‘अर्को मोड’ कथामा डायास्पोरिक र नारीवादी चेतना

- खुम खड्का

सार

प्रस्तुत अनुसन्धनात्मक लेख कथाकार सञ्जु बजगार्इंद्वारा लिखित ‘अर्को मोड’ कथाको अध्ययन विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान ढाँचाको उपयोग गरिएको यस अध्ययनमा डायास्पोरा एवम् डायास्पोरिक साहित्यको सैद्धान्तिक परिचय प्रस्तुत गरिएको छ । कथाको विश्लेषणका लागि विवेच्य कथाभित्र डायास्पोरिक तथा नारीवादी विशेषताहरूको खोजी गरी त्यसका आधारमा समीक्षात्मक मूल्याङ्कन गरिएको छ । अर्को मोड कथा डायास्पोरिक तथा नारी जीवन भोगाइलाई अन्तर्वस्तु बनाएको उत्कृष्ट कथा हो । यस कथामा नेपालबाट युरोप (पेरिस) पुगेका ‘म’ पात्र र उनको पति रोहित जस्ता प्रतिनिधिमूलक पात्रका माध्यमबाट डायास्पोरिक जीवन भोगाइ र नारी जीवन भोगाइ दुवैको जीवन्त चित्रण गरिएको छ । प्रस्तुत कथालाई डायास्पोरिक प्रारूपबाट विश्लेषण गर्दा घरदेश र परदेश, अतीतमोह, परादेशीय हुनुको रोमाञ्च र चिन्ता सघन रूपमा प्रस्तुत भएको पाइयो । विभाजित मानसिकता, अल्पसङ्ख्यक हुनुको पीडा र एकसूत्रको खोजी र आत्मकेन्द्रित प्रविधि जस्ता विशेषता सामान्य रूपमा प्रस्तुत भएको पाइयो । यसै गरी नारीवादी प्रारूपका आधारमा विश्लेषण गर्दा यसको प्रस्तुति भने सघन रूपमा गरिएको पाइयो । कथामा नेपाली नारीले डायास्पोरामा समेत पुरुष (पति) बाट भोग्नु परेका अन्याय, दमन, उपेक्षा र कुटपिटको समेत चित्रण गर्दै त्यसप्रति विद्रोह गरिएको छ । कथामा ‘म’ पात्रले रोहितको दुव्र्यवहार, उपेक्षा र उत्पीडनका कारण आफ्नो जीवनमा पतिको कुनै पनि भूमिकालाई स्वीकार नगरी नारी साथी मारियासँग विवाह गरेर बार्सिलोनातिर प्रस्थान गरेको घटना सशक्त रूपमा प्रस्तुत गरिएको छ । यसबाट पुरुष र पितृसत्तात्मक समाजले दिएको नारी उत्पीडनको प्रतीकात्मक ढङ्गले विरोध र त्यसप्रति विद्रोह गर्दै स्वतन्त्र नारी अस्तित्वको खोजी गरिएको देखिन्छ । यसरी हेर्दा प्रस्तुत कथा डायास्पोरा साहित्याकाशमा नारीवादी कथालेखनको पृथक क्षितिज उघार्न सफल उत्कृष्ट कथा बन्न पुगेको छ । अतः यो कथा नारीवादी कथा साहित्यको महतम् उपलब्धि ठहर्छ ।

प्रमुख शब्दावली – डायास्पोरा, डायास्पोरिक साहित्य, घरदेश र परदेश, विभाजित मानसिकता, गृह विरह, एकसूत्रको खोजी, नारीवादी चेतना

१. अध्ययनको पृष्ठभूमि

अर्को मोड कथा सञ्जु बजगाईंद्वारा लेखिएको उत्कृष्ट कथा हो । यो कथा समुद्र र सपना (२०६७) कथा सङ्ग्रह अन्तर्गत दशौँ कथाका रूपमा सङ्कलित रहेको छ । यसमा नेपाली नारीले डायास्पोरामा भोग्नु परेका दुःख, पीडा, पुरुषहरूको हैकमवादी प्रवृत्ति र समलैङ्गिक चेतनाले जीवनमा ल्याएको नयाँ मोडको कलात्मक प्रस्तुति गरिएको छ । मोरङ जिल्लामा सन् १९८० जनवरी १३ तारिखका दिन जन्मिएकी सञ्जु बजगार्इं हाल बेलायतको लन्डनमा डायास्पोरिक जीवन विताइरहेकी कथाकार हुन् । समकालीन साहित्य प्रतिष्ठान बेलायतको उपाध्यक्ष समेत रहेकी सञ्जु बजगार्इं भानुभक्त द्विशताब्दी स्वर्ण पदक (२०७१), विश्वनारी साहित्यिक स्वर्ण पदक (२०७१) बाट समेत पुरस्कृत भएकी छिन् । नेपालका मधुपर्क, मिर्मिरे, शब्दाङ्कुर आदि पत्रपत्रिकामा समेत यिनका कथा, कविता प्रकाशित छन् । समुद्र र सपना (२०११) चाहिँ यिनको एक मात्र प्रकाशित कथा सङ्ग्रह हो । अर्को कथा सङ्ग्रह प्रकाशोन्मुख रहेको छ । यस सङ्ग्रहभित्रका कथामा मुख्यतः डायास्पोरिक जीवनका अनुभूति, गृहभूमिका स्मृति, नारीवादी चेतना, तिरस्कृत वृद्धवृद्धाहरूका दमित कुण्ठा, पुरुष पीडित नारीका मनोद्वन्द्व, पश्चिमी सभ्यतामा डुबेका नारीका जीवनशैली, विदेशिएका नारीको अनुत्तरदायी चरित्र, यान्त्रिकता, धनको महत्वाकांक्षा, बालमनोविज्ञान, स्वैरकल्पना, छिटो छरितो संवाद पाइने खास वैशिष्ट्य हुन् ।

प्रस्तुत ‘अर्को मोड’ कथा समुद्र र सपना (२०६७) कथा सङ्ग्रहभित्र सङ्कलित रहेको कथा हो । यो कथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बी.एड. (स्नातक) तहको नेपाली शिक्षा अन्तर्गतको नेपाली डायास्पोरा साहित्य (नेपा.शि. ४६१) पाठ्यक्रममा समाविष्ट छ । यस कथाको डायास्पोरिक तथा नारीवादी चेतनाका दृष्टिले समालोचना र खोज अनुसन्धान नभएको हुनाले यहाँ डायास्पोरिक समालोचनाको प्रारूप अनुरूप विश्लेषण गर्दै नारीवादी चेतनाको समेत खोजी गरिएको छ । यस अर्थमा प्रस्तुत लेख औचित्यपूर्ण हुनुको साथै स्नातक तहका विद्यार्थी, नेपाली डायास्पोरा साहित्य पढाउने शिक्षक, पाठ्यपुस्तक लेखक तथा साहित्यानुरागीहरूलाई समेत उपयोगी हुने अपेक्षा गरिएको छ । प्रस्तुत अनुसन्धानात्मक लेख डायास्पोराको सैद्धान्तिक पक्ष के कस्तो छ ? डायास्पोरिक समालोचनाका प्रारूप के के हुन् ? डायास्पोरिक समालोचनाका कसी र नारीवादी चेतनाका दृष्टिकोणमा अर्काे मोड कथा के कस्तो छ भन्ने तिन ओटा समस्यामा केन्द्रित रहेको छ ।

२. उद्देश्य

प्रस्तुत अनुसन्धानात्मक लेखमा डायास्पोराको सैद्धान्तिक पक्षको प्रस्तुति गर्नु, डायास्पोरिक कृति विश्लेषणका प्रारूपका आधारमा विवेच्य कथाभित्र डायास्पोरिक विशेषताका साथै नारीवादी चेतनाको समेत खोजी गरी कथाको विश्लेषण तथा मूल्याङ्कन गर्नु सहित तिन ओटा उद्देश्य राखिएका छन् । यिनै तिन उद्देश्यमा केन्द्रित भई प्रस्तुत लेख तयार गरिएको छ ।

