मौन क्रन्दन कथासङ्ग्रहमा प्रयुक्त नारी अस्तित्वबोधी चेतना

- गीता सापकोटा

लेखको सार
नारी चेतनाको अवधारणा पाश्चात्य साहित्य सिद्धान्तमा आधारित सांस्कृतिक अध्ययन पद्धतिको एउटा महत्वपूर्ण मान्यता हो । विश्व साहित्यमा सन् १९६० को दशकतिर उत्तरआधुनिकतावाद स्थापित भयो । यो बहुलवादी सिद्धान्त भएकाले यसभित्र नारीवाद, नारी चेतना जस्ता नारीमैत्री सिद्धान्तले पनि मौलाउने अवसर पायो । यस अवधारणाको विकास पाश्चात्य साहित्य परम्परामा भए पनि अहिले यसको प्रभाव राजनीतिक, साहित्य, सामाजिक, शैक्षिक, आर्थिक जस्ता जुनसुकै क्षेत्रमा विश्वभरि नै परिरहेको अवस्था छ । नारी चेतनाको अवधारणामा आधारित भएर कुनै पनि कृतिको विश्लेषण गर्न यसका विभिन्न मापदण्डहरु मध्ये कुनै निश्चित मापदण्डमा केन्द्रित भएर सुक्ष्म रुपमा कृतिको अध्ययन विश्लेषण गर्नु सान्दर्भिक हुन्छ । प्रस्तुत आलेखमा नारी चेतनाको अवधारणाको संक्षिप्त रुपमा चर्चा गर्दै सावित्री श्रेष्ठद्धारा लिखित मौन क्रन्दन कथासङ्ग्रहमा प्रयुक्त नारी अस्तित्वबोधी चेतनाको अध्ययन विश्लेषण गरिएको छ ।
शब्दकुञ्जी
चेतना, अवधारणा, सांस्कृतिक, मापदण्ड, अस्तित्वबोधी, साम्यवादी, आदिम, पुर्नजागरण, पुँजीवादी, सशक्तिकरण
विषयप्रवेश
सावित्री श्रेष्ठ (२०२०) नेपाली साहित्यको क्षेत्रको स्थापित नाम हो । उनले विगत ३० वर्षदेखि साहित्य लेखन र सम्पादनका माध्यमबाट साहित्यक क्षेत्रमा योगदान दिइरहेकी छन् । विशेषतः कविता, कथा, निबन्ध, खोजअनुसन्धानका क्षेत्रमा उनको कलम चलेको पाइन्छ । सङ्ख्यात्मक रूपमा भन्दा गुणात्मक रुपमा आफूलाई स्थापित गर्न रुचाउने श्रेष्ठ विभिन्न साहित्यक, सामाजिक संघसस्थामा पनि संलग्न छिन् । उनका एक मात्र कथा सङ्ग्रह मौन क्रन्दन प्रकाशित छ । २०७६ सालमा प्रकाशित यस कथासङ्ग्रहमा २२ ओटा कथाहरु समेटिएका छन् । पत्रपत्रिकामा छरिएर रहेका कथाहरुलाई नै सङ्ग्रहित गरिएको यस पुस्तकमा चालिसको दशकदेखि यता लेखिएका प्रायः सबै कथा समेटिएको कथाकारको स्वीकारोक्ति छ । उनका यस कथासङ्ग्रहभित्रका कथाहरुमा कुनै न कुनै रुपमा सामाजिक चेत, शैक्षिक चेत, राजनैतिक चेत, आर्थिक चेत, नारी चेत, मनोवैज्ञानिक चेत, सांस्कृतिक चेत, पर्यावरणीय चेत, मानवतावादी चेतको प्रकटीकरण भएको पाइन्छ । प्रस्तुत आलेखमा नारी चेतनाभित्रको एक पक्ष अस्तित्वबोधी चेतनाका दृष्टिले श्रेष्ठका कथाहरुको अध्ययन विश्लेषण गरिएको छ ।
अध्ययन विधि
मौन क्रन्दन कथासङ्ग्रहमा नारी अस्तित्वबोधी चेतना नामक शीर्षक चयन गरी अध्ययन विश्लेषण गरिएको यस लेखमा नारी चेतनाका विभिन्न मापदण्डहरु मध्ये नारी अस्तित्वबोधी चेतनाका कोणबाट मात्र यस कथासङ्ग्रहभित्र समेटिएका कथाहरुको विश्लेषण गरिएको छ । यस क्रममा सावित्री श्रेष्ठद्धारा लिखित मौन क्रन्दन कथासङ्ग्रहलाई प्राथमिक सामग्रीका रुपमा र नारी चेतनाको अवधारणााबारे अध्ययन गरिएका सामग्रीहरुलाई द्धितीयक सामग्रीका रुपमा चयन गरी आगमनात्मक पद्धतिलाई आत्मसात् गर्दै उक्त कथासङ्ग्रहको अध्ययन विश्लेषण गरिएको छ ।

सैद्धान्तिक पर्याधार
परापूर्व कालदेखि नै नारीहरू आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक जस्ता हरेक क्षेत्रमा पिछडिएका थिए । लामो समयसम्म पिछडिएका नारी वर्ग आदिम साम्यवादी युगमा आइपुग्दा केही समय सत्तामा थिए । तत्कालीन समयमा नारीहरुले विभेदरहित रुपमा सत्ता सम्हालेको पाइन्छ । पछिल्लो समयमा राज्यको उत्पत्ति, पुँजीको सञ्चिति र विकास तथा समाज विकासको क्रममा पुरुष सत्ताको स्थापना भएपछि भने पुरुष सत्ताको स्थापनाले नारीमाथि दमन शोषण र अत्याचार गर्न थाल्यो । पुरुष केन्द्रित आचार संहिताको निर्माणले नारीहरू स्वतः पछाडि पारिए ।
विश्व परिवेशमै हरेक क्षेत्रमा पुरुषकेन्द्रित व्यवस्था रहनुले नारीको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको थियो । । विश्वका धेरैजसो धर्म, दर्शन र इतिहास र सामाजिक संरचनाले पनि नारीलाई पुरुष वर्ग समान मान्यता दिइएको पाइन्न । यसले नारी मनमा कुण्ठासँगसँगै निजत्वको चेतना जागृत हुन थाल्यो । नारीहरुले आफूमाथि भएको शोषण दमन बुभ्mन थाले । त्यसबाट मुक्ति पाउनका लागि विद्रोह गर्न र अधिकारका लागि सचेत बन्न थाले । अन्ततः पुर्नजागरणकालदेखि पाश्चात्य जगत्मा मानवतावादी क्रान्तिकारी दर्शनको परम्परा शुरु भयो । विस्तारै नारीहरुले मताधिकारको विषयमा मात्र नभएर स्वतन्त्रता, समानता र भौतिक, सामाजिक स्वावलम्बीका लागि आवाज उठाउन र आन्दोलन गर्न थाले ।
