रातो ब्ल्याङ्केट

- रेजिना गौतम

छातीदेखि घुँडासम्म छोपिने एउटा रातो रंगको ब्ल्याङ्केटले दुःखले लाज ढाक्नुपर्ने । यो वर्ष मंसिरमै ठण्डी बढेको छ । त्यसमा पनि तराईमा चल्ने शितलहर पहाडको जाडोभन्दा धेरै चिसो हुन्छ । विगतका वर्षहरुमा प्रायः पुस माघ लागेपछि मात्र शितलहर चल्थ्यो तर यो वर्ष मंसिरमै थामिनसक्नुको चिसो छ । कुनै बेला चिसोयाममा अरुले आफ्नो भन्दा अलि पातलो कपडा लगाएको देख्दा परैबाट सिउ सिउ गर्ने म आज अर्धनग्न अवस्थामा सहर डुल्दा जाडो र गर्मी थाहै नपाउने भइसकेछ–शरीर । त्यही ठण्डीमा सडकपेटीको बास । दिनभर सडकपेटीमा बस्न पाइन्न । कुनाकानी खोजेर बस्नुपर्ने । बाहिर पारिला घाम लागेपनि धेरैजसो ओसमा नै गुज्रन्छ समय । अर्थात मान्छेले रोजेर छोडेका ठाउँहरुमा गुट्मुटिएर दिन काट्नु नियति छ ।
म को हुँ मलाई नै थाहा छैन । कहाँबाट कहाँ आइपुगें त्यो पनि थाहा छैन । कंक्रिटै कंक्रिटको बिशाल जंगल छ । त्यही जंगलमा रातदिन बित्छ । कंक्रिटको जंगल सोमबार सुनसान हुन्छ, पातरुपी सटहरु खुल्दैनन् । अनि सदाको झैं झ्याउँकिरी जस्ता मान्छेहरु पनि झ्याउँ–झ्याउँ गर्दैनन् । त्यसैले मलाई संधै सोमबार भइदिए हुन्थ्यो जस्तो लाग्छ । सोमबारले मलाई खान दिंदैन, शितलहर ढाक्ने न्यानो कपडा पनि दिंदैन । तर, पनि सोमबारको प्रतिक्षामा साता विताउँछु ।
गाउँ–घरमा साना केटाकेटीले मलाई बहुलाई भन्थे । हुन् त सहरमा पनि मेरो पहिचान त्यही बहुलाई नै हो । तर, गाउँका केटाकेटीले बहुलाईलाई देखेर जिस्क्याउँथे, ढुङ्गा हान्थे, के–के भन्थे, मलाई पनि रिस उठ्थ्यो अनि म पनि उनीहरुलाई सकेसम्मको बल लगाएर खेदाउँथे, भुँईमा टिप्ता जे आउँथ्यो त्यसैले हान्थे । उनीहरु अलि पर भाग्थे । अनि फेरी त्यही क्रम दोहोरिरहन्थ्यो । कहिलेकाँही खानेकुरा देखाएर खान्छेस खान्छेस भन्थे र लोभ्याउँथे । खानेकुरा देख्दा म भोको बाघले झम्टिए झैं झम्टिन्थें । उनीहरु दौडेर अभिभावक नजिक पुग्थे । अनि अभिभावकले बहुलाईलाई किन जिस्क्याएको त भन्दै गाली गर्थे । जिस्क्याउनु भन्दा भोकाएकी होला केही लगेर खान देउ भन्दै पठाउँथे । खानेकुरा लिएर आएकाहरु मलाई जिस्क्याउन नै आएका हुन् जस्तो लाग्थ्यो । म फेरी भुँई कोपर्थे र ढुङ्गा माटो जे आएपनि हातमा लिन्थे । मेरो तयारी देखेर उनीहरु परैबाट ला खा भन्दै त्यहीं छोडेर घरतिर दौडिन्थे । म पनि खुशी मानेर खान्थें । दिनभर मेरा मित्र बन्न नसकेकाहरु बेलुका विहान अन्नदाता भएर आउँथे । हो यसरी नै दैनिकी बित्दै थियो ।
