‘सहिदको सालिक’ कथामा प्रगतिवादी चेतना

- नानीमाया राना

लेखसार
प्रस्तुत अध्ययनमा ‘सहिदको सालिक’ कथा माक्र्सवादी वर्ग सङ्घर्षको दृष्टिकोणबाट विश्लेषण गरिएको छ । ‘सहिदको सालिक’ कथामा वर्गीय द्वन्द्वको कारण र आवश्यकता पहिल्याउनु उद्देश्य रहेको यस अध्ययनको ढाँचा गुणात्मक छ । यस अध्ययनमा पुस्तकालय अध्ययन पद्धतिबाट प्राप्त सामग्रीको गहन अध्ययन पश्चातको निष्कर्षका रुपमा यो लेख तयार पारिएको छ । सदियौंदेखि मानव समाजमा जमिन्दार–किसान, मालिक–नोकर, शासक–शासित जस्ता उच्च र निम्न वर्गका बीच सङ्घर्ष हुँदै आएको छ । यही क्रममा नेपाली समाजमा पनि बेला बेलामा जनताले शासकका विरुद्धमा सङ्घर्ष गर्नु परेका उदाहरण छन् । यसको एक उदाहरण दश वर्षे जनयुद्ध हो भन्ने कुराको प्रस्तुति यस कथामा गरिएको छ । पटक पटक सङ्घर्ष गरेपनि सर्वसाधारण जनताको जीवनस्तरमा कुनै परिवर्तन आउन सकेको छैन । सङ्घर्षमा बलिदानी दिनेहरूका परिवारको विचल्ली मात्र देखिन्छ । तिनका वलिदाली सालिकमा सीमित बनेको छ । सत्तामा बसेका मानिसले परिवर्तनको मर्मअनुरुप कार्य नगरेको, जनताको अवस्था झन कमजोर बन्दै गएकोले क्रान्तिको आवश्यकता पुनः बढेको छ भन्ने कुरा यस कथामा प्रस्तुत गरिएको छ ।
मुख्य शब्दावली
प्रगतिवाद, जनयुद्ध, भूमिगत, आतङ्क, द्वन्द्व, वर्गीय मुक्ति
१ विषय परिचय
प्रगतिवादी साहित्य लेखनमा समर्पित घनश्याम ढकाल (वि.सं.२०१०–२०६८) मूलतः आख्यानकार हुन् । यिनका वर्तमान सम्ममा सातवटा आख्यानात्मक कृतिहरू प्रकाशित छन् । यिनका आख्यानात्मक कृतिहरूमा भरिया र यात्री (२०४६), सहिद मानचित्रमा नपरेको सहिद (२०४८) समर्पणको बाटोमा (२०५०), आजको महाभारत (२०५५), सहिदको सालिक (२०६०) गरी जम्मा पाँचवटा कथा सङ्ग्रहहरू प्रकाशित भएका छन् । यिनका अतिरिक्त गाउँभित्र (२०४७), र रातो आकाश (२०६०) गरी दुईवटा उपन्यास प्रकाशित छन् । उनका कथा फुटकर रुपमा विभिन्न पत्रपत्रिकामा पनि प्रकाशित छन् । पञ्चायतकाल, बहुदल हुँदैँ लोकतान्त्रिक परिवेशको नेपाली सामाजिक जनजीवनलाई आफ्ना कथाहरूमा समेट्न पुगेका ढकालको पछिल्लो कथाकृति ‘सहिदको सालिक’ जनयुद्धकालीन यथार्थको प्रतिबिम्बन हो । यस सङ्ग्रहमा रहेका कथाहरू जनयुद्ध तथा द्वन्द्वकालका परिवेशका रहेका छन् । प्रस्तुत अध्ययनमा ‘सहिदको सालिक’ कथालाई माक्र्सवादी दृष्टिकोणबाट समीक्षा गरिएको छ ।
