मूर्खले कहिले झुकाउँदैन टाउको, नझुक्ने खप्पर हो त्यो शिर होइन भनेको छ । धनी अर्ती दिन्छ आफैँ भगवान् सम्झन्छ बिर्सियो आमा, प्रेमीलाई नै ज्यान सम्झन्छ उनको गजलमा लेखिएको छ ।
गजलको रौनकता भनेको प्रेमिल अभिव्यक्ति पनि हो । प्रेमिल जीवनका अनेकौँ चरणहरु हुने गर्छन् । कहिले मिलनको आतुरता त कहिले बिछोडको आशङ्का । कहिले बिछोडपछिको घनिष्ट मिलन । तिमी छाड्छु भनेर घुर्की नदेखाऊ, के होला नौलो पर्ने त्यही थला न हो भन्दै उनले गजल बनाएर लेखेका छन् । प्रेमलाई सम्पत्तिले समेत गहिरोे प्रभाव पार्छ । धनसम्पत्ति नहुनेहरुसँगको प्रेम जहिलेसुकै असफल हुने गरेको पाइन्छ जस्तै :
बल्ल मैले बुझेँ आज के रहेछ पैसा
प्यास मेटी छाडेकी हो निर्धर भएर ।
मानवीय जीवन वा स्वभावसँग गाँसिएका तथा विभिन्न क्षेत्रका विकृति तथा विसङ्गतिका पक्षहरुलाई उनले जीवन्त किसिमबाट प्रस्तुत गरेका छन् । पाँच वा सात शेरहरुमा लेखिएका अठहत्तरवटा गजलहरु समेटिएको यो ‘तुफान’ उनको पहिलो गजलसङ्ग्रह हो ।
शीतको थोपा पातमा परेझैँ
जिन्दगी वैरीकोहातमा परेझैँ ।
गजलको सुरूवात श्रृङ्गारिकताबाट भए पनि गजलमा समय लेखिनुपर्छ, माटोको दुखाइ उतारिनुपर्छ, समाजका वास्तविक भोगाइ र जीवन प्रतिबिम्बित हुनुपर्छ । गजल लेखनको मेलमा यतिखेर मेची–महाकालीसम्म मात्र नभएर विदेशिएका नेपालीहरुले समेत चुर्लुम्म डुबेर सन्तोषका सुस्केराहरु पस्किएर आनन्दको अनुभूति गरिरहेका छन् । फारसी, उर्दू र हिन्दी हुँदै नेपालको परिप्रेक्ष्यमा भन्ने हो भने युवाकवि मोतीराम भट्टले नेपाली माटोमा बीजारोपण गरेको गजल विधाले अहिले नेपाली साहित्यको मलिलो माटोमा ढपक्कै ढाकेर सुवासित गराउने काममा के नयाँ के पुराना सबै पुस्ताले गरिरहेको देख्न र पढ्न पाइन्छ । अब यस्ता कार्यले गर्दा जो जुन विधामा आफू समर्पित भएर लागेको छ उसलाई आनन्द मिल्नु स्वाभाविकै हो ।
यो पापीहरुको एक सहरजस्तै
धोकेबाझ तिम्रा ती अधरजस्तै
हातमुख जोड्न परदेशिनुपर्छ, किन राख्नु पैसा आखिर घडामा भन्दै गजलकार राजेशले आफ्नो गजलमा लेखेका छन् । अब यस्ता कार्यले गर्दा जो जुन विधामा आफू लगनशील भएर अघि बढेको छ उसलाई तृप्तिको साथमा सन्तुष्टि पनि मिल्नु अस्वाभाविक हैन ।
गजलकार राजेश तुफानले गजललाई निकै माया गर्छन् । उनले लेखेका कतिपय गजलमा हार्दिकताको पहाड उभ्याइएको छ, कतिपयमा कोमलताको छहारी उठाइएको छ । त्यतिमात्रै नभएर गजलको लोकप्रियता भन्नु नै मिठासपूर्ण तरलता र सरलता भएकाले त्यसलाई ख्याल गर्दै केही गजलहरु गेयप्रधान, लय र मात्राका कारणले सङ्गीत भर्न सकिने र केही गजलहरु पाठ्यधर्मी वाचन गरेर सुनाउने, पाठ रचनाजस्ता खालका पनि छन् ।
यथार्थ स्वीकार्नुपर्छ । मायाप्रीतिका कुराहरुदेखि राष्ट्रले भोगिरहेका अनेक विकृति तथा विसङ्गतिहरुलाई गजलको कलेवरभित्र सटीक प्रतीक र बिम्बले सिँगार्दै आफ्ना भावनाहरु शिष्टता र सरलताका साथ सम्प्रेषण गर्न सक्ने खुबी भएका राजेशलाई नेपाली गजल फाँटमा एक सिद्धहस्त गजलकारका रुपमा स्वीकार्नुपर्छ । उनले आफ्नो गजलमा यो देश नेताहरुकै अधीनले खाइसक्यो, जन्मँदै टाउको हजुर ऋणले खाइसक्यो भनेका छन् ।
आज बलियो पाखुरी भोलि गलेर जान्छ
ती जवानी यिनै बल के लैजान्छौ तिमीले ?
उनी गजलका विषयवस्तुमा व्यापक फैलिएका छन् र आफूले प्रस्तुत गर्ने विषयमा स्पष्ट पनि छन् । आफ्ना सोचविचारमा स्पष्ट र दृढ देखिने यी गजलकारले आफ्नो भन्नुलाई सोझोको साथै बाङ्गो किसिमले समेत व्यक्त गरेका छन् । उनको यो लेखाइले नयाँ पुस्ताका लेखकहरुलाई गजल लेख्ने ठूलो हौसला अवश्य मिल्न सक्दछ भन्ने अपेक्षा गरिएको छ । यस सङ्ग्रहका साथमा गजलकार राजेश तुफान कार्कीको गजल भण्डारमा बलियो उपस्थिति देखिने निश्चित छ ।
कृति : गजलसङ्ग्रह
प्रकाशक : समकालीन साहित्य प्रतिष्ठान, बेलायत
संस्करण : पहिलो, २०७६ श्रावण
पृष्ठ : ७८
मूल्य : रू. २००।–

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 16 भाद्र, 2077

लेखकका अन्य रचनाहरु