विश्व समुदायमा प्रचलित पितृसतात्मक स्वरुप, सङ्गठन र संरचनाको विरोधमा सानातिना मुक्ति आन्दोलन हुन थाले । पुरुष सत्ताका विरूद्ध नारी स्वरुप, संगठन र संरचना स्थापित गराउनका लागि देखा परेको आन्दोलन नारीमुक्ति आन्दोलन हो । जसले सामन्तवादी युगमा विकसित भएर पुँजीवादी युगमा झन् विकृति विसङ्गतिको उत्कर्षमा पुगेको नारी उत्पीडनको भण्डारफोर गर्दै नारी अस्मिता, अधिकार, स्वतन्त्रता, समानताका पक्षमा वकालत गर्न थाल्यो । महिला मुक्ति आन्दोलन जनमुक्ति आन्दोलनकै एउटा अंश हो । जबसम्म महिला मुक्ति र जनमुक्ति आन्दोलन सँगसँगै लगिँदैन तबसम्म सही अर्थमा महिला मुक्ति सम्भव हुँदैन भन्ने माक्र्सवादीहरूको ठहर रहेको छ ( बराल, २०६४ ः ७३) तसर्थ नारी चेतना यिनै मुक्तिआन्दोलनका पृष्ठभूमिबाट विकास भएको सामाजिक, सांस्कृतिक अध्ययन पद्धतिको एउटा मापदण्ड हो ।
अठाराँै शताब्दीदेखि प्रारम्भ भएको नारी चेतनाले बिसौँ शताब्दीमा सैद्धान्तिक मान्यता प्राप्त गर्दै एकाइसौँ शताब्दीसम्ममा साहित्यमा मात्र नभएर समीक्षाको क्षेत्रमा समेत जल्दोबल्दो समीक्षात्मक प्रणालीको स्वरूप ग्रहण गरिसकेको छ । प्रारम्भमा नारी चेतना नारीमाथिको पारम्परिक, सामाजिक र राजनीतिक दमनमाथि विद्रोह गर्ने र समाजलाई सचेत गर्ने उद्देश्यले अगि बढ्यो । कालान्तरमा साहित्य र समीक्षाको क्षेत्रमा पनि नारीका अनुभूतिको यथार्थ चित्रण हुन थाल्यो । समीक्षाको क्षेत्रमा महिला लेखनको छुट्टै इतिहास तयार पार्नु, महिला लेखनको खोजबिन र पुनर्मूल्याङ्कन, पुरुष लिखित साहित्यमा प्रस्तुत नारी छविको अध्ययन, महिला लिखित साहित्यमा प्रस्तुत महिला छविको अध्ययन जस्ता नारी चिन्तनलाई प्रयोग र स्थापित गर्ने विभिन्न कोण विकसित भएका छन् । एलेन सोवाल्टरले यस्तो समीक्षा पद्धतिलाई गाइनो क्रिटिक्स मानेकी छन् । यसले नारी लेखकका कृतिमा अभिव्यञ्जित नारी समस्यालाई मिहिन ढङ्गले विश्लेषण गर्नुका साथै पुरुषद्वारा लिखित कृतिमा नारीप्रतिको दृष्टिकोण के कस्तो रहेको छ भन्ने कुराको समेत अध्ययन विश्लेषण गर्दछ । पुरुषद्धारा स्थापित नारीसम्बन्धी समस्त धारणा, दृष्टिकोण, पूर्वाग्रह, मान्यता, कल्पना र साहित्यमा नारीको स्थिर चरित्र आदिलाई नकार्दै यसले नारीको वास्तविक अस्तित्व तथा पहिचान कायम गर्ने तर्फ दह्रो पाइला चालेको छ । (शर्मा र लुइटेल, २०६१ ः ३७९) प्रस्तुत धारणाको अध्ययन गर्दा पुरुषद्धारा स्थापित मान्यताले नारीको स्थिर चरित्रलाई बुझ्न सकेको हुँदैेन । नारी भावनालाई सूक्ष्म ढङ्गले बुझ्न नारीद्धारा नै स्थापित मूल्यमान्यता स्थापित गर्न र नारीद्धारा नै नारीका भावना साहित्यका माध्यमबाट प्रकट गर्न सके नारीका समस्याकोे खोज गर्न र समाधानका लागि कार्य गर्न सहयोग गर्ने सङ्केत गरेको पाइन्छ । यिनै मान्यतालाई आत्मसात् गर्दै साहित्य समीक्षाका क्षेत्रमा बिसौँ शताब्दीदेखि नारी चेतना र नारीवादको प्रवेश भएको पाइन्छ ।
सामाजिक एवम् राजनीतिक हक हित र समानता आदि विधि सन्दर्भबाट नारीका पक्षमा आवाज उठाउने दृष्टिकोणलाई नारीवाद भनिन्छ । लुइटेल, २०६७, पृ.४०० कुनै पनि कृतिभित्र नारीका सन्दर्भमा के कस्ता विचार अभिव्यक्त गरिएको छ , नारीको स्थान के कस्तो रहेको छ वा हुनु पर्छ भन्ने बारेमा व्याख्या विश्लेषण गर्ने प्रणालीका रूपमा नारी चेतना वा नारीवादी कोणबाट अध्ययन विश्लेषण गर्न थालिएको छ । नारीवादी लेखन समाजमा नारीहरुको स्थान कस्तो छ भन्ने कुरामा भन्दा कस्तो हुनुपर्छ भन्ने कुरामा बढी विश्वास राख्दछ । बराल, २०७०, पृ.१३० प्रस्तुत विचारले पनि नारीलाई केन्द्रमा राखेर साहित्यिक कृतिको अध्ययन विश्लेषण गर्ने समीक्षात्मक पद्धतिको रूपमा नारी चेतनाको अवधारणा स्थापित हुँदै आएको प्रष्ट बुझिन्छ ।

