तर्साउने त्र

- चूडा मणि रेग्मी

मेरो अल्छे छोरालाई म पढाइरहेछु, ‘कपुरी क’ अनि क्रमशः भन्दै जान्छु र जब ‘तर्साउने त्र’मा पुग्छु अनि म झल्याँस्स हुन्छु । यसो घोरिन्छु– ‘त्र’ले हामीलाई गाँठो पारेको छ । हामी समस्याका गाँठामा मजले बाँधिएका छौं । हाम्रो समाज खरीका भरको हो, त्यसैले त हामीलाई गाँठो पारेको छ । हामी निरक्षर नेपाली कोही थिचिन्छौं, कोही बिदेशिन्छौं ।
हाम्रा घाउ अनन्त छन्, यद्यपि हामी गोरखालीहौं । हामीलाई ङयाउँ पारेर स्वार्थीहरूले चिच्याउने पारेका छन् । हामी चिच्चा पनि भएका छौं, धन सम्पत्तिहीन र उद्योगविहीन भएपछि ठुला–वडा हुन हम्मे त छ नि !
म घोरिन्छु– छौं हामी । हाम्रो राष्ट्र छ, जाति छ, भाषा छ, वेषभुषा छ, संस्कृति र साहित्य छन्, तर ‘छ्या !’ भएका छौं । किनभने हामी आर्थिक दासत्वको जाँतोमा जेलिएका छौं । यो जेलाइ वनमा लहरोजत्तिकै छ, हाम्रो समाजमा शोषित वर्ग यस जाँतामा दलिएका छन् ।
झगडा त्यसैले उग्र छन् । जसरी रमितेहरू कुखुरालाई लडाउँछन्, साँढे जुधेको हेर्छन्, त्यसै गरी हामी झगडा र झेलमा झाङिएका छौं । वास्तवमा, हामी निर्धा–निमुखा, मरन्च्याँसे छौं । हाम्रा बालख ञा..ञा..ञा.. गरेर हिड्छन्, पढ्न पाउँदैनन् । पाए भने पनि प्रायः साक्षर मात्र हुन्छन् ।
‘ट’को विषयमा सोच्दा पनि ट्याक्क कुरो उही आउँछ । हामी मध्यमवर्गी हौं वा गरिब, प्रायः सबै टकको अभावमा टाक्सिरहेका हुन्छौं । ठगेर होस् वा ठगिएर, टकको आर्जनमा व्यस्त हुन्छौं । हामी डरपोक छौं र पनि ढाडेझैं बन्न खोज्छौं । त्यसो हुनाले त हामी कोदालोजुगमा छौं । हली हामी । हलो हाम्रो मेसो । थाङ्ने हामी । झुत्राझाम्रा थाङ्नामा हामी सडिरहेछौं । दयाका भोका छौं । हामी त्यो ध्याउन्न गर्न सक्तैनौ, जसबाट हामी प्रजातन्त्रको उपभोग गर्न सकौं । कुनै प्रगतिशील भए पनि हाम्रो चाहिँ दुरवस्था पराकाष्ठामा पुगेको छ । कठै ! हाम्रा दाजुभाइ, दिदीबहिनी फ्याङ्ला भएका छन् ! नेपाली हामी विदेशीको आर्थिक शोषणको बन्धनमा छौं । हामी भकारी बाँध्छौं, तर वाध्य भएर बजारमा धान बेच्छौं, सन बेच्छौं, भरे हामी नै भोका ! यसैले गर्दा म मात्र राम्रो हुन सकेर के भयो र ? वास्तवमा, हामी सबै दुर्गतिले गर्दा नराम्रा भएका छौं ।
वास्तवमा, हामी चिसो शान्तिमा छौं । हम्मेसि हामी अँध्याराबाट छुट्तैनौं । हाम्रो क्षेत्र सङ्कुचित भयो । यसै कारणले यो तर्साउने त्र वास्तवमा मलाई भयाबह लागिरहेछ ।
तपाईंले ‘हामी’ भनेर नेपालीको विषयमा प्रतिनिधित्व गरेको बुझिहाल्नुभयो । सबै नेपालीको दुःस्थिति र दुरवस्था उपरयुक्त बमोजिम नसही – मेरो त छ र मजस्ता थुप्रै होलान् ।
