उनले जन्माएकी छोरी

- डा. सावित्री श्रेष्ठ

उनको नाम म जताततै सुन्छु । उनी ठुला साहित्यकार, लेखक र प्राध्यापक । टिभीमा उनलाई हेर्दै छु । उनी भन्दै छन्— हो मेरो एउटी छोरी पनि छिन् कतै तर अब कसरी मेरी भन्नू । मैले अपनाउन नसकेकी छोरी, मैले देख्न नपाएकी छोरी, सुन्छु राम्रै गर्दै छिन् रे । ठ्याक्कै मजस्तै छिन् ।
‘भेट्न मन छैन ?’ प्रश्न सोधिन्छ उनलाई ।
ओहो ! मेरा बा के भन्छन् ? सुनिहालूँ न ।
मेरो मुटु ढुकढुक गर्न थाल्यो । मैले महसुस गर्ने गरी उनी भन्छन्, ‘छैन । भेट्न मन छैन । अब भेटेर पनि के गर्नु ! उनीविनाको मेरो व्यस्त संसार छ । उनी जन्मिनुअगाडि नै मैले व्यवस्थापन गरिदिएको हुँ । नभेट्ने गरी ।’
‘आफ्नै छोरी हगि यहाँको ?’
‘हो त अगि नै भनँे । यो कुरा गोप्य राख्न खोजेर पनि नसकिएको हो । फेरि मैले त्यसको जरुरत पनि देखिनँ । अब उनीसँग मेरो अंश–वंश केहीको नि सम्बन्ध छैन । हो, सम्झनामा आउँछिन् तपाईँहरूजस्तो पत्रकारले प्रश्न सोधिदिँदा ।’
मेरो मन चसक्क दुख्छ, छोरी हुँ नि म उनको । पहिलो सन्तान केही नाता छैन कसरी भन्न सकेको । मान्छेलाई जिनले पनि तान्नुपर्ने हो नि अलिकता त । तर, खै मेरा बा हुन नसकेका बा निर्लज्ज भएर मतलब छैन; वंश–अंश केहीको नाता छैन भन्छन् । माया र खोला तलतिर बहन्छ भन्थे; होइन रहेछ । मेरो सन्दर्भमा पटक्कै हैन ।
म आकर्षित छु मलाई माया नगर्ने बासँग र भेट्न पनि चाहन्छु । एक पटक म मेरा वास्तविक अनुवांशिक बासँग भेट्न चाहन्छु । उनको चौडा छातीमा टाउको राखेर रुन चाहन्छु । बस्, यत्ति हो मेरो चाहना । न मलाई उनको माया चाहिन्छ न दया । कति सङ्कीर्ण र कन्जुस त मेरा बा ! यत्ति सानो इच्छा पनि इन्कार्ने ?
उनी लेखक रे । त्यो पनि प्रगतिशील । हो, यही प्रगतिशील शब्दको अर्थ सोध्न चाहन्छु म उनीसँग । उनले जन्मनुअगाडि नै त्यागेकी म छोरी । म पनि उस्तै हुँ; किन उनीप्रति मोह मेरो ? किन र केका लागि ? किन मेरो मनमा उनीप्रति घृणा वा वितृष्णा छैन ! किन मलाई उनीसँग भेट्न मन लागेको ? खासमा मलाई उनको मुख पनि हेर्न मन नलाग्नुपर्ने हो तर अहँ उनी पो मेरो मुख पनि हेर्न चाहँदैनन् । उनी र मेरी आमाबिच के सम्झौता भयो त्यो उनीहरू नै जानून् तर मेरो छटपटीलाई ती दुवैले बुझ्न सकेनन् । मलाई बुझ्ने यो सारा संसारमा मेरो बाबा एक जना मात्र हुनुहुन्छ जसले मलाई जन्म त दिएनन् तर जीवन दिए । शिक्षा दिए; ज्ञान दिए; बालापनमा काँध दिए; ममाथि आफ्नो सम्पूर्ण सपनाहरू खन्याए र मलाई नै आफ्नो संसार ठाने ।
म सम्झन थाल्छु आफ्नै कथा, जसको केही भाग टुक्राटाक्री गरेर मैले अरूबाट सुनेँ । केही आमाबाट र विस्तृत र यथार्थ कथा उनै मेरा बाबाबाट ।