नारी चेतनाको अवधारणालाई आधार मानेर कुनै पनि कृति वा रचनाको अध्ययन विश्लेषण गर्दा नारी चेतनाका पक्षहरूलाई नै आधार लिनु नारी चेतनाधर्मी समीक्षकको धर्म हो । कुनै पनि कृतिभित्र नारीको उपस्थिति के कसरी भएको छ भन्ने सन्दर्भमा नारी चेतनाका कोणबाट अध्ययन विश्लेषण गर्दा नारी चेतनाका मापदण्डहरूलाई आधार लिनु पर्ने हुन्छ । ती मापदण्डहरू पीडा बोधको चेतना, नारी अस्तित्वबोधी चेतना, लैङ्गिक समानता सम्बन्धी चेतना, सामाजिक शोषण विरूद्धको चेतना, शैक्षिक चेतना, सांस्कृतिक तथा धार्मिक शोषण विरूद्धको चेतना, आर्थिक शोषण विरूद्धको चेतना, आत्म पहिचानको अन्वेषणको चेतना, मातृवात्सल्बोधी चेतना, नारी अस्मिताको चेतना, नारी श्रमगत मूल्य अन्वेषणको चेतना, पुरुष प्रधान समाज विरोधी चेतना, समानता र स्वतन्त्रताको अन्वेषणको चेतना, लैङ्गिक शोषण विरूद्धको चेतना, यौन शोषण विरूद्धको चेतना, नारीप्रति नारीको मैत्री चेतना, नारी सशक्तिकरण सम्बन्धी चेतना आदि हुन् । जसमध्ये प्रस्तुत आलेखमा नारी अस्तित्वबोधी चेतनाका आधारमा मौन क्रन्दन कथाङ्ग्रहका कथाहरुको अध्ययन विश्लेषण गरिएको छ ।


अस्तित्वबोधी चेतना
लैङ्गिक असमानताले गर्दा नारीमाथि निम्तिएका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, शैक्षिक समस्याहरुको दमन र उत्पीडनबाट नारीले मुक्ति पाउनु पर्छ भन्ने उद्देश्यले स्थापित चेतना हो नारी चेतना । समाजको आदि कालमा नारी पुरुषका दासी थिए भन्ने धारणा त्यस्ता व्यर्थका धारणाहरुमध्ये एउटा हो जुन हामीलाई हजारौँ शताब्दीको जागरण युगबाट विरासतमा प्राप्त भएको छ । सबै जङ्गली युगका मानिसहरुमा एवम् निम्न तथा मध्यम अवस्थाका वर्वर मानिसहरुमा पनि नारीलाई स्वतन्त्र मात्र होइन, सम्मानजनक स्थान प्राप्त थियो । (एङ्गेल्स, २०४४)
प्राकृतिक रुपमा समान रुपले जन्मिएका नारीहरु पितृसतात्मक समाजमा पुरुषद्धारा संरचना गरिएका समाज व्यवस्थाले पछाडि पारिए तसर्थ विश्व इतिहासमै युरोपियन मुलुकका नारीहरुले स्वरोजगारको अधिकार, भोट दिन पाउने अधिकार, स्वतन्तत्रा र सहअस्तित्वको अधिकारको खोजी गर्दै समय समयमा विभिन्न आन्दोलन गर्दै आए । त्यही आन्दोलनले समाजनमा विस्तारै लैङ्गिक विभेदको अवधारणा विकास हुँदै आयो । नारी चेतनाको अवधारणाले लामो समयदेखि दासत्वमा पिल्सिएर रहेका नारीहरुका जीवन भोगाइका अनुभूतिहरुबाट अङ्कुरित चेतनालाई ध्वनित गर्दछ । (सापकोटा, २०७१ः ) तसर्थ पितृसत्तात्मक समाजको सामाजिक व्यवस्थाले सिर्जना गरेको सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक, आर्थिक, असमानता, विभेदजन्य परिस्थितिबाट उत्पन्न दासत्व, मूल्यहीन जीवन भोगाइ, कुण्ठा, निराशा, छट्पट्टी र त्यसबाट उत्पन्न आक्रोशले निम्त्याएको विद्रोही चेतना, नारी मुक्तिका चाहना जस्ता नारीजन्य अनुभूतिलाई उजागर गर्ने अवधारणा नै नारी चेतना हो ।

नारी अस्तित्व नारीका प्राकृतिक भूमिका र तिनका महिमाको खोजीबाट प्रकट भएको पाइन्छ । नारी र पुरुष सहयात्री हुन् । जसरी पुरुषको स्थान उच्च मानिन्छ त्यसरी नै नारी आफैमा पूर्ण र सर्वोपरी भूमिकाको निर्वाह कर्ता हुन् भन्ने चिन्तन नारी अस्तित्वको खोजीको अभिव्यक्तिमा पाइन्छ (त्रिपाठी, २०७० ः २०७) । तसर्थ नारी चेतनाका विभिन्न पक्षहरुमध्ये नारी अस्तित्वबोधी चेतनाले हरेक क्षेत्रमा नारीका मूल्यमान्यता समान रुपमा हुनुपर्छ भन्ने अपेक्षा गर्दछ ।

मौन क्रन्दन कथामा प्रयुक्त नारी अस्तित्वबोधी चेतना
सावित्री श्रेष्ठको मौन क्रन्दन कथासङ्ग्रहभित्र २२ ओटा कथाहरु सङ्ग्रृहीत छन् । प्रस्तुत कृतिभित्र समेटिएका कथाहरु उनले जन्माएकी छोरी, धरहरामा अन्तिम भेट, उसको छोरा, फेरि उसको छोरो, क्षितिजवारिः क्षितिजपारि, अधुरो कथा, बिग्रेकी केटी, फेरि बिग्रेकी केटी, ध्रुवे हात्ती, बाढीपीडित हात्ती, अरनिकोकी स्वास्नी, नायकः खलनायक, समुद्रपारिको कथा, लिन्डा, सानिमा, सगरमाथामा प्रथम पाइला, अँध्यारोबाट उज्यालोतिर, फेरि भेटौँला, मौन क्रन्दन –१, मौन क्रन्दन –२, सङ्गत गुणाको फल, र म,रुद्राक्ष र काग हुन् । यी कथाहरुमध्ये प्रायः सबै कथामा नारी कुण्ठा, पीडाका विषयवस्तु अघि सार्दै तिनै कुण्ठाबाट उब्जिएका क्रन्दनलाई मौन क्रन्दनका रुपमा अगाडि सारिएको पाइन्छ । यसका साथै मानवेत्तर प्राणीका क्रन्दनलाई पनि यस कथासङ्ग्रहमा स्थान दिइएको छ । मानवीय संवेदनशीलताका साथै मानवेत्तर प्राणीप्रतिको संवेदनशीलतालाई समेत उजागर गरी लेखिएका कथाहरुमध्ये केही कथाहरुमा नारी अस्तित्वबोधी चेत प्रवल रुपमा पाउन सकिन्छ । अतः प्रस्तुत आलेखमा मौन क्रन्दन कथासङ्ग्रहभित्र समेटिएका कथाहरुमध्ये धरहरामा अन्तिम भेट, उसको छोरो, फेरि उसको छोरो, क्षितिजवारि क्षितिजपारि, मौन क्रन्दन –१ र मौन क्रन्दन –२ कथाहरुमा के कसरी नारी अस्तित्वबोधी चेतनाको प्रकटीकरण भएको छ भनेर अध्ययन अन्वेषण र विश्लेषण गरिएको छ ।