गाउँमा गाढी कुद्न थालेको धेरै भएको थियो । सुरु सुरुमा परबाट बाटामा कुदेको गाढी हेरेर रमाउँथे । अरु चढेको हेर्थे पनि । गाढीमा ठूला मान्छेदेखि स–साना केटाकेटी समेत चढेको देखेको धेरै भएपछि म पनि गाढी आउने बेलामा छेवैमा आएर बस्थे । पहिले पहिले त निकै डर लाग्थ्यो । अरुले जान्छेस् भन्दा टाउको हल्लाउँदै नाई नाई भन्थे । मलाई थाहा छैन कहाँबाट त्यो गाउँमा पुगें । खान दिएपनि बस्ने कुनै ठेगान छैन । दिनभर खेतबारी बीचमा टोलायो । साँझ परेपछि कहिले त्यही वित्थ्यो त कहिले गाउँका सबै सुतिसकेपछि बस्तुको ग्वालीमा गएर परालमा सुत्थें । त्यहाँ जाँदा पनि चाल मारेर जानुपर्ने । बस्तुले थाहा पाएभने तर्सेर कराउन थाल्थे र दाम्लै चुटाउँला जस्तो गरी बल गर्थे ।
मैले रात बिताएको मेरो बास सहरमा दैनिक खोसिन्छ । बास खोस्नका लागि कहिले गाली गर्छन् कहिले लात्तीले हान्छन् त कहिले लौराले कुट्छन् । शितलहर थेग्न नसकेर काँडैकाँडा उम्रिएको मेरो अर्धनग्न शरीरमा परैबाट जगको सहारामा चिसो पानी खन्याउँछन् र लखेट्छन् । त्यति गर्दा पनि म डगमगाइन भने प्रहरी बोलाउँछन् । सबै नागरिकलाई सुरक्षा दिने ती बर्दीधारी प्रहरीहरु मलाई निर्मम कुट्छन् । चिसोले पोलिरहेको शरीरमा प्रहरीको डण्डी बर्सदा मेरो प्राण पखेरु त्यही जान्छ की जस्तो हुन्छ, म सकि नसकि घिस्रिंदै एकातिर लाग्छु । कहिले कनकाई रोडको बाटो मुनिको चेपमा दिनरात विताउँछु त कहिले मुल सडकको बीचको डिभाइडरमा दिनभर सुत्छु र तातो घाममा न्यानो महसुस गर्दै निन्द्रामा हराउँछु ।
उमेरले २०÷२२ मात्र टेकेकी म राम्रो खान नपाएपनि जवानीले हृष्टपुष्ट नै छु । सडककिनारामा अरुले फ्याँकेका खानेकुरा खोजेर भोक मेटाउने मेरा लागि शितलहर अवसर र चुनौति दुवै भएर आएको छ । जाडामा रातभर खुल्ला आकाशमा बस्ने बानी नै परिसकेको छ । एउटा अलि ठूलो तौलिया जत्रो ब्ल्याङ्केटले पुष्ठ छाती र नितम्बसम्म छोपेर सडकपेटीमा बिताउँने मेरा लागि भक्कावालीहरु अन्नदाता भएर आउँछन् यो सबैभन्दा ठूलो अवसर हो । रातभरको जाडोले थर्थरी कामेकी मलाई भक्कासंगै पानी पनि दिन्छन् । कहिलेकाँही बाटामा फ्याँकिएको धुलोसरीको मुरै खाएर रात विताउँदा म सुतेको वरीपरी मुरै नै मुरै छरिएको हुन्थ्यो ।
भौतिक सम्पत्ती भनेको ब्ल्याङ्केट, धुनको त के कुरा शरीरबाट एक सेकेन्ड बाहिर निकाल्ने अवस्था छैन । त्यही ब्ल्याङकेटले छोपेको मेरो शरीरमा लुप्त हुनेहरु सम्झेर अचम्म लागेर आउँछ । प्राकृतिक रुपमा मेरा अगाडि आएका चुनौतिहरु त सामना गरेकै हो । त्यसका अतिरिक्त विहान बेलुकै समस्या बनेर आउने भोकलाई पनि जितेकी छु । कसैलाई खानका लागि हात पसारेको छैन । सडक किनाराले पालेको छ ।