३. अध्ययन विधि

प्रस्तुत अध्ययनमा गुणात्मक अनुसन्धान ढाँचा र वर्णनात्मक अध्ययन विधिको प्रयोग गरिएको छ । सामग्री सङ्कलनका लागि पुस्तकालय विधिको उपयोग गरिएको यस लेखमा प्राथमिक स्रोतका रूपमा ‘समुद्र र सपना’ कथा सङ्ग्रहलाई लिइएको छ । यसै गरी द्वितीयक स्रोतका रूपमा डायास्पोराका बारेमा लेखिएका सन्दर्भ पुस्तक, विभिन्न पत्रपत्रिकामा छापिएका अनुसन्धानात्मक लेख र शब्दकोशलाई उपयोग गरिएको छ । उद्देश्यपूर्ण नमुना छनोट विधिबाट छानिएको अर्को मोड कथाको विश्लेषणका लागि डायास्पोरिक समालोचनाको प्रारूप र नारीवादी समालोचनाका केन्द्रियतामा शाब्दिक प्रकृतिका तथ्याङ्कहरूको सङ्कलन गरी तार्किक विश्लेषण गरिएको छ ।

४. डायास्पोराको सैद्धान्तिक परिचय

यहाँ डायास्पोराको सैद्धान्तिक परिचयलाई ४.१ मा डायास्पोराको परिचय र परिभाषा, ४.२ मा डायास्पोरा साहित्य र नेपाली डायास्पोरा साहित्य, ४.३ मा डायास्पोरिक कृति विश्लेषणको प्रारूप गरी तिन ओटा उप–शीर्षकहरूमा प्रस्तुत गरिएको छ ।

४.१ डायास्पोराको परिचय र परिभाषा

डायास्पोरा शब्द डाया र स्पीरीन संयुक्त क्रियाबाट बनेको शब्द हो । डायाको अर्थ बाट/देखि भन्ने हुन्छ र स्पीरीनको अर्थ चाहिँ तितर वितर हुनु वा छरिनु भन्ने हुन्छ । यसर्थ डायास्पोराको शाब्दिक अर्थ एक ठाउँबाट अर्काे ठाउँमा गई छरिएर वा फैलिएर बस्नु भन्ने हुन्छ । यो शब्दले प्राचीन समयमा यहुदीहरूले प्यालेस्टाइन बाहिर निर्वासित भई बिताउनु परेको जीवनलाई बुझाउँथ्यो । प्राचीन “बेविलोनियामा त्यसबेला प्यालेस्टाइन भूमि पनि समावेश थियो । त्यही यहुदीहरूलाई इ.पू. ५८६–५३८ सम्म बन्दी बनाइएको थियो । चालिस वर्षपछि उनीहरू मुक्त भए तर त्यसपछि उनीहरूमध्ये कति चाहिँ आफ्नो जन्मभूमि छोडेर अन्यत्र भागे, चारैतिर छरिए । यसरी सर्वत्र छरिएका यहुदीहरूलाई उसबेला डायास्पोरा भनियो (भट्टराई, २०७१: ११७) ।” वर्तमान समयमा अर्थ विस्तार हुन गई यस शब्दले संसारका जुनसुकै देशबाट विभिन्न कारणले आफ्नो भातृभूमि छोडी अन्य ठाउँमा छरिएर बसेका वा बस्न बाध्य सुमदायलाई बुझाउँछ । नेपाली भाषामा डायास्पोराको समानार्थी शब्दका रूपमा आप्रवास, आप्रवासी, देशापारीय जस्ता शब्दहरूको प्रयोग गर्ने गरिएको भए पनि आगन्तुक शब्दका रूपमा डायास्पोरा शब्द नै बहुप्रचलित भइसकेको छ ।

‘डायास्पोरा’ लाई शब्दकोश, विकीपेडिया र विभिन्न विद्वान्हरूले आ–आफ्नै ढङ्गमा परिभाषित गर्दै आएको पाइन्छ । अक्सफोर्ड एडभान्स लर्नर्स डिक्सनेरीले १. काम तथा बसोबासका लागि आफ्नो देशबाट अन्य देशमा पुगेका यहुदीहरूको गतिविधि, २. आफ्नो देशबाट टाढिएका जुनसुकै राष्ट्र र समूहका मानिसहरूको गतिविधिका रूपमा परिभाषित गरेको छ । यसै गरी कम्प्याक्ट अक्सफोर्ड इङ्लिस डिक्सनेरीमा १. मुख्यतः इ.पू. ८–६ औँ सदीतिर इजरायलदेखि बाहिर भएको यहुदीहरूको फैलावट, २. आफ्नो मुख्य गृहभूमि छोडेर फैलिएका जुनसुकै मानिसका रूपमा परिभाषित गरेको छ । विकीपेडियाले सानो भौगोलिक उद्गम स्थलबाट छरिएका मानिसहरूको जनसङ्ख्याका रूपमा परिभाषित गरेको छ । समालोचक कृष्ण गौतमका अनुसार “एक ठाउँबाट टाढा गई यताउता छरिएर बस्नुलाई डायास्पोरा भनिन्छ । यो देशीय (नेशनल), देशान्तर्गत (इन्ट्रानेसनल) भन्दा अन्तरदेशीय (इन्टर्नेसनल) तथा पारदेशीय (ट्रान्सनेसनल) नाम भएर चिनिएको छ (गौतम, २०६४ : २८०) ।” गरिमामा प्रकाशित एक अनुसन्धनात्मक लेखमा डायास्पोरालाई विस्तारित अर्थमा “कुनै खास राष्ट्र वा संस्कृतिका मानिसहरू अन्य राष्ट्र वा संस्कृतिमा निर्वासित भएर, फैलिएर, विकीर्ण भएर, फिँजिएर, छरिएर वा तितर वितर भएर बसाइँ सरेर एवम् प्रवासिएर बस्नु भन्ने हुन्छ (लुइटेल, २०६९ : ८८) ।” भनी परिभाषित गरिएको छ । यसै गरी उत्तर आधुनिक विमर्शमा व्यापक अर्थमा “जुनसुकै देशबाट भए पनि आफ्नो जन्मभूमि (अथवा बासस्थान) छोडेर अन्य स्थानमा वा मुलुकमा बस्न बाध्य समुदायलाई डायास्पोरा भन्ने गरिन्छ (पूर्ववत, २०७१ : ११७–११८) ।” भनी परिभाषित गरिएको छ ।

यसरी माथि उल्लेखित परिभाषाहरूलाई संश्लेषण गर्दा डायास्पोरा शब्दले प्राचीन समयमा सङ्कुचित अर्थमा प्यालेस्टाइन बाहिर छरिएका यहुदीहरूलाई बुझाउने गरेका भए तापनि वर्तमान सन्दर्भमा यसलाई व्यापक अर्थमा जुनसुकै देशबाट आफ्नो मूल थलो छोडेर संसारका अन्य मुलुकमा छरिएर वा फिँजिएर बसेका मानिस, उनीहरूको बसोबास र त्यहाँको जीवन भोगाइको समष्टिलाई डायास्पोरा भनी परिभाषित गर्न सकिन्छ ।

४.२ डायास्पोरा साहित्य र नेपाली डायास्पोरा साहित्य

संसार गतिशील छ । हरेक वस्तु, समाज तथा व्यवस्थामा समयसँगै फेरबदल आइरहन्छ । मानिस र उसको थाँतबास पनि समयसँगै फेरिन्छ । संसारमा मानिसहरू एक देशबाट अर्काे देशमा विभिन्न कारणले छरिएर, फिँजिएर वा बसाइँ सरेर गएका हुन्छन् । प्राचीन सयममा मानव सभ्याताको विकाससँगै राज्यहरूको निर्माण, विस्तार, विभाजन, युद्ध, आक्रमण, प्राकृतिक प्रकोप, भोकमरी, धार्मिक असहिष्णुता, दासव्यापार आदिका कारण विश्वभर लाखौं मानिसले आफ्नो गृहभूमि छोडेर अन्यत्र गई बस्नुपरेको थुप्रै घटनाहरू इतिहासमा अङ्कित छन् । आधुनिक समयमा शक्तिशाली देशहरूले लिएका उपनिवेशवादी नीति, साम्राज्यवादी नीति, दुई भीषण मानव नरसंहारका विश्वयुद्धका कारण पनि हजारौं मानिसहरू आफ्नो देश छोडेर तितरवितर भए । यसले विभिन्न डायास्पोराको निर्माण ग¥यो । बेलायती डायास्पोरा उपनिवेशवादी नीतिका कारण, अमेरिकी डायास्पोरा साम्राज्यवादी नीतिका कारण र चिनियाँ डायास्पोरा विश्वव्यापारिक साम्राज्य फैलाउने नीतिका कारण जन्मियो (अधिकारी, २०६८ : ९०) । वर्तमान समयमा विश्वव्यापार सङ्गठन, खुला अर्थतन्त्र, विश्वश्रम बजारको विस्तार, विश्वग्रामको अवधारणा, शिक्षा तथा सञ्चारको विकास र विस्तार, बसाइँसराइको वैधानिक प्रक्रिया, अध्ययन, अनुसन्धान, डि.भी., पि.आर. तथा विभिन्न युद्धका कारण आफ्नो मुलुक छोडेर अन्य मुलुकमा जाने र त्यतै स्थायी रूपमा बस्न खोज्ने प्रवृतिले डायास्पोराको निर्माण झन् तीव्र रूपमा बढ्दै गइरहेको छ । तिनै डायास्पोराहरूले त्यो विरानो ठाउँको जीवन भोगाइका अनुभूति र गृहभूमिको स्मृति प्रतिबिम्बित हुने गरी लेखेको साहित्य नै डायास्पोरिक साहित्य हो ।