‘धरहरामा अन्तिम भेट’ कथामा धरहरालाई प्रेमको प्रतीक बनाइएको छ । यस कथामा २०७२ सालको महाभूकम्पमा धरहरा चढेका कयौँ प्रेमी, प्रेमिकाहरुले जीवन गुमाउनु परेको वस्तुयथार्थको चित्रण गरिएको छ । यहाँ यौनमनोविज्ञानको चित्रण पनि पाउन सकिन्छ । ऊ पात्रले म पात्रसँग प्रेम गरेको तर अर्कै केटीसँग विवाह गरेको दुवै जनामा बाह्य रुपमा एकअर्कालाई बिर्सन प्रयत्न गरे पनि अन्तस्करणमा उनीहरुको वास्तविक प्रेम अङ्कुराइरहेको मनेविज्ञान एकातिर छ भने आफ्नै प्रेमीले अर्के केटीसँग विवाह गरेको र केही दिनमै म पात्रलाई भेट्न धरहरामा आएको र उसले धरहरा चढ्ने प्रस्ताव राखेको प्रसङ्गमा कथा अगाडि बढेको छ । यौनमनोविज्ञानका दृष्टिले अध्ययन गर्न सकिने यस कथामा म पात्र ऊसँग भेट्दाको खुसीभन्दा धरहरासँगको सानिन्धले प्रफुल्लित भएकी छ । म पात्रले उसलाई भन्दा बढी धरहरालाई प्रेम गरेकी छे । ऊसँग होइन धरहरासँग टाँसिएर फोटो खिचेकी छे । धरहराले पनि आफूलाई निकै माया गरेको महसुस गरेकी छे । धरहरामा चढ्दै गर्दा उसले म पात्रको हात समाउन नखोज्दा ऊ परपुरुष भइसकेको हुँदा आफ्नो श्री जोगाउन सचेत भएकी छ भन्ने कुरा कथामा यसरी व्यक्त गरिएको छ ः
उसले मेरो हात समाउन खोजे झैँ गर्यो । मलाई झनक्क रिस उठ्यो । मेरो रिस देखेर धरहरा मुस्कुरायो । ढुक्कको मुस्कान र मलाई आफूतिर तान्यो उसले छोला कि झै गरी । एक प्रकारको मदहोसपूर्ण मस्त अनुभूतिसँगै हामीमाथि पुग्यौँ । साँच्चै भन्ने हो भने धरहराले आफ्नो पाखुरीमा बोकेरै प्रेमले सुमसुम्याउँदै छ । धरहराको अगाडि उसको उपस्थिति साह्रै गौण लाग्यो मलाई । पृ. ५०
प्रस्तुत अभिव्यक्तिमा नारी नारी भएर बाँच्न सिकाएको छ । आफ्नो अस्तित्व रक्षार्थ नारीहरु सचेत छन् र हुनुपर्छ भन्ने कुरा सामान्य प्रेमको प्रसङ्गमा आएको छ र यसले नारीहरुलाई अडिक रहँन, आफ्नो अस्तित्व रक्षार्थ आफै तत्पर रहँन र प्रेममा आशक्त भएर आफ्नो अस्मिता गुमाउन हुन्न भन्ने कुरालाई व्यक्त गरिएको छ ।
‘उसको छोरो’ नामक कथामा नारी अस्तित्वलाई मातृत्व शक्तिका माध्यमबाट अगाडि सारिएको छ । नारी भनेको आमा हो । आमा नबनेसम्म नारीपूर्ण हुन सक्दिन भन्ने मान्यतामा आधारित आफ्नो अस्तित्व रक्षाका लागि म पात्रले बाल्यकालदेखि नै आफूले मन पराएको प्रेमीसँग रेष्टुराँमा सहवास गरेर सन्तान जन्माइ सन्तानवती भएर आफ्नो मातृ अस्तित्व रक्षा गरेको देखाइएको छ । म पात्रले बिहे गरेको तीनवर्ष भइसक्दा पनि सन्तान नभएपछि लोग्नेसँग सन्तानको अपेक्षा गर्दा उल्टै लोग्नेले एउटा सन्तान दिन नसकेको भन्दै झगडा गर्न थालेपछि कथा उत्कर्षमा पुग्छ । त्यसपछि म पात्रले कसको कारणले सन्तान नभएको हो जचाँउन जाऊँ भन्दा यसै कुरालाई तिलको पहाड बनाएर लोग्नेले निहुँ खोज्न थाल्छ । उसका आमाबाले पनि अर्को बिहे गर भनेका रहेछन् त्यो कुरा उसले यसरी व्यक्त गर्छः
‘म जचाउन जाने ! म ! के ठान्छौ तिमी मलाई ? आमाबाले भनेझैँ गर्छु अर्को बिहे ।’ पृ. ५२
त्यस वचनले म पात्रको मन छिया छिया भएको छ र उसले बालापनदेखि देखेको मुस्कुराइरहेको अनुहारप्रति आकर्षित हुन पुगेकी छ । म पात्रले मातृअस्तित्व रक्षार्थ फरक कदम चालेकी छ । उसले साहसी निर्णय गरी एउटा निर्धारित ठाउँमा पूर्व प्रेमीलाई बोलाएकी छ । ऊ पनि बोलाएको ठाउँमा आउँछ । त्यसपछि म पात्रले ऊ पात्रसँग आफ्नो लोग्नेप्रतिको आकर्षण र लगातारको सम्मोहनले पनि सन्तान सुख गर्न नसकेको सबै कुरा सुनाउछे । त्यसपछि उसले के गर्नु पर्यो मैले ? भन्छ । त्यतिबेला म पात्रले भन्छे ः
‘मलाई एउटा सन्तान दिनुस् आफूजस्तै’...सही भन्दै छु मलाई एउटा छोरा दिनोस्, आफूजस्तै । मेरो जीवन तहसनहस हुँदै छ बचाउनोस् मलाई र एउटा पूर्ण नारी बनायदिनोस् मलाई सन्तानवती । पृ. ५३
प्रस्तुत साक्ष्यले नारी विद्रोह मात्र देखाएको छैन । मातृ अस्तित्वलाई जोगाउन म पात्रले फरक कदम चालेको देखाइएको छ । यस कथामा नारीका विवशता, बाध्यता र सामाजिक, पारिवारिक उत्पीडनलाई टड्कारो रुपमा उजागर गरिएको छ भने आफू बाँझी नरहेको प्रमाण जुटाउन र सन्तान सुखले मातृअस्तित्व र नारीको सामाजिक अस्तित्वमा नारीले भोग्नु परेको पीडाबोधलाई यहाँ उजागर गरिएको छ । यसलाई सामाजिक यथार्थववादी दृष्टिकोणले विकृत कार्यको रुपमा लिए पनि समाजवा यथार्थका दृष्टिले सामान्यकृत गर्न सक्ने देखिन्छ । वर्तमान समयमा उत्तराधुनिकताका प्रभावले सरोगेसी विधिबाट होस् वा टेस्ट्युब बेबी जन्माएर होस्, विज्ञान र प्रविधिले सन्तान प्राप्त गर्नका लागि विभिन्न विधिको प्रयोग गर्न थालिएको वर्तमान अवस्था मातृअस्तित्वका लागि कथाकारले म पात्रका माध्यमबाट जागरणको स्वर उजागर गर्न सकेको देखिन्छ ।
