दनुवारी र नेपाली भाषाको पदसङ्गति व्यवस्था : व्यतिरेकी अध्ययन

- कमलप्रसाद न्यौपाने

सार
दनुवारी भाषा र नेपाली भाषाको पदसङ्गति व्यवस्थाको व्यतिरेकी अध्ययनमा केन्द्रित यस लेखको मुख्य उद्देश्य दनुवारी भाषा र नेपाली भाषाका बीच रहेको पदसङ्गतिको समानता र भिन्नता पहिचान गर्नु रहेको छ । सिन्धुली जिल्ला दनुवार जातिको बसोबास रहेको मुख्य जिल्ला हो l यस अध्ययनको मुख्य उद्देश्य दनुवारी भाषा र नेपाली भाषाको पदसङ्गति ब्यबस्थाको व्यतिरेकी विश्लेषण गर्नु रहेको छ । यस लेखमा दनुवारी भाषा र नेपाली भाषामा पाइने पद्संगति व्यवस्थाका कारण दनुवार भाषी विद्यार्थीलाई नेपाली भाषा सिक्दा कस्तो व्याघात उत्पन्न गर्दछ भनी पूर्वानुमान गर्नु पनि यस लेखको उद्देश्य रहेको छ । यहाँका विद्यालयहरुमा दनुवार भाषी विद्यार्थीहरु ठुलो सङ्ख्यामा रहेका छन् l ती विद्यार्थीहरु दोस्रो भाषाको रूपमा नेपाली भाषा सिक्द्छन् l यसै जिल्लाका विद्यालयहरूमा पढ्ने विद्यार्थीहरुबाट तथ्य सङ्कलन गरी र प्रस्तुत लेखको शीर्षकसँग सम्बन्धित सैद्धान्तिक सामग्रीको अध्ययन गरी प्राप्त तथ्यको गुणात्मक ढाँचामा व्याख्या विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक अनुसन्धान ढाँचामा आधारित रहेको छ । प्रस्तुत लेख तयारीका क्रममा दनुवारी भाषासँग सम्बन्धित भाषिक तथ्यहरु सम्भावनायुक्त नमुना छनौट विधिबाट दनुवारी भाषा बोलिने सिन्धुली जिल्लाका तीन पालिकाबाट एकएक विद्यालय पर्ने गरी उक्त विद्यालयमा अध्ययनरत १० /१० गरी जम्मा ३० विद्यार्थिहरूबाट तथ्यहरु सङ्कलन गरिएको छ । यस लेखमा व्यतिरेकी विश्लेषणका बारेमा व्याख्या विश्लेषण गरिएका पुस्तक, जर्नल, अध्ययन प्रतिवेदन, जनगणना र भाषा आयोगले प्रकाशन गरेका भाषिक तथ्याङ्कलाई द्वितीयक स्रोतका रूपमा उपयोग गरिएको छ । यस लेखमा वर्णनात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरी गुणात्मक समीक्षा गरिएको छ ।दुवै भाषा भारोपेली परिवारको भाषा हो l दनुवारी भाषामा नेपाली भाषामा जस्तो पदसङ्गति व्यबस्था जटिल छैन । आदर र लिङ्गका आधारमा दनुवारी भाषामा सङ्गति नहुने भएकाले नेपाली भाषा सिक्दा दनुवार विद्यार्थीलाई व्याघात उत्पन्न हुन्छ । दनुवारी भाषामा लिङ्ग ,वचन र आदरमा भेद नभएकाले सङ्गति पनि छैन भने विशेषण र विशेष्य अनि भेदक र भेद्यका बीच पनि सङ्गति नभएकाले नेपाली भाषा सिक्दा दनुवार भाषी विद्यार्थीलाई यी ठाउंहरूमा भाषिक व्याघात उत्पन्न हुने पूर्वानुमान गर्न सकिन्छ । दनुवारी भाषा कथ्य परम्परामा रहेको र यस भाषाको अध्ययन यथेष्ट नभएको अवस्थामा यो भाषाको विभिन्न कोणबाट अध्ययन हुन् आवश्यक छ, जसले नेपाली भाषा शिक्षणलाई सहज र उपलब्धिमूलक बनाउन सकोस् ।
मुख्य शब्दहरू :
व्यतिरेकी , पहिलो भाषा ,दोस्रो भाषा , व्याघात , ओकरसिया , तुई ,ओइले l
१ विषय प्रवेश