डायास्पोरामा मानिस भाषिक, सांस्कृतिक, भौगोलिक लगायत सबै प्रकारको विरानो परिवेशमा पुगेका हुन्छन् । त्यहाँ उनीहरूले गृहदेशका भाषा र संस्कृतिलाई छोडिसकेका हुँदैनन् र नयाँ भाषा, संस्कृति र मूल्य मान्यतालाई पनि पूर्ण रूपले आत्मसाथ गरिसकेका हुँदैनन् । बिल्कुल मिश्रित क्रेओलीकृत भाषा, संस्कृतिले छोपिदै अपरिचयको अवस्थामा पुगिरहेका हुन्छन् । त्यसपछि “अनेक प्रकारका मनस्ताप सुरु हुन्छन् जुन आफ्नो देशमा हुँदैनन् । कानुनी, धार्मिक, सांस्कृतिक सबै प्रकारले जीवन अपखण्डित हुन्छ । अतीत स्मरणले कल्पिनु, असुरक्षा भावनाले त्रस्त हुनु… र अपरिचयजस्ता कुरा अत्यन्तै ठूला खाडलझै उत्पन्न हुन्छन् (भट्टराई, २०७१ ः १६१) ।” उनीहरूलाई फर्केर एकदिन घरदेशमा आउने चाहना हुन्छ तर विभिन्न कारण र बाध्यताले अधिकांश आउन सकिरहेका हुँदैनन् । केही फर्कन्छन्; केही उतै घोर निराशामा टुङ्गिन्छन् । यस्तै जीवन भोगाइ समेटेर डायास्पोरिक साहित्य लेखिन्छ । “यताको भावना बोकेर उता गई त्यतैको जीवन भोगाइका सकस आदिबाट विकसित वा परिवर्तित भावनालाई उतारेर लेखिएको साहित्यलाई डायास्पोरिक साहित्य भनिन्छ (लुइटेल, २०६९ ः ८९) ।” डायास्पोरिक साहित्यमा घरदेशको सम्झना, परदेशको भोगाइ, विरानोपन, मिश्रित संस्कृति, द्वैध र विभाजित मानसिकता, विछिन्नताको भय, अस्तित्वको सङ्कट र एकान्तिकता जस्ता विशेषताहरू रहेका हुन्छन् ।

विश्व साहित्यमा प्रथम र द्वितीय विश्वयुद्धपछि डायास्पोरिक भोगाइको अभिव्यक्ति गरिदै आएको पाइन्छ । यसको सघन र सशक्त अभिव्यक्ति भने सिर्जना र समालोचनाका क्षेत्रमा खासगरी विगत पाँच दशक अघिदेखि देखिन थालेको हो । समालोचनाका क्षेत्रमा डायास्पोरिक समालोचनालाई उत्तर आधुनिक समालोचनाको एउटा प्रारूप मानिएको छ । विश्व साहित्यमा यस क्षेत्रमा कलम चलाउनेहरूमा कोत्सी, मार्गरेट, टोनी मोरिसन आदि रहेका छन् । यसैगरी भारतीय मूलका भी.एस. नइपल, सल्मान रुस्दी, निरद चौधरी, राज राओ, कमला दास, अनिता देसाई, अमिताभ घोष र भारती मुखर्जी आदिले (पूर्ववत्, २०७१ ः ११९) यस क्षेत्रमा कलम चलाइरहेका छन् । नेपाली साहित्यमा भने यसले एक दशक अघिदेखि मात्र प्रवेश पाएको देखिन्छ ।

हाम्रो देश दक्षिणपूर्वी एसियामा पर्ने एक भूपरिवेष्ठित र विकासोन्मुख राष्ट्र हो । हिमाल, पहाड, तराई मिलेर बनेको यो देश भौगोलिक विकटता, राजनीतिक निरङ्कुशता, अस्थीरता, अशिक्षा र गरिबीका कारण पछि परेको छ । नेपालको इतिहासलाई हेर्दा वि.सं. १८७२ मा भएको सुगौली सन्धिबाट गुमेको नेपाली भू–भाग, राणा शासन र पञ्चायती शासन व्यवस्थाका निरङ्कुशता, शोषण, दमन, गरिबी, अशिक्षाका कारण काम, माम र सुरक्षादिको खोजीमा लाखौं नेपालीहरू दार्जिलिङ, सिक्किम, भुटान, देहरादुन, आसाम, मेघालय, बर्मा लगायतका ठाउँमा छरिएका छन् । वर्तमान समयमा अध्ययन, अनुसन्धान, रोजगारी, वैधानिक बसाइँसराइ, डि.भी., पि.आर., स्वतन्त्र र सुनौलो जीवनको खोजी आदिका कारण वर्षेनी हजारौंको सङ्ख्यामा युवाहरू विदेशिने क्रम निरन्तर चलिरहेको छ । अचेल यसरी गइने देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत, बेल्जियम, बहराइन, इजरायल, जापान, हङकङ, कोरिया, रुस, सिङ्गापुर, कतार, मलेसिया आदि प्रमुख रहेका छन् । सामान्यतः आफ्नो मुलुक छोडेर यसरी संसारका विभिन्न मुलुकमा छरिएर बसोबास गरिरहेका नेपालीहरू नै नेपाली डायास्पोरा हुन् । विशेषतः “यसले स्थायी रूपले त्यसै भूमिलाई कर्मथलो बनाई वा बनाउन चाहेर जीवन निर्वाह गर्नेहरूलाई सङ्केत गर्दछ (एटम, २०६७ ः ३०) ।” डायास्पोरामा उनीहरूलाई एकातिर नयाँ ठाउँ, नयाँ सभ्यता र स्वतन्त्रताको रोमाञ्च छ, अर्काेतिर विरानो मुलुकमा अल्पसङ्ख्यक भई बस्नुपरेको, आफ्नो भाषा, संस्कृति र जातीय पहिचान सङ्कटमा परिरहेको पीडा पनि छ । नेपाली डायस्पोराजीवीका यी र यस्तै डायास्पोरिक जीवन भोगाइका अनुभूति र मातृभूमिको नोस्टाल्जियालाई समेटेर सिर्जना गरिएको साहित्य नै नेपाली डायास्पोरा साहित्य हो ।