प्रत्येक साँझ रात पर्दै गएपछि सहर सुनसान हुन्छ । पसलहरु बन्द हुन्छन्, गाढीहरु कुद्न छोड्छन्, अध्यारोले आफ्नो प्रभाव बढाउँदै जानुपर्ने भएपनि केही वर्ष यता सडकमा अन्धकार छाउन छोडेको छ । ठाउँ ठाउँमा पोल गाडेर लगाइएको सोलार बत्तीहरुले राम्रो प्रकाश दिन नसकेपनि मधुर मधुर प्रकाश दिइरहन्छन् । जति सडकमा सन्नाटा बढ्दै जान्छ त्यतिनै मेरो मुटुको ढुकढुकी बढ्दै जान्छ । नरभक्षीहरु सम्झिएर । लाग्छ कहिले रात नपरोस् । लामा लामा सर्लक्क परेका हात खुट्टा, जवानीले पुष्ठ पारेका आकर्षक छाती । बारुले कम्मर, लामो सलक्क परेको कपाल, च्याप्टो नाक, लाम्चा आँखा अर्थात भनौ मृग नयनी । रातमा शुन्य समयको मौका पारेर जेनतेन ढुङ्गाले शरीरमा भएको मैलो दर्फ¥याउँदै मन्दिर नजिकैको धारामा पखाल्छु र आफूलाई सफा राख्ने कोशिश गर्छु ।
त्यही देखेर होला प्रत्येक रात सन्नाटासंगै दिनभर मलाई पागल बहुलाई............ आदि भन्नेहरु मेरो नजिक आइपुग्छन् । सडक किनाराका फोहोरले पालिएकी मेरो शरीर भोगर उनीहरु तृप्त हुन्छन् । अन्य सबै पसल बन्द भएपनि रातदिन खुल्ला रहने भट्टी पसलमा गलगिद्ध भएकाहरु गन्हाउने मुख लिएर मेरा हातखुट्टा जबरजस्ती समात्छन् । र, भन्छन् कति राम्री, तिम्रो गाला त स्याउँ जस्तै रे, सोलारको प्रकाश अनुहारमा पर्दा त रानी जत्तिकै रे, खै के–के हो के–के , आफ्नो प्यास मेटाउँछन् ।
सडकमा सन्नाटा छाएसंगै आइपर्ने संकट सम्झिंदा मेरो पागलपन अझ बढ्छ । अनि लाग्छ को पागल ? दिनभर मैले कष्टले छोपेको मेरो लाज राति सडकबीचमै छरपष्ट पारिदिन्छन् दुस्मनहरुले । राक्षसजस्ता उनीहरुलाई देखेर म परैबाट चिच्याउन थाल्छु । उनीहरु यताउता हेर्छन्, अनि दौडेर आउँछन् र मलाई गन्हाउने मुखले चुम्न थाल्छन् । म गुहार माग्दै बर्बराउन थाल्छु । तर, म बहुलाईको चित्कार कसले सुन्ने ? एउटाले मुख थुन्छ, अर्कोले मेरो सबैभन्दा प्यारो ब्ल्याङ्केट हटाउँछ र नग्न बनाउँछ । दुई राक्षसका अगाडि म निरीह बन्छु, एउटाले टाउकातिरबाट हातले मेरो मुख थुन्दै पुष्ट छातीमा मुसार्छ, मुख सल्बलाउँछ । जिब्रो लब्लबाउँछ, कहिले दाँतले टोक्न खोज्छ । अर्कोले दुवै खुट्टा समाएर मेरो तिघ्रा माथि चढ्छ, पेटमा एकछिन टाउको डुलाउँछ । र मेरो जवानीसंग खेल्छ धित मरुञ्जेल, तृष्णा मेट्छ । दुवैले पालो गरी गरी मलाई भोग्छन् र कतिबेला हिड्छन् म पत्तै पाउँदिन् ।