जनगणना २०६८ र भाषा आयोग नेपालको प्रतिवेदन अनुसार नेपालमा लगभग ८६००० (छयासी हजार ) दनुवारहरूको जनसंख्या छ l नेपालमा दनुवारी भाषालाई मातृभाषाको रूपमा प्रयोग गर्ने जनसंख्या लगभग ४५००० (पैतालीस हजार ) रहेको छ भने सिन्धुली जिल्लामा मात्र १६९२७ जना दनुवार पहिलो भाषी वक्ता र १५५२ जना दनुवार दोस्रो भाषी वक्ता छन् l l दनुवार जातिलाई नेपाल सरकारले अतिसीमान्तकृत वर्गमा सूचीकृत गरेको छ l यी दनुवार जातिका विद्यार्थीहरुले नेपाली भाषालाई दोस्रो भाषाका रुपमा सिक्नु पर्ने अवस्था छ l दनुवार भाषी विद्यार्थीहरूका लागि नेपाली भाषा सिक्नु सजिलो छैन l दनुवार भाषाको भाषिक अनुभवका कारण नेपाली सिकाइमा उनीहरूलाई व्याघात उत्पन्न भएको अवस्था छ l यस्तो अवस्थामा यस क्षेत्रका नेपाली भाषा शिक्षकहरूका लागि दनुवारी भाषा र नेपाली भाषाको व्यतिरेकी विश्लेषण गरेर शिक्षण रणनीति अपनाउदा मात्र उपलब्धि प्राप्त गर्न सकिन्छ l दनुवारी भाषी विद्यार्थीले नेपाली भाषालाई दोस्रो भाषाका रूपमा सिक्दा दनुवारी भाषाको भाषिक व्यवस्थाले कस्तो व्याघात उत्पन्न गर्दछ र भाषा सिकाइमा कस्तो त्रुटि गर्न पुग्दछन् भन्ने थाहा नपाई दनुवारी भाषीलाई नेपाली भाषा शिक्षण प्रभावपूर्ण हुन सक्दैन l दनुवार भाषीले गर्ने यस किसिमका त्रुटिका कारणहरु पहिचान र निदानका लागि नेपाली भाषासँग दनुवार भाषाको पदसंगतिको व्यतिरेकी विश्लेषण आवश्यक देखिन्छ l
व्यतिरेकी विश्लेषण खासगरी भाषा शिक्षणका सन्दर्भमा प्रयोग गरिने दुई वा दुईभन्दा बढी भाषाको तुलना गर्दै तिनमा भिन्नता देखाउने विधि हो (वन्धु -२०७३ ) l कुनै दुई भाषाका ध्वनि , व्याकरण , शब्द भण्डार र वर्णविन्यास प्रक्रियामा रहेका भिन्नताहरूलाई व्यतिरेकी विश्लेषणमा हेरिने भएकाले भाषा शिक्षणका सन्दर्भमा यसले दोस्रो भाषाको भिन्नताहरूलाई पहिलो भाषाको सापेक्षतामा खोजी गरी दोस्रो भाषा शिक्षणलाई सजिलो बनाउँछ l व्यतिरेकी विश्लेषणसम्बन्धी अवधारणाको विकास संरचनात्मक भाषाविज्ञानको मोडेल र ढांचा अन्तर्गत भएको हुनाले यसमा संरचानावादीहरूका कतिपय पूर्वकल्पनाहरुको प्रशस्त प्रभाव देख्न सकिन्छ l यसमा भाषा सिकाइ प्रक्रियाको भन्दा दुई भाषाका संरचनामा पाइने भिन्नताका आधारमा सिकाइ सरल र जटिल हुने कुरामा जोड दिइन्छ (अधिकारी -२०६५ ) l बालकले आफ्नो घरपरिवार , साथिसङ्गी र छारछिमेकिको सम्पर्कबाट सिकेको भाषा उसको मस्तिष्कमा भाषिक आदतका रुपमा बसिसकेको हुन्छ र ऊ एउटा भाषाको भाषिक अनुभव बोकेर विद्यालयमा नेपालि भाषा सिक्न जान्छ l यस्तो अवस्थामा उसलाई दोस्रो भाषाको रूपमा नेपाली भाषा सिक्न सजिलो हुन्न र उसले धेरै ठाउँमा त्रुटि गर्दछ l दोस्रो भाषाको सिकाइमा हुने त्रुटिको श्रोत पहिलो भाषाको सिकाइका क्रममा बनेको बानीको दोस्रो भाषा सिकाइमा गरिने स्थानान्तरण हो (अल-खेरशेह, सन् २०१६ )। यस किसिमका त्रुटिलाई पहिलो र दोस्रो भाषाको तुलनात्मक अध्ययनबाट थाहा पाउन सकिन्छ l नेपालजस्तो बहुभाषिक देशमा दोस्रो भाषाका रुपमा नेपाली भाषा शिक्षणमा विद्यार्थीको मातृभाषाले के कस्तो भूमिका खेलेको छ भन्ने थाहा पाई नेपाली भाषा सिकाइमा हुने कठिनाइ क्षेत्र पहिचान गरी नेपाली भाषा शिक्षणलाई प्रभावकारी बनाउन व्यतिरेकी विश्लेषण सहयोगी हुन्छ l
२ सैद्धान्तिक पर्याधार