म यसको पुष्टि पनि गर्दछु । हाम्रो समाजको यही वा यस्तै थिति नभए ‘क’देखि ‘ज्ञ’सम्मका अक्षरका व्याख्यामा किन उपर्युक्त कुरा आउँथे ? तर सबै अक्षरमध्ये मेरो ध्यान ‘त्र’मा नै छ । यो ‘त्र’ झन् समाजको प्रतीक लागेको छ मलाई ।
मेरी बुढीआमै साँझमा डुलेर घर फिरेपछि मलाई भन्नुहुन्थ्यो– “अबुइ नाती बाबू ! गुजीले त खाएन !” अनि डरपोक मलाई गुन्यूमनि लुकाउनुहुन्थ्यो । मेरी आमा सधैं ‘गुजी आयो’ भनेर नै मलाई निदाउने पार्नुहुन्थ्यो ।
‘त्र’को अनुहार पनि त गुजी जस्तै छ । यो तर्साउने रोग समाजमा भएर नै ‘त्र’ अवस्थित छ । ‘बाबुजीका उधार खाता’ पल्टाउँदै जब कैञाजी चस्मा लाएर मलाई घुर्छ, तब दुई धर्का तर्साउने ‘त्र’ देख्छु सेठजीका सेता आँखामा ।
श्रीमतीज्यूलाई बजार घुमाउन लाँदा सजिसजाउ दोकान देखेर म तर्सिन्छु । ती चिजको मोल गुजीभन्दा डरलाग्दो लाग्छ ।
जब विमार हुन्छु र ओखती पाउँदिन अनि कुनै महापुरुष जब हृदयगति बन्द भएर सोर्गे भएको खवर सुन्छु तब तर्साउने ‘त्र’ले मलाई अँगालो हालिहाल्छ ।
हिजोआज प्रायः साँझ पर्नासाथ कि भातसात खाएर यहाँका धनी मान्छे कोठामा पस्छन् । चोर–डाका र हत्याराको भयले तर्साउने ‘त्र’ ग्रस्त यिनीहरू तपाईंका लागि हास्यास्पद होलान्, तर यो वास्तविकता हो । एक जना मित्रले भने, “म भित्रै रहे तापनि त्रासले मर्छु अनि खाना खाँदा गर्मी भई पसिनाले निथ्रुक्क हुनु पर्छ !” मैले सोचें– तर्साउने ‘त्र’को यो ठुलो पराव्रmम हो, जसले काम नगर्नेलाई पनि पसिना कढायो ।
गरिब खान नपाएर मरिन्छ कि भनी तर्सिन्छ, धनी खाँदाखाँदै मरिन्छ कि भनी तर्सिन्छ – तर्साउने ‘त्र’का दुई रूप उदेकलाग्दा !
हामी गरिबदेखि त्रस्त छौं । अशिक्षादेखि तर्सिन्छौं । उद्योग नभएर कङ्गालिने भयदेखि तर्सिन्छौं – सामाजिक त्रास ! महान त्रास दीनताको !
मेरो छोरो, नेपाली अक्षर, नेपाली समाज ! छोराले अक्षर त सिक्ला, तर तर्साउने ‘त्र’ पढेर तर्सिन नै सिक्यो भने के गर्ने ? कुरो गहन छ – डरपोक गुरुको चेलो के होला !
विज्ञ पाठकहरू हो, तपाईंहरू पनि जोइटिङ्ग्रे भए जोईदेखि, पोइटिङ्ग्रे भए पोइदेखि, ऋणग्रस्त भए साहूदेखि, कर्मचारी भए कामदेखि, गृहस्थी भए व्यवहारदेखि, रोगी भए कालदेखि, राजनीतिज्ञ भए कूटनीतिदेखि, लेखक भए सम्पादकदेखि त्रस्त हुनुहोला ! चिट गर्ने चोर विद्यार्थी पनि निरीक्षकदेखि तर्सिन्छ । सर्वत्र त्रास छ्याप–छ्याप्ती छ । मानों ‘त्र’ पुलिस हो, हामी चोर !
त्यसैले यो लेखक पनि आफ्नो अज्ञानतादेखि त्रस्त छ, जसरी मेरो छोरो ‘त्र’ नजानेर नै तर्सिन्छ ।
अहिले यहीं अस्तु !

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 13 भाद्र, 2077

लेखकका अन्य रचनाहरु