बाँसुरीको धुन

- नारायण मरासिनी

मलामीको लर्को थियो । लास बोक्नेहरु निकै अगाडि थिए । हामी दुई अर्थात् रमेश र म पछाडि थियौँ, सायद् सबैभन्दा अन्तिममा थियौँ । रमेशसँगको मेरो साथीत्व लगभग एक दसक पुरानो मात्र हो, उमेरले मभन्दा अलि वर्ष कान्छै पनि छन् उनी । जसले आत्महत्या ग¥यो उसका बाबु अर्थात् पदम मेरा निकै पहिलेदेखिका चिनजानका मित्र हुन्, सरल स्वभावका छन्, जो यस घटनाका कारक बने भन्ने रमेशको कुरामा मलाई विश्वास लागेन । मैले भनेँ, “तपाइँ अनुमानका आधारमा नबोल्नोस् रमेशजी ! म त उनको नियतप्रति शङ्का गर्नुपर्ने कुनै ठाउँ नै देख्दिन । उनी सानैदेखि निकै ठूलो सङ्घर्ष गरेर यहाँ आइपुगेका मान्छे हुन्, पढालेखा छन्, कसरी आफ्नो छोरालाई मानसिक रुपमा टर्चर दिन सक्छन् ?” रमेशले पदममाथि छोरालाई आत्महत्या गर्न बाध्य पारेको जुन आरोप लगाए, त्यो मेरा लागि सह्य थिएन । यसैले मैले रमेशको शङ्का अर्थात् अनुमानमाथि प्रतिवाद गरिरहेको थिएँ र रिसाउँदै भनेको थिएँ, “यस्तो संवेदनशील विषयमा बोल्दा तथ्यमा टेकेर बोल्नुपर्छ रमेशजी ! मुखमा जे आयो त्यही बोलेर अरुको व्यक्तित्वमा आँच पु¥याउनु राम्रो हुँदैन ।”
केही समयको अन्दाजी बहसपछि भने हामी चुपचाप अगाडि बढ्यौँ । घाटमा पुग्न लगभग आधा घण्टा जतिको बाटो थियो, केही तेर्सो हिँडेपछि ओरालो झर्नुपर्ने । पुसका दिन, घाम अस्ताउन लागेका थिए । आत्महत्याको प्रयास बिहान दस बजेकै आसपासमा भएको रहेछ । देख्नासाथ झटपट डोरी काटेर हस्पिटल ल्याइएको थियो । घरबाट अस्पतालको दुरी अन्दाजी चार किलोमिटरको फरकमा थियो । आफन्त, साथीभाइहरु सबै अस्पतालमै जम्मा भएका थियौँ । डाक्टरको अनुपस्थितिका कारण पोष्टमार्टममा ढिलाइ भएको थियो । घाम पश्चिम पहाडतिर लाग्दै गर्दा हामी नदी किनारमा रहेको घाटमा पुग्नका लागि ओरालो झरिरहेका थियौँ ।
लगभग चार दशकभन्दा बढीको समय मैले पदमसँग बिताएको छु । यतिबेला उनीसँगको भेटघाट त्यति बाक्लो छैन तर पनि उनको पारिवारिक अवस्थाका सन्दर्भमा म उहिल्यैदेखि परिचित छु । उनका हजुरबाको पालादेखिको इतिहास मलाई थाहा छ । यद्यपि मैले उनका हजुरबालाई देख्न पाइन । ती म नजन्मदै गइसकेका थिए । अरुको भनाइमा उनका हजुरबा राणाकालमा बडाहाकिमद्वारा पत्याइएका मान्छे थिए, डिट्ठा थिए । सबैले उनलाई ‘डिट्ठा बा’ भनेर बोलाउँथे । खाइलाग्दो घोडा पालेका थिए । उनी पैदल हिँडेको त्यति देखिँदैनथ्यो । राणाकालको अन्त्यसँगै डिट्ठा बाको अवस्था ओरालो लाग्न थाल्यो । घरबाहेक सबै जग्गा बेचेपछि बहुलाए र केही वर्षमै तिनको निधन भयो ।
डिट्ठा बाका तिन भाइ छोरामध्ये कान्छो सानै उमेरमा आसामतिर लागेका, उतै हराए । मरे वा जिउँदै छन् अहिलेसम्म कुनै पत्तो पाइएको छैन । माइलाका सन्तान भएनन् । जेठाले तिन छोरा र दुई छोरी जन्माए । तिनवटा छोरामध्ये पदम माइला हुन् । पदमका एउटा दाइ र एउटा भाइ, एउटी दिदी र एउटी बहिनी छन् । पदमका बाउ बितेको पनि पाँच वर्ष जति भयो । आमा चाहिँ बाबुभन्दा पहिल्यै बितेकी हुन् ।