व्यतिरेकी विश्लेषण प्रायोगिक भाषाविज्ञानको एक महत्वपूर्ण शाखा हो l तुलनात्मक भाषाशाश्त्रीय अध्ययनबाट व्यतिरेकी विश्लेषणको सुरुवात १९ औं शताब्दीभन्दा पछि भएको हो l यसले समकालीन अध्ययनसंग सरोकार राख्दछ (लम्साल -२०६३:१४८ ) l व्यतिरेकी विश्लेषणलाई पहिलो पटक चार्ल्स फ्राइज (charles Fries) ले विदेशी भाषा शिक्षणको विधिको एक अभिन्न अङ्गका रूपमा विकसित गरेका थिए (अल-खेरशेह, सन् २०१६)। यसको सम्बन्ध दोस्रो भाषा वा विदेशी भाषा शिक्षणसँग छ l ’सैद्धान्तिक व्यतिरेकी अध्ययनलाई प्ररूप भाषाविज्ञान (टाइपोलजिकल लिङ्ग्विस्टिक्स)को अङ्ग मानिन्छ । यसको मुख्य उद्देश्य भाषा तुलनाका लागि उपयुक्त मोडलको निर्माण गर्नु हो । यस सँगसँगै यसले समता, सादृश्य एवम् तुल्यता आदि धारणाहरुलाई निर्धारित गर्दछ (रेड्डी-सन् १९८६:११८) l व्यतिरेकी अध्ययनमा दुई वा सोभन्दा बढी भाषाका बीच विभिन्न भाषिक तहमा पाइने समानता र भिन्नतालाई पत्ता लगाइन्छ l तुलनात्मक भाषाविज्ञानको आधारमा निर्धारित दुई भाषाहरूका बीच पाइने समानता र समानताका आधारमा भाषाहरूको सम्बन्ध स्थापनामा व्यतिरेकी विश्लेषणले चासो राख्दैन l व्यतिरेकी विश्लेषणमा तुलनात्मक अध्ययनको उद्देश्य मातृभाषा र लक्ष्य भाषाका बीच ब्याघातको सम्भावना पत्ता लगाउनु र भाषा सिकाईका क्रममा आउने कठिनाइलाई निर्धारण गर्नु हो l
व्यतिरेकी भाषाविज्ञान (contrastive analysis) को प्रयोग सर्बप्रथम भाषाशास्त्री होर्फ़ (१९४१ ) ले गरेका थिए l चार्ल.सी. फ्राइजले संयुक्त राज्य अमेरिकामा भाषाशिक्षणका सन्दर्भमा दोस्रो भाषाका सामग्रीहरूको तुलनात्मक अध्ययनबाट प्राप्त सामग्री बढी उपयोगी हुने बताएपछि अरु भाषावैज्ञानिकहरु पनि व्यतिरेकी विश्लेषणको अध्ययनतर्फ आकर्षित हुन पुगे ( ढुंगेल र दाहाल-२०६३:२१६) l व्यतिरेकी विश्लेषणमा व्यतिरेकी परिकल्पनाको चर्चा महत्त्वपूर्ण रूपमा गरिएको छ l व्यतिरेकी परिकल्पनामा दोस्रो भाषा सिकाइ सिद्धान्तको प्रमुख विधिका रूपमा प्रस्तुत गरिएको छ l परिकल्पनाका दुई धारणा छन् : बलियो र कमजोर l यी धारणाहरूका आधारमा दोस्रो भाषा सिकारुले व्याकरणका क्षेत्रमा किन त्रुटि गर्दछन भन्ने कुरा व्यतिरेकी विश्लेषणले भन्न सक्दछ (माइर ,२००५ )l रबर्ट ल्याड़ो (सन् १९५७ ) ले आफ्नो linguistics cross culture भन्ने पुस्तकमा मानिसको मातृभाषा उसको बानीका रूपमा विकास हुन्छ र दोस्रो भाषा सिक्ने बेला उसको आफ्नो मातृभाषाको संरचनालाई दोस्रो भाषामा स्थानान्तरण गर्दछ l यसरी संरचना स्थानान्तरण गर्दा लक्ष्य भाषा सिकाइमा मातृभाषाको भाषिक संरचनाका कारण हुने बाधा नै भाषा व्याघात हो l दोस्रो भाषा सिक्दा मातृभाषाको प्रकृतिअनुसार कसैलाई सजिलो त कसैलाई कठिन हुन्छ l उनका अनुसार जसको मातृभाषासँग दोस्रो भाषाका विशेषताहरु समान छन् उसलाई दोस्रो भाषा सिक्न सजिलो हुन्छ , जसको मातृभाषासंग दोस्रो भाषाका विशेषताहरु असमान छन् उसलाई दोस्रो भाषा सिक्न कठिन हुन्छ l अर्थात दोस्रो भाषाको शिक्षणमा पहिलो भाषाको संरचना र संस्कृतिको स्थानान्तरण हुन्छl अत: व्यतिरेकी विश्लेषणको प्रयोग अन्य भाषा सिकाइमा मातृभाषाले जुन ब्याघात उत्पन्न गराउँछ त्यसको निराकरण गर्नु तथा दोस्रो भाषाशिक्षण सामग्री र विधिमा सुधार ल्याउन सघाउनु हो ( ल्याड़ो -१९७१ ) l
दोस्रो भाषा शिक्षणमा भाषा-व्याघात भाषाका प्रत्येक तहमा देख्न सकिन्छl युरिल बेनरिख (uriel weinreich ) ले आफ्नो पुस्तक “ language in contact “ मा भाषा व्याघातको मूल कारण दुई भाषाको सम्पर्क हो भनेका छन् l उनकाअनुसार भाषा व्याघातको निम्न तीन प्रमुख भेद छन् :
क. स्वनिम व्याघात
ख. व्याकरणिक व्याघात
ग. कोशीय व्याघात
क. स्वनिम व्याघात : स्वनिम व्याघातको क्षेत्र त्यस कुरासंग निर्भर रहन्छ कि एउटा वक्ताले कुनै भाषाको ध्वनिहरू कसरि उच्चारण गर्छ तथा दोस्रो भाषा सिकेका समयमा मातृभाषाका ध्वनिहरूको उच्चारणको तरिकालाई दोस्रो भाषामा आरोपित गर्छ या दोस्रो भाषाको ध्वनिहरूको प्रथम भाषाको ध्वनिसंग तुलना गर्दछ ( बेनरिख - ) l स्वनिम व्याघात केवल दुई भाषाका ध्वनिहरुको भिन्नतामा मात्र निर्भर हुदैन यो त् श्रोताले ध्वनीलाई कुन रूपमा सुन्दछ त्यसमा पनि निर्भर रहन्छ l
ख. व्याकरणिक व्याघात : व्याकरणिक व्याघातका सम्बन्धमा बेनरिखले मुख्य रूपमा रूपिम र व्याकरणिक अन्तरको उल्लेख गरेका छन् l उनका अनुसार कुनै दुई भाषा सम्पर्कमा आउँदा निम्न व्याघातको सम्भावना देखिन सक्छ :
१ मातृभाषाको रूपलाई दोस्रो भाषामा प्रयोग गर्नु
२ मातृभाषाको व्याकरणिक सम्बन्धलाई आरोप गर्नु
३ लक्ष्य भाषा र मातृभाषाकोरूपमा एकरूपता स्थापित गरेर लक्ष्य भाषाको रूपलाई मातृभाषाको व्याकरणको नियमानुसार परिवर्तन गर्नु