‘फेरि उसको छोरो’ कथा पनि पात्र प्रधान कथा हो । यस कथामा पनि लोग्नेबाट सन्तान नभएपछि कुनै ऋषिसँग सम्भोग गरेर छोरो जन्मिएको देखाइएको छ । लोग्नेलाई यथार्थ कुरो भन्दा उसले श्रीमती र छोरा दुबैलाई स्वीकारेको देखाइएको छ । पुरुषको लाछीपनप्रतिको व्यङ्ग्य र मातृत्वबोध र अस्तित्वबोधको कुरालाई सशक्त रुपमा उजागर गर्दै मातृअस्तित्वको शङ्खघोष यसरी गरिएको छ ः
म नि निर्लज्ज भएरै भन्छु – तिम्रै हो । कानुनः जन्मदर्ता तिम्रै छोराको रुपमा भएको छ । तर, सर्वप्रथम यो मेरो छोरो हो, जसले मलाई आमा बनायो । तिमीलाई यो छोरो आफ्नो जस्तो लाग्छ ? यसलाई न्याय दिन सक्छु जस्तो लाग्छ ? अझ आफैलाई पनि न्याय दिन सक्छु जस्तो लाग्छ भने म यो घरमा तिमीसँग बस्ने हो र यो जिन्दगीसँगै खेलाउने हो । होइन भने म आज र अहिल्यै यहाँबाट जान्छु । पृ. ६०
प्रस्तुत साक्ष्यले मातृत्वबोधका साथै मातृशक्तिले नारीको अस्तित्वलाई सवल बनाइदिइएको पुष्टि गरेको छ । पौराणिक कालदेखि आफ्नो लोग्नेबाट सन्तान नजन्मिए पछि लामो समयको उपासनाका माध्यमबाट भगवान प्रकट भएर सन्तान प्राप्त भएको वा ऋषिमुनिबाट सन्तान सुख लिएको कथाहरु सर्वविधितै छ । तसर्थ नारीले वर्तमान समयमा पनि आफ्नो लोग्नेबाट सन्तान नभए पारिवारिक प्रताडना सहेर आजित भई लोग्नेलाई दोस्रो विवाह गर्न लगाउने गरेका तितो यथार्थबाट माथि उठेर नारीले आफ्नो मातृअस्तित्वमा सफल भएको देखाइएको छ । बहुलबादी समाजको दृष्टिले हेर्दा यसमा नारी अस्तित्वबोधी चेतना पाउन सकिने देखिन्छ ।
‘क्षितिजवारि क्षितिजपारि’ कथा पनि नारी अस्तित्वबोधी चेतना पर्वाह भएको कथा हो । यहाँ दया सम्पन्न परिवारमा विवाह भएकी नारी विवाह पश्चात पढाइबाट वञ्चित गराएर बन्द कोठामा राखिएकी र त्यसमै खुसी भएकी नारी हुन्छे । एकदिन तीन महिनाको छोरा काखमा लिएर घाम ताप्दै गर्दा उनको श्रीमान् अफिस जान विदा भएको हुन्छ । चाँडै आउनू भन्ने सङ्केत गरेपछि आइहाल्छु छिट्टै भन्ने प्रत्युृत्तर दिएर विदा भएका लोग्ने साँझ घर फर्केर आएनन् । उल्टै उनको दुर्घटनामा परेर मृत्यु भएको खबर आयो । त्यसपछि दयालाई १० वर्षपछि भेट्दा उसको जीवन उजाडिउकेको पाइन् म पात्रले तर पुनः विवाह नगरी तिनै बाल बच्चा हुर्काएर जीवन व्यथित गरेकी उनको त्यो अवस्था देखेपछि म पात्रले निराला दिदीलाई पनि सम्झिन्छन् । उसको लोग्ने पनि निकै प्रेमिल थियो । ४ छोराछोरीकी आमा निरालाले रोगका कारण अकाल मृत्यु वरण गरेकी हुन्छे । त्यसपछि विदूर बनेर बाँचेको निरालाको पतिले सन्तानसँग दुरी कायम गरेको देखाइएको छ । उसले पहिलै पनि राम्रो अभिभावकत्व निर्वाह नगरेको र निरालाको निधनपछि पनि त्यो स्वभाव उनमा रहिरहेको हुँदा झन् दुरी बढ्न थाल्यो । जसले गर्दा छोरा कुलतमा फस्यो । केही समयपछि छोराको निधन भयो । यिनीहरुको घर अस्तव्यस्त भयो ।
प्रस्तुत वर्णनात्मक रुपमा लेखिएको कथाले पारिवारिक सुखका लागि नारीको मूल्यबोध र अस्तित्वबोधलाई उजागर गरेको छ । आमाको साहसले परिवारलाई बलियो बनाउने सङ्केत गर्ने सन्दर्भमा उनी भन्छिन् ः
क्षितिजवारि दयाका श्रीमान् छन् पारि निराला दिदी । दुवैको नियति उस्तै उस्तै तर उनीहरुका परिवारको नियति फरकफरक निर्धो र कमजोर मानिएकी दयाले जसरी परिवार सम्हालिन्, बहादुर र निडर मानिएका निराला दिदीका श्रीमान्बाट त्यो सम्भव भएन । पृ. ६४
प्रस्तुत साक्ष्यले एउटा घरमा नारीको जिम्मेवारी र नेतृत्वले पारेको सकारात्मक असर देखाउँदै हरेक घरमा नारीको अस्तित्व महत्वपूर्ण रहेको हुन्छ । नारी निस्वार्थी व्यक्ति हुन्, जो आफ्नो र परिवारको अस्तित्व रक्षाका लागि बाँचेकी हुन्छे भन्ने सङ्केत पनि यसले दिएको छ ।
सावित्रीको कथा यात्राको पछिल्लो समयमा लेखिएका कथामा नारी अस्तित्वबोधी चेतना सशक्त बन्दै गएको देखिन्छ । उनको मौन क्रन्दन कथासङ्ग्रहभित्र समेटिएको मौन क्रन्दन –१ र मौन क्रन्दन –२ कथाहरुबाट उक्त कुरा पुष्टि हुन्छ ।