अछुत परिवारमा जन्मनुभएकी मेरी आमा शिल्पवती र अत्यन्त सुन्दरी पनि छिन् । स्कुलको मुख मात्र देखेकी उनले कसरी पढ्न–लेख्न सिकिन् ? थुप्रै किताबहरू पढिन्, जुन तत्कालीन समयमा मान्छेहरूको कल्पनाबाहिरको कुरा थियो । एउटी अछुतकी छोरीले वडामा भएको लाइब्रेरीका सबै किताबहरू पढेकी छन् । असाध्यै सुरिलो स्वर र मादल बजाउने कुशलताका कारण मेरी आमाको रूप र गुणमा मोहित भएर नै मेरा यी बा हुन नसकेका बा पागलजस्तै भए । त्यस समयमा, जिल्ला शिक्षा अधिकारी भएर गाउँमा आएका उनी गाउँको साङ्गीतिक टोलीकी गायिका तथा मादलवादक मेरी आमासँगको उनको मोह र प्रेम छताछुल्ल भएर पोखियो गाउँभरि ।
उनको भव्य व्यक्तित्व र प्रगतिशील कुरासामु मेरी आमा पनि पग्लिइछन् । ‘जसले जे भनून् तिमीलाई त म झ्याइँझुइँ बाजा बजाएरै बिहे गर्ने हो भनेछन्’ यी मेरा बा हुन नसकेका बाले । त्यस्तै फूलबुट्टे शब्दहरूको फेर समातेर उनी मेरी आमाको जीवनमा पसेछन् र उनको गर्भमा मलाई सुटुक्क हालिदिएछन् । त्यसपछि पो ब्युँझिइछन् उनी— सपनाको संसारबाट । उनको प्रगतिशीलता फुमन्तर भएछ । उनलाई समाज, आमा–बाबु, कुटुम्ब, आफ्नो गुठी र गुठियारहरू सबै–सबैको माया लागेछ । यसो भनूँ मेरी आमा र उनको गर्भको मबाहेक अरू सबैको माया र डर दुवै लागेछ उनलाई । सम्भ्रान्त परिवारका उच्च ओहदाका मान्छे उनी कसरी एउटी अछुतलाई बिहे गर्ने ? माया, बिहे र जिम्मेवारी सब फरक–फरक कुराहरू हुन् भन्ने कुरा बल्ल बुझेछन् उनले ।
जीवनमा हुनसम्म खुसी महसुस गरिरहेकी मेरी आमाले कल्पनामा पनि सोच्न सकिनछन् कि उनलाई धोका हुनेछ । उनले हिरो र बहादुर मानेको मान्छे लुच्चा, बेइमान र डरपोकबोहक केही रहेनछन् । उनको प्रगतिशीलताको कुरा पनि के गर्नु । मनसँग र मनको आडमा शरीरसँग खेल्नु र त्यसका लागि जस्तो पनि शब्दसंसार रच्नमा महारथी नै रहेछन् उनी । किनकि, उनको जीवनमा बारम्बार विभिन्न महिलाहरूले अनेक किसिमबाट चोरी पक्रिँदै आएका रहेछन् । उनले देखाएका सपनाहरूमा सपनाकै पखेटा लिएर बादलपारिको गाउँसम्मको सहयात्रा गर्ने र त्यसपछि पातलतिर भासिन बाध्य हुने रहेछन् बाको मोहमा परेका अधिकतम महिलाहरू ।
त्यसो त बाका अन्य पक्षहरू राम्रै रहेछन् । खास गरी सबलाई प्रभावमा पार्न सक्ने, त्यागी, मिलनसार तर महिलाहरूका मामिलामा निकै बदनाम । यो एउटा कमजोरीकै कारण मान्छेहरू उनलाई मान्छे कम र खेलाडी बढ्ता ठान्दा रहेछन् । उनको उत्कृष्ट काममा खोट लाउने माध्यम पनि यही नै रहेछ । जतिसुकै राम्रो काम गरे पनि के गर्नु ? मान्छे त उनी ठिक होइनन्, हुन पनि मान्छेको मनलाई अझ यसो भनूँ जीवनलाई फुटबल बनाएर खेल्ने मान्छेलाई कसरी राम्रो मान्छे भन्ने ?