नेपाल बाहिरका जीवन भोगाइलाई समेटिएका सबै साहित्यलाई नेपाली डायास्पोरिक साहित्य भनिदैन । त्यसो त लैनसिंह बाङ्देलको मुलुक बाहिर (२००४), लीलबहादुर क्षेत्रीको बसाइँ (२०१४) र गोविन्दराज भट्टराईको मुगलान (२०३१) मा परदेशको जीवन भोगाइका पीडा र स्वदेशको स्मृति छताछुल्ल भएर पोखिएको छ । यी कृति लगायत दार्जिलिङ, आसाम, सिक्किम, मेघालय आदि ठाउँका प्रवासी साहित्यकारहरूको पनि नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान रहेको भए पनि तिनलाई डायास्पोरिक कृति मानिएको छैन । “अन्तर्राष्ट्रिय साहित्य समाजले सार्क राष्ट्रमा लेखिएका सबै नेपाली साहित्य बाहेक नेपाल बाहिर लेखिएका सबै नेपाली साहित्य लेखनलाई प्रवासी नेपाली साहित्य नभनेर डायास्पोरिक नेपाली साहित्य भनेको देखिन्छ (रावत, २०७० ः १३६) ।” यसरी हेर्दा सार्क राष्ट्र बाहेक विशेषतः युरोप, अमेरिका लगायत विभिन्न मुलुकमा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली डायास्पोराजीवीले त्यताको जीवन भोगाइको अनुभूति र यताको स्मृतिलाई समेटेर लेखेको साहित्यलाई नेपाली डायास्पोरिक साहित्य भनिन्छ । यस्ता नेपाली रचनामा पनि परादेशीय हुनुको रोमाञ्च, चिन्ता, विस्थापनको भय, पहिचानको सङ्कट, गृहविरह जस्ता विशेषताहरू रहेका हुन्छन् । “यस्ता साहित्यिक रचनामा आफ्नो पुख्र्याैली थलोबाट उछिट्टिएर कही राम्ररी टेक्न नसक्ने अवस्थामा पुगेका पात्रहरूको विरानोपनको अभिव्यक्तिले पाठकलाई समेत संवेदनशील बनाएको पाइन्छ (लम्साल र अन्य, २०७० ः ३४८) ।” नेपाली डायास्पोरा साहित्यमा कलम चलाउनेहरूमा होमनाथ सुवेदी, राजव, मधुमाधुर्य, देश सुब्बा, ज्ञानेन्द्र गदाल, कृष्ण बजगार्इं, सञ्जु बजगार्इं, पदम विश्वकर्मा, सुन्दर जोशी, वासु श्रेष्ठ, जया राई, रक्ष राई, मीरा प्रधान, प्रदिप चापागाईं, गोविन्द सिंह रावत, खिमानन्द आचार्य, नम्रता गुरागार्इं, केदार सुनुवार आदि प्रमुख रहेका छन् । यसैगरी डायास्पोरिक समालोचनाका क्षेत्रमा खगेन्द्रप्रसाद लुइटेल, गोविन्दराज भट्टराई, कृष्ण गौतम, लक्ष्मणप्रसाद गौतम, नेत्र एटम, रजनी ढकाल, पुरण राई आदि प्रमुख रहेका छन् ।

४.३ डायास्पोरिक कृति विश्लेषणको प्रारूप

डायास्पोरिक समालोचनालाई उत्तरआधुनिक समालोचना मानिएको छ । उत्तरआधुनिक कृति विश्लेषणका विभिन्न पद्धति र प्रारूपहरू रहेका छन् । यस्ता प्रारूपहरूमा नारीवादी प्रारूप, संस्कृतिपरक प्रारूप, वातावरणीय प्रारूप, आभिघातिक प्रारूप, साइबर संस्कृतिको प्रारूप लगायत डायास्पोरिक प्रारूप पनि एक हो । डायास्पोरिक “कृति वा रचनामा डायास्पोरिक जीवन र समाज प्रतिबिम्बित छ छैनन्, डायास्पोरिक भोगाइ, अनुभूति, पीडा, एकाकीपन, आस्तितात्विक पहिचान आदि कुराहरू छन् वा छैनन् भन्ने कुरा यस प्रारूपमा हेरिन्छ (गौतम, २०६७ ः ३९१) ।” कृतिमा आप्रवास अवस्थाका भोगाइ, देखाइ, अनुभूति, रोमाञ्च, पीडा आदिको खोजी गर्नु, सांस्कृतिक विचलन र अन्तरमिश्रणको अन्वेषण गर्नु, पात्रहरूको हराएको स्वत्व र अस्तित्वको खोजी गर्नु, गृहविरहको स्थिति पत्ता लगाउनु नै डायास्पोरिक समालोचनामा कृति विश्लेषणका प्रारूप हुन् । यसर्थ यस्तो साहित्यको विश्लेषण परम्परागत रूपमा नभई भिन्न दृष्टिकोणका साथ गरिन्छ ।

डायास्पोरिक उपन्यासको विश्लेषणका लागि पुख्र्यौली भूमि र इच्छित भूमि, विभाजित मानसिकता, अल्पसङ्ख्यक तथा सीमान्तकृत हुनुको पीडा, परादेशीय हुनुको रोमाञ्च र चिन्ता, अस्तित्वका लागि एकसूत्रको खोजी, अतीत मोहजस्ता बुँदाहरूका आधारमा गर्न सकिन्छ (एटम, २०६७ ः ३९–३५) । कथा विश्लेषण १. पुख्र्याैली भूमि र इच्छित भूमि, २. विभाजित मानसिकता, ३. अल्पसङ्ख्यक र सीमान्तकृत हुनुको पीडा, ४. परादेशीय हुनुको रोमाञ्च र चिन्ता, ५. अस्तित्वका लागि एकसूत्रको खोजी, ६. अतीत मोह (नोस्टाल्जिया) सहितको ढाँचाका आधारमा गर्न सकिन्छ (ढकाल, २०७० ः ३४–३५) । यसैगरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बी.ई.एस. तह, छैठौं सेमेस्टर नेपाली शिक्षा विशिष्टीकरण अन्तर्गत राखिएको नेपाली डायास्पोरा साहित्य (नेपा.शि. ४६१) पाठ्यक्रममा कथा विश्लेषणका लागि १. घरदेश र परदेश, २. विभाजित मानसिकता, ३. परादेशीय हुनुका रोमाञ्च र चिन्ता, ४. अल्पसङ्ख्यक र सीमान्तकृत हुनुको पीडा, ५. अतीत मोह, ६. अस्तित्वका लागि एकसूत्रको खोजी, ७. आत्मकेन्द्रत प्राविधि गरी सात ओटा आधारहरूको उल्लेख गरिएको छ । प्रस्तुत लेखमा यिनै सात ओटा प्रारूपका र नारीवादी समालोचनका कसीमा अर्काे मोड कथाको विश्लेषण गरिएको छ ।

५. ‘अर्काे मोड’ कथाको डायास्पोरिक तथा नारीवादी चेतनाका आधारमा विश्लेषण

प्रस्तुत अध्ययनमा अर्काे मोड कथाको विश्लेषण ५.१ मा नवीन अन्तर्वस्तुमा आधारित कथानक, ५.२ मा घरदेश र परदेश, ५.३ मा विभाजित मानसिकता, ५.४ मा परादेशीय हुनुको रोमाञ्च र चिन्ता, ५.५ मा अल्पसङ्ख्यक र सीमान्तकृत हुनुको पीडा, ५.६ मा अतीत मोह, ५.७ मा अस्तित्वका लागि एक सूत्रको खोजी, ५.८ मा आत्मकेन्द्रित प्रविधि, ५.९ मा नारीवादी चेतना उप–शीर्षक अन्तर्गत गरिएको छ ।

५.१ नवीन अन्तर्वस्तुमा आधारित कथानक

प्रस्तुत कथाको कथानक नवीन विषयवस्तुमा आधारित रहेको छ । यसमा खासगरी ‘म’ पात्रको डायास्पोरिक जीवन भोगाइ, पतिप्रतिको विकर्षण र समलिङ्गी मारियाप्रतिको आकर्षणबाट जीवनमा आएको नयाँ मोडका घटनावलीहरू उनिएका छन् । कथाको प्रारम्भ ‘म’ पात्र लिफ्ट व्यस्त रहेकाले तल कुरेर बस्दा एक अपरिचित महिलासँग हेलो हाइ भएको प्रसङ्गबाट भएको छ । म पात्र घरदेशदेखि पर युरोप (पेरिस) मा पति रोहितसँग बसोबास गर्दछिन् । उनीहरू बस्ने फल्याटको माथिल्लो तलामा एक पुरुषशैलीको महिला छिमेकी बनेर आइपुगेकी छ । रोहितले ‘म’ पात्रका इच्छा, चाहना र घरव्यवहारमा कुनै सहयोग गरेको छैन । ऊ आउने र जाने समय पनि पत्नी ‘म’ पात्रलाई थाहा हुँदैन । उनीहरूको ठाकठुक हुने र रोहितले दमन गर्ने गरेको छ । एकदिन रोहित बाहिर गएका बेला उसको बाटो कुर्दा–कुर्दा नआएपछि इच्छा नभए पनि उनी आफ्नो बिल्डिङको रात्रि क्याफेमा पुग्दछिन् । त्यहाँ उनको उही पुरुषशैलीकी मारिया र बब बूढासँग भेट हुन्छ । उनले बब बूढालाई चिने पनि मारियासँग लिफ्टमा सामान्य हेल्लो हाइ मात्र भएकाले बब बूढासँग मारियाका बारेमा सोध्छिन् । बबले तत्काल पर कुनामा बसिरहेकी मारियालाई बोलाउँछ । उनीहरूको परिचय हुन्छ । मारियाले पहिलो चिनजानमै बबलाई सिगार (ठूलो खाले चुरोट) र ‘म’ पात्रलाई रिङ उपहार दिन्छे । विस्तारै भेटघाट बाक्लिदै गएपछि आत्मीयता बढ्दै जान्छ । मारियाले म पात्रको सुन्दरताको तारिफ गर्ने, उसको ख्याल गर्ने र पुरुषहरूलाई घृणा गर्ने गर्दछे । ‘म’ पात्रलाई रोहितले गिलासको झटारो हान्दा घिनलाग्दो पुरुष र रिसाहा साँढेसम्म भन्छे ।