म सम्झन्छु, उनका बाबुलाई जहान केटाकेटी पाल्न कति दुःख थियो भन्ने कुरा । त्यति बेला मेरो घर माथि गाउँमा थियो । पदमको घर बेसीमा । उनको घरनजिकै एउटा हाइस्कुल थियो जुन स्कुलबाट मैले पनि आफ्नो स्कुले पढाइ पूरा गरेको थिएँ ।
पदमका बाबुसँग खेतीपाती गर्नका लागि आफ्नो त्यति धेरै जग्गा थिएन । जहान केटाकेटी पाल्नका लागि त्यसै स्कुलको आडमा एउटा भट्टीपसल चलाएर बसेका थिए । छोराछोरी स्कुल जाने हुँदा काम सबै आफै गर्नुपथ्र्यो । चना भुट्थे, चिया पकाउँथे, अन्डा उसिन्थे, जानीनजानी डुनट बनाउँथे । गिलाँस, प्लेटहरु माझ्थे । माछा मार्न सिपालु थिए उनी । नजिकै खोलो थियो । फुर्सदको समय कहिलेकाहीँ माछा मारेर पनि ल्याउँथे । बेलुकामा रक्सी र मासुको व्यापार गर्थे । कुनै कुनै दिन रक्सीको सितनका लागि उनको भट्टीमा माछा पनि फ्राइ हुन्थ्यो । माछामा बढीजसो फगेटा र बुदुना हुन्थे । लेकबाट झरेको चिसो पानी बग्ने खोलाका माछा पनि मिठा हुन्थे । वरिपरिका बाहुनहरु उनकोमा रक्सी पिउन जान्थे । कन्नापछाडि तिनै जँड्याहा बाहुनहरुले उनलाई ‘पाडाको मासु बेच्ने बाहुन’ भनेर कुरा काट्थे । जसले जेसुकै भने पनि उनी श्रममा विश्वास गर्ने मान्छे थिए । उनको जीवन कर्मशील थियो । छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना थियो उनमा । उनले तिन छोरा र दुई छोरीलाई त्यही स्कुलमा राखेर स्कुले शिक्षा दिलाएका थिए । यद्यपि पदम र कान्छाले बाहेक अरुले एसएलसी पास गर्न सकेनन् । त्यसपछिको पढाइका लागि सहर जानुपथ्र्यो । सहरमा राखेर पढाउनका लागि उनको क्षमताले भ्याएन ।
एसएलसी पास गरेपछि घर छोडेका पदम कपिलवस्तुको तौलिहवा पुगे । त्यहाँ उनकै गाउँले नातामा काका पर्ने परिवारको बसोबास थियो । तिनै काकाको घरमा बसेर उनले आईए पूरा गरेका थिए । बिहानमा क्याम्पस पढ्न जाने र दिनमा भैँसी र गोरु चराउने काम पाएका थिए त्यहाँ उनले । खेतिपातीको समयमा निकै जोतिनु पथ्र्यो तर पनि पढ्ने लालसाका कारण उनी काकाकाकीले जे जे अह्राउँथे, सबै गर्थे । त्यस घरका लुगा धुनेदेखि भाँडा माझ्नेसम्म सबै काम गर्नुपथ्र्यो उनले । नाइँ, हुन्न, सक्दिन भन्न सक्दैनथे उनी ।
लगभग तिन वर्षसम्म उनको बसाइ तौलिहवामा रह्यो । दोस्रो वर्षमा अङ्ग्रेजी विषयमा फेल भएकाले उनलाई आईए पास गर्न तिन वर्ष लागेको थियो । लाग्न त उनलाई पहिलो वर्षमा पनि अङ्ग्रेजी लागेको थियो, त्यसलाई चाहिँ उनले लगत्तै अर्को वर्षमा कटाएका थिए । यसपछि उनमा बिए पढ्ने रहर जाग्यो तर तौलिहवामा त्यति बेला बिएको पढाइ हुने कुनै क्याम्पस थिएनन् । बिए पढ्नका लागि भैरहवा या बुटवल पुग्नु पथ्र्यो । तौलिहवाबाट भैरहवा आवतजावत गरी पढ्न नमिल्ने । घरको खर्चले पढ्ने सामथ्र्य थिएन । समस्यामा परे उनी । तर पनि हिम्मत हारेनन्, भैरहवा पुगे ।