ग . कोशीय व्याघात : वेनरिखका अनुसार लक्ष्य भाषाको प्रयोगमा मातृभाषाको शब्द प्रयोग गर्दा भाषिक अभिव्यक्तिमा हुने अवरोध नै कोशीय व्याघात हो l
व्यतिरेकी विश्लेषणको सैद्धान्तिक ढाँचालाई यसरी वृक्षरेखामा देखाउन सकिन्छ :


सङ्गतिले अन्वय , समानता वा तुल्यता भन्ने अर्थ दिन्छ l वाक्यमा प्रयुक्त पदहरूको मेल हुन नै पदसङ्गति हो l पदसंगति शब्द वा पदस्तरमा हुँदैन वा गर्नुपर्दैन l जब पदहरु वाक्यात्मक घटकका रुपमा आउँछन् तब पदहरूको बीच संगति हुने गर्दछ l नेपाली व्याकरण अनुसार व्याकरणिक वाक्यमा आएका विभिन्न पदहरुका बीच लिङ्ग ,वचन , पुरुष ,आदर आदिका आधारमा हुने मेल , समानता वा तुल्यतालाई सङ्गति भनिन्छ l यसलाई पदसंगति , पदको मेल या पदान्वय पनि भन्ने गरिन्छ (श्रेष्ठ -२०५९:१३८ ) l परम्परागत नेपाली व्याकरणका आधारमा संगठनका दृष्टिले नेपाली भाषामा वाक्यहरु दुई किसिमका छन् ::सामान्य ( आदर रहित ) वाक्य र आदर वाक्य l सबै नेपाली व्याकरणकारहरुका विचारमा वाक्यका स्थानमा पाइने पद्संगति निम्न चार किसिमका छन् :
क . उद्देश्य र विधेयका वीच पद्संगति
ख .नाम र सर्वनामका वीच पद्संगति
ग. विशेषण र विशेष्यका वीच पद्संगति
घ. भेदक र भेद्यका वीच पद्संगति
यस अध्ययन कार्यमा यिनै चार आधारमा रहेर नेपाली भाषा र दनुवारी भाषाका बीच पद्संगतिको व्यतिरेकी विश्लेषण गरिनेछ l

३ नेपाली र दनुवारी भाषाको तुलनात्मक विश्लेषण
प्रस्तुत अध्ययनमा संकलित तथ्यहरूलाई निम्न उपशीर्षकमा राखी विश्लेषण गरिएको छ :