समयको बदलिँदो बहाबसँगै म पात्र नजानिदोसँग बदलिदै जान्छिन् । उनी मारियासँगको आत्मीयताबाट टाढिन मुस्किल देख्छिन् । जिन्दगी खुसीसाथ बिताउने लोग्ने मानिस नै चाहिन्छ भन्ने छैन भनी नौलो ठहर गर्दछिन् । अन्ततः सबथोक बिर्सिएर सांसारिक संरचनाको नियमित बाटो बदलेर वैकल्पिक बाटोका रूपमा मारियासँग जीवन बिताउने निर्णय गरी बार्सिलोनातर्फ प्रस्थान गर्छिन् । यसरी कथाले डायास्पोरिक जीवन भोगाइ र समलिङ्गी चेतना जस्ता नवीन विषयलाई अन्तर्वस्तु बनाएको देखिन्छ । कथानक सोझो रैखिक ढाँचामा आदि, मध्य र अन्त्यको शृङ्खलामा उनिएको छ ।

५.२ घरदेश र परदेश

प्रस्तुत कथामा ‘म’ पात्र र उसको पति ‘रोहित’ युरोप (पेरिस) मा बसोबास गरिरहेका छन् । उनीहरूको घरदेश नेपाल हो । परदेश पेरिस शहर हो । यी दुई पात्र परदेशमा डायास्पोरिक जीवन विताइरहेका छन् । रोहित गृहदेश र संस्कृतिलाई उपेक्षाको भावले हेर्छ । ऊ परदेशको संस्कृतिमा चुर्लुम्म डुबिसकेको छ । ‘म’ पात्र चाहिँ रोहितले आफ्नो दौरा, सुरुवाल, ढाका टोपी सबै बिर्सिएर त्यहाँको तथाकथित सभ्य संस्कृतिमा विलाएको गुनासो गर्दछिन् । रोहितले आफू गरिब देशको गरिब र इमानदार ठिटो भन्ने बिर्सेको छ । उसले श्रीमतीलाई आफूले लिएर नआएको भए पहाडको गुन्यु चोलीमा जीवन वित्थ्यो भनी अपमान र उपेक्षा गरेको छ । यस कथामा रोहितको घरदेशप्रति उपेक्षा र ‘म’ पात्रको चाहिँ माया झल्किएको देखिन्छ । कथाको निम्न संवादांशबाट यसलाई अझ प्रष्ट पार्न सकिन्छ ः

“तिमीले वास्तवमा ब्याचलर नै बस्नुपथ्र्याे, तिमीलाई श्रीमतीको अर्थ नै थाहा छैन ।” (समुद्र र सपना, २०६७ ः ६८)

“श्रीमतीको अर्थ थाहा भएरै युरोपको यो सभ्य सहरसम्म लिएर आएको नत्र मधेशको खेती र पहाडको घरभित्र दङ्ग पर्दै हुन्थ्यौ ।” उसले पुरुषार्थ देखाउँदै भन्यो । (समुद्र र सपना, २०६७ ः ६८)



५.३ अतीत मोह (गृहविरह)

प्रस्तुत कथा डायास्पोरिक जीवन भोगाइको विषयवस्तुमा आधारित छ । यहाँ ‘म’ पात्र र उनको पति रोहित युरोपमा (डायास्पोरा) बसोबास गरिरहेका छन् । कथामा ‘म’ पात्रलाई केही मात्रामा भए पनि आफ्नो अतीत अर्थात् घरदेश र त्यहाँको संस्कृतिप्रति माया रहे पनि रोहितलाई त्यसतर्फ कुनै मोह छैन । म पात्रले आफ्नो पति रोहितले दौरा सुरुवाल, कुटो कोदालो, हलो जुवा सबै बिर्सेको कुरा निम्न आत्मालापका माध्यमबाट व्यक्त गरेकी छन् ः

“रोहितले आफ्नो दौरा–सुरुवाल, ढाका टोपी बिर्सियो । कुटो, कोदालो, हलो, जुवा पनि बिर्सियो ।”

(समुद्र र सपना, २०६७ ः ६८)

यसका साथै ‘म’ पात्रको मारियासँग परिचय हुने क्रममा मारियाले ‘म’ पात्रलाई तिम्रो देशको लालीगुराँस जस्तै तिमी सुन्दर रहिछौ भनेको निम्न संवादको अंशबाट पनि ‘म’ पात्रको अतीत मोह व्यक्तिएको पाइन्छ ः

“म दङ्ग परेँ । उसलाई मेरो देशको लालीगुराँसको सुन्दरता थाहा रहेछ ।”

(समुद्र र सपना, २०६७ ः ७१)

५.४ विभाजित मानसिकता

डायास्पोरिक कथामा पात्रहरू दुई मनको स्थितिमा बाँचेका हुन्छन् । उनीहरूको एउटा मन घरदेशमा र अर्काे मन परदेशमा रहेको हुन्छ । उनीहरू उतै बस्ने कि फर्कने मनोद्वन्द्वमा रहेका हुन्छन् । त्यहाँका विभिन्न वस्तुमा नेपालका विभिन्न वस्तुको बिम्ब देख्न पुग्दछन् । विदेशी संस्कृतिलाई पूर्णतः आत्मसाथ गरिनसकेको र आफ्नो संस्कृतिलाई छोडिनसकेको कारण सांस्कृतिक मिश्रण आदिले पनि विभाजित मानसिकता लिएर बाँचिरहेका हुन्छन् । प्रस्तुत कथामा यस्ता खास विशेषता प्रष्ट रूपमा आएका छैनन् । ‘म’ पात्रले आफ्नो पतिले दौरा–सुरुवाल, ढाका टोपी आदि बिर्सेको भनी गरेको आत्मालापको प्रसङ्ग, बब बूढासँग भएको कुराकानीको क्रममा आएको एभरेष्ट चढ्ने प्रसङ्ग र मारियाले ‘म’ पात्रको प्रशंसा गर्ने क्रममा आएको लालीगुराँसको प्रसङ्गबाट ‘म’ पात्रले परसंस्कृति ग्रहण पूर्णतः गरिनसकेको र आफ्ना गृहदेशका संस्कृतिलाई पनि छोडिनसकेको विभाजित मानसिकताको सामान्य सङ्केत गरिएको पाइन्छ । कथाको उत्तराद्र्धतिर ‘म’ पात्रको मानसिकता घरदेश र परदेशको स्थितिले भन्दा पनि समलिङ्गी मारियाप्रतिको आकर्षणका कारण बढी विभाजित भएको देखिन्छ । लोग्ने रोहितका अपशब्द, दमन, अपमान आदि खेपिरहेकी म पात्र छिमेकी स्त्री मारियाको कुराकानी, अपनत्व झल्किने स्पर्श, हेरचाह, र प्रशंसाबाट आकर्षित हुँदै गएकी छ । ऊ आफ्नो पतिप्रति विकर्षित र समलिङ्गी मारियाप्रति आकर्षित हुँदै जाँदा रोहितसँग बस्ने कि समलिङ्गी मारियासँग बिहे गरी बार्सिलोनातर्फ जाने भनी विभाजित मानसिकतामा पुगेको देखिन्छ । यसलाई निम्न कथांशबाट अझ प्रष्ट पार्न सकिन्छ ः

“ऊ मेरा आँखाको कुरा गर्थी । मेरो हेराइको तारिफ गर्थी… हाम्रो वैवाहिक जीवनमा यति त रोहितले पनि कहिले गरेन ।

(समुद्र र सपना, २०६७ ः ७२)

“ऊ मारियासँगको मेरो घनिष्टतालाई छोट्याउन लागि परेको थियो । म भने मारियाको आत्मीयतासँग टाढिन अत्यन्त मुस्किल देख्न थालेकी थिएँ ।”

(समुद्र र सपना, २०६७ ः ७२)

