सीमातीत अस्मिता कथाभित्रको सामाजिक मर्यादा र यौनिक स्वतन्त्रता

- झपिन्द्रबहादुर क्षेत्री

लेखसार

उत्तर आधुनिकतावाद सँगै विकास भएको एउटा विशेष दर्शन, विचारधार र आन्दोलन नारीवाद हो । नारीवादले नारीहरूलाई सशक्तिकरण गराउँन र नारी र पुरूषको समसत्ता कायम गराउन मार्ग दर्शन गराउँछ । नेपाली साहित्यको क्षेत्रमा पनि नारीवादी दर्शन साहित्य सिर्जनाको एक विशिष्ट आधारको रूपमा देखापरेको छ । यसले नारीलाई पुरूष सरहको अधिकार दिनु पर्दछ भन्ने आन्दोलनको वकालत गर्दछ । नेपाली साहित्यका कथाकारहरू मध्ये उषा शेरचन पनि एक महत्वपूर्ण नारी स्रटा हुन् । प्रस्तुत अध्ययन कथाकार उषा शेरचनको तेस्रो रङ्ग कथा संग्रहको सीमातीत अस्मिता कथामा आधारित सामाजिक मर्यादा र यौनिक स्वतन्त्रताको बारेमा नारीवादी समालोचनाका दृष्टिले गरिएको विश्लेषणमा केन्द्रीत छ । कथामा कथाकार उषा शेरचनले नेपाली नारीहरूले पितृसत्ताका कारण के कस्तो दुःख पीडा भोग्न बाध्य छन् भन्ने कुरालाई कथाका माध्यमबाट प्रष्ट पारेकी छन् । अध्ययनमा यही कुरालाई मुख्य समस्या बनाइएको छ । अध्ययनका विधिहरू मध्ये पुस्तकालयीय अध्ययन कार्यबाट प्राप्त भएका सामग्री र तथ्यहरू संकलन गरी वर्णनात्मक ढंगले विश्लेषण गर्दै तथ्यलाई प्रस्तुत गरी समस्या समाधान गर्दै कथाभित्र रहेको सामाजिक मर्यादा र यौनिक स्वतन्त्रतालाई पाठक समक्ष प्रस्तुत गर्नु र साहित्य सिद्धान्त उत्तरवर्ती समालोचना विषयको दर्शन आचार्यको गृहकार्य पूरा गर्नु यस लेखको उद्देश्य हो । सीमातीत अस्मिता कथालाई अध्ययन गर्दा देखा परेका तथ्यहरूलाई विश्लेषण गर्दै त्यसको अवस्था लेखमा समावेश गरिएको छ । कथागत तत्वहरू ःकथावस्तु, मूलभाव, पात्र, र भाषामा रहेको सामाजिक मर्यादा र यौनिक स्वतन्त्रतालाई विस्तृत रूपमा बोध गर्न यस लेखलाई अध्ययन गर्नु आवश्यक छ । नेपाली नारीको सामाजिक साँस्कृतिक मर्यादामा सीमा छ त्यसैले उनीहरूमा यौन स्वतन्त्रता छैन । नेपाली नारी र पुरूषको सामाजिक मर्यादा र यौनिक स्वतन्त्रता पनि विभेदकारी नै छ भन्ने निष्कर्ष यस लेखको मूल सार हो ।

मुख्य शब्दहरू सीमातीत, फुलङ्गा, वकालत, उलङ्घन, अस्मिता आदि
१.विषय परिचय
पूर्वीय र पश्चिमा साहित्य एवम् नेपाली साहित्यमा समेत आफ्नो छुट्टै अस्तित्व र मान्यता कायम गर्न सफल भएका विभिन्न साहित्यिक सिद्धान्त र प्रवृतिहरू मध्ये नारीवादी लेखनको प्रवृति पनि एक हो । नारीहरू पनि पुरूष सरह सबै कार्यमा भाग लिन सक्छन् उनीहरूलाई विभेदको दृष्टिले हेरिनु हुँदैन, पितृसत्ताका कारणबाट स्थापित गरिएका पुरूष पक्षीय मूल्य मान्यताहरू र नारीलाई बस्तु ठान्ने प्रवृतिको विरोध गर्नुपर्छ भन्ने मान्यता राख्दै आन्दोलनको रूपमा देखापरेको यो चिन्तन वा प्रवृतिले अहिले सैद्धान्तिक मान्यता प्राप्त गरी नारीवादी सिद्धान्तको नामबाट विश्व साहित्य र नेपाली साहित्यमा साहित्यिक रचना र कृतिहरू सृर्जनाका विशिष्ट पद्धति समेतको विकास गरी सकेको छ ।
नारी केन्द्रीत नेपाली साहित्य सिर्जनाको क्षेत्रमा आफ्ना रचना प्रस्तुत गरेर नारीहरूका स्वर मुखरित गर्ने नारी हस्ताक्षर मध्ये एक महत्वपूर्ण स्रष्टाको रूपमा चिनिएकी उषा शेरचन (भट्टचन)को जन्म वि.सं २०१२ साल भाद्र छ गते कास्की जिल्ला पोखरा महा नगरपालिका गणेश टोल निवासी बाबा झपट बहादुर, आमा याम कुमारी भट्टचनको कोखबाट भएको हो । पृथ्वी नारायण क्याम्पस पोखराबाट स्नातक तहको शिक्षा हासिल गरी नेपाली साहित्यको लेखन कार्यमा क्रियाशील उषा शेरचनले वि.सं. २०३५ सालमा गोरखा पत्र पत्रिकामा कविता प्रकाशन गर्दै आफ्नो नेपाली साहित्य प्रवेशको औपचारिक यात्रा शुरू गरेकी थिइन । (https://www.youtube.com)
नारी जाति मूलत ः नेपाली महिलाको पक्षमा आफ्रूलाई साहित्यका विभिन्न विधाका माध्यमबाट साहित्यकारको रूपमा उभ्याउँन सफल उषा शेरचनले नजन्मेका आस्थाहरू कविता संङ्ग्रह, अक्षरका शिविरबाट मुक्तक सङ्ग्रह, तेस्रो रङ्ग कथा संग्रह, र आधि उपन्यास समेत प्रकाशित गराएकी छन् ।
नेपाली साहित्यकको नारीवादी लेखनका विविध विधामा कलम चलाएकी साहित्यकार उषा शेरचनले मुक्तक, कविता होस् या कथा र उपन्यास नै किन नहोस् नारी अधिकार, न्याय र समानताका पक्षमा पितृसत्ताले सिर्जना गरेका धार्मिक, आर्थिक, सामाजिक, राजनैतिक र साँस्कृति क्षेत्रका कुरीतिजन्य मूल्य र मान्यताको खास गरी पुरूष हैकमवादको विरूद्धमा खुलेर आफ्ना भावना र धारणालाई साहित्यका माध्यमबाट निर्धक्क उजागर गरेकी छन् । त्यसैले उनी समकालीन नेपाली साहित्य फाँटमा नारीवादी साहित्य स्रष्टाको रूपमा परिचित छिन् । उपर्युक्त सन्दर्भलाई विचार गर्दा उषा शेरचनका हरेक कृतिहरू नारीवादी समालोचनाको दृष्टिले पठनीय र विश्लेषणीय रहेको यथार्थ सबैको सामु छर्लङ्ग हुन्छ (कार्की, २०७६) । त्यसैले यस अध्ययनमा कथाकार उषा शेरचनद्वारा प्रस्तुत गरिएको तेस्रो रङ्ग कथा संग्रहभित्रको कथा सीमातीत अस्मिता भित्र देखिएको नियमको मर्यादा एवम् नारी यौनिक अधिकार र स्वतन्त्रतालाई (कथावस्तु, मूलभाव, पात्र र भाषाशैली आदि) कथातत्वको आधारमा अध्ययन गरिएको छ ।