त्यतिबेला लेटर प्रेसको जमाना थियो । प्रेसमा कामदारका रुपमा जागिर पाए उनले । उनले अक्षरहरुको कम्पोज गर्न सिके । कम्पोजिटरको काम गर्दै जाँदा पेपर छाप्ने मेसिन चलाउन पनि सिके । बिहानमा क्याम्पस पढ्नु र दिउँसोमा प्रेसमा काम गर्नु उनको दैनिकी बन्न थाल्यो । प्रेस र क्याम्पसको दुरी एक किलोमिटरको फरकमा थियो । ठिक बिचमा थियो उनको डेरा ।
भैरहवा रहने क्रममा उनले दुई वर्षमै बिए पास गरेका थिए । लाग्न त बिएमा पनि पहिलो वर्षको अङ्ग्रेजी विषय लागेकै हो तर लगत्तै अर्को वर्षमा कटाएकाले रोकिने अवस्था आएन । यही समयमा उनको बिहे भएको हो । पाल्पा हो उनले बिहे गरेको । बिहे भएपछिका छ–आठ महिना गाउँकै स्कुलमा पनि पढाएका थिए उनले ।
हातमा सिप भएका कारण अब भने समस्या थिएन । उनलाई आफ्नै खुट्टामा उभिएर पढ्न सकिन्छ भन्ने लाग्यो । श्रीमतीलाई गाउँको घरमा छाडेर उनी पढ्नका लागि काठमाडौँ गए । एमए पढ्ने क्रममा खर्च जुटाउन बोर्डिङ स्कुलमा पढाउन थालेका थिए । यही समयमा उनले भाइ कान्छालाई पनि काठमाडौंमै राखेर क्याम्पस पढाउन थालेका थिए । दाजु चाहिँ बम्बै पुगेका थिए र त्यहीँको कुनै एउटा कम्पनीमा काम गर्दथे । श्रीमतीले ठूलो चाहिँ छोरालाई गाउँमै जन्माएकी थिइन् ।
उनले काठमाडौं बसेर एमएको पढाइ पूरा गरे । भाइ कान्छो आईए पढ्दापढ्दै अमेरिका पुग्यो । सरकारी जागिर पाएकाले जागिरका सिलसिलामा उनले काठमाडौं छोड्नु प¥यो । छोरालाई पनि आफूसँगै राखेर बोर्डिङमा पढाउने चाहनाका कारण श्रीमती र छोरालाई गाउँबाट सहर ल्याए जहाँ उनको जागिर थियो । श्रीमती र छोरालाई गाउँबाट ल्याएपछिको अर्को वर्षमा कान्छो छोरो जन्म्यो । एउटा फेन्सी पसल चलाउन थाले । पसल राम्रै चल्यो । दुवै छोरा स्कुल जान्थे । श्रीमती पसलमा निकै खट्ने गर्थिन् । उनी पनि जागिरबाट उब्रेको समय पसललाई दिन्थे । बिहान बेलुका पसलमै बस्थे । बिदाका दिनमा पसल आफूले हेरेर श्रीमतीलाई पालो दिन्थे । केही वर्षको कमाइपछि उनी यस सहरमा आफ्नो नामको घर बनाउन सफल भएका थिए । घर बनेपछि नै हो उनले आफ्ना आमाबाबुलाई यहाँ ल्याएको ।
उनका दुई भाइ छोराहरूमा जेठो छोरो हो सुरज । केटो पढाइमा टाठै निस्क्यो । यस सहरमा नाम चलेको राम्रै बोर्डिङमा पढेको थियो उसले । एसएलसी सकेपछि उसले साइन्स विषय लिएर प्लस टु पढ्ने रुचि देखायो । राम्रै प्लस टु मा छात्रवृत्तिमा नाम पनि निकाल्यो र पढ्न थाल्यो । एसएलसीसम्म राम्रै पढेको केटाको पढाइ कक्षा एघार–बाह्रमा पुग्दा खस्कन थाल्यो । सायद् कतिपय अवस्थाको खराब सङ्गतले हुन सक्छ, बडो मुस्किलले पास ग¥यो उसले प्लस टुको साइन्स ।