३ .१ उद्देश्य र विधेयका वीच पदसङ्गति

अ. वाक्यमा उद्देश्यका रूपमा कर्ता र कर्म आउने गर्दछन् l कर्तृवाच्यमा कर्ता र कर्मवाच्यमा कर्म नै उद्देश्य रहन्छन् l वाक्यमा उद्देश्य जुन लिङ्ग ,वचन ,पुरुष र आदरको हुन्छ विधेय पनि त्यही लिङ्ग ,वचन ,पुरुष र आदरको हुनुपर्दछ :
नेपाली --- दनुवारी
पुलिङ्ग :- तँ जान्छस् --- तुई जाइछ
ऊ जानेछ --- ऊ जेतो
छोरो गयो --- बेटा गेलो
स्त्रीलिङ्ग:- तँ जान्छेस् --- तुई जाइछ
छोरी गई ---- बेटी गेलो
ऊ जानेछ ---- ऊ जेतो
माथिका उदाहरणअनुसार नेपाली भाषामा कर्ता पुलिंग रहँदा क्रिया पनि पुलिंग नै छ र कर्ता स्त्रीलिंग हुँदा क्रिया पनि स्त्रिलिंग नै छ l यो लिंगका दृष्टिले हुने कर्ता र क्रियाका बिचको पदसंगति हो l
दनुवारी भाषामा हुने बाक्य गठनलाई हेर्दा कर्तामा लिङ्गभेद देखिएको छ तर कर्तामा लिङ्ग जे भए पनि क्रियापद एउटै छ l अत: दनुवारी भाषामा लिंगका दृष्टिले कर्ता र क्रियापद बिच पदसंगति छैन l
नेपाली ---- दनुवारी
एकवचन :- मा जान्छु -- हम जाइसियो
तँ आउँछस् -- तुई आब्छ
केटो दिन्छ -- छौरा देछो
वहुवचन :- हामी जान्छौं -- हमरसिया जाइसियो
तिमीहरू आउछौ -- तोहरसिया आब्छ
केटाहरू दिन्छन् -- छौरासब देछो
नेपाली भाषामा कर्ताको बचनअनुसारकै वचन क्रियामा पनि देखिएकाले वचनका आधारमा कर्ता र क्रियाका बीच पदसंगति छ तर दनुवारी भाषा कर्तामा एकवचन र बहुवचन पाइन्छ तर क्रियापदमा भने बचनको भिन्नता देखिदैन अत: क्रिया भिन्न नभई एउटै रूपमा दुवै वचनसंग आएर कर्ता र क्रियाका बीचमा पदसंगति भएको छ l
नेपाली --- दनुवारी
प्र.पु. :- म पढ्छु। --- हम पढसियो
हामी आउछौं। --- हमरसिया आब्सियो
द्वि.पु.:- तै खान्छस्। --- तुई खाइछ
तिमी भन्छौ। --- तुई कहछ
तपाई भन्नुहुन्छ। -- तुई कहछ
तृ.पु. :- ऊ सुन्छ। --- ऊ सुन्छो
उनीहरु सुन्छन्। --- ओकरसिया सुन्छो
छोरो आउँछ। --- बेटा आब्छो
नेपाली भाषामा भएको व्यकरणिक व्यवस्थानुसार कर्ता जुन पुरुषको छ क्रिया पनि उही पुरुषको भई पदसंगति भएको छ। दनुवारी भाषामा पनि कर्ताको पुरुष र क्रियाको पुरुषका बीचमा पदसंगति भएको छ। प्रथम पुरुषको लागि “सियो" द्वितीय पुरुषका लागि “छ” र तृतीय पुरुषका लागि “छो" प्रत्यय धातुमा जोडिएर संगति भएको छ।
नेपाली --- दनुवारी
अनादर:- तँ खान्छस -- तुई खाइछ
ऊ सुनाउँछ -- ओइले सुनाइछो
सामान्य आदर:- तिमी भन्छौ -- तुई कहछ
उनी दिन्छन् -- ओइले देछो
उच्च आदर:- तपाई खानुहुन्छ -- तुई खाइछ।
उहाँ आउनुहुन्छ -- ऊ आब्छो
अत्युच्च आदर:- हजुर भनिसिन्छ -- अहाँ कहछ
हजुर गइसिन्छ -- अहाँ जाइछ
नेपाली भाषामा आदरार्थीको तहअनुसार क्रियापदको रुपावली छ । कर्तामा आदरको जुन तह छ त्यही तह जनाउने क्रियापद आएर कर्ता र क्रियाका बीचमा पदसंगति भएको छ तर दनुवारी भाषामा सवै तहको आदरमा क्रियापदको रुपावली एउटै छ।अत: दनुवारी भाषामा आदरको तहमा पदसङ्गति व्यवस्था अत्यन्त सरल छ नेपालीमा जस्तो जटिल छैन l
आ. नेपाली भाषाको व्याकरणिक व्यवस्था अनुसार कर्मवाच्यमा कर्मपद नै उद्देश्य रहने भएकाले कर्म अनुसारको क्रिया रहन्छ।
नेपाली -- दनुवारी
तपाईबाट भात खाइन्छ। -- तोहरस् भात खाइल जेतो।
रमेशबाट सीता बोलाइन्छे-- रमेशस् सीता बोलाइल जेतो।
मबाट केटाहरु ठगिन्छन् -- हम्रस् छौरासव ठगाइल जेतो।
तिमीहरुबाट हामी बोलाइन्छौ।-- तोहरस् हमरसिया बोलाइल जेबो।
ऊद्वारा तिमी पुजिन्छौ। -- ओकरस् तुइ पुजाइल जेबो ।
उनीद्वारा म लुटिन्छु। -- ओकरस् हम लुटाइल जेबो।
मबाट तँ पिटिन्छस। -- हम्रस् तुई पिटाइल जेब।
नेपाली भाषिक व्यवस्था अनुसार कर्म उद्देश्य भएको वाक्यमा कर्मको लिङ्ग, वचन र पुरुषका आधारमा क्रिया रहेर पदसंगति हुन्छ। दनुवारी भाषामा भने कर्मवाच्यमा कर्मअनुसार क्रियापदको संगति पुरुषका आधारमा मात्र हुन्छ । प्रथम पुरुषका लागि र द्वितीय पुरुषका लागि एउटै रुप धातुमा “आइल जेबो “ रूपायक प्रत्यय र तृतीय पुरुषका लागि धातुमा “आइल जेतो “ रूपायक प्रत्यय लागेर सङ्गति भएको छ l लिङ्ग र वचन कर्ममा जे भए पनि त्यसले क्रियालाई प्रभाव पार्दैन तर कर्मको पुरुषले भने क्रियापदमा प्रभाव पार्दछ
इ. भाववाच्यमा उद्देश्य नै रहँदैन । उद्देश्य नै नरहेपछि उद्देश्य र विधेय (क्रिया) का बीच लिङ्ग, वचन, पुरुष र आदरका आधारमा पदसंगति मिलाइरहनु पर्दैन । भाववाच्य बनाउँदा क्रियापद तृतीय पुरुष, एकवचन, पुलिङ्ग रुपमा रहन्छ ।
नेपाली --- दनुवारी
भोलि यही बसिन्छ --- कालु यतही रहल जेतो
कहिले आइन्छ ? --- कह्या आइल जेतो ?
जनकपुर गइन्छ --- जनकपुर जाइल जेतो
नेपाली व्याकरण व्यवस्थामा भएको जस्तै व्याकरणिक व्यवस्था दनुवारी भाषाको भाववाच्यमा पाइन्छ । दनुवारी भाषामा भाववाच्यको क्रियापदको रुप “धातु+ल+जेतो" मात्र भएको पाइन्छ। अत: भाववाच्यमा दनुवारी र नेपाली भाषामा पदसङ्गति व्यबस्थामा समानता पाइन्छ l

३ .२. नाम र सर्वनामका बीच पदसंगति :
अ. सर्वनामको प्रयोग जुन नामका ठाउँमा हुन्छ त्यही नामको वचन आदरको आधारमा सर्वनाम रहन्छ ।
नेपाली दनुवारी
रमेश घर जान्छ र ऊ भात खान्छ। -- रमेश घर जाइछो आ ओइले भात खाइछो।
मीना किताव किन्छे र ऊ पदछे। -- मीना किताव किन्छो आ ओइले पढ्छो ।
माया र प्रिती एउटै कक्षामा पढ्छन् । -- माया आ प्रिती एकेटा कक्षाम पढ्छो ।
ऊनीहरु साथी हुन् । -- ओकरसिया साथी छो।
राम भात खान्छ र ऊ सुत्छ। -- राम भात खाइछो आ ऊ सुत्छो।
सरीता आउँछे र ऊ फेरि जान्छे। -- सरीता आब्छो आ ऊ फेनु जाइछो।