३.अध्ययनको उद्देश्य
नारीवाद नारीहरूको पक्षमा आवाज बुलन्द गर्ने साहित्यको महत्वपूर्ण समालोचनाको सिद्धान्त हो । प्रस्तुत कथा नारीवादी समालोचनाका दृष्टिले विवेच्य नै छ । यस आलेखमा कथाकार उषा शेरचनको सीमातीत अस्मिता कथाभित्र रहेका सामाजिक नियमको मर्यादा र महिला यौनिक स्वतन्त्रता के –कस्तो छ ? भन्ने प्रश्नलाई मुख्य समस्या बनाई कथातत्वका कथावस्तु, पात्र, मूलभाव र भाषा शैलीमा खोजी गरिने छ । सीमातीत शब्दको कोशीय अर्थ सीमा नाघेको भन्ने हुन्छ । सीमा भनेको कुनै पनि कुराको नियम वा आचारको हद, वा मर्यादा हो । कथाकारले सीमातीतसँग अस्मिता जोडेर कथा प्रस्तुत गरेकी छन् । त्यसैले यस कथामा ती नाघिएका सीमा के हुन् भन्ने जिज्ञासा रहनु स्वभाविक देखिन्छ । प्रस्तुत अध्ययनमा ती जिज्ञासाको समाधान खोजिने छ । पुस्तकालयीय अध्ययन , मुडल सामग्री, युट्युव, पत्रपत्रिका पुस्तक र अनलाईनबाट प्राप्त भएका तथ्य र सामाग्रीहरू संकलन गरी ती सामग्रीहरूको वर्णनात्मक ढंगले अध्ययन विश्लेषण गर्दै निष्कर्षमा पुग्नु, साथै सीमातीत अस्मिता भनेको के हो ? यो कसरी देखा परेको हो ? कथाका तत्वहरूमा कहाँ कहाँ कसरी रहेको छ ? भन्ने कुराको खोजी गर्दै तिनको सम्यक निष्कर्षलाई नारीवादी समालोचनाका सिद्धान्तका आधारमा प्रस्तुत गर्नुलाई यस अध्ययनको उद्देश्य मानिएको छ ।

४.सैद्धान्तिक पर्याधार
अंग्रेजी भाषाको (फेमेनिजम) शब्दको नेपाली रूपान्तरण नारीवाद भई प्रयोग हुँदै आएको यस चिन्तनको अर्थ नारीहरूको हक अधिकार र समानताका लागि आवाज उठाउने अथवा समग्र नारीलाई केन्द्रमा राखेर कुनै पनि कृतिको अध्ययन र विश्लेष गर्ने साहित्यको स्थापित चिन्तन पद्धतिलाई नारीवाद भनिन्छ (भट्टराई र काफ्ले,२०७७) । त्यसैले नारीवादी चिन्तनले नारीप्रतिका अन्यायपूर्ण सामाजिक व्यवहार र सोचकोे विरोध गर्दै नारीलाई आफ्ना अधिकारको पक्षमा लाग्न प्रेरित गर्दछ । पश्चिमा जगतबाट शुरू भएको यो मानवतवादी दृष्टिकोण अमेरिका र युरोपमा नारी जागरण र मुक्तिको अभियान र आन्दोलनको रूपमा अगाडि बढेको देखिन्छ । यसै सन्दर्भमा सन् १८४८ को सेनेगा फल्स सहरको प्रथम नारी सम्मेलन, सन् १८५७ को नारीहरूको कार्य घण्टा घटाउने आन्दोलन, सन् १८९७ मार्च ८ को संसदमा नारी अधिकारको माग पत्र पेश, सन् १९०९ को श्रमिक महिलाहरूको विरोध प्रर्दशन, र सन् १९२० अगस्ट २६ मा नारीहरूलाई दिइएको मताधिकार आदि आन्दोलन र परिर्वनहरू नारीवादी चिन्तन विकासका महत्वपूर्ण आधारहरू हुन् (भट्टराई र काफ्ले,२०७७) । यसरी हेर्दा नारीवादी चिन्तन अमेरिका र युरोपमा औद्योगिक क्रान्तिपछि नै भएको देख्न सकिन्छ । समाजको राजनैतिक सहभागिता, नेतृत्व, आदिमा पुरूष सरह आफनो अधिकार सुनिश्चित हुनु पर्दछ भन्ने आग्रह राख्ने नारीवादको विकासको लहरलाई कालक्रमगत रूपमा विभिन्न ढंगले मूल्याङ्कन पनि गरेको देखिन्छ तापनि १५ औ शताब्दिदेखि १९ औ शताब्दी सम्मको नारी जागरणको आन्दोलन हँदै सम्पूर्ण महिलालाई समेट्ने छाता चिन्तनको दृष्टिकोणमा सबैको मत ऐक्यता रहेको देखिन्छ (प्रसाई,२०७१) ।
नारीवादी चिन्तनको श्रृङ्खलालाई कालक्रमिक रूपमा विभाजन गरेर पनि हेर्ने गरिएको देखिन्छ । जस्तै ः सन् १८४८ देखि सन् १९४९ सम्म को मताधिकारको आन्दोलन, यसमा खास गरी मेरी उल्साटोन क्राफ्ट वेलायतले गरेको आन्दोलन र मताधिकारको आन्दोलन अनि प्रथम फल्स महिला सम्मेलन महत्वपूर्ण छन् त्यसैले यसलाई पहिलो लहर भनी नामकरण गरिएको देखिन्छ । दोस्रो लहरका रूपमा सन् १९६० देखि सन् १९७९ सम्मको अवधिलाई लिइएको छ । यस समयमा द फेमिनन मिस्टेक र सन् १९६८ मा नारीवादी विद्रोहको विस्फोट भएको र यसमा बेट्टी फाइडेन, द सेकेन्ड सेक्स आदि जस्ता कार्यहरू भएको र नारी अधिकारको विद्रोह भएको देखिन्छ । नारीवादको रूपमा विकसित अन्तिम लहरका रूपमा देखिएको यो चिन्तन सन् १०८० देखि हालसम्म विकास भएको देखिन्छ । त्यसैले नारीवाद एक दर्शन, हो यो आन्दोेलन हो यो विचार धारा समेत वा साहित्य विश्लेषणको सिद्धान्त पनि हो ( https://www.youtube.com )