सर्वहारा तथा सम्पूर्ण उत्पीडित वर्ग एवं समुदायको मुक्तिका लागि उत्पीडनकारी समाजलाई रूपान्तरण गर्दै समाजवादी समाज हुँदै साम्यवादमा पु¥याउने लक्ष्य एवं आदर्शद्वारा डोरिएर लेखिने साहित्य माक्र्सवादी साहित्य हो । यसरी हेर्दा माक्र्सवादी साहित्य माक्र्सवादको जीवन दृष्टिबाट निर्देशित साहित्य हो भने जीवन र जगत्लाई द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणले व्याख्या गर्दै समाजको विकासक्रमलाई ऐतिहासिक भौतिकवादी चिन्तनका साथ व्याख्या र विश्लेषण गर्ने दर्शन माक्र्सवाद हो । यसले समाजलाई वर्गीय दृष्टिले हेर्दछ । ‘माक्र्सवादले मानव समाज र सिर्जनाको वस्तुनिष्ठ एवम् प्रामाणिक व्याख्या गर्नुका साथै चेतनाको स्रोतका रूपमा वस्तु वा पदार्थलाई मान्दछ’ (भट्राई र काफ्ले, २०७७) । अनि माक्र्सवादी साहित्यले चाहिँ समाजमा रहेको अन्याय, अत्याचार र विभेदको अन्त्य गरी समानतामूलक र न्याय पूर्ण समाजको निर्माण गर्ने उद्देश्य राख्दछ । ‘सहिदको सालिक’ कथामा नेपालको जनयुद्धमा ज्यान गुमाउन पुगेका युवाहरू र उनीहरूका घर परिवारका सदस्यले भोग्नु परेको यातनाको चर्चा गरिएको छ । देशमा शान्तिको वातावरण भए पछि ज्यान गुमाउने युवाहरूको सम्झनाको लागि सालिक निर्माण गर्ने पैसाको माग गर्न जाँदा तिनै युवाको रगत बगाएर सत्तामा पुगेका नेताले जनताको बलिदानको कदर नगर्ने प्रवृत्ति यहाँ प्रस्तुत गरिएको छ । वर्तमान समाजका नेता कहलाउँदाहरू सत्ताको लागि गाउँले गरीबहरूको सहारा लिने गर्दछन जब उनीहरू सत्तामा पुग्छन् आफ्नो धरातल नै बिर्सन पुग्छन् । जसका कारण क्रान्ति र परिवर्तनका अपेक्षा पूरा हुन सक्दैन्न र पुनः विद्रोहको आवश्यकता खट्किन थाल्छ । स्रष्टा घनश्याम ढकालद्वारा रचना गरिएको प्रस्तुत ‘सहिदको सालिक’ कथालाई माक्र्सवादी सिद्धान्तको यिनै मूलभूत मान्यताका आधारमा विश्लेषण गरिएको छ ।

२ समस्या कथन र उद्देश्य
प्रस्तुत अध्ययनमा ‘सहिदको सालिक’ कथालाई प्रमुख समस्याका रुपमा लिइएको छ । समय परिवर्तनशील भए पनि मानिसहरूका व्यवहार सोच कुनै कुरामा पनि परिवर्तन आउन सकेको छैन । दमक वर्गले दमित वर्गको उपयोग गरेर आफ्नो मुनाफा गरिरहेको हुन्छ । सधैँ उसले अनेक आश्वासन दिएर जनताको साथ र सहयोगमा उच्च ठाउँमा पुग्छ तर उसले कहिल्यै ती कमजोेर वर्गको हितको काम गरेको देखिदैन । निम्न वर्ग सधैँ पीडा र अभावमा बाच्नु परेको छ । उनीहरूका आधारभूत आवश्यकताको पनि सुनुवाइ हुँदैन । उच्च वर्ग उच्च हुँदै जाने र निम्न वर्ग सधैँ निम्न हुदै गएको देखिन्छ । निम्न वर्गले आफ्नो श्रमको मूल्य पाउन सकेका छैनन् । समाजमा विद्यमान वर्गीयद्वन्द्वको कारण र आवश्यकताको पहिचान गर्नु यस अध्ययनको मुख्य समस्या हो । ‘सहिदको सालिक’ कथामा नेपाली जनताले द्वन्द्वकालमा दिएको बलिदान स्वरुप प्राप्त गरेको तिरस्कारको कारण वर्गीय द्वन्द्व र त्यसको आवश्यकता किन रहेको छ ? भन्ने समस्यामा यो अध्ययन आधारित रहेको छ ।
उक्त समस्यामा आधारित भएर प्रस्तुत अध्ययनको उद्देश्य निम्न रहेको छ ।
(क) ‘सहिदको सालिक’ कथामा वर्गीय द्वन्द्वको कारण र आवश्यकता पहिल्याउनु ।