रातमा आएपर्ने संकटबाट भाग्न म कहिले कता बस्छु कहिले कता बस्छु, तर, हर रात मेरो शरीरलाई कुनै न कुनै तबरबाट भोगिन्छ, कहिले डण्डी बोकेर आउनेले बर्दीकै साथमा उही डण्डी देखाएर मेरो जवानीसंग खेलेका छन्, कहिले रक्सीले मात्तिएरहरुले आएर मेरै मुखमा वमिट गरेका छन् । त्यतिमात्र कहाँ हो र ? विजयको अविर पनि मेरो शरीरमा परेको छ । हिजो अस्ती चुनाव जितेको विजय जुलसको नायकले गलाको माला उतारेर अवीर टक्टक्याउँदै मसँग आएर लट्पटिंदा मेरो ब्ल्याङ्केट र शरीर अविरै अविरले रङ्गिएको छ । अर्धचेत अवस्थामा हुँदा पनि रातमा मलाई भोग्नेहरु भोगिरहेकै हुन्छन् । मेरो चिच्याहटले कसैको मन छुन सकेन ।
मुलुकमा भएको परिवर्तनलाई संस्थागत गर्ने ध्याउन्नमा सरकार छ । एकै वर्ष तीनवटा निर्वाचन हुँदैछन् । एउटा सकिएको छ । अरु दुई चरणका लागि राजनैतिक दलका नेता र कार्यकर्ताहरु प्रचार–प्रशारको दौडाहामा छन् । चुनाव पछि के हुन्छ मलाई थाहा छैन । मेरो शरीरको रक्षाका लागि सधैं चुनाव भइरहे हुन्थ्यो जस्तो लाग्छ । चुनाव लागेपछि मेरो शरीर भोग गर्न कोही पनि आएका छैनन् र आउँदैनन् पनि । किन कि कसैले देख्यो भने अर्काको लागि प्रपोगाण्डा हुन्छ रे ।
सदा झैं आज पनि म सडकका बीचमा हिड्दैछु । उही मेरो ब्ल्याङ्केटका साथमा । मेरो लाजलाई छोपेर । दिदी एकजना महिला नग्न अवस्थामा सडकमा छिन । हामीलाई त अप्ठ्यारो लाग्यो लौ न केही गरौं पार्वता दिदी । एकदिन एक पुरुषले फोनमा कसैसंग कुरा गर्दै भनेको सुने ।
धेरै दिनपछि मेरा आँङमा लुगा परे । लुगा दिनेले नजिकैबाट दिए र बोलाएपनि । तर, बोली फुटेन । एकोहोरो हेरिमात्र रहें । सडकपेटीमा विताएको यत्तिका समय भयो । आजसम्म म माथि दया गर्ने भक्कावाल्नीहरुले भक्का दिएको बाहेक अरु केही थिएन । सबै मलाई लुछ्ने र लुट्ने मात्र थिए । कपडा राखें । सडकपेटीमा सुतेकी म माथि विगत जस्तै आजपनि पानी खन्याएर मेरो बास उठाए । कसैले दयाले दिएको ठूलो ब्ल्याङ्केट ओडेर न्यानो अनुभव गरिरहँदा विहान भएको पत्तै पाइनछु । टाउकामा चिसो पानी पोखिंदा मात्र थाहा पाएँ । हतार हतार धर्खरिंदै बजारभन्दा अलिपर चेपमा पसेर बसें ।
आज किन हो मलाई पल्याक पुलुक हेर्छन् । हिजो अस्तीको भन्दा निगरानी गरेझैं लाग्छ । मनमा डर लागेर आएको छ । दिनको १२ बजेको हुँदो हो, प्रहरीहरु आएर समाउन खोजे । डरले म रुन कराउन र चिच्याउन थाले । त्यसपछि महिला प्रहरीले कुनाबाट जबरजस्ती तानेर निकाले । र, अलि पर कलमा ल्याएर अर्कैलाई नुहाउन लगाए । अरु महिलाहरु पनि छन् । सरासर लगेर एउटा ठूलो कंक्रिटले भनेको महल भित्र हालियो । जुन महल बिर्तामोडको विएण्डसी टिचिङ हस्पिटल थियो । जहाँ प्रहरी र डाक्टर दुवै पुरुष छन् । अलिकति टाउको उठाएर हेर्दा अस्ती मलाई लुगा दिने दिदी जस्तै अलि पर उभिएर हेरिरहेकी थिइन् । तर, मेरा