मान्छेको मन न हो, उनका ती सारा कमजोरीहरूसहित उनले मेरी आमा र मसँग जे गरे ती सबभन्दा बेठिक गरे । अझ बढी त मलाई आफ्नो सन्तान नै मान्न तयार भएनन् । तैपनि, उनीसँग भेट्ने मोहबाट म कसै गरी मुक्त हुन सकिनँ । सबैथोक भएको यस जिन्दगीको दुःखद र कमजोर पाटो यही रह्यो । भेट्न चाहने म र भेट्न नचाहने उनीबिचको नजिक्याइ र दुरीमा पिल्सने त म नै परेँ ।
कहिलेकाहीँ म आपैmँसँग छक्क पर्छु । किन म यो मोहबाट मुक्त हुन सक्तिनँ ? यसो–उसो ग¥यो तिनै बा हुन नसकेका बाको याद आउने र उनैसँग भेट्ने उपायहरूबारे सोच्दै आफ्नो समय खेर फाल्ने मात्र हैन आपूmलाई दुःखी बनाउने काम पनि धेरै गरेँ । आपूmलाई भन्दा दुःखी बनाए मेरा वास्तविक बालाई जसको जीवन भन्नु नै म र मेरी आमा मात्र । म त झन् उहाँको ज्यान नै हुँ । आफ्नो सारा जीवन र सारा मेहनतको फल मेरो सुख, समृद्धिमा लगाउनुभयो । सायद उहाँलाई अन्याय नै भयो मबाट ।
म आमाको गर्भमा छँदै मेरा इज्जतदार भनाउँदा बाले मसहित आमा पनि यी बाबालाई सुम्पिदिएका थिए । यिनी मेरी आमालाई एकोहोरो माया गर्छन् भन्ने कुरा पत्ता लगाएरै मेरा हुन नसकेका बाले मेरी आमा यिनलाई सुम्पेका रहेछन् । आमालाई पनि (म भन्छु ब्ल्याक–मेलिङ नै गरेछन्) यी मान्छेसँग विवाह गरेनौ भने म मर्छु भनेछन् । केही पैसा पनि दिन खोजेछन्, जुन मेरी आमा र बाबा दुवैले स्वीकार गर्नुभएन छ । त्यसपछि धरानमा बसाइँ सराइ र मेरो जन्म त्यहीँ भएछ । एउटा शिक्षित र शक्तिशाली पुरुषले दुई जना असल र सहनशील मान्छेहरूमाथि गरेको शालीन अत्याचारबाहेक यसलाई के भन्न सकिएला र !
त्यसपछि उहाँहरूले कहिल्यै बागलुङतिर फर्केर हेर्नु भएनछ । त्यसै पनि बाबा टुहुरो भएकाले केही जग्गा बेचेरै यता आउनुभएकाले रहेछ । यद्यपि त्यो जग्गा मेरा तिनै बाले अलि राम्रै मोलमा किनेका रहेछन् । फर्केर जाने कारण पनि भएन । फेरि आफन्त र छरछिमेकको घोचपेच सुन्न के जानु । खुला तर गोप्य त्यस प्रेमकथाले बेग्लै मोड लिएकोमा कति मान्छेहरू रमाएका थिए रे त्यसबेला । त्यसै पनि बागलुङ बजारमा त्यस्ता घटनाहरू भई नै राख्दा रहेछन् । त्यसबेला दिउँसो–दिउँसो सर्किनी, राति–राति खड्किनी भन्ने त उखानै रहेछ त्यहाँ । अहिले के छ कुन्नि ! के यो पनि सिमान्तीकृत वर्गमाथि वा जातिमाथि ठुला भनाउँदाहरूले गरेको अन्याय थिएन र ! जातीय विभाजनमा पारिएकै कारण आफ्नो शरीरमाथि सम्म पनि अधिकार छैन ती सिमान्तीकृत मान्छेहरूको ।
अछुतहरूको धन, स्त्री, श्रम र सम्पत्तिमाथि ब्राह्मणहरूको अधिकार हुन्छ भनेर ब्राह्मणहरूले धर्मशास्त्रका नाममा पापशास्त्र त्यसै लेखेका हुन् र ? मेरा यी बा हुन नसकेका बा पनि यसैका पृष्ठपोषक हुन् । तर, यिनी आपूmलाई कम्युनिस्टचाहिँ किन भन्छन्, माक्र्सवादी रे । यो खाले माक्र्सवादीहरूले माक्र्सको नाममा गर्नु गरे । यीभन्दा त मेरा भनिएका बाबा कति बेस बेस आफू क्षेत्री भए पनि खै जात भन्नु भएन; अर्काको बच्चा पनि भन्न ुभएन ! मानवता र प्रेम मात्र हेर्नुभयो र यसैका लागि जीवन लगानी गर्नुभयो । यसले गर्दा मलाई समाजमा उभिन सक्ने, सम्मानित नागरिक बनाइदिनुभो । उहाँ मेरी आमाको जीवनमा जीवन नै भएर रहनुभएको छ । त्यो प्रथम प्रेमलाई जिन्दगीको भुलबाहेक अरू केही सोच्नु भएन । उहाँले र मैले कोट्याउँदा पनि भन्नुहुन्छ । कोही कोही मानिसहरू सम्झनलायक हुँदैनन् । तिनलाई बिर्सेको नै बेस । तिनका छायाबाट टाढा बसेकै बेस । तर, के गर्नु उनैलाई भेट्न मन लाग्ने आपूmलाई । उनका केही साथीहरूमार्पmत पनि कुरा गरेँ मैले । उनका झन्डै पाँच हजार फेसबुक साथीहरू तर उनले मलाई त्यहाँ पनि स्विकारेनन् । उनकी तेस्री श्रमिती रिसाउँछिन् रे ।