नेपाली भाषामा नाम शब्द जुन वचन र आदरमा प्रयोग भएको छ उक्त नामको सट्टामा आउने सर्वनाम पनि त्यही वचन र आदारमा रहने गरी प्रयोग गरिन्छ तर दनुवारी भाषामा नाम र सर्वनामका बीच हुने पदसंगति अलिकति भिन्न छ। नामको प्रयोगको सट्टा आउने सर्वनाम “ऊ” र “ओईले" क्रियापदका आधारमा निर्धारण हुने गर्दछ। सकर्मक क्रिया भएमा “ऊ “ सर्वनाममा “ले” विभाक्ति जोडिएर “ओइले” र अकर्मक क्रिया भएमा भिभक्तिरहित “ऊ” प्रयोग भएर नाम र सर्वनामका बीच पदसंगति हुनेगर्दछ। नेपाली र दनुवारी दुवै भाषामा सर्वनाम स्वयमले लिङ्गभेद जनाउदैन तर नेपाली भाषामा त्यो सर्वनामले लिने क्रियापदले लिङ्ग, वचन जनाउँछ भने दनुवारी भाषामा क्रियापदले लिङ्गभेद जनाउदैन ।

आ. नेपाली व्याकरण व्यवस्था अनुसार मानववोधक नामका ठाउमा “ऊ, ऊनीहरु" सर्वनामको प्रयोग हुन्छ भने मानवइतरवोधक नामको ठाउँमा चाहिँ “यो, त्यो, यिनीहरु, तिनीहरु" सर्वनामको प्रयोग हुन्छ। (श्रेष्ठ - २०५९:१४३)
नेपाली --- दनुवारी
गोरु आयो । यो फेरि भाग्छ । -- वरहद यलो। ऊ फेनु भाग्छो ।
आकाशमा चराहरु छन् । -- आकाशम् चरासव छो।
तिनीहरु धेरै टाढा पुग्छन् । -- ऊसव बहुतरा दुर पुरछो।
खोलापारि चरिरहेको गाई मेरो हो l --- खोलाक् ओइपार चरल गाई हम्र सियो l
त्यसले धेरै दूध दिन्छ l ओइले बहुतरा दूध देछो l

दनुवारी भाषामा सर्बनामको प्रयोग मानबवोधक र मानवइतरवोधकमा फरक फरक नभई मानववोधक र मानवइतरबोधक दुवै नामका ठाउँमा “ऊ" र “ ऊ “मा “ले “ विभाक्ति लगेर “ओइले “ सर्वनाम नै प्रयोग हुन्छ ।

३ .३. विशेष्य र विशेषणका बीचको सङ्गति :

सङ्गतिको यस किसिमले विशेष्य (विशेषणले विशेषता जाहेर गरेको नाम) र विशेषणको मेल बुझाउँछ। विशेष्यको जुन लिङ्ग, वचन हुन्छ, विशेषणको पनि त्यही लिङ्ग, वचन हुन्छ।
नेपाली ---- दनुवारी
एकवचन -- रातो फूल --- लाल फूल
राम्रो केटो --- असली जरा
कालो लुगा --- कारिय नुवा
वहुवचन -- राता फूलहरु --- लाल फूलसव
राम्रा केटाहरु --- असली छौरासव
काला लुगाहरु -- कारिय नुवासव

दनुवारी भाषामा विशेषणको वचन हुदैन l विशेष्यमा देखापर्ने दुवै वचनका निम्ति विशेषण एउटै प्रयोग हुन्छ। नेपालीमा विशेष्यको वचन जुन छ, विशेषणको वचन पनि त्यही हुनपर्छ तर दनुवारी भाषामा विशेष्य जुनसुकै वचनको भए पनि विशेषण एउटै हुन्छ । अत: दनुवारी भाषामा दिशेशन विशेष्यका बीच वाचनका आधारमा पदसङ्गति नरहेको वा नेपाली भाषामा जस्तो नरहेको पाइन्छ l

नेपाली -- दनुवारी
पुलिङ्ग -- कालो केटो -- करिया छौरा
राम्रो छोरो -- असली बेटा
जेठो दाज -- जेठ दाजु
स्त्रीलिङ्ग -- राम्री छोरी -- असली बेटी
काली केटी -- कारिय छोरी
जेठी दिदी -- जेठ दिदी
नेपालीमा विशेष्यको लिङ्ग जुन छ, विशेषणको लिङ्ग पनि त्यही हुनपर्छ तर दनुवारी भाषामा विशेष्य जुनसुकै लिङ्गको भए पनि विशेषण एउटै हुन्छ । अत: दनुवारी भाषामा दिशेशन विशेष्यका बीच लिङ्गका आधारमा पदसङ्गति नरहेको वा नेपाली भाषामा जस्तो नरहेको पाइन्छ l

३ .४. भेदक भेद्यबीचको संगति :
भेद्य (विशेष्य पद), भेदक (सम्वन्धवाची ) षष्ठी विभक्ति (को, का, कि, रो,रा,री, नो, ना, नी) बीच रहने सम्वन्धलाई भेदक भेद्य पदसंगति भनिन्छ । यो नेपालि भाषामा लिङ्ग र वचन अनुरुप हुन्छ।
नेपाली -- दनुवारी
पुलिङ्ग -- रामको भाइ -- रामक् भाइ
हाम्रो छोरो -- हमरसिक् बेटा
आफ्नो दाजु --- अपन् दाजु
स्त्रीलिङ्ग --- रामकी बहिनी --- रामक् बहिन्
हाम्री छोरी --- हमरसिक् बेटी
आफ्नी दिदी --- अपन् दिदी
नेपालीमा भए जस्तो भेदक भेद्य बीचको पदसंगतिमा लिङ्गको प्रभाव दनुवारी भाषामा छैन । भेद्यको लिङ्ग जुनसुकै भए पनि भेदकमा लिङ्ग भेद दनुवारी भाषामा छैन ।
नेपाली ---- दनुवारी
एकवचन -- रामको भाइ --- रामक भाइ
हाम्रो छोरो --- हमरसिक बेटा
आफ्नो दाजु --- अपन दाजु
वहुवचन -- रामका भाइहरु --- रामक भाइसब
हाम्रा छोराहरु --- हमरसिक बेटासब
आफ्ना दाजुहरु --- अपन् दाजुसब