मूलत ः पितृसत्ताको निश्चितता भङ्ग गर्ने, लैङ्गिक समानतामा विश्वास गर्ने, परिवर्तनशील समाजबाट लैङ्गिक दमन हटाउने आन्दोलनका रूपमा देखापरेको यस चिन्तनलाई सन् १९६० देखि अलग वैचारिक आन्दोलन र दृष्टिकोणको रूपमा स्थापित भएको नारी अस्मिता र मूल्यको खोजी गर्ने साहियिक मान्यता बोकेको नारीवाद, वा नारीवादी चिन्तन भनेर चिनिएको देखिन्छ । यसरी हेर्दा समालोचनाको क्षेत्रमा साहित्य वा वाङ्मयका विधाहरूको समीक्षा वा मूल्याङ्कन गर्न आफ्नै मान्यता स्थापित गरेको छ । नारीवादी समालोचनाले स्वीकार गरेका आधारभूत मान्यताहरूलाई यसरी प्रस्तुत गर्न सकिन्छ । जस्तै ः नारी समानता र मुक्तिको आवाज उठाउँनु, लैङ्गिक विभेदको माग गर्दै समानता र न्यायको वकालत गर्नु, पितृसत्ताले नारीलाई दोस्रो दर्जाको मान्ने परम्पराको विरोध गर्नु, नारीलाई गरिने शोषण दमन आर्थिक, सामाजिक, वैचारिक, धार्मिक, साँस्कृति, राजनैतिक, यौन र शैक्षिक भेदभावको विरोध गर्नु, नारीमाथिको दमनको कानुनी रूपमा अन्यको माग गर्नु, नारी पुरूष श्रममा समानता हुनु पर्ने माग राख्दै महिलामाथिको शरीर राजनीतिको विरोध गर्नु, आफ्नो शरीर आफ्नो अधिकार भन्ने मान्यता राखी मातृत्व महत्त्ता गर्भावस्थाको भत्ता गर्भपतनको अधिकारको माग गर्दछ । आत्मनिर्भता, आर्थिक सक्षमता सहभागिता र सशक्तिकरणमा जोड दिनु । माहिलाको स्रोतमाथिको पहँच, सम्बन्ध महिला विकासका विविध पक्षमा जोड दिने आदि मान्यता राख्दछ (भट्टराई र काफ्ले,२०७७) । नारीवादी समालोचनाको मूल मर्म भनेको नारी र पुरूषको सम्यक दृष्टिकोण हो । त्यसैले यसचिन्तनले पुरूषलाई प्रत्याभूत भएको सम्पूर्ण हक अधिकार र मान्यता महिलाहरूलाई पनि स्वाभाविक रूपमा हुनु पर्दछ भन्ने मान्यता राख्दछ । नारीवादी समालोचनाका यी समग्र पक्षमा अध्ययन हुन सम्भव भए पनि प्रस्तुत लेखमा कथाकार उषा शेरचनको कथा सीमातीत अस्मिता कथाभित्रको सामाजिक मर्यादा र नारी यौनिक स्वतन्त्रतालाई कथा वस्तु, पात्र, मूलभाव र भाषाशैलीभित्र के कस्तो रहेको छ भनी अध्ययन गरिएको छ ।
नेपाली समाज पनि पितृसत्ताको कारणले जकडिएको समाज हो यहाँ पितृसत्ताको कारणबाट पुरूष जति गल्ती गर्दा पनि महान नै भइरहने महिलाहरू निर्दोष हुँदा र सक्षम हँुदा पनि पुरूषको थिचोमिचो सहनु पर्ने यथार्थ अवस्थाको चित्रण छ । नेपाली समाजमा छोरालाई अंश वंशको अधिकारी मान्ने र छोरीलाई जन्म हुँने बेलादेखि नै हेला र त्यागको दृष्टिले हेर्नु मात्र होइन पुरूषको सन्तान जम्माउन नसक्ने क्षमतालाई समेत ढाकछोप गरी नारीले नै दोष बोक्नु पर्ने बाध्यता रहेको अवस्था देखिन्छ । नारीवाद िकथाकार उषा शेरचनद्वारा लेखिएको प्रस्तुत कथामा पुरूषको यौन क्षमताको कमजोरीका कारण नारीले भोग्नु परेका छटपटी र त्यसबाट उत्पन्न भएको सीमातीत अस्मिता, सामाजिक नियम मर्यादा र यौन सम्बन्धका लागि नारीहरू स्वतन्त्र हुनपर्ने दृष्टिकोण उल्लेख गरिएको छ । अत ः यस कथामा कथाकारले सामाजिक मर्यादा वा नियम र महिलाको यौनिक स्वतन्त्रता कसरी प्रयोग भएका छन् ? वा त्यसभित्र समेटिएका सामाजिक नियम वा मर्यादालाइ पुरूष मर्यादाले कसरी लिएको छ ? भन्नका लागि कथालाई नारीवादी समालोचनाको सैद्धान्तिक आधारमा कथावस्तु, मूलभाव, पात्र र भाषाशैलीका आधारमा अध्ययन गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।
५.कथावस्तु÷कथासार
विवाह भएको बाह्र वर्षसम्म पनि सन्तान हुन नसकेकोले म पात्र सन्तानको लालसाले छटपटिएको सन्दर्भबाट कथावस्तुको शुरूवात भएको छ । विवाहको यति लामो समयसम्म सन्तान नहुनुको पिडा एकातिर छँदैछ भने अर्कोतिर समाजले आफूलाई बाँझी भन्ने डरले म पात्र तड्पिएको अवस्थाको चित्रण सँगै कथाले गति लिएको छ । आफूलाई सन्तान होला भनेर कहिले डाक्टर कहाँ कहिले ज्योतिष त कहिले धामी झाँक्री कहाँ समेत धाएको प्रसङ्ग उल्लेख गर्दै म पात्र आफू भरिलो हुन वा आफ्नो जीवनलाई भरिलो पार्न चार चौरास दौडिएको अवस्था देखाउछ । कथा अनुसार सन्तान प्राप्तिका लागि म पात्र सबैतिर गएको , सबैले सन्तान हुने आश्वासन दिए पनि आफूले सन्तान प्राप्ति गर्न नसकेकोले आफू नारी हुनुको कुनै अर्थ नभएको, स्वीकार गर्दछ । सन्तानका लागि म पात्रले पैसाको खोलो बगाउन पनि तयार भएको, हरेक पटक डाक्टर कहाँ जाँदा तपाई आमा बन्न सक्नु हुन्छ तपाईंमा कुनै खराबी छैन भन्ने सूचना पाउनु, डाक्टरले श्रीमान श्रीमती दुवैलाई जाँच गर्नु पर्ने सल्लाह दिनु, म पात्रले सँगै डाक्टरसँग जाऊँ भनी प्रस्ताव राख्नु तर म मात्रको श्रीमानले अस्वीकार गरेर आफूलाई एकोहोरो म ठीक छु भनेर श्रीमतीको कुरा नसुन्नुले म पात्रलाई पिडाबोध भएको छ । म पात्र वा श्रीमतीको हजारौ अनुरोधलाई अस्वीकार गर्ने पुरूष पात्र डाक्टरकहाँ जाँदा आफ्नो पुरूषत्वको धज्जी उड्ने डरले पिडित देखिन्छ । कथाको आरम्भ अवस्थामा एक महिला आफू बेलामा आमा बन्न नसक्दा र दुनिया समाजका अगाडि आफूलाई बाँझी आइमाईको उपनाम दिइदा अर्थात आफ्नो कमजोरी नहुँदा नहुदै पनि पितृसत्तात्मक समाजले आफूलाई हिड्ने बेलामा बाटोमा देखेपनि साइत नपर्ने एक अमानवीय वस्तु बनाइदा एक नारी कसरी व्याकुल हुन्छे भन्ने कुरा देखाउँन खोजिएको छ । सन्तान नभएका महिलाको कुनै अर्थ हुँदैन भन्ने पुरातन मान्यता र नारी बनेर काखमा सन्तान खेलाउन पनर्,े छोरा छोरी जन्माउनै पर्ने मान्यताका कारणले एक महिलामा आफैले सौता पनि हाल्न तयार भएको प्रसङ् कथाको आरम्भमा छ ।