३ सैद्धान्तिक पर्याधार
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तन दृष्टिमा आधारित भएर लेखिएको साहित्यलाई माक्र्सवादी साहित्य भनिन्छ । उत्पादन सम्बन्धले समाजको स्वरूपलाई निर्धारण गर्छ भन्ने मान्यता राख्ने यस्ता साहित्यको विषयवस्तु नै वर्ग सङ्घर्षमा आधारित समाजको यथार्थ हो । माक्र्सवादी साहित्यले समाजमा हुने शोषण अन्याय, अत्याचार र उत्पीडनका विरुद्ध सशक्त आवाज उठाउँछ । यसका साथै यस्ता कला साहित्यलाई समाज रूपान्तरणको हतियारका रूपमा लिइन्छ । सामन्तवादी तथा पुँजीवादी उत्पादन सम्बन्ध तथा राज्यसत्ताका विरुद्धमा रही समाजवादी उत्पादन सम्बन्ध तथा राज्यसत्ताको निर्माणका पक्षमा रहनु यसको अभिष्ट हो (चापागाई, २०६७) । माक्र्सवादी साहित्यबारे स्पष्ट हुनका लागि यसको दार्शनिक आधारका रूपमा रहेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तनलाई बुझ्नु पर्ने हुन्छ । माक्र्सवादले परम्परागत मूल्य र मान्यताका रुढि र अवैज्ञानिकतालाई अस्वीकार गर्छ र त्यसका स्थानमा नयाँ र वैज्ञानिक मूल्य मान्यतालाई स्थापित गर्नका निम्ति सङ्घर्ष गर्छ । जनताले गरेका वर्गसङ्घर्ष, उत्पादन सङ्घर्ष र जीवन सङ्घर्षहरूले नै मानवीय जीवनका संवेदनाहरूलाई पनि अत्यन्त विशिष्टीकृत गर्दै समग्र मानवीय जीवनका हितमा व्यक्तिगत हित अन्तर्निहित भएको ठान्दछ । वर्ग भनेको आम्दानी र आम्दानीका स्रोतहरूको समानता भएका मानिसहरूको समूह हो । वर्ग सङ्घर्षले सर्वहारा वर्गको अधिनायकत्वतर्फ लैजान्छ । यो अधिनायकत्व स्वयं पनि वर्गहरूको उन्मूलन र वर्गहीन समाजतर्फ सङ्क्रमणसम्म मात्र रहन्छ (शर्मा एण्ड लुइटेल, २०६७ पृ.१४५) । द्वन्द्व भनेको सामाजिक वर्गहरूका बीच हुने अन्तर्विरोधहरूको आपसी सङ्घर्ष र त्यसको परिणाम हो ।
समाजमा हुने शोषण, अन्याय, अत्याचार, प्रताडना र वर्गीय विभेदले सिर्जना गर्ने गैर मानवीय व्यवहारलाई माक्र्सवादी साहित्यले बिरोध मात्रै गर्दैन, त्यसका विरुद्ध सशक्त ढङ्गले प्रतिकार गर्नु पर्ने धारणा अभिव्यक्त गर्दछ । यसले अँध्यारोेका विरुद्ध उज्यालो, पुरानोका विरुद्ध नयाँ, मृतका विरुद्ध जीवित, कुरूपताका विरुद्ध सुन्दरता, पतनोन्मुखका विरुद्ध उदयोन्मुख शक्तिको पक्ष लिन्छ । यसले जनताको मन, मस्तिष्कमा चेतना जगाएर आफू वरिपरिको संसार बुझ्न, विश्लेषण गर्न र फेर्नका लागि शक्ति प्रदान गर्छ । त्यसैले प्रगतिवाद परिवर्तनको सिद्धान्त हो (बराल, २०४८ पृ.