प्रस्तुत ‘मौन क्रन्दन –१’ मा नारीहरुलाई नेपाली समाजले निकै विभेद गरेको छ र त्यसको असर छोरीहरुलाई बाल्यकालदेखि नै परिरहेको हुन्छ भन्ने यथार्थको उद्घाटन गर्दै त्यस किसिमको मौन क्रन्दनलाई यसरी प्रस्तुत गरेकी छिन् ः
त्यही दिन बेलुकी,अझ राती भनौं, हामी सुतिसकेपछि पनि आमाले बाबालाई बल्खु खोलाको भुमरीको कथा सुनाउँदै हुनुहुन्थ्यो बाबाको मनमा के भयो कुन्नि उहाँले सोध्नुभयो । ल तिमी भन त अहिले कुनै भूत आएर तिम्रो छोरा र मध्ये कुनै एउटा देऊ भन्यो भने भने तिमी कसलाई दिन्छौ ? आमाले भन्नुभयो –
‘म छोरो पनि दिन्नँ, तपाईलाई पनि दिन्नँ, यी तीन वटी छोरीहरु लैजा भन्छु ।’
ए ! आमाले हामीलाई भूतको आहारा बनाउन जन्मनु भएको रहेछ । रातको त्यो प्रहरमा पनि मलाई अलि अलि रुन मन लागेको थियोे तर म मौन रहेँ । त्यो मौनताभित्र पनि त क्रन्दन थियो । १५०÷१५१
प्रस्तुत अभिव्यक्तिमा तत्कालीन समयको विभेदजन्य यथार्थप्रति आक्रोश व्यक्त गरिएको छ भने बाल्यकालमै पनि यस्ता घटनाहरुलाई आफूले महसुस गर्न सकेको र यस्ता समस्याले विभेदको कहिल्यै समाधान हुन नसक्ने संकेत म पात्रमार्फत मुखरित भएको छ । एकदिन अचानक म पात्रको बुवाको दुर्घटनामा परी मृत्यु भएको खबर आयो त्यसपछि म पात्रलाई आफ्नो सपना नै विफल भएको महसुस भयो । आमाले सन्तानको नाममा छोरालाई मात्र देखे पनि छोरीले घरमा निर्वाह गरेको भूमिकालाई महसुस गर्दै भनेकी छन्ः
धत् ! गर्न नहुने काम गरँे मैले छोरा –छोरीमा विभेद गरेर भन्नुहुन्छ । खासमा समयले व्यवहारले बस्तुस्थितिले उहाँलाई धेरै ज्ञानी बनायो । जे उहाँलाई ठिक लाग्थ्यो त्यो बेठीक लाग्न थाल्यो जुन बेठिक नै थियो । पृ. १५३
प्रस्तुत साक्ष्यले नारी अस्तित्वको खोजी गर्ने क्रममा आमाहरु पनि सामाजिक संरचना र विभेदपूर्ण समाजको प्रभावले गर्दा आफैले जन्माएको सन्तानमध्ये छोरालाई मात्र महत्व दिँदाका असरको महसुस अबका आमाहरुले चेतन र अचेतन दुबै रुपमा गर्न थालिसकेको सङ्केत गरिएको छ ।
पितृसत्तात्मक सोचले गर्दा छोरालाई सर्वस्व ठान्ने हाम्रो समाजमा पैतृक सम्पत्ति सखाप पार्ने र आमाको बुलाकी र कानको ढुङ्ग्री लुच्ने तिनै छोराहरु हुन्छन् भन्ने दृष्टान्त म पात्रका दाजु बनेको देखाइएको छ । यसका साथै घर लथालिङ्ग भएपछि बैरिले आँखा लगाउँछन् त्यसैले छोरा र छोरीलाई विभेद नगरी समान रुपमा हुर्काउने र शिक्षा र चेतनाले अगाडि बढाउने हो भने छोरीहरुले पनि माइतीको हितको लागि जस्तासुकै कठिन परिस्थितिमा पनि साथ र सहयोग गर्न सक्छन् भन्ने देखाउँदै सहअस्तित्वको सन्देश यसरी पर्वाह यसरी गरिएको छ ः
एकदिन मैले सबै परिवार भएकै बेला भनेको थिएँ – नोकरले सबै ध्वस्त पार्दै छ हैन ? अझै पनि मैले त्यो उद्योग चलाउन पाउने हो भने दुई वर्षमा पहिलाको भन्दा राम्रो गर्ने हो जो तपाईलाई पनि थाहा छ तर तपाईँहरु सबैलाई म र मेरो बुवा मिलेर स्थापना गरेको त्यो उद्योग ध्वस्त भएको स्वीकार छ । मैले उचाइमा पु¥याएकोमा मन्जुर छैन हैन ? पृ. १५६
प्रस्तुत साक्ष्यले पनि म पात्रका माध्यमबाट छोरीले घरधन्दामा मात्र नभएर बाबुले गरेको उद्योगमा नेतृत्व दिएको देखाएको छ र अबका नारीहरुलाई छोरासरह शिक्षित बनाउन सके कामधन्दाका लागि बाहिर निस्किएर स्वरोजगार बन्न सक्छन् । त्यसैले दुबै सन्तानलाई सन्तानका रुपमा हेरेर समान रुपमा अवसर दिनुपर्छ भन्ने सन्देश पर्वाह गरिएको छ । कथाको सुरुमा मौन क्रन्दनकै रुपमा नारीहरुले आपना पीडा लुकाएको देखाए पनि आमाहरुले पनि वास्तविकतालाई बुझ्न थालेको र छोरीले पनि परिवारका लागि जिम्मेवार भएर योगदान दिइएको देखाउँदै नारी अस्तित्वलाई उजागर गरिएको छ । साथसाथै कथामा म पात्रका माध्यमबाट नारीले आफ्नो मूल्यमान्यताको खोजी आफैले गर्नुपर्ने सन्देश पनि पर्वाह गरेको छ ।
मौन क्रन्दन –२ कथा पनि चरित्र प्रदान कथा हो । यस कथाकी म पात्र पनि नारी पात्र हो । ऊ शिक्षा र चेतनाले माथि उठिसकेकी नारी पात्र हो । पढाइमा निकै तीक्ष्ण भएकै कारण ऊ छात्रवृत्ति पाएर अमेरिकामा निशुल्क पढ्न पाएकामा यसरी गौरवबोध गर्दछे ः
यही बौद्धिकता र मेहनतले मलाई संसारका थोरै विशिष्ट युवाहरुमध्ये एक बनायो तर संसार अचम्मको बुझिनसक्नुको छ । यहाँ प्रकृतिले भन्दा पनि मान्छेले बनाएका विभेदहरूले मानव जीवनलाई तुच्छ र हिंस्रक पनि बनाएको छ । सोच्दा दिक्क र दुःख दुवै लाग्छ तर म भावना मात्रै बाँच्ने व्यक्ति हुँदै होइन । म विशेष छु र त्यो मलाई थाहा छ । अमेरिकी सरकारले संसारभरिबाट छानेका साह्रै थोरै (सात जना) मध्ये म त्यसै परेकी हुँदै होइन । पृ. १५७