आफ्नो श्रीमानको मन मिल्ने साथी विदेशबाट आएको घटनासँगै कथाको दोस्रो चरण अथवा विकासको अवस्था शुरूभएको छ । यसमा म पात्रका श्रीमानको साथी उहाँ विदेशबाट आउछ , उसले विदेशबाट आएपछि साथीलाई भेट्न साथीको घरमा म पात्र कहाँ आउछ , दुई साथीहरूको बीचमा अति निकटको हार्दिकता देखा पर्छ विदेशबाट आएको साथीले आफूले होटलमा कोठा लिइ सकेको हुन्छ, दुई साथीको हार्दिकताले म पात्रलाई पनि आकर्ष गर्दछ, आफूले विदेशमा धेरै धन कमाइ सकेको र अब महिला र बालबालिकाको पक्षमा केही गर्ने मनसायले आफू स्वदेश आएको कुरा साथीले म पात्र र उसको श्रीमानलाई सुनाउँछ । आफ्नो श्रीमान्ले विदेशबाट आएको साथीलाई उसले खोजेको होटलको कोठा छोडेर आफ्नै घरमा बस्न आग्रह गर्दछ । साथीको आग्रहमा आफ्नै कोठामा बस्न आएको साथीलाई आफ्नो श्रीमानका घरतिरका मानिसले अर्को केटी विवाह गर्दिन भनिदियोस् भन्ने चाहना एकातिर छ भने अर्कोतिर आफ्नो साथीको कमजोरीका कारण त्यस परिवार तड्पिएको र भाउजू वा म पात्र धेरै दुःखित भएको कारण थाहा पाउँछ । आफ्नो साथीको खुसीका लागि उसले भाउजूसँग यौन सम्बन्ध राख्छ, सन्तानको अभावमा तड्पीएकी म पात्र सन्तानको लालसामा व्याकुल बनेकीले त्यसको प्रतिकार हुँदैन त्यसैले म पात्र गर्भिणि बन्न पुग्दछे । आफ्नो साथीकी श्रीमती गर्भवती भएपछि त्यसलाई लुकाउन विदेशबाट आएको साथीले आफ्नो साथीलाई कतिपय पुरूषहरू १२ वर्षपछि मात्र सन्तान योग्य हुन सक्ने आश्वासन दिन्छ । आफूले विश्वास गरेको साथीबाट सन्तान योग्य हुने लालसाका साथ म पात्रको श्रीमान सन्तानको प्रतिक्षामा रहँदै कथाको दोस्रो खण्ड समाप्त हुन्छ ।
कथाको तेस्रो खण्ड म पात्र गर्भिणी भएदेखि अगाडि बढेको छ । सन्तान प्राप्तिको व्यग्र प्रतिक्षामा रहेको त्यस परिवारमा छोरा जन्मिएपछि हर्ष र खुशी छाएको छ । विवाहका बाह्र वर्षसम्म पनि सन्तान नहँुदा तड्पीएको म पात्र र उनको परिवारमा सन्तानको प्राप्तिले वसन्त बहार ल्याएको अनुभूत दुवै पात्रले गर्दछन् । छोराको जन्मसँगै म पात्रले बाँझी आइमाई उपनामबाट मुक्ति पाएकी छे भने पुरूष पनि पुरूसत्व नभएको फुलाङ्गो पदवीबाट मुक्त भएको छ । परिवारमा खुशी छाइरहेको अवस्थामा एकाएक विदेशबाट इमेल आउँछ ,इमेलले त्यस परिवारको खुशीलाई भङ्ग गर्दछ । इमेलमा आफूले साथीको परिवारको खुशीका लागि वासानात्मक सम्बन्ध नहँदा नहँुदै पनि भाउजूसँग यौन सम्बन्ध राखेको, साथीलाई ढाँटेर बाह्र वर्षपछि पनि पुरूषहरू सन्तान योग्य हुन सक्ने झुठो आश्वासन दिएको, आफूले धन सम्पत्ति कमाइ सकेको, जन्मिएको सन्तानमा आफ्नो कुनै हक दावी नभएको, साथीको खुशीको लागि आफूले झुठो बोलेका,े अहिले मर्ने बेलामा जन्मिएको छोराको नाममा आफूले सम्पत्ति राखिदिएको आदि कुरा लेखिएको हुन्छ ।
विदेशबाट आएको यस इमेलले म पात्रको घरमा म पात्रबाट जन्मिएको सन्तान र उसको श्रीमान्को सम्बन्धमा चिसोपना आएको मात्र होइन दाम्पत्य जीवनमा समेत दरार उत्पन्न भएको छ । यसै सन्दर्भमा म पात्रले आफ्नो श्रीमानलाई ‘तपाईँ पुरूषहरू आधा मात्र भएर पनि समाजमा बाच्न सक्नु हुन्छ तर हामी महिलाहरू पूर्ण भएर पनि आधा भएर बाँच्नु पर्ने बाध्यता छ । म पूर्ण रूपले आमा हुन सक्षम थिएँ र छु मैले सन्तानका लागि सौता हाल्न मानेकै थिएँ सरोगेट मदर स्वीकार्न पनि तयार भएकी थिएँ । तपाइँ आफै मान्नु भएन भन्दै जन्मिएको बच्चाको पक्षमा आपूलाई उभ्याउँछे । उसले सरोगेट मदर स्वीकारर्न सक्नेले सरोगेट फादर पनि त स्वीकार्ने हिम्मत गर्नु पर्र्यो नि’ भन्छे ।कथाको म पात्रको श्रीमान तपाइँले जन्मिएको बच्चा आफ्नो नभएको थाहा पाएपछि त्यसको विरोध गर्दछ यसै सन्दर्भमा म पात्रले ‘कथाको अन्त्यमा लोग्ने मानिसले जे गरे पनि छुट हुने त्यही कुरा स्वास्नीमान्छेले गर्दा भने पाप हुने एक्काइसौ शताब्दी टेकिसक्दा पनि उही सदियौं देखिकै भेदभाव किन सहिरहनु पर्ने दोस्रो दर्जाको नागरिक हुनाको पिडा कतिन्जेल भोगिरहनु पर्ने ।’भनेर विरोध जनाएकी छे । उसले भन्छे ‘आफूभित्र नयाँ उमङ्ग छ नयाँ उत्साह छ नयाँ जोस र जाँगर छ । बाहिर खुला आकाशले हात फैलाउँदै मलाई बोलाई रहेको छ । त्यो भन्दा पनि ठूलो कुरा त मसँग मेरो छोरो छ । भनी गौरबले शीर उठाउछे तर उसको श्रीमान् मनको बाँध भत्किएर एकसाथ निस्किएको ज्वारभाटाले असर गरिरहे जस्तो अवाक् भएर टोलाइ रहन्छ र कथाको कथावस्तु समाप्त हुन्छ ।
यसरी कथाको सारलाई आधार मानी भन्न सकिन्छ कि प्रस्तुत कथा नारीवादी दृष्टिकोणले लेखिएको कथा हो । अत यस कथाका,विभिन्न तत्वहरूमा सामाजिक मर्यादा र यौनिक स्वतन्त्रतालाई विश्लेषण गर्न सकिन्छ । कथाको आदि, मध्ये र अन्त्यको क्रम मिलाई प्रस्तुत गरिएको यस कथाको आयाम संक्षिप्त नै छ भने शीर्षक पनि स्वभाविक र अर्थपूर्ण रहेको छ ।
५.१ मूलभावमा सामाजिक मर्यादा र यौनिक स्वतन्त्रता