१४) । यसरी हेर्दा माक्र्सवादी साहित्यिक मान्यताले परम्परागत रूपमा नै कुरूप प्रवृत्ति, चिन्तन, व्यवहार र पद्धतिको चर्काे रूपमा आलोचना गर्दै त्यसको अन्त्यका निम्ति कलात्मक उद्वेगको प्रयोग गर्दछ । वर्ग विभेदकारी एवं उत्पीडनमा आधारित सामाजिक राजनीतिक संरचनाका विरुद्धमा सामाजिक चेतनाको जगलाई उठाउँदै त्यस संरचनाका विरुद्ध सम्पूर्ण श्रमजीवी, किसान, मजदुरमा विद्रोहको सचेतना भरेर आमूल परिवर्तन गर्ने उत्कृष्ट अभिलाषा माक्र्सवादी साहित्यमा देखिन्छ । उनीहरूका अनुसार साहित्य भनेको समाज रुपान्तरणको महŒवपूर्ण हतियार हो । साहित्यले समाजमा भएको विकृति, विसङ्गति, शोषण, उत्पीडनलाई जनतासामु ल्याउनु पर्छ र जनतामा क्रान्तिचेत भर्नु पर्छ भन्ने अपेक्षा माक्र्सवादले राख्दछ । यसै सन्दर्भमा ‘पार्टी सङ्गठन र पार्टी साहित्य’ नामक लेखमा लेनिन लेख्छन् “साहित्य सर्वहारा वर्गको साझा उद्देश्यको एक अङ्ग बन्नु पर्छ, समस्त मजदुर वर्गको अग्रदलद्वारा सञ्चालित महान् सामाजिक जनवादी मेसिनको ‘दाँत र पेच’ हुनु पर्छ । साहित्य सुसङ्गठित, योजनाबद्ध, एकताबद्ध सामाजिक जनवादी पार्टी कार्यको सङ्घटक अङ्ग बन्नु पर्छ (लेनिन, २०६३ पृ.४७) । यसरी साहित्य भनेको वर्गीय हित र उद्देश्य परिपूर्तिको माध्यम बन्नु पर्छ र त्यस क्रममा क्रान्ति र परिवर्तनको सशक्त हतियार हुनुपर्छ भन्ने माक्र्सवादी मान्यता रहेको छ । माक्र्सवादी मान्यतालाई मुख्य सैद्धान्तिक पर्यायधार मानिएको प्रस्तुत कथाको विश्लेषण निम्न आधारमा गरिएको छ ।
(क) माओवादी जनयुद्धजन्य नवीन यथार्थको प्रतिबिम्बन
(ख) राज्य आतङ्कको यथार्थ
(ग) क्रान्ति र परिवर्तनको चाहाना
(घ) वर्गीय विभेदको अवस्था
(ङ) अन्यायपूर्ण राज्य व्यवस्था
४ ‘सहिदको सालिक’ कथाको कथ्य सन्दर्भ
सहिदको सालिक कथा २०५२ सालदेखि सुरु भएको नेपाली जनयुद्धका माध्यमबाट जनताले स्वतन्त्रता, न्याय र मुक्तिका लागि गरेको महान् बलिदान र सङ्घर्षको गाथा हो । यसको परिवेश भन्नु नेकपा (माओवादी) को नेतृत्वमा भएको दशक लामो जनयुद्ध र त्यसले निर्माण गरेका बलिदान र त्यागको आदर्शजन्य नवीन यथार्थ हो । जनयुद्धको विशेष परिघटनालाई आधार बनाएर लेखिएको कथा भएकाले यसमा युगीन वर्ग सङ्घर्षप्रतिको सचेतता र त्यसको सजीव चित्राङ्कण पनि छ । कथाले नेपाली जनताको बलिदानपूर्ण सङ्घर्ष, राज्य आतङ्क, जनताको परिवर्तनप्रतिको तिव्र अभिलाषा, सहिदको सम्मान, र वर्गप्रेमका सन्दर्भहरूलाई प्रतिबिम्बित गरेको छ ।
४.१ माओवादी जनयुद्धजन्य नवीन यथार्थको प्रतिबिम्बन
सहिदको सालिक कथाले माओवादी जनयुद्धको यथार्थबाट आधार प्राप्त गरेको उल्लेख भइ सकेको छ । २०५२ साल फागुन १ गतेदेखि थालिएको जनयुद्ध नेपालको विशेषतः वर्ग सङ्घर्षका इतिहासमा विकसित सर्वाधिक उच्च स्तरीय र बहुआयामिक साङ्घर्षिक परिघटना हो । यसले सामन्ती राज्यसत्ताका र वर्षौंवर्षको सामाजिक, आर्थिक, लैङ्गिक एवं क्षेत्रीय उत्पीडनका विरुद्ध जनबिद्रोहको निर्माण गरेको हो । यस कथाले