यसपछि भने सुरजले बिएस्सी पढ्न चाहेन । उसको चाहनाबमोजिम नै पदमले मानविकीमा ऐच्छिक विषय अङ्ग्रेजी राखेर बिए भर्ना गरिदिए । केटाले बिए भने सजिलैसँग पार ग¥यो । त्यसपछि ऊ एमएमा भर्ना भएर बिहानमा पढ्न थाल्यो । यस समयमा उनीहरुले पसल बेचिसकेका थिए । आफ्नो घर बनाएर सरेपछि उनीहरुले पसल गर्न छोडेका थिए । बिहानको क्याम्पस पढेर आएपछि दिनमा कुनै काम भएन । कतिपय साथीहरु बिहानमा क्याम्पस पढेर दिउँसोमा काम गर्थे । उसलाई दिनभरि घरमै बसिरहनुपर्दा दिक्क लाग्न थाल्यो । दिउँसोमा काम गर्ने मनसायले काम खोज्न थाल्यो तर कतै पाएन । पहिलो वर्षको पढाइ पनि राम्रो गर्न सकेन । पढाइतिर ध्यान दिनै सकेन । दिमागमा के भूत चढ्यो कुन्नि ! विदेश जान्छु भनेर अड्डी लिन थाल्यो । पदमले उसलाई विदेश नपठाई धरै पाएनन् । खाडी मुलुक साउदी पठाए ।
साउदी अरबमा तिन वर्ष बस्यो सुरज । त्यहाँ उसले डिपार्टमेन्टल स्टोरमा काम पाएको थियोे । मासिक सात सय रियल कमाउँथ्यो । बस्नका लागि डिपार्टमेन्टलकै कोठा पाए पनि खानका लागि आफैले खर्च गर्नुपथ्र्यो । खाने खर्च र पकेट खर्चमा उसको आधाभन्दा बढी तलब सकिन्थ्यो । ओभर टाइम थिएन । तिन वर्षको अवधिमा उसले जाँदाआउँदा लागेको खर्चको हिसाब गर्दा पैसाका मामलामा खासै उपलब्धि हासिल गर्न सकेन ।
नेपाल फर्केपछि उसले आफ्नै देशमा केही गर्ने सोच बनायो । उसले हजुरबा र आप्mना बाबुले गरेको दुःख देखेको थियो, बुझेको थियो । बाबुले निकै सङ्घर्ष गरेर पढेको पनि उसलाई राम्रैसँग थाहा थियो । आफैले केही गर्छु भनेर सोच्दै थियो, एउटा मसला उद्योगको मार्केटिङका लागि काम पायो उसले । सहरभित्र मात्रै नभएर आसपासका जिल्लाहरुमा पनि मसलाका प्याकेटले भरिएका कार्टुनहरु बेच्न पुग्थ्यो ऊ । कम्पनीको एउटा सानो भ्यानमा ड्राइवरका साथ ऊ दिनभर डुलिरहन्थ्यो । फुर्सद हुँदैनथ्यो । शनिबारबाहेक अरु समय निकै व्यस्त हुन थाल्यो । झरीबादल, घामपानी, हावाहुरी केही नभनी उसले त्यस कम्पनीका लागि दुई वर्षसम्म काम ग¥यो । कम्पनीको कमाइ त राम्रै भयोे तर उसको भने सोचेजस्तो खासै उपलब्धि भएन ।
उसको दिमागमा फेरि उही पुरानो भूत सवार हुन थाल्यो । अब उसलाई साउदी र मलेसियाको होइन अमेरिकाको भूतले सताउन थाल्यो । अमेरिकामा उसका काका थिए, परिवारसहित नै बस्थे उनी । उसले अमेरिका जान्छु कि जान्छु भनेर जिद्धी गर्न थाल्यो । काका सपरिवार उतै रहेकाले पनि उसलाई अमेरिकामा सहजै काम पाइन्छ भन्ने लाग्यो । ऊ अमेरिकाका लागि उड्यो । सुरुका दिनमा त उसले त्यहाँ काम पनि पाउन सकेन । पछि काम त पायो तर भनेजस्तो भएन । दुई वर्षमै फक्र्यो ऊ ।
ऊ फर्कंदा भाइको बिहे भइसकेको थियो । यसपछि भने उसले अब कुनै पनि हालतमा बाहिर नजाने सोच बनायो । जेजस्तो दुख भोग्नु परे पनि आफ्नै देशमा बस्नका लागि मन दह्रो बनायो र पुनः मार्केटिङमा हिँड्न थाल्यो । जिन्दगीलाई लयमा हिँडालेपछि घरजम गर्ने सुरमा थियो ऊ । काम गरेरै बिताइरहेको थियो उसले दिनहरू ।
केही महिनापहिले उसको र मेरो भेट भएको थियो । उसले चिया पिउँदै गरेको बजार छेउको होटलमा म पनि पुगेको थिएँ । चिया र चुरोट पिउँदै थियो ऊ । अनुहार केही मलीन देखेर मैले सोधेको थिएँ, ‘किन बाबु, तिमीले त चुरोट पनि पिउन थालेछौ ? निकै दुब्लाएछौ । कि सञ्चो छैन र हो ?’