नारीवादी कथाकार शेरचनको कथासंग्रह तेस्रो रङ्ग आफैमा नारीवादी चिन्तनका दृष्टिले लेखिएका कथाहरूको संगालो हो त्यसैले तेस्रो रङ् कथामा संग्रहित कथा सीमातीत अस्मिता एक महत्वपूर्ण रचना हो । यस कथामा कथाकारले मूलत नारीवादी ढंगले सम्पूर्ण विषयवस्तुलाई उठाएकी मात्र होइनन् नारीवादले औलाउने पितृसत्ता र पुरूष हैकमका कारण नेपाली नारीले भोग्नु परेका दुःख, पीडा, यातना, हेला, अपमान र वेथितिलाई विरोध र प्रतिकार गर्दै समानता र नारी समसत्ताको पक्षमा वकालत गरेकी छन् । नेपाली समाजमा रहेको परम्परागत पितृसत्ता र त्यसका कारणले समाजका मानिसहरूमा हुर्केको सन्तान प्राप्तिको मोह र पुरूष फुलङ्गा हुँदा पनि महिलालाई सताउने र पिडा दिने चलनको विरोध गरी समाजका नारी पुरूष दुवै सन्तान प्राप्ति गराउन समान छन्, भन्न खोजिएको छ ; यो नै कथाको मूलभाव हो । कथामा पुरूषमा भएको सन्तान प्राप्तिको क्षमताको दोष वा कमजोरी नारीलाई थोपर्ने पुरानो मान्यताको विरोध गरी एक नारीबाट सन्तान नहँदा उसमाथि सौता हाल्न मिल्ने तर पुरूषको कमजोरीका कारण महिलाले सन्तान जन्माउन नसकी सन्तान प्राप्तिको चाहले अर्काे पुरूषलाई यौनका लागि सहभागी गराउँदा ती महिला पतीत वेस्या आदिबाट कलङ्कित हुनु पर्ने सामाजिक मान्यता वा मर्यादाको सीमा उल्लेख गरिएको छ । यसले समाज विभेदकारी भएको स्पष्ट हुुन्छ । यसलाई कथामा यसरी व्यक्त भएको छ । जस्तै ः
जुन डाक्टरलाई देखाए पनि ‘तपाईं आमा बन्न पूर्ण रुपले सक्षम र स्वस्थ हुनुहुन्छ’ भन्छन् । ‘त्यस्तो खराबी केही देखिन्न, बरू एकपटक तपाईंको श्रीमान्लाई पनि साथै लिएर आउनुहोस् अनि दुबैको स्वास्थ्य परीक्षण गरेर मात्र भन्न सक्छौं कसको तर्फबाट नभएको हो भनेर’( सीमातीत अस्मिता, पृ. २)
सायद, उहाँलाई आफ्नो पुरूषत्वको धज्जी उड्ला कि वा आफ्नो पुरूष अहङ्कारले घुँडा टेक्नुपर्ने पो हो कि भन्ने डर व्याप्त भएर पनि हुन सक्छ, जति पटक आग्रह गर्दा पनि डेक नचलेपछि मैले पनि भन्नै छाडेँ । ( सीमातीत अस्मिता, पृ. २)

माथिका यी दुई पङ्तीमा कुनै पनि पुरूष आफूमा पुरूषत्व नभए पनि नारीका अगाडि पुरूषार्थी हुँ भनी आडम्बर देखाउनु पर्ने बाध्यता यो पितृसत्तात्मक मर्यादाले सिर्जना गरेको छ भन्ने तथ्यलाई उजागर गरेको छ । कथामा आएको म पात्रको स्वास्थ्य जाँचका लागि डाक्टर कहाँ जाऊँ भन्ने श्रीमानसँगको पटक पटककोे आग्रह यसको प्रत्यक्ष उदाहरण हो । समाजको पुरूष कमजोर भएपनि सुरक्षित, निस्कलङक, र शक्तिशाली भएको तर नारी क्षमतावान् भएपनि समाजको मर्यादा र सीमामा आफूलाई जकडेर बाँच्नु पर्ने सामाजिक वेथितिलाई उदाङ्गो पार्दैै त्यसको यथार्थता पस्कनु कथाको अर्को भाव हो । कथाले नारीलाई यौनका सम्बन्धमा पनि निश्चित सीमा र नियममा बाँधेको देख्न सकिन्छ ।यदि त्यसो नहुदो ह त म पात्रले आफ्ना पुरूषको बारेमा नै खुलेर बाहिर बोल्ने थिइन् । यौनको उलङ्घन हँुदा कथाको शीर्षक सार्थक त बनेको छ । तर यसले कथाका दुई पात्रको बीचमा बेमेल वा विद्रोहको अवस्था सिर्जना गरेको छ । समाजका दुई लिङ्ग, नारी र पुरूष, एकलाई आफ्नो अंग र कार्यमा पूर्ण स्वतन्त्रताको अवस्था दिइएको सन्दर्भ एकातिर छ भने अर्कोतिर त्यही पुरूषको सहकर्मी नारीलाई पुरूषकै अधिनस्थ राख्नु पर्ने सामाजिक मर्यादाको पर्खाल खडा गरिएको छ । जसले कथाको विषयवस्तु पूर्ण बनेको छ । जस्तै ः
यदि तपाईंको सट्टा मेरोतर्फबाट बच्चा हुन नसकेको भए तपाईंले म भनेरै सन्तान सुखबाट वञ्चित भएर बस्न सक्नुहुन्थ्यो होला त १ अर्की श्रीमती ल्याएर वा रखौटी नै राखेर भए पनि तपाईंले सन्तान सुख प्राप्त गर्नु हुने थिएन होला त १ आत्मासाक्षी राखेर भन्नुहोस् त १ ( सीमातीत अस्मिता, पृ. १०)
यसरी म पात्रले आफ्नो श्रीमान्लाई भनेका उपर्युक्त वाक्यांशले नारी र पुरूषको यौन र मर्यादामा देखिएको भेदभाव एवम् नारी पुरूषको यो असमानताको अ्रन्त्यको आवाज उठाउनु कथाको अर्को उद्देश्य हो, जुन मूल भावको रूपमा देखा परेको छ । अन्त्यमा भन्न सकिन्छ कि सीमातीत अस्मिता कथाभित्र सामाजिक मर्यादाका रूपमा यौनलाई प्रयोग गर्ने मान्यता म पात्रको श्रीमानको छ । समाजका दुई लिङ्ग नारी र पुरूष दुवैमा यौनको अधिकार, मर्यादा, र स्वान्त्रतामा समान अवसर र सहभागिता हुनु पर्ने धारणा यस कथाको मूल भाव हो । यसरीहेर्दा कथाको मूलभावमा पनि सामाजिक मर्यादा र यौनको स्वतन्त्रतामा पनि सीमा रहेको स्पष्ट हुन्छ ।
५.२ मुख्य पात्रमा सामाजिक मर्यादा र यौनिक स्वतन्त्रता