छेऊमा तिनै पुरुषमात्र आउँछन् । म आत्तिएर दौडिन खोजें त्यत्रा राक्षेसहरुले मलाइ किन उम्किन दिन्थे र, रोएँ, चिच्याए, कराएँ तर, मेरो केही जोर चलेन । डाक्टर पुलिसले के गरे ? थाहा छैन । पक्का लठ्ठिने सुई लगाएको हुनुपर्छ । मान्छेका जंगलमा बेसहारा र बेवारिसे बन्न पुगेकी म दिन बित्दै जाँदा बहुलाई भएँ । मेरो पहिचान त्यतिमा मात्र सीमित रहेन, खाते भएँ, सडक बेश्या बने, थोरैले विचरा पनि भन्थे । जसलाई जे अनुकुल भयो त्यसरी मेरा उपनामहरु राख्दै गए ।
मेरो जन्म नै मेरी आमाको मृत्युको कारण बनेछ । प्रसव पीडामा छट्पटिएकी मेरी आमाले मलाई जन्म दिएपनि मसँगै आमाका गर्भमा बसेको साथी बाहिर आएन रे । गरीबी र चेतनाको शुन्य डिग्रीमा रहेको परिवार दक्षिणी झापाको दुर्गम गाउँमा बसोबास गथ्र्यो । वर्षातको बेला दुवैतिर अंधुवा खोलाको भंगालो, भाटाको पुल बाढीले बगाएर लग्यो । बाढी घट्ने छाँटकाँट छैन । बाढी घटेर पनि के गर्नु ? बीचमा हामी ८÷९ घरको बसोबास छ । गाउँमा विरामी अस्पतालसम्म पु¥याउन सक्ने क्षमता भएका कोही छैनन् । मरुभूमीमा पसिना बगाउँन गएपछि गाउँमा बालबच्चा र बृद्धबृद्धा मात्र छन् । तीनदिनदेखि निरन्तरको बर्षातले खोलामा बाढी बढेर गाउँ नै बगाउला जस्तो छ । वर्षौदेखि दुईतिरबाट खोलाले कटान गर्दा हाम्रो बस्ती भएको ठाउँ नै टप्पुका नामले चिनिन्छ । लामो समयसम्म साथी नझरेपछि साथी बाहिर निकाल्नका लागि फरुवाको पासो झुण्ड्याएका थिए रे । पेट फुलिएर इन्तु न चिन्तु अवस्थामा पुगेकी मेरी आमाले दुईदिन पछि आमा हुनुको खुशी सन्तानसँग साट्नै नपाई चीरनिन्द्राको बाटो समातिन् ।
आमाको निधन भएपनि १० वर्षसम्म टुहुरी अनुभव भएन । तर, दैवको लीला आमाको माया दिने हजुरआमाले पनि यो संसारबाट विदा लिएपछि दुःखका दिन सुरु भए । बुबा आफ्नो भएपनि आमा (कान्छी) अर्कैकी थिइन् । अनि बुबाका लागि पनि त म जस्ता छोराछोरी अरु नै थिए । आमाका साथमा भएका भाइबहिनी भन्दा म आमा बिनाकी छोरीलाई कसरी माया बाँड्न सक्नु र बुबाले । आमाका लागि मात्र होइन दिनदिनै बुबाका लागि पनि म घाँडो हुन थालें । भाई–बहिनीहरु बोर्डिङ जान्थे मलाई स्कूलका लागि कपी, कलम र किताव फेर्ने एकसरो लुगा सबैका लागि भार भयो । दिनदिनै म कुटिन पिटिन थालें । त्यतिमात्र होइन मेरो कारणले घर झगडा हुन थाल्यो । त्यसपछि छिन्नभिन्न भयो एउटा सृष्टि नै ।