‘केही भा’को होइन अङ्कल, जिन्दगीदेखि थाकेर होला नि दुब्ला’को !’ निकै निरासायुक्त स्वर बोलेको थियो उसले र थपेको थियो, ‘पढेर पनि काम पाइँदो रै’नछ । विदेश गएर पनि केही हुँदो रै’नछ, आफ्नो दुःख आफैसँग ।’
‘काम गरेकै त छौ । मार्केटिङमा हिँडेका छौ । बिस्तारै हुन्छ नि, एकैचोटि ठूलो भाग त कहाँ पाइन्छ र !’ मैले उसलाई सान्त्वना दिने प्रयत्न गरेको थिएँ तर ऊ मेरो कुरा सुन्ने मुडमा थिएन । आफ्नै मात्र कुरा गर्न चाहन्थ्यो ऊ । देश खाई शेष परेकाले हो कि ! राजनैतिक रूपमा पनि ऊ सचेत भइसकेको रहेछ । अघि भर्खरको मलीन अनुहारमा बिस्तारै आक्रोशको भाव देखा प¥यो । उसले भनेको थियो, ‘नेता भनेका सप्पै चोर हुन् । स्वार्थी मात्रै ! यस्ता भ्रष्टलाई भोट हालेर जिताउने हामी नै मूर्ख हौँ ।’ उसले एकाएक राजनीतिक नेतृत्वप्रति नै घृणाभाव व्यक्त ग¥यो ।
नेपाली भूमिमा हस्किएको सत्ताधारी राजनीतिक दुर्गन्धबाट म पनि वाक्क भएको थिएँ । यही दुर्गन्धबाट बाहिर निस्कनका लागि मैले कुरालाई घरव्यवहारतिर जोड्ने प्रयत्न गर्दै उसैको भाइका बारेमा सोधेँ । ‘महिना दिन जति भयो । छोरो पा’को छ ।’ यसभन्दा बढी उसले आफ्नो भाइका बारेमा बोलेन ।
चर्कै स्वर निकालेर ऊ नेताहरूका विरुद्ध जाइलागेको थियो । सरकारविरुद्ध खनिएको थियो, ‘यो सर्कार जनताको सर्कारै होइन । बुद्धि नभा’को मुढालाई प्रधानमन्त्री बनाएपछि केको उन्नति हुन्थ्यो ! आफ्ना आसेपासे र झोलेहरूबाहेक कसैलाई देखेको छैन ।’ केही बेर रोकियो र फेरि आक्रोश पोख्यो उसले, ‘यतिका युवा बेरोजगार भ’र भौँतारिएका छन्, कुनै वास्ता छैन । जनता मरुन् वा बाँचून् कुनै सरोकार छैन त्यसलाई । फेरि, कार्यकर्ता भनेका पनि सब उस्तै, हनुमानै रहेछन् ! जयजयकार गर्दै हिँड्छन् ! लाज पचेको कहिँको, आसेपासेहरूलाई आफ्नै जयजयकार गर्न लगाउँछ ! त्यो मुढामा एउटा तानासाहमा हुनुपर्ने गुणहरू जति सप्पै छन् ।’
ऊ मुखबाट थुकका छिटा निकाल्दै औँला ठड्याई ठड्याई गर्जिरहेकै थियो यही समयमा भ्यानमा बसिरहेको ड्राइवर ओर्लेर आयो र उसलाई लिएर हिँड्यो । ऊ मार्केटिङमा सामान बेच्न हिँडेको थियो । यसरी होटलमा बसेर गफ लडाउन थाल्दा काम अधुरो रहन सक्थ्यो । नहिँडी सुखै थिएन, गयो । मबाट छुट्टिँदैै गर्दा उसले भनेको थियो, ‘हजुरसँग अलि समय बसेरै कुरा गर्नुपर्ने छ अङ्कल ! पछि भेटौँला है ।’