५.५ परादेशीय हुनुको रोमाञ्च र चिन्ता

प्रस्तुक कथामा परादेशीय हुनुको रोमाञ्च र चिन्ता दुवै प्रकट भएको छ । कथामा म पात्रको पति रोहित युरोप (पेरिस) पुगेकोमा रोमाञ्चित छ । क्यासिनोको जागिर, साथीहरूसँग विभिन्न ठाउँ तथा रात्रि क्लवहरूको घुमघाम र पिएर रमाउने प्रवृत्तिमै ऊ रोमाञ्चित छ । उसलाई न स्वदेशको मोह छ न पत्नीको चिन्ता । ऊ युरोपको सहरलाई सभ्य र नेपालको गुन्युचोलोलाई असभ्य मान्छ । कथामा रोहितकी पत्नी अर्थात् म पात्र चाहिँ युरोपको झिलिमिली सिंगारिएको सहरमा पुगेर पनि रोमाञ्चित हुन सकेकी छैन । बरु उनलाई केही मात्रामा भए पनि पति रोहितले आफू गरिब देशको गरिब तर इमानदार ठिटो हुँ भन्ने बिर्सिएकोमा चिन्ता छ । प्रस्तुत कथामा परादेशीय हुनुको चिन्ता भन्दा बढी आफूमाथि रोहितले गरेको बेवास्ता, अपमान, उपेक्षा र दमन सहेर बाँच्नु परेकोमा चिन्ता प्रकट भएको छ । यसरी यस कथामा परादेशीय हुनुको चिन्ताका साथै डायास्पोरामा समेत नेपाली नारीहरूले पुरुषका दमन, शोषण र उपेक्षा सहेर जीवन बिताउनु परेको यथार्थको उद्घाटन गरिएको छ ।

५.६ अल्पसङ्ख्यक हुनुको पीडा र एक सूत्रको खोजी

डायास्पोरामा त्यहाँका मूल बासिन्दाभन्दा अन्य देशबाट आई डायास्पोरा बनाएर बसेकाहरू अल्पसङ्ख्यक रूपमा रहेका हुन्छन् । कानुनी रूपमा समान अधिकारको हैसियत भए पनि सामाजिक व्यवहारमा विभेद कायमै हुन्छ । डायास्पोरामा उनीहरू लामो समयदेखि स्थायी रूपमा जरा गाडेर बसेका भए पनि सामाजिक विभेदका कारण जरो हल्लिएको, कमजोर भएको र उखेलिन आँटेको महसुस गरिरहन्छन् (खड्का, २०१६ ः १३७) । फलतः एकसूत्रको खोजी गर्दछन् । एउटै देश र भाषा भएकाहरूको साझा संस्थामा आबद्ध हुन्छन् । भेटघाट गरी सुखदुःख बाँड्छन् । प्रस्तुत कथामा परदेशमा अल्पसङ्ख्यक र सीमान्तकृत भई बस्नु परेको पीडा ठोस रूपमा प्रकट भएको देखिदैन । म पात्रको पति रोहित त्यहाँका साथी र संस्कृतिमा रमाइरहेको छ । ‘म’ पात्र भने कतै घुलमिल नभएकीले अल्पसङ्ख्यक भई बस्नु परेको सामान्य पीडा अनुभूति गरिरहेकी छ । एक त परदेश त्यसमाथि नेपाली साथीहरू नहुनु, पति क्यासिनोको जागिरे भएकाले प्रायः राति फल्याटमा एक्लै बस्नु पर्ने स्थिति, त्यहाँको संस्कृति र सभ्यतामा घुलमिल हुन नचाहने प्रवृत्तिले यस किसिमको पीडा केही मत्रामा व्यक्त भएको छ । मुख्यतः महिला अल्पसङ्ख्यक हुनुको पीडा व्यक्त भएको छ ।

“फल्याटमा म हुन्छु मेरो एक्लो पन हुन्छ ।”

आजसम्म रात परेपछि क्याफेमा छिरेकी छैन । के जाने… ? रहर कहिल्यै पलाएन ।”

(समुद्र र सपना, २०६७ ः ६८)

५.७ आत्मकेन्द्रित प्रवृत्ति

प्रस्तुत कथामा आत्मकेन्द्रित प्रवृत्तिको उपयोग गरिएको छ । कथामा म पात्र आत्मकेन्द्रित र पति रोहित बहिर्मुखी तथा स्वार्थी रहेको छ । रोहित आफ्नै रहर, घुमघाम र पिउनेमा केन्द्रित छ । उसलाई पत्नीको कुनै चिन्ता र चासो छैन । म पात्र चाहिँ पतिको उपेक्षा, दमन र पितृसत्तात्मक समाजले दिएको उत्पीडनका कारण चिन्तित भएकी छ । उसको मन एकोरिएको छ । झिलिमिली सहरमा पनि उसको मन अँधेरो छ । रोहितले पत्नी ‘म’ पात्रलाई श्रीमती भएकाले दया गरेर युरोपको सहरसम्म लिएर आएको भनी दमन गर्ने, गिलासले झटारो हान्ने गरेको (समुद्र र सपना, २०६७ ः ६८, ७२), ऊ आफू जहिले जहाँ स्वतन्त्र रूपमा घुम्ने गरेको तर म पात्र कोठामा सीमित हुनु परेको कारण म पात्रमा नारीवादी चेत, मनोद्वन्द्व, चिन्ता र आत्मकेन्द्रित प्रवृत्ति बढेको देखिन्छ । विस्तारै समलिङ्गी चेत जागृत हुँदै गएपछि पतिप्रति विकर्षण र स्त्री साथी मारियाप्रतिको आकर्षणका कारण उनको मन झन् उद्वेलित भएको छ । आत्मालाप बढिरहेको छ । कथामा यस्तै पृथक किसिमको आत्मकेन्द्रित प्रवृत्तिको चित्रण गरिएको छ । यसलाई निम्न कथांशबाट प्रस्ट्याउन सकिन्छ ः

“मेरो कोठाभित्रको सन्नाटा छाम्छु । भित्ताको घडीले बेलुकीको आठ बजाउन लागेको छ । भोलिको शनिवार ! रोहित फर्किनेवाला छैन । (समुद्र र सपना, २०६७ ः ६९)

“म भने मारियाको आत्मीयतासँग टाढिन अत्यन्त मुस्किल देख्न थालेकी थिएँ । उसले मलाई बदल्दै लगेकी थिई । म नजानिदोसँग बदलिरहेको थिएँ । (समुद्र र सपना, २०६७ ः ७२)

५.८ नारीवादी चेतना तथा समलिङ्गीय चेतनाको प्रयोग

नारीवाद नाम शब्द हो । यसले नारी अस्मिता र स्वतन्त्रताप्रति प्रतिबद्ध मान्यता, चेतना, सिद्धान्त वा वाद भन्ने अर्थ दिन्छ । “नारी केन्द्री परिप्रेक्षबाट नारी हक, हित र समानताको पक्षधरतालाई नारीवाद भनिन्छ (शर्मा र लुइटेल, २०६१ ः ३७१) ।” यो राजनैतिक रूपमा सामाजिक तथा राजनैतिक आन्दोलनसँग सम्बन्धित छ । यसले समाजमा स्थापित पितृसत्तात्मक धारणा र पुरुषद्वारा निर्धारित नारीको स्थान तथा परम्परित मूल्य मान्यताको विरोध गर्दछ । साहित्यका सन्दर्भमा नारीवादी मान्यतालाई आत्मसाथ गरी पितृसत्तात्मक समाजमा नारीको जीवन भोगाइको चित्रण गर्दै समानता, स्वतन्त्रता, स्वत्व र स्वतन्त्र अस्तित्वको खोजी गरिएका रचना नारीवादी साहित्य हुन् । नारीवादी साहित्य पनि नारीवादी आन्दोलनकै एउटा स्वरूप हो । नारीवादी आन्दोलन विविध प्रकृतिका हुन्छन् । ती मध्ये उग्रनारीवाद पनि एक हो । एकथरी नारीवादीहरू नारीलाई जसरी पुरुषले उत्पीडित तुल्याएको छ पुरुषलाई त्यसरी नै उत्पीडित तुल्याउन किन नहुने भन्ने तर्क राख्दछन् । अर्काथरी चाहिँ पुरुषले दिएको उत्पीडनको परिणाम स्वरूप उनीहरू आफ्नो जीवनमा पुरुषको कुनै पनि भूमिका नस्वीकार्ने अवस्थामा पुग्दछन् त्यसैको चरम परिणति स्वरूप समलिङ्गी वैवाहिक सम्बन्ध समेत राख्दछन् । यस किसिमको नारीवादी दृष्टिकोण समलैङ्गिक दृष्टिकोण हो (त्रिपाठी, २०६७ ः १२) । उग्रनारीवादको एक रूप हो ।