सामन्ती राज्यसत्ताका प्रतिरोधमा नयाँ यथार्थको जन्म भएको कुरालाई अभिव्यक्त गरेको छ । सामन्ती चिन्तन र मान्यताका पर्खालहरू भत्किएर नयाँ जनवादी संस्कृतिको विकास हुँदै गरेको यथार्थ पनि कथामा प्रस्तुत छ । कथाले जनयुद्धको आख्यान प्रस्तुत गर्ने क्रममा देशमा कामको जटिलता, राज्यको दमन र त्यसै बिच भएको मणिराजको गिरफ्तारी, उसको छोराको मृत्यु, जेलमा कैदीलाई यातना र हत्याका सन्दर्भबाट जनयुद्धका घटना सन्दर्भहरूलाई प्रस्तुत गर्दै गएको पाइन्छ । त्यस समयमा नेपालको प्रहरी प्रशासन, यातना र दमन, क्रान्तिकारीहरूको आश्रय स्थल र त्यसको अवस्था, पारिवारिक दृढता र आस्था, पार्टी र क्रान्तिप्रति नढलेको आस्था, सेनाको दमन र राज्यको सैनिकीकरण, जस्ता सन्दर्भहरूको याथार्थ अभिव्यक्ति कथाले गरेको छ ।
युगीन वर्ग सङ्घर्ष र त्यसले निर्माण गरेको नयाँ र गतिशील यथार्थको चित्रण गर्ने क्रममा यहाँ मणिराजको अनुभूति उल्लेखनीय देखिन्छ । कथाको पहिलो भागमा मणिराज भूमिगत नभएर खेती किसानी गर्दै युद्धमा सामेल भएको छ । सङ्कटकालमा ऊ समातिएको छ । ऊ जेलमा हुँदा उसको छोरा मारिएको छ । जनताहरू उत्साहित हुँदै भ्रष्टाचारीको सत्तालाई ध्वस्त बनाउन सङ्घर्षको मैदानमा खडा भएका छन् । जनमुक्ति सेना यस न्यायपूर्ण युद्धमा सशक्त भएर लागेको थियो । दुश्मनका किल्लाहरू भत्काइ रहेको थियो । क्रान्तिकारीहरू समानता, स्वतन्त्रता र न्यायको सपना बोकेर युद्ध लड्छन् भन्ने विचार कथामा देख्न सकिन्छ । कथाले जनयुद्धमा जनताको सक्रिय सहभागिता समेतको चित्रण गर्दै विशेषतः युद्धमा संलग्न योद्धाहरू र क्रान्तिकारी गतिविधमा तिनको संलग्ता र आचरण अनि क्रान्तिको भविष्यप्रतिको तिनको धारणाका माध्यमबाट जनयुद्धको ऐतिहासिक परिघटना र त्यसले सिर्जना गरेका नवीन यथार्थका विभिन्न आयामहरूलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको छ ।
४.२ राज्य आतङ्कको यथार्थ
प्रस्तुत कथाले २०५२ सालदेखि सुरु भएको जनयद्ध र युद्धपश्चातको शान्तिको अवस्थालाई मूल वण्र्य विषय बनाएको छ र त्यस क्रममा यसले जनताको विद्रोह चेत र जनयुद्धमा तिनका सहभागिताको चित्रण त गरेकै छ तर सँगसँगै त्यस विद्रोहका प्रतिवादमा तत्कालीन शासकहरूले देखाएका क्रूरता र तिनका अमानवीय दमन, हत्या र आतङ्कको पनि यथार्थ चित्रण गरेको छ । सरकारी दमनको स्थितियति बेला कस्तो थियो भन्नेबारे कथाको पहिलो चरणमा प्रसङग उठाएर भनिएको छ ः‘मणिराजलाई सङ्कटकालमा समातियोे । तीनचार महिना सम्म उसलाई बेपत्ता बनाइयो । आम जनमानसले ऊ मारिएकै अड्कल गरेको थियो । तर, पछि जेलमा लगेछ र जीउँदो भएको पत्तो लाग्यो । उसलाई बेपत्ता पारिएकै अवस्थामा उसको छोरो मारियो । जेलमा पुगेपछि मात्र उसले त्यसको पत्तो पाएको थियो । पुत्रवियोगको समाचार सुन्नेबित्तिकै उसको छाती विदीर्ण भयो । टाउको चक्करायो र जेल नै फनफनी घुम्यो । संसार अँध्यारो भयो र ऊ विचेत भयो । बन्दीका सहयोगले होसमा आउँदा आँखाबाट भलभली आँशु बग्न थाले (पृ. ५२) ।’