सीमातीत अस्मिता कथामा म पात्रकी नारी, म पात्रको श्रीमान्, श्रीमान्को गैर आवासीय साथी उहाँ, धामी, झाँक्री, वैद्य, डाक्टर, नर्स,बच्चा, आदि पात्रहरू रहेका छन् । कथामा सर्वनाम वाची शब्दहरू नै पात्रका रूपमा प्रयोग गरेर कथाको भावलाई कथाकारले साधारणीकृत गरी यो समस्या कुनै एक महिलाको मात्र नभई समाजका हरेक महिलाको हो भन्ने आधार प्रदान गरेकी छन् । कथामा प्रयोग भएका पात्रहरूको कथागत कार्यका आधारमा विश्लेषण गर्दा म पात्रकी महिला र उसको श्रीमान् मुख्य पात्र हुन् भने म पात्रको श्रीमान्को गैर आवासीय साथी उहाँ सहायक पात्र हो । लिङ्गगत आधारमा पुरूष पात्रको रूपमा म पात्रको श्रीमान्, उसको गैर आवासीय साथी, डाक्टर, वैद्य,धामी झाँक्री र बच्चा पुरूष पात्र हुन् भने म पात्र, नर्स आदि स्त्रीपात्रहरू हुन् । वर्गीय दृष्टिले म पात्र र उसको श्रीमान् समग्र नारी, र पुरूष वर्गलाई प्रतिनिधित्व गर्ने निम्न मध्यम वर्गीय पात्रहरू भए पनि उसको गैर आवसीय साथी उच्त वर्गीय पात्र हो । आबद्धताका दृष्टिले म पात्र र उसको श्रीमान् दुवै बद्ध, अन्य पात्र मुक्त छन् । स्वभावका आधारमा म पात्र, डाक्टर, धामी, झाँक्री, वैद्य, आदि कथाका अनुकूल र म पात्रको श्रीमान्, र उहाँ प्रतिकूल पात्र हुन् । जीवन चेतनाका दृष्टिले दुवै प्रतिनिधिमूलक लिङ्गीय पात्र हुन् । स्वभावका आधारमा म पात्र, उसको श्रीमान्, श्रीमानको गैर आवासीय साथी उहाँ सबै गतिशील पात्र हुन् ।
कथाको कथावस्तु मूलत कथाका दुई मुख्य पात्र म र उसको श्रीमान्बाट घटित भई आरम्भ भए पनि श्रीमान्को गैर आवासीय साथी उहाँको आगमन र उनको साथीको घरको बास बसाइको कार्यले अगाडि बढेको छ । कथामा नारी पात्र म ले आफ्नो मातृवात्सल्यको लागि आफू सबै कुरा त्याग्न मात्र होइन आफू माथि आउने सबै प्रकारका विभेद, हिंसा सहन पनि तयार भएर समाजको मर्यादा राख्न खोजेकी छे । उसलाई आफू सन्तान जन्माउन सक्षम भएर पनि आफ्नो श्रीमान्को असक्षमताले सन्तान हुन नसकेको यथार्थको पीडा एकातिर छ भने अर्कोतिर घरतिरका आफ्न्तले आफ्नो छोरा वा उसको श्रीमान्लाई दोष नदिएर सन्तान जन्माउन नसक्ने बाँझी आइमाईको उपमा आफूले पार्ई समाजका अगाडि अपहेलित हुन परेको वेदना र छटपटि अर्कोतिर छ । समाजको यस प्रकारको विभेद पूर्ण अवस्थालाई खुलेर उसले भण्डाफोर गर्न ऊ सकेकी छैन तर विरोध यसरी जनाएकी छे ः
एक्काइसौँ शताब्दी लागिसक्दा पनि सन्तान नहुनाको प्रमुख कारण स्वास्नीमान्छेलाई मान्ने पुरातन अवधारणाबाट मुक्त हुनै चाहँदैनन् कोही पनि । सारा दोष मजस्ता स्वास्नीमान्छेको टाउकोमा थुपारेर आफूहरू भने दोषमुक्त भएर हिँड्न चाहन्छन् लोग्नेमान्छेहरु । (सीमातीत अस्मिता, पृ.२)
उपर्युक्त भनाइले एकाइसौ शताब्दिका सम्पूण पुरूषहरू माथि आक्रोस पोखेको छ । म पात्रले आफूले यसमा आफूजस्तै धेरै नारीलाई यो समाजले दुःख पीडा दिएको र अनाहकमा दोष लगाएको कुरा व्यक्त गरेकी छन् । म पात्रले यो समाज सामाजिक मर्यादा र यौनिक सम्बन्धमा पनि भेदभावपूण छ भन्ने कुराको खुलेर विरोध गरेकी छन् । उनले समाज नारीका लागि उत्पीडनकारी र पक्षपाती छ किनकि यो समाजमा सन्तान नभएको दोष नारीलाई लगाइन्छ र पुरूषलाई जतिवटा पनि विवाह गर्न छुट दिइन्छ तर त्यही कुराको अधिकार नारीलाई किन दिइदैन भनी प्रश्न गर्दछिन् । उनले आफूले सन्तान जन्माइ सकेर खुसी भइ रहेको बेला विदेशबाट इमेल आएपछि आफ्नो श्रीमान्को हिनमनोदशा देखेर भन्छिन् । कुनै पनि नारी आफ्नो पुरूषमा पुरूषत्व भएन भनेर किन विबाह गर्न पाउदिन ? के नारी भनेको पुरूषको मर्यादा मात्र पालन लिङ्ग मात्र हो ? अथवा नारीको यौनाधिकार पुरूषका लागि मात्र हो ? के उसमा आफ्नो यौनाधिकार हुँदैन आदि जस्ता तर्कहरू तलका यो सम्वादवाट उठाएकी छन् ।
समाजको शब्दमा भन्नुपर्दा केही छिनका लागि भट्किएर बाटो नै बिराएँ रे वा गल्ती नै गरे“ रे, तर तपाईं पुरूषहरुले चाहि“ बाँझोपन सिर्फ आइमाईबाट मात्रै हुनेझैँ गरी समाजमा भ्रम फैलाउँदै आफ्ना गल्तीलाई लुकाउँदाचाहि“ गल्ती नहुने १ स्त्रीले चाहि“ जे गर्दा पनि गल्ती हुने १ सजाय भोग्नै पर्ने १ मैले पनि त्यही समाजमा गएर म बाँझी होइन, बरू मेरो श्रीमान् नै बाँझो हुनुहुन्छ भनेर ढ्याङ्ग्रो ठटाउँदै हि“डेकी भए १ तपाईंको पुरूषत्वको खिल्ली उडाएको भए १ तपाईंले के गर्न सक्नुहुन्थ्यो १ (सीमातीत अस्मिता, पृ. ९)
म पात्रको यस भनाइले समाजले नारीलाई जे जस्तो उपनाम दिएर बेइजत गर्न हुने तर पुरूषलाई केही भन्न नपाउने मर्यादा विद्यमान भएको ठानिन्छ भन्ने उल्लेख भएको छ । पुरूषले नारीलाई खिल्ली उडाउने सम्झन्छ तर नारी त्यो होइन ऊ समाजमा पुरूष जस्तै अधिकारयुक्त नभई अधिकार विहिन छ उसले पुरूषको विरूद्धमा केही बोल्न नसक्ने कुरा उल्लेख छ । समाजमा नारी र पुरूष दुवैको समान हक छ भन्ने कुरा उठाउन कथाकारले यी वाक्यहरू उल्लेख गरेका हुन् । उपर्युक्त सन्दर्भबाट भन्न सकिन्छ कि नारीहरू आफ्नो मर्यादा नाघेर अधिकार वा यौन सम्बन्धका बारेमा पुरूष जस्तै बर्हिमुखी ढंगले व्यक्त गर्न सक्दैनन् । किनकि सदियौदेखिको पितृसत्ताले समाजमा मर्यादा र यौनिक स्वतन्त्रा पनि नारी र पुरूषका लागि असमान छ ।

५.३ भाषा शैलीमा सामाजिक मर्यादा र यौनिक स्वतन्त्रताको