एउटा खाली ड्रम जहाँ पानी भर्न थालेको निरन्तर चार घण्टा भयो, कहिले भरिंदैन । पानी जति हालेपनि त्यति नै बस्छ । उँभो कहिले आउँदैन् । पाँच दिन भयो यो क्रम निरन्तर दोहोर्याइरहेछु । पानी भर्ने म सहित ६ जना छौं । दुईजना बराबर १०० लिटरको ड्रम छ । ३ ठाउँमा राखिएका छन् ड्रम । ड्रम नभरिने सबैको पीडा एउटै थियो । जिउ गलेर लखतरान भयो । तर, कहिले भरिन्न । आश्रमभित्रकी एकजना दिदीलाई सोधें । खोजी गर उहाँले भन्नुभयो । आश्रममा भएमध्ये उमेरले म सबैभन्दा सानी थिएँ । धेरै नबोल्ने, सिकाएको कुरा ध्यान दिएर सुन्थे । त्यसैले होला मैले सबैको माया पनि पाएकी थिए । भोलिपल्ट पनि ड्रममा पानी हाल्यौं तर भरिएन् । विगतकै पीडाले लखतरान भएपछि खोजी गर्न थालें आखिर के छ यस्तो ? न त पानी नै बाहिर गएको देखिन्छ, न त ड्रम नै भरिन्छ ! मलाई पत्ता लगाउन दुईदिन लाग्यो । तब त्यहाँबाट त्यो काम कहिले भर्नुपरेन । अनौठा काम लगाएर दिमाग माझ्ने काम रहेछ । समय वित्तै जाँदा आश्रममा म एक विश्वास र सक्तक्त सदस्यका रुपमा दरिंदै गएँ । बाल्यकालदेखि भोगेका यथार्थहरुले धेरै पाठ सिकाईसकेका छन् । मेरो मन मैले भोगेका व्यथाहरुले भोग्न नपरोस् भन्नेमा तल्लिन छ । असहाय,बेवारिसे सडक महिला उद्दार आश्रमको नाम संशोधन गरी ‘असहाय,बेवारिसे सडक महिला उद्दार तथा व्यवस्थापन संस्था’नामाकरण गरियो । विगत ७ वर्षदेखि यो संस्थाको पूर्ण जिम्मेवारी मेरो काँधमा छ । उद्दार गरेर पुर्नस्थापना हुन नसकेका महिलाहरु आय आर्जनको काममा लागेका छन् । सीपलाई सिर्जनामा बदल्नेहरुले त्यही बसेर आम्दानी पनि गर्छन् । उद्दार गरिएका महिलाहरुले सिर्जना गरेका कुशन, टोपी, गुडियाहरु देश–विदेशसम्म पुगेका छन् । जुन उनीहरु र संस्था दुवैका लागि सुखद पक्ष हो ।
केही दिन अघि मेरो आश्रममा केही विदेशीहरुको प्रवेश भयो । उनीहरुसंग दुइजना नेपाली पनि थिए । यो आश्रमसम्म ती विदेशीलाई तिनै नेपालीहरुले ल्याइपु¥याएका रहेछन् । उनीहरु मेरो बारेमा अनि मैले नेतृत्व गरेको संस्थाबारे बुझ्न र स्थलगत अध्ययनका लागि आएका रे । नेपाली भाषामा तर्क गर्नसक्ने क्षमता भएपनि अंग्रेजी भाषा बोल्न त के बुझ्न पनि कठिन कठिन हुन्छ । कुरा गर्न सक्ने संभावना नभएपछि आश्रममा जे थियो सबै घुमाएँ । उनीहरुले ‘गुड गुड’ भनेको मात्र बुझ्छु । बेला बेला नेपाली मै राम्रो राम्रो भन्छन् । क्यामेरा तेस्र्याएर फोटो र भिडियो दुवै खिच्छन् । आश्रममा भएकामध्ये केहीसंग कुराकानी पनि गरे ।