वर्तमान शासकको भ्रष्ट आचरणका विरुद्धमा उसले खुलेरै टिप्पणी ग¥यो । उसको विश्लेषण केही हदसम्म यथार्थसम्मत थियो । ऊ मबाट छुट्टिएपछि मैले केही दिनपहिले पत्रिकामा छापिएको एउटा समाचार सम्झेँ, काठमाडौँमा वर्तमान शासककै घरअगाडिको रुखमा रोजगारीको खोजीमा भौँतारिएको एउटा बेरोजगार युवाले झुन्डिएर आत्महत्या गरेको थियो । एफ.एम. रेडियो र टेलिभिजनहरूले पनि त्यस घटनालाई समाचार बनाएका थिए । मैले मनमनै भनेँ, बेरोजगारीका कारण मान्छेले आत्महत्या गर्छ तर सरकार बेरोजगारहरुको पीडामा मलम लगाउन सक्दैन किन ?
‘तपाइँ त यहाँ पो हुनुहुँदो रहेछ ! मैले यतिका समय खोजिरहेको थिएँ’, रमेशको आवाजले म झसङ्ग भएँ । हिउँदको समय, साँझ छिप्पिसकेछ । घाटको काम सकिँदै थियो, सायद् लास खरानीमा परिणत भइसकेको थियो । मलामीहरू कतिपय फर्किसकेछन् । सुरुको तुलनामा अहिले मलामीको सङ्ख्यामा निकै कमी आएको थियो ।
म भिडबाट अलग थिएँ । घाटभन्दा केही पर रहेको पीपलको फेदमा ओझेल परेर बसेको थिएँ । नजिकैबाट आएको रमेशको आवाजसँगै मेरा आँखा चितामा निभ्न लागेको आगामा पुगे, जलेर सकिएका मूढाका राता फिलिङ्गाहरू मात्र थिए त्यहाँ । उठेँे, माथितिर हेरेँ । आकाशमा ताराहरु उदाउन थालेका रहेछन् । आकाशबाट ओर्लेर नदीभन्दा केही माथिपट्टिको पाखामा रोकिए आँखाहरू । त्यस पाखामा एउटा भव्य रिसोर्ट थियो । रिसोर्टको चारैतिर आगाका राँकाहरू बालिएको थियो । सायद् ती राँकाहरुले बत्तीको काम गरेका थिए । टाढाबाट देख्दा निकै रमझम थियो । ठुलै भोजभतेर थियो सायद् ! अँध्यारै भए पनि बाक्लै रुपमा मान्छेका आकृति सलबलाएको देखिन्थ्यो ।
घाटको काम सकिएपछि सुरजका बाबु पदमलाई लिएर हामी बिस्तारै फर्कन थाल्यौँ । कसैको मुखबाट कुनै शब्द निस्केको थिएन । २८ वर्षको एउटा होनहार युवाले गरेको आत्महत्याका कारण हामी चिन्तित थियौँ । सबै मौन थियौँ । मेरो मनले बेरोजगारीका कारण सुरजले आत्महत्या गरेको हो भन्ने कुरा खेलाइरहेको थियो । अँध्यारो बाक्लिइरहेको थियो । उकालो चढ्दै गर्दा हाम्रो कानमा बाँसुरीको धुन गुन्जियो । धुन त्यही रिसोर्टबाट आइरहेको थियो । माथि मूल बाटामा आइपुग्दासम्म पनि धुन गुन्जिरहेकै थियो । कसैले नसुन्ने गरी मेरो भित्री मनले भन्यो, ‘निरो यति बेला बाँसुरीको धुनमा मस्त छ ।’

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 16 भाद्र, 2077

लेखकका अन्य रचनाहरु