यस कथनमा शासकहरूले सङ्कट काल घोषणा गरेपछि आम नागरिकले भोग्नु परेको आतङ्क र यातनाको त्रासदीलाई सजीव ढङ्गले प्रस्तुत गरिएको छ । त्यति बेला पत्रकार, लेखक, सांस्कृतिक कर्मीहरू कसैले पनि आफ्ना विचारहरू निर्धक्कसँग राख्न सक्दैनथे । सत्य र न्यायको पक्षमा बोल्यो भने त्यो आतङ्ककारी कहिन्थ्यो । माक्र्सवादी साहित्यपनि आतङ्ककारी नै मानिन्थ्यो । त्यस्तो साहित्य कसैले बेचेमा, पढेमा, बोकी हिँडेमा ऊ पनि आतङ्ककारी ठहरिएर यातनाको सिकार हुन्थ्यो । यस्तै आरोपमा नागरिकलाई बेपत्ता पार्ने र हत्या गर्नेसम्मका त्रासदीले मुलुक आक्रान्त थियो । कथामा वर्णित मणिराजलाई सरकारी शस्त्रबलले गिरफ्तार गरेर चार पाँच महिना सम्म जेलमा राखेको थियो ।
(ग) क्रान्ति र परिवर्तनको चाहना
‘सहिदको सालिक’ कथाले न्यायपूर्ण समाज निर्माण, विभेद र उत्पीडनमा आधारित सामाजिक संरचनामा आमूल रूपान्तरण, सम्पूर्ण खाले उत्पीडन र परतन्त्रताबाट मुक्तिका लागि नेपाली जनताको उग्र अभिलाषालाई अभिव्यक्त गरेको छ । कथाकारले जनयुद्धका विभिन्न कथा प्रसङ्ग जोडदै जनताको परिवर्तनप्रतिको चाहनालाई अभिव्यक्त गरेका छन् ।
‘आफ्नै लागि मरेन उसले मन थाम्दै गयो । रगतले बाटो फराकिलो बनायो र त्यही बाटो हुँदै लाखौँ मानिस सडकमा ओर्ले । सामन्त खुवी सत्ता ढल्यो । परिस्थितिमा फेरबदल आयो र सास फेर्न थोरै भए पनि सजिलो भयो । शान्ति सम्झौतापछि अरुसँगै मणिराजको पनि रिहाइ भयो ।’
एक दशक लामो क्रान्तिपछि देशमा शान्ति आयो । जता ततै विजयउत्सव मनाइयो । क्रान्तिमा धेरै जन मारिएपछि शान्तिको लागि पहल भएर देशमा युद्ध विराम भयो । सबै भूमिगत भएका मानिसहरू अब सहजैरुपमा सडकमा देखिएका छन् । परिस्थिति वदलियो, गाउँघरमा आर्मी पुलिसहरू आउन छोडेका थिए । गाउँ युद्ध अघिको जस्तो सामान्य अवस्थामा थियो । क्रान्तिमा मारिएका गाउँका युवाहरू सबैको मन मस्तिष्कमा थिए । देशका हजारौँ युवा जनशक्ति देशमा विद्यमान अराजकता, शोषण, उत्पीडन हटाएर परिवर्तनको लागि आफ्नो ज्यानको आहुति दिएका थिए । सुन्दर भविष्यका निमित्त त्याग र बलिदानको आदर्शलाई आत्मसात् गरेर वर्ग सङ्घर्षको त्यस महान् प्रक्रियामा युवा युवतीहरू, योद्धाहरू संलग्न भएका थिए भन्ने यथार्थ कथामा अभिव्यक्त भएका छन्

(घ) वर्गीय विभेदको अवस्था