‘अर्काे मोड’ कथा सञ्जु बजगाईंद्वारा नारी मुक्तिको प्रतीकात्मक कामना सहित लेखिएको नारीवादी कथा हो । यस कथाले पितृसत्तात्मक समाजमा नारीहरू सामाजिक, आर्थिक र लैङ्गिक विभेदको चपेटामा च्यापिएर पराधीन भई जीवन बिताउनु परेको यथार्थको चित्रण गर्दै पितृसत्तात्मक समाजलाई गम्भीर चुनौती दिएको छ । कथामा ‘म’ पात्र र रोहित पति–पत्नी हुन् । उनीहरू युरोप (पेरिस) मा डायास्पोरिक जीवन बिताइरहेका छन् । रोहितले पितृसत्तात्मक समाजले दिएको छुटको उपयोग गर्दै श्रीमतीलाई कोठामा राखेर निर्बाध रूपमा घुम्ने, कयौं रात कोठामा नआउने र आधा रातसम्म पिउने गरेको छ । त्यो छुट नारीलाई छैन । यस्तो विषम स्थितिको चित्रण कथामा गरिएको छ । यतिमात्र नभएर उसले पत्नीलाई उपेक्षा गर्ने, दमन गर्ने, कुटपिट गर्ने गरेको छ । म पात्रलाई रोहितको व्यवहारले पिरोलेको छ । उसले रोहितलाई मुख खोलेर “तिमीले वास्तवमा ब्याचलर नै बस्नु पथ्र्याे, तिमीलाई श्रीमतीको अर्थ नै थाहा छैन (बजगाईं, २०६७ ः ६८) भनिदिएकी छ । रोहित भने ‘म’ पात्रलाई श्रमिती बनाएर युरोपसम्म लिएर आएकोमा आफ्नो पुरुषत्व देख्दछ । यसबाट पितृसत्तात्मक समाजमा नारीको आर्थिक तथा सामाजिक हैसियत बलियो नहुँदा पुरुषले जहाँ लान्छ घिच्चिएर निरीह भई उसकै पछि लाग्नु पर्ने स्थितिको चित्रण गरिएको छ ।

कथामा रोहितले पत्नी अर्थात् ‘म’ पात्रलाई गिलासले झटारो हानेको स्थितिको चित्रण (बजगाईं, २०६७ ः ७२) बाट समेत पितृसत्तात्मक समाजमा पुरुषले नारीमाथि अन्याय, अत्याचार, कुटपिट र थिचोमिचो गरी नारी अस्तीत्वलाई पैतालामुनिको धुलो सरह बनाउने गरेको यथार्थ प्रस्तुत गर्दै त्यसप्रति विद्रोह गरिएको छ । म पात्रकी साथी मारियाले रोहितको पत्नीप्रतिको व्यवहार देखेर भनेको निम्न संवादांशबाट त्यस्तो विद्रोह व्यक्त भएको देखिन्छ ः

“स्वास्नी मानिसको थोरै पनि ख्याल नगर्ने घिन लाग्दो पुरुष रहेछौ ।”

“स्पेनिसहरूको राष्ट्रिय खेलमा छोड्ने साँढे जस्तो रिसाहा ।” (समुद्र र सपना, २०६७ ः ७२)

कथामा म पात्रसँग संवादका क्रममा मारियाले पुरुषसँगको सम्बन्ध जटिल हुने भएकाले ६ महिनादेखि एक्लो बस्दै आएको र आफूले पुरुषहरूलाई घृणा गर्ने गरेको बताएकी छ ।

“उसले भन्दै गई रिलेसन कम्प्लिकेटेड हुँदो रहेछ । निभाउनै नसकिने त्यसैले आजकल म पुरुषहरूलाई घृणा गर्छु । (समुद्र र सपना, २०६७ ः ७१)

यी माथि उल्लेखित कथांशहरूबाट कथाकार सञ्जु बजगाईंले यस कथामा नारीवादी चेतनाको सशक्त ढङ्गले प्रयोग गरेको पाइन्छ ।

यस बाहेक प्रस्तुत कथामा नारीवादी चेतनाको उग्ररूप मानिएको समलिङ्गी चेतनाको समेत उपयोग गरिएको छ । कथाको अन्त्यतिर ‘म’ पात्र पति रोहितको दुव्र्यवहार र समलिङ्गी साथी मारियाले देखाएको सद्भाव, सद्व्यवहार र प्रशंसाबाट विस्तारै मारियाप्रति आकर्षित हुँदै गएको स्थितिको सजीव चित्रण गरिएको छ । नजानिदो ढङ्गले बदलिदै गएर मारियाको आत्मीयतासँग टाढिन मुस्किल देख्नु, जिन्दगी खुसीसाथ बिताउन लोग्ने मान्छे नै चाहिन्छ भन्ने छैन भन्ने निष्कर्षमा पुग्नु, अन्ततः स्त्री मारियासँगै जीवन बिताउन बार्सिलोनातिर प्रस्थान गर्नु जस्ता घटनाक्रमले आफ्नो जीवनमा पुरुषको कुनै पनि भूमिका स्वीकार नगर्ने नारी विद्रोह अर्थात् नारी समलिङ्गीय चेतनाको प्रयोगलाई कलात्मक ढङ्गले प्रयोग गरिएको देखाएका छन् । यहाँ कथाकार सञ्जु बजगाईं पारिजातसँग तुलनीय देखिएकी छिन् । उनले आख्यानकार पारिजातको कथा यात्राको दोस्रो चरणमा देखिएको नारीवादी प्रगतिवादी प्रवृत्तिभन्दा एक कदम अघि बढेर नारीवादी चेतनामा नौलो र उग्र रूप नारी समलिङ्गीय चेतनाको कलात्मक प्रयोग गरेकी छिन् । यो पुरुष र पितृसत्तात्मक समाजले दिएको उत्पीडन विरुद्धको प्रतीकात्मक तथा प्रकारान्तर विद्रोह पनि हो । यसरी कथा नारीवादी चेतना र समलिङ्गीय चेतनाको प्रयोगका हिसाबले सशक्त रहेको छ । कथाका निम्न अंशमा यस किसिमको चेतना झल्किएको पाइन्छ ः

“उसले मलाई सुनी । मेरो उपस्थितिलाई आदर गरी, समकक्षी सम्झिएर कुराकानी गरी । मेरो प्रशंसा गरी । लामो समयदेखि मैले यो अवसर कहाँ भेटेको थिएँ र ।” (समुद्र र सपना, २०६७ ः ७२)

“समय बित्दै जाँदा हाम्रो मित्रता पनि बढ्यो ।… रोहित घर नफर्किएका कैयौँ रातहरू हामी दुवै एकै साथ भएर बितायौँ । ऊ मेरा आँखाका कुरा गर्थी, मेरो हेराइको तारिफ गर्थी… हाम्रो लामो वैवाहिक जीवनमा यति त रोहितले पनि कहिले गरेन ।” (समुद्र र सपना, २०६७ ः ७२)

“म नजानिदोसँग बदलिरहेकी थिएँ । यही बदलाइमा एक दिन मैले ठहर गरेँ– जिन्दगी खुसीसाथ बिताउन लोग्ने मान्छे नै चाहिन्छ भन्ने छैन । अन्ततः मैले सबथोक बिर्सिएर संसारिक संरचनाको नियमित बाटो बदलेर वैकल्पिक बाटो हिँड्ने निर्णय गरेँ ।” (समुद्र र सपना, २०६७ ः ७२, ७३)