प्रस्तुत कथामा कथाकारले कुनै पनि स्थानमा व्यक्तिवाचक नामको प्रयोग नगरी सर्वनामको मात्र प्रयोग गरेकी छन् । कथाको भाषाका सम्बन्धमा विचार पु¥याउँदा सिङ्गो कथाभित्र सरल, संयुक्त, र मिश्र मात्र होइन कतिपय स्थानमा मिश्र संयुक्त जस्तो जटिल संरचनाका वाक्यहरू पनि रहेका छन् । भाषागत दृष्टिले कथाको भाषा शालिन र शिष्ट नै देखिन्छ । तर कथामा समाजिक मर्यादा र यौनिक स्वतन्त्रतालाई व्यापक ढंगले उठाइएको छ । तापनि अभिव्यक्त गरिएको भाषा आफैमा भद्र र शिष्ट र सभ्य छ । नेपाली नारीमाथिको अनेक अधिकार, समानता, जागरण र पितृसत्ताको विरोध गर्ने यस कथामा कही पनि कसैलाई ठाडो ढंगले गाली बेइजतीको भाषा प्रयोग नगरिनु कथाकारको भाषागत सबल पक्ष हो । कथाकाले ठाउँ ठाउँमा आफ्ना विरोधका आवाज र अनुभूति पोखेकी छन् ती मध्ये केही प्रतिनिधि मूलक वाक्यहरू निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
जस्तै ः
प्राकृतिक तरिकाले गर्भवती हुन नसकेपछि मलाई मेरा श्रीमान्को सामीप्यसमेत बिझाउने काडाँझैँ हुन थालेको थियो । न कुनै आतुरता न त व्यग्रता नै । श्रीमान्को जैविक आवश्यकताप्रति पनि कति वितृष्णा लाग्थ्यो भने पत्नीधर्म निर्वाह गर्न पनि मलाई ज्यादै कठिन भइरहेको थियो । मेरा दिनहरु प्रायः चिन्तामै बित्ने गर्थे भने रात अभिशापमा ।(सीमातीत अस्मिता, पृ. १०)
यहाँ म पात्रले आफ्नो श्रीमान्सँगको निष्फल यौनसम्बन्धलाई अस्वीकार गरेको कुरा सभ्य ढंगले व्यक्त गरेकी छन् । यसले नारीहरू यौनका बारेमा कुरा गरे पनि सामाजिक मर्यादाको सीमामा रहन्छन् भन्ने यथार्थलाई पुष्टि गरेको छ । नेपाली सामाजिक संरचना छोरा र छोरीको बारेमा समान छैन । यहाँ छोरा हुने भयो भने खुसी हुने छारी हुने भएको खण्डमा त्यसलाई जन्म नै नदिने हर्कत गरिन्छ भन्ने साक्ष्यका लागि कथाकारले यो प्रसङ्ग उल्लेख गरेकी छिन् । जस्तै ः
सबैले छोरा हो कि छोरी हो रु अल्ट्रासाउन्ड गरेर हेर भन्ने सल्लाह पनि दिन्थे । मलाई त मात्र सन्तान चाहिएको, न कि छोरा वा छोरी, सृष्टिको अनुपम उपहार जे भए पनि मलाई सहर्ष स्वीकार्य थियो । त्यो पनि अचेलको जमानामा के छोरा के छोरी रु दुबै बराबरी ।
(सीमातीत अस्मिता, पृ. ४)
विवाह भएको बाह वर्षपछि गर्भवती भएकी म पात्रलाई समाजले छोरा वा छोरी के हो भनी जाँच गर्न र छोरा भए मात्र जन्म दिन आग्रह गरेको छ । तर म पात्रले त्यसको अस्वीकार गरी आफू लिङ्गगत रूपमा समान रहेको र छोरा या छोरी जे जन्मे पनि आफूलाई मान्य हुने धारणा राखेकी छन् । कथामा सामाजिक मर्यादाको सीमालाई नाघेर आफ्नो श्रीमान्को गैर आवासीय साथी उहाँप्रति म पात्रले यौन सम्बन्ध गाँसे पछि नै सन्तान प्राप्ति भएको देखिन्छ । जनु सामाजिक मर्यादाको विपरीत कुरा हो । यही समाज हो जहाँ सन्तान नहुने पुरूषले सन्तान प्राप्तिका लागि अन्य महिलालाई विवाह गर्न वा अन्य महिलासँग यौन सम्बन्ध गास्न स्वतन्त्रता दिन्छ । तर सो कुराको अधिकार महिलालाई किन छैन भन्ने सम्बाद पनि कथामा छ । म पात्रले आफू सन्तान प्राप्तिको लालसाले जुनसुकै कदम चाल्न तयार भएको, त्यसका निम्ति सक्षम पनि भएको सन्दर्भमा वासानात्मक आकर्षण नहुँदा नहुँदै पनि पर पुरूषसँग यौन सम्बन्ध गाँसेर छोरा जन्माए पछि खुसी भएको आफ्नो श्रीमान् विदेशबाट एक्कासी आएको इमेलले दुःखी बनेपछि आफ्नो बचावट गर्दै गरेको यो अभिव्यक्ति सामाजिक मर्यादा र यौन स्वतन्त्रताको पक्षमा देखिन्छ । जसले यौनका बारेमा समानता हुन पर्नेमा पनि जोड दिएको छ । जस्तै ः
एकैछिनका लागि मैले मेरो यो देह तपाईंको साथीलाई सुम्पे पनि मेरो आत्माभित्र त्यति बेला पनि तपाईं नै हुनुहुन्थ्यो । हामी दुईबीच न रोमान्स नै थियो, न माया नै थियो, न त वासना नै ।
जसरी आज मैले मेरो मन खोलेर भने“, त्यस्तै गरी तपाईंले पनि मन खोलेर साँचोसाँचो भन्नुहोस् मलाई । लोग्नेमान्छेले जे गरे पनि छुट हुने त्यही कुरा स्वास्नीमान्छेले गर्दा भने पाप हुने १ (सीमातीत अस्मिता, पृ. १०)
कथामा नारी अधिकार, सामाजिक नियमको मर्यादाभित्र नारीको अस्तित्व जोडिएको प्रसङ्ग पनि उल्लेख छ । कथा नै मूलत ः नारीवादी भएकाले यसमा नारीवादले स्वीकार गरेका नारीवादी मान्यताहरूलाई संवाद, कथावस्तु, पात्र र भाषा शैलीमा पनि ध्यान पु¥याएको देखिन्छ । कथाकारले यस कथामा प्रश्नात्मक शैली, वर्णनात्मक शैली र कतिपय स्थानमा आत्मपरक शैलीको पनि प्रयोग गरेको देखिन्छ । कथाले आजका नारीहरू पुरूषको वैशाखी विना पनि हिड्न सक्छन् भनी नारी सशक्तिकरणको सवाल पनि उठाएको छ । जस्तै ः
तपाईंको नाउँको बैशाखीबिना पनि मज्जाले हि“ड्न सक्छु म । आमा बन्ने सौभाग्य प्राप्त हुनुु नै पर्याप्त भएको छ मलाई । किनकि म पूर्ण स्वास्नीमान्छे भएकी छु, ‘म’ हुनुको अर्थ भेटेकी छु । सही मानेमा मेरो नयाँ जन्म भएको छ, अर्थात् मैले पुनर्जन्म पाएकी छु । त्यसैले आपूmले गरेको गल्तीप्रति कुनै पछुतो छैन मलाई । केही छ भने आपूm छु र आपूmभित्र नयाँ उमङ्ग छ, नयाँ उत्साह छ, नयाँ जोस र जाँगर छ । बाहिर खुला आकाशले हात फैलाउँदै मलाई बोलाइरहेको छ, त्योभन्दा पनि ठूलो कुरा त मसँग मेरो छोरो छ ।’(सीमातीत अस्मिता, पृ. १०)