मेरी आमालाई त्यागेपछि उनले स्वजातीय बिहे गरेछन् । तीन जना मेरा भाइबैनी पनि भएछन् । तर, उनको मन डुलाउने बानी जहाँको तहीँ । त्यही भएर उनलाई उनको जातकी–ले पनि छाडिछन् । त्यसपछि उनी एउटी झन्डै बिस वर्ष कान्छीसँग अमेरिका उडेछन् । ती स्वास्थ्य व्यवसायमा लागेकी, उनको पनि त्यो तस्रो नै बिहे रहेछ । उनको कडा नियन्त्रणमा रहेछन् ती बा हुन नसकेका मेरा बा । उनी नियन्त्रणमै बसेछन् । निरही, हुतिहारा, आफ्नै छोरा–छोरीसँग पनि भेट्न बन्देज लगाइएका उनले मसँग भेट्ने आँट कसरी गर्नु ।
मलाई राम्ररी याद छ, माघेसङ्क्रान्तिको ठिक एक दिनअगाडि म तिलको लड्डु बनाउँदै थिएँ । कौसीमा बसेर पारिलो न्यानो घाम, रमाइलो लागिरहेको थियो मलाई । पुस महिनाको घाम रमाइलो लाग्ने त हुने नै भयो । त्यही बेला कृष्ण दाइको फोन आयो । ल, तिम्रो इच्छा पूरा हुने भयो । भोलि २ बजे तिमीसँग भेट्न तयार हुनुभयो तिम्रो बुबा । धरहरा क्याफेमा जानू ।
‘ए ! हो र ? अन्तमा भेट्न तयार हुनुभयो ?’
‘हो, अब नेपाल आएको बेलामा एकचोटि भेटेरै जाऊँ न त भन्नुभयो । तर, मैले धेरै मेहनत गर्नुप¥यो है । उनलाई कान्छी रिसाउँछे भन्ने पिर रहेछ । जे होस्, अब भेट्न पाउने भयौ ।’
त्यसै मनमा खुलदुली हुँडुलियो । व्यक्त गर्नै नसकिने भावहरू मनमा आए । बनाउँदै गरेको तिलको लड्डु हातमै लिएर कतिबेर टोलाएर बसेँ । यो लड्डु उनलाई नि लगिदिऊँ कि क्या हो ?
त्यो रातभरि म सुत्न सकिनँ; छटपटी लागिरह्यो, सँगै सुतेका श्रीमान्को समेत निद्रा खलबलिने गरी । मैले बाबालाई पनि साँझ सुनाइदिएकी थिएँ । ‘ल भेट; मनको इच्छा पु¥याऊ’ भन्नुभएको थियो । मेरो आफ्नो प्रिय बुबाले उहाँको जस्तो विशाल मन त कसको हुनु र ? आमालाई चाहिँ नभन्ने सल्लाह ग¥यौँ हामी बाबाछोरीले ।
माघ १ गते कठ्याङ्ग्रिएको तुवाँलो लागेको बिहानी तर मनमा उत्साह थियो । दिमागभरि मैले उनलाई भन्नुपर्ने कुराहरु सोचिरहेकी थिएँ । पक्कै मन हलुङ्गो पार्ने छु । एउटा पाठ सिकाउने नै छु । यस्तै सोच्दै माघीको तयारी गर्दै रहेँ ।
आमा–बाबा, केटाकेटी हामी सबै सँगै थियौँ । खाना खायौँ । विशेष परिकारसहित रमाइरहेकै बेला कृष्ण दाइको फोन आयो ।
‘बरबाद भएछ नि ।’
‘किन, के भयो ?’
‘उहाँ त बित्नुभएछ ।’
म झसङ्ग भएँ । ‘हैन के भन्नुभएको ?’
‘हो । आज राति नै बित्नुभएछ । पशुपति लगिसकेछन् । त्यहाँ जाने ?’
‘नजाने ...।’
जबाफ दिन मलाई एक सेकेन्ड लागेन । के भेट्नु ती भेट्नै नचाहने मान्छेसँग । हाम्रा लागि उनी मरेको मान्छे सह्री नै थिए ।
किन किन मनमा एक सर्को दिक्दारी पस्यो ।
‘मसँग भेट्नुपर्ला भनेर मरेका त होइनन् होला नि उनी !’
के मृत्यु मान्छेको आफ्नो बसमा छ र ?

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 13 भाद्र, 2077

लेखकका अन्य रचनाहरु