प्रस्तुत साक्ष्यमा उल्लेखित म पात्र कालाजातिकी अमेरिकन हुन्छे । उसले संसारभरिका युवाहरुबाट अध्ययनका लागि छानिएर आउँदा यसरी गौरवबोध गर्दथे ः
म संसारभरिका युवाहरुमध्येबाट छानिएर यहाँ आएको छु । आफ्नै देशको राजधानी न्युयोर्कमा आएँ । संसारभरिबाट छानिएका हामी अति जेहनदार मानिसका युवाहरु संसार बदल्ने लक्ष्य साकार गर्न चुनिएका छौं । संसारमा सकारात्मक परिवर्तन गर्ने हामी युवाको रे (उयकष्तष्खभ कयअष्ब ि अजबलनभ) र हामी त्यो गर्दैछौं । पृृ. १६१
प्रस्तुत साक्ष्यले अमेरिकामा भएको जातीय विभेदले काला जातीहरुले दर्दनाक अवस्था झेल्नु परे पनि अब काला जातीहरु पनि शिक्षित र सभ्य भइसकेको अवस्था छ । त्यहाँ लैङ्गिक विभेदको अन्त्य धेरै पहिला नै भइसकेको र आफूमा पनि सामाजिक र राजनीतिक चेत आइसकेको हुँदा कसैले कसैलाई वर्गीय वा जातीय विभेद गर्न पाइँदैन भन्ने कुरा म पात्रका माध्यमबाट प्रकट गरिएको छ । जातीय र वर्गीय विभेदरहित समाजको अस्तित्वको परिकल्पना गर्दै नारी पात्रका माध्यमबाट यस्तो भाव प्रकट गरिएको छ
मेरा हजुरआमा, बाबा जस्तै मलाई पनि बिहान छिट्टै उठेर मर्निङवाक् गर्नुपर्ने । खासमा हजुरआमाले मलाई यो बानी सारिदिनुभएको हो । एकाबिहानै यस्तै मर्निङवाकमा नै हो । उहाँसँग एउटा गोरेले गरेको व्यवहारको कथा सुनाउनुको अर्थ बाबासँग पनि त्यही इतिहास दोहोरिएछ र आज मसँग पनि आफ्नै रफ्तारमा कुरिरहेकी मलाई त्यो कुकुरले यसरी आक्रमण गराएर त्यो महिला रमाइरहेकी थिइनु । उसलाई मसँग डर लाग्दो छ रे किनकि त्यहाँ कालेहरुले लुट्छन् रे भन्ने हल्ला फैलाइएको छ । संसार कसले लुटिरहेको छ ? हाम्रा हक, अधिकार, संस्कार र संस्कृति कसले विस्थापित गरेको छ ? कसले कालेहरुलाई सयौँ वर्ष दास बनाएर शोषण ग¥यो ? पृ. १६२
प्रस्तुत साक्ष्यमा म पात्र वर्गीय पात्रका रुपमा उपस्थित भएको देखिन्छ । कथामा म पात्रले व्यक्तिगत हितको लािग भन्दा पनि सिङ्गो वर्गको प्रतिनिधित्व गर्दै अस्तित्वको खोजी गरेकी छ । कथाको अन्त्यतिर सामाजिक रुपान्तरणका लागि रंगभेदको अन्त्यका लागि काला जातीका समूहका नारीहरुले पनि उग्र रुप लिएको प्रसङ्ग यसरी प्रस्तुत गरिएको छ ः
के यो मान्छे कुकुर भन्दा तल पुगेको अवस्था हो ? र पनि म मेरै बाटो हिँड्छु । मानवताको बाटो , समाज परिवर्तनको बाटो जहाँ विभेदका पहाडहरू छन्, त्यही पहाड सम्याउने बाटो । तर मन दुखेको छ खै ? त्यति उत्साही र फरासिली भएर आफ्नै सुरमा हेरिरहेकी मलाई, सूर्यका कलिला किरणहरु रुखको पातका छिर्काहरुबाट रेशारेशाको रुपमा म सामु आउँदै थिए । म त्यही किरणहरु सँगसँगै कुद्दै थिएँ । वरिपरिका मान्छेहरु मलाई हेर्दै थिएँ । शुभबिहानी पनि भन्दै थिए । साँच्चै म खुसी थिएँ किनकि म विशेष व्यक्तिका रूपमा विशेष काम गर्दै थिए । क्या राम्रो त समाज बदल्ने जिम्मा हामी युवाको तर केही मान्छेहरू, उनीहरुमा अविकसित मस्तिष्ककोे सिकार बन्छौं । हामी जस्ता निर्दोषहरुको नचाहेर पनि मनमा विद्रोह जन्मन्छ । पृ. १६३
प्रस्तुत साक्ष्यमा म पात्रले नारीको मात्र होइन सिङ्गो काला जातिको अस्तित्वका लागि सचेत रहन आह्वान गरेकी छे । कथाकारले रंगभेदको विरुद्ध र नारी अस्तित्व रक्षाका लागि विश्व समुदाय सचेत रहनुपर्नेछ भन्ने संकेत यस कथामा प्रयुक्त म पात्रका माध्यम्बाट सम्प्रेषण गरेको पाइन्छ ।
निष्कर्ष
सावित्री श्रेष्ठ विविध विषयवस्तुमा आधारित कथा लेख्ने कथाकार हुन् । उनको एक मात्र कथासङ्ग्रह मौन क्रन्दन (२०७६) प्रकाशित छ । उनका कथाहरुले विभेदजन्य समाजको क्रन्दनलाई भण्डाफोर गर्दै मानवीय संवेदनाहीन समाजप्रति तिखो व्यङ्ग्य प्रहार गरेको पाइन्छ । यसका साथै नारी अस्मिताप्रति कथाकार निकै सचेत रहेको देखिन्छ । उहाँका उसको छोरो, फेरि उसको छोरो, क्षितिजवारि क्षितिजपारि, बिग्रेकी केटी, फेरि बिग्रेकी केटी, लिन्डा, मौन क्रन्दन १, मौन क्रन्दन २ जस्ता कथाहरुमा प्रेमिल विषय सन्दर्भमा होस या पारिवारिक तथा सामाजिक प्रतिष्ठाका लागि होस्, नारी अस्तित्वबोधी चेतको बाहुल्यता रहेको देखिन्छ ।