म पात्रले आफ्नो श्रीमान्सँग गरेको यस संवादमा आजका नारीहरू सशक्त रहेको उल्लेख गरेकी छन् । यति हुँदा हुँदै पनि म पात्रको आत्मामा आफ्नो छोरा आफूसँग भएकोमा गर्भको भावना देखा पर्नु शदियौंदखि चल्दै आएको सन्तानलाई हेर्ने छोराप्रतिको उच्च भावना नै हो ।

६ निष्कर्ष
कथाकार उषा शेरचनद्वारा लिखित प्रस्तुत कथा नेपाली साहित्यको नारीवादी कथा हो । यस कथामा कथाकारले नारीवादका मूलभूत मान्यतालाई आत्मसाथ गरेर विषयवस्तुलाई प्रस्तुत गरेकी छन् । कथाभित्र कही पनि व्यक्तिवाचक नामको प्रयोग नगरेर सर्वनामको मात्र प्रयोग गर्नु कथाकारको विषयवस्तुलाई सबैको बनाउने शैली हो भने नारी र पुरूष दुवैलाई समान अधिकार दिनु पर्दछ भन्ने धारणालाई कथा मार्फत उजागर गर्नु कथाकार र कथाको सार हो । नारी र पुरूष एक रथका दुई पाङ्गा हुन भन्ने कुरा नेपालको कानुन र भनाइमा भएपनि व्यवहारत लागू हुन सकेको छैन भन्ने उदाहरण कथामा देख्न पाइयो । नारी र पुरूषलाई समान हक अधिकार दिनुपर्ने, नारीको शरीरमा उसकै हक हुन पर्ने, नारीवादी मान्यतालाई कथामा उठाइएको मात्र होइन यौनको स्वतन्त्रताको माग समेत गरिएको छ । आधा आकाश नामले पुकारिन नेपाली महिलाहरूको अवस्था परम्परागत अवस्थाबाट केही विकसित हुँदै आएको भए पनि अधिकार र स्वतन्त्रता र चेतनाका दृष्टिले माथि उठ्न सकेको छैन भन्ने कुरा देखाउन खोजिएको पाइयो । कथामा नेपाली समाज नारी र पुरूषको लागि असमान ढंगका सामाजिक नियम, मूल्य मान्यता र मर्याको पक्षमा रहेको कुरा उजागर गरिएको छ । कुनै एक नारी आफ्नो मात्तृत्व रक्षा गर्न वा आफू आमा बन्न के कस्तो मूल्य चुकाउन पनि तयार हुन्छे भन्ने कुरालाई देखाउन खोजिएको छ । यही समाजको एक पुरूष सन्तान विहिन हँुदा उसलाई हेर्ने समाजको दृष्टिकोण, र नारी सन्तान विहिन हुँदा उसलाई हेर्ने समाजको दृष्टिकोण आफैमा किन भिन्न हुन्छ ? भन्दै दृष्टिकोण समानताको माग यस कथाले गरेको देखिन्छ । यौन नैसर्गिक कुरा हो यसलाई पनि नारी पुरूष दुवैले समान ढंगले उपयोग गर्न पाउनु पर्छ भन्ने धारणा कथामा रहेको देखियो जुन स्वभाविक छ । तर यो समाज यौन र यौनिक अधिकारका सम्बन्धमा पक्षपाती रहेको कथाको यथार्थ हो । पितसत्ताका कारण सिर्जित थुप्रै मूल्य मान्यता धार्मिक संस्कार र संस्कृति नारीका पक्षमा छैनन् त्यसमा परिवर्तन गर्न जरूरी छ भन्ने धारणा भने कथाले सशक्त रmपमा उठाउन सकेको पाइएन । कथाकी महिला पात्र आफूबाट सन्तान नहुँदा सौता व्यहोर्न तयार हुन्छे तर कथाको पुरूष आफूबाट सन्तान नहुँदा आफ्नो महिला परपुरूषसँग यौन सम्बन्ध राखेर बच्चा जन्माओस् भन्न किन सक्दैन भन्ने मूल आशय कथामा भएर पनि कथाको पुरmष नारी स्वतन्त्रताको पक्षमा नभएको नभएको देखिनुले नारीको यौनिक स्वतन्त्रतमा सीमा रहेको बुझ्न सकिन्छ । यदि सामाजिक मर्यादा हो भने दुवैमा किन समान हुन नसक्ने ? भन्ने प्रश्न उठाए पनि त्यसको पूर्णताको लागि संघर्ष गर्न नसक्नु यस कथाको सीमा हो ।
नारीवादका विभिन्न प्रकारहरू मध्ये मूलतः उदार नारीवादी मान्यताका दृष्टिले मूल्याङ्कन गर्न सकिने यस कथामा महिला र पुरूषका बीचमा असमान अधिकारको चर्चा गरी त्यसमा समानता ल्याउनु पर्ने धारणामा जोड दिएको पाइयो । नारी र पुरूष दुवैको अधिकार समान हुनु पर्ने, नारीलाई मातृत्वको महत्ता र यौन र गर्भाअवस्थाको अधिकार दिइनु पर्नेमा त्यसो नगरिएको सन्दर्भ कथामा उठाएर समानताको आवाज मात्र उठाइएको छ । नारी समानता र अधिकारको बारेमा म पात्रले कुरा उठाए पनि कथाको अन्त्यमा पुरूष पात्र अवाक् भएर टोलाइ रहनुले ऊ नारी अधिकारको पक्षमा नरहेको प्रमाण मिल्छ । व्यवहारत ः महिलालाई दोस्रो दर्जाको ठान्ने नेपाली समाजको विरूद्धमा यो कथा लेखेर नारी पुरूष दुवै समान हुन् भन्न सफल प्रस्तुत कथा नारीवादका थुप्रै मान्यता र दृष्टिकोणले विवेचना गर्न लाएक छ । त्यसैले प्रस्तुत कथा नेपाली साहित्यको नारीवादी कथा भएर देखा परेको छ । जसको साहित्यिक महत्व समेत रहेको छ ।
अध्ययन सन्दर्भ सामग्री सूची ः
कार्की, चेतन (२०७६) . उषा शेरचनको जीवनी अन्तरवार्ता https://www.youtube.com/
काफ्ले,रजनी र भट्टराई, रमेश (२०७७).मुडल सामग्री अप्रकाशित . नेपाल खुल्ला विश्वविद्यालय ।
प्रसाई, नरेन्द्र र इन्दिरा (२०७१) . विश्व नारी नेपाली साहित्यको रेखाङ्कन . काठमाडौ ः त्रिमुर्ती निकेतन
शेरचन, उषा (२०७५). तेस्रो रङ्ग कथा संग्रह. सीमातीत अस्मिता पोखरा ः गणेश टोल ।
यु ट्युब सामग्री https://www.youtube.com/watch29/6/2020
https://www.youtube.com/watch?v=lXlHtOm2xTI&t=22s

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 16 भाद्र, 2077

लेखकका अन्य रचनाहरु