नेपाली भाषामा भेदकको वचन भेद्यको वचनले निर्धारण गर्छ। तर दनुवारी भाषामा भेदकमा वचनको प्रभाव परेको पाईदैन । भेद्य जुनसुकै वचनको भए पनि भेदकमा वचनको भिन्नता पाइदैन l
४ दनुवारी भाषी विद्यार्थीलाई नेपाली भाषा सिक्दा उत्पन्न हुने भाषिक व्याघात
दनुवारी मातृभाषी विद्यार्थीहरु घर व्याबहार , साथीसंगी र छरछिमेकीसंगको भाषिक सम्पर्कबाट दनुवारी भाषामा अभ्यस्त भैसकेपछि उनीहरुले दोस्रो भाषाको रूपमा नेपाली भाषा सिक्दा दनुवारी भाषिक व्यबस्थाको भाषिक अनुभवलाई नेपाली भाषामा स्थानान्तरण गर्दछन् l यसरी स्थानान्तरण गर्दा नेपाली भाषा सिकाइमा सकारात्मक र नकारात्मक दुवै असर उत्पन्न हुन्छ l दनुवारी भाषाको भाषिक अनुभव नेपाली भाषामा स्थानान्तरण गर्दा देखिने नकारात्मक असरलाई व्यतिरेकी भाषाविज्ञानले व्याघात भन्दछ l दनुवारी भाषाको भाषिक अनुभवलाई नेपाली भाषामा स्थानान्तरण गर्दा दनुवार भाषी विद्यार्थीलाई पर्ने भाषिक व्याघातलाई बुँदागत रूपमा यसरी देखाइएको छ :
• नेपाली भाषामा लिङ्गका आधारमा पदसङ्गति हुदा क्रियापदको धातुमा पुलिङ्गवोधक र स्त्रीलिङ्गवोधक फरक फरक रूपायक प्रत्यय लाग्दछ तर दनुवारी भाषामा त्यस्तो व्यबस्था नभएकाले दनुवारी भाषाको व्यबस्था अनुसार दनुवार भाषी विद्यार्थीले सबै खाले कर्तामा पुलिङ्गवोधक क्रियापद प्रयोग गर्दा भाषिक व्याघात उत्पन्न हुने देखिन्छ l
• नेपाली भाषामा वचनका आधारमा पदसङ्गति हुदा क्रियापदको धातुमा एकवचनवोधक र वहुवचनवोधक फरक फरक रूपायक प्रत्यय लाग्दछ तर दनुवारी भाषामा त्यस्तो व्यबस्था नभएकाले दनुवारी भाषाको व्यबस्था अनुसार दनुवार भाषी विद्यार्थीले सबै खाले कर्तामा एकवचनवोधक क्रियापद प्रयोग गर्दा भाषिक व्याघात उत्पन्न हुने देखिन्छ l
• नेपाली भाषामा आदरका आधारमा पदसङ्गति हुदा क्रियापदको धातुमा अनादर ,सामान्यआदर र उच्चा आदरवोधक फरक फरक रूपायक प्रत्यय लाग्दछ तर दनुवारी भाषामा त्यस्तो व्यबस्था नभएकाले दनुवारी भाषाको व्यबस्था अनुसार दनुवार भाषी विद्यार्थीले सबै खाले कर्तामा अनादरवोध क्रियापद प्रयोग गर्दा भाषिक व्याघात उत्पन्न हुने देखिन्छ l
• नेपाली भाषामा पुरुषका आधारमा पदसङ्गति हुदा क्रियापदको धातुमा प्रथमपुरुषवोधक, द्वितीयपुरुषवोधक र तृतीयपुरुषवोधक फरक फरक रूपायक प्रत्यय लाग्दछ तर दनुवारी भाषामा प्रथमपुरुषका लागि एकखाले ,द्वितीयपुरुषका लागि एकखाले र तृतीयपुरुषका लागि एकखाले मात्र रूपायक प्रत्यय लाग्ने हुँदा दनुवारी भाषाको व्यबस्था अनुसार दनुवार भाषी विद्यार्थीले पुरुषको मात्र ख्याल गरी पुरुषसंगै आउने लिङ्ग,वचन र आदरको ख्याल नगरी क्रियापद प्रयोग गर्दा भाषिक व्याघात उत्पन्न हुने देखिन्छ l
• नेपाली भाषामा नामका आधारमा सर्वनाम आएर पदसङ्गति हुन्छ तर दनुवारी भाषामा प्रथमपुरुष सर्वनाम “हम” वा “हमरसिया” , द्वितीयपुरुष सर्वनाम “तुई “ वा “तोहरसिया “ र तृतीयपुरुष सर्वनाम “ ऊ “, “ओइले“ र “ओकरसिया” मात्र प्रयोग हुने भएकाले उपयुक्त सर्वनाम प्रयोगमा पनि भाषिक व्याघात उत्पन्न हुने देखिन्छ l
• नेपाली भाषामा विशेष्यका आधारमा विशेषण र भेदकका आधारमा भेद्यका बीच पदसङ्गति हुने गर्दछ तर दनुवारी भाषामा त्यस्तो व्यबस्था नभएकाले दनुवारी भाषाको व्यबस्था अनुसार दनुवार भाषी विद्यार्थीले सबै खाले विशेष्यका लागि एकवचन पुलिङ्गवोधक विशेषण र सबै खाले भेदकका लागि एकवचन पुलिङ्गवोधक भेद्यका रूपहरू प्रयोग गर्ने सम्भावना भएकाले भाषिक व्याघात उत्पन्न हुने देखिन्छ l