बेलुका खाना खाएर नाच गानमा सबै रमाइरहेका थिए । म पनि त्यसैमा सामेल थिए । मेरो दुवै हातबाट तालीका पर्रा छुटिरहेका थिए । गोजीमा भएको मोबायल बज्यो । हल्ला निकै भएकाले म आश्रमको भित्र कोठामा पुगेर यसो नम्बर हेरें । विदेशी नम्बर थियो । फोन उठाएँ र हेलो भने । अंग्रेजी बोल्न नजाने पनि मोवायलको प्रयोगले हेलो शब्द नेपाली जनजिब्रोमा झुण्डिसकेको छ । एकैचोटी ‘कङ्ग्राचुलेसन’ को आवाज आयो । म छक्कमात्र परिन अक्क न बक्क भएँ । के भन्ने के भन्ने ? दोहोरो संवाद गर्ने शब्द नै म संग थिएन । केही समयको मेरो मौनतापछि नेपालीमा आवाज आयो । बधाई छ, तपाइँ म्यागासेसे पुरस्कारका लागि विश्वभरबाट १०औं स्थानमा हुनुहुन्छ । अब भोटका आधारमा पुरस्कार प्रदान गरिने छ । फोनमा आएको जानकारीप्रति विश्वास गर्न सकिन । सम्झें कतै आज अप्रिल फुल त होइन । कहिले म्यागासेसेको नामै नसुनेकीलाई त्यत्रो ठूलो पुरस्कारको नाम देखाएर कसले अप्रिल फुल मनायो होला र ? प्रश्न तेर्सिए पनि मनमा खुशी बढ्यो । विविसीले निरन्तर म्यागासेसे पुरस्कारका लागि १० औं स्थानमा पुगेकाहरुले गरेका कामको श्रब्य दृष्य (बृत्तचित्र) प्रशारण गर्न थाल्यो । बृत्तचित्र प्रशारण अवधीमै भोटिङ लाइन खुलाइन्थ्यो र त्यही समयमा बन्द हुन्थ्यो । बृत्तचित्र प्रशारणको जानकारी पाएपछि म पनि विविसीको दर्शक भएँ ।
कोही कराउँछन्, कोही रुन्छन्, कोही गीत गाउँछन्, कोही सिलोक, भजन, बालन के के भन्छन्, कोही एकोहोरो सुतिरहन्छन् । भर्खर खाएकाहरु आफूले सडकमा जे गर्दै थिए त्यही गर्छन्, अलि पुरानाहरु आफूलाई सम्हाल्न सक्ने भएका छन् । कोही उनीहरुको हेरचाह गर्ने आत्मियता साट्ने गर्दागर्दै ठिक भएपछि घर फर्किन्छन् । यसरी नै निरन्तर चलिरहेको आश्रमको दैनिकी । बेलुकाको झण्डै ११ बजेको हुँदो हो । सबै सुतिसकेका छन् । म आफैंपनि झकाउन लागिसकेकी रहेछु । मोवायलमा घण्टी बज्यो । आँखाले घुम ओडिसकेका थिए, त्यसैले नहेरी उठाएँ । आवाज पहिलेकै थियो । मैले हेलो भनिसक्दा उही कङ्ग्राचुलेस भन्ने आवाज आयो । मेरो मुटु ढुकढुक भयो । केही बोलिन । फेरी दोहोरियो बधाई त तपाईलाई । म्यागासेसे जित्नु भएकोमा ।
कसले त्यहाँ पुर्यायो थाहा छैन । त्यति विघ्न उपनाम पाउने म को हुँ अझै चिन्न सकेकी छैन । जीवनको परिभाषा के हो आजपनि खोजिरहेकी छु । आफन्त, साथीसंगी सबै यही आश्रमले जुराएको छ । सडकको धुलो, मैलो पानी, ढुङ्गा, माटो, कुहिएर गन्हाएका चिजबिज खाँदाको अनुभव ताजै छ । कंक्रिटकै जंगलमा एउटा रुखका रुपमा उभिएको आश्रम म लुटिएको, कुटिएको र खेदिएको जंगल जस्तो छैन् । आश्रमले मेरो गुमेका अस्तित्व÷अस्मिता फर्काउन त म सक्ने छैन । तर, आश्रम र म्यागासेसेले जिम्मेवारी थपेको छ । बेसहारा, बेवारिसे, महिलाहरुको उद्दार र पुर्नस्थापना र व्यवस्थापनका क्षेत्रमा दृढ बनाएको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 भाद्र, 2077

लेखकका अन्य रचनाहरु