६. निष्कर्ष

विश्व भूमण्डलका जुनसुकै देशबाट अन्य देशमा फैलिएर बसेका मानिस, उनीहरूको बसोबास र त्यहाँको जीवन भोगाइलाई डायास्पोरा भनिन्छ । डायास्पोराजीवीद्वारा डायास्पोरिक जीवन भोगाइ र गृहदेशको स्मृतिलाई समेटेर लेखिएको साहित्य नै डायास्पोरा साहित्य हो । यस किसिमको साहित्यमा घरदेश र परदेशको व्यापक परिवेश, गृहविरह, विरानो पन, मिश्रित संस्कृति, विछिन्नताको भय, द्वैध मानसिकता, अस्तित्वको सङ्कट, एकान्तिकता, अल्पसङ्ख्यक हुनुको पीडा र एकसूत्रको खोजी जस्ता विशेषताहरू अन्तर्निहित रहेका हुन्छन् । कृतिमा तिनै विशेषताहरूको खोजी गरी गरिने समालोचनालाई डायास्पोरिक समालोचना भनिन्छ । यसलाई उत्तरआधुनिक समालोचनाको एउटा प्रारूप मानिएको छ । यसै गरी नारीवादी समालोचनालाई पनि उत्तर आधुनिक समालोचनाको अर्काे प्रारूप भनिएको छ । यसले पितृसत्तात्मक समाजमा नारीले भोग्नु परेको दमन, शोषण, कृटपिट, अपमान र सबै किसिमका उत्पीडनको छाप साहित्यमा खोजी गर्दै नारीस्वत्व र अस्तित्वको खोजी गर्दछ । नारीवादमा नारी समलिङ्गी चेतनालाई प्रकारान्तरले अझ उग्ररूप मानिएको छ । यस किसिमको चेतनायुक्त लेखनमा पुरुषले दिएको उत्पीडनको परिणाम स्वरूप नारीहरू आफ्नो जीवनमा पुरुषको सबै किसिमका भूमिकाको अस्वीकार गरी समलिङ्गी नारीसँग विवाह समेत गर्दछन् र स्वतन्त्र नारी अस्तित्वको वरण गर्दछन् ।

सञ्जु बजगाईंद्वारा लेखिएको अर्काे मोड कथा समुद्र र सपना कथा सङ्ग्रहभित्र सङ्कलित कथा हो । यो कथा डायास्पोरिक जीवन भोगाइ तथा पितृसत्तात्मक समाजमा नारी जीवन भोगाइजस्ता अन्तर्वस्तुमा आधारित कथा हो । यसमा नेपालबाट युरोप (पेरिस) पुगेका ‘म’ पात्र र उनको पति ‘रोहित’ जस्ता प्रतिनिधिमूलक पात्रका माध्यमबाट डायास्पोरिक जीवन भोगाइ र नारी जीवन भोगाइको जीवन्त चित्रण गरिएको छ । प्रस्तुत कथामा घरदेश र परदेश, परादेशीय हुनुको रोमाञ्च र चिन्ता, अतीत मोह सघन रूपमा प्रस्तुत भएको देखियो । अस्तित्वका लागि एकसूत्रको खोजी र आत्मकेन्द्रित प्रवृत्तिजस्ता विशेषताहरू चाहिँ सामान्य रूपमा प्रस्तुत गरिएको पाइयो । यी विशेषताहरूमध्ये अल्पसङ्ख्यक हुनुको पीडा, अस्तित्वका लागि एकसूत्रको खोजी र आत्मकेन्द्रित प्रविधिजस्ता विशेषताहरूलाई डायास्पोरिक जीवन भोगाइभन्दा बढी नारीवादी चेतनाका आलोकमा पृथक ढङ्गले प्रस्तुत गरिएको छ । नारीवादी र समलिङ्गीय चेतनाका दृष्टिबाट कथाको विश्लेषण गर्दा यसको प्रस्तुति भने कथामा सघन रूपमा गरिएको पाइयो । यस कथामा युरोपको डायास्पोरामा समेत नेपाली नारीले पुरुष (पति) बाट अन्याय, दमन, अपमान र कुटपिट सहनु परेको स्थितिको चित्रण गर्दै त्यसप्रति विद्रोह गरिएको छ । खासगरी पितृसत्तात्मक समाज र पुरुषले दिएको उत्पीडनको विरुद्ध नारीहरू आफ्नो जीवनमा पुरुषको कुनै पनि भूमिकालाई स्वीकार नगरी त्यसप्रति विद्रोह गर्दै समलिङ्गी नारीसँग विवाह गरी स्वतन्त्र अस्तित्वको वरण गर्दछन् । यही चेतनाको सशक्त प्रयोग कथामा गरिएको छ । कथाको चरमोत्कर्षमा ‘म’ पात्र पति रोहितको दुव्र्यवहार र स्त्री साथी मारियाले देखाएको सद्भाव र प्रेमबाट मारियाप्रति आकर्षित हुँदै जानु, जिन्दगी खुसीसाथ बिताउन लोग्ने मानिस नै चाहिन्छ भन्ने छैन भन्ने निष्कर्षमा पुग्नु र अन्ततः नारी मारियासँगै जीवन बिताउन बार्सिलोनातिर प्रस्थान गर्नु जस्ता घटनाक्रममा नारी समलिङ्गीय चेतनाको प्रतीकात्मक र कलात्मक प्रयोग गरिएको पाइन्छ । यसरी हेर्दा प्रस्तुत कथा डायास्पोरा साहित्याकाशमा नारीवादी कथा लेखनको पृथक क्षितिज उघार्न सफल उत्कृष्ट नारीवादी कथा बन्न पुगेको देखिन्छ ।

सन्दर्भग्रन्थ सूची

अधिकारी, बालाकृष्ण (२०६८), डायास्पोरा: नेपाली साहित्यमा अनुकूलनका समस्या र कारण, गरिमा, वर्ष ३०, अङ्क १२, पूर्णाङ्क ३६०, मंसिर, पृ. ८८–९९ ।

एटम, नेत्र (२०६७), नेपाली डायास्पोरा र अन्य समालोचना, काठमाडौं : एकता बुक्स ।

खड्का, खुमबहादुर (सन् २०१६), कार्लोस मेरो दर्पण छायाँ कथामा डायास्पोरा, एकेडेमिक भ्वाइसेस् ः जर्नल अफ हाइअर एजुकेसन, भोल. १, नं. १, सुर्खेतः मध्यपश्चिमाञ्चल विश्वविद्यालय ।

गौतम, कृष्ण (२०६४), उत्तरआधुनिक जिज्ञासा, काठमाडौं : भृकुटी एकेडेमिक पब्लिेसन ।

गौतम, लक्ष्मणप्रसाद (२०६७), उत्तरआधुनिक समालोचनामा कृति विश्लेषणका पद्धति र प्रारूप, भृकुटी, पूर्णाङ्क १०, माघ–चैत, पृ. ३८९–९१ ।

ढकाल, रजनी (२०७०), प्रायोगिक समालोचनाका अनेक रूप, ललितपुर : साझा प्रकाशन ।

त्रिपाठी, सुधा (२०६७), नारीवादको कठघरामा नेपाली साहित्य, ललितपुर : साझा प्रकाशन ।

बजगाईं, सञ्जु (२०६७), समुद्र र सपना, काठमाडौं : रत्न पुस्तक भण्डार ।

भट्टराई, गोविन्दराज (२०७१), उत्तरआधुनिक विमर्श (संस्क. दो.), काठमाडौं : ओरिएन्टल पब्लिकेसन ।

रावत, गोविन्द सिंह (२०७०), डायास्पोरिक साहित्यको वैकल्पिक शब्द निरूपण, गरिमा, वर्ष ३१, अङ्क ५, पूर्णाङ्क ३६५, वैशाख, पृ. १३६ ।

लम्साल, रामचन्द्र र अन्य (२०७०), नेपाली कथा र उपन्यास (संस्क. ते.), काठमाडौं : शुभकामना प्रकाशन ।

लुइटेल, खगेन्द्रप्रसाद (२०६९), आप्रवासी नेपाली साहित्यको सैद्धान्तिक र व्यवहाकि पक्ष, गरिमा, वर्ष ३०, अङ्क १२, पूर्णाङ्क ३६०, मंसिर पृ. ८८–८९ ।

शर्मा, मोहनराज र लुइटेल, खगेन्द्र प्रसाद (२०६१), पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौं : विद्यार्थी पुस्तक भण्डार ।

Baumann, M. (2011). Exile. In Knot K. & McLoughlin S. (Ed.), Diasporas (p. 20). Jaipur: Rawat Publications.

Deuter, M., Bradbery, J. & Turnbull, J. (2015). Oxford Advanced Learner’s Dictionary (9th Ed.), New Delhi: Oxford University Press.

Diaspora. (n.d.). Retrived on 7 January, 2016 from https://en.wikipedia.org/wiki/Diaspora.

Soanes, C. & Hawker, S. (2012). Compact Oxford English Dictionary (3rd Ed.), New Delhi: Oxford University Press.

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 13 भाद्र, 2077

लेखकका अन्य रचनाहरु