‘सहिदको सालिक’ कथामा समाजमा वर्गीय विभेदको अवस्थालाई चित्रण गरिएको छ । राज्यको अभिभारा बोकेर जनताले विश्वास गरी पठाएका मन्त्रीहरूले देशमा शासन गरिरहेका छन् । चुनावका अवसरमा जनताको सामु हात जोड्दै हिड्ने मन्त्रीले सत्तामा पुगेपछि तिनै सोझा जनतामाथि शासन गरिरहेका हुन्छन् । सत्तामा हुनेबेला सम्म जनताको माग पूरा गर्नु त टाढै छ जनताका कुरा सम्म सुन्ने समय हुँदैन उनीहरूसँग । आफ्नो व्यक्तिगत स्वार्थमा उनीहरू आफ्नो मान प्रतिष्ठा सबै बेचिसकेका हुन्छन् । जनतालाई बोलेका वचन उनीहरूले विर्सिएर आफ्नो मात्र स्वार्थमा तल्लिन रहेका मन्त्रीको कारण जति क्रान्ति र विद्रोह गरेपनि गरिब जनताको अवस्था र देशको मुहार फेरिन नसकेको अवस्था यस कथामा प्रस्तुत गरिएको छ । जनताले विकासका लागि माग गर्न जाँदा मन्त्रीले माग पूरा गरिदिनु त कहाँ हो कहाँ उसले कुरा सम्म सुनेन भन्ने कुरा निम्न साक्ष्यबाट प्रस्ट पार्न सकिन्छ ।
‘अँ ल भन्नुस् के कुरा छ ? रुखो स्वरमा मन्त्रीले सोधे । बिरामीहरूको भीडमा जाँचिरहेका व्यस्त डाक्टरलेझैँ मन्त्रीले मणिराजलाई छिटो पन्छाउन चाहन्थे । मणिराजले संक्षेपमा कुरा राख्दै थियो तर, कुरा नसकिदैँ मन्त्री जुरुक्कै उठेर भने ‘फोन लिएर जानोस् यहाँको, के गर्न सकिन्छ, म खबर गर्छु भोलि बिहान ।’
प्रस्तुत साक्ष्यबाट निम्न वर्गका मानिसले जति विश्वास र भरोसा गरेर राज्यको अभिभारा सुम्पिए पनि सत्ता पुगे पछि उनीहरूले निम्न वर्गलाई सहयोग नगरेको कुरा प्रमाणित भएको छ ।
(ङ) अन्यायपूर्ण राज्य व्यवस्था
सहिदको सालिक कथामा राज्यमा मन्त्रीहरू विभेदकारी छन् भन्ने कुरा चित्रण गरिएको छ । यस कथामा नेपाली जनताको बलिदानपूर्ण सङ्घर्ष, राज्य आतङ्क, जनताको परिवर्तनप्रतिको अभिलाषा, सहिदको सम्मान, र वर्गप्रेमकालागि भूमिगत भएर कति नेपालीले आफ्नो ज्यान गुमाएका छन् । तिनै तल्लो वर्गका जनताको काँधमा चढेर बनेका मन्त्रीहरूले जनताका सामान्य माग सम्म सुन्न चाँहादैनन् । जनताका सामान्य आवश्यकता पुरा गर्ने सोच राखेका छैनन् । सत्तामा आसिन सिमित वर्गका नजिकका मानिसले मात्र सुविधा पाएका छन् । आम जनताको भावनामाथि ठूलो ठेस लागेको छ । सामान्य आवश्यकता सम्म पूरा गर्न गाह्रो भएको छ । जनताको हकहितका लागि ज्यान गुमाउने सहिदको अपमान भएको छ । मन्त्रीहरू स्वच्छाचारी र स्वार्थमा लिप्त रहेका छन् । वर्गीय चिन्तनलाई विर्सेर विलासी जीवन तर्फ आकर्षित बन्न पुगेका छन् । जनता माथि अन्याय गर्न पुगेका छन् ।
‘मणिराजले साँझ टेलिभिजन हे¥यो । त्यहाँ उसले भेटेका मन्त्रीले मारिएको व्यक्तिलाई सहिद घोषणा गर्दै थिए र सहिद परिवारलाई दशलाख रुपिया सहयोग गर्ने कुरा भन्दै थिए । साथै उनले सहिदको सपना साकार पार्ने अनि सहिदको सालिक स्थापना गर्न सरकारी सहयोग हुुने प्रतिवद्धता पनि जाहेर गरिरहेका थिए । उक्त व्यक्ति कुनै गुण्डाको आक्रमणबाट मारिएको थियो ।’