५ निष्कर्ष
दनुवारी भाषामा पद संगतिको व्यवस्था नेपाली भाषामा जस्तो जटिल नभई सरल भएको पाइन्छ। उद्देश्य र विधेयका आधारमा हुने पदसंगति लिङ्ग ,वचन र आदरका आधारमा हुदैन , पुरुषको आधारमा मात्र हुन्छ । लिङ्ग , वचन र आदर उद्देश्यमा जे भए तापनि विधेयमा चाहिँ एउटै हुन्छ ।नाम र सर्वनामका बीचमा हुने पदसंगति दनुवारी भाषामा छैन । बरु सर्वनाम र क्रियापदका बीचमा पदसंगति भएको पाइन्छ । अकर्मक क्रियासंग “ऊ" सर्वनाम र सकर्मक क्रियासंग "ओइले" सर्वनामको प्रयोग हुन्छ । नेपाली भाषामा विशेष्यका आधारमा विशेषण र भेदकका आधारमा भेद्यका बीच पदसङ्गति हुने गर्दछ तर दनुवारी भाषामा त्यस्तो व्यबस्था नभएर सबै खाले विशेष्यका लागि एकवचन पुलिङ्गवोधक विशेषण र सबै खाले भेदकका लागि एकवचन पुलिङ्गवोधक भेद्यका रूपहरू प्रयोग हुन्छन् l
कुनै पनि पहिलो भाषी विद्यार्थीले दोस्रो भाषा सिक्दा पहिलो भाषाको अनुभव दोस्रो भाषामा स्थानान्तरण गर्ने भएकाले दनुवार मातृभाषी विद्यार्थीहरूले दनुवारी भाषिक व्यबस्थाको भाषिक अनुभवलाई नेपाली भाषामा स्थानान्तरण गर्दछन् l यसरी स्थानान्तरण गर्दा नेपाली भाषा सिकाइमा सकारात्मक र नकारात्मक दुवै स्थानान्तरण देखिने सम्भावना रहन्छ l दनुवारी भाषाको भाषिक अनुभव नेपाली भाषामा स्थानान्तरण गर्दा देखिने नकारात्मक असरलाई व्यतिरेकी भाषाविज्ञानमा व्याघात भनिन्छ l नेपाली भाषामा लिङ्ग, वचन र आदरका आधारमा उद्देश्य र विधेयका बीच पदसङ्गति हुन्छ तर दनुवारी भाषामा त्यस्तो व्यबस्था नभएकाले दनुवारी भाषाको व्यबस्था अनुसार दनुवार भाषी विद्यार्थीले उद्देश्यको लिङ्ग , वचन र आदरलाई ख्याल नगरी विधेयको प्रयोग गर्न सक्ने सम्भावाना भएकाले भाषिक व्याघात उत्पन्न हुने देखिन्छ l त्यसैगरी नाम र सर्वनाम , विशेषण र विशेष्य अनि भेदक र भेद्यका बीच पदसङ्गति गर्दा पनि लिङ्ग ,वचन र आदरको प्र५अयोग् नेपालि भाषामा जस्तो नभएर सरल भएकाले यी ठाउँहरूमा पनि भाषिक व्याघात उत्पन्न हुने देखिन्छ l
सन्दर्भ ग्रन्थ सूचि
• Al-khresheh, Mohammad H. (2016), A review study of error analysis theory, state university Los Angels,International Journal of Humanities and Social Science Research 2: 49-59.
• Lado, Robert (1957), Linguistics across cultures: Applied linguistics for language teachers, Ann Arbor: University of Michigan Press.
• Mair, C. (2005), Recent Advances in contrastive linguistics and language typology : The spin-off for language teachers. In Linguistics, language teaching and language learning, David J. Allerton, Cornelia Tschichold, and Judith Wieser, ed., 21–39. Basel, CH: Schwabe AG.
• Weinreich, Uriel (1953), Languages in contact: findings and problems, New York :The Hague Mouton publishers .
• अधिकारि ,हेमाङ्गराज (२०६५ ) , सामाजिक र प्रायोगिक भाषाविज्ञान , काठमाडौं :रत्न पुस्तक भण्डार l
• ढुङ्गेल भोजराज र दाहाल दुर्गाप्रसाद (२०६३ ) , प्रायोगिक भाषाविज्ञान , काठमाडौं: एम.के. पब्लिसर्स एण्ड डिष्ट्रिब्यूटर्स l
• भाषा आयोग. (२०७५). भाषा आयोगको वार्षिक प्रतिवेदन. काठमाडौं : भाषा आयोग ।
• रेड्डी , विजय राघव (सन् १९८६), व्यतिरेकी भाषा विज्ञान , आगरा : विनोद पुस्तक भण्डार ।
• लम्साल ,रामचन्द्र (२०६३ ) प्रायोगिक भाषाविज्ञान , काठमाडौं: भुँडीपुराण प्रकाशन l
• वन्धु ,चुडामणि (२०७३ ) , भाषाविज्ञान , काठमाडौं: साझा प्रकाशन l

कमला वहुमुखी क्याम्पस
दुधौली , सिन्धुली

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 13 भाद्र, 2077

लेखकका अन्य रचनाहरु