प्रस्तुत कथासङ्ग्रहभित्र तत्कालीन परिवेश सुहाउँदो कथाहरु समावेश गरिएको छ त्यसैले यस कथासङ्ग्रहभित्र समेटिएका कथावस्तु क्रन्दनै क्रन्दनमा सीमित देखिनु स्वभाविक पनि देखिएको छ । यसका साथै प्रकृति र पर्यावरणप्रति सचेत, मानवेत्तर पात्रप्रति संवेदनशीलता पाउनुका साथै नारी चेतनाअन्तर्गत नारीहरुको भोगाइ, पीडा, असन्तुष्टि, आक्रोशको प्रकटीकरण गर्ने क्ममा नारी अस्तित्वबोधी चेतना, पितृसतात्मकको विरोध र परम्पराप्रति विद्रोह, मातृत्वचेत, नारीजन्य अनुभूति, सामाजिक, सांस्कृतिक शोषण विरुद्धको चेतना, नारी मुुक्ति सम्बन्धी चेतना जाग्रित भएको पाइन्छ ।
नेपालका विभिन्न भूभागका साथै युरोपियन मुलुकका विभिन्न ठाउँको पनि परिवेश समेटिएको यस कथासङ्ग्रहमा वर्गीय, जातीय र लैङ्गिक कारणले पिछडिएका वर्गको पक्षमा वकालत गर्न सक्ने किसिमका कथावस्तु समेटिएको हुँदा यहाँका कथाहरु समाज सापेक्ष रहेका छन् । उनका अधिकांश कथाहरुमा नारीहरुका वैयक्तिक अनुभूति पीडा कुण्ठा र भोगाइको अभिव्यक्ति पाइन्छ । परम्परागत लैङगिक असमानता, नारीसँग सम्बन्धित अन्धविस्वास, अन्ध परम्परा, आदिको विरोधमा नारी पात्रका आवाज बुलन्द भएका छन् । उनका कथामा नारी जागरण, नारी स्वतन्त्रता र नारी सत्ताको भावलाई सबै कथामा सशक्त रुपमा उठान हुन सकेका छैनन् । तर नारीभित्रका दमिन कुन्ठालाई संस्मरणात्मक शैलीमा म –नारीं) पात्रका माध्यमबाट प्रकट भएको पाइन्छ । नारीभित्रका कुन्ठालाई तार्किकतापूर्ण अभिव्यक्तिका माध्यमबाट वर्णनात्मक शैलीमा प्रस्तुत गर्न सक्नु उहाँको खुबी हो । यसले समतामूलक समाज निर्माणका कुरा सैद्धान्तिक रुपमा जति सशक्त रुपमा विकास भएका छन् त्यति व्यवहारिक रुपमा अझै आउन सकेका छैनन् भन्ने सङ्केत गरेको पाइन्छ ।
ंंंंंंसावित्री श्रेष्ठका कथामा विभेद जन्य समाज व्यवस्थाप्रति चिन्ता प्रकट भएको छन् । यसका साथै मानव वा मानवेत्तर पात्र प्रतिको प्रेमको प्रकटीकरण गर्दै उनका कृतिमा प्रेमिल विषयवस्तुको प्रवलता पाइन्छ । मौन क्रन्दन शीर्षकको यस कथासङ्ग्रहमा मावन वा पशु हरेकको आन्तरिक क्रन्दनलाई केन्द्रमा राखेर लेखिएका कथावस्तुको प्राधान्यता भएको हुँदा कथावस्तुकै केन्द्रीयतामा शीर्षक छनौट गरिएको पुष्टि हुन्छ ।
समसामयिक युगमा नारीहरु आफ्नो क्षमताका कारण अस्तित्व रक्षाका लागि अगाडि बढिसकेका छन् तर लैङ्गिक विभेदको अन्त्यका लागि सशक्त रुपमा अझै अगाडि आउन सकेका छैनन् भन्ने कुरा सावित्री श्रेष्ठका कथाले पनि पुष्टि गरेका छन् । उनका कथामा नारीले भोगेका पीडा व्यथाको उद्घाटन कुनै न कुनै रुपमा अधिकांश कथामा आएको पाइन्छ । यहाँ प्रयुक्त प्रमुख नारी पात्रका माध्यमबाट क्रन्दनका साथै विद्रोही चेत मुखरित गर्न सकेको भए अझ सशक्त कृति बन्न सक्थ्यो तर पहिलो कृति र प्रारम्भिक कथाहरु सङ्ग्रहीत गरिएको कृति भएको हुँदा नारी अस्तित्वका लागि क्रन्दनका रुपमा भए पनि नारी विस्तारै बाहिर आउन थालेको सङ्केत प्रायः कथामा पाइन्छ । समग्रमा छोटा छोटा कथावस्तुमा संरचित यी कथाहरु पढौँ पढौँ लाग्दा लाग्दै समाप्त हुन्छन् । सरल र सहज भाषाशैलीको प्रयोगले सावित्रीका सबै कथाहरुले पाठकको मन तान्न सक्नेछन् ।
सन्दर्भ सूची
एङ्गेल्स, फ्ेडरिक (२०४४) अनु. परिवार निजी स्वामित्व र राज्यको उत्पत्ति –दो.सं), काठमाडौँ ः प्रगति प्रकाशन ।
सापकोटा, गीता . २०७१ ”गोपालप्रसाद रिमालमा नाट्य कृतिमा नारी चेतना” . अप्रकाशित दर्शनाचार्य शोध प्रबन्ध . ः त्रिभुवन विश्वविद्यालय ।
त्रिपाठी, गीता . २०७० . ‘उत्तरवर्ती नेपाली कवितामा आस्तित्विक चेतना’ नेपाली नारीवादी समालोचना . सम्पा. सुधा त्रिपाठी र सीता पन्थी . काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
बराल, ऋषिराज . २०६४ . ‘साहित्य र समाज’ . ललितपुर ः साझा प्रकाशन ।
बराल, कृष्णहरि (२०७०). नारीवादी समालोचना र भारती खरेलका भाइटीका तथा घमण्ड नाटक ः नेपाली नारीवादी समालोचना. काठमाडौँ ः नेपाल प्रज्ञा–प्रतिष्ठान पृ. १२१–१३३)
लुइटेल, लीला.(२०६७). ‘नारीवादी लेखनका सन्दर्भमा नेपाली महिला साहित्यकार’ भृकुटी १०. काठमाडौँ ः भृकुटी एकेडेमी पब्लिकेसन, पृ.४००–४०७)
शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल . २०६१ .‘पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त’ . विद्यार्थी पुस्तक भण्डार ः काठमाडाँै ।

टीकाथली, ललितपुर

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 16 भाद्र, 2077

लेखकका अन्य रचनाहरु