माथिको साक्ष्यलाई हेर्दा देशका जनताको हकहितको लागि मरेका सहिदका सालिक बनाउने पैसाको सहयोग माग्न गएको मणिराजको कुराको कुनै पनि प्रतिक्रिया नदिएको मन्त्रीले आफूले मारेको व्यक्तिलाई सहयोग गरेको छ । सत्तामा बसेर उसले सहि निर्णय गर्न सकेको छैन । नेपाली जनताले न्याय पाउन सकेका छैनन् भन्ने कुरा प्रस्तुत भएको छ ।
५ निष्कर्ष
सहिदको सालिक कथामा युगीन वर्ग सङ्घर्षको यथार्थलाई प्रस्तुत गरिएको छ । यसले युगीन वर्ग सङ्घर्षको यथार्थलाई कलात्मक रूपमा अभिव्यक्त गर्न सकेको छ । कथामा वर्ग सङ्घर्षले निर्माण गरेका गतिशील यथार्थलाई पनि कथाकारले सुन्दर रूपमा प्रस्तुत गरेका छन् । अन्याय र अत्याचारका विरुद्धमा मानिसले लामो सङ्घर्ष गर्नु परेको यथार्थ यस कथामा प्रस्तुत गरिएको छ । जनताको मुक्तिका लागि कोही भूमिगत भए र कोही आफू बसेको ठाउँबाट नै क्रान्तिलाई समर्थन गरे । धेरै धनजनको क्षति भयो बाबुआमा निसन्तान भए । कैयौं अभिभावकविहीन बने । शान्ति प्रक्रियाका नाममा सम्झौता भए पछि सङ्घर्षको अर्थ र औचित्य फिका हुन गयो । समाजबाट वर्गीय असमानता हटेर जान सकेन । निम्नवर्गका मानिसको आशा निराशामा बदलियो । सत्तामा आसिन व्यक्तित्वहरू आफ्नो फाइदाका लागि मात्र काम गर्न थाले । राज्य व्यवस्था पुन जनताको अहितमा देखिदै गए पछि पुनः अधिकारको लागि अग्रसर हुनुपर्ने चिन्तन यस कथाका रहेको छ । अधिकारबाट जनतालाई बञ्चित गरेपछि, शोषण दमनको कुचक्रमा पारेपछि जनतालाई विद्रोही बनेका हुन् र आउने दिनमा पनि हुनेछन् भन्ने कुरा कथाको निष्कर्ष देखिन्छ । माक्र्सवादी मान्यताको विशिष्ट पक्ष पनि यही हो । यिनै पक्षलाई विश्लेषण गरी प्रस्तुत कथा माक्र्सवादी चिन्तन रहेको उदाहरणीय रचनाका रुपमा सहिदको सालिक बन्न पुगेको निष्कर्ष छ ।


सन्दर्भ सामग्री सूची
चापागाइर्, निनु (२०६७).माक्र्सवादी समालोचना, विधि र मानदण्ड माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, सम्पा.घनश्याम ढकाल, काठमाडौँ ः अखिल नेपाल लेखक
बराल, ऋषिराज (२०४८). प्रगतिवादी नेपाली उपन्यासका मूल प्रवृत्ति, अप्रकाशित विद्या वारिधि
शोध प्रबन्ध. त्रिभुवन विश्व विद्यालय. कीर्तिपुर ।
भट्राई, रमेशप्रसाद र काफ्ले, रजनी (२०७७).साहित्य सिद्धान्त तथा उत्तरवर्ती समालोचना
(मुडल सामग्री).नेपाल खुला विश्वविद्यालय ।
लेनिन, भि.आई.(२०६३).पार्टी सङ्गठन र साहित्य. अनु. राजेन्द्र मास्के. काठमाडौं ः सिर्जनशील
प्रकाशन ।
शर्मा, मोहनराज र लुइटेल, खगेन्द्रप्रसाद (२०६७).पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त.काठमाडौं.विद्यार्थी पुस्तक भण्डार ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 13 भाद्र, 2077

लेखकका